१. आरम्भ

भयवादको प्रारम्भिक धोषणा हङ्कङबाट टापु (सन् २००५, देश सुब्बाद्वारा सम्पादित) पत्रिकाका माध्यमबाट भएको थियो । वि.स. २०६५ साल साउन १८ गते भयवाद दर्शन राष्ट्रिय बहस धरानमा भई यहाँसम्म आइपुगेको छ । सम्भवतः नेपाल बाहिरको (प्रवेशाज्ञा चाहने) भूमिबाट नेपाली साहित्यमा घोषित पनि पहिलो नै वाद हो ।

२. परिचय

नेपाली बृहत् शब्दकोशले भय कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति, डर, त्रास र वाद- तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त, सार, कुरो  पत्ता लगाउनका निम्ति गरिने तर्क, विचार, बहस, भनि अर्थ लगाएको छ । त्यस्तै नेपाली शब्दसागरले भयलाई अनिष्ट–कल्पनाद्वारा उब्जने मन व्याकुल र चिन्तित तुल्याउने मानसिक स्थिति, डर, त्रास र वादलाई महान् दार्शनिक वा तत्त्वदर्शीहरूले कुनै खास कुराको पत्तो लगाउन गरिने तर्क वा विचार भनेको छ । त्यस्तै भर्तृहरिद्वारा लिखित वैराग्य शतकममा भयका सम्बन्धमा भनिएको छ-

भोगे रोगभयं कुले च्युतिभयं वित्ते नृपालाद्वयं

माने दैन्यभमं बले रिपुभयं रूपे जराया भयम्

शास्त्रे वादिभयं गुणे खलभयं काये कृतान्ताद्वयं

सर्वोवस्तु भयान्वितं भुवि नृणां वैराग्यमेवाभयम् ।

(भोग, मोज, मस्ती गर्नेलाई रोगव्याधिको भय हुन्छ । सामाजिक, पारिवारिक इज्जत प्रतिष्ठा भएको व्यक्ति त्यसबाट गिरिएला वा च्युत भइएला कि भनेर भयभीत हुन्छ । धनवान्हरू धन हडप्देला कि भनेर भयभीत हुन्छन् । सम्मानितहरूलाई अपमानको त्रास हुन्छ । बल अथवा शक्ति हुनेहरूलाई शत्रुको डर हुन्छ । सौन्दर्यमा बुढेसकालको त्रास हुन्छ । शास्त्री ज्ञानीहरूलाई प्रतिद्वन्दीको त्रास हुन्छ । सदाचारीहरूलाई बदनामको त्रास हुन्छ । शरीरलाई मृत्युभय रहन्छ ।)

भयवादको धारणा विकास हुन थालेको सात वर्ष भइसकेको छ । विश्वका दर्शन, साहित्यले सहस्राब्दी, दुईसहस्राब्दी मनाउँदै छन् धमाधम यसबेला । नेपाली साहित्य विचारले पनि शताब्दी मनाइसकेको घडीमा भयवाद निकै पछिबाट पहिला विचारमा अनि साहित्यमा आएको छ । हङ्कङ, काठमाडौँ, धरान, सुरुङ्गा, इलाममा छलफल हुँदै यहाँ (सिलिगुढी), छोटो अवधिमा राष्ट्रिय तथा अन्ताराष्ट्रिय बहस हुनुले विषयको सघनता जनाउँछ, गतिशीलता देखाउँछ । यो सकारात्मक पक्ष हो । यो सबैको जीवनमा सधैँ आइपर्ने स्थायी चेतना हो । जीवन यसैको चालमा चल्दछ । कतिपय अवस्थामा यसले सावधानी गराउँछ भने कतिपय अवस्थामा अगाडि बढ्नबाट रोक्दछ तर यसले हामीलाई सधैँ चनाखो र चलाख बनाउँछ । हामीलाई थाहा छ यो एक किसिमको अवरोधको रातो सङ्केत हो र प्रगतिको हरियो बत्ती पनि हो । यो नकारात्मक भयो भने निस्सार, अराजक, उच्छृङ्खल, अतिवादी, युद्ध बन्दछ । यस अर्थमा यो एउटा भयावह रोग हो । यस्तो रोग सबै मान्छेमा हुन्छ, प्राणीमा हुन्छ ।

