छोटकरीमा भन्दा ‘गोगि’ र अलि लामकरीमा भन्दा सधैँ ‘गोगिप्रे’ नै भनेँ मैले उनलाई । थाहा छैन, कहिलेदेखि गोविन्द गिरी प्रेरणालाई यसो भन्न थालेँ मैले । ‘गरिमा’ थियो, ‘मधुपर्क’ थियो, ‘रूपरेखा’ थियो, ‘अभिव्यक्ति’ थियो, ‘रचना’ थियो र यस्तै अरू पनि केही साहित्यिक पत्रिकाहरू थिए । हामी दुवै तिनैमा छापिन्थ्यौँ । दुवैले पढेकै हुन्थ्यौँ एक अर्कालाई । त्यसैले हामी पहिलो भेटमै चिरपरिचित मित्रजस्तै भयौँ ।
र, यदि मेरो स्मृतिले ठिक काम गरेको भए यो वि सं २०४२ सालको कुनै दिन थियो । अहिलेको जस्तो दिनकै ८/१० वटा साहित्यिक कार्यक्रमहरू कहाँ हुन्थे र त्यो समयमा ? असाध्यै कम हुन्थे साहित्यिक गोष्ठीहरू र त्यहाँ हामी जजसको भेट हुन्थ्यो, प्रायः घनिष्ठ मित्रमै रूपान्तरित भइहालिन्थ्यो । सम्भवतः गोगिप्रे र मेरा बिचमा पनि यस्तै भयो होला र हामी एकअर्काका नाम र रचना पढिरहेका मान्छेहरू पहिलो भेटदेखि नै अनौपचारिक मित्र भइहाल्यौँ र मेरो मुखबाट फुत्तफुत्त निस्कन थालिहाल्यो— “ओई गोगि, हेल्लो गोगिप्रे !”
गोगि त्रिभुवन विश्वविद्यालयको लेखा सम्बद्ध कर्मचारी थिए । म राष्ट्रिय वाणिज्य बैङ्कको आन्तरिक लेखा परीक्षण विभागको नायव सुब्बा स्तरको कर्मचारी थिएँ । हामी दुवैको रुचि ‘अक्षर’मा थियो तर संयोग कस्तो परेको थियो भने हामी दुवै ‘अङ्क’ खेलाउने क्षेत्रका जागिरे थियौँ । मलाई यो डेबिट क्रेडिटले दिक्क पारेको थियो भने गोगिलाई पनि शायद त्यस्तै भएको हुँदो हो । साँच्चै भन्ने हो भने हामी दुवै जागिरभित्रै भएर पनि ‘रस’को खोजीमा भट्केका यात्रीजस्तै थियौँ जुन बेलादेखि हाम्रो भेट हुन थालेको थियो । हामी एउटै साइकलमा चढेर पनि कविता सुन्न र सुनाउन पुगिहाल्थ्यौँ । हो, त्यही साइकलकालीन समयको मेरा लागि एउटा बाठो मित्र हो— गोगि ।
त्यो बेला नामका पछाडि उपनाम राख्ने ठुलो लहर नै चलेको थियो । तर किन किन मलाई दुःखी, निरासी, प्यासी, असफल, बिखर्ची आँसु, टुहुरे जस्ता नकारात्मक उपनामहरू पटक्कै मन पर्दैनथे । म त सानैदेखि नै आफूले आफैँलाई कहिल्यै पनि होच्याउनु हुँदैन भन्ने मानसिकता बोकेको मान्छे । त्यही भएर ती निराशावादी उपनामहरूका भीडमा पनि उनको सकारात्मक उपनाम ‘प्रेरणा’ मलाई खूबै मन पर्थ्यो । यसरी मैले उपनाम समेत रुचाएर छानेका साथीहरूको जमातमा एउटा अलग्गै पहिचान बनाएको निकै टाठो साथी बन्न पुगेका थिए— गोगिप्रे ।
