विषयप्रवेश
मुक्तक कविताको लघुतम रूप हो र यसको प्रथम सैद्धान्तिक चर्चाको थालनी संस्कृत साहित्यबाट भएको हो । सैद्धान्तिक दृष्टिले साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र यी चार विधाका पनि धेरै भेदोपभेदहरू छन् । तीमध्ये मुक्तक कविताको एउटा रूप वा प्रभेद हो । कविताका पनि लघुतम (मुक्तक), लघु (फुटकर कविता), मध्यम रूप (खण्डकाव्य÷लामो कविता), बृहत् (महाकाव्य) गरी चार रूप हुन्छन् र मुक्तक सबैभन्दा सानो अर्थात् लघुतम प्रभेदभित्र पर्छ । मुक्तक मूलतः कविता नै भएकाले कविताकै परिभाषा र तत्वहरूबाट यसलाई चिनाउन सकिन्छ तापनि यसको आफ्नै परिभाषा पनि छ र कविताकै जस्तो आङ्गिक लघुसंरचक घटकहरू छन् तापनि ती घटकहरूको विन्यास मुक्तकमा पृथक् किसिमले हुन्छ । वर्तमान समयमा मान्छे व्यस्त छ र मनोरञ्जन तथा आत्मतुष्टिका अनेकौँ विकल्पहरू छन् । पहिलेजस्तो लामालामा महाकाव्य पढ्ने धैर्य र फुर्सद आजका मान्छेमा नभएको हुँदा पनि हिजोआज स्वादिलो चटनीको स्वाद दिने मुक्तक निकै लोकप्रिय रहेको छ । मुक्तकका समधर्मी रुवाइ, क्वाट्रेन हाइकू, ताङ्का आदि कवितात्मक प्रभेदहरू लघुरूपका कविता भए पनि ती मुक्तक नै चाहिँ होइनन् भन्ने कुरा मुक्तकका परिभाषा, तत्व, अभिलक्षण आदिबाट थाहा हुन्छ । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा केही मतान्तरहरू देखिए पनि यसको मानक रूप चतुष्पदी नै हो भन्ने कुरा मुक्तकका सम्बन्धमा लेखिएका केही ग्रन्थहरूबाट समेत स्पष्ट हुन्छ । वर्तमानमा मुक्तकका नाममा अनेकौँ किसिमका द्विपदीदेखि सप्तपदीसम्मका रचनाहरू देखिए पनि ती सबैमा मुक्तकीय अभिलक्षणहरूको उपस्थिति देखिँदैन । आयामिक संरचनाका दृष्टिले चतुष्पदी हुनु र विचार÷भाव÷कथ्यको प्रस्तुतिका दृष्टिले उत्तरोत्तर पछिल्ला पङ्क्तिहरू तीव्र र तीव्रतर हुँदै जानु मुक्तकको अभिलक्षण हो । मुक्तकको रचनाविधान के हो भन्ने बारेमा आएका अभिमतहरूको चर्चाका साथ मुक्तकको रचनाविधानको विशुद्ध सैद्धान्तिक निरूपणतिर यो आलेख अभिमुख छ ।

मुक्तक शब्दको व्युत्पादन र अर्थ
मुक्तक तत्सम शब्द हो । संस्कृतको मुच् धातुमा क्त प्रत्यय लगाउँदा मुक्त शब्दको निर्माण हुन्छ र त्यही मुक्त शब्दमा संस्कृतकै कन् प्रत्यक्ष लगाउँदा मुक्तक शब्दको निर्माण हुन्छ । यसरी मुक्तक शब्दको व्युत्पादन प्रक्रिया यस किसिमको देखिन्छ ः मुच् + क्त् = मुक्त + कन् = मुक्तक । नेपाली प्रचलनमा भने मुक्त + क = मुक्तक गरी यस शब्दलाई व्युत्पादन गर्ने प्रचलन छ । संस्कृतको मुच् धातुले सामान्यतया कुनै बन्धनबाट मुक्त गर्नु र स्वतन्त्र हुन दिनु भन्ने अर्थ दिन्छ (आप्टे, सन् १९९९ः ८०२) । यस मुच् धातुबाट बनेको मुक्तक शब्दले साहित्यको पारिभाषिक रूपमा काव्यको एउटा स्वतन्त्र किसिमको रचनाप्रकार भन्ने अर्थ बुझाउँछ । मुक्तकका कोशीय र तात्पर्यगत गरी दुई किसिमका अर्थहरू देखाउन सकिन्छ ।

कोशीय अर्थ
१. स्वयम् आफैमा पूर्ण एक पृथक् श्लोक । (आप्टे, सन् १९९९ ः ८०३)
२. कथासूत्रमा नउनिएको परस्पर क्रमिक सम्बन्ध नभएको, कुनै एउटा भावलाई पूर्ण रूपले बुझाउने पद्य वा कविता (ज्ञवाली, २०४० ः६०४) ।
३. कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता (पोखरेल र अन्य,२०४२ ः १०८१) ।
४. कथासूत्रमा आबद्ध नभईकन, हृदयगत भावलाई स्वतन्त्र रूपले अभिव्यक्त गर्ने गद्यकविता (शर्मा, २०५७ ः १०७४) ।
५. एकै पद्यमा पूरा हुने काव्य (पाण्डेय, २०५७ ः १००६) ।
६. पद्य वा गद्यमा लेखिएको छोटो र मार्मिक कविता (अधिकारी र भट्टराई, २०६१ ः ८०८) ।
७. अनुभूतिको अतिसङ्क्षिप्त अभिव्यक्ति भएको लघुत्तम कविता, फुटकर कविता (चापागाईँ, २०६२ ः९५८) ।
८. प्रायः चारै चरणको कुनै विषयमा लेखिएको स्वतः सम्पूर्ण रचना वा चारै चरणमा पूरा हुने विषय (भट्टराई, २०६३ ः ७४५) ।
९. छन्दको बन्धनमा नलेखिएको स्वतन्त्र कविता, कथासूत्रमा नबाँधिएको स्वतन्त्र अभिव्यक्ति भएको कविता (बराल, २०६८ ः ६००) ।

यी कोशीय अर्थहरूले पारिभाषिक अर्थ पनि वहन गर्छन् । पारिभाषिक अर्थ वहन गर्छन् भन्नाको अभिप्राय यी परिभाषा पनि हुन् भन्ने देखिन्छ । उपर्युक्त अर्थहरू विशुद्ध शब्दकोशहरूबाट लिइएको हुँदा परिभाषाले वहन गर्ने स्पष्टता र विशिष्टता कोशीय अर्थहरूमा पाँइदैन । मूलतः साहित्यका लक्षणग्रन्थहरूमा दिइएका वा साहित्यशास्त्रमा प्रस्तुत गरिएका परिभाषालाई खास परिभाषा मान्नु समीचीन हुन्छ । उपर्युक्त कोशीय अर्थहरूमा पनि एकरूपता पाइँदैन र यी कोशीय अर्थ पनि संस्कृत काव्यशास्त्रबाट निर्दिष्ट छन् । उपर्युक्त कोशीय अर्थहरूमा देखिएका मतान्तरहरू निम्नलिखित छन्ः

१. स्वयम् पूर्ण एक पृथक् श्लोक,
२. परस्पर निरपेक्ष पद्य वा कविता,
३. निरपेक्ष स्वतन्त्र कविता,
४. कथासूत्र नभएको स्वतन्त्र गद्यकविता,
५. एकै पद्यमा पूरा हुने काव्य,
६. गद्य वा पद्यमा लेखिएको छोटो र मार्मिक कविता,
७. अनुभूतिको अतिसङ्क्षिप्त अभिव्यक्ति भएको लघुत्तम कविता, फुटकर कविता,
८. चार चरणको रचना वा कविता,
९. छन्दको बन्धनमा नलेखिएको स्वतन्त्र कविता ।

उपर्युक्त मतमतान्तरको निष्कर्ष यस्तो देखिन्छः
 १,५,७ र ८औँ क्रमका मतहरूले आयाम वा आकारगत आधारलाई लिएका छन् ।
 २ र ४ क्रमका मतहरूले निरपेक्षता र लयगत आधारलाई लिएका छन् ।
 ३ क्रमको मतले निरपेक्षतालाई आधार मानेको छ ।
 ६ क्रमको मतले लय र आकारलाई आधार मानेको छ ।
 ९ क्रमको मतले लय र स्वतन्त्रलाई आधार मानेको छ ।

तात्पर्यगत अर्थ
उपर्युक्त कोशीय अर्थहरू भित्रैबाट तात्पर्यगत अर्थहरूसमेत खोज्न सकिन्छ तापनि तात्पर्यगत अर्थ कोशीय अर्थभन्दा विशिष्टीकृत हुन्छ । यही तात्पर्यगत अर्थले निश्चित सैद्धान्तिक आधार प्राप्त गरेर स्थापित भएपछि त्यो परिभाषाका रूपमा देखिन आउँछ । मुक्त शब्दले मुक्त वा स्वतन्त्र भन्ने अर्थ दिन्छ र स्वतन्त्र भन्नाले आफैमा पूर्ण, स्वयंपूर्ण वा कुनै पनि पक्षसँग सापेक्ष सम्बन्ध नभएको भन्ने बुझिन्छ । त्यहीँ मुक्त शब्दमा ‘क’ जोडिँदा बन्ने मुक्तक शब्दको तात्पर्य कवितासँग छ र यसले कविताका लघुतम, लघु, मध्यम र बृहत् रूपमध्ये लघुतम रूपलाई बुझाउँछ । यसबाट मुक्तक शब्दले कविताको सबैभन्दा सानो रूपलाई बुझाउने भएको हुँदा यसको तात्पर्यगत अर्थले साहित्येतर वा कवितेतर सन्दर्भलाई बुझाउँदैन । यस आधारमा मुक्तकको तात्पर्यगत अर्थलाई स्पष्ट पार्दा निम्नलिखित निष्कर्ष देखिन्छः
(१) मुक्तक साहित्यका प्रमुख चार सैद्धान्तिक विधामध्ये कविताको एउटा उपविधा हो ।
(२) मुक्तक शब्द पारिभाषिक हो र यसले कविताको निश्चित स्वरूपको संरचनालाई बुझाउँछ ।

मुक्तकको परिभाषा
कविता सर्वप्राचीन विधा हो र मुक्तक पनि कविताकै एक प्रभेद भएकाले यसलाई पनि सर्वप्राचीन कवितारूप मानिन्छ । मुक्तक मूलतः पूर्वीय अवधारणा भएकाले यसका परिभाषा, व्याख्या र स्वरूपहरू पनि पूर्वीय संस्कृत साहित्यमा नै प्राप्त हुन्छन् । पाश्चात्य साहित्यमा मुक्तकका रूपमा आउने द्विपदीदेखि षट्पदीसम्मका कवितारूपहरू देखिन्छन् । नेपाली र हिन्दीमा चाहिँ संस्कृत साहित्यबाट अनुप्राणित र प्रभावित मुक्तकचिन्तन देखिन्छ । संस्कृत, अङ्ग्रेजी र नेपाली साहित्यमा देखिएका मुक्तकका प्रमुख परिभाषालाई यसप्रकार देखाइन्छ ः

