नेपाली साहित्य क्षेत्रमा थोरै बाँचेर धेरै उपलब्धि हासिल गर्ने थोरै प्रतिभाशाली व्यक्तिमा मोतीराम भट्टको नाम लिनुपर्छ । उनी फुल्दो गुलाब थिए, बाँचुञ्जेल मन्त्रमुग्ध पारे, छिट्टै नै ओइलाएर झर्न पुगे । आज नेपाली साहित्यका विविध विधाको इतिहास कोट्याउनु पर्दा मोतीराम भट्टको नाम अग्रपङ्क्तिमा नै आउने गर्दछ  । यसर्थ, उनी नेपाली साहित्यका निम्ति जाज्वल्य घाम हुन्, जसको आभास टड्कारो रूपमा रहेको छ ।

युवाकवि मोतीराम भट्टको जन्म वि. सं. १९२३ को भाद्र १३ गतेका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो उनको बाबुको नाम दयाराम भट्ट एवं आमाको नाम रिपुमर्दिनी भट्ट थियो । बाबु दयाराम भट्ट शिक्षाप्रेमी थिए । उनले ६ वर्ष उमेरका मोतीरामलाई विद्याआर्जनका निम्ति ‘काशी’ नगरी लगेका थिए ।

तिनताक काशीनगरी विद्या-अध्ययनको सर्वोत्तम केन्द्र थियो । काशी गएर मोतीरामले संस्कृत, फारसी, अङ्ग्रेजी भाषा समानुपातिक रूपमा सिकेका थिए । पछिबाट यी भाषाहरूको प्रयोग नेपाली भाषाको उन्नतिका निम्ति सदुपयोग गरे । विसं. १९३७ मा काठमाडौँ फर्के । यसै सालतिर उनको विवाह सम्पन्न भएको देखिन्छ । विसं. १९३८ मा कलकत्ता गएर म्याट्रिक पास गरे । त्यसपछि फेरि काशी गए ।

भानुभक्तको प्रतिभा पृष्ठभूमि र प्रस्फुटन बाबु भारतेन्दु हरिश्चन्द्र र उनको संसर्ग कारण बनेको थियो । बनारस गएर बाबु भारतेन्दु हरिश्चन्द्रको साहित्यिक सिर्जनात्मक संसर्ग प्राप्त गर्छन् । बाबुजीको संसर्ग एवं प्रेरणाले मोतीको सिर्जनाको मूल भुलभुलाउँछ ।

माेतीराम भट्ट

माेतीराम भट्ट

भनिन्छ, बाबुजीको स्नेह सम्पर्क, आफ्नो प्रतिभा, अध्ययन र भाषाज्ञानका प्रेरणाले फारसी भाषामा ६ हजार श्लोक जति शायरी र गजल लेखेथे ‘रे । तर ती सबै अप्राप्य छन् । एकपटक बाबु हरिश्चन्द्रले मोतीराम भट्टको उर्दू गजल सुनेर त्यसबाट प्रशंसा गरे दस रुपियाँ बक्सिस दिएको थिए ।

एउटा संयोगको कुरा के भने बाबु भारतेन्दु हरिश्चन्द्र मोतीराम भट्टभन्दा केही वर्ष जेठा भए पनि उनी पनि थोरै बाँचेका हुन् । बाबु भारतेन्दु पनि जम्मा पैंतीस वर्ष (जन्म १ सितम्बर, १८५० र मरण ६ जनवरी, १८८५ मात्र बाँचेका थिए । उनी भने हिन्दीका  रीतिकालबाट अघि बढाएर आधुनिक हिन्दी साहित्यका प्रवर्तक थिए ।  उनका कवितामा तत्कालीन शासकका शोषणका विरुद्ध काव्यिक स्वर दिएका थिए ।

