हाम्रो नेपाली/गोर्खाली समाजमा शिक्षाको प्रचार भएको सरदर दुई पुस्ता बित्दै छ। कतिको तीन पुस्ता चल्दै छ भने धेरैजसोको पहिलो पुस्ताका शिक्षितहरू अहिले विद्यार्थीका रूपमा अध्ययनरत छन्। यद्यपि यहाँ एउटा परिवारको चर्चा गर्न खोज्दैछु जो चार पुस्तादेखि सिक्षित रही शिक्षा, साहित्य संस्कृति, समाज, पत्रकारिता आदिमा विशिष्ट योगदान रहिआएको छ। त्यो गौरवशाली पौड्याल परिवार शिक्षाको आलोक पाएर सुसंस्कृत, अध्ययनशील, सिर्जनशील, लगनशील भएर समाजका निम्ति उदाहरण बनेको छ। यस खानदानका चारपुस्ताले नेपाली साहित्यमा पनि केही उल्लेखयोग्य काम गरेर नाम कमाएका छन्।
नेपाली संस्कृति, पौराणिक र समाज अध्ययन- अध्यापनमा समर्पित डा वीणा पौड्याल हाम्री गौरव हुन्। उनको जन्म ललितपुरको कोपूण्डोल मा वि. सं २०१३ मा भएको हो। उनका बुबा रामराज पौड्याल र आमा मेधादेवी पौड्याल हुन्। उनको तीन पुस्ता अघिका बुढाहजुरबुबा चिरञ्जीवि पौड्याल (१९२४-१९९७) एक नेपाली साहित्यको प्रारम्भिक चरणका ठुला लेखक थिए। उनका ‘सुखार्णव’ गद्याख्यान (उपन्यास भन्न सकिन्छ),‘आफ्नु कथा’ निबन्धको पुस्तक तथा पद्यमा रचिएको यात्रावर्णन ‘चन्द्र शमशेरको युरोपयात्रा’ जस्ता ग्रन्थ प्रकाशित छन्। चिरञ्जिवीका छोरा प्रेमराज शर्मा (विसं. १९६०-२०२८) पनि एकजना सरकरी प्शासकका साथै कुशल कवि, नाटककार र निबन्धकार थिए। उनको ससु
राली (वि.सं.१९९४) नाटक प्रसिद्ध थियो। समाज सुधारको चेतनामूलक सन्देश भएको यस नाटकले तत्कालीन नेपाली साहित्यमा नाम कमाएको थियो। यता भारतको बाह्रौं श्रेणीको नेपाली पाठ्यक्रममा पनि ससुराली नाटकले स्थान पाएको थियो। यसै गरि उनको रामायण पनि वि. सं. १९८२ मा पहिलोचोटि प्रकाशित भएको थियो। नेपाली समालोचना साहित्यमा प्रेमराज पौड्यालको यो रामायणको उत्ति चर्चा गरिएको पाइन्न। जम्मा ३१९ पृष्ठ भएको सातै काण्डको पद्यानुवाद रहेको थाह लागेको छ। यसको प्रस्तावना लेखन भने डिल्लीराम तिम्सिनाको रहेको पाइन्छ। यस रामायणमा मूल कथावस्तुलाई कविले स्वतञ्त्रसँग अनुष्टुप छन्दमा रचेका छन्। तपसवीक अनुभव
प्रेमराज पौड्यालकी सहधर्मिनी (खङ्गकुमारी) पनि कवयित्री थिइन्। उनका मालिनी छन्दको ऋष्याश्रम काव्य र वियोगिनी छन्दको तारामिलाप काव्य पनि उल्लेखयोग्य छन् भन्ने जानकारी डिल्लीराम तिम्सिनाको उक्त प्रस्तावनामा उल्लेख पाइन्छ। उनै प्रेमराजका सुपुत्र रामराज पौड्याल (वि. सं. १९७८-२०४४) पनि एक कुशल प्रशासक र लेखक थिए। उनका पनि प्रशासनिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, साहित्यिक विषयका जम्मा तेह्रवटा पुस्तक प्रकाशित देखिन्छन्। संयोगको कुरा के पर्यो भने डा. वीणा पौड्यालका यी तीनैजना बुबाहरू गोरखापत्रका सम्पादक रहेका थिए। त्यसकारण यी माथिका तीनैजनाको नेपाली साहित्य र पत्रकारिताको इतिहासमा उल्लेखयोग्य स्थान सुरक्षित रहेको छ।