काठमाडौँलाई मुकाम बनाएर त हामी घुम्यौँ घुम्यौँ— पछि २०४६ को साउन १ गतेदेखि शाखा अधिकृतको जिम्मेवारी निभाउन म जिल्ला पञ्चायतको सचिवालय बझाङ पठाइएँ । अब नेपालगञ्ज नै मेरो निकासको मुख्य नाका बन्यो । नेपालगञ्जको राँझा विमानस्थल नटेकी न त म बझाङ पुग्न सक्थेँ न त बझाङबाट बाहिरिन नै । त्यस बेला ल्याण्डलाइनको फोन पनि थिएन बझाङमा त । त्यसैले म गोगिलाई आवा पठाएर आफू मधेश झर्न लागेको सूचना दिन्थेँ । उनी पनि यताउताको काज मिलाएर नेपालगञ्ज आइपुग्थे । र, हामी आफ्नै अखडामा भेला भइहाल्थ्यौँ । त्यो अखडासँग मलाई परिचित गराएको पनि गोगिले नै हो । बजारभित्रकै एउटा सानो टोलको एउटा सानो घरमा बडो मसालेदार ढङ्गले माछा पकाइन्थ्यो र लोकल रक्सीसँग ‘सर्भ’ गरिन्थ्यो । हामी दुवै त्यसको स्वादमा पल्केका थियौँ । एक्ला-एक्लै पनि पटक पटक गइयो त्यहाँ— समयले साथ नदिएका बेला । तर दुई जना भएर जानुको मजा नै बेग्लै हुने क्या ! यो स्टेसनमा यस्तै ५/७ पटक जति भेट्यौँ होला हामीले । त्यसपछि फेरि समयले छुट्यायो हामीलाई । जहिले भेट्दा पनि “यो पटक त म स्योर अमेरिका जान्छु यार” भनेर मलाई सुनाइरहने गोगि यो पालि त साँच्ची नै अमेरिका गए ।
उनी अमेरिका गएपछि भने भेटघाट साँच्चीकै पातलियो । अहिलेको जस्तो सामाजिक सञ्जालको सुविधा हुँदो हो त बोलचाल पनि भइरहँदो हो, तर त्यस बेला कहाँ यसको कल्पना हुनु र ? समयमै हुलाकबाट चिठ्ठी आई नपुगेका कारणले म्याद नाघेर जापानको होक्काइदो युनिभर्सिटीले अफर गरेको पिएचडीको मौकासमेत गुमाएको मान्छे म । अनि कसरी कल्पना हुन्थ्यो र त्यो समयमा इमेल र इन्टरनेटको ?
उनी काठमाडौँ आएका बेला भने कहिल्यै पनि भेटघाट हुन छुट्दैनथ्यो ।
“म अमेरिकाबाट एउटा यस्तो ‘सोलिड’ र फरकै नपर्ने निम्तो पठाइदिन्छु कि तिम्ले झ्याप्पै भिसा पाइहाल्नेछौ । अनि उतै आऊ र लुकेर बस ।”
भेट्यैपिच्छे उनी मलाई यस्तै केही भनिरहन्थे । तर पनि मैले कुरै नबुझेर हो कि, मलाई अमेरिका भन्ने विषयमा खासै रुचि नभएर हो कि, धेरै खर्च लाग्ला भनेर डराएर हो कि, वा शाखा अधिकृत भइसकेको हुनाले यतै पनि भविष्य सुरक्षित छ भन्ने ठानेर हो— मैले कहिल्यै पनि उनको कुरालाई गहिरो ध्यानमा लिइनँ । म ठान्थेँ— किन जाने अमेरिका ? शायद उनको आशय हुँदो हो— जहाँ योग्यता, क्षमता र प्रतिभाको कदर हुँदैन, त्यहाँ किन बसिरहनु पर्यो तिमी ?
