रामबदन प्रधान तपाईं हामीका लागि नौलो नाम हुन सक्ला !
पुरुषले हाबी भएको कृषि मन्त्रालय (मिनिष्ट्रि अफ एग्रीकलचर)मा उहाँ पहिलो महिला हुनुहुन्थ्यो जसले महा निर्देशक (डाइरेक्टर जेनेरल) जस्तो गरिमामय पद हासिल गर्न सफल हुनु भएको थियो । त्यस बेलाको स्थितिमा एउटा महिला यो उचाइसम्म पुग्नु एउटा गर्वको विषय र यो उदाहरणले महिलालाई हेर्ने दृष्टिकोणलाई फेर्ने एउटा लहरको सुरुवात गर्नु भएको थियो ।
नेपालको कृषि क्षेत्रमा उदाहरणीय महिला बन्न पुगेकी उहाँ नेवार समुदायको मध्यम वर्गीय परिवारमा पिता पदम बहादुर मल्ल र आमा रामप्यारी मल्लको कोखबाट इ.सं. १९४१ मा पाँच सन्तान मध्य चौथौँ सन्तानका रूपमा वटु टोल, काठमाडौँ नेपालमा जन्मनु भएको हो । राज परिवारका मल्ल पुर्खाहरू मध्य चौधौँ पुस्ताका यक्ष मल्ल अन्तर्गत पिता पदमबहादुर मल्ल त्यस ताका सरकारी जागिरे डिट्ठा हुनुन्थ्यो ।
रामबदन प्रधानले पशुधन उत्पादन र प्रकृति श्रोत व्यवस्थापन (Livestock Production and Nature Resource Management)को पेसामा निकै नै सक्षम पति शत्रुधन लाल प्रधानसँग सुखी जीवन बिताउन पाउँदा उत्ति नै गौरवान्वित हुनुहुन्थ्यो । व्यावसायिक रूपमा सक्षम उहाँका दुई सन्तान इभा प्रधान र सेसिललाल प्रधान जो विदेशमा आ –आफ्नो परिवारसँग बस्दै आएका छन् ।
रामबदन प्रधान जन्मिनु भएताका काठमाडौँ राजनीतिक र सामाजिक क्षेत्रमा अनुपम परिवर्तनको पहल हुँदै थियो । हुर्केका छोरी चेलीहरू चुला चौकी र परिवारको रेखदेखमै सीमित हुनुपर्थ्यो । पढ्नु र उच्च शिक्षा हासिल गर्नु सानै देखि दृढ चाहना एवं सङ्कल्प थियो र छोरी जातिले पढ्नै पर्छ भन्ने भावना राख्नु हुन्थ्यो । हर कुरामा सक्रिय, निडर, साहसी र बौद्धिकताले परिपूर्ण हुनुहुन्थ्यो ।
अनेक चुनौतीहरूलाई पछार्दै समाजका महिलाहरूलाई हेर्ने अभिव्यक्ति परिवर्तन गर्दै फलस्वरूप उहाँ न्ह्योखा टोल, काठमाडौँ स्थित कन्या मन्दिर हाई स्कुलमा आफै भर्ती भई परिवारमा उदाहरणीय चेली बन्न सफल हुनु भएको थियो । उहाँको यो कदमलाई घर परिवारले पनि समर्थन गर्दै सम्मानका साथ अघि बढ्ने हौसला दिएकाले विश्वास जगायो । यो कुरो सत्य हो आफ्नाले साथ दिएमा जस्तोसुकै कठिन पहाड पनि सजिलै चढ्न सकिन्छ । सन् १९५६ मा कन्या मन्दिर हाई स्कुलबाटै एस. एल.सी. पास गर्नु भो । इ.सं. १९५९ मा त्रिचन्द्र क्याम्पसबाट आइ.एस.सी. पास गर्नु भो जुन क्याम्पस पट्ना विश्वविद्यालय इन्डियाद्वारा सञ्चालित थियो । त्रिचन्द्र क्याम्पसबाटै इ.सं.१९६१मा बि.एस.सी.(ग्र्याजुएट) पास गर्नु भो जुन त्रिभुवन विश्व विद्यालय अन्तर्गत पर्दथ्यो ।