दीपक सुवेदी

भय मानवीय अनुभव हो, यसले हामीलाई कुनैपनि भयको विरुद्धमा एकताको सूत्रमा आबद्ध हुन सिकाउँछ तर अर्कोतर्फ हेर्ने हो भने सुन्दर चेतना हो । सभ्य विकसित समाजको निर्माण । विपक्षीको कित्तामा सिर्जनात्मक भय उत्पन्न गरेर सौहार्दको निर्माण गर्नु पनि यसको उद्देश्य हो । सुन्दर चेतनाको कुरा हो भयवाद । यो चेतना ऊर्जाशील र प्रगतिशील हुन्छ ।

यसको आकाश फराकिलो छ । भयको रूप ज्यादै व्यापक छ । यतिको व्यापक शब्दको विस्तार अरू शब्दमा छैन । भय, भयकम्प, भयकारी, भयङ्कर, भयानक, भयकर, भयावह, भयजनक, भयदायी, भयजनित, भयकरता, भयजन्य, भयत्रस्त, भयत्राता, भयप्रद, भयभञ्जन, भयनाशक, भयभीत, भयभ्रष्ट, भयविह्वल, भयाकुल, भयाक्रान्त, भयातुर जस्ता तमाम शब्दहरू छन् ।

आर्थिक मन्दी, बेरोजगार, आतङ्ककारी हमला, हत्या, आतङक, युद्ध, पृथ्वीको बढ्दो तापक्रम, प्राकृतिक प्रकोप, वायु प्रदूषण, वनविनाश, भोक, अनिकाल, आणविक हतियार, रेडियो विकिरण, जीव, वनस्पतिको लोप, धार्मिकयुद्ध, जातीययुद्ध, बर्ड फ्लु, सार्स, एडस जस्ता तमाम कारणले विश्व भयमय बन्दैछ । संसार भयको महाप्रलयमा छ । संसार भौतिक सुखले आधुनिक होडबाजी र अस्त्र युद्धले पृथ्वीमात्र होइन ब्रह्रमाण्ड नै कब्जा गर्ने सुरमा छन् । यही भय अवस्थाबाट निकास दिने दर्शन विश्वलाई चाहिएको छ ।

दर्शनको ग्यापबाट उठाएको वाद ‘भयवाद’ । ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरू छाडिएका छन् । जीवनलाई हेर्ने नयाँ प्रआँखा । जीवनलाई त्यताबाट हेर्ने सिद्धान्त । भयवाद भन्दछ– जीवनदेखि मृत्युसम्म वा सम्भावित घटनादेखि घटनासम्म भयको परिभ्रमण हुन्छ । यसैमा मान्छे खेलिरहेको हुन्छ, हाँसिरहेको हुन्छ, बाँचिरहेको हुन्छ । यो प्रगतिशील चेतना हो । चेतनाको अवस्थालाई सामान्यतया तीन किसिममा विभाजन गरेको पाउँछौँ– जागृत, सुप्त, सुषुप्त । यी तीनै अवस्थामा चेतना फरक हुन्छ र भय पनि । चेतना सबै प्राणीसँग हुन्छ सम्बन्धित विषयको ज्ञान भएपछि भय हुन थाल्दछ । कसैलाई रोग लागेको थाहा नभइन्जेल भय हुँदैन । निरोगी मान्छेजस्तै खाने पिउने गर्छ । थाहा भएपछि उसलाई भय हुन थाल्दछ । सँगै बस्ने, खाने, मान्छेहरू पनि रोग सर्ने डरले परपर भाग्न थाल्दछन् । भयले सबैको गतिविधि, व्यवहार, क्रियाकलापमा प्रभाव पार्दछ । यस सिद्धान्तले यही कुरालाई व्याख्या गर्दछ । दर्शनभित्रबाट यही व्याख्यालाई छुटयाएर निकाल्दछ । जीवन भय निरपेक्ष छ । जीवनले नै जगत्को व्याख्या गर्दछ । यसबाट निस्किने मान्छे वा प्राणीको आ–आफ्नै नौला पथहरू हुन्छन् । यसैबाट निस्किने महापथमा हिँड्दैछौँ हामी यतिखेर ।

