कालिम्पोङबाट धेरै प्रतिभाशाली व्यक्तिहरूको जन्म भएको छ। साहित्य, सङ्गीत, कला, राजनीति, खेलकूद, प्रशासनिक अधिकारी, सैन्य अधिकारी आदि क्षेत्रमा कालिम्पोङका प्रतिभाहरूले आफ्नो प्रतिभा चम्काएका छन्। कालिम्पोङका मानिसहरूलाई स्वदेशमा मात्र नभएर विदेशमा पनि धेरै उपलब्धि हासिल गरेका पाउन सकिन्छ। यसै क्रममा साङ्गीतिक क्षेत्रमा कालिम्पोङका एकजना प्रतिभा हुन् श्री विमल कुमार दर्नाल।
उनी माता स्व. शान्तिदेवी दर्नाल र पिता स्व. मोहनलाल दर्नालका सुपुत्र हुन्। उनको जन्म लोअर बम बस्ती, कालेबुङमा ६ नोभेम्बर, सन् १९६३ मा भएको हो। उनले आफ्नो औपचारिक शिक्षा टर्नबुल हाई स्कूल, दार्जीलिङबाट प्राथमिक शिक्षा ग्रहणपछि आफ्नै ठाउँको कुमुदिनी स्कूल, कालेबुङ हुँदै दिल्लीबाट माध्यमिक, उच्चतर माध्यमिक आदि उत्तीर्ण गरेका हुन्। उनका पिताजी रेलवेमा कर्मचारी हुनाले उनको कार्य क्षेत्र असमतिर थियो। असमका मालिगाउँ, बगाइँगाउँ आदि ठाउँतिर सरूवा हुँदै जाँदा परिवार पनि त्यतै रहेका थिए। यद्यपि सन्तानलाई पढाउन दार्जिलिङ कालिम्पोङतिर पठाउँदथे।
विमल दर्नाल सानैदेखि सङ्गीतप्रेमी थिए। उनका मामा दिलीप सिंह रसाइली पहिलो सङ्गीतगुरु हुन्। मामाले सानैदेखि गिटार बजाउन सिकाएका थिए। उनको मामा गुवाहाटी, असम निवासी हुनुहुन्थ्यो। असमबाट घर आएका बेला कालिम्पोङको आफ्नो गाउँघरको कार्यक्रमतिर गिटार बजाउने गर्दथे। आफ्ना गाउँले दँवालेहरू प्रेम दर्नाल, सूर्य पौड्याल, सुमन न्यौपाने आदिसित गिटार बजाउँथे, साथीहरूलाई सिकाउँथे। स्थानीय सरस्वती स्कुलको दुर्गा पूजा, सरस्वती पूजातिर पनि साङ्गीतिक कार्यक्रम गरेको सम्झना सुनाउँछन्।
कालिम्पोङका विभिन्न ठाउँमा आयोजना हुने गरेको सङ्गीत प्रतियोगिता वा पर्वतिर साङ्गीतिक कार्यक्रमतिर उनको सहभागिता रहन्थ्यो। ढाडमा गिटार, कङ्गो आदि बाजा बोकेर कहिलेकाँही कालेबुङदेखि हिँडेर लोले, सिञ्जी, समालबुङतिर जाने गर्थे। एकपटक त आसामबाट बिहु उत्सवमा बाजा बजाउनका निम्ति आसामदेखि उनलाई लिन चारजना मानिस आएका थिए र घरबाट उनी लोले गएका छन् भन्ने कुरा सुनेर ती चारजना हिँडेर लोले नै पुगेर उनलाई लिई आसाम लगेका थिए भन्ने मिठो संस्मरण सुनाएका छन्। अस्सीका दशकमा उनी कालिम्पोङ-असमतिर गिटार बजाएर लोकप्रिय भइसकेका थिए। अस्सीको दशकमा नेपाली साहित्य अध्ययन समिति कालेबुङले आयोजना गरेको सङ्गीत प्रतियोगितामा दुई वर्ष जति लगातार सर्वोत्कृष्ट वाद्यवादक भएर पुरस्कार जितेका थिए।
