वि.सं. २०२६ सालमा श्री ५ वीरेन्द्र हाईस्कुलमा हेलिकप्टर राखेर हिँडेर नै जानकीश्वर शिवालय मन्दिरसम्म आएका थिए । तीन घण्टा जति बसेर फर्किएका थिए ।
जीवन सङ्घर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जीवन हो । जीवनमा सफल त्यो व्यक्ति हुन्छ जो आफ्नो लक्ष्य प्राप्तिमा नदीजस्तै निरन्तर बगिरहन्छ । हरेक समस्यासँग भागेर होइन, भोगेर ऊर्जाशील जीवन जिउने नरबहादुर बस्नेत जसलाई समाजले अहिले पनि सम्झिरहेछ । जसको जन्म वि.स. १९७७ साल फागुन १८ गते मङ्गलवार, कृष्ण पक्ष, अष्टमी तिथिका दिन भोजपुर लेखर्कमा सिंहराज र गोमा बस्नेतको नाति, पिता हस्तबहादुर बस्नेत र माता शुभद्रादेवी बस्नेतको माहिलो सन्तानका रूपमा भएको थियो ।
त्यसताका शरीर राम्रो हुनेले सजिलै जागिर पाउँथे । अग्लो कदको अग्लै मानिस, आकर्षक शरीर र निडर व्यक्तित्वका धनी थिए नरबहादुर बस्नेत । त्यसैले उनी जागिर शुरु गरेको दुई महिना पनि बित्न नपाउँदै जङ्गबहादुरले स्थापना गरेको फस्ट राइफल बटालियनमा पुगेका थिए । राणाहरूको कडा शासन भएको त्यस समयमा राजाहरू सम्मानित कैदी जस्ता हुन्थे । वि.स. १९९५ सालदेखि राजदरबारमा राजाको सुरक्षार्थ खटिने पार्श्र्ववर्ती सैनिक (महेन्द्र दल गुल्म) जीवनमा नरबहादुर प्रवेश गरे । जुद्धशमशेरका छोराहरूसँग खेल्ने मौका नरबहादुरले दरबारमा पाउँदा र रहँदा पूर्वराजा ज्ञानेन्द्र साढे चार वर्षका थिए । उनलाई दुई महिना हेरविचार समेत गरेका थिए ।
नेपालमा क्रान्तिकारी आन्दोलनमा लामबद्ध भएर बलिदान गर्नेहरूको गौरवशाली इतिहास छ । अङ्ग्रेज शासकका विरुद्ध नेपालीले वीरतापूर्ण र बलिदानीपूर्ण सङ्घर्ष गरेका थिए । राष्ट्रियता, जनतन्त्र र जनजीविका तीनवटै आन्दोलनमा नेपाली जनताले इतिहासदेखि नै निर्भयपूर्वक लडेर बलिदान गरेका छन् । नालापानीदेखि सिन्धुलीगढीसम्मका लडाइँहरू चर्चित छन् । राजनीतिक रूपमा सङ्गठित भएर अन्याय, शोषण र दमनका विरुद्ध सङ्घर्ष गर्ने र बलिदान गर्ने गौरवशाली इतिहासको आरम्भ गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दले गरिसकेका थिए ।
वि.स. १९९७ सालमा जुद्धशमशेरले देशद्रोहीको मुद्धामा उनीहरूलाई मृत्युदण्डको फैसाल गरी हत्या नगरुन्जेलसम्मका करिब दुई महिना उनीहरूकै पहरामा खटिएका थिए । उनले पहरा दिइरहेका व्यक्तिलाई मृत्यु दण्डको फैसला दिएको चारदिन अघिदेखि दरबारको एक कुनामा एउटा पोडेलाई राइफल चलाउन तालिम दिइरहेको पनि देखे । पछि उसले गोली हान्न नसकेपछि नरशमशेर आफैँले दशरथ चन्द र गङ्गालाललाई गोली हानेको इतिहासका साक्षी थिए ।