(क) संस्कृत साहित्यमा मुक्तकसम्बन्धी परिभाषा
पूर्वीय संस्कृत साहित्यमा मुक्तकका बारेमा चिन्तन गर्ने प्रथम विद्वान् छैटौँ शताब्दीका भामह हुन् । भामहदेखि तेरौँ चौधौँ शताब्दीका विश्वनाथसम्मका काव्यचिन्तकहरूले मुक्तकसम्बन्धी केही चर्चा गरेका छन् । संस्कृत साहित्यमा प्रचलित मुक्तकसम्बन्धी केही प्रमुख परिभाषलाई कालक्रमिक आधारमा यसप्रकार देखाइन्छ ः
(१) ‘पूर्वापर प्रसङ्गमा नबाँधिएको अनिबद्ध गाथा र श्लोकलाई मुक्तक भनिन्छ’ (भामह, २०१९ ः१०) ।
(२) ‘मुक्तक, कूलक, कोश र सङ्घातहरू सर्गबन्ध (महाकाव्य) कै अंश हुन्’ (दण्डी, २०१५ ः १५) ।
(३) ‘मुक्तक अनिबद्ध (पूर्वापर प्रसङग्मा नबाँधिएको) रचना हो’ (वामन, २०३३ः४१) ।
(४) ‘सहृदयमा चमत्कार उत्पन्न गर्ने एक श्लोकी कवितालाई मुक्तक भनिन्छ’ (वेदव्यास, १९५८ ः२२) ।
(५) ‘मुक्तकले पनि प्रबन्धकाव्यले जस्तै रससञ्चार गर्न सक्छ’ (आनन्दबर्धन, २०२८ ः १८१) ।
(६) ‘पूर्वापर निरपेक्ष भएर पनि जसले रसचर्वणा गराउन सक्दछ, त्यसलाई मुक्तक भनिन्छ’ (अभिनव गुप्त, (लोचन टीका), २०२१ ः१२३) ।
(७) ‘एकै छन्दमा वाक्यार्थ समाप्त हुने रचनालाई मुक्तक भनिन्छ’ (हेमचन्द्र, सन् १९३४ ः ४०८) ।
(८) ‘निरपेक्ष र छन्दोबद्ध एक श्लोकको पद्य रचनालाई मुक्तक भनिन्छ’ (विश्वनाथ, २०२० ः ५४७० ।
संस्कृत साहित्यका उपर्युक्त परिभाषाहरूका आधारमा हेर्दा विभिन्न विद्वानहरूका बीच पूर्णयता मतैक्य पाइँदैन । भामहदेखि विश्वनाथसम्मका आचार्यहरूका परिभाषाहरूमा प्रस्तुत भएका मुक्तकका प्राथमिकतामा पर्ने प्रमुख अभिलक्षणहरूलाई यस प्रकार देखाइन्छः
(१) पूर्वापर निरपेक्षता – भामह, वामन, अभिनव गुप्त, विश्वनाथ आदि ।
(२) निरपेक्षता र एक श्लोकी रचना – वेदव्यास, विश्वनाथ आदि ।
(३) रससञ्चारको सामर्थ्य र चमत्कार– आनन्दवर्धन, अभिनव गुप्त आदि ।
(४) महाकाव्यको अंश– दण्डी
(५) एक छन्दमा वाक्यार्थ समाप्ति – हेमचन्द्र ।

(ख) पाश्चात्य साहित्यमा मुक्तक सम्बन्धी परिभाषा
मुक्तक मूलतः पूर्वीय अवधारणा र चिन्तन भए पनि पाश्चात्य साहित्यमा प्राचीन ग्रिसेली काव्यपरम्परादेखि नै मुक्तकीय संरचना र ढाचाँका कविताहरू लेखिने गरेको पाइन्छ । सफ्फोका केही प्रणयगीत र कमेडी नाटकका बीचबीचमा प्रयोग हुने हास्यव्यङ्ग्यात्मक कविताहरू चतुष्पदीदेखि षट्पदीसम्मका पनि हुने गरेको उल्लेख पाइन्छ । छोटा कविताबारे लेखिन थालेको भने आधुनिक कालदेखि मात्र हो । पाश्चात्य साहित्यमा चरण वा पाउअनुसार कविताको प्रभेदगत नामकरण गरिएको छ र द्विपदीदेखि सप्तपदीसम्मका प्रभेदहरूका लागि पृथक् पृथक् नाम दिइएको छ; जसलाई यसप्रकार देखाइन्छः
Couplet (कप्लेट)– द्विपदी कविता
Terset/Triplet (टर्सेट/ट्रिप्लेट)– त्रिपदी कविता
Quatrain/ Tetraxtich (क्वाट्रेन/टेट्राक्स्टिच)– चतुष्पदी कविता
Limerick (लिमेरिक) –पञ्चपदी कविता
Sestet/Sestina/Sixain (सेस्टेट/सेस्टिना/सिक्सेन)– षट्पदी कविता
Rondelet (रोन्डेलेट) – सप्तपदी कविता (मरफिन र अन्य, सन् १९९८ ः ३१९) ।

यी भिन्नभिन्न नाम दिइए पनि सबै खाले कवितामा समतुकान्त वा विषमतुकान्त भने अपेक्षित ठानिएको छ । नेपालीमा प्रचलित मुक्तकसँग अतिसान्निध्य राख्ने र मुक्तकको मानक स्वरूपसँग अतिनिकट देखिने रूप भने क्वाट्रेन नै हो । पाश्चात्य साहित्यमा कप्लेटदेखि रोन्डेलेटसम्मका कवितारूपलाई लघुतम रूपका कविता मानेर चर्चा गरिएको छ र क्वाट्रेनलाई युरोपेली साहित्यमा लोकप्रिय कविता रूप मानिएको छ ।टेट्राक्स्टिच र क्वाट्रेन दुवै शब्दको प्रयोग भएको पाइए पनि बहुप्रलनका आधारमा यहाँ क्वाट्रेन शब्द नै प्रयोग गरिएको छ र मुक्तकसँगको अतिनिकटस्थ कविताप्रभेदका रूपमा क्वाट्रेन सम्बन्धी केही मुख्य परिभाषाहरूलाई यसप्रकार देखाइन्छः
(१) ‘दोस्रो र चौथो चरणमा अनुप्रास मिलेको चतुष्पदी कविता नै क्वाट्रेन हो’ (कडन, सन् १९९२:९२७)।
(२) ‘पहिलो, दोस्रो र चौथो चरणमा अन्त्यानुप्रास मिलेको र तेस्रो चरण अन्त्यानुप्रासमुक्त वा पहिलो र तेस्रो तथा दोस्रो र चौथो चरणमा अन्त्यानुप्रास मिलेको चतुष्पदी कवितालाई क्वाट्रेन भनिन्छ’ (ओस्बी, सन् १९९५:१४) ।
(३) ‘अनुप्रासयुक्त वा अनुप्रासमुक्त चारचरणमा लेखिएको कविता रूपलाई क्वाट्रेन भनिन्छ’ (मरफिन र अन्य, सन् १९९८:३१९) ।
(४) ‘अङ्ग्रेजी र आधुनिक युरोपेली साहित्यमा प्रायः प्रयोग गरिने र अनुप्रासरहित वा अनुप्रासहितको चतुष्पदी कवितालाई क्वाट्रेन भनिन्छ’ (बालडिक, सन् २००७:२१०) ।
अङ्ग्रेजी साहित्यका उपर्युक्त परिभाषाले चतुष्पदी कविता ‘क्वाट्रेन’को अन्तर्वस्तु वा भावको उत्कर्षका बारेमा कहीँ पनि र केही पनि सङ्केत गरेका छैनन् । आयामिक संरचना र अन्त्यानुप्रासमा नै यी परिभाषाहरू केन्द्रित देखिन्छन् । उपर्युक्त परिभाषाहरूबाट निम्नलिखित निष्कर्ष प्राप्त हुन्छ:
(१) ‘क्वाट्रेन’ चतुष्पदीय हुन्छ ।
(२) यसको दोस्रो र चौथो चरणमा अनुप्रास हुन्छ ।
(३) यसको पहिलो र तेस्रो तथा दोस्रो र चौथो चरणमा अनुप्रास हुन्छ ।
(४) यो अनुप्रासयुक्त र अनुप्रासयुक्त दुबै हुन्छ ।

पाश्चात्य साहित्यका अन्य त्रिपदी र पञ्चपदी कविताहरू मुक्तकका केही नजिक देखिए पनि चतुष्पदीभन्दा ती पृथक् देखिन्छन् र मुक्तकीय विशेषता तिनमा केही न्यून देखिन्छन् ।

(ग) नेपाली साहित्यमा मुक्तकसम्बन्धी परिभाषा
नेपाली समालोचनामा मुक्तकसम्बन्धी परिचर्चा केही पछिल्लो समयदेखि मात्र हुन थालेको पाइन्छ । लगभग साढे पाँच दशक लामो नेपाली मुक्तकचिन्तन परम्परामा केही समालोचक र कवि÷मुक्तककारहरूले मुक्तकलाई विभिन्न रूपमा परिभाषित गरेका छन् । नेपाली समालोचक र मुक्तककारहरूका केही प्रमुख परिभाषालाई यसप्रकार देखाइन्छ ः
(१) ‘निबन्धाकार नबनेकोलाई मुक्तक भन्दछन्’ (सिग्द्याल, २०१६ ः १०७) ।
(२) ‘कविताको लघुत्तम रूप जीवनको कुनै न कुनै एक क्षणको चुट्किलो र छरितो अभिव्यक्ति हो’ (त्रिपाठी, २०३१ ः४) ।
(३) ‘त्यस लघुत्तम प्रसङ्ग मुक्त र स्वतन्त्र प्रकथनलाई मुक्तक भनिन्छ, जसमा कुनै स्पर्शी सन्देश हुन्छ वा कविताको ढाँचाको एक आवृत्तिमा प्रेषित हुन्छ’ (शर्मा, २०३८ ः १६१) ।
(४) ‘कतैकतै चार गहकिला पङ्क्तिले त्यति भन्दछन्, जो चालीसले भन्न सक्दैनन्’ (देवकोटा, २०४०ःङ) ।
(५) ‘सुरुमा चार हरफको रूप लिएर तुकमा लयको माधुरी दिने मुक्तक आजभोलि रूपमा खुम्चने र फुक्ने पनि गरेको छ । ….यसर्थ समयको उभार अनुसार छोटो, तिखो र भरिलो अभिव्यक्ति नै मुक्तक हो’ (शर्मा, २०५० ः ख) ।
(६) ‘अर्थवत्तायुक्त पदको एकान कविता नै मुक्तक हो’ (बराल, २०५१ ः ख) ।
(७) ‘सूक्तिमय, साङ्केतिक एवम् प्रगीतात्मक हुने र एक आवृत्तिमा भावसम्प्रेषित गर्न सक्ने लोकप्रिय कवितामय अभिव्यक्ति मात्र मुक्तक हो’ (पराजुली, २०५५ ः ६३८) ।
(८) ‘लयात्मक रूपमा जीवन र जगत्का अनुभवलाई कलात्मक र रागात्मक रूपले अँगाल्दा स्वयम्मा पूर्ण रहने लघुत्तम एकाईलाई मुक्तक भनिन्छ ’ (खनाल, २०६१ ः १) ।
(९) ‘मुक्तक भनेको सङ्क्षिप्तता भावसघनता र स्पर्शसामथ्र्य नै हो’ (श्रेष्ठ, २०६५ ः क) ।
(१०) ‘मुक्तक भनेको पूर्वापर प्रसङ्गमुक्त, स्वयम्मा पूर्ण र सारगर्भित त्यस्तो लघुतम काव्य रूप हो, जसमा सर्जकले देखेभोगेका जीवनगत सन्दर्भहरूबाट उत्पन्न भाव वा विचारका उन्मेषहरूलाई लयमय बनाएर चोपिला र चोटिलो भाषामा झ्याप्प भनिएको हुन्छ’ (पौडेल, २०६८ ः ९०) ।
(११) ‘सामान्यतया एउटै मूलभावलाई आनुप्रासिक संयोजनका साथ चार पङ्क्तिमा प्रस्तुत गरिएका कवितालाई मुक्तक भनिन्छ’ (लुइटेल, २०६८ ः ६) ।
(१२) ‘चमत्कारपूर्ण कथ्य, मनोमस्तिष्कलाई शीघा्रतिशीघ्र प्रभाव पार्ने धारिलो तथा तीक्ष्ण व्यङ्ग्य रहेको कविताको लघुत्तम रूपलाई मुक्तक भन्दछन्’ (चापागाईँ, २०६९ ः ७३) ।
(१३) ‘पूर्वापर सन्दर्भनिरपेक्ष एक काव्यात्मक अनुच्छेदमा रहने दुईदेखि सात चरणसम्मको एकल आवृत्तिमय कलात्मक बान्कीको पूर्ण तथा हृदयस्पर्शी लघुत्तम कवितालाई मुक्तक भनेर भन्न सकिन्छ’ (पराजुली, २०६८ ः ६) ।
(१४) ‘चार पङ्क्तिभन्दा कम या बढी भए पनि चार पङ्क्तिका केन्द्रमा प्रस्तावना, उत्सुकता र पूर्णता भएको कविताको लघुतम रूप नै मुक्तक हो’ (शर्मा, २०६९ ः ९०) ।
(१५) ‘एकै श्लोकमा पूर्ण र समाप्ति भइकन पनि कम शब्दावलीले एकै झट्कामा चामत्कारिक तवरले गहन भाव प्रहार गरी पाठक मनमा आल्हाद पुर्याउनु समकालीन मुक्तकको खास पहिचान तथा वैशिष्ट्य हो’ (घिमिरे, २०६९ ः ११) ।