उहाँको सिप र शिक्षाको कदर त्यो बेला अझै बढ्यो जब उहाँले लखनउ विश्वविद्यालयमा जुलोजी विषयमा मास्टरको लागि भारतीय सरकारद्वारा कोलम्बो प्लान स्किम अफ द कमनवेल्थ कन्ट्रिज (India Government under the Colombo Plan Scheme of the Common wealth countries) अन्तर्गत छात्रवृत्ति पाउनु भो ।
यो स्तरको शिक्षा र सीप हासिल गर्न सफल हुनुमा उहाँ परिवारको पहिलो महिला हुनुहुन्थ्यो जसले उहाँको आत्मविश्वास र मूल्य बढेको महसुस र सोचमा पनि परिवर्तन ल्यायो । महिलाहरू शिक्षित भई आफ्नो खुट्टामा उभिन सक्नु पर्छ भन्ने सोचको आवाज अरु महिलाहरू समक्ष पोख्न उहाँ पछि हट्नु भएन । महिलाहरूले शिक्षा र त्यसको महत्त्व बुझोस् भन्ने घडीको पर्खाइमा हुनुहुन्थ्यो जसको सुरुवात आफ्नै घरबाट बहिनी मथुरा बदनको असल शिक्षाबाट गर्नु भयो । बहिनी मथुराले कार्यकालको बिचमा स्नातकोत्तर अध्ययन (पोस्ट ग्र्याजुएट) सक्काएर पेसागत प्रथम श्रेणी अधिकारी (फर्स्ट क्लास अफिसर)को दर्जासम्म पुग्न सफल हुनु भएको थियो । अतः रामबदन र मथुराबदन एक अर्काका शुभ चिन्तक, प्रेरणाका स्रोत र हौसलाका पात्र बन्नु भएको थियो । उहाँले आफ्नो जीवनमा भोगेका कठिनाइ समाजमा पोख्नु हुन्थ्यो । महिलालाई भिन्न तरिकाले हेरिने दृष्टिकोण र गरिने व्यवहारलाई आफू लगायत पूरा नेपाली चेलीबेटीमाथि देख्नु भो जुन कुराले उहाँलाई दुःखित बनाउँथ्यो साँच्चै भन्ने हो भने अशिक्षित आफ्नै आमा र नेपाली महिलाहरू सम्झेर उहाँको मन खिन्न हुन्थ्यो ।
सन् १९६५ मा सहायक कीटविज्ञानी (असिस्टेन्ट एन्टोमोलोजिष्ट) को पदमा कृषि विभाग (डिपार्टमेन्ट अफ एग्रीकल्चर) मा सरकारी सेवा सुरु गर्नुभयो । जनताको सेवाको रूपमा पदमा उभिनु भएको थोरै महिलामा गनिनु हुन्थ्यो जुन ७५ जिल्लामा नै चल्ने सङ्गठन थियो । किटको अनुसन्धान र व्यवस्थामा आफ्नो क्षमताअनुसार उहाँले सक्दो योगदान दिनु भयो ।
सहायक कीटविज्ञानी (असिस्टेन्ट एन्टोमोलोजिष्ट)को पदमा कृषि विभागमा सरकारी देखिको डी.ओ.ए. को महा निर्देशक (डाइरेक्टर जेनेरल) सम्मको यात्राले वातावरणमा सकारात्मक परिवर्तन ल्यायो जसको फलस्वरूप बिरुवा संरक्षणको निमित्त धेरै श्रोतहरू देशभरि वितरण गर्न थालियो । जुन कार्यको निम्ति विशेष र पूर्ण रूपमा कार्यालय र कर्मचारी नियुक्ति गरेको बापत उहाँको हर्षको सीमा रहेन । सरकारी कार्यकालको अन्त्यमा पनि उहाँ निकै सन्तुष्ट र प्रफुल्लित हुनुहुन्थ्यो ।