आफ्नो साङ्गीतिक यात्रालाई अघि बढाउन उनी युवावस्थादेखि नै सक्रिय थिए। अस्सीको दशकमा उनी र उनका साथीहरू मिली कालेबुङमा “बागिना” नामक सङ्गीत संस्थाको जन्म भएपछि यसको सदस्य रहेर धेरै कार्यक्रमहरू आयोजना गरे। त्यसमा अशोक राई, राजेन गुरूङ, योगेन्द्र घतानी, उत्तम खँड्का, छुजाङ डुक्पा, स्व. विजय दर्नाल (आफ्ना दाजु) दिनेश रोका, दीपक दर्नाल (दाजु, हास्यनाट्यकलाकार), उमा छेत्री आदि सदस्यहरू सक्रिय थिए।
त्यस बागिनाको आयोजनामा कालिम्पोङमा केही साङ्गीतिक कार्यक्रम हुने गर्थे। त्यसपछि सङ्गीतको क्षेत्रमा केही गर्ने सपना, उत्साह र उमङ्ग लिएर, सन् १९८६ मा दिल्ली महानगरी प्रस्थान भए। त्यहाँ पुगेपश्चात् “टि सिरिज” कम्पनीमा गिटार वादकको रूपमा कार्य गरे। यसै कम्पनीमा हुँदा प्रसिद्ध गजल गायक जगजीत सिंह, सोनु निगम, मनोहर उदास, पंकज उदास, उषा उत्थुप, कुमार सानु जस्ता वरिष्ठ गायकहरू लगायत विपिन सचदेवा, वन्दना वाजपेयी अनि बाबला मेहताहरूसँग काम गर्ने सुअवसर प्राप्त भयो। तिनीहरूका मुख्य वाद्यवादक गरी आफ्नो स्थान सुरक्षित बनाए।
श्री विमल दर्नालले आसामतिर पनि असमिय साङ्गीतिक कार्यक्रम सञ्चालन गर्दथिए। असमको बिहु उत्सवमा उनको ठुलो भागिदारी रहन्थ्यो। त्यहाँका ठुल्ठुला नाट्य थिएटरमा सङ्गीतको सङ्गति दिने गर्दछन्। उनी हिन्दी, नेपालीका साथै असमिय भाषाका गीतहरूमा पनि सङ्गीतकर्मी भएर काम गरेका हुन्।
यसै सङ्गीतमा केही उच्चकोटिको कार्य गर्नलाई मुम्बईबाट निमन्त्रणा प्राप्त हुँदा त्यहाँ गई कार्यक्रमहरूसँग गाँसिएर धेरै वर्ष बिताए। बलिउडमा धेरै साङ्गीतिक कार्यक्रममा सङ्गीतकार कतै वाद्यवादक यति मात्र होइन दिल्ली दूरदर्शन र अल इन्डिया रेडियाेतिर पनि धेरै कार्यक्रमहरूमा गिटार वादकको रूपमा कार्य गरेका हुन्।
उनले सन् १९८९ मा दिल्लीस्थित श्रीफोर्ट अडिटोरियममा मुख्य सङ्गीतकार भएर कार्यक्रम सञ्चालन गरेका थिए। त्यसमा अनिल विश्वास, मन्ना डे आदि पनि उपस्थित थिए। नब्वेको दशकमा टि सिरिज कम्पनीले महम्मद रफी, किशोर कुमार र मुकेशका गीतहरू अरूले गाएर रेकर्ड गर्ने योजना गरेको थियो। त्यसमा उनले मुख्य गरी गिटार बजाए, मेन्डोलिन र अन्य बाजा बजाए। त्यसमा कुमार सानु आदिले गाएका गीतलाई सङ्गीतको पुनर्निमाण गर्ने अवसर पाएका थिए। प्रायः सबै गायक कलाकार र सङ्गीतकारसित उनको सङ्गति बढ्यो। उनलाई खोजी खोजी बाजा बजाउने दिन्थे। सोनू निगम, कुमार सानु, बन्दना बाजपेयी, विपिन सचदेव जगजीत सिंह आदिसित धेरै वर्ष साङ्गीतिक सङ्गति गरेका हुन्। उनको साङ्गीतिक टोलीले दुबई, इरान, इराक, इन्डोनेसिया, हङकङ, सिङ्गापुर आदि देशतिर गएर पनि साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका छन्।