आफ्नो पारिवारिक पृष्ठभूमि र परम्परालाई अघि बढाउने क्रममा वीणा पौड्याल पनि प्राज्ञिक क्षेत्रमा समर्पित देखिन्छिन्। उनी ४१/४२ वर्ष देखि नै प्राध्यापन, लेखन र अन्य प्राज्ञिक सेवामा आवद्ध छिन्। उनले वि. सं. २०३५ देखि नै कलेजतिर पढाउन थालेकी हुन्। प्रारम्भमा पाटन संयुक्त क्याम्पसमा संस्कृति विभागमा पढाउँदै कालान्तरमा उत्तरोत्तर प्रगति गर्दै त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागबाट प्रोफेसर भएर सेवानिवृत्त भएकी हुन्। उनको जीवनको अधिकांश भाग नै नेपाली इतिहास, संस्कृति र पुरातत्व (Culture) विषयको अध्ययन-अध्यापन, अनुसन्धान, लेखन र प्रवचनमा संलग्न छन्। उनले सन् १९७० मा एस एल सि, सन् १९७२ मा आइ. ए. र १९७५ मा बि ए. १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा स्नातकोत्तर हासिल गरेकी हुन्। उनले वि. सं. २०४९ मा बनारस हिन्दू विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेकी हुन्। उनले धेरैजनाको शोधनिर्देशन, शोधप्रबन्ध समितिकी विज्ञ सदस्य, विभागीय प्रमुख आदि प्राज्ञिक कार्य सम्पन्न गरेकी हुन्।
उनी आफ्नो प्राज्ञिक क्षेत्रलाई अघि बढाउँदै नेपाली संस्कृति, समाज र पौराणिक गहन अध्ययनलाई पुस्तकका रूपमा उतारेकी छन्। यस क्षेत्रमा आजसम्म उनका पन्ध्रवटा पुस्तक प्रकाशित भइसकेका छन् । उनका प्रकाशित पुस्तकहरू निम्न प्रकार छन्-
१. Hindu Death Rites, (2000),
२. नेपाली मूर्तिकला र चित्रकला (२००१),
३. सर्वेंश्वर महादेव, २००४,
४. काठमाण्डौ उपत्यकाका विष्णु वैभव मूर्तिहरु, (२००५),
५) काठमाण्डौ उपत्यकाको उमामहेश्वर र भैरव मूर्तिहरु (२००४),
६) विविध आयाममा नेपाली महिला, (२०१०),
७. वेद पुराणका केही रत्नहरु (२००६), (दोस्रो संस्करण, २००९),
८. वेद पुराणका केही रत्नहरु – दोस्रो भाग, (२०१०),
९. वेद पुराणका केही रत्नहरु – तेस्रो भाग, (२०१४),
१०. वेद पुराणका केही रत्नहरु (चौथो भाग, २०२०),
११. वेद पुराणका केही रत्नहरु (पाँचौ भाग , २०२१,
१२. वेद पुराणका केही रत्नहरु – छैठौं भाग, (पाण्डुलिपि),
१३. चाडपर्वको घर नेपाल, (वि. स. २०७४),
१४) जात्रै जात्राको काठमाण्डू उपत्यका,
१५. नेपाल मण्डलका सूर्य चन्द्र र नवग्रहका मूर्तिहरु, (२०२१),
१६. राष्ट्रिय संग्रहालयका मूर्तिहरु,
१७) अमेरिका, अमेरिका र अमेरिका, (प्रकाशोन्मुख)
यसरी हेर्दा उनका वेद पुराणका केही रत्नहरूको एकदेखि छैटौं भागसम्म एउटै पुस्तकको शृङ्खला प्रकाशित देखिन्छ। यसरी हेर्दा उनले नेपाली धार्मिक परम्परा, देवीदेवता, संस्कृति, इतिहास, सभ्यता आदिको बारेमा आधिकारिक ग्रन्थ प्रकाशित गरेको देखिन्छ। यीबाहेक उनका धेरै अध्ययन-पत्रहरू मधुपर्क, गरिमा, समकालीन साहित्य, भृकुटीलगयत उच्चस्तरीय पत्रिका जर्नल आदितिर प्रकाशित भएको देखिन्छ। यसका साथै उनले Nepalese Culture, (Ref. Journal) Culture and Preservation (Journal of CUTSON) आदि जस्ता प्राज्ञिक जर्नलमा सम्पादक पनि रहेकी छन्। यबाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय संगोष्ठीमा पत्र प्रस्तोता, विषयविज्ञ र अध्यक्षता गरेकी छन्।
उनको चालिस वर्षको दीर्घ सेवाको कदर गर्दै विभिन्न निकायहरूले उनलाई सम्मानित-पुरस्कृत पनि भएकी छन्। हालसम्म उनले पाएका यस्ता केही पुरस्कारहरू हुन्-
१) महेन्द्र विद्याभूषण ‘क’ श्रेणी,
२. त्रिवि शिक्षा पुरस्कार (२०६४),
३. धनबज्र बिद्वत वृति (२०५८)
४. साकाइ लायन्स क्लब, जापान तथा इमानिसी मेमोरियल फेलोसिप ट्रस्टद्वारा पुरस्कार (२०६४)।
यसै गरी उनले पाएका केही सम्मानहरू-
१. महेन्द्र नमूना उ. मा. वि प्यूठानद्वारा सम्मान (२०६४),
२) मन्जाग सेवा समाज सम्मान, २०६५,
३) मैंया बासु स्मृति पुरस्कार, पन्त प्रतिष्ठान, (२०६६).