आगामी दिनहरूमा उहाँले मिनिष्ट्र अफ एग्रीकलचरकोे अन्तर्गतमा जोइन्ट सेक्रेटरीको रूपमा सेवा गर्नुभयो । मन्त्रालयको नीति, गठन र निगरानीमा मदत गर्ने यो अवसरको रूपमा लिनुभयो । आफ्नो कार्यालयको वरिष्ठ कर्मचारी र मातहतसँग मिलेर कृषि मन्त्रालयको नीति गठन गर्न र व्यवस्थापनमा ठूलो योगदान दिनु भएको छ । रामबदन प्रधान वरिष्ठ सरकारी कार्यकारीमा छनौट भएका १५ जना मध्यमा पर्नुहुन्थ्यो । जसले इफेक्टिभ एडमिनिस्ट्रेसनमा स्टाफ कलेजबाट प्रशिक्षण लिने मौका हासिल गर्नुभयो र यसै सिलसिलामा आधिकारिक व्यवस्थापन प्रणाली बुझ्न पाकिस्तान पुग्नुभएको थियो । रामबदन प्रधानले जुलोजी पेस्ट म्यानेजमेन्टको क्षेत्रमा दिनुभएको योगदान नेपाल आकाडमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) द्वारा सम्मानित हुनु भएको थियो ।
उहाँले प्रमुख अनाज, बागवानी र औद्योगिक कीट व्यवस्थापनको अनुसन्धान र विकासमा आफ्नो उत्कृष्ट योगदान दिनु भएको छ । त्यति बेला नेपालको कृषि बालीमा प्रमुख कीरा समस्याहरूको पहिचान गर्न अनुसन्धान गर्ने अग्रगामी अभियान टोली सदस्य हुन पाउँदा गर्व महसुस गर्नुहुन्छ । फलफूलका महत्त्वपूर्ण कीराहरूको एकीकृत कीट व्यवस्थापनका लागि फलफूल फ्लाई ट्र्यापको प्रयोगमा अग्रगामी अनुसन्धानको कार्य गर्नु भएको छ ।
फलफूल र तरकारीहरूमा फलफूलमा लाग्ने एक महत्त्वपूर्ण कीराको व्यवस्थापनका लागि उपयुक्त लागत अथवा प्रभावकारी तथा हावापानी उब्जनी योग्य स्थान खोज्ने निरन्तर प्रयास सफल भयो र आफ्नो उपलब्धिबाट गौरवान्वित महसुस गर्नु भएको थियो साथै भुटानमा पनि सिट्रस फल (citrus fruit)को विरुद्धमा यो सरल प्रविधि अपनाएकोमा सन्तुष्ट अनुभूति गर्नु हुन्छ ।
त्यसै गरी केही स्थानीय बिरुवा सामाग्रीको पहिचानमा पनि आफ्नो अनुसन्धान कार्यको सफल नतिजा जस्तै खुसी हुनुहुन्छ । धान र आलुमा लाग्ने कीराको प्रभावकारी व्यवस्थापनका लागी नीम, आर्टेमेसिया, बोट्रिटिस, मेन्थे आदिको प्रयोग गरिएको थियो । यी प्रजातिका छायादार बिरुवाहरूले पनि आलुको ट्युबर मोथ (पी.टी.एम) व्यवस्थापन गर्न मद्दत पुगेको छ । अन्तर्राष्ट्रिय आलु केन्द्र (सी.आई.पी.), लिमा सम्बन्धी अनुसन्धान वैज्ञानिकहरूसँग आफ्ना निष्कर्षहरू साझा गर्न सक्थे जुन बेला उहाँ अन्तर्राष्ट्रिय आलु केन्द्र, लिमा मा छोटो समयका लागि हुनुहुन्थ्यो ।
इ.सं.१९७० को दशक कडा राजनीतिक दबाबका बाबजुद पनि किसानलाई रासायनिक विषादीको निःशुल्क वितरण बिरुद्ध कडा अडान लिँदा उहाँले गर्व महसुस गर्नुभयो । यसले विषादी प्रदूषण कम गर्न र विशेष गरी नेपालका साना किसान समुदायहरूमा पारिस्थित सन्तुलन कायम गर्न मदत पुगेको थियो ।