त्यसपछि भने बागमतीमा धेरै पानी बग्यो ।
पछि सन् २०१० को डिसेम्बरमा म आफ्नैतर्फबाट अमेरिका पुगेँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की तत्कालीन महासचिव श्री गीता खत्री बहिनीको निवासमा “नेपाली हिमालका बारेमा लेखेर मुलुकको सम्पत्ति चिनाउने हालसम्मका एक मात्र लेखक” भनेर भव्य अभिनन्दन पनि गरियो मलाई । त्यो बेला मैले अमेरिकाका पूर्वदेखि पश्चिमसम्मका १३ वटा राज्यको भ्रमण गरेँ । न्यूयोर्कमा गीता खत्री बहिनी, कोलोराडोमा ज्ञानेन्द्र गदाल भाइ र क्यालिफोर्नियामा गोकुलप्रकाश पौडेल भाइको घरलाई मुख्य मुकाम बनाएर घुमिएको यो झण्डै एक महिना लामो यात्रामा गोगि सधैँ सम्पर्कमै रहिरहे ।
सन् २०१३ मा म फेरि अमेरिका गएँ । अन्तर्राष्ट्रिय आप्रवासी संघ (आइओएम)ले २२ भुटानी परिवारलाई अमेरिका पठाउने क्रममा मलाई सहजकर्ताको रूपमा पठाइएको हुनाले यस पटकको भ्रमण पूर्वी तटीय क्षेत्रमै केन्द्रित रह्यो र अवधि पनि एक हप्तामै सीमित भयो । यति छोटो समयमा पनि भर्जिनिया गएर राजेन्द्र ओली भाइकोमा बास बसेका बेला भेटिएका जति नेपाली साहित्यकारहरूको दलबलसहित त्यहीँ उपस्थित भएर तत्कालै स्वागत कार्यक्रम गर्न भ्याइहाल्ने मान्छे पनि उनै गोगि थिए । ‘विश्व परिक्रमा’ का लागि अन्तर्वार्ता लिने, वरिपरिका अरू स्रष्टाहरूलाई पनि भेटाइदिने र लक्ष्मीकान्त गौडेलजीको घरसम्म पुर्याइदिने सम्पर्क सूत्र पनि उनै गोगि नै जिन्दाबाद भइहाले । त्यो बेलाको उनको सक्रियता र स्फूर्ति देख्दा यस्तो लाग्थ्यो कि मानौँ हामी वर्षौंपछि भेट भएका पात्र नै होइनौँ । मानौँ कि हामी अझै पनि नेपालगञ्जको त्यही माछा-दारु पसलमै छौँ ।
त्यसपछि त टुकुचामा झनै धेरै ढल बग्यो ।
पछि गर्दै जाँदा समयले मलाई नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयको ‘चिफ इमिग्रेसन अफिसर’ बनाएर पठायो । वि.सं.२०६६ देखि २०६८ सम्म त्यहाँको प्रमुख भएर काम गरेका बखत गोगि दुई पटक नेपाल आए । र, स्वाभाविक छ कि दुई पटक फर्किए पनि । त्यो चारै पटक अध्यागमन कार्यालयका तर्फबाट उनको भव्य स्वागत र बिदाइ गर्ने मै थिएँ । उनको आगमन र प्रस्थान भएका बेलामा विमानस्थलको माइकबाट सार्वजनिक सूचना फुकिन्थ्यो— “अहिले हाम्रा बिचमा प्रख्यात नेपाली साहित्यकार श्री गोविन्द गिरी प्रेरणाज्यू उपस्थित हुनुहुन्छ । उहाँलाई नेपालमा हार्दिक स्वागत छ ।” अनि उनी जाने क्रममा भए भनिन्थ्यो— “अमेरिका प्रस्थान गर्ने क्रममा अहिले अध्यागमन क्षेत्रमा प्रख्यात नेपाली साहित्यकार श्री गोविन्द गिरी प्रेरणाज्यू उपस्थित हुनुभएको छ । अध्यागमन नेपाल उहाँलाई शुभ यात्राको कामनासहित हार्दिक बिदाइ गर्दछ ।”