सबै चेतनशील मान्छेलाई समान किसिमको भय हुन्छ भन्ने हुँदैन । एउटै विषयमा कसैलाई बढी त कसैलाई कम हुन्छ जस्तै भूत । मान्छेमा फरक चेतना, फरक सहने क्षमता र त्यसलाई ग्रहण गर्ने फरक शैली हुन्छ । सबै मान्छेलाई भय त हुन्छ नै । कसैले नकार्न सक्दैन कि जीवन भयमय छैन तर यो भय, चेतना र सहनशीलतामा निर्भर रहन्छ । त्यस्तै जीवन, जगत्, मृत्यु, आफन्त, सम्पत्ति, स्वर्ग, नरक सबै थाहा नभएको भए मान्छेलाई भय हुँदैनथ्यो । चेतनाको विकाससँगै थाहा पाउँदै जान्छौँ र भयभीत हुँदै जाँदैछौँ ।

भयवादमा एउटा प्रचलित शब्द प्रयोग हुँदै आएको छ, त्यो हो–प्रकट । आदिमकालबाट प्रकटलाई साधारण रूपमा प्रयोग गरिँदै आइएको छ । समयको सूक्ष्म खण्डमा नयाँ नयाँ प्रकट भैरहेको हुन्छ वा प्रकट एउटा ग्याप हो, एउटा शून्यता हो । जीवन—चेतना—ज्ञान—भय—भयवाद यो यसरी सूत्रबद्ध छ । इनलाइटमेन्ट एउटा निस्किने बाटो हो । भयवादमा यो बलियो छ । किनभने जीवन र जगत् प्रकटको लामो शृङ्खला हो । भयको निरूपण, कम निर्भयको अभ्यास हो । हरेक समय र घटनामा मान्छेले भय महसुस गर्छ । पहिलो भय समाप्त भएपनि अर्को तत्काल देखा पर्छ । भयविहीनता आफैँ एउटा भय हो । भय नहुनु सृजनशीलताको समाप्ति हो ।

चेतनशील प्राणीले समयको सानो खण्डमा देखेर, सुनेर, बुझेर, सोचेर एउटा अवस्थाबाट अर्को अवस्थामा फड्को मार्छ । जीवनमा पाना पल्टाएकोजस्तो हुन्छ प्रकट । यस्ता प्रकट जीवनभरि नै भैरहेको हुन्छ तर कतिपय उल्लेखनीय हुन्छन्, कतिपय हुँदैनन् । मान्छेले ज्ञान प्राप्त गरेको प्रकट नै हो । त्यसैले भयवादमा यसको ठूलो महत्त्व छ ।

प्रकट एउटा पल्लव हो । खासगरी छेकिएको, जेलिएको, ढाकिएको दुर्गम ठाउँहरूबाट निस्किने । जीवनबारेमा धेरै दर्शनले बोलेर गएका छन्, बोल्दैछन् । धर्मशास्त्रले बोलेका छन् । त्यस्तै मानवशास्त्र, मनोविज्ञान, विज्ञानले बोलेको बोलेकै छन् । कसैले गहिरो प्रभाव छोडेका छन् त कसैले कम,कतिपय दीर्घकाल, कतिपय अल्पकाल तर यसमा ओज, तेज, कान्ति सबै छ । जीवनको सामीप्यमा छ । कतिले सहजै स्विकारिरहेका छन् । कतिले असजिलो तरिकाले । जीवनमा यो सर्वव्याप्त छ । यसलाई सम्हाल्न सके जीवन सहज बन्दछ ।

