शीर्षकमा प्रयोग गरेको २ शब्द ‘अतिवादी’ र ‘चमत्कार’ अन्तर्विरोधी शब्द लाग्छन् । हो पनि । तर कहिलेकाहीँ अन्तर्विरोध र चमत्कार सँगसँगै हिँडिदिन्छन् । नाट्य सम्राट् बालकृष्ण समले लेखिदिए ‘नियमित आकस्मिकता’ । यी दुई शब्द पनि अन्तर्विरोधी नै हुन् । तर चल्यो ।
मेरो नियात्रा पुस्तक “टुप्लुक्क टोकियो” को विमोचन समारोहमा नियात्रा समाज नेपालका अध्यक्ष र मित्रका हैसियतले प्रतीक ढकाल पनि वक्ता थिए । उनले बोल्न यसरी सुरु गरे, “गोविन्द र म त जाँड खाने पार्टनर हौँ । हामी जाँड खान नेपालगञ्जसम्म पुग्थ्यौँ ।“
प्रतीकको कुरा सुनेर धेरै अलमल्ल परे । ट्वाँ परे । म पनि अचम्म मानेर उनको मुखतिर हेर्न लागेँ ।
यो कुरा सत्य थिएन । सत्य नै भए पनि त्यसरी बोल्न उपयुक्त ठाउँ थिएन । त्यो त औपचारिक समारोह थियो, जाँडै खान भट्टीमा हल्ला गर्दै बसेको अवस्था थिएन । अतिवादी । तर उनीसँग नेपालगञ्चजमा एकै पटक सँगै मदिरा पान गरेको चाहिँ असत्य थिएन ।
चालीसको दशकमा कुनै वर्ष म महेन्द्रनगरमा रहेको क्याम्पसको आन्तरिक लेखा परीक्षणका लागि काठमाडौँदेखि नेपालगञ्ज शानेवानीको ट्वीनअटरमा जाँदै थिएँ । त्यसपछि धनगढी हुँदै महेन्द्रनगर पुग्ने कार्यक्रम थियो । त्रिभुवन विमानस्थलमा प्रतीकसँग भेट भो । उनी पनि पश्चिमतिरको कुनै सिडियो अफिसमा अधिकृतको काम सम्हाल्न जाँदै रहेछन् । शायद सहायक सिडियो थिए । त्यो रात नेपालगञ्जमै वास बस्यौँ हामी । यौटा लजमा । अनि मैले तिनलाई एक रुपैयाँ टुक्रा तारेको माछा पाउने झोपडीमा लिएर गएँ । त्यहाँ घरेलु मदिरा समेत उपलब्ध हुन्थ्यो । मलाई त्यो ठाउँ नेपालगञ्जकै क्याम्पसका लेखाका साथी गोविन्दमान श्रेष्ठले लगेका थिए कुनै वेला ।
त्यति बेला पनि एक रुपैयाँ टुक्रा तारेको माछा सस्तै थियो । प्रतीक दङ्ग परे । बिस टुक्रा खाए २० रुपैयाँ नै त पर्थ्यो । त्यसपछि खाना खानै पर्दैनथ्यो । अघाइन्थ्यो ।
भोलिपल्ट हामी आआफ्नो बाटो लाग्यौँ ।
‘त्यो ठाउँ त तिमीले गज्जबकै ठाउँ चिनायौ यार । म त धेरैपल्ट गएँ नि नेपालगञ्ज बाटो पर्दा” पछि भेट्दा उनले यसो भन्थे । तर भएको यत्ति कुरालाई मेरो विमोचन समारोहमा त जाँड खानै नेपालगञ्जसम्म जान्थ्यौँ भनेर चकित पारिदिए ।
हुन त मेरो प्रतीकसँग त्यसअघि उति सारो निकटता थिएन, राम्रै चिनाजानी भए पनि । तर नेपालगन्जमा एक रात एउटै लजको एकै कोठामा वास बसेर गफ गफादिमा मग्न भएपछि र साँझको खानपान उदात्त भएर खाँदै साहित्यिक कुराकानी गरेपछि झन् कसिलो भएको, निकट भएको र तिमी तिमी भएको हो ।