यस्तै साङ्गीतिक यात्राको क्रम चलिरहेको समय नब्बेको दशकमा आफ्नै प्रयासमा नेपाली अल्बम “नोट टु नोट” एउटा कोसेलीको रूपमा सङ्गीत जगतलाई दिन सकेका हुन्। यस अल्बममा आफ्नो शब्दसँगै अन्य कतिपय वरिष्ट शब्दकारहरूका शब्द पनि थिए। यस अलबममा सङ्गीत भने आफ्नै थियो। यस अल्बम धेरै लोकप्रिय भएको थियो। यसरी नै भजन लगायत अन्य हिन्दी र नेपाली अल्बमहरू दिल्ली र मुम्बईबाट निस्किसकेका छन्। अहिले हालैमा “अधुरो जिन्दगी” नामक नेपाली म्युजिक भिडियो बनाएर फेसबुक र यू ट्युबमार्फत् दर्शकहरूमाझ पुगिसकेको छ। निर्माणाधीन नेपाली चलचित्र ‘माइतीघर-२’ का निम्ति सङ्गीत कार्य गरिरहेका छन्।
उनको धेरै जस्तो समय दिल्लीमा नै बिताएकोले गर्दा त्यहाँ कतिपय स्कूलहरूमा सङ्गीत शिक्षकको रूपमा काम गरे। यस सँगसँगै गिटारमा धेरैलाई आफूद्वारा शिक्षा-दीक्षा पनि दिइरहे। यस्तै कार्यक्रमहरूको क्रममा साङ्गीतिक टोलीमा प्रमुख गिटार वादकको भूमिका निर्वाह गरी विभिन्न देश-विदेशतिर गई उच्चस्तरीय स्टेज कार्यक्रमहरू प्रस्तुत गरिरहे। आफ्नो साङ्गीतिक प्रतिभा चम्काइरहे। दिल्ली र मुम्बइजस्ता महानगरीमा आफूलाई एक कुशल सङ्गीतकारका रूपमा स्थापना गरे। आफ्नो जीविकोपार्जनका निम्ति यसरी नै सङ्घर्ष गरिरहे।
उनले जीवनभर सङ्गीतको साधना गरे, साजबाजसित खेलिरहे, सङ्गीतका सुर लय र तालको सन्धान गरिरहे। गिटारका छवटा तारले हजारौं, लाखौं धुन निर्माण गरे, गिटारका धुनले दर्शक वा स्रोतालाई मन्त्रमुग्ध बनाए, सङ्गीतको नादहरूले स्रोताहरूलाई आनन्दित तुल्याए। उनका जादूमय हातका औंलाहरूमा सङ्गीत धुन सिर्जने शक्ति छ, अनन्त आनन्दको स्रोत छ, अनेक रागहरूको उत्सव छ। उनी तन मन वचन कर्म सबैले सङ्गीतकार हुन्। सङ्गीतमा डुबेका छन्। सङ्गीतलाई नै आफ्नो जीवन समर्पण गरेका छन्।
श्री विमल दर्नाल एक कुशल गीतकार पनि हुन्। उनले केही हिन्दी र नेपाली गीतको रचना पनि गरेका छन्। ‘रेसमको तुनाले तुनेको चौबन्दी कान्छीले लाउँदा कति राम्रो सुहाएकी बैंसालु जोबनले चटक्क परेकी’, ‘हररात मलाई सपनीले ब्युँझाइदिन्छ’, ‘नक्कली कान्छीको’ आदि जस्ता गीतकार शब्दकार पनि आफैं हुन्। उनका गीतमा लोकतत्त्वका पाकमा डुबेका हुन्छ। मुम्बईका रनजीत गजमेर आदिसित पनि नेपाली गीतमा काम गरेका छन्।
