नयाँ सडकको पीपलको बाेट वरिपरि विशेष गरी विसं २०३६ सालपछि निकै गुल्जार हुन्थ्यो साहित्यकारहरूको आगमनले । त्यहाँ पुस्तक पत्रिका बेच्नेदेखि जुत्ता पालिस गर्नेहरू सम्मले साहित्यकारहरू चिन्दथे । यद्यपि पुस्तक पत्रिका किन्ने साहित्यकार कम हुन्थे । अखबार पल्टाएर यसो शीर्षक हेर्ने, साहित्यिक पत्रिकाको विषय सूचि हेर्ने र छोटा रचना पढी भ्याइहाल्ने काममा यिनीहरू चालु छन् भन्ने सानु लगायत अन्य पुस्तक पत्रिका विक्रेताले बुझेका थिए । जुत्ता पालिस गर्ने साहित्यकारहरू पनि कमै हुन्थे । तर बुट पालिस आन्दोलनमा साहित्यकारले पीपल बोटमुनि बसेर जुत्ता पालिस गरेको कथा किंवदन्ती झैँ कोही कोहीले सुनाइरहन्थे ।

चिया पसलमा पनि चिया ख्वाउने दाताको खोजीमा आँखा तन्काउने वा आलोपालो चिया ख्वाउने हुन्थ्यो । नयाँ पत्रिका निस्केको दिन अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा तात्तातो प्रतिहरू आफ्नो हाते झोलाबाट निकालेर निकै उत्साह र सन्तुष्टिका साथ निःशुल्क वितरण गर्थे ।

नयाँ सडक पीपल बोटको यो रमितापछि म कालीमाटीको आफ्नो डेरा फर्कन्थेँ, वसन्तपुर, भीमसेन स्थान, विष्णुमतीको पुल हुँदै । कहिलेकाहीँ अफिसकै साथी भीम कार्की साथमा हुन्थे । कहिले कृष्णचन्द्र सिंह प्रधान हुन्थे । किशोर पहाडी खानेपानी त्रिपुरेश्वरको ओभरसियर हुन्जेल साइकल लिएर उनी पनि आउँथे र साइकल डोर्याउँदै गफ गर्दै सँगै जान्थ्यौँ ।

तर धेरैजसो म एक्लै हुन्थेँ । कारण, अरू दैनिक रूपले पीपल बाेट पुग्दैनथे । म भने दैनिक नै पुग्थेँ । मेरो अफिस त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा थियो र नयाँ सडकलाई घर फर्कने बाटो बनाएको थिएँ ।

म पीपल बोटबाट फर्कँदै गर्दा वसन्तपुर नपुग्दै एक जना सोझो सोझो, उमेरले म भन्दा पाको पाको लाग्ने मानिसलाई नियमित जस्तो भेट्थेँ । पछि मात्र थाहा भो, उनी रहेछन् गोपाल पराजुली ।

मैले गोपाल पराजुलीका अलिक फरक खालका कविता र कथा पढ्दै आइरहेको थिएँ । त्यसैताक प्रकाशित तिनको “७० किलोमिटर” नामक कथा म अझै सम्झन्छु । कथ्य त खास छैन । धेरै पात्रहरूको वर्णन छ । पात्रहरूको वर्णनपछि अन्तिम हरफमा ७० किलोमिटर पार भएको उल्लेख छ । कथा सकिन्छ ।

यो ७० किलोमिटर कथाले मेरो मनमा अविस्मरणीय छाप परेको बेला गोपाल पराजुलीसँग वसन्तपुरतिरबाट उनी नयाँ सडक पीपल बोट आइरहेका र म चाहिँ नयाँ सडक पीपल बोटबाट वसन्तपुरतिर गइरहेका जम्का भेट हुन्थ्यो । हामी अभिवादन गर्थ्यौं । छोटो कुराकानी हुन्थ्यो । उनी यसै पनि थोरै बोल्ने हुन् भन्ने त पछि सङ्गत गर्दै गएपछि थाहा भयो । सधैंजसो उनी कहाँ गएर आएका हुन्, कहिल्यै बताएनन् ।