सजीव प्राणीलाई आन्तरिक र बाह्य चारैतिरबाट भयको मण्डलले घेरेको हुन्छ । यो यति सक्रिय र प्रभावकारी हुन्छ यसले जीवनलाई निर्देशन, नियन्त्रण गर्दै जान्छ । यसको प्रभावमा मान्छेको निर्णय प्रभावित हुन्छ—सानादेखि ठूलासम्म । एउटा सम्भावित घटना वा जीवन हुन्छ र मृत्यु । यसबिचमा सबैभन्दा ठूलो भूमिका भयको हुन्छ । घटना घटिसकेपछि एउटा भय समाप्त हुन्छ, अर्को भय तयार परेर बसिरहेको हुन्छ । त्यो पनि घटछ् र फेरि अर्को । भय मान्छेले मान्छेमाथि गरेको विभेद, अत्याचार दमन शोषणले गर्दा जन्म्यो । यसको कारक मान्छे हो । कारण ऊ उचाइ चाहन्छ । अरूभन्दा माथि र अरूलाई तल हेर्ने शासन चाहन्छ । यसको प्रतिवादमा आतङ्क जन्मिन्छ । यो भयको पराकाष्ठा हो ।

यो शक्तिशाली सकारात्मक शक्ति हो । यो प्रगतिशील, ऊर्जाशील, घनात्मक सुन्दर चेतना । यो हिजो थियो, आज छ, भोलि पनि हुनेछ । अहिले समानान्तरमा छ । हिजो भयको महत्त्व अन्तै थियो सिमान्तमा आदिमतामा । आज समानान्तरमा छ । यो सुकरात, प्लेटो, एरिसटोटल, कान्ट, निचे, सास्त्रे, माक्र्स, फ्रायड सबैबाट आएको छ । मनोविज्ञान, नृतत्त्वशास्त्र, इतिहास, दर्शन, धर्मशास्त्र सबैले बोलेको कुरा आएको छ यसमा । अहम्ता, इष्र्या, घृणा, क्रोध, षड्यन्त्र, लोभ, चिन्ता, हीनता, लाज, अस्तित्व , रूढिवादी, अन्धविश्वास, धर्म, रीतिरिवाज सबैमा छ । हिजो यी मानवीय गुणहरू स्थिर थिए, आज चलायमान, प्रगतिवान् र बलशाली भएका छन् । त्यसैले सुन्दर देखिएका छन् । रङ्ग बाहिरी कुरो भयो भने भय भित्री कुरो ।  यो एउटा मानवीय जीवनको सर्वव्यापी विचार हो । यसले सम्पूर्ण जीवको, वनस्पतिको र प्रकृतिको चाल हेर्दछ— एककोषीय जीवदेखि बहुकोषीय जीवसम्म, महाशक्ति राष्ट्रदेखि शक्तिहीन राष्ट्रसम्म । दृष्टिकोणहरूको अनकन्टार जङ्गलमा थपिएको एउटा सुन्दर प्रजाति । समयको बग्दो नदीमा विज्ञान, मनोविज्ञान, जीवन, समाज, दर्शन, साहित्यकलाले यसको पुष्टि गर्दै जानेछ । दर्शन, कला, साहित्य सबै पुष्टि हुँदै आएका छन्, पुष्टि हुँदै गएका छन् ।

यो विचार र चिन्तनको लामो महाख्यान जस्तो रेखालाई भत्काउँदै उदाएको एक लघु आख्यानजस्तै हो– ग्रान्ड न्यारेटिव् विरुद्धको मेटा न्यारोटिव् । समयले नवीवनता खोज्छ तर प्रमाणिकताको लागि समय लाग्छ, यो एउटा दर्शन हो । दर्शनले जीवनलाई डोऱ्याउँछ जबसम्म, तबसम्म डोरिने हो ।   भोलि भयवादको अन्त्य लेखनको इतिहासमा होला तर भयको अन्त्य हुँदैन । जसरी एउटा धरातलको उचाइ समान तहमा आएर अन्त्य हुनु भनेको अर्को धरातलको उचाइको आरम्भ हुनु हो । त्यसैगरी एउटा भयको अन्त्य नै अर्को भयको प्रारम्भ विन्दु हो । त्यसैले भयको रूपान्तरण हुन्छ तर अन्त्य भने हुँदैन ।