वि.सं. १९९७ माघ १३ गते हसिनादेवीले छोरा जन्माइन् । गङ्गालाललाई मारिएको अघिल्लो रात उनको छोरो जन्मिएको समाचार सुनाउन यिनलाई नै पठाइएको थियो । जुद्धशमशेरले तीन पटकसम्म माफ माग्न लगाउँदा पनि माफ नमागेका र आफू मृत्युको नजिक पुगेको छु भन्ने थाहा पाएका गङ्गालालले- “सूर्य र चन्द्रको एकैपटक उदय हुँदैन, एउटा उदाउँदा अर्काको अस्ताउने बेला हुन्छ ।” भनेर दृढता व्यक्त गरेको र रातको एक बजेतिर हुनु पर्छ, “नरशमशेरले पोडेलाई फकाउँदै गोली हान्न लगाएको गङ्गालाललाई पेट र कोखामा गोली लागेको” कहिल्यै बिर्सन्न भन्थे । यिनले दरवारीया राणहरूको एउटा कालखण्डको प्रेम र घृणाको इतिहास, शङ्का र षड्यन्त्रको इतिहास, इबी र हत्याको इतिहासलाई २०१० सालको मध्यसम्म देखिएका दृष्यहरू पहराबाट हेरिरहे र पढिरहेका थिए ।
इतिहास निर्माणमा विरलै मात्र यस्ता व्यक्तित्वहरूको योगदान रहेको हुन्छ जसको जीवन नै ऊर्जाशील र प्रेरणादायी हुन्छ । “व्यक्तिको जीवन आफैँ केही होइन तर उसको विचार र कर्म ठुलो हो ।” भन्ने नरबहादुर बस्नेतले “जनताप्रति नराम्रो नगर्नु, अब राणाहरूको समय सकिन लागेको छ ।” भनेर आफूलाई शुक्रराजले भनेको र आफूले पनि कहिल्यै शहिदको इच्छा विपरित नगरेको ०६२ माघ १८ गते मैले पूर्व सन्देशको लागि लिएको एक अन्तर्वार्तामा भनेका थिए ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले जागिर खान तीन विषय (हिसाब, निबन्ध र सामान्य ज्ञान) मा उत्तीर्ण हुनुपर्ने नियम बसाएका थिए । यसमा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः खरदार, डिट्ठा र मुखिया हुने भनिए पनि वि.सं. २०१० सालमा रानीझोडामा बसोबास गराउन पाऊँ भनी त्रिभुवनलाई विन्तिपत्र चढाएका थिए । त्रिभुवनबाट वि.सं. २०१० मङ्सिर १० गते नरबहादुरको इच्छाअनुसारको बिन्तीपत्रमाथि हुकुम भएपछि हिमालय बसुन्धराको कृष्ण खोला वारिपारि रहेको २० हजार बिगाहा जग्गा (बिर्ता) को मालपोत असुल गर्ने सोझै डिट्ठा भएका थिए ।
सभ्यता भन्ने कुरो त्यस बेला केही थिएन । औलोको माहामारी थियो । औषधीमुलो थिएन । जङ्गलामुलुक थियो रे । तिहुन तरकारी केही पाइन्न थियो । फुलबरियाबाट किनेर ल्याउनु पर्थो । हरिण, मृग, बँदेल, मजुरहरू प्रशस्त भएकाले मासु चाहिँ खान पाइन्थ्यो भन्थे । यस्तो समयमा बिर्ता जग्गामा बसोबास व्यवस्थापन र मालपोत असुल गर्न डिट्ठा भएर आएका नरबहादुर बस्नेत पहिलो पल्ट झापा आउँदा माल कार्यालय गौरीगन्जमा भएकोले गौरीगन्जमा नै बसे । यसको पुगनपुग एक वर्षपछि वि.सं. २०११ सालमा गौरादहमा १६ सय रुपैयाँमा ३२ विगाहा जग्गा किनेर गौरादहकै बासिन्दा भएका थिए । वि.सं. २०११ सालमा नै रतुवादेखि पूर्व र माई पश्चिम आठ मौजाको जङ्गल फँडानी गर्न राजा महेन्द्रले एउटा समिति बनाइदिएका थिए । जसमा भक्तबहादुर कर्नेल, नृपबहादुर कप्तान, गणेशराज श्रेष्ठ, गजेन्द्रबहादुर बस्नेत र डिट्ठाबा थिए ।
