
आज भन्दा करिब अठसट्ठी वर्ष अगाडि चन्दागिरि नगरपालिकाको गुर्जुधारामा पिता बेखलाल र माता सुकुमायाको घरमा कान्छा श्रेष्ठको जन्म भयो । औपचारिक रूपमा साक्षर पनि नभएको घरमा कान्छा श्रेष्ठको लालनपालन राम्रोसँग हुँदै गयो । कान्छा श्रेष्ठको आँखा जन्मँदै केही कमजोर थियो।
प्राण भन्दा प्यारो छोराले पहाड जस्तो जीवन अन्धकारमा बिताउनु पर्ने पो हो कि भनेर बेखलालको खुसीमा फुसफुसे पहिरो खसिरह्यो । छोराको उज्ज्वल भविष्यका खातिर बेखलाल सदैव सचेत र चिन्तित हुनुभयो ।
आँखाको ज्योति धमिलो भएकै कारण कान्छा श्रेष्ठले शिक्षाको ज्योतिबाट पनि वञ्चित हुनुपर्यो । विडम्बना पनि कस्तो, कान्छा श्रेष्ठले परको दृश्य सजिलै देख्न सक्थे तर नजिकको अक्षर फिटिक्कै नदेख्ने भए पछि किताब र अक्षरसँगको सामीप्यता छुट्यो ।
बेखलाल एक जिम्मेवार पिताका साथसाथै एक राम्रो कलाकार पनि हुनुहुन्थ्यो। स्थानीय नाट्य मण्डलीहरूमा अभिनय गर्नुका साथै हास्य विधामा अबल, कलाका पारखी बेखलालको कलाकारिताले त्यो समयमा सबैलाई आकर्षित पारेको थियो । हरेक नाटकमा बेखलालको माग दर्शक दीर्घबाट उच्च आवाजका साथ आउन सुरु भएछ। । कलकारिताको क्षेत्रमा पिताले प्रसिद्धि कमाएको बेला कान्छा श्रेष्ठको जन्म पनि भएको थिएन । पिताको कलाकारिताको विशेषता आफ्ना अग्रजहरूबाट सुन्दै आउनु भएको हो कान्छा श्रेष्ठले ।
जे होस्, कलाका पुजारी बेखलालले आफ्नो छोरा भित्र लुकेको कलालाई उजागर पार्न सचेत हुनुभयो । सत्यनारायणको पूजा होस् या नाटक प्रदर्शन आफू जहाँ जाँदा पनि छोरालाई साथै लिएर जानु हुन्थ्यो । बिस्तारै कान्छा श्रेष्ठलाई पनि सङ्गीतको चस्का पस्न थाल्यो।
२०१८ सालमा आठ वर्षका कान्छा श्रेष्ठ भूकम्पका कारण घरदेखि बाहिर, छाप्रोमा निकै दिन बस्न पुग्नु भयो । छरितो र खिरिलो फुच्चे केटो सङ्गीतमा भने निकै दरिलो भएको सबैले देखे, सुने। त्यहीँ बस्दा मिठो स्वरमा झ्याउरे गीत र मादल बजाएको सबैले सुनेर स्याबासी दिएछन् । वहाँ भित्रको कला बाहिर आउन त्यो बसाइ कोशेढुंगा नै साबित भयो । सबैको हौसला र प्रशंसाले अझ वहाँमा आत्मविश्वास जागृत भयो । त्यहीँबाट सङ्गीत प्रतिको रुचि र जीवनको गन्तव्य स्पष्ट भएछ ।