नेपाली साहित्यका उपर्युक्त परिभाषाहरूका आधारमा हेर्दा उपर्युक्त विभिन्न समीक्षक तथा स्रष्टाहरूका बीच पनि मतैक्य पाइँदैन । सोमनाथ सिग्द्यालदेखि वर्तमानसम्मका स्रष्टा÷समीक्षकहरूका परिभाषाहरूमा अभिव्यक्त भएका प्रमुख अभिलक्षण र उनीहरूले प्राथमिक रूपमा स्वीकार गरेका मान्यताहरूलाई यसप्रकार देखाइन्छः
(१) कविताको लघुत्तम रूप/एकाइ, छोटो कविता– मोहनराज शर्मा, वासुदेव त्रिपाठी, नरेन्द्र चापागाईँ, सरुभक्त, मुरारि पराजुली, श्रीधर खनाल आदि ।
(२) चतुष्पदी वा एकश्लोकी संरचना– लक्ष्मीप्रसाद देवकोटा, ईश्वर बराल, खगेन्द्रप्रसाद लुइटेल, गोविन्दप्रसाद (सुकुम) शर्मा, बादल घिमिरे आदि ।
(३) पूर्वापर निरपेक्षता, निर्बन्धता र स्वतन्त्रता– सोमनाथ सिग्द्याल, मोहनराज शर्मा, नरेन्द्र चापागाईँ, विष्णुप्रसाद पौडेल, मुरारि पराजुली आदि ।
(४) भावसघनता, प्रभावोत्पादकता र चमत्कारिता– नरेन्द्र चापागाईँ, तीर्थ श्रेष्ठ, विष्णुप्रसाद पौडेल, सुकुम शर्मा, बादल घिमिरे आदि ।
(५) एकल आवृत्तिमा भावसम्प्रेषण – कृष्णप्रसाद पराजुली , मोहनराज शर्मा, मुरारि पराजुली आदि ।
(६) स्वयम् पूर्णता – नरेन्द्र चापागाईँ, श्रीधर खनाल आदि ।

(घ) मुक्तकको निष्कर्षात्मक परिभाषा र व्याख्या
पूर्वीय, पाश्चात्य र नेपाली साहित्यका उपर्युक्त परिभाषालाई हेर्दा विभिन्न समालोचक तथा स्रष्टाहरूले भिन्नभिन्न मान्यता तथा अभिलक्षणलाई आधार बनाएर मुक्तकलाई परिभाषित गरेको देखिन्छ । पूर्वीय संस्कृत साहित्यका आचार्यहरूले पूर्वापर निरपेक्षता, एकश्लोकी वा चतुष्पदी संरचना, रससञ्चार–सामथ्र्य, महाकाव्यांश र एकवाक्यार्थ समाप्तिलाई मूल आधार मानेका छन् भने पाश्चात्य साहित्यमा मुक्तकभन्दा पनि मुक्तकीय संरचनाका कविताको उल्लेख पाइन्छ र एकपदी, द्विपदी, त्रिपदी, चतुष्पदी, पञ्चपदी र षट्पदीसम्मका कविता रूप पाइन्छन् । यस्ता भिन्नभिन्न रूपका कवितालाई त्यहाँ भिन्नभिन्न नाम दिइएको छ तापनि अङ्ग्रेजीमा क्वाट्रेन ९त्तगबतचबष्ल० भनिने चतुष्पदी कविता नै पूर्वीय मुक्तकका रूपमा देखिन्छ । नेपालीमा चाहिँं पूर्वीय संस्कृत साहित्यका परिभाषा र पाश्चात्य वा अङ्ग्रेजी साहित्यका परिभाषालाई आधार बनाएर एवम् केही आफ्नै मौलिक विशेषता समेत समावेश गरी मुक्तकलाई चिनाइएको छ । नेपाली साहित्यमा विशेषतः कविताको लघुतम रूप वा एकाइ, छोटो कविता, चतुष्पदी वा एकश्लोकी रचना, पूर्वापर निरपेक्षता, निर्बन्धता, स्वतन्त्रता, भावसघनता, प्रभावोत्पादकता, चमत्कारिता, एकल आवृत्तिमा भावसम्प्रेषण र स्वयम्पूर्णता आदि अभिलक्षणलाई आधार बनाएर मुक्तकको परिभाषा गरिएको पाइन्छ । उपर्युक्त संस्कृत, अङ्ग्रेजी र नेपालीका परिभाषाहरूलाई आधार बनाएर र मुक्तकका सिद्धान्त समेतका आधारमा मुक्तकलाई यस किसिमले परिभाषित गर्नु उपर्युक्त हुन्छ ः
एकल आवृत्तिमै भावलाई सघनता, प्रभावोत्पादकता र चमत्कारिताका साथ तीव्रतम रूपमा अभिव्यञ्जित गर्ने पूर्वापर सम्बन्धनिरपेक्ष, स्वयम्मा पूर्ण प्रायः चतुष्पदी संरचनामा आबद्ध, कविताको लघुतम प्रभेदलाई मुक्तक भनिन्छ ।
यस परिभाषाका आधारमा मुक्तकलाई समग्रतः पहिचान गराउने आधारहरू यसप्रकार छन्:
(१) मुक्तकमा भावको सघन, प्रभावोत्पादक, चामत्कारिक र तीव्र अभिव्यक्ति हुन्छ ।
(२) मुक्तक पूर्वापर सम्बन्धनिरपेक्ष हुन्छ र यो स्वयम्मा पूर्ण हुन्छ ।
(३) मुक्तकमा भावको एकल आवृत्ति हुन्छ र प्रायः यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ ।
(४) मुक्तक कविताको लघुतम प्रभेद हो ।

(१) मुक्तकमा भावको सघन, प्रभावोत्पादक, चामत्कारिक र तीव्र अभिव्यक्ति हुन्छ ।
मुक्तक पनि कविताको एउटा प्रभेद भएकाले यसमा पनि कवितामा जस्तै भाव÷विचार÷ अनुभूतिको प्रतिपादन हुन्छ । भाव वा विचारको यही अभिव्यक्ति मुक्तकको केन्द्रीय कथ्य पनि हो । यही भाव मुक्तकको भित्री अर्थ र मुटु पनि हो । यस्तो भाव वा विचार मुक्तकमा बीजबिन्दुका रूपमा आएको हुन्छ । मुक्तकमा यस्तो भावको सामान्य र तरल अभिव्यक्ति नभएर सघन वा अत्यन्त खँदिलो अभिव्यक्ति हुन्छ । त्यस्तो सघन अभिव्यक्ति पनि अत्यन्त प्रभावोत्पादक, चामत्कारिक र तीव्र हुनु मुक्तकको निजत्व हो ।

(२) मुक्तक पूर्वापर सम्बन्धनिरपेक्ष हुन्छ र यो स्वयम्मा पूर्ण हुन्छ ।
मुक्तकमा भाव÷विचार÷अनुभूति वा अन्तर्वस्तुको पूर्वापर सम्बन्ध हुँदैन । पूर्व वा अघिल्लो श्लोक वा प्रसङ्ग र अपर वा पछिल्लो श्लोक वा प्रसङ्गसँग कुनै सम्बन्ध नहुनु नै पूर्वापर सम्बन्ध नहुनु हो । मुक्तकभन्दा माथिल्लो वा ठुला आयामका कवितामा एउटा श्लोक वा पङ्क्तिपुञ्ज र अर्को श्लोक वा पङ्क्तिपुञ्जका बीच सापेक्ष सम्बन्ध हुन्छ । यही सापेक्ष सम्बन्धका कारण त्यस्ता कवितामा श्लोक वा पङ्क्तिपुञ्जहरू परस्पर अनुस्यूत हुन्छन् तर मुक्तकका प्रत्येक श्लोक वा पङ्क्तिहरू पूर्वापर सम्बन्धनिरपेक्ष हुने भएकाले जति सानो रचना भए पनि मुक्तक स्वयम्मा पूर्ण हुन्छ । यही स्वयम्पूर्णता नै मुक्तकको परिचय हो । चार पङ्क्तिमा सम्पूर्ण भाव, विचार वा अनुभूति प्रस्तुत गरिने भएकाले मुक्तकको स्वयम्पूर्णता ठोस, कसिलो, भरिलो समेत हुन्छ । यस आधारमा मुक्तक कविताको स्वायत्त एकाइ समेत हो ।

(३) मुक्तकमा भावको एकल आवृत्ति हुन्छ र प्रायः यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ ।
भावको एकल आवृत्ति हुनु पनि मुक्तकको पहिचान हो ‘छन्द वा कविता ढाँचाको एउटा आवृत्ति पूरा हुनासाथ एउटा मुक्तक सिद्ध हुन्छ । अर्को आवृत्ति हुँदा कि अर्को मुक्तकको अस्तित्व देखिन्छ कि त्यो मुक्तक कोटिको रचना देखिन्न’ (शर्मा, २०३८ ः १६२) । भावको एकल आवृत्ति भनेको नै रैखिक ——— र वृत्तात्मक ० विस्तार हो र यस्तो विस्तार अत्यन्त छोटो हुन्छ । पङ्क्तिगत आयामका दृष्टिले यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ र यो यसको मानक अभिलक्षण पनि हो । द्विपदी, त्रिपदी वा पञ्चपदी आयाममा वितरित मुक्तकहरू देखिए पनि मुक्तकको आदिचिन्तन पूर्वीय समीक्षाशास्त्रमा एकश्लोकी रचनालाई मुक्तक भनिने र एकश्लोकमा चार पाउ हुने भएकाले पनि चतुष्पदी हुनु मुक्तकको खास र विशिष्ट पहिचान हो भन्ने देखिन्छ ।

