नेपाली सङ्गीत एउटा विशाल क्षेत्र रहेको छ। नेपाली सङ्गीतमा वैभिन्य ताल, शैली, प्रस्तुति रहेको पाइन्छ। नेपाली गीत लोकगीत, सुगम गीत, शास्त्रीय, पप गीत, रक गीत सबैतिरबाट विकसित भैसकेको छ। नेपाली साङ्गीतिक क्षेत्रमा धेरैजना गायक, सङ्गीतकार, शब्दकार छन्। यसैगरी धेरै जना वाद्यवादक, एरेन्जरका रूपमा काम गरिरहेका छन्। हाम्रो सङ्गीतको आफ्नै शैली, ढाँचा र परिपाटी पाइन्छ। साङ्गीतिक फाँटमा विष्णु अधिकारीको नाम पनि स्थापित छ। उनी सुगम धाराका गायक कलाकार हुन्। उनी दिन रात सङ्गीतकै क्षेत्रमा रमाउँछन्, व्यस्त रहन्छन्। सङ्गीतकै साधना, साङ्गीतिक दिनचर्यामा मग्न रहन्छन्। यद्यपि उनी विज्ञापन, हल्ला र प्रचार प्रसार त्यति रूचि लिँदैनन्। पर्दापछि बसेर नै धेरै साङ्गीतिक कार्य गरेका छन्।

उनको आफ्नो ओपल स्टुडियोमा आएका गीतको कुशल एरेन्ज गर्दछन्। उनले एक सयभन्दा बढी गीत गाइसकेका छन्। विष्णु अधिकारी एक कुशल एरेन्जर हुन्। सर्वश्रेष्ठ एरेन्जरमा उनले विभिन्न अवार्डहरु पाइसकेका छन्। जस्तै- राप्ती म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड आदि। हालसम्म उनले बाह्र हजारभन्दा बढी गीतहरूको एरेन्ज कार्य सम्पन्न गरिसकेका छन्। उनी आफैं एक कुशल सङ्गीतकार हुन्। ३०/४० जना गायक गायिकाहरुले उनको सङ्गीतमा गीत गाइसकेका छन। ‘सौगात हजुरलाई’ र ‘स्मृति’ भन्ने गीति अल्बमका संगीतकार पनि हुन्। उनका यी अल्बमहरू सन १९८८/८९ तिर बजारमा आएका थिए।। उनले १९९२ सालमा रिलीज भएको नेपाली चलचित्र भूलको एउटा गीत पनि गाएका थिए। त्यसताका निस्किएका विभिन्न भिडियो फिल्महरुमा उनको आवाज रहेको छ। उनले पच्चीस तीस वर्षअघिदेखि गीत गाउँदै आएका हुन्। हालसम्म उनले दुई सयभन्दा अधिक गीत गाएर रेकर्ड गरिसकेका छन्। उनी गीतमा नै डुबेका छन्। यसैगरी एक सयभन्दा बढी गीतमा सङ्गीत दिइसकेका छन्।

उनले गाएका केही प्रमुख गीतहरूमा ‘चिरायु हौ भनी’, ‘आँखाबाट आँसु आफ्नै राम कहानी बग्यो’, ‘स्नेह तिमी टाडै बस’, ‘बिहानीले पनि रुवाउँछ मलाई साँझले पनि रुवाउँछ मलाई’ (शब्द विचन्द्र प्रधान) ‘मेरो खुशीमा जल्ने मेरो’, ‘पिरतीका कुरा मिठा’, ‘छाडीगई निष्ठुरीले आज एक्लै भा’छु, “के के भयो’ ‘मन झुमोस नाचोस मन हर्षले’ (नयाँ वर्षको शुभकामना गीत), ‘तिमीले छोडेको रात’, ‘तिम्रो नजरमा मेरो नजर’, ‘कहिँ कतै धुवाँ उठे’, ‘निष्ठुरी एकपल्ट’, ‘लगिदे बादल’, ‘यो गीत मेरो तिम्रो नाममा’, ‘मेरो मनमा कोहि आइ बसेछ’, ‘दैवको खेलमा’ ‘उपहार के दिउँ तिमीलाई आँसु मात्रै बाँकी रह्यो’, ‘मेरा विधाता मेरै मातापिता’ ‘शिशा सर टुट्यो मुटु’, ‘साँझ पर्‌यो बतास चल्यो’, ‘चियाएर कहाँ हुन्छ,’ ‘तिम्ले मैले पूजा गर्ने’, ‘भेटिएर छुट्टिनु त’, ‘आउ हिँड प्रिय’, ‘मेरा जीवनका यादहरु’, ‘मन दुखेको ओखती’, ‘सुन चाँदी हिरा मोती’, ‘मेरो माया बतासमा’ आदि हुन्। उनका  केही गीतहरू ओपल क्रियसन नामको युट्युब च्यानलमा उपलब्ध छन्।