अनि खादा लगाएर भव्य स्वागत गर्दै आएको भए भन्सार कक्षसम्म र जान लागेको भए विमानको ढोकैसम्मै पुर्याएर छोडिदिन्थेँ म गोगिलाई ।
म त्यहाँ २ वर्ष कार्यरत रहँदा मैले जम्मा तीन जना नेपालीलाई मात्र यस्तो सम्मान प्रकट गर्ने अवसर पाएको थिएँ किनकि अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक उद्घोषण सहितको माइकिङ गरेर कसैप्रति सम्मान देखाउनु भनेको सानो कुरो हुँदै होइन । यसो गर्न विमानस्थल प्रशासनले हत्तपत्त मान्दै मान्दैन । हो, बोर्डिङ पास लिइसकेको कुनै यात्री नै छुटेको रहेछ भने चाहिँ पटक पटक उसको नाम बोलाइन्छ । तर सम्मान प्रकट गर्नका लागि नाम लिइने कुरालाई असामान्य मानिन्छ । साधारण मान्छेको नाम लिनै पर्दैन, अनि भिआइपीहरूको हकमा सुरक्षाको प्रश्न हुन्छ । त्यसैले छुट्न लागेको प्यासेन्जर बाहेक अरू कसैको पनि नाम हत्तपत्त लिइँदैन ।
तर पनि मित्रवत् अति स्नेहका कारणले साहित्यकार गोगिप्रे, गायक प्रेमराजा महत र कीर्तिमानी पर्वतारोही आपा शेर्पालाई मैले देखे-भेटेसम्म सधैँ यस्तै सम्मान दिइरहेँ । उनीहरू तीनै जना यस्तै भव्य स्वागतसहित या त इमिग्रेसन पार गरेर नेपाल भित्रिन्थे या त नेपालबाट बाहिर प्रस्थान गर्थे । माइकबाट आपा शेर्पाको परिचय दिँदा विदेशीहरू समेत उनका वरिपरि झुम्मिन्थे, फोटो खिच्थे र गौरवपूर्ण हात मिलाएर जान्थे । मैले परिचय गराउँदा बोलेका शब्दहरू सुनेर आपाका आँखा रसाउँथे । अनि छाती गह्रुङ्गो पारेर भन्थे— “संसारको कुनै पनि एअरपोर्टमा यसरी व्यक्तिको नाम लिएर सम्मानित गरिएको अहिलेसम्म मलाई नै थाहा छैन ढकाल सर । म आभारी छु हजुर !”
प्रेमराजाको चाहिँ परिचय गराउनै पर्दैनथ्यो । उनको त नामै काफी हुन्थ्यो । लाइनको अगाडि लगेर “उहाँ प्रेमराजा महत” भनेर नाम लिनासाथ नेपाली श्रमिकहरू पानको पात, सिमसिमे पानीमा वा छड्के सलाम छ मायालाई पहिलो भेटमा मध्ये कुनै गीत गाएर सम्मान प्रकट गरिहाल्थे । तर गोगिलाई भने आम यात्रीले चिनेको हुँदैनथ्यो, त्यसैले मैले उनका किताबहरूको चर्चा गर्नुपर्थ्यो । गोगिले यो कुरालाई कत्तिको गहिराइमा बुझेका थिए, त्यो उनै जानुन् । तर मैले भने आफ्नोतर्फबाट सर्वोच्च सम्मान दिइरहेको हुन्थेँ । साँच्चै भन्ने हो भने यो व्यवहार मेरो कर्तव्यभित्र पनि पर्दै पर्दैनथ्यो । यो त स्रष्टाप्रति दर्शाइएको विशुद्ध उच्च सम्मान थियो ।