यो सबै देखेर पिता पनि भित्रभित्रै मक्ख पर्नु भयो ।
२०१८ सालमा कान्छा श्रेष्ठका पिताले बलम्बु स्थित नाट्येश्वरको मन्दिरबाट घरमा देउता भित्र्याएर सङ्गीतको शुभारम्भ गरिदिनु भयो। जसरी अक्षर आरम्भ गर्दा सरस्वतीको स्थापना गरिन्छ वा सरस्वतीको मन्दिरमा गएर माथा टेकिन्छ,त्यस्तै सङ्गीत शिक्षाको आरम्भ गर्दा पनि नाट्येश्वर भगवानको प्रतीक ढुङ्गा अथवा कपडाको धकी: ( जसमा नाट्येश्वरको चित्र अङ्कित हुन्छ ) त्यो ल्याएर घरको भित्तामा झुन्ड्याउँदै विधिवत् सङ्गीतको श्रीगणेश गर्नुभयो पिता बेखलालले।
यो परम्परा आज पनि कायमै छ ।
कान्छा श्रेष्ठ भन्नुहुन्छ -“पहिलेको जस्तो निष्ठा त अलि छैन तर पनि परम्परालाई डोर्याउने काम चाहिँ भएको छ । पहिले नाट्येश्वर भएको ठाउँमा कोही जानु हुँदैन थियो । नाट्येश्वरको मन्दिरमा महिलाहरूलाई प्रवेश वर्जित नै थियो ।”
पुराना दिन सम्झेर मुसुक्क हाँस्नु भयो कान्छा श्रेष्ठ ।
यी कुरा सुनाउँदा कान्छा बाको मुहारमा प्रसन्नता छर्लङ्ग देखेँ । साँच्चै सम्झना कति मीठो हुन्छ है ।
२०२० सालमा भीम बहादुर नकर्मी र लक्ष्मी दास श्रेष्ठबाट सङ्गीत शिक्षा सिक्दै अगाडि बढ्नु भयो। वहाँको क्षमता र क्षेत्रलाई पहिचान गर्ने सक्ने ती महान् गुरु र अभिभावकहरू प्रति म नतमस्तक भएर नमन गरेँ।
२०२५ सालमा कान्छा श्रेष्ठको भेट रत्न बेहोसीसँग संतुङ्गलमा एक नाटक समारोहमा भएको थियो । कान्छा श्रेष्ठको सङ्गीत प्रतिको लगाव देखेर रत्न बेहोसीले छ महिना हार्मोनियम सिकाए छन् । बेखलाल श्रेष्ठले आफ्ना छोरालाई रत्न बेहोसीसँग करिब एक वर्ष सङ्गीत तामिल लिन लगाउनु भएछ । पछि गुर्जुधारामा नै रत्न बेहोसी बस्न आउँदा कान्छा श्रेष्ठ पनि वहाँको परिवारसँग बस्न थाल्नु भयो । रत्न बेहिसीले नै कान्छा श्रेष्ठलाई काठमाडौँको विभिन्न सहर घुम्न लैजानु भयो । रत्न बेहोसीको कुरा गर्दा कान्छा श्रेष्ठ निकै उत्साही देखिनु भयो । अप्ठ्यारोमा समाएका ती मायालु हात कहाँ बिर्सन सकिन्छ र !