३. यसका प्रकार

३.१ लोकीय भय

मनिसहरूको ठूलो सङ्ख्या मृत्युपछि स्वर्ग जान पाऊँ नरकमा जान नपरोस् भनेर अनेकौ कामना गरिरहन्छन् । बाँचेका समयमा बाबुवाजेको मान मर्यादा जोगाइयो, राम्रो, अनुकरणीय कार्य गरियो भने स्वर्गको बाटो खुल्ला हुन्छ, नभए नरकको भन्ने विश्वासले गर्दा ऊ सधैँ माथि उल्लेखित कर्तव्य कथाका पात्र मुरलीधरले बोलेको वाक्यांश जस्तै बोल्ने र उनको जस्तै चरित्र भएका हुन खोजिरहेका पाइन्छ । सुख, शान्ति र समृद्धिको कामनासँगै लौकिक भए पनि आइरहेकै हुन्छ ।

३.२ परलोकगमन भय

यो जीवनको उत्तरार्ध रूप हो । अनायसै मृत्युको चिन्ताले मान्छेलाई खाइदिन्छ । मृत्युको कल्पनाले मात्र पनि कमजोर हृदय भएका मान्छेहरूको मुटु कमाइदिन्छ ।

३.३ सम्बन्ध भय

म र तिमी (तपाईँ)बिचमा जहिले पनि प्रेम र युद्ध हुन्छ । आफ्नोपनको मोहले मान्छेहरूमा भय भैरहेको हुन्छ ।

३.४ बोध–अबोध भय

मान्छेले गर्ने धेरैजसो काम भयको कारणले गरेको भनेर बोध गरेको हुँदैन, यो अज्ञात हुन्छ, उसको लागि । भय अवोधको कारणले कतिपय घटना, दुर्घटना भैरहेका हुन्छन् । मान्छेमा भयबोध भन्दा अबोध बढि हुन्छ । शङ्कामा भयबोधभन्दा अबोध बढी हुन्छ ।

३.५ जिजीविषा भय

जीवन र मृत्युबिचको अध्याँरालाई उज्यालो बनाउन मान्छे जीवनभर दुःख गर्छ । मान्छे उठेदेखि ननिदाउन्जेलसम्मका प्रत्येक पल भयभीत भएर बितेका हुन्छन् । मृत्युको स्वरूप र अस्तित्वको भयले जीवनलाई ढाकेका छन् । त्यसैले यसमा मान्छेको देह विनाशका विविध स्वरूप, उपायहीनता र निराशाताको भय रहेको हुन्छ ।

३.६ कृत्रिम भय

वास्तविक वस्तु, समस्यासित टाढा रहेर हुने भय कृतिम भय हो । रुढिवादी अन्धविश्वासले मान्छेलाई भयभीत बनाउँछन् । यो वास्तविकता हुँदैन । यसमा शङ्का र भ्रम आउँछ । डोरीलाई सर्प देख्नु भ्रम हो । त्यही डोरीलाई सर्प पो हो कि भनेर हेर्नु शङ्का हो ।

नेपाली भाषा साहित्यमा भयवादको सन्दर्भ उठाउँदा भाषा भनेको भयको टेक्ने आधार हो, भावको बाहना हो । भाषाभन्दा यसले बोकेको भय/विचार झन् विश्वव्यापी र चिरस्थायी हुन्छ तर भाषामा भय देखाउँदैमा भयवादी साहित्य हुने होइन त्यसमा शाश्वत भयलाई बोकेको हुनुपर्छ । शास्त्रीय नियममा बसेर लेख्दैमा त्यो भयवादी हुने होइन भय नै शास्त्रानुसारको हुनुपर्छ अथवा भय नै भयवादी हुन आवश्यक छ । तब शास्त्रानुसारको भयलाई बोक्न भाषा स्वयं आफैँ आउँछ तर भाषा शास्त्रीय हुँदैमा भय शाश्वत र शास्त्रीय हुन सक्दैन, भय भनेको साहित्यमा भएका अङ्क र तत्त्वको युग्मररूप हो । यो देशकालसापेक्ष हुने गर्छ ।