विसं २०२८ सालमै पहिलो कविता प्रकाशित गरेर अनि विसं २०४२ सालमा खुल्ला वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर स्वर्ण पदक हासिल गरेका उनी सन् १९८५ मा अन्तर्राष्ट्रिय युवा वर्षको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर जापानको टोकियो पुग्न पाएका र स्वर्ण पदक हात पारेका प्रतिभा हुन् । त्यसकारण उनी बोली कलामा खप्पिस छन् र चमत्कारिक छन् । युवक हुँदाखेरिदेखि नै ।
लेखनमा पनि चमत्कार गर्न सक्ने खुबी भएका हुन् उनी ।
वि.सं २०४६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बर्सेनि गर्ने कविता महोत्सवमा झापाका खडानन्द ढकाल दोस्रा भए र पाल्पाकी लक्ष्मी ढकाल तृतीय भइन् । खडानन्द ढकाल नै प्रतीक ढकालको नाम हो भन्ने खुलेपछि त्यसले साहित्यिक क्षेत्रमा निकै हल्लाखल्ला मच्चिएको थियो । अझ लक्ष्मी ढकाल उनकै श्रीमती हुन् भनेपछि अर्को तहल्का भएको थियो । प्रतीकले आफ्नो नाममा २ वटा, प्रतीक ढकाल र खडानन्द ढकालको नाममा र श्रीमतीको नाउँमा समेत आफैँले कविता लेखेर पठाएको आरोप खेप्नु परेको थियो । एकेडेमीमा पनि गलफती परेको सुनिएको थियो । लक्ष्मी ढकाल आफैँ सर्जक हुन् भन्ने उनको स्पष्टीकरण थियो ।
त्योभन्दा अघि विसं २०४४ सालमा उनको यौटा ‘शोक काव्य’ प्रकाशन भएको थियो, “सानुलाई” । त्यसको बारेमा गाइँगुइँ नकारात्मक कुरा सुनेको हुँ । तर त्यसको मूल कुरा के हो मैले प्रतीकलाई कहिल्यै सोधिनँ । नेपालको उनको पुस्तकाकारमा प्रकाशित कविता काव्य विधाको एक मात्र कृति यही हो ।
बिचमा उनले व्यावसायिक हिसाबका गैर साहित्यिक कृतिहरू नेपालको प्रशासन, राजनैतिक चिन्तन जस्ता किताब पनि लेखे । काका होचि मिन्ह, चम्किलो रातो तारा जस्ता राजनीतिक मूल्यका साहित्यिक कृतिहरू अनुवाद पनि गरे ।
तर साठीको दशकपछि उनको लेखनले पूरै मोड लियो । उनी एक प्रकारले पूर्ण रूपले नियात्रा विधामा एकोहोरिए, समर्पित भए । अरू विधालाई एक किसिमले चटक्कै छाडे, माया मारे । विसं २०६१ सालमा “हिमालपारि पुगेपछि”को प्रकाशनबाट सुरु भएको उनको नियात्रा लेखन यात्रा “उज्यालो कर्णाली”सम्म निरन्तर चलेको छ । उनले नियात्रा लेखन, प्रकाशन र बिक्रीमा समेत चमत्कार गरेका छन् । अनेक “कीर्तिमान”ले समेत चमत्कार गरेका छन् ।
यो नियात्रा लेख्न र चमत्कार गर्न सहयोग पुर्याउने अरू केही र कोही थिएन । उनले खाएको सरकारी जागिर थियो । पर्यटन मन्त्रालयले पदयात्रा गर्ने वा हिमाल आरोहणमा जाने विदेशी समूहलाई स्थानीय सरकारी प्रतिनिधि “लियाजो अफिसर” पठाउने गर्दछ । तर पर्यटन मन्त्रालयमा भएका कर्मचारीहरूले मात्र नपुग्ने हुनाले अरू मन्त्रालयबाट पनि काजमा जाने चलन हुन्छ । अब यसमा अरू मन्त्रालयका कर्मचारीले त्यो अवसर पाउन आफ्नो हाकिमको सदाशयता र पर्यटन मन्त्रालयको हाकिमको पनि सदाशयता चाहिन्छ ।