गीत गायन, सङ्गीत संयोजन, एरेन्ज आदि काममा नै दिनरात व्यस्त हुन्छन्। हालसम्म उनका एघारसय भन्दा बढी गीतहरूको एरेन्जर भएर काम गरिसकेका छन्। उनी आफैँ एक सङ्गीत गुरू हुन्। किबोर्ड प्रशिक्षक र गायनका प्रशिक्षकका रुपमा पनि उनको नाम अघिल्लो पङ्तिमा आउँछ। नेपालका सर्वश्रेष्ठ किबोर्ड वादकहरु उनका विद्यार्थीहरुमा पर्छन्। नेपालका ठुला ठुला रियालिटी सोहरुमा किबोर्ड बजाउने उनका विद्यार्थीहरु पनि हुने गर्छन्। उनी किबोर्डबाहेक पियानो, हार्मेनियमका प्रशिक्षक पनि हुन्। नेपालका केही प्रख्यात किबोर्ड वादकहरू दिनेश रेग्मी, प्रदीप श्रेष्ठ, कृष्ण श्रेष्ठ, प्रज्ज्वल लामा, ज्योति प्रकाश, रोहित सुवेदी, दुर्गा तामाङ, विष्णु तामाङ, कृष्ण भट्ट, जीवन भट्टराई आदि उनका शिष्य हुन्। उनले एक सयभन्दा बढी गायक, किबोर्ड वादक तथा एरेन्जरहरूलाई प्रशिक्षण दिइसकेका छन्।

विष्णु अधिकारीका स्वरमा आफ्नै मौलिकता छ। उनको गायनमा सुमधुरता पाइन्छ। उनको स्वरगत वैभिन्य र घुमाइ (voice variation) अब्बल किसिमको छ। फर्केर आउ भन्ने गीतमा अर्कैले गाएजस्तो प्रतीत हुन्छ। यही उनको गायनगत विशेषता हो। उनका गीत गायनको आधार शास्त्रीय रागमा रहेको पाइन्छ। उनका गीतहरूको ढाँचा र स्वर दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, किरण प्रधान, दिपक खरेल, रबिन शर्मा, याम बराल, रामकृष्ण ढकाल, कर्ण दास आदिसित पनि गायन शैली, गला आंशिक रूपमा मिल्दछ। अर्थात् यी सबैका एक स्वरका धनी हुन् विष्णु अधिकारी।

उनी अहिलेको समयका सुगम सङ्गीतका एक प्रखर गायक र सङ्गीतकार हुन्। पुराना र नयाँका पिँढीका सेतुबन्धन हुन्। उनका गीतमा नारायण गोपालको नोस्टाल्जिया, दीप श्रेष्ठको समीपता, रामकृष्ण ढकालका झैँ दार्शनिक चिन्तन आदि गुण पाइन्छन्। पाइन्छन् उनका गीत सुन्दा सङ्गीतको आन्तरिक आह्लादकारिता, आनन्द, मनोहारिता पाइन्छ। स्रोताले वास्तविक रूपमा खोजेका गीतको गेयात्मकता, तिर्सना, सुमधुरता, रागात्मकता आदि पाइन्छन्। उनको स्वरमा स्रोतालाई भावविभोर बनाउँछ। उनको गायनको सुर र गीत बिहानको मिरमिरे वा गर्मीकालको समयमा घाममा शीतल छायामा बस्ताको सिर्सिरे हावाको अलौकिक अनुभूति झैँ आनन्दमय लाग्छ। उनको स्वर झरनाको कलकल झैँ प्राकृतिक छ। गीतका पारखीका निम्ति उनको स्वर र गीत उत्कृष्ट लाग्छन्। उनका प्रत्येक गीतमा शाब्दिक र अर्थगत गाम्भीर्य पाइन्छ। उनका प्रायः जम्मै गीतमा शास्त्रीय लय, तालमा रतिएका छन्। उनको गीत चयनको अर्थगत गाम्भीर्य, गायनगत सौष्ठव र साङ्गीतिक ओजस्विता आदि पाइनाले स्रोता मुग्ध भएर गीत सुन्दछ।