भयवाद नेपाली साहित्यमा प्रायोगिक, दार्शनिक र चिन्तनपरक एक वैयक्तिक वाद हो । मानव आत्मसन्तुष्टिका लागि कार्य गर्दछ । मानवको आत्म सङ्घर्षमय छ, मानव आत्म केन्द्रित भएकाले भयवादी साहित्यले भयमुक्त नवीन बाटाहरूको खोजी गर्छ । मानव जीवनलाई भय निरपेक्षतर्फ उन्मुख गर्नु, नवीन सभ्यताप्रति अग्रसर गराउनु भयवादी साहित्यको दायित्व हो । मानवको आत्म भयसापेक्ष रहेकाले  यसमा परिवर्तन आवश्यक छ । सम्पूर्ण मानव आत्म चिन्तनपरक हुन्छ यस अर्थमा भयमा जहिले पनि प्रत्येक उपलब्धि अर्को लक्ष्यरूप भयको प्रस्थानविन्दु हुन्छ । भविष्योन्मुख प्राणीको चेतना भय उन्मुख यात्रा हो । भयवादी चिन्तन प्रयोगात्मक र उद्देश्यमूलक लेखन भएकाले यसका यी मान्यता र प्रवृत्तिहरू छन्

४. मान्यताहरू

(क) भयवाद आवश्यकता अनुसार सामुहिक कार्यको महत्त्व स्वीकार गर्दछ, तर  व्यक्तिगत   चिन्तन र सृजनात्मक कार्यमा सहमति स्वीकार गर्दैन ।

(ख) भयवाद हरेक स्थानमा भय निरपेक्षतामा विश्वास राख्छ ।

(ग) नव निर्माणको आग्रहमा संस्कार, संस्कृति, विम्ब र प्रतीक, अमूर्त सञ्चेतनालाई भयवादले त्याग्न सक्दैन, आधारभूमि मान्दछ ।