त्यहीँ कार्यरत रहँदारहँदै मलाई रातो पासपोर्ट बेचेको मुद्दा लाग्यो । मैले नामसम्म पनि नसुनेको एउटा सांसदको कूटनीतिक राहदानी १ करोड ६२ लाखमा किनबेच गरेको भनिएको त्यो मुद्दामा मलाई पनि मुछियो । एउटा थोत्रो पासपोर्टको दाम त्यति कायम होला कि नहोला ? बिहानको १० बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि मात्र ड्युटी तोकिएको चिफले राति ८ बजे मान्छे भगाउन सम्भव हुन्छ कि हुँदैन ? चिफ एक्लै हुन्छ कि हुँदैन ? चिफ स्वयंले काउन्टरमा बसेर इमिग्रेसनको छाप हान्छ कि हान्दैन ? भन्ने जस्ता आधारभूत कुराहरूको समेत हेक्का नराखी बढुवा हुने पदको आफ्नै प्रतिस्पर्धीले मलाई मुद्दामा झोस्यो ।
काउन्टरमा बसी छाप हानेर भगाउने कर्मचारीलाई पनि मुद्दा लगायो अनि तत्कालीन व्यवस्था अनुरूपका ऊभन्दा माथिका क्रमशः ‘एराइभल अफिसिएल’, शाखा अधिकृत, अध्यागमन अधिकृत, उपसचिव, वरिष्ठ अध्यागमन अधिकृत र शिफ्ट इञ्चार्ज कसैलाई पनि नछोईकन एकैचोटि ६ तहमाथिको मलाई मुद्दा लगायो जसको मसँग कुनै सम्बन्ध नै हुँदैनथ्यो । फेरि मुद्दाचाहिँ प्रमुख अध्यागमन अधिकृत खडानन्द ढकाललाई लगाइएको थियो— तर सारा परपीडकहरूले मेरो लोकप्रिय नाम प्रतीक ढकालकै फलाको हालिरहे । उनीहरूको पनि स्वार्थ मिल्यो होला शायद, त्यसैले “अब यस्ता भ्रष्टाचारी लेखकका किताबहरू किन किनेर पढ्ने ?” भनेर समाचार मात्र होइन, सम्पादकीय नै ठोक्न पनि भ्याइहाले कतिपय पत्रकारले त !
यही बिचमा मलाई अमेरिकाबाट एक जना अत्यन्तै हितैषी मित्रले फोन गरेर भने— “प्रतीकदाइ, तपाईंलाई त्यो पासपोर्ट मुद्दा लागेकोमा यहाँ गोविन्द गिरी प्रेरणा सबैभन्दा बढी खुसी छन् । मलाई त फोनै गरेर खुसी व्यक्त गरे नि !”
यो सुनेर एकछिन त म पनि अलमल्लमा परेँ । तर सहने बानी लागेको मैले नेपालमा छापिने गरेका मसँग सम्बन्धित त्यो बेलाका अरू समाचारहरूलाई जस्तै यस कुरालाई पनि बिना प्रतिक्रिया सहेँ । फोनमा पनि मैले कुनै प्रतिक्रिया नै जनाइनँ । कुनै पनि विषयलाई हेर्ने आफ्नो आफ्नो दृष्टिकोण हुन्छ सबैको । त्यसैले गोगिले त्यसो भनेकै हो भने पनि मलाई कुनै गुनासो छैन । हल्लाको बजारमा कहिलेकाहीँ सत्य मर्छ पनि । हल्लाकै पछाडि दगुर्दा कहिलेकाहीँ सत्यबाट कोशौँ टाढा पुग्न पनि सकिन्छ । हुन सक्छ, गोगिलाई पनि त्यस्तै भएको होस् । अनि किन गुनासो गर्नु पर्यो र मैले ? जब नेपालका मूलधारका पत्रिकाहरू नै मेरो विपक्षमा जनमत तयार गर्दैछन् भने त्यसमा एउटा गोगि भुलचुकमा मिसियो नै भने पनि मलाई के थप हानी हुन्छ र ?