(४) मुक्तक कविताको लघुतम प्रभेद हो ।
शास्त्रीय मान्यता अनुसार कविताका लघुतम, लघु, मध्यम र बृहत् गरी चार रूप हुन्छन् । यी चार रूप मध्ये मुक्तक सबैभन्दा सानो अर्थात् लघुतम रूप हो । लघुतम रूपको कविता भएकाले नै यसमा भावको विस्तार हुँदैन र विस्तार भइहाले पनि त्यो अन्यन्त छोटो, छिप्र वा त्वरित् किसिमको हुन्छ । कविताको मुक्तकभन्दा सानोे कुनै रूप नहुने भएकाले यसलाई लघुतम रूपको कविता भनिएको हो । मुक्तकभन्दा साना द्विपदी, त्रिपदी कविता देखिए पनि ती मुक्तक नभएर मुक्तकीय संरचनाका कविताका रूप हुन् ।

मुक्तकको संरचना र आयाम
संरचना भनेको बनोट हो र आयाम भन्नाले सामान्यतया आकारप्रकार भन्ने बुझिन्छ । यसको बनोट छरितो किसिमको हुने भएकाले र कसिलो समेत हुने भएकाले भावगत तीव्रता र संरचनागत परिपुष्टताका साथ सन्तुलन हुनु मुक्तकको बाह्य–आन्तरिक संरचनात्मक विशेषता हो । आयामगत दृष्टिले अधिकांश समीक्षक तथा मुक्तककारहरूले शास्त्रीय विधानअनुरूप नै चतुष्पदी संरचना र आयामलाई नै स्विकारेका छन् तापनि यस किसिमको संरचना नै सर्वमान्य हो भनेर किटान गरिएका स्थिति भने नेपालीमा कम देखिन्छन् । खास गरेर दुई पङ्क्तिदेखि सात पङ्क्तिसम्मको आयामिक संरचनामा रहेका कवितालाई मुक्तकका रूपमा मानेर यसको संरचना र आयामलाई लचिलो बनाइएका स्थितिहरू भने धेरै देखिन्छन् । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा नेपाली समीक्षक तथा स्रष्टा÷मुक्तककारहरूका प्रमुख केही दृष्टिकोणहरू यसप्रकार छन् ः
(१) ‘यो लघुतम आकारको काव्यात्मक अभिव्यक्ति हो । यो घटीमा दुई र बढीमा सात पङ्क्तिसम्ममा संरचित देखिन्छ तर अधिकांश मुक्तक चार पङ्क्ति भएका फेला पर्छन् । मुक्तकमा चार हरफभन्दा बढी पङ्क्तिहरू हुनुहुँदैन भन्ने कुरा कडिकडाउ छैन तर यसका संरचनामा पङ्क्तिको जति वृद्धि हुन्छ त्यति नै यो मुक्तकभन्दा इतरकोटिको हुने सम्भावना बढ्छ’ (शर्मा, २०३८ ः १६२) ।
(२) ‘मुक्तक लोकप्रिय हुनाका साथै प्रायः चतुष्पदी रचनाका रूपमा प्रसिद्ध छ । यसप्रकारको कविता रचनामा पहिलो, दोस्रो र चौथो पाउ समतुकान्त र तेस्रो पाउ भिन्नतुकान्त रहेको पाइन्छ । …..कतिपय सन्दर्भमा भने यसको संरचनात्मक स्वरूपमा विविधता पनि आइरहेको छ’ (पराजुली–क, २०६९ ः २४) ।
(३) ‘आज हामी जसलाई मुक्तक भन्छौँ, त्यसको स्वरूप पूर्ण चतुष्पदीय पहिलो, दोस्रो र चौथो हरफमा तुक मिलाइएको हुन्छ तर कालकम्रिक रूपमा दुई पङ्क्ति वा एक श्लोकदेखि बढीमा पाँच सात पङ्क्तिसम्म रचना गरिएको पाइन्छ’ (जोशी, २०६९ ः २९) ।
(४) ‘एक वा दुई श्लोकसम्मका कविताहरू सानो आकारका भइकन पनि स्वयम्मा परिपूर्ण रहेका पनि पाइने हुनाले त्यस्ता स्वरूपलाई मुक्तकका प्रारूपका रूपमा लिन सकिन्छ’ (चापागार्इँ, २०६९ ः ७४) ।
(५) ‘मुक्तक चार हरफमा पूर्ण हुन्छ । ….चार हरफमा संरचित पहिलो, दोस्रो र चौथो हरफमा अन्त्यानुप्रासविहिन रहेको नियमसङ्गत रूपमा रचिएको मुक्तकलाई औपचारिक तथा दुईदेखि पाँच हरफसम्म प्रयोग गरिएको र अत्यानुप्रासको तालमेल नमिलाइएको मुक्तकलाई अनौपचारिक मान्न सकिन्छ’ (नेपाल, २०६९ ः ६१) ।
(६) ‘मुक्तक कविताको लघुतम संरचना हो । यो सामान्यतः चार चरण वा हरफमा लेखिन्छ । संस्कृतका एकश्लोकी संरचना र रुवाइ ढाँचाका मुक्तकले त्यसैलाई देखाएका छन् तर न्यूनतम दुईदेखि पाँच सात हरफसम्म पनि मुक्तक लेखिन सक्ने मानिन्छ’ (पौडेल ः २०६८ ः १९) ।
(७) ‘मुक्तकको न्यूनतम चरण दुई चरण हो भने अधिकतम चरण सात चरणसम्म हो’ (पराजुली, २०६९ ः १०) ।
(८) ‘मुक्तकको संरचना या आयाम चार हरफमा पूर्ण हुनु हो । यो आयाम चार हरफ हुँदै बढीमा सात हरफसम्म विस्तार भएको र तीनदेखि एक हरफसम्म खुम्चिएको पनि पाइन्छ । शास्त्रीय आधार भने चार हरफमा पूर्ण हुनु नै मुक्तक हो’ (शर्मा ः २०६९ ः ८७) ।
(९) ‘यथार्थतः मुक्तक चार हरफभन्दा कम वा बढी पङ्क्तिमा संरचित हुन सक्दैन’ (घिमिरे, २०७० ः १३४) ।

उपर्युक्त दृष्टिकोणहरूबाट मुक्तकको आयामिक संरचना दुईदेखि सात पङ्क्तिसम्म विस्तारित हुने कुरा देखाइएको छ र निम्नलिखित चार दृष्टिकोणहरू अगाडि आउँछन् ः
(१) मुक्तक दुईदेखि सात पङ्क्तिसम्ममा विस्तारित हुन्छ ।
(२) मुक्तक एक वा दुई श्लोकसम्म विस्तारित हुन्छ ।
(३) मुक्तक दुईदेखि सात पङ्क्तिसम्म विस्तारित भए पनि चार पङ्क्ति वा चरण रहनु शास्त्रीय मान्यता हो ।
(४) मुक्तक चार हरफको आयाममा नै विस्तारित हुन्छ वा चतुष्पदीय नै हुन्छ ।

मुक्तकको आयामिक संरचनाका सम्बन्धमा प्रस्तुत उपर्युक्त दृष्टिकोणहरू मूलतः संस्कृत साहित्यको मुक्तकका शास्त्रीय मान्यता, अरबी रुवाइका शास्त्रीय मान्यता र नेपाली मुक्तक लेखनका प्रचलनहरू समेतका आधारमा आएका देखिन्छन् र नेपालीमा यी चार किसिमकै मान्यताका मुक्तकहरू लेखिएका छन् । संस्कृत साहित्यको मान्यतालाई अनुसरण गर्नेहरूले एकश्लोकी आयामिक संरचनाका चतुष्पदी मुक्तक लेखेका छन् भने अरबी रुवाइको शैलीमा मुक्तक लेख्नेहरूले पनि पहिलो, दोस्रो र चौथो चरणलाई समतुकान्त र तेस्रो पाउलाई विषमतुकान्तको प्रयोग गरी चतुष्पदी मुक्तक नै लेखेका छन् र यस किसिमको आयामिक संरचना शास्त्रीय मान्यता पनि हो । मुक्तकमा अनुभूतिको एक झोक्का प्रस्तुत गरिने र चार पङ्क्ति वा चरणभन्दा माथि हुने बित्तिकै अनुभूतिको विस्तार हुने भएकाले त्यहाँ मुक्तकीयता भत्किने स्थिति हुन्छ । पहिलो चरण वा पङ्क्तिले विषयको उठान, दोस्रो पङ्क्ति वा चरणले विषयको विकास, तेस्रो पङ्क्ति वा चरणले उत्कर्ष र चौथो पङ्क्ति वा चरणले विषयको/विचारको/कथ्यको/अनुभूतिको रहस्योद्घाटन वा पटाक्षेप गर्ने मुक्तकको शास्त्रीय विधानका आधारमा पनि मुक्तक चतुष्पदी आयामिक संरचनामा आबद्ध हुनु उपयुक्त हुन्छ । मुक्तक शास्त्रीय वार्णिक मात्रिक छन्दजस्तै वा रुवाइ छन्दजस्तै बद्धलय संरचना भएको कविता–प्रभेद भएकाले पनि यसलाई चतुष्पदी आयामिक संरचनामा रहेको कविताका रूपमा मान्नु युक्तिसङ्गत देखिन्छ । द्विपदी कवितामा भावको उठानपश्चात् एकैचोटि बैठान हुने र त्रिपदी कवितामा भावको उठान र विकासपछि उत्कर्षमा पु¥याउने स्थिति नभईकन बैठान हुने भएकाले यस्ता कवितामा भाव/विचार/अनुभूतिले थोरै पनि खेल्ने अवसर पाउँदैनन् । मुक्तकका दोस्रो र तेस्रो पङ्क्ति वा चरणमा अनुभूतिले÷विचारले÷भावले थोरै खेल्ने ठाउँ पाउँछ र चौथो चरण वा पङ्क्तिले बाजी मार्छ ।

कुनै पनि साहित्यिक रचनाहरूको सृजना भइसकेपछि तिनै रचनाहरूलाई आधार बनाएर साहित्य सिद्धान्तहरूको निर्माण गरिने भएकाले र त्यो प्राचीनकालदेखिकै परम्परा समेत भएकाले चतुष्पदीभन्दा इतर आयामिक संरचनाका कविता–प्रभेद (२–७ पङ्क्तिसम्मका)लाई मुक्तक होइनन् भनेर सोझै भन्न नसकिए पनि दुई तीन पङ्क्तिमा भाव÷विचार÷अनुभूतिलाई बढी खुम्च्चाउनु पर्ने र पाँच सात पङ्क्तिसम्म लैँजादा भावको तीव्रता र पटाक्षेपणमा ह्रास आउने सम्भावना भएकाले पनि मुक्तकको चतुष्पदी आयामिक संरचना मानक सिद्ध हुन आउँछ । मुक्तक बद्धप्रकृतिको कविता–प्रभेद भएकाले प्रयोगका नाममा जथाभावी लेख्नु मुक्तकको सैद्धान्तिक अनुशासनभित्र पर्दैन तर भाव/विचार/कथ्यको उत्तरोत्तर आरोह र रहस्योद्घाटनका साथ पटाक्षेप गर्न सके मुक्तलय वा गद्यकवितात्मक लयढाँचाका मुक्तकलाई तीनदेखि पाँच छ वा सात पङ्क्तिसम्म तन्काउन सकिन्छ र भाव÷विचार÷कथ्यको उत्कर्ष र पटाक्षेपपछि विस्तार भइदिनाले मुक्तकीयता हराउने सम्भावना अत्यन्त प्रबल हुन्छ । थोरै वा सीमित पङ्क्तिभित्र धेरै भाव/विचार/अनुभूतिलाई समेट्नु पर्ने भएकाले मुक्तक सृजना गर्नु चुनौतीपूर्ण हुन्छ । चार पङ्क्तिको आयामिक संरचनाका कविता लेख्दैमा ती सबै मुक्तक हुँदैनन् ।