हालसम्म उनले कृष्णहरि बराल, अभि अजनबी, विचन्द्र प्रधान, निरा प्रसाईं, लक्ष्मण सिटौला, परिधोज राई, पूर्ण राई बाबरी, परशुराम एअधिकारी, मन ब्राजाकी, बान्तवा, प्रकाश रिजाल, टेक भण्डारी, एन. बी जनकपुरी,  तिलचन आचार्य, अमर दुङ्माली, पुष्कर पराजुली, जे बी राई, किशोर पोख्रेल, सञ्जय भट्टराई,नेत्र एटम, मदन सुब्बा, लोइस विष्ट,टेक भण्डारी, अविरल यात्री, निरा प्रसाईं, प्रकाश रिजाल, मन्दिरा मधुश्री, बुद्धवीर लामा, तारा सुवेदी, लक्ष्मण सिटौला, डम्बर गिरी, पवन चामलिङ, तुम्बापो कान्छा, राजेन्दर विमल, दिव्य गिरी, सगोत्री आचार्य, सुरज गैरे, राजेश लाम्गादे, पूर्ण बान्तवा, सुनिता प्रसाईँ, यज्ञ कश्यप अधिकारी, प्रकाश सायमी, जीवन अधिकारी, डम्बर थापा, श्याम देवान, हरिभक्त कटुवाल, जीत राई, ब्याकुल माइला (नेपालको राष्ट्रिय गीतका गीतकार) आदिका शब्द रचनामा गीत गाएका छन्। यसै गरी उनले एन बी जनकपुरी, आधार तुम्बापो, राजेश कैदी, देवीभक्त श्रेष्ठ, बाल नेउपाने, रण खँड्का, कृष्ण घतानी, गोविन्दसिंह घतानी, अमृत भण्डारी, मनराजा नकर्मी, जीवन अधिकारी, सन्तोष श्रेष्ठ, ज्योती प्रकाश, पारस घिमिरे, मणि सिन्चिउरी, अग्नि पराजुली आदि सङ्गीतकारका सङ्गीतमा उनले गीत गाएका छन।

“स्मृति” एल्बम उनको सङ्गीतमा तयार भएको थियो जसमा प्रसिद्ध गायक कुमार सुब्बा, दीप श्रेष्ठ, विरेन खाती, सुनिता गजमेरले गाएका छन। उनको सङ्गीतमा कुमार सुब्बा, मुरलीधर, सुनिता गजमेर, बिरेन खाती, रोशन राज, कुबेर राई, साइमन लोहार, शान्ति काफ्ले, राज पायल रोका, हेमन्त चेम्जोङ, ललित सुब्बा, कमल छेत्री, झुमा लिम्बू, एन्जिला सिङ, पूनम पन्त, निशा गुरुङ, जीवन छेत्री आदिले गाइसकेका छन। “यो माया” भन्ने एलबममा विष्णु अधिकारीको एकल सङ्गीत, एकल एरेन्ज, र रोशन राजको एकल गायन छ। उनका गीतका बारेमा अझै खोजी र मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।

अभाव र कठिनाइहरुलाई भोगेका श्री अधिकारी भन्छन्- “व्यसायिक हिसाबले स्टुडिओ खोलिएको भए तापनि आर्थिक अभाव भएका नव कलाकार भाइ बहिनीहरु सहयोग गर्दछन्। जसको सङ्गीत प्रतिभा त छ तर अर्थको अभावले गर्दा अघि आउन सकेका छैनन्, त्यस्ताहरुलाई आफूले गर्नसक्ने यथायोग्य सहयोग र सेवा गर्न जहिले पनि तयार छु।”

उनी सङ्गीतका अग्रज प्रतिभाहरूलाई पनि उत्तिकै माया र सम्मान गर्दछन्। उनले फुर्सदका समय नारायण गोपाल, भक्तराज आचार्य, कुमार सुब्बा आदिका गीतहरूलाई गाएर स्रोताहरूलाई आनन्द दिन्छन्।

अतः उनी नेपाली साङ्गीतिक आकाशका एक उज्ज्वल नक्षत्र हुन्। उनले गायन, सङ्गीत प्रदान, रेकर्डिङ, एरेन्ज, किबोर्ड वादक आदि कामद्वारा नेपाली साङ्गीतिक विकासमा योगदान दिइरहेका छन्। सङ्गीत पारखीका निम्ति उनी एक निपुण गायक हुन्। उनी एक सुगम सङ्गीतका स्रोताका निम्ति मनपर्ने गायक हुन्। उनी नेपाली गीत र सङ्गीतको सागरमा नै डुबुल्की मार्छन्, दिन रातको नयाँ नयाँ धुन र तालको सिर्जनामा तल्लीन हुन्छन्, हार्मिनोयमका रिडहरूमा आत्मिक आद्लादको सन्धान गर्छन्। आफ्नो स्टुडियोमा गीतलाई नयाँ नयाँ उँचाइ दिन्छन्। उनी सङ्गीतका सच्चा साधक हुन्, एक पूर्णकालिक सङ्गीतकार हुन्। उनी नेपाली सङ्गीत पारखीका एक सफल गायक हुन्। उनी हामी स्रोताका हृदयका एक समर्पित सङ्गीत साधक हुन्। उनको साङ्गीतिक क्षेत्रमा अझै कदम बढोस्, अझै योगदानको अवसर मिलोस्, उनका गीतहरू अझ लोकप्रिय बनुन् भन्ने कामना पनि व्यक्त गर्दछु।