यही मुद्दाको निलम्बनकालीन समयले मलाइ प्रशस्त फुर्सद दियो । यही समयमा मैले विपश्यना ध्यानशिविरमा पनि ११ दिन बिताउने मौका पाएँ । बौद्ध साहित्यको प्रशस्तै अध्ययन गर्ने अवसर पनि मिल्यो मलाई । चार वटै वेद र भेटे जति उपनिषद्हरू पनि आफूले बुझ्ने भाषामा पढेँ । १५/१६ वटा पुराणहरू पनि यही बेलामा पढेँ । विशेष अदालतको तीन सदस्यीय इजलासबाट म निर्दोष ठहरिएको फैसला आउन साढे चार वर्ष लाग्यो । र, यही अवधिमा मैले एक हजारभन्दा बढी किताबहरू पढ्ने अवसर पाएँ । यही अध्ययनले गर्दा जिन्दगीलाई अलि फरक ढङ्गले बुझ्दै गएँ । परिक्रमा अन्नपूर्ण, गण्डकीको मुहानतिर र आनन्द भूमिको आँगन नामका तीन नियात्रा कृतिहरू पनि यही अवधिमा लेख्न भ्याएँ ।
त्यसपछि पनि अनेकौँ पटक भेट भयो गोगिसँग । तर मैले कहिल्यै पनि “तिमी खुसी भएकै थियौ र ?” भनेर सोधिनँ । “दुःखी पो भयौ कि ?” भनेर पनि सोधिनँ । केही कुरै भएनन् हाम्रा बिचमा यो विषयमा । दृष्टिकोण आफ्नो आफ्नो हुन्छ भनेर सधैँ भन्दै हिँडिन्थ्यो तर त्यसको मर्मलाई बल्ल मैले गहिरो गरी बुझेँ यही समयमा । हरेक घटनालाई साक्षी भावले मात्र हेर्ने गरे अनावश्यक उत्तेजनामा आउनै पर्दैन र सधैँ शान्त रहन सकिन्छ भनेर पनि यही समयमा सिकेँ मैले ।
वि.सं.२०५४ सालमा तनहुँ जिल्लाको प्रजिअ भएका बेला मैले उनको पार्टीलाई स्थानीय निर्वाचनमा हराइदिने काम गरेँ भनेर अग्लो ज्यान र होचो मानसिकता भएको एउटा पत्रकारले सुनियोजित तवरले सुरु गरेको मेरो बदख्वाइँ गर्ने अभियान उनको नेटवर्कभित्रका धेरै पत्रिकाहरूमा विषैलो वमन भएर पोखिइरह्यो । तर पनि मैले खासै ऐया भनिनँ । भन्न जरुरी पनि ठानिनँ । कृष्ण धरावासी भन्थ्यो— “हेर दाइ, भगवान कृष्णमाथि त हीरा चोरेको आरोप छ भने तँ मूला त एउटा सामान्य मान्छे । चुपचाप सहिदे न यार !”