बनारसका त्यस बेलाका कवि लेक रङ्गकर्मीहरू बनारसस्थित कचौंडीगल्लीको भारतेन्दु भवनमा भेला हुन्थे । त्यहाँ विशेष आइतबारका दिन समस्यापूर्ति कविता पाठ हुन्थ्यो । त्यहाँ भेला हुने अन्य केही कवि लेखक सदस्यहरूमा प्रतापनारायण मिश्र, बद्रीनारायण चौधपरी, प्रेमधन, रादाचरण गोस्वामी, रायकृष्ण दास, रामकृष्ण बर्मा आदि थिए । बाबु रामकृष्ण बर्माको छापाखाना थियो र पछिबाट केही नेपाली पुस्तक प्रकाशित गरेका थिए ।

मोतीराम भट्ट  पनि त्यहाँ गएर सामेल हुन्थे । बाबु हरिश्चन्द्रका नाटकहरू जस्तै नीलदेवी, चन्द्रावली, प्रेमजोगिनी, सतीप्रताप जस्ता नारीप्रधान नाटक लेखेका थिए भने मोतीराम भट्टले पनि प्रियदर्शिका नाटिका लेखेका थिए ।  बाबु हरिश्चन्द्र काव्य नाटक, निबन्ध कथा आदि गरेर सत्तरीवटा पुस्तक प्रकाशित गरेका थिए । मातृभाषा विषयमा बाबु हरिश्चन्द्रको यस्तो अभिव्यक्ति छ जसबाट मोतीराम भट्ट नेपाल आएर नेपाली भाषा को सेवा गर्न कम्मर कसेका हुन सक्छ-

निज भाषा उन्नति लहै सब उन्नति को मूल

बिन निज भाषा ज्ञान के मिटे न हि

विविध कला शिक्षा अमित, ज्ञान अनेक प्रकार

सब देसन से लै करहू, भाषा माहि प्रचार ।   

बाबु भारतेन्दू हरिश्चन्द्रका प्रमुख शिष्यहरूमा दुईजना भट्टले हिन्दी र नेपाली साहित्यको भण्डार भर्ने काम गरे । एकजना बालकृष्ण भट्ट र अर्का मोतीराम भट्ट । मोतीका दौँतर बालकृष्ण भट्टले हिन्दी उपन्यास लेखनको शिलान्यास गरे अर्थात् उनी हिन्दी उपन्यास साहित्यका प्रारम्भिक उपन्यासकार हुन् । उनका उपन्यासमध्ये ‘नूतन ब्रह्माचारी, सौ अजान एक सुजान’ जस्ता कृतिहरूले आज पनि हिन्दी उपन्यासमा प्रमुख स्थान ओगटेका छन् । यता मोतीराम भट्टले चाहिँ आफ्नो मातृभाषा नेपालीमा’ गद्य-पद्य दुवै विधा समाते । उनी काठमाडौँ आएको बेला एकपटक एउटा विवाह उत्सवमा नेपाली भाषा रामायण र अन्य श्लोक गायन सुनेर हाम्रो भाषामा पनि यति सुन्दर, कर्णमधुर रचना बनिँदा रहेछन् भन्ने थाहा पाएर आफ्नो भाषा सेवा गर्न कम्मर कसेका हुन् भन्ने उल्लेख पाइन्छ ।

नेपालको गाउँघरतिर रामायणको सुमधुर पाठ गरेको सुनेर मोतीरामलाई ‘यति सुन्दर रामायण लेख्ने को होलान्’ भन्ने जिज्ञासा भएछ । रामायणको नेपाली रचयिता भानुभक्त आचार्य सम्बन्धमा अनुसन्धान गरे । अनुसन्धानका क्रममा भानुभक्तका नाति रामदत्तबाट सम्पूर्ण रामायण र अन्य फुटकर कविता फेला पारे अनि बनारस गएर प्रकाशित समेत गरे ।