प्रतीकले दुवै सदाशयता प्राप्त गर्न सके । त्यही सदाशयता फल्यो फुल्यो र त्यसैले कवि प्रतीक ढकाललाई हिमालको नियात्रा लेख्ने नियात्राकार बनायो । हिमाल चढ्ने शेर्पा चिनायो । व्यवसायी चिनायो । विदेशी चिनायो । जीवन नै कायापलट गर्ने नयाँ गल्छेडोमा पुर्यायो ।
हुन त विश्वमा नियात्रा लेखनको परिपाटी र शैली अलग छ । नियात्रा लेख्नकै लागि योजना बनाएर, अध्ययन गरेर, ठाउँ रोजेर, श्रोत बन्दोबस्त गरेर, हप्ता, महिना मात्र हैन वर्षौं समय लगाएर लेखक लेखिकाले कृतिहरू तयार गरेका भेटिन्छन् । तर नेपाली नियात्रा लेखकहरू त्यसो गर्न सक्दैनन् । आर्थिक हैसियतका कारणले । अनि जागिरमा सरुवा हुँदा गरेको यात्रा, सभा सम्मेलनमा सहभागी हुन जाँदाको अनुभव, पारिवारिक भेटघाटका लागि विदेश गएको विवरणलाई नियात्राको जामा लगाइदिन विवश र बाध्य छन् । प्रतीकका यी नियात्राहरू पनि त्यसबाट मुक्त छैनन् ।
नेपालमा नेपालको सरकारको तर्फबाट पहाड हिमालमा कति लियाजो अफिसरहरू घुमे होलान् । तिनले खाए पिए होलान् । रमाइलो गरे होलान् । सुख दुख भोगे होलान् । तर त्यो तिनीहरूमै सीमित रहे । बढी भए चिया गफ वा सायम्कालीन मदिरा पानका बेला गफका विषय बने होलान् । तर प्रतीकले यात्राका आफ्ना सारा अनुभव अनुभूतिलाई लिपिबद्ध गरे । एक होइन । दुई होइन । तीन होइन । झन्डै दर्जनको हाराहारी । यो चानचुने कुरा होइन । एक प्रकारले चमत्कारै हो ।
तर त्यो चमत्कारले उनलाई पुगेन र चमत्कारमाथि थप चमत्कारको जलप लगाउन थाले ।
साझा प्रकाशनबाट प्रकाशित उनको पुस्तक अत्यधिक बिक्रीमा कीर्तिमान भन्ने साझा प्रकाशनले प्रेस विज्ञप्ति निकाल्यो । साझा प्रकाशनले प्रतीकको पुस्तक अत्यधिक भएको बेला मात्र विज्ञप्ति निकाल्यो । न त्यसअघि त्यस्ता प्रेस विज्ञप्ति निस्कन्थे, न पछि नै निस्कन्थे । उनका एक होइन, दुई होइन, तीन होइन ६ वटा पुस्तक साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा विक्रीको उच्च सूचिमा हुनु चमत्कार नै थियो । महाकवि देवकोटाको मुना मदन, विपी कोइरालाका उपन्यासहरू, भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, पारिजातको शिरीषको फूल, जगदीश घिमिरेको अन्तर्मनको यात्रा जस्ता कृतिहरूलाई प्रतीकका नियात्राका कृतिहरूले विक्रीमा उछिन्नु चमत्कारै थियो । मानिसहरू छक्क पर्दथे, साँच्चै बिकेको होला ? तर नबिकेको भए साझा प्रकाशनले कसरी प्रेस विज्ञप्ति निकाल्थ्यो ? अनि प्रतीकले पुस्तकको पहिलो पानामै त्यो प्रेस विज्ञप्ति कसरी छाप्थे ।