हो, धरावासीले भनेझैँ मैले पनि सबै कुरा चुपचाप सहेँ र अन्ततः सम्मानित अदालतबाटै न्याय पनि पाएँ । तर मलाई मुद्दा लागेको कुरोलाई चढाइबढाई गरी रङ्गिन फोटोसहित आधा पृष्ठसम्मको समाचार लेख्ने कुनै पनि पत्रिकाले मैले सफाइ पाएको कुरोलाई सानो समाचार पनि बनाएनन् । प्रत्येक पुस्तक प्रदर्शनीमा मेरा किताब धेरै बिकेका समाचार बाहिरिएपछि धेरै लेखकको अनुहार हेर्न लायकको हुन्छ नेपालमा । यो मुद्दा कालभरि यही विषयलाई खूबै उछालियो तर पनि मेरा किताब बिक्न छोडेनन् ।
साझा प्रकाशनले त प्रेस विज्ञप्ति नै निकालेर सबैभन्दा बढी बिक्री हुने लेखक भनेर भनेको भन्यै छ । मैले त सरकारी नियमअनुसार करकट्टी गरेर लेखकस्व (रोयल्टी) पाउने हो, तर अरू हजारौँ प्रति बिक्ने लेखकहरूको हिसाब कसरी हुन्छ, त्यो त उनीहरूलाई नै थाहा होला । या कुनै दिन आन्तरिक राजस्व कार्यालयले हेरेपछि सत्य ब्यहोरा बाहिर आउला ।
अचेल गोगिप्रेको नेपाल आउने क्रम अझै बाक्लिएको छ । हरेक पटक महत्त्वपूर्ण भेटघाट भएकै छन् । हामी उस्तै छौँ— कुनै तुष छैन मनमा । उसले त्यो फोन वार्ताको कुरो भनेकै हो भने पनि ठिकै छ, नभनेकै हो भने पनि ठिकै छ । ममा न कुनै आग्रह छ, न त कुनै पूर्वाग्रह नै छ । गोगि एक मिल्ने साथी थिए, छन् र रहनेछन् पनि । मैले बुझेको सत्य यही हो र यो सधैँ उस्तै रहनेछ ।
केही समयअघि भएको भेटमा उनले अकस्मात् भने— “मलाई तिमीले नियात्रा समाजको सदस्य किन नबनाएको हँ ?”
मैले भनेँ— “यसमा त तिमी आफैँले ५००० रुपियाँ तिरेर सदस्यता लिने हो । मैले बनाउने हो र ?”
उनले तुरुन्तै पैसा निकाले, निसनेको खातामा जम्मा गरे र सदस्य पनि बनिहाले । जसरी मलाई देख्नासाथ डा. तारानाथ शर्मा र सत्यमोहन जोशीज्यूले आफैँ सोधीखोजी गरेर नियात्रा समाज नेपालको सदस्यता लिनुभएको थियो, त्यसरी नै आफैँले चासो राखेर लिए गोगिप्रेले पनि ।
महाकाव्य र छन्द कविताबाहेक गोगिप्रेले हात नहालेको कुनै विधा नै छैन होलाजस्तो लाग्छ नेपाली साहित्यमा । तैपनि मेरो खास सरोकारका लागिचाहिँ एक जना राम्रा नियात्राकार हुन् गोगिप्रे । उनको ज्यान जस्तो खिरिलो र चिटिक्क परेको छ, त्यस्तै आकारका कृतिहरू लेखिरहने एक अविश्रान्त स्रष्टा हुन्— गोगिप्रे । फेरो (२०५३), टिष्टाको किनारैकिनार (२०५५), गुडबाई अमेरिका (२०६२) र टुप्लुक्क टोकियो (२०७८) जस्ता साना आकारका सुन्दर नियात्रा कृतिहरूका स्रष्टा गोगिप्रे समकालीन स्रष्टा साथीहरूका जीवनवृत्तमा कलम चलाउने अहिलेका एक मात्र साहित्यकार पनि हुन् ।
असाध्यै सक्रिय जिन्दगी बाँचेका छन् गोगिप्रे । लोभलाग्दो छ उनको जाँगर । यही सक्रियता र जीवनदृष्टिले नै गोगिप्रेलाई साहित्यको यात्रामा धेरै परसम्म पुर्याउने कुरामा कुनै शङ्कै छैन ।
मेरा हर सफलताका पछाडि कुनै प्रतिस्पर्धी अनुसन्धान अधिकृत झैँ टाँसिएर वा झुन्डिएरै भए पनि मेरो ‘अतिवाद’ को बेलो पहिल्याउन सिपालु हे गोगि— ‘त्वं दीर्घजीवी भव प्रिय गोगिप्रे ! तिम्रा अक्षरहरूलाई सधैँ सलाम छ यार ..!’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।