गोपाल पराजुली ‘गरिमा’को सम्पादक भएपछि उनीसँग बढी घनिष्ठता भयो । त्यो स्वाभाविक थियो । म सर्वाधिक विधामा सर्वाधिक लेख्ने हुनाले प्रकाशनका लागि सम्पादकहरूसँग मित्रता घनिष्ठता चाहिन्छ भन्ने बुझेको थिएँ । तर नाजायज हिसाबले होइन, स्वाभाविक रूपमा आफ्ना रचनाहरू प्रकाशित होइन् भन्नू यौटा सिर्जनशील स्रष्टाको चाहना अन्यथा होइन पनि । मैले गोपाल पराजुलीको सम्पादन कालमा पुस्तक समीक्षा सर्वाधिक लेखेँ । त्यसका एक होइन अनेक कारण थिए । यौटा, किताब निःशुल्क पढ्न पाइने ।अर्को, किताब पढेपछि आफूलाई लागेको लेख्दा पारिश्रमिक पनि पाइने । अझ गरिमा पनि लेखकप्रतिको रूपमा पाइने, त्यो पनि निःशुल्क । तेहरो फाइदा हुन्थ्यो । सो, म नियमित जसो गरिमामा पुस्तक समीक्षा लेख्थेँ ।

मैले साहित्यिक गतिविधि विभिन्न साथीहरूसँग विभिन्न संस्थाको माध्यमबाट गरेँ । तर प्रायः यौटा विन्दुमा आएपछि हामी अघि बढ्ने अवस्थाको अन्त्य हुने रोग जस्तै भयो । अतः मैले आफैँले रोजेको साहित्यिक काम गर्छु भनेर “राइटर्स क्लब” को स्थापना गरेँ र त्यसको माध्यमबाट विभिन्न साहित्यिक कार्यक्रम गर्न थालेँ । अन्यथा नामक कविता प्रधान पत्रिका पनि प्रकाशन गरेँ । स्वदेश तथा विदेशमा साहित्य कला संस्कृतिसँग सम्बन्धित कामले योगदान गर्नेहरूको सम्मानमा समेत कार्यक्रम गर्न थालेँ ।

यसै क्रममा बेलायतमा यति संस्थाको अध्यक्षको रूपमा काम गरेर भाषा साहित्यमा समेत योगदान पुर्याएको भनेर हरिविभोर कार्कीलाई सम्मान गर्ने निधो गरेँ । उनी अङ्ग्रेजी भाषामा कविता लेख्ने नेपाली कवि टेक बहादुर कार्कीका दाइ थिए । मैले उनलाई सन १९९२ मा पहिलोपल्ट बेलायत जाँदा भेटेको थिएँ । उनले बेलायतका नेपालीहरूले मिलेर निर्माण गरेको नेपाली फिल्म “कस्तुरी” मा पनि अभिनय गरेका थिए ।

त्यही कार्यक्रमले जुरायो हरिविभोर कार्की र गोपाल पराजुलीको पुनर्मिलन । उनीहरू दुवै कुनै बेला शाही नेपाली सेनामा रहेछन् । गोपाल पराजुली त बक्सर रहेछन् । यी कुराको जानकारी मलाई त्यही कार्यक्रमको सिलसिलामा भयो । हरिबिभोर कार्कीलाई सम्मानको कार्यक्रम नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भएको थियो ।

त्यही भेटमा गोपालले आफ्नो कृति प्रकाशनको लागि हरिविभोर कार्कीलाई कुरा राखेका रहेछन् । हरिविभोरले किताब प्रकाशनका लागि सहयोग गर्छु सम्पर्कमा रहनुहोला भनेर आफ्नो फोन नं दिएका रहेछन् ।

त्यसपछि गोपालले मलाई हरिबिभोर कार्कीसँग अन्तर्राष्ट्रिय ट्रङ्कल गर्न मद्दत मागे । नयाँ सडकको साहित्यकारहरूले चिया पिउने ठाउँ खिचापोखरीको लाइनमा सरेको थियो । सो चिया पिउने ठाउँको माथि लोकल फोन, स्वदेश तथा विदेशमा ट्रङ्कल गर्ने ठाउँ थियो । मलाई थाहा भएको सजिलो ठाउँ त्यही थियो । गोपाल र म त्यहाँ गएर हरिविभोर कार्कीलाई फोन गर्थ्यौं । कहिले भेटिन्थे । कहिले भेटिन्न थे । गोपाल एक्लै फोन गर्न सक्दैनथे । म नै चाहिन्थ्यो । र मैले बिसौँ पल्ट फोन गराइरहेँ । जब किताब प्रकाशनका लागि पैसा आयो, तब त्यो फोनको सिलसिला मत्थर भयो ।