कान्छा श्रेष्ठको जीवनले २०२७/ १२ / २० गते अर्कै मोड लियो । त्यो दिन रेडियो नेपालको वार्षिक उत्सव थियो । गायकहरूको स्वर परीक्षण हुन्थ्यो । स्वर परीक्षणमा कान्छा श्रेष्ठ पास हुनु भयो। २०२७ देखि २०२९ सम्म रेडियो नेपालमा प्रत्यक्ष गायन कार्यक्रममा सरिक भएर गीत गाउनु थाल्नु भयो । रेकर्ड गर्ने चलन चाहिँ त्यो बेला थिएन । त्यसैले ती गीत आज छैनन् ।
यसै क्रममा रेडियो नेपालबाट हरेक मङ्गलवार बिहान सात बजेको समाचारपछि “जीवन दबु”भन्ने नेवारी गीतको कार्यक्रम आउँथ्यो रे , त्यो कार्यक्रम जम्मा बिस मिनेटको हुन्थ्यो । त्यो बेला एउटा गीत गाए बापत रु १५ पारिश्रमिक थाप्नु हुन्थ्यो । २०२७ बाट रेडियो नेपालले कान्छा श्रेष्ठको छुट्टै पहिचान बनाइदियो । कान्छा बेकारी भन्ने साहित्यिक नामबाट वहाँ सम्मानित हुनुभयो ।
रेडियो नेपालमा कान्छा बेकारीको नामबाट वहाँ चिरपरिचित हुनु भयो । पालो कुरेर महिनामा एउटा दुइटा गीत गाउन पाउँदा आफूलाई निकै भाग्यमानी भएको महसुस हुन्थ्यो रे। गुर्जुधाराबाट बिहान पाँच बजे नै हिँडेर सिंहदरबार जानुपर्ने बाध्यता थियो । आज जस्तो बिहानै गाडी गुड्दैनन् थिए । फर्कँदा चाहिँ गाडी पाइन्थ्यो । मैले कान्छा श्रेष्ठको हिम्मतलाई भित्र भित्र सलाम गर्दै कलमलाई अगाडि बढाएँ ।
२०२८ सालमा धर्म स्थलमा एउटा नाटक समूह थियो। त्यो समूहसँग कान्छा बेकारीको चिनजान राम्रोसँग भएछ। नाटकमा हार्मोबिम बजाउने, गीत गाउने काम गर्न थाल्नुभयो । यहीँबाट कान्छा बेकारीको जीवनमा अर्को उज्यालो किरणको आगमन भयो, मोहनमायाको रूपमा । २०२८ सालमै मोहनमायासँग प्रेम विवाह गर्नु भएको कान्छा श्रेष्ठका तीन भाइ छोराहरूले आज उहाँको परिवारलाई फराकिलो बनाएका छन् । प्रेम विवाहको कुरा सुनाउँदा कान्छा बा अलि लजाउनु भयो ।
मैले सोधेँ, “बुवा प्रेम विवाह भएको नै लेखिदिऊँ त ”
उहाँले भन्नुभयो, “लेखिदिनुस् अब भगवान् भैसकेको मान्छेलाई ।”
मेरा आँखा सजल भए। दैव पनि कति निष्ठुरी भएका होलान् । कान्छा बालाई मोहनमायाको कति खाँचो थियो यो बेला । तर नियतिको अगाडि कसको के लाग्छ र ! कोरोना कालमा मोहनमायाले कान्छा श्रेष्ठको हात चटक्कै छोडेर कहिले नफर्कने गरी अनन्तमा समाहित हुनुभयो । मैले गहिरो श्वास फेरेर कुरा अन्तै मोडेँ ।
२०२९ सालमा एउटा नाटक पनि लेख्नु भएको रहेछ । कान्छा श्रेष्ठले बोल्ने अनि अर्को साथीले लेख्ने गरेर करिब सात वटा नाटक रच्नु भएको थियो । उहाँको पहिलो नाटक किसिपिडिमा प्रदर्शन गरिएछ । त्यो नाटकको शीर्षक “ओछुजुई लिपामंसी”, “ऊ के हुन्छ पछि थाह हुन्छ” भन्ने रहेछ । बोसीगाउँ, टौखेल, बलम्बु, मत्स्येगाउँ, नैकाप, सतुङ्गल र थानकोट चारैतिरबाट नाटकले प्रशंसा कमाएछ । सबैले मन पराएछन् । उहाँले सात वटा जति नेवारी भजन पनि लेख्नु भएको छ। उहाँका नेवारी भजनहरू यहाँका भजन खल: मा निकै लोकप्रिय छन् । म पनि कान्छा बासँग एउटा नेवारी भजन सिक्ने सोचमा छु वहाँ कै सङ्गीत र शब्दमा ।