४) राष्ट्रीय प्रतिभा पुरस्कार, नेपाल सरकार (२०६६/२०६७),
५. जोशी रिसर्च सेन्टरद्वारा सम्मान (२०६८),
६) नयराज पन्त शोध सम्मान, २०६८,
७) योगी नरहरीनाथ ट्रस्ट आध्यात्मिक परिषदद्वारा सम्मान (२०६९),
८) शत्रुघ्न बहादुर तथा खडगकुमारी भट्टराईद्वारा सम्मान (२०६९),
९. नेपाल आँखा बैंक, तिलगंगा आँखा प्रतिष्ठान, प्रशंसा पत्र (२०६९),
१०. नई चन्द्र-धेनु पुरस्कार (२०७१),
११. नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा संस्कृति प्रज्ञा पुरस्कार (२०७४),
१२. काठमाडौं वडा न १६ बाट सम्मान (२०७५),
१३. भक्ति नमूना उच्च मा. वि. भोटेबडार, लमजुंगद्वारा सम्मान (२०६७),
१४) सृजना कलेज अफ फ़ाइन आर्ट्सद्वारा सम्मान (२०७७),
१५. चेतना संरक्षण प्रतिष्ठान नेपाल, बिराटनगरबाट सम्मान (२०७७),
१६. त्रि-मूर्ति निकेतनद्वारा श्री सत्यमोहन जोशी पदक (२०७७),
१७. श्री लुनाकरणदास गंगादेवी चौधरी साहित्य-कला मन्दिरद्वारा ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’, (२०७८) आदि हुन् ।
उनको संस्कृति तक्षेत्रमा रहेको योगदानमाथि ज्ञानगुनका कुरा भन्ने पत्रिकाले आफ्नो १५५ औं अङ्कलाई डा वीणा पौड्याल अङ्कका रूपमा पनि प्रकाशित गरेको छ। त्यसमा उनको योगदान, व्यक्तित्व र कृतित्वबारे विभिन्न समीक्षकहरूले मूल्याङ्कन गरेका छन्।
आफ्नो विषय क्षेत्रको काम र व्यक्तिगत स्वदेश र विदेश भ्रमणका क्रममा उनी नेपालका विभिन्न जिल्ला, भारत, तिब्बत, पाकिस्तान, श्रीलंका, मलेशिया, थाइलैंड, जर्मनी, स्वीजरल्याण, फ़्रान्स, अस्ट्रिया, लिस्टेटटाइन, यूनाइटेड अरब इमिरेट्स, अज़रबैजान, इस्तानबूल, अमेरिका र क्यानाडा पुगेकी छन्।
नेपाली साहित्य र संस्कृतिमा समर्पित डा वीणा पौड्यालको हाम्रो समाजकी अनुकरणीय उदाहरण हुन्, विद्वताको मूर्ति औ हुन् सरस्वतीकी वरद्पुत्री। उनको परिवार पनि समृद्ध, सुखी र गरिमामयी छ। उनका पति श्रीमान् विनोद प्रसाद घिमिरे पनि एक नेपालका एक वरिष्ठ उच्च पदस्थ अधिकारी रहिसकेका हुन्। छोरी वर्षा घिमिरे अमेरिकामा कार्यरत् छिन् भने छोरो विशाल काठमाडौंमा नै आइ टि क्षेत्रमा कार्यरत छन्। हालमा उनी छोराछोरी नातिनातिना आदि सबैबाट समृद्ध भएर रहेकी छन्। हालसम्म पनि उनले रेडियो नेपाल, विभिन्न एफ. एम. स्टेशन र टीभी च्यानलबाट नेपाली महिला, विविध चाडपर्व र धर्म दर्शनको विविध पक्षमा ३७५ भन्दा बढी रेडियो र टीभी अन्तर्वार्ता प्रसारित गरेर आफ्नो अध्ययन चिन्तन र विचारलाई अघि सारेकी छन्।
यसरी हेर्दा डा. वीणा पौड्यालले आफ्नो पारिवारिक सेवा परम्परालाई अघि बढाएर लगेकी छन्। उनी आफ्नो जीवनकालको ठुलो भाग नेपाली सभ्यता, धर्म, संस्कृति साहित्य आदिलाई प्राज्ञिक प्रगतिको उँचाइमा पुर्याउन विशिष्ट योगदान दिएकी छन्। उनी हाम्रो समाजको अनुकरणी उदाहरण हुन्, गौरव र गर्व हुन्। हाम्री प्राज्ञिक निधि हुन्। उनलाई विश्वका सबै गोर्खाली/नेपालीहरूकोतर्फबाट उत्कृष्ठ कामका निम्ति सह्राहना छ। उनको आगामी जीवन पनि पनि उस्तै सिर्जनात्मक, अध्ययन, अनुसन्धानमा बितोस् भन् सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।