मुक्तकका आङ्गिक संरचक घटकहरू
मुक्तक कविताकै एउटा प्रभेद भएकाले आधारभूत रूपमा कविताका उपकरण वा तत्व नै मुक्तकका पनि उपकरण वा तत्व हुन् । मुक्तक एउटा पूर्ण संरचना हो र यस संरचनाको निर्माणका लागि चाहिने उपकरण नै मुक्तकका आङ्गिक संरचनक घटक हुन् । मुक्तकका तत्व÷उपकरण वा लघुसंरचक घटकहरूका सम्बन्धमा भने समीक्षकहरूका बीच तात्विक मतान्तर पाइँदैन । मुक्तक अङ्गी हो भने मुक्तक बन्नका लागि आउने लघुसंरचक घटकहरू अङ्ग हुन् । यिनै लघुसंरचक घटक वा अङ्गहरूको कुल योगबाट एउटा पूर्ण रचना मुक्तकको निर्माण हुन्छ । समग्रमा मुक्तकका आधारभूत संरचक घटक वा तत्वहरूलाई सङ्क्षेपमा तल चर्चा गरिन्छ ः

(क) अन्तर्वस्तु (भाव/विचार/अनुभूति/कथ्य)
अन्तर्वस्तु मुक्तकको आधारभूत संरचक घटक वा तत्व हो । यो मुक्तकको सारभूत अंशका रूपमा रहने हुनाले यसलाई सबैभन्दा महत्वपूर्ण घटकका रूपमा मानिन्छ । मुक्तकमा अन्तर्वस्तु अमूर्त र सूक्ष्म हुने भएकाले भाव, विचार, अनुभूति वा केन्द्रीय कथ्यका रूपमा यो आएको हुन्छ । मुक्तकमा अन्तर्वस्तुको व्याप्ति नहुने भएकाले यो सूक्ष्म रूपमा रहेको हुन्छ । यस्तो भाव/विचार/अनुभूति/कथ्यका रूपमा आउने अन्तर्वस्तुलाई मुक्तककारले जुनसुकै क्षेत्रबाट पनि चयन र ग्रहण गर्न सक्छ । जीवनजगत्का यावत् भोगाइ र अनुभूति, ज्ञानविज्ञानका यावत् विषय, प्रकृति, संस्कृति, प्रेम, राजनीति, पछ्रिल्लो समयका निर्मित संस्कृतिका विषयहरू आदि जुनसुकै अन्तर्वस्तु पनि मुक्तकमा रहन सक्छन् ।

(ख) परिवेश
मुक्तकमा वर्णित, चित्रित वा सङ्केतित स्थान, काल र परिस्थितिको समष्टि रूप नै परिवेश हो । मुक्तकमा यस्तो परिवेशको वर्णन र चित्रण सम्भव नहुने भएकाले परिवेशको सूक्ष्मातिसूक्ष्म सङ्केत मात्र मुक्तकमा हुन्छ । स्थानिक र कालिक परिवेशभन्दा पनि सुखदुःख आदि मानसिक संवेगजन्य पारिस्थितिक परिवेशको सङ्केत मुक्तकमा देखिने भएकाले परिवेश पनि मुक्तकको लघुसंरचक घटक हो ।

(ग) उद्देश्य
मुक्तकले प्रस्तुत गर्न खोजेको मुख्य प्रयोजन नै उद्देश्य हो । प्रयोजनबिना मुक्तक रचना गरिँदैन । वर्तमान सन्दर्भमा यथार्थको प्रकटीकरण मुक्तक सृजनाको मुख्य उद्देश्य बन्न पुगेको देखिन्छ । तसर्थ उद्देश्य पनि मुक्तकको आधारभूत लघुसंरचक घटक हो ।

(घ) सहभागी र दृष्टिबिन्दु
मुक्तकमा सहभागिता जनाउन आउने व्यक्ति नै सहभागी हो । परम्परित भाषामा यसलाई पात्र भनिए पनि चरित्रको विकास नहुने भएकाले मुक्तकमा पात्रको सामान्य सहभागिता मात्र हुन्छ, त्यसैले ‘म’÷वक्ताका रूपमा वा ‘ऊ’÷ नामधारी पात्रका रूपमा सहभागीको सहभागिता रहेको हुन्छ । मुक्तकको भावलाई पाठकसमक्ष उपस्थापना गर्ने पद्धति दृष्टिकोण हो र मुक्तककारले ‘म’ वा ‘ऊ’ सहभागीका माध्यमबाट केन्द्रीय विचारलाई उपस्थापना गर्दा क्रमशः आन्तरिक र बाह्य दृष्टिबिन्दुको प्रयोग हुन्छ; तसर्थ सहभागी र दृष्टिबिन्दु पनि मुक्तकका लघुसंरचक घटक मानिन्छन् ।

(ङ) लय
मुक्तकमा ध्वन्यात्मक आरोहअवरोहको स्थितिबाट लयको उत्पादन हुन्छ र लयले नै मुक्तकलाई साङ्गीतिक बनाउँछ । लय ध्वनिप्रवाहको ढाँचा हो र लयको उत्पत्ति गति, यति, प्रवाह एवम् विरामहरूको पारस्परिक तथा क्रमिक योगबाट हुन्छ (गौतम, २०६६: ५७६) । मुक्तक कविताकै प्रभेद भएको र लय कविताको अनिवार्य तथा निजी तत्व भएकाले मुक्तकको पनि यो अनिवार्य तथा निजी तत्व हो । मुक्तकलाई अन्य कवितेतर विधाबाट छुट्याउने तत्व पनि लय नै हो । मुक्तक बद्ध र मुक्त दुबै लयमा लेखिन्छ । शास्त्रीय वार्णिक वा मात्रिक छन्द, रुवाइको आगन्तुक लय र लोकलयमा लेखिने मुक्तकहरूमा बद्ध लय हुन्छ र यस्ता लयका मुक्तकमा प्रायः वर्ण, मात्रा/अक्षर आदिको समान वितरण हुन्छ भने मुक्त लयका मुक्तकमा तिनको समान वितरण हुँदैन । मुक्तकमा रहने अनुप्रासिकता/तुकबन्दीले पनि लयको उत्पादनमा विशिष्ट भूमिका खेल्दछन् । बद्ध लयका मुक्तकमा बाह्य लय र मुक्त लयका मुक्तकमा आन्तरिक लयको व्यवस्थापन हुन्छ । शास्त्रीय वार्णिक/मात्रिक, छन्दका मुक्तक लेख्ने परम्परा अहिले केही न्यून भएकाले रुवाइ शैलीका मुक्तक र गजल शैलीका मुक्तकहरू वर्तमानमा बढी लेखिएका छन् र तिनमा उक्त आगन्तुक लयढाँचाकै प्रयोग देखिन्छ । मुक्त लयढाँचा पनि मुक्तकको प्रचलित लयढाँचाका रूपमा देखिएको छ ।

(च) भाषाशैलीय तत्त्व
मुक्तक पनि कविताकै प्रभेद भएकाले कविताकै भाषा मुक्तकमा पनि प्रयोग हुन्छ । कविताको भाषा लाक्षणिक वा व्यञ्जनात्मक, अनेकार्थक, अलङ्कृत, विचलनयुक्त, कलात्मक, ध्वन्यात्मक, शब्दसौन्दर्यात्मक, लयात्मक, न्यूनविराम चिन्हित, कसिलो र अस्पष्ट हुने (शर्मा, २०५५:२४) भएकाले मुक्तकको भाषामा पनि पूर्णतया यी विशेषता रहन्छन् । मुक्तक छोटो हुने र थोरै शब्दमा धेरै भन्नुपर्ने भएकाले मुक्तकको भाषा अझ बढी ध्वन्यात्मक, प्रभावोत्पादक, चामत्कारिक, वक्रोक्तिमूलक र सघन हुन्छ । शैली भनेको मुक्तक लेख्ने तरिका हो । मुक्तक कसरी लेखिन्छ भन्ने कुरा शैलीले बताउँछ । भाषा मुक्तक लेख्ने माध्यम हो भने शैली तरिका हो र यी दुईका बीच जहिले पनि नजिकको सम्बन्ध हुन्छ । तसर्थ भाषाशैलीलाई रूपविन्यास भनिन्छ । शैली अन्तर्गत धेरै कुरा पर्दछन् तापनि मूलतः मुक्तककारले चयन, विचलन, समानान्तरता, विपर्यास, बिम्बीकरण, उक्तिवैचित्र्य, मानवीकरण आदिका माध्यमबाट विशिष्ट शैलीको निर्माण गर्ने भएकाले यिनलाई शैली निर्माणका घटक मानिन्छ (गौतम, २०६९: १०२) । व्यङ्ग्यात्मकता, बिम्ब, प्रतीक र अलङ्कार मुक्तकका विशेष शैलीय तत्त्वहरू हुन् । स्रष्टाका मानसपटलमा रहेको भावलाई अभिव्यञ्जित गर्ने चित्रात्मक भाषा बिम्ब हो । बिम्बले मुक्तकको भावलाई बढी सम्मूर्तित बनाउँछ । ‘कुनै सूक्ष्म कुरा अभिव्यक्त गर्नका लागि कुनै स्थूलवस्तुको चयन गर्नु प्रतीकविधान हो’ (ऐजन) । मुक्तकले कुनै घटनाको वर्णन नगरी सूक्ष्म रूपमा सङ्केत मात्र गर्ने भएकाले मुक्तकका लागि प्रतीकको प्रयोग निकै महत्वपूर्ण हुन आउँछ । अलङ्कार कविताको शोभाकारक तत्त्व हो । मुक्तकको अर्थमा चमत्कृति पैदा गर्ने र शब्दचमत्कारका माध्यमबाट पनि अर्थलाई उत्कर्षमा पुर्याउने अलङ्कारले मुक्तकलाई बढी सौन्दर्यात्मक बनाउँछ । शब्दालङ्कार र अर्थालङ्कार गरी अलङ्कार दुई किसिमका हुन्छन् । शब्दका माध्यमबाट चमत्कार उत्पन्न गर्ने अलङ्कारलाई शब्दालङ्कार र अर्थका माध्यमबाट चमत्कार उत्पन्न गर्ने अलङ्कारलाई अर्थालङ्कार भनिन्छ । मुक्तकमा यी दुवै किसिमका अलङ्कार रहेमा मुक्तक विशिष्ट बन्दछ । लय शैलीअन्तर्गत नै पर्दछ तापनि यो मुक्तक कविताको निजी तत्त्व भएकाले यसको पृथक् चर्चा गरिएको छ । मुक्तकमा पाइने १,२ र ४ पङ्क्तिका बीचको अन्त्यानुप्रासीयता समानान्तरता र अलङ्कार दुवै हो । यसबाट पनि मुक्तकको लयसौन्दर्यमा अभिवृद्धि हुन्छ ।