सङ्गीत क्षेत्रमा मुम्बई र दिल्लीमा नै बसी अझ केही गर्ने परिकल्पनाहरू साकार बनाउने तन-मन हुँदाहुँदै कतिपय पारिवारिक समस्याहरू आइपरेका कारण आफ्नै गाउँ, आफ्नै ठाउँ फर्केर आएपछि अझ धेरै जोश, उत्साह र ऊर्जा आएको छ। उनी आफ्नो विज्ञापन गर्दैनन्। कतिले त शोषण पनि गर्दछन्। तर पनि उनी सन्तोक गर्छन्, सङ्गीतको माध्यमबाट जीवनको आनन्द भोग गर्दछन्। एकजना सङ्गीतकारसित सङ्गीतको ज्ञान मात्र भएर पुग्दैन, यसमा लागेपछि अनुशासन, समयनिष्ठता, नम्रता, चारित्रिक स्वच्छता, नैतिकवान, धैर्यशील, सहनशील आदिजस्ता गुण पनि हुनुपर्दछ। यी जम्मै गुण हामी विमल दर्नालमा पाउँछौँ।
उनी विज्ञापन, बडप्पन आदिदेखि टाढा बस्न चाहन्छन्। ‘सन्तोषम् परम सुखम्’को गुरूमन्त्रले उनको जीवन एकप्रकारको व्यवस्थित, संयमित र सन्तुलित पाइन्छ। उनकी श्रीमती चन्दा दर्नाल पनि राम्रो सङ्गीत मर्मज्ञ हुन्। आफ्ना श्रीमानलाई हरतरहले सहयोग, सुसंगति, भरथेग दिन्छिन्। पतिका धुनहरूको प्रथम स्रोता र समीक्षक श्रीमती हुन्।
श्री विमल दर्नाल केही अभिनन्दित पनि भएका छन्। गजल गायिकीमा उनले लुधियानाबाट सम्मानित भएका छन्। दिल्लीको श्रीफोर्ट अडिटोरियम हलमा कार्यक्रम गर्दा सम्मानित पनि भएका हुन्। यसैगरी ४ अप्रेल, २०२३ का दिन कालिम्पोङस्थित बमबस्तीको सिम्लेदेवी पूजा १८ महापुराण आयोजक समितिले अभिनन्दन गरेको छ। यद्यपि विमल दर्नाल निरन्तर अघाडि बढ्ने मानिस हुन्। उनी आफ्ना बितेका उपलब्धि र अनुपलब्धिलाई लिएर कुनै फुरूक्क हुने र गुनासो गर्ने स्वभावका छैनन्। आफ्ना उपलब्धिहरू उति गनिबस्तैनन्। उनी सदा आफ्नो काममा तल्लीन रही सङ्गीतका धुनहरूसित खेलिरहने गर्छन्, गिटारका तारहरूमा अनन्त ताल र सुर खोज्ने गर्दछन्। मिष्टभाषी, अहङ्कारशून्य, नम्र, मिलनसार र अध्यावसायी, स्वनिर्भर उनी हाम्रा जातीय गौरव हुन्।
उनको मुख्य पेशा नै सङ्गीत हो। यसैको साधना गरेर आफ्नो जीवनको अधिकांश भाग समर्पण गरेका छन्। गाउनु, बाजा बजाउनु, सङ्गीत संयोजन गर्नु, सङ्गीत सिकाउनु, ठुल्ठुला साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नु, साङ्गीतिक प्रतियोगितातिर निर्णायकको अभिभारा लिनु आदि उनका जीवनका मुख्य अङ्ग बनेका छन्।
उनले सङ्गीतलाई नै आफ्नो पेशा बनाएको कारण आफ्नै कम्पनी “मी एण्ड माई सुर” नामक एउटा सङ्गीत ब्रान्ड खोलेका छन्। यसमा आफू एक्लैले विभिन्न ठाउँहरूमा गएर आफ्नो प्रस्तुति दिँदै कार्यक्रमलाई सफल बनाउने गर्दछन्। उनी अहिले कुनै विद्यालय स्कुल गीतको निर्माण, गीतको रेकर्डिङ, स्टेज कार्यक्रम आदि कार्यमा पनि व्यस्त छन्। यस्ता प्रतिभाशाली विमल दर्नाल हाम्रा जातीय गौरव हुन्, कालिम्पोङका एक झरिला प्रतिभा हुन् र हाम्रो गाउँ-ठाउँका उज्ज्वल नक्षत्र हुन्। उनी हालमा प्रशान्ति नगर, हिम कोर्स भवन, चम्पासरी, सिलगढीमा बसोबास गरेका छन्। उनको सुस्वस्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।