(घ) प्रकृति र नैसर्गिक चेतनामा विश्वास राख्दछ ।

(ङ) जीवन, जगत् र सिर्जनालाई सत्य मान्दछ ।

(च) सिर्जनाद्वारा मानव आत्मालाई जगाउनुमा विश्वास गर्छ ।

(छ) सिर्जनाको क्षेत्रमा भावनाको भन्दा बुद्घि र तर्कलाई मान्छ ।

(ज) आत्मवादी दर्शनमा व्याप्त रहन्छ ।

(झ) ग्रामीण वातावरण र जीवनप्रति विशेष रूचि राख्दछ ।

(ञ) क्षणिकभन्दा स्थायी पक्षको बढी चित्रण गर्दछ ।

(ट) साहित्यमा स्थान, काल र कार्यको त्रयन्वितिमा विश्वास राख्दछ ।

(ठ) विशिष्टीकरणभन्दा सामान्यीकरणलाई जोड दिन्छ ।

(ड) यथार्थवादी लेखनमा विश्वास राख्छ ।

(ढ) सिर्जनामा विचार र कलाको सन्तुलन खोज्छ ।

(ण) सोच र खोज नै महत्त्वपूर्ण मान्दछ ।

५. प्रवृत्तिहरू

(क) लेखन र पठनमा अग्रसर हुन आग्रह

(ख) भयको विरोध

(ग) आशावादी स्वर

(घ) भयबाट मुक्तिको प्रयत्न

(ङ) विकृति र विसङ्गतिको विरोध

(च) नयाँ विचारको स्वीकार

(छ) ‘सत्यं शिवं सुन्दरम्’मा विश्वास

(ज) मौलिकताको खोजी

६. साहित्यमा प्रयोग

त्रास मानवको ठूलो शत्रु हो । त्रास र शङ्का भयका आधार पनि हुन् । यसमा मृत्युभय, एकान्तिकता र विसङ्गति हुन्छ । जसरी सूर्य आकाशमा लुकेर बस्न सक्दैन, त्यसरी नै चेतनशीलहरूमा भय लुकेर रहन सक्दैन । केहीको माध्यमबाट देखापर्दछ । यसमा सहनशीलताको ठूलो महत्त्व हुन्छ । यिनीहरूलाई लेखकहरूले आफ्ना पात्रमा लोकीय, परलोकगमन, सम्बन्ध, कृत्रिम, बोध–अबोध भय आदिका रूपमा प्रकट गरेकाछन् । अझ विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मौनाली, गोविन्द गोठाले, रोशन थापा ‘नीरव’, कुमार नगरकोटी, महेशविक्रम शाह आदिका लेखनसाथै द्वन्द्वका समयमा लेखिएका द्वन्द्व साहित्यमा यस प्रकारको लेखनको प्रचुरता पाइन्छ ।

७. वर्तमान अवस्था

भयवादसँग सम्बन्धित हालसम्म देश सुब्बाको आदिवासी (२०६४), प्रकाश थाम्सुहाङ्को वैचारिक चिन्तन (२०६६), दीपक सुवेदीको भयवाद चिन्तन र विमर्श (२०६७) पुस्तआकार रूपमा प्रकाशित र सञ्चालित छ भने  कृति तथा अन्य पत्रपत्रिका र पुस्तकहरूमा डा.गोविन्द भट्टराईका नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा, महाख्यानिक, केन्द्र भत्काएर भयवादले किनारिएकाहरूको नयाँ केन्द्र स्थापना गर्छ र देशमा नयाँ साहित्य सिद्धान्तमाथिको विमर्श, मुनाराज शेर्माको भयवाद एक चर्चा, कृष्ण बरालको आदिवासी उत्खनन लेखनमा भयवादको प्रयोग, मनु मञ्जिलको बनफूल र उसको हराएको थुँगा, डा. खेम दाहालको आदिवासी उपन्यास सङ्क्षिप्त विमर्श, अर्जुनबाबु माबुहाङको लिम्बूवानको भय, शिव रेग्मी प्रणतको भयालोचना- भयवाद र आदिवासी, ज्योति जङ्गलको भयमा आदिवासी, डा. टङ्क न्यौपानेको भयवादी आदिवासी एक अनुचर्चा, डा. सञ्जीव उप्रेतीको भयवाद जीवन र जगत्लाई हेर्ने नवीन चस्मा हो, शरण राईको भयवाद- वैचारिक चिन्तन–एक चर्चा, रमेश घिमिरेको रस- एक समीक्षा, राम्जी तिम्सिनाको अस्तित्व सङ्कट र आशाबिच भयवाद, चन्द्रमणि अधिकारीको आदिवासी- देश सुब्बा र भयवाद, टङ्क बेनमको भयवादको रङमा रङ्गिएको आदिवासी, बैजयन्ती मिश्रको चिन्तन र त्रासबिच भयवाद, आशोक राईको भयवाद आदिवासी उपन्यास एक समीक्षा, डा. हरि शर्माको भयवादी आदिवासी- एक टिप्पणी, देश सुब्बाको हेत्छाकुप्पा नाटकमा भयवाद, चेवन श्री १११ राईको भय भय भय, राजकुमार दिक्पालको पहिले अन्तर्मुखी जीवन, प्रदीप मेन्याङ्वोको देशको भय, रमेश पौडेल भावकको देश सुब्बा- आदिवासी र भयवाद, कृष्ण अधिकारीको वादैवादमा भयवाद, एकु घिमिरेको साहित्यमा कान्छो वाद भयवाद, रोहित खतिवडाको ठिमाहा सन्तानजस्तो भयवाद, प्रकाश थाम्मसुहाङको भयवादको कुरा, किशोर नेपालको भयको घेरामा लोकतन्त्र, दीपक सुवेदीका भयवाद- चेतना, भय र जीवन, भय रूपान्तरण हुन्छ, अन्त्य हुँदैन, भयवाद- नेपाली कथा र प्रयोग, भयवादको प्रायोगिक पहिलो औपन्यासिक कृति अदिवासी र ओमप्रकाश गौतमको वर्तमान विश्व भयवाद चिन्तन र विमर्शमा रुझेको बेला लेखहरू प्रकाशित (मैले प्राप्त गरेका मात्र) छन् ।