मुक्तकको वर्गीकरण
मुक्तक यति नै प्रकारका हुन्छन् भन्ने कुनै निश्चित सैद्धान्तिक आधार छैन र विभिन्न आधारमा विभिन्न किसिमले मुक्तकलाई वर्गीकरण गर्न सकिन्छ । कतिपय अध्येताहरूले चरणवितरणगत, स्रोतगत, छन्दगत, अन्त्यानुप्रासगत, विषयगत, विचारगत, भावगत, परम्परागत र कथागत आदि आधारमा मुक्तकको वर्गीकरण गरेको (पराजुली–ख, २०६९ ः १०) पाइन्छ तापनि मूलतः निम्नलिखित किसिमले मुक्तकको वर्गीकरण गर्दा बढी समीचीन देखिन्छ र अन्य धेरै प्रकारहरू यसैभित्र समाहित हुन सक्ने देखिन्छ । मुक्तकको वर्गीकरणका प्रमुख आधारहरू यसप्रकार छन्ः
(क) स्रोतका आधारमा
(ख) अन्तर्वस्तुका आधारमा
(ग) लयसंरचनाका आधारमा
(घ) उक्ति ढाँचाका आधारमा

(क) स्रोतका आधारमा
मुक्तक कुन भाषिक, क्षेत्रीय वा परिवेशगत स्रोतबाट आएका छन् भन्ने कुरा स्रोतले देखाउँछ , नेपालीमा प्रचलित स्रोतका आधारमा हेर्दा लोकसाहित्यिक स्रोत, संस्कृत शास्त्रीय स्रोत र आगन्तुक स्रोत गरी तीन किसिमका मुक्तकहरू बढी प्रचलित छन् । गाउँखाने कथा, उखान, लोकोक्ति, अड्को थाप्ने सिलोक, लोकगीतहरूका स्थायी चरण, भजन आदि पनि मुक्तकीय संरचनाका हुन्छन् र यस्ता मुक्तकहरूलाई लोकसाहित्यिक स्रोतबाट लिइएका मुक्तकका रूपमा लिन सकिन्छ । संस्कृत साहित्यका एकश्लोकी पूर्वापर सम्बन्ध निरपेक्ष कविताहरू पनि मुक्तक नै हुन् र ती संस्कृतका शास्त्रीय छन्दमा लेखिएका हुन्छन् । संस्कृतका सूक्ति र सुभाषितका प्रभावमा लेखिएका यस्ता मुक्तकलाई संस्कृत शास्त्रीय स्रोतबाट लिइएका मुक्तकका रूपमा लिन सकिन्छ । अङ्ग्रेजीका चतुष्पदी कविता (Quatrain) को प्रभावमा लेखिएका मुक्तक, अरबी स्रोतको रुवाइका ढाँचामा लेखिएका मुक्तक, उर्दू फारसीका गजल र सायरीको ढाँचामा लेखिएका मुक्तक र जापानी हाइकू ताङ्का आदिको ढाँचामा लेखिएका मुक्तकलाई आगन्तुक स्रोतका मुक्तकका रूपमा मानिन्छ । यस्ता मुक्तकहरू तत्तत् लयसंरचनाका ढाँचामा लेखिएका हुन्छन् ।

(ख) अन्तर्वस्तुका आधारमा
मुक्तकलाई अन्तर्वस्तुका आधारमा पनि वर्गीकरण गर्न सकिन्छ । मुक्तककारले जीवनजगत् र ज्ञानविज्ञानका यावत् क्षेत्रबाट मुक्तकका लागि अन्तर्वस्तुको ग्रहण गर्छ । भाव÷विचार÷अनुभूति÷कथ्यका रूपमा आएका यस्ता अन्तर्वस्तु असङ्ख्य हुन्छन् र यो वर्गीकरण अन्तर्वस्तुको प्रवृत्तिगत वर्गीकरण पनि हो । जीवन, जगत्, प्रकृति, संस्कृति, राष्ट्र, समाज, व्यक्ति, आर्थिक, राजनीतिक समस्या, नीति, आदर्श, दर्शन, सुखदुःख, प्रेम, करुणा, भय, आतङ्क आदि मानवीय संवेगहरू, युगीन राजनीतिक तथा सामाजिक विकृति र विसङ्गतिहरू, शोषण र अनाचारहरू, धर्म, वर्ण, लिङ्ग, जाति आदिका अनेकौँ समस्याहरू र विषयहरू आदि र यीसँग सम्बन्धित धेरै कुराहरू मुक्तकको भाव÷विचार÷अनुभूति÷कथ्यका रूपमा आएका अन्तर्वस्तु हुन् । अन्तर्वस्तुका आधारमा गरिने यो वर्गीकरण निकै लामो हुन सक्छ ।

(ग) लयसंरचनाका आधारमा
मुक्तकलाई वर्गीकरण गर्ने अर्को मुख्य आधार लयसंरचना पनि हो । यद्यपि स्रोतका आधारमा गरिएको वर्गीकरणबाट पनि लयगत भिन्नता देखिन्छ । मूलतः लयसंरचनाका आधारमा मुक्तकका मुक्त लय र बद्ध लय गरी दुई किसिमका लयसंरचना देखिन्छन् । निश्चित शास्त्रीय छन्दानुशासनमा रहेर लेखिने मुक्तकहरू बद्ध लय संरचनामा देखिन्छन् भने गद्यकवितात्मक ढाँचामा लेखिने मुक्तकहरू मुक्त लयसंरचनामा देखिन्छन् । संस्कृत शास्त्रीय छन्दका मुक्तकहरू, रुवाइ शैलीका मुक्तकहरू, विभिन्न गीति लयसंरचनाका मुक्तकहरू बद्ध लयका मुक्तक हुन् भने लयगत÷छन्दगत निश्चित अनुशासनमा नबाँधिएका मुक्तकहरू वा गद्यकवितात्मक ढाँचाका मुक्तकहरू मुक्तलयका मुक्तक हुन् ।

(घ) उक्तिढाँचाका आधारमा
पाठकसमक्ष भावलाई उपस्थापित गर्ने कथनपद्धति नै उक्तिढाँचा हो । मुक्तककार स्वयम् वक्ता वा समाख्याता भएर ‘म÷हामी’का माध्यमबाट र ‘ऊ’ वा कुनै नामधारी सहभागिका माध्यमबाट भाव प्रस्तुत गर्ने कथनपद्धतिका आधारमा क्रमशः आन्तरिक दृष्टिकेन्द्रीय उक्तिढाँचा र बाह्य दृष्टिकेन्द्रीय उक्तिढाँचा गरी दुई किसिमका उक्तिढाँचाहरू हुन्छन् । प्रथमपुरुष दृष्टिबिन्दुमा लेखिएका मुक्तकमा आन्तरिक दृष्टिकेन्द्रीय ढाँचा र तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका मुक्तकमा बाह्य दृष्टिकेन्द्रीय ढाँचा हुन्छ ।

मुक्तक र मुक्तकीय संरचनाका अन्य कविता रूप
हिजोआज मुक्तकका नाममा लेखिने कतिपय रचनाहरू मुक्तकभन्दा इतर प्रकृतिका हुन्छन् । चार पङ्क्तिको सिङ्गो रचना हुनेबित्तिकै मुक्तक नामले प्रकाशित गर्ने परम्पराका कारण मुक्तक सृजनामा विचलन आएको देखिन्छ । माथि भनिएझैँ मुक्तकमा क्रमशः प्रत्येक पङ्क्तिले भावलाई उत्कर्षमा पु¥याएर पटाक्षेप गर्नुपर्छ । ‘मुक्तकको पहिलो पदले विषयवस्तुको उठान, दोस्रो पदले विषयवस्तुको व्याख्या (विकास ?), तेस्रो पदले चौथा पदले अभिव्यक्ति दिनुपूर्व कौतूहल उत्पन्न गराउँछ भने अन्तिम (चौथो) पदले लक्ष्यभेदन गर्दछ’ (घिमिरे, २०७० ः १३७) । यो स्थिति भएन भने चतुष्पदीय आयामिक संरचनाको हुँदैमा त्यो मुक्तक बन्दैन । मुक्तक नै नभए पनि मुक्तकजस्तै वा मुक्तकका समधर्मी र मुक्तकीय संरचनाका केही कवितारूपलाई मुक्तकका सापेक्षमा यसप्रकार देखाइन्छ ः
(क) मुक्तक र लोकरचना (सिलोक/झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा)
(ख) मुक्तक र सूक्ति तथा सुभाषित
(ग) मुक्तक र रुवाइ
(घ) मुक्तक र हाइकू तथा ताङ्का
(ङ) मुक्तक र अन्य कविता रूप (दोहा, गजलका सेर आदि) ।

(क) मुक्तक र लोकरचना (सिलोक/झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा)
कवितात्मक लोकरचनाका रूपमा रहेका सिलोक, झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा आदि लोकरचना–प्रकारहरू मुक्तक त होइनन् तर लोकसाहित्यिक सामग्रीमा मुक्तकीयता खोज्नुपर्दा यी लोकरचनाहरूमा प्राप्त गर्न सकिन्छ । अड्को थाप्ने र प्रश्नोत्तरात्मक किसिमको देखिने झ्याँगा सिलोककै एउटा स्वरूप भएकाले र चतुष्पदी समेत हुने भएकाले मुक्तक र सिलोक/झ्याँगाका बीच समता भेटिन्छ । चुट्का भजन, रोइलाजस्ता गीतका स्थायी पदमा मुक्तकीय तत्वको उपस्थिति देख्न सकिन्छ भने कतिपय दुईदेखि चार पङ्क्तिका उखान र गाउँखाने कथाहरूमा पनि केही रूपमा मुक्तकीय अभिलक्षण देखिन्छन् ।

(ख) मुक्तक र सूक्ति तथा सुभाषित
सूक्ति तथा सुभाषित पद्यहरू संस्कृत वाङ्मयमा प्रशस्त पाइन्छन् । खास गरेर वेद, पुराण र उपनिषद्हरू सूक्ति र सुभाषितहरूका दृष्टिले निकै समृद्ध छन् । यस्ता सूक्ति तथा सुभाषितहरू प्रायः नीतिचेतनासँग सम्बद्ध रूपमा देखिन्छन् । यस्ता सूक्ति तथा सुभाषितहरू एकपदी, द्विपदी र चतुष्पदी रूपमा देखिन्छन् र यी पूर्वापर प्रसङ्गनिरपेक्ष हुने भएकाले र स्वयम्मा अर्थपूर्ण समेत हुने भएकाले यी मुक्तकको निकट हुन्छन् । अधिकांश सूक्ति तथा सुभाषितहरू चतुष्पदी हुने भएकाले पनि मुक्तकसँग सूक्ति–सुभाषितहरूको निकटता देखिन्छ ।