२०३६/३७ सालतिर आँखा निकै कमजोर भएपछि नेपालकै ठुलो आँखा अस्पतालमा उपचार भएको रहेछ । तर जति उपचार गरे पनि प्रभावकारी भएनछ । अप्रेसन गर्न नमिल्ने भएर औषधि र इन्जेक्सनको भरमा मात्र सीमित रहनु पर्यो। आँखामा औषधि हाल्दा र खाँदा मात्र आँखाको धमिलोपन केही कम हुन्थ्यो रे । कान्छा श्रेष्ठलाई आज पनि ती आँखाका डाक्टरहरूको नाम मुखाग्र नै रहेछ । डा. रामप्रसाद पोख्रेल र डा. यन्तमणी प्रधान।
-“उहाँहरूले निकै कोसिस गर्नु भयो मेरो आँखा ठिक पार्न ? तर सक्नु भएन । मलाई कोर्नियामा जटिल समस्या भएको रहेछ । उहाँहरूले नै पत्ता लगाउनु भएको । २०४१/ ४२ बाट बिस्तारै औषधि र इन्जेक्सनले पनि काम गर्न छाड्यो।”
नियतिको लीला सम्झेर सहर्ष स्विकार्दै अँध्यारोमा पनि मुसुक्क मुस्कुराउनु भएको छ कान्छा श्रेष्ठ । उहाँसँगको प्रत्येक भेटमा म जीवन जिउने काइदा सिक्छु र गुनासो नगर्ने कसम खान्छु ।
बेखलाल श्रेष्ठले जस्तै आजका अभिभावकहरूले पनि आफ्ना सन्तानहरूको क्षमता ,रुचि र क्षेत्र पहिचान गर्न सके , बच्चाहरूलाई मानसिक तनाव हुने थिएन, सायद। अभिभावक र बच्चाहरू भौँतारिनु पर्दा , आज समाजमा शिक्षा र रोजगारीको क्षेत्र तनावको मैदान बन्दै गएको छ । सामाजिक प्रतिष्ठाका लागि आजका अभिभावकहरूको आफ्ना सन्तानलाई दबाबमा बोझिलो शिक्षा लाद्न थालेका छन् । जसले गर्दा तनाव खप्न नसकेर आत्महत्या जस्तो जघन्य अपराध हुन थालेको छ ।
यदि कान्छा श्रेष्ठको जीवनी र उहाँको पिताको दूरदर्शितालाई समाजको अगाडि ल्याउन सके आजका तमाम अभिभावकहरूलाई प्रेरणाको स्रोत बन्नुहुन्थ्यो ।
औपचारिक शिक्षा हासिल नगरेता पनि कान्छा श्रेष्ठ कला-सङ्गीतको फाँटमा एउटा विश्वविद्यालय नै हुनुहुन्छ । काठमाडौँको पश्चिम भेगका प्रायः सबै भजन मण्डलहरूका साथै सङ्गीतमा रुचि राख्ने सम्पूर्ण सङ्गित प्रेमीहरूलाई हार्मोनियम सुर सङ्गीतमा हामीलाई अभ्यस्त गराउनु भएको छ । अभाव र अप्ठ्यारो परिस्थितिमा कसरी मान्छेले हिँड्नु पर्छ उहाँबाट सिक्न सकिन्छ । शिक्षादीक्षा पाएर सबै कुराले सम्पन्न हामी आज विक्षिप्त भएका छौँ । तर कान्छा श्रेष्ठ प्रतिकूल अवस्थामा पनि सधैँ प्रफुल्ल देखिनुहुन्छ ।
प्रकृतिले कसैलाई पनि यस धर्तीमा असक्षम बनाएर पक्कै पठाएको हुँदो रहेनछ । आफ्नो क्षमता र प्रतिभाको पहिचान मात्र गर्न सक्नु पर्ने रहेछ । वहाँको आँखाको दिव्य शक्ति कमजोर भए पनि वहाँमा सङ्गीतको महाज्ञान छताछुल्ल रहेछ ।
जब जब म कान्छा बासँग भेट गरेर आउँछु ममा नयाँ ऊर्जा जागृत हुन्छ । उहाँलाई प्रेरणाको स्रोत मान्दै म पनि हार्मोनियममा सा रे ग म प को अभ्यास गरेर आँखा बन्द गर्दै आफै भित्रको परम प्रकाश खोज्ने कोसिस गर्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