उहाँले महिला कर्मचारीहरूको मनोबल बढाउनको साथै महिला नेतृत्व किसानहरूलाई अगाडि बढाउनको लागि आत्मविश्वास निर्माण गर्न र सामाजिक हैसियत र सम्मान कमाउन उत्पादक साहसिक कार्यहरू गर्न सधैँ साहसी कदमहरू चाल्न प्रोत्साहित गर्नुभएको छ । सहायक कीटविद्को रूपमा आफ्नो उत्कृष्टता र सहयोगी भूमिकाले प्राथमिकता दिन र देशभर बिरुवा संरक्षण सेवाको बिस्तारका लागि थप स्रोतहरू उपयोग गर्न राम्रो वातावरण सिर्जना गर्न पाउँदा र अहिले देशका सतहत्तरै जिल्लामा पर्याप्त स्रोत साधनको भरपर्दो कार्यालय र कर्मचारीहरू देखेर उहाँ सन्तुष्ट हुनुहुन्छ ।
सरकारी सेवामा आफ्नो पेसाको कार्यकालको अन्त्यमा कृषि विभाग (डिपार्टमेन्ट अफ एग्रिकलचर)को इतिहासमा पहिलो महिला महानिर्देशकको रूपमा विभागको नेतृत्व गर्न पाएकोमा आफूलाई अहो भाग्य र परिश्रमको फल ठान्नु हुन्छ ।
आफ्नो कार्यकालको पछिल्लो भागमा कृषि मन्त्रालयमा सहसचिवको रूपमा काम गरी नीति निर्माण र अनुगमनको जिम्मेवारी सम्हाल्ने यो एउटा अवसर पनि थियो । विभिन्न क्षमतामा सरकारी जागिरमा रहँदा उहाँले आफ्ना वरिष्ठ कर्मचारी र मात तहका कर्मचारीहरूको पूर्ण संयोजन सौहार्द पूर्ण ढङ्गले सफल हुनु भो । नेपालको कृषि क्षेत्रको अनुसन्धान र विकासको नीति निर्माणमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो । राम बदन प्रधानलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान (नास्ट)ले प्राणी शास्त्र र किरा व्यवस्थापनको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो । उहाँ रोयल नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (रोनास्ट) को सदस्यको रूपमा पनि मनोनीत हुनुहुन्थ्यो जसलाई अहिले नेपाल विज्ञान प्रतिष्ठान भनिन्छ ।
उहाँ संस्था विस्ट (WIST) को संस्थापक सदस्य पनि हुनुहुन्थ्यो जुन संस्था नेपालका महिला वैज्ञानिक तथा प्राविधिकहरूको प्राविधिक तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न स्थापना भएको हो । यस संस्थाको मुख्य उद्देश्य महिला वैज्ञानिक र प्राविधिकहरूका लागि सीप विकासको प्रमुख गोष्ठी र सम्मेलनहरूमा भाग लिन लगाई विश्वको क्षेत्रमा मान्यता अनि तालिमका अवसरहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध गराउनु थियो ।
इ.सं.१९९९ मा सरकारी सेवाबाट अवकाश लिएपछि नेपालको ग्रामीण र सहरी जनतालाई उपयुक्त कृषि प्रविधि बिस्तार गर्न थप समय दिन सक्नु भएको थियो जुन सेन्टर फर एग्रीकल्चर टेक्नोलोजी (क्याट) नामक एक निजी संस्था मार्फत गरिएको थियो सो कार्यक्रम कीरा व्यवस्थापन र माटो व्यवस्थापनमा केन्द्रित थियो र यसको मुख्य ध्येय च्याउ प्रविधि र स्पोन बीउ उत्पादन थियो । उहाँले केही समय संस्थाको प्रबन्ध निर्देशनको पद सम्हाल्नु भएको थियो ।