(ग) मुक्तक र रुवाइ
रुवाइ अरबी–फारसी कविता रूप हो । ‘प्रत्येक रुवाइ चतुष्पदीय श्लोकसंरचनामा आबद्ध हुन्छन्, जसका पहिलो, दोस्रो र चौथो पङ्क्ति अन्त्यानुप्रासयुक्त हुन्छन् । यस अनुरूप यसको अन्त्यानुप्रासिक योजना बबदब हुन्छ । रुवाइको पहिलो तीन हरफहरूमा अलङ्कार (प्रायःउपमा) को प्रयोग गरिएको पाइन्छ तर यसको चरमोत्कर्ष र सम्पूर्ण भाव एकैचोटि अचानक चौथो हरफमा गएर खुल्छ’ (भुजेल, २०६९ ः ९३) र यसर्थ भावको क्रमशः उत्तरोत्तर उत्कर्ष र संरचना दुबै दृष्टिले रुवाइ र मुक्तकका बीच अत्यन्त निकट सम्बन्ध रहेको देखिन्छ र मुक्तक एवम् रुवाइका धेरै अभिलक्षणहरू मिल्छन् वा समान छन् । नेपालीमा लेखिएका पछिल्लो समयका धेरै मुक्तकहरू रुवाइकै संरचनात्मक ढाँचामा देखिन्छन् र अहिले यो ढाँचा लोकप्रिय समेत रहेको छ । यति हुँदाहुँदै पनि मुक्तक र रुवाइका बीचका विभेदक अभिलक्षणहरू यसप्रकार देखिन्छन्:
(१) मुक्तक संस्कृत साहित्यको कविता रूप हो भने रुवाइ अरबी फारसी कविता रूप हो ।
(२) मुक्तक र रुवाइ दुबै बद्धलयमा लेखिए पनि संस्कृत साहित्य शास्त्रीय छन्दका मुक्तकमा वर्ण र मात्राको समान वितरण पाइन्छ भने रुवाइको तेस्रो चरणमा प्रायः वर्ण र मात्राको समान वितरण पाइँदैन ।
(३) संस्कृत शास्त्रीय छन्दका मुक्तकमा १,२ र ३,४ वा चारै पाउको अन्त्यमा अन्त्यानुप्रास हुन्छ भने
रुवाइमा १,२ र ४ चरणमा अनुप्रास हुन्छ ।

(घ) मुक्तक र हाइकू तथा ताङ्का
अशंतः मुक्तकीय संरचना भएका र मुक्तकका निकट मानिने कविता प्रभेदमा हाइकू र ताङ्का पनि देखिन्छन् । हाइकू जापानी बद्धलयमा लेखिने त्रिपदी रचना हो भने ताङ्का चाँहि चीनबाट सुरु भएर जापानमा विकास र विस्तार भएको हाइकूजस्तै बद्धलयमा लेखिने पञ्चपदी रचना हो । हाइकू र ताङ्का दुबै कविताका लघुतम रूप भएकाले र चरणगत भावोत्कर्षका दृष्टिले मुक्तककै समधर्मी कविताका रूपमा देखिए पनि भावको उठानदेखि पटापेक्षसम्मको तीव्रता मुक्तकमा मात्र हुन्छ र हाइकू तथा ताङ्कामा त्यो तीव्रता न्यून हुन्छ । हाइकु ५+७+५ अक्षर गरी जम्मा १७ अक्षरको संरचनामा लेखिन्छ भने ताङ्का ५+७+५+७+७ अक्षर गरी जम्मा ३१ अक्षरको संरचनामा लेखिन्छ । यी पृथक् रूपका रचना भए पनि मुक्तकका निकटस्थ वा समधर्मी कविताप्रभेद मानिन्छन् र यी पनि कविताका लघुतम रूप नै हुन् ।

(ङ) मुक्तक र अन्य कविता रूप
मुक्तकसँग निकट देखिने अन्य कविता रूपमा मूलतः दोहा र गजलका द्विपदी सेरहरू बढी देखिन्छन् । दोहा पनि द्विपदी भएकाले यी दुवै रचनामा भावको उठान र बैठान मात्र हुन्छ र भावोत्कर्षका लागि आधार हुँदैन । त्यसैले अशंतः यी कविता मुक्तकीय स्वरूपका देखिए पनि मुक्तकसँग यिनको त्यति निकटस्थ सम्बन्ध देखिँदैन । सायरी पनि कविताको लघुतम प्रभेदका दृष्टिले मुक्तको केही निकटवर्ती देखिए पनि यो द्विपदी रचना हो र अर्थोत्कर्षको भने यसमा ख्याल गरिएको पाइन्छ । कविताको लघुतम रूपभित्र कुण्डली पनि पर्दछ । यो हिन्दीमा प्रचलित बद्धलयात्मक ढाँचाको षट्पदी रचना हो । यो मात्रिक छन्दमा लेखिन्छ र नेपालीमा यसको न्यून प्रयोग पाइन्छ । यी प्रभेदहरूका अतिरिक्त छोटाछोटा पाँचसात पङ्क्तिसम्मका गद्यकविता पनि कविताको लघुतम रूपभित्र पर्ने हुनाले मुक्तकका निकट देखिन्छन् । यस्ता छोटा गद्यकवितालाई नवमुक्तक पनि भनिएको पाइन्छ (त्रिपाठी, २०४६ ः४२) । यी कविता–रूपहरूका अतिरिक्त पछिल्लो समयमा नेपालीमा प्रचलित एक लाइन कविता, सूत्रकविता, टुक्रा, छेस्का, अणु, छर्रा आदि नाम दिएर कविता लेखेको देखिए पनि त्यस्ता लेखनको कुनै सैद्धान्तिक आधार र कविताको न्यूनतम आधारभूत तत्वको समेत उपस्थिति नदेखिने हुँदा ती प्रयोगका लागि मात्र गरिएका प्रयोगजस्ता देखिन्छन् ।
समग्रमा भन्नुपर्दा पूर्वीय संस्कृत साहित्यको मुक्तकसँग अरबी–फारसीको रुवाइ र अङ्ग्रेजीको क्वाट्रेनले जुन किसिमको अतिनिकटस्थ सम्बन्ध राख्छन् अन्य कवितात्मक प्रभेदहरूले कविताका लघुतम रूप भए पनि त्यति निकटस्थ सम्बन्ध राखेको पाइँदैन ।

मुक्तक र मुक्तककाव्य
मुक्तककाव्यले मुक्तकसामान्यलाई अभिव्यञ्जित गर्छ भने मुक्तकले यसको विशिष्टीकृत रूप वा मुक्तकविशेषलाई बुझाउँछ । पूर्वीय संस्कृत समीक्षाशास्त्रमा शतककाव्य, स्फुटकाव्य, ऋतुकाव्य र एकश्लोकी मुक्तदेखि पाँचश्लोकी कूलकसम्मका काव्यरूपहरूलाई मुक्तककाव्य भनिन्छ । शतककाव्य, स्फुटकाव्य र ऋतुकाव्य पनि आख्याननिरपेक्ष हुने भएकाले र तिनका प्रत्येक श्लोकहरू प्रायः पूर्वापर प्रसङ्गरहित हुने भएकाले तिनलाई मुक्तककाव्यका रूपमा मानिएको पाइन्छ । वर्तमान नेपाली साहित्यमा सूत्रकाव्य र सूत्रकविता कृतिहरू प्रकाशित भइसकेका र तिनलाई समेत पृथक्पृथक् मुक्तकसङ्ग्रहका रूपमा चर्चा भइरहेका सन्दर्भमा ती कृतिलाई मुक्तक÷मुक्तकसङ्ग्रहका रूपमा मान्नु युक्तिसङ्गत देखिँदैन र मुक्तककाव्यका रूपमा तिनलाई राख्नु बढी उपर्युक्त हुन्छ । वेदका ऋचा वा मन्त्रहरू, देवीदेवताका स्तुति वा स्तोत्रहरू, सुभाषित पद्य र सूक्तिहरू, समस्यापूर्तिहरू, द्विपदीदेखि सप्तपदीसम्मका मुक्तकीय संरचनाका÷ढाँचाका कवितात्मक प्रभेदहरू आदि सबै मुक्तककाव्यभित्रकै प्रभेदहरू हुन् । संस्कृत साहित्यमा मुक्तककाव्य र प्रबन्धकाव्य गरी दुई किसिमका काव्यभेद देखाइएको छ ।

आख्यानसापेक्ष खण्डकाव्य महाकाव्यलाई प्रबन्धकाव्य अन्तर्गत र आख्याननिरपेक्ष वा खण्डकाव्य महाकाव्यबाहेकका काव्यलाई मुक्तककाव्य अन्तर्गत राखिएकाले यी दुई प्रबन्धकाव्य रूपबाहेका सबै काव्य मुक्तककाव्य हुन् तर मुक्तक होइनन् । मुक्तककाव्यका धेरै प्रभेदहरू अन्तर्गत भने मुक्तक पनि पर्दछ । यसबाट मुक्तक र मुक्तककाव्य पृथक् कवितारूप हुन् भन्ने स्पष्ट हुन्छ । ‘यसर्थ मुक्तककाव्यभित्रका सम्पूर्ण लघु तथा लघुत्तम बनोटका रचना मुक्तक हुन सक्दैनन् । मुक्तक एक श्लोकी रचना हो । सामान्यतया एक श्लोक भन्नाले चार हरफ भन्ने बुझिन्छ’ (घिमिरे, २०७० ः१३३) तर मुक्तककाव्यको आयाम दुई श्लोकी युग्मकदेखि आकारप्रकारका दृष्टिले खण्डकाव्य समकक्षी कोषकाव्य/शतककाव्यसम्म तन्किन्छ । यसबाट पनि मुक्तक र मुक्तककाव्य पृथक्पृथक् आयामिक संरचनाका काव्यरूप हुन् भन्ने स्पष्ट हुन्छ ।

मुक्तकका अभिलक्षण
मुक्तकका सम्बन्धमा दिइएका उपर्युक्त परिभाषा, संरचना, तत्व, वर्गीकरण आदिका आधारमा मुक्तक के हो भन्ने कुरा स्पष्ट भइसकेको छ र नेपालीमा संस्कृतशास्त्रीय मुक्तक, रुवाइयत ढाँचाका आगन्तुक मुक्तक तथा मौलिक नेपाली लोकलयका र अन्य संरचनात्मक ढाँचाका मुक्तकहरू समेत प्रचलित छन् । मुक्तकका शास्त्रीय सैद्धान्तिक मान्यता र वर्तमानका मुक्तकका स्वरूपका आधारमा तिनका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः
(१) मुक्तक कविताको लघुतम रूप हो र यो स्वयम्मा पूर्ण सङ्कथन हो ।
(२) मुक्तकमा एउटै केन्द्रीय विचार, भाव र कथ्यको अभिव्यक्ति हुन्छ र यो पूर्वापर प्रसङ्गबाट निरपे्रक्ष हुन्छ ।
(३) यो सिद्धान्ततः चतुष्पदी आयामिक संरचनामा आबद्ध हुन्छ र मुक्त तथा बद्ध दुबै लयढाँचामा लेखिए पनि मूलतः यो बद्ध लयढाँचामा लेखिने भएकाले यसमा साङ्गीतिक गुणको विद्यमानता हुन्छ ।
(४) यो समतुकान्त र विषमतुकान्त दुबै किसिमले लेखिन्छ र चार समवृत्त पदमा संरचित हुनु यसको निजत्व पनि हो ।
(५) यसमा वृत्तात्मक किसिमको वर्तुलित विस्तार हुन्छ र भावको तीव्रता र एकोन्मुखता हुन्छ ।
(६) यसको पछिल्लो चरणले विषय वा भावको उठान, दोस्रो चरणले भावको विकास, तेस्रोले भावको उत्कर्ष र कुतूहलता एवम् चौथो चरणले रहस्यको पटापेक्ष गरी लक्ष्यभेदन गर्दछ, तसर्थ चौथो चरणलाई बीजवाक्य वा विचारवाक्य भनिन्छ ।
(७) यो मूलतः व्यङ्ग्यात्मक, व्यञ्जनात्मक, लाक्षणिक, उक्तिवैचित्र्ययुक्त, सघन, चमत्कारपूर्ण, प्रभावोत्पादक र तीव्र किसिमको हुन्छ ।
(८) यसको भाषा अत्यन्त खँदिलो हुन्छ र भावप्रक्षेपणमा तीव्रता हुन्छ आदि ।