८.  कमजोरीहरू

(क) आन्तरिक विरोधाभासहरू रहनु ।

(ख) सैद्घान्तिक स्थिरता आइनसक्नु ।

(ग) भयलाई आधार बनाएर हरेक क्षेत्रमा यसको आफ्नै परिचय स्थापना गर्न बाँकी रहनु ।

(घ) नेपाली बाहेक अन्य भाषामा सामग्रीहरूको अभाव रहनु ।

(ङ) पर्याप्त मात्रमा सामग्रीहरू नहुनु ।

९. निष्कर्ष

भय जीवन र जगत्मा व्याप्त छ । यसको उद्गम विन्दु चेतना हो । चेतनाले जीवनलाई देख्छ र जीवनले संसार देख्छ । जीवनले देखेको संसारको अस्तित्व हुन्छ । जीवनले नदेखेका वस्तुको अस्तित्व हुँदैन । चेतनाले जीवनलाई जसरी हेर्न खोज्छ, त्यस्तै देख्छ, त्यस्तै जीवनले संसारलाई जसरी हेर्न खोज्छ, संसार त्यस्तै देख्छ ।

भयवादलाई साहित्य, कला, सङ्गीतमा प्रयोग गर्नुपर्दछ किनभने साहित्य, कला र सङ्गीतमा भयवादको प्रवेशले मान्छेलाई बुझ्न सजिलो बनाइदिन्छ । मान्छेले साहित्य, कला र सङ्गीतमा भएको भयवाद बुझ्न सक्छन् । अन्ततोगत्वा जीवन सहज हुन सक्दछ । जति विचारले संसार हेरिँदै आएको छ, ती विचारहरूले जीवनलाई कठिन बनाइदिएका छन् । आध्यात्मिक, भौतिक, अस्तित्ववाद सबैले जीवनलाई सहज बनाउने नाममा असहज बनाइदिएका छन् । फेरि यी वादहरू बाह्य तत्त्वहरूसित युद्ध गरिरहेका छन् । जीवन सहजताको निमित्त बाह्य होइन आन्तरिक वस्तुहरूसित युद्ध गर्नुपर्दछ । यसको अर्थ चेतनालाई नै धारिलो बनाउनुपर्दछ जसले गर्दा मान्छेको भय कम हुन सकोस् । भयवाद आफैमा आन्तरिक युद्ध हो, आन्तरिक युद्धबाट विजय भएपछि मात्र बाह्य विजय हुन सक्दछ । आन्तरिक युद्धबाट विजय भएपछि जीवन सहजतातर्फ उन्मुख हुन्छ ।

नेपाली साहित्यमा मोतीमण्डलीदेखि हालसम्म भएका र आएका आन्दोलन, अभियान, काण्ड, पर्व, वाद आदि अनेक लेखनका मान्यता, धारणा र कार्यले नेपाली भाषा साहित्यमा महत्त्वपूर्ण स्थान राख्दै आएका छन् । यसको पनि मूल्याङ्कन होला तर कतिपय त हराए बाटामै बाटो नभेटेर । कति बिलाए माटामै माटो नचिनेर । साहित्य, कला, सङ्गीतमा जसरी मार्क्सवाद, अस्तित्ववाद, अध्यात्मवाद, विनिर्माणवाद आए त्यसरी नै भयवाद आउनुपर्दछ बिलाउनु, बिराउनुहुँदैन ।