तर यहाँ अर्को पनि चमत्कार थियो, उनका ती पुस्तकहरू साथीभाइ शुभचिन्तकहरूको हातमा यस्तो ब्यहोराको रबर स्ट्याम्प लगाएर पुग्दथ्यो “प्रतीक ढकाल तथा श्रीमती लक्ष्मी ढकालको तर्फबाट सादर उपहार” । सामान्यतः साथीभाइलाई किताब उपहार दिने विश्वव्यापी चलन हो । नोबेल पुरस्कार विजेताले पनि हातैले हस्ताक्षर गर्दछन् । हस्ताक्षरको महत्त्व हुन्छ । तर प्रतीकले हातले लेख्न र हस्ताक्षर गर्न नभ्याएरै रबर स्ट्याम्प बनाएका होलान् । यो पनि चमत्कारै भयो ।
प्रतीकको अर्को चमत्कार सगरमाथाको शिखरमा किताब विमोचनको कीर्तिमान । उनले “सगरमाथाको आधार शिविरबाट” नियात्रा किताब सगरमाथा आरोही शेर्पालाई सगरमाथाको शिखरमा पठाए । तिनले सगरमाथाको शिखरमा पुगेर किताब हातमा लिएर फोटो खिचेर ल्याइदिए । कुरा त्यत्ति हो । तर यसैलाई उनले “सगरमाथाको शिखरमा विमोचन” भनेर डङ्का पिटे । मेरो विचारमा त्यो कुनै विमोचन नै थिएन र होइन । किताबको फोटो खिच्नुलाई विमोचन भनिँदैन । न लेखकको उपस्थिति । न औपचारिक समारोह । न कोही वक्ता । न कोही अतिथि, न दर्शक, न श्रोता । कसरी हुन्छ विमोचन ?
तर प्रतीकले यसैलाई ज्यान फालेर “सगरमाथाको शिखरमा विमोचन भएको पहिलो कृति” भनेर समाचार प्रचार भ्याएसम्म गरे । कतिसम्म भने “सगरमाथाको शिरबाटै श्री प्रतीक ढकालद्वारा लिखित एवं मकालु प्रकाशन गृहद्वारा प्रकाशित नियात्रा पुस्तक ‘सगरमाथाको आधार शिविरबाट को विमोचन समेत गरी सर्वोच्च शिखर माथिको प्रथम विमोचनकर्ता सदस्य बन्ने कीर्तिमान कायम गर्नु भएको ब्यहोरा समेत प्रमाणित गर्दछु” भनेर खडानन्द ढकालको नामले आफू कार्यरत मन्त्रालयबाट पर्वतारोहीलाई प्रमाणपत्र पनि प्रदान गरे । खडानन्द ढकाल भनेका प्रतीक ढकाल नै हुन् । तर खडानन्द ढकालले प्रतीक ढकाललाई प्रमाणित गरे । कति गजबको चमत्कार ।
त्यतिले मात्र नपुगी प्रतीकले “सगरमाथाको आधार शिविरबाट” पुस्तकको पुस्तकको कभरमै यस्तो समेत लेखे, “ सगरमाथाको शिखरबाट विमोचित विश्वको पहिलो पुस्तकको रूपमा नेपाल सरकारद्वारा मान्यताप्राप्त कृति” । यो थप चमत्कार भयो ।
चमत्कारको सिलसिला यहाँ पनि टुङ्गिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवको हैसियतबाट कवि दिनेश अधिकारी अर्थात् औपचारिक नाम दिनेश हरि अधिकारीबाट गिन्नेस बुक अफ वर्ल्ड रेकर्डस् मा कीर्तिमान दर्ता गर्न समेत सिफारिस गराए । गिन्नेश बुक अफ वर्ल्ड रेकर्डसले त्यो निवेदन सुन्यो कि सुनेन त्यो भने अज्ञात नै रह्यो ।