काव्य थियो उनको किताब । त्यसको प्रकाशनपछि त्यसलाई बेलायतमै विमोचन गर्ने सल्लाह भयो । यो सिलसिलामा फेरि बेलायतमा फोन चालु भयो । विमोचनमा डा. ध्रुवचन्द्र गौतम र राजेन्द्र पराजुलीलाई पनि लैजाने सल्लाह भयो । हामी चारै जनाले बेलायतको लागि भिसा आवेदन दियौँ । राजेन्द्रजीलाई भिसामा समस्या भयो । डा. ध्रुवचन्द्र गौतमलाई टिकट स्पन्सर खोज्न सकिएन र भिसा पाएर पनि उहाँ नजाने हुनुभयो । बेलायतमा अब गोपाललाई साथ दिन म बचेको थिएँ । फोन गर्न समेत गोपाललाई म चाहिन्थ्यो भने एक्लै बेलायत जाने कुरा उनले सोच्न पनि सक्दैनथे ।

गोपालजीलाई बेलायतमा किताब विमोचनका लागि साथ दिन मैले लाखौँ खर्च गरेर जाने मेरो हैसियत थिएन । तर म बेलायत गइसकेको । अमेरिका पनि गइसकेको । विदेशमा घुम्नको लागि गए पनि काम गरेर खर्च जुटाउन जानिसकेको अनुभव थियो मसँग ।

मैले गोपाललाई भनेँ, “हेर्नोस्, म तपाईंलाई साथ दिनको लागि मात्र लाखौँको टिकट खर्च गरेर जान सक्ने हैसियत छैन । तर म त्यहाँ काम साम गरेर खर्च उठाउन भने सक्छु । यो सर्तमा म तपाईंसँग बेलायत त जान्छु तर तपाईं एक्लै फर्कनु पर्छ । म चाहिँ उतै बस्छु ।“

यो सर्त पनि गोपालको लागि डुब्न लागेको मानिसलाई परालको त्यान्द्रो झैँ भयो । उनले सहर्ष स्वीकारे ।

थाई एयरवेजमा यात्रा सुविधाजनक हुन्छ भन्ने सुनेको थिएँ । यसपल्ट बेलायत जाँदा थाइ एयरको मजा लिऊँ भन्ने लाग्यो । तर अलिक महँगो पर्दो रहेछ । काठमाडौँबाट बैङ्कक, अनि बैङ्ककबाट सिधै नन स्टप लन्डन हिथ्रो । मैले गोपालसँग यो कुरा भनेँ । उनी त मैले जे भने पनि “हुन्छ” भन्थे ।

यसरी हामी सन् २००३ मा बेलायत पुग्यौँ । बेलायतको मात्र होइन, सम्भवतः विश्वकै पहिलो नेपाली संस्था यतिको आयोजनामा लन्डनमा आयोजित यौटा कार्यक्रममा उनको किताब विमोचन भयो । तर कार्यक्रम विमोचनको मात्र थिएन । मूल कार्यक्रमको एक अंस थियो विमोचन । समय पुगेन भनेर मैले बोल्ने कार्यक्रम कटौती भयो । म त्यही कार्यक्रमको लागि उनलाई साथ दिएर नेपालदेखि गएको मानिस । तर यस विषयमा गोपालले कुनै चासो राखेनन् । त्यो पुस्तक प्रकाशनका लागि अर्थ जुटाउन हरिविभोरजीसँग दर्जनौँ दर्जन पटक फोन गराउने, नेपालदेखि विमोचन कार्यक्रमका लागि साथ दिने मेरो नाम समेत लिएनन् गोपालले, आफूले बोल्ने क्रममा । पहिलोपल्ट झस्केँ म,यी कस्ता मानिस हुन् ?

कार्यक्रम सकिएको केही दिनपछि गोपालको नेपाल फर्कने टिकट थियो । म त ६ महिनाको फिर्ती टिकट लिएर गएको थिएँ । गोपाल फर्केपछि मैले काम खोज्नु थियो । टिकट खर्च उठाउनु थियो । केही थप बचत गर्नु थियो घर परिवारको लागि । तर गोपाल बेलायत बसुन्जेल मैले काम खोज्न मिलेन । उनलाई साथ दिएर मैले भ्याएसम्म घुमाएँ ।