नेपाली भाषामा पत्रिकाको अभाव खट्किएको देखेर बनारसबाट वि.सं. १९४२ तिर ‘गोर्खा भारत जीवन’ नामक मासिकपत्रको प्रकाशन सुरु गरे । तिनताक बनारसमा बाबु भारतेन्दू हरिश्चन्द्रको सम्पादकत्वमा हिन्दी भाषामा प्रकाशन भइरहेको मासिक-पत्र ‘भारत जीवन’ को सहप्रकाशन ‘गोर्खा भारत जीवन’ निकालेका हुन् । यो उनको मातृभाषाप्रतिको मोह थियो । दुर्भाग्यवश आज त्यो ‘गोर्खा भारत जीवन’ का सबै अङ्क अप्राप्य छन् । वि.सं. १९४४ देखि भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन सुरु गरेका हुन् । यसपछि उत्तरोत्तर अन्य काण्डहरू वि.सं. १९४७ सम्ममा प्रकाशित गरिसकेका थिए ।

भानुभक्तीय रामायण प्रकाशनपश्चात मोतीराम काठमाडौँ आएका थिए । काठमाडौँ आइपुग्ने बित्तिकै सर्वप्रथम भानुभक्तको जीवनीको खोजीमा लागेका देखिन्छन् ।

वि.सं. १९४८ मा भानुभक्तको जीवनचरित्र प्रकाशित गरेका हुन्  । यसै सालमा । उनको सुमधुर मित्रता श्री ३ देवशमशेर जङ्गबहादुर राणासँग रहेको थियो । मोतीराम देवशमशेरका प्रियपात्र बनेका थिए । देवले उनलाई काव्य सृजना गर्न प्रेरणा दिन्थे, स्याबासी दिन्थे । एकपटक देवशमशेर तीन महिनाका लागि प्रधानमन्त्री बने । त्यतिबेला उनको दरबारैमा दिनहुँ काव्यगोष्ठी चल्न थाल्यो । तिनताकका मोतीका दौँतरीहरूमा लक्ष्मीदत्त पन्त इन्दु, कृष्णदेव शर्मा, नरदेव शर्मा, तीर्थराज, पद्मविलास पन्त, राजीवलोचन जोशी, गोपीनाथ लोहनी, बडाकाजी मरीचिमान सिंह प्रभृति व्यक्तिहरूका नाम आउँछन् ।

यी व्यक्तित्वहरूको मण्डलीको नाम नेपाली साहित्येतिहासमा ‘मोतीमण्डली’ भनेर चिनिन्छ । मण्डलीबीचमा मोती केन्द्रबिन्दु थिए । उनी आफैले गजल, समस्यापूर्ति, कविता लेख्थे अरूलाई पनि लेख लगाउँथे । समस्यापूर्तिका निम्ति एउटा कवितांश वा शीर्षक लिइन्थ्यो, मण्डलीका सबै कविहरूले त्यही पदपूर्ति गर्थे । मोतीरामको लहडको बेला थियो, तिनताक उनी अल्लारे युवा थिए ।

मातृभाषाको उत्थानमा कम्मर कसेका भट्टले रहरले, कर्तव्यचेतनाले, उत्साहले, सत्सङ्गले काम गरे, आफ्नो प्रतिभा चम्काए । त्यही लहडमा उनले नाटक लेखे, जीवनी लेखे, कविता लेखे, पत्रिका निकाले, नाटक प्रदर्शन मञ्चन गरे । उनका जीवनीलेखक नरदेव शर्माको कविवर मोतीराम भट्टको जीवनी पुस्तकमा मोतीरामका जम्मा बीस काव्यको उल्लेख पाइन्छ तर प्रकाशित ग्रन्थसङ्ख्या तेह्रवटा मात्र पाइन्छन्, अन्य अप्राप्य छन् । उनका प्रमुख कृतिहरूमा, नाटकमा-शकुन्तला, प्रियदर्शिका, हुस्न अफरोज आरामदिल (उर्दूमा); काव्यमा पीकदूत, उषाचरित्र, मनोद्वेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लादभक्ति कथा, गफास्टक, गद्यमा -भानुभक्तको जीवनचरित्र, अन्यमा सुक्तिसङ्ग्रह हुन्  ।