यस्ता चमत्कार गर्दा गर्दै निरन्तर लेखिरहन भने प्रतीकलाई वाधा भएन, लेखिरहे । पहाड लेखिरहे । हिमाल लेखिरहे । यति जिल्लामा पाइला टेकेँ भन्दै लेखे । उत्ति जिल्लामा पुगेँ भन्दै लेखे । कर्णालीलाई उज्यालो भन्दै लेखिरहे । लेखिरहेका छन् । लेख्ने मामलामा उनको कलमले नियात्रा पस्किरह्यो, जसै जसै उनका पाइला यात्रामा निक्लिए ।
म सन् २००२ मा युरोप यात्रामा जानुअघि उनले बबरमहलमा स्थित उनको निवासमा खानाको लागि आमन्त्रण गरेका थिए । सिलसिला थियो, बेल्जियमवासी उनका परिचित २ सँग भेट गर्ने तारतम्य । नेपालमा भ्रमणमा आउँदा उनले भेटेका रहेछन् । ती दुई पर्यटकले उनलाई सहयोग गरेका रहेछन् । आफूहरू साहित्य क्षेत्रको नभएर मलखादको व्यवसाय गर्ने भए पनि यौटा नेपाली लेखकलाई मद्दत गर्न पाएकोमा खुसी भएका रहेछन् । तिनैको नाम, फोन नं उनले दिँदै त्यो किताब अङ्ग्रेजीमा अनुवाद गर्न समेत सहयोग गर्नु पर्यो भन्देऊ भन्ने प्रतीकको सन्देश थियो ।
मैले बेल्जियममा ती दुई बेल्जियनहरूलाई भेटेँ । तिनले मलाई दिनभरि ब्रसेल्स सहर घुमाइदिए । तर प्रतीकको त्यो अङ्ग्रेजीमा अनुवाद प्रकाशन गर्नका लागि सहयोग गर्ने विषयमा भने खासै चासो लिएनन् ।
प्रतीक अमेरिका आउँदा मित्र राजेन्द्र ओलीको निवासमा भेटघाट भएको थियो । उनले आफ्ना नियात्रा पुस्तकहरू कोसेली दिएका थिए ।
उनको नियात्रा पुस्तक अङ्ग्रेजी भाषामा पनि अनुवाद भएको छ र नेपालबाट मात्र होइन, अमेरिकाबाट समेत “सेल्फ पब्लिकेशन” माध्यमबाट प्रकाशित भएको छ । अमेजनबाट विश्वव्यापी रूपमा किन्न पाइन्छ ।
नियात्रा विधामा हुरुक्कै भएर लागेका, लेखन प्रवर्धनमा पनि होमिएका प्रतीक नियात्रा समाज नेपालको नेतृत्वमा पुगेपछि नियात्रा विधामा चहलपहल गरिरहेका छन् । नियात्रा लेखिरहेका छन् । प्रकाशित गरिरहेका छन् ।
हालै अमेरिकावासी गीता खत्री र राम खत्रीले प्रतीक ढकाल र उनको साथमा रहेकी श्रीमती लक्ष्मी ढकालको नाममा पुरस्कार स्थापना गरे । प्रतीकको चमत्कारिक विचारले फणा उठाइहाल्यो र उनले भन्दिए, “ हिमाल मात्र लेख्न थालेको २० वर्षपछि र १० वटा त किताबै प्रकाशित भएपछि मलाई अमेरिकाले मूल्याङ्कन गर्यो ।“ अब भो त ! राम खत्री र गीता खत्री भनेको अमेरिका हो ? यो कुरा अरूले नै भन्दिएको भए कति जाती हुन्थ्यो !
प्रतीक चमत्कारिक कुरा गर्न वास्तवमा खप्पिस छन्, अपवादसहित । जिम्दो उदाहरण यो पनि हो ।
फल्स चर्च, भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।