वि.सं. २०१७ सालमा पञ्चायत गठन हुँदा कोही बस्न मानेनन् । असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार पनि नहुँदा रहेछन् । नरबहादुरले पनि मानेका थिएनन् । पछि राजा महेन्द्रका दाहिने हात मानिएका शेरबहादुर शाहीले चिठी लेखेर पठाई पञ्चायतमा काम गर्न अनुरोध गरेपछि यो ठाउँ बनाएरै छाड्छु भन्ने अठोट लिएर प्रधानपञ्चको जिम्मेवारी लिएका थिए । नदीमा हामफाल्दैमा कसैको मृत्यु हुँदैन रहेछ । मृत्यु त तब हुँदो रहेछ जब पौडिन आउँदैन । परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त तब बन्दो रहेछ जब उसलाई परिस्थितिसँग जुध्न आउँदैन । पछि नेपाल अधिराज्यको संविधान २०१९ बमोजिम गौरादह गाउँ पञ्चायतको २०२० देखि २०३८ सम्म अविच्छिन्न २० वर्ष प्रधानपञ्चको जिम्मेवारी बहन गरे ।
मानिसले मात्र सपना बोक्दैन, सपनाले मानिसलाई पनि बोकिरहेको हुँदो रहेछ । गाउँमा शिक्षाको बोध गराई विद्यालय स्थापना गर्दै शिक्षाको ज्योति घरघरमा पुर्याउने अभिप्रायले २०१७ सालको अन्त्यतिर एउटा शिक्षा समिति निर्माण भयो । जसको अध्यक्ष डि. नरबहादुर बस्नेत नै थिए । समितिको कोषाध्यक्ष शरणकुमार कुँवर र सदस्यहरूमा बद्रीबहादुर बस्नेत, पुष्पबहादुर कार्की, सन्डा ताजपुरिया, शमशेरबहादुर थापा, खमानबहादुर बोहोरा, अमृतबहादुर सुवेदी, इन्द्रमणी कार्की, हिन्दबहादुर राई र दिलबहादुर लिम्बू रहेका थिए ।
इतिहासका अनेक पाटाहरू मध्ये समाज निर्माणलाई आधार बनाउने नरबहादुरले आफ्नै अगुवाइमा वि.सं. २०१८ सालमा गौरादहको पहिलो पाठशाला राष्ट्रिय प्राइमरी स्कुल स्थापना गरे । यही क्रममा वि.सं. २०२४ साल पौषमा गौरादहका नौवटै वडामा विद्यालय भवन निर्माण गर्न नरबहादुर बस्नेतकै अध्यक्षतामा समिति निर्माण भयो । जसमा कृष्णबहादुर घिमिरे, भविचन्द्र राजवंशी, सम्पतलाल चौधरी, धर्मराज पौडेल, पदमबहादुर सुवेदी, तिलकबहादुर थापा, हिन्दबहादुर राई, जगन्नाथ अग्रवाल र निर्मलकुमार दास रहेका थिए ।
गौरादहमा ०१७ सालदेखि नै हाटबजार हप्ताको दुई पटक आइतवार र बुधवार लाग्थ्यो । दमकमा पनि बुधवार बजार लाग्ने भएकाले डिट्ठाले नै बुधबारको साटो विहीबार सारेका थिए । तत्कालीन समयमा किसानहरूलाई धान कुट्न समस्या भएकोले डिट्ठाले कलकत्ता गई त्यहाँको नमुना हेरेर गौरादह र स्कुलचौन बजारमा पहिलो धान कुट्ने मिल आफ्नै लगानीमा सञ्चालन गरे । कसैले पनि भूतकाल बदल्न सक्दैन रहेछ तर भविष्य बदल्न सक्दो रहेछ । यसरी गौरादहलाई आर्दश गाउँ पञ्चायत बनाउन र झापा जिल्लाको नमुना गाउँ पञ्चायत बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए । समयक्रमसँगै नेपाल बैङ्क, प्रहरी चौकी, हुलाक, जन श्रमदानद्वारा बाटा, बाँधपैनी र पोखरीहरूसमेत बनाए ।
एउटा समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निम्त्याउनु रहेछ । जीवनमा चुनौती र समस्यासँग जुध्नु पर्दोरहेछ, यही नै जीवनको सत्य रहेछ । एक शान्त तलाउमा कुनै पनि माझी कहाँ कुशल बन्दो रहेछ र ! तत्कालीन राजा महेन्द्र शिकार खेल्न भनेर वि.सं. २०१८ साल माघ २ गते दुदाली आएर क्याम्प हालेर बसे । व्यक्तिलाई काम गर्ने बानीले नै महानताको चुचुरोमा पुर्याउँदो रहेछ । डिट्ठाले गौरादहदेखि गाई लगेर महेन्द्रलाई बसुन्जेल दुध खुवाएका थिए भने महेन्द्र माघ ९ गते मात्र फर्किएका थिए । मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु पनि रहेछ ।