सधैँ आफ्नो परिवारका सदस्यहरूको बालबालिकाहरूलाई विशेष गरी उनीहरूको प्रगति र प्रतिष्ठाको लागि मार्ग दर्शन गर्न, मद्दत गर्न र मनोरञ्जन मन पराउनु हुन्थ्यो । यसरी नै उहाँले आफूले चाहेको स्तरको शिक्षा दिई देशको सक्षम नागरिक बनाउन सहयोगीहरूको क्षमताको विकासको निम्ति सक्दो प्रयास गर्नु भएको थियो ।
केही समय अगाडी उहाँलाई लामो समयदेखि समर्पित सेवा र कृषि क्षेत्रमा ठूलो योगदानको लागि सोसाइटी अफ प्लान्ट, प्रोटेक्शन इन नेपालले सम्मान गरिएको थियो ।
सङ्कुचित समाज कालमा पनि घरेलु कामदारको रूपमा आफ्नो घरमा काम गर्ने तीन जना केटाहरूलाई पढाउन पाएकोमा गर्व महसुस गर्नुहुन्छ । उनीहरू घरको कादारको रूपमा रहँदा पढाइमा विशेष ध्यान राख्नु हुन्थ्यो । उनीहरू रामबदन प्रधानको परिवारसँग १० वर्ष वा सो भन्दा बढी समय फरक फरक समयमा बसेका थिए । उनीहरू सबैले एस.एल.सी. तहसम्म पढ्न पाएका थिए साथै जागिर र परिवारका साथ सुखमय जीविकोपार्जन गर्दै आएका छन् जुन कुराले उहाँ अत्यन्तै सन्तुष्ट र खुसी हुनुहुन्छ ।
उहाँले आफ्ना नजिकका नातेदारहरुलाई खाँचो पर्दा कामको अवसर दिन मद्दत गर्दै आइरहनु भएको थियो । अफिसर तहसम्म प्रगति भएको र नेपालको एउटा एन.जी.ओ.मा सल्लाहकारको रूपमा काम गर्ने अवसर पाएकोमा खुसी अनुभूति गर्नुहुन्छ ।
सेवा निवृत्त भएपछि उहाँले बुढानीलकण्ठ स्थित माननीय गुरु एस.एन.गोयन्का द्वारा निर्देशित ध्यान (मेडिटेसन कोर्स) मा सहभागी हुन पाउनु जीवनको महत्त्वपूर्ण उपलब्धि महसुस गर्नुहुन्छ जुन कोर्सलाई अझै पनि निरन्तरता दिइरहनु भएको छ ।
आध्यात्मिक मामिला, आत्म सहायता, महिला सशक्तीकरण, नेतृत्व र महान् व्यक्तिहरूको जीवनी सम्बन्धी पुस्तकहरू अध्ययन गरेर आफ्नो ज्ञानलाई समृद्ध बनाउन र आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउन सक्षम हुनु भएको छ । यो उहाँको जीवन यात्राको अर्को उल्लेखनीय कुरो हो । अतः उहाँ शान्तिमय र सुखी विवाहित जीवन यापन गर्न सफल महिलाहरू मध्य कि एक हुनुहुन्छ ।
रामबदन प्रधानले विश्वका धेरै देशहरू जस्तै अस्ट्रेलिया, जापान, नेदरल्याण्ड, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका, पेरु, युनाइटेड किङडम, फिलिपिन्स, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिंगापुर, बङ्गलादेश, भारत, पाकिस्तान, चीन र भियतनाम भ्रमण गरिसक्नु भएको छ । उहाँले विभिन्न विदेश भ्रमणका क्रममा प्राप्त गर्नु भएको अनुभव नेपाल सरकारको नीति तथा कार्यक्रममा समेट्नु भएको छ ।
अझै पनि उहाँ महिला सशक्तीकरण र कृषि क्षेत्रको निमित्त एक अब्बल र प्रशंसनीय पात्र बन्न सफल हुनुभएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।