बेलायतका यति संस्थाका सहृदयी मित्रहरूलाई लागेछ, सोझा कवि गोपाल त्यति धेरै खर्च गरेर पहिलोपल्ट बेलायत आएका । कमसेकम उनको टिकट खर्च बराबर सहयोग गर्नुपर्छ । गोविन्द त पहिला पनि आएका, टाठा बाठा, अलि समय बस्न आएका रहेछन्, उनलाई त सहयोग गर्न जरुरी छैन । यो कुरा मलाई यति कै पदाधिकारीले भने ।

मैले खुसीसाथ भनेँ, “ यो तपाईँहरूको राम्रो सदाशयता हो ।“

यो कुरा गोपाललाई पनि उनीहरूले भने । बेग्लै । तर गोपालले उनलाई सहयोग गर्न लागेको विषयमा कुनै कुरा मलाई चुहाएनन् । मैले अलि घुमाएर सोध्दा पनि खुला मनले जवाफ दिएनन् । म झन् छक्क परेँ । सोझा कवि त कस्ता हुन् ?

गोपाल नेपाल फर्किए । फर्किएपछि कान्तिपुर दैनिकमा समाचार छपाए, “गोपाल पराजुली बेलायतबाट फर्किए” शीर्षकमा । त्यो समाचारमा सँगै गएको म भने उतै लुकेर बसेको छनक आउने खालको भाषा थियो । म झन् छक्क परेँ । म त जुन समझदारीमा गएको थिएँ, त्यही समझदारी अनुसार बेलायत बसेको थिएँ । म त्यही सर्तमा उनलाई साथ दिएर गएको थिएँ ।

त्यसपछि गरिमामा उनले यौटा लामो लेख लेखे । त्यही बेलायत यात्राको सम्बन्धमा । तर उनले १०-१२ पेज लामो लेखमा मेरो नाम कतै उल्लेख गरेनन् । एक ठाउँमा कुनै प्रसङ्ग बेगर “गोविन्द थिए ।“ दुई शब्द लेखेका रहेछन् जुन २ शब्दले मेरो नामको प्रतिनिधित्व गर्न सक्दैनथ्यो र पाठकले म भन्ने अनुमान गर्न सक्दैनथे ।

म बेलायतबाट फर्केपछि गोपालसँग मेरो सम्बन्ध न्यानो रहेन । यस विषयमा राजेन्द्र पराजुलीसँग पनि मेरो कुरा भएको थियो । तर कवि नै हुन् । हामी दुवै साहित्यकै क्षेत्रका । पछि बिस्तारै मित्रताको सम्बन्ध न्यानो हुँदै गयो । मैले तीता अनुभवलाई पैतालामुनि राखेँ ।

म अमेरिका आइसकेपछि उनी अनेसासको वेस्ट बुक अवार्डबाट पुरस्कृत भए । अमेरिका आए । अमेरिकामा पुरस्कार वितरणको औपचारिक कार्यक्रम बाहेक त्यति बेला हेमन्त श्रेष्ठसहितको संलग्नतामा वासिङ्टन डिसीमा सञ्चालित माउन्ट एभरेस्ट रेष्टुराँमा उनको सम्मानमा कार्यक्रम गर्यौं ।

खासमा गोपाल पराजुली खुरुखुरु लेखिरहने कवि हुन् । लेख्न त उनले नाटक पनि लेखेका छन्, एब्सर्ड प्रकारका । किताब पनि प्रकाशित भएको छ । तर उनको कुनै नाटक मञ्चन भएको मलाई हेक्का छैन । उनको कविता वा काव्य लेखनको आफ्नै प्रकारको शैली छ । निजी शैली । गोपाललाई चिनाउने आफ्नै प्रकारको शैली । तर उनका रचना लोकप्रिय भएनन् । काव्यमै मदन पुरस्कार पाए । तर पनि उनको काव्यको लोकप्रियता बढेन ।

गरिमाको सम्पादक छँदा उनी लेखकहरूको सम्पर्कमा थिए । तर गरिमाबाट बिदा लिएपछि उनको साहित्यकारहरूसँग उति सारो बस उठ हुने कुरै भएन । उसै पनि थोरै बोल्ने र खुरुखुरु लेख्ने, लुरुलुरु हिँडिरहने कवि हुन् ।

गोपाल पराजुली, थोरै बोल्छन्, लेखिरहन्छन् ।

लुरुलुरु आफ्नो यात्रामा आफैँसँग रमाइरहन्छन् ।

आफैँ भित्र हराइरहन्छन्, कविताभित्रै हराइरहन्छन् ।

गोपालको कविता यात्रा चलिरहेछ ।

जीवनयात्रा चलिरहेछ ।

अमेरिका