वि.सं. २०२६ सालमा श्री ५ वीरेन्द्र हाइस्कुलमा हेलिकप्टर राखेर हिँडेर नै जानकीश्वर शिवालय मन्दिरसम्म आएका थिए । तीन घण्टा जति बसेर फर्किएका थिए । मानिसको व्यवहार गणितको शून्यजस्तै हुनु पर्दो रहेछ । जुन आफैँमा मूल्यवान नभए पनि अरूसँग जोडिँदा त्यसको मूल्य बढाइदिन्छ । पाडाजुँगीदेखि गौरीगन्जसम्मको बाटो २०३२ सालमा कीर्तिनिधि विष्टले शिलान्यास गरेका थिए । खन्ने कामको अगुवा डिट्ठाले नै गरेका थिए ।
उसबेला माहारानीझोडा हुँदा एक वर्षको मालपोतको पन्ध्र डब्बल तिरे मात्र जग्गा धनीपुर्जा प्राप्त हुने भयो । तराईका जग्गालाई चार तहमा विभाजित गरेको थियो । जसमा अब्बल, दोयम, सिम र चहार थिए । यसमा पन्ध्र वर्षको एकै पटकमा मालपोत तिर्नु पर्दा जनताको ढाड सेकिने भयो ।
यसमा जिल्ला र अञ्चलका तत्कालीन प्रमुखहरूले डिट्ठा नरबहादुर बस्नेतलाई भने- “सम्पूर्ण जग्गा सिम र चहार बनाइदिन्छौँ । जनतालाई राहत हुन्छ । अवल र दोयम जग्गाको मालपोत बढी लाग्ने हुनाले जनताहरूलाई आर्थिक भार बढी हुन्छ । त्यसैले राजश्वमा जम्मा गर्ने गरी बिगाहाको एक सय जनताबाट उठाइ राजश्व जम्मा गरौँ । यसो गर्दा सबै जमिनलाई सिम वा चहारको मात्र तहमा राख्दा मालपोत घटी लाग्ने हुँदा जनतालाई आर्थिक भार पर्दैन ।”
सल्लाहअनुसार रकम उठाउने कार्य भयो । पछि विशेष प्रहरीमा उजुरी परेको कारणले डिट्ठा नरबहादुर लगायत भगीरथ पोख्रेल, रुद्र कोइराला, वेदनिधि अधिकारी, टङ्क रिजाल, गणेशबहादुर गिरी, देवीप्रसाद काफ्ले, कृष्ण नेउपाने, तिलकबहादुर थापा, रविलाल काफ्ले, बमबहादुर कार्की, खगेन्द्र लिम्बू र महासिंह सुवेदीलाई २०३३ सालमा विशेष प्रहरीले पक्राउ समेत गरेको थियो ।
इतिहास सबैका लागि निर्मम हुन्छ । धारे हात लागएर मात्र गौरादहको समृद्धि र स्वाभिमान पुनस्थापित गर्ने महान् सङ्कल्प पूरा हुँदैन । योगदान व्यक्ति होइन, प्रवृत्ति हो । अग्रजहरूको योगदानको कदरले आगामी सम्भावनाको ढोका खोल्छ । कुनै समय रतुवा पूर्व र माई पश्चिमको तत्कालीन अवस्थाको आठमौजा क्षेत्र भगवान विष्णुको हातमा सूदर्शनचक्र घुमेजस्तै डिट्ठा भएका नरबहादुरको हातमा आठमौजा घुमेको थियो ।
०४६ सालमा बहुदल स्थापना भएपछि राजनीति चटक्कै छोडेर धार्मिक र सामाजिक क्षेत्रमा सक्रिय रहेका बस्नेत दरबार र राणाहरूका बारेमा बोल्ने इतिहास थिए । उस बेलादेखि २०७१ साल असोज १५ गते बुधबार सप्तमी तिथिको उत्तरार्धसम्म बुढापाका र चिन्नेजान्ने सबैका लागि यिनी जीवन्त डिट्ठाबा थिए ।
(१०३ औँ जन्मजयन्ती अवसरमा )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।