निष्कर्ष
मुक्त शब्दमा कन् प्रत्यय लागेर बनेको मुक्तक शब्दले पारिभाषिक रूपमा कविताको लघुतम प्रभेदलाई बुझाउँछ । पूर्वीय संस्कृत साहित्यमा पूर्वापर निरपेक्ष स्वयम्मा पूर्ण एकश्लोकी रचनाका रूपमा परिचित मुक्तक अङ्ग्रेजी साहित्यको चतुष्पदी कविता क्वाट्रेनसँग तुलनीय छ र अरबी फारसी रुवाइसँग पनि यो निकट देखिन्छ । एकल आवृत्तिमै भावलाई सघनता, प्रभावोत्पादकता र चमत्कारिकताका साथ तीव्रतम रूपमा अभिव्यञ्जित गर्ने पूर्वापर सम्बन्धनिरपेक्ष, स्वयम्पूर्ण तथा प्रायः चतुष्पदी संरचनामा आबद्ध, कविताको लघुतम प्रभेदलाई मुक्तक भनिन्छ । यस्तो मुक्तक दुईदेखि सातचरणसम्म विस्तार भएको पाइए पनि सिद्धान्ततः यो चतुष्पदी रचना हो र यसको मानक रूप पनि चतुष्पदी हुनु नै हो । मुक्तक धेरै लघुसंरचक घटकहरूको योगबाट बनेको पूर्ण र स्वतन्त्र सङ्कथन हो । यो अन्तर्वस्तुका रूपमा आउने भाव÷विचार÷कथ्य÷अनुभूति, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, सहभागी, लय र भाषाशैलीय तत्वजस्ता संरचक घटकहरूबाट बनेको हुन्छ । यस्तो मुक्तकलाई स्रोत, अन्तर्वस्तु, लय र उक्तिढाँचाका आधारमा वर्गीकरण गर्न सकिन्छ । मुक्तक अतिसन्निकटस्थ रूपमा अङ्ग्रेजीको क्वाट्रेन र अरबीको रुवाइसँग तुलनीय छ भने केही छोटा लोकरचना, सूक्ति, सुभाषित श्लोक, हाइकू, ताङ्का, दोहा, छोटा गद्यकविता आदिसँग पनि अंशत तुलनीय देखिन्छ ।

यी लघुतम कवितारूप र कोशकाव्य शतककाव्यहरूलाई संस्कृत साहित्यमा मुक्तककाव्य भनिने हुनाले मुक्तककाव्य कविता–रूपहरूको समष्टि बोधक शब्द हो भने मुक्तकचाँहि त्यसभित्रको एउटा प्रभेद भएको हुनाले व्यष्टिरूप हो । पूर्वापर प्रसङ्गनिरपेक्षता, स्वयम्पूर्णता, चतुष्पदीयता, एकोन्मुखता, भावको तीव्रता, चरणहरूको उत्तरोत्तर उत्कर्षता, व्यञ्जनात्मकता, उक्तिवैचित्र्य, व्यङ्ग्यात्मकता, ध्वन्यात्मकता, सघनता, प्रभावोत्पादकता नै मुक्तकका प्रमुख अभिलक्षण हुन् । हिजोआज मुक्तकका नाममा र प्रयोगका नाममा मुक्तकको सामान्य सैद्धान्तिक अनुशासनसमेत अतिक्रमण गरेर लेखिएका छोटा रचनालाई मुक्तक भन्न सकिँदैन र मुक्तक अरुजस्तै स्वतन्त्र विधा हो भनेर यसको स्वायत्तता स्थापित गर्न खोज्नु पनि हास्यास्पद हुन आउँछ । कुनै पनि विधा÷उपविधाको रचना अतिप्रचलित र लोकप्रिय हुँदैमा स्वतन्त्र विधा हुँदैन । मूलतः सैद्धान्तिक रूपमा कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र मुक्तक कविता विधाको लघुतम रूप वा प्रभेद हो । छोटो आयाममा बृह्त भाव वा विचारको अभिव्यक्ति प्रस्तुत गर्ने भएकाले मुक्तक विस्तृत व्याख्याको अणुवत् झिल्को हो र गागरमा सागर अटाउने क्षमता मुक्तकमा हुन्छ र हुनुपर्छ । तीव्रता, कौतूहल, प्रभावोत्पादकता, चमत्कारिकता, वेधकता र रहस्यमूलकता नै मुक्तकको लोकप्रियताका आधार हुन् । वर्तमानको व्यस्त समयमा लामालामा खण्डकाव्य महाकाव्य पढ्ने धैर्यशील पठनसंस्कृति हराउँदै जान थालेका बेला चटनीको स्वाद दिने कवितारूप मुक्तकको महत्ता अझ बढ्दै जाने देखिन्छ ।

प्रमुख सन्दर्भ सामग्री
अज्ञात, कपिल, समालोचनाको सन्दर्भ, चितवन: चितवन साहित्य परिषद्, २०५४ ।
अधिकारी, हेमाङ्गराज र भट्टराई, बद्रीबिशाल, सम्पा., प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौँ: विद्यार्थी प्रकाशन, २०६१ ।
अब्राम्स, एम्.एच., अ ग्लोसरी अफ लिटेररी टम्र्स, पाँचौ संस्क, दिल्लीः प्रिज्म बुक्स, सन् १९९५ ।
अभिनव गुप्त, ध्वन्यालोक लोचनटीका, व्याख्या, सत्यव्रत सिंह, वाराणसीः चौखम्बा विद्या भवन, २०२१ ।
आनन्दवर्धन, ध्वन्यालोक, व्याख्या, आचार्य विश्वेश्वर, वाराणसीः ज्ञानमण्डल लि. २०२८ ।
आप्टे, वामन शिवराम, संस्कृत हिन्दी कोश,सातौँ संस्क., वाराणसीः नाग प्रकाशन, सन् १९९९ ।
ओस्बी, इयान, लिटरेचर इन इङ्गलिस, क्याम्ब्रिजः क्याम्ब्रिज युनिभर्सिटी, सन् १९९५ ।
कडन, जे.ए., सम्पा., डिक्सनरी अफ लिटरेरी टम्र्स एन्ड लिटरेरी थ्योरी, तेस्रो संस्क., लन्डनः पेङ्गुइन ग्रुप, सन् १९९२ ।
खनाल, शशिधर, मुक्तक परिचय एवम् नेपाली मुक्तक, शिवपुरी सन्देश, (९/२५, २०६०), पृ.२–५ ।
गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, दोस्रो संस्क., ललितपुर: साझा प्रकाशन, २०६८ ।
…………………….., समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौं: पैरवी प्रकाशन, २०६८ ।
…………………….., उत्तरवर्ती नेपाली समालोचना: केही प्रतिरुप, काठमाडौं, पैरवी प्रकाशन, २०६८ ।
…………………….., कविताको सैद्धान्तिक विमर्श, काठमाडौं, पाठ्यसामग्री प्रकाशन, २०६९ ।
घिमिरे, बादल, नेपाली मुक्तकमा मनपरी प्रयोग र प्रस्तुति, भानु (५०/१६७/२०७०), पृ. १३१–१३७ ।
……………..,सम्पा., समकालीन नेपाली मुक्तक, काठमाडौं डिकुरा पब्लिकेसन, २०६९ ।
चापागाईँ, नरेन्द्र, नेपाली मुक्तक कविता: संरचना, प्रवृत्ति र भावी दिशा, रत्न बृहत् समालोचना–प्रायोगिक खण्ड, सम्पा., राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम, काठमाडौं: रत्न पुस्तक भण्डार, २०६९ ।
जोशी, कुमारबहादुर, मुक्तक र समकालीन नेपाली मुक्तक, समकालीन नेपाली मुक्तक, बादल घिमिरे,सम्पा., काठमाडौ: डिकुरा पब्लिकेसन, २०६९, पृ.२९–३३ ।
दण्डी, काव्यादर्श, टीका., रामचन्द्र मिश्र, वाराणसी: चौखम्बा प्रकाशन, २०३३ ।
नेपाल, शैलेन्दुप्रकाश, मुक्तक नेपाली परिप्रेक्ष्यमा, समकालीन नेपाली मुक्तक, पूर्ववत् ।
पराजुली, कृष्णप्रसाद, मुक्तक, नेपाली साहित्यकोश, सम्पा., ईश्वर बराल र अन्य, काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।
पराजुली, मुरारि, समकालीन मुक्तकका प्रवृत्तिहरु, काठमाडौं: भुडीपुराण प्रकाशन, २०६९ ।
पौडेल, विष्णुप्रसाद, मुक्तक सिद्धान्त र पोखरेली मुक्तकका मूल प्रवृत्ति, पोखरा: सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, २०६८ ।
बाल्डिक, च्यारिस, कनसाइन डिक्सनरी अफ लिटेटरी टर्म्स, यु.के: अक्सफोर्ड युनिभर्सिटी प्रेस, सन् १९९५ ।
भण्डारी, मुक्तिप्रसाद, सम्पा. समकालीन स्याङ्जाली मुक्तक, स्याङ्जा गजल सङ्गम, २०७० ।
भामह, काव्यालङ्कार, भाष्य, देवेन्द्रनाथ शर्मा, पटना: विहार राष्ट्रभाषा परिषद्, २०१९ ।
भुजेल, धनेन्द्र, रुवाईका अन्तर्तलमा नेपाली मुक्तक, समकालीन नेपाली मुक्तक पूर्ववत् ।
मरफिन, रोज र रे सुप्रिआ, द बेडफोर्ड ग्लोसरी अफ ब्रिटिकल एन्ड लिटेररी टर्म्स, न्युयोर्क: म्याकमिलन प्रेस, सन् १९९८ ।
लुइटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान, २०६० ।
वामन, काव्याङ्लकार, सूत्रवृत्ति, व्याख्या, विश्वेश्वर, वाराणसी: चौखम्बा प्रकाशन, २०३३ ।
विश्वनाथ, साहित्यदर्पण, सम्पा., सत्यव्रत सिंह, वाराणसी: चौखम्बा विद्या भवन, २०२० ।
वेदव्यास, अग्निपुराणोक्तं अलङ्कारशास्त्रम्, टीका (?), मुम्बई: खेमराज श्रीकृष्ण दास, सन् १९३४ ।
शर्मा, गोविन्दप्रसाद, सम्पादकीय, प्रयोग, (२/२/६, २०५०) ।
शर्मा, मोहनराज, समकालीन नेपाली मुक्तक: पहिचानका केही बुँदाहरु, मधुपर्क, (१४÷६–७, २०३८) पृ. १६१–१६४ ।
……………….., समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान, २०५५ ।
शर्मा, सुकुम, मुक्तक: सामान्य टिपोट, समकालीन नेपाली मुक्तक पूर्ववत् ।
सिग्द्याल, सोमनाथ, साहित्यप्रदीप, विराटनगर: पुस्तक संसार, २०१६ ।
हेमचन्द्र, काव्यानुशासनम्, टीका, शिवदत्त शर्मा, मुम्बई: खेमराज श्रीकृष्ण दास, सन् १९३४ ।

(लामाे समयकाे अनुसन्धानबाट तयार गरिएकाे याे कार्यपत्रलाइ पहिलाेपटक साहित्यपाेस्टले सार्वजनिक गरेकाे हाे ।  कुनै पनि सञ्चारमाध्यमले लिखित अनुमति बिना यसलाइ साभार गर्ने, ताेडमाेड गर्ने वा अंश प्रकाशित गर्ने कार्यमा राेक लगाइएकाे छ ।)