बहुमुखी प्रतिभाका धनी मोतीरामका काव्यकृतिहरू भानुभक्तीय काव्य काव्य जत्तिकै रोचक, सुमधुर, श्रुतिमधुर, मनोहर रहेका छन् । भानुभक्तका काव्य कृतिको गहन अध्ययन गरेका मोतीमा भानुभक्तको गहिरो प्रभाव पर्नसक्छ ।

भानुभक्तको प्रिय छन्द शार्दूलविक्रीडित नै मोतीरामले अपनाए । यसै छन्दमा उनले पीकदूत, प्रह्लादभक्ति कथा इत्यादि काव्य रचेका छन् । मोतीरामको काव्य प्रवृत्तिलाई नियाल्दा श्रृङ्गारिक र आध्यात्मिक गरी दुई प्रमुख धारामा छुटाउन सकिन्छ । यसरी उनले परम्परागत रूपमा चल्दै आएको भक्तिकाव्य परम्परालाई अघि बढाए भने अर्को तर्फ गैरपारम्परिक श्रृङ्गारिक काव्यधाराको पनि उनैले जग बसालेका हुन् । यसकारण उनी नेपाली काव्यपरम्पराका प्रवर्तक हुन्! यसरी उनले परम्परा र नयाँ स्थापनाको समन्वय गरेर दुवैलाई एकैसाथ लिएर हिँडे ।

तर मोतीको मूलचेतना भने शृङ्गारिक नै बढी देखिन्छ । शायद तिनले देखे होलान्, दरबारमा सुरा-सुन्दरीप्रति झुकाउको माहौल, त्यसको जनतामा परेको श्रृङ्गारिक प्रभाव । यसकारण त्यस परिवेशप्रति उनी आँखा चिम्लन सक्दैन थिए । उनले सोही अनुरूप शृङ्गारिक काव्य रचे ।

उनको ध्येय त्यस्तै शृङ्गारिक काव्यमार्फत नेपाली जनसमुदायको झुकाउ साहित्यतर्फ भोग्नु थियो । यद्यपि, उनको श्रृङ्गारिकता भने श्लील रहेको छ । कामिनीको विशुद्ध सौन्दर्यको वर्णन उनका काव्यको मूल भाव हो । बरु उनले स्थापना गरेको विशुद्ध शृङ्गारिकतालाई उनका साहित्यिक उत्तराधिकारी वर्गले उत्तरोत्तर अश्लीलतातर्फ बढाए । उनको विशुद्ध एवं नैसर्गिक सौन्दर्य वर्णनलाई उत्तराधिकारीवर्गले नारीका आवयक एवं काम-वासनावर्णनतर्फ ढल्काए । त्यसको चरम परिणति सुक्तिसिन्धु (प्रकाशन वि.सं. १९७४) को प्रकाशन हो ।

फारसी, उर्दू भाषा अध्ययन गरेका मोतीराम नेपाली साहित्यमा पहिलो गजलकार मानिन्छन् । उनले गजलको सैद्धान्तिक पक्ष बुझेका रहेछन्, त्यसै अनुरूप ‘नेपालीमा गजल लेखेका छन् । गजलमा प्रयुक्त हुने काफिया, रदीफ, तखल्लुस, बहर हिन्दी इत्यादिको राम्रो निर्वाह गरेका छन् । उनले विदेशी नक्कललाई अनुकरण गरेका होइनन्, अपितु नेपाली साहित्यको भण्डार परिपूर्ण पार्न, बाह्य प्रभावलाई आफ्नो परिवेश अनुकूल पारेका हुन् ।

आजसम्मको नेपाली परम्परा नियाल्दा मोतीरामबाहेक अरू कसैले पनि फारसी गजल छन्द निर्वाह गर्नसकेका देखिँदैन । मोतीरामले गजल आयात गर्दा नेपाली भाषा साहित्यको सेवाभावलाई केन्द्रित गरीयो नयाँ परम्परालाई आफ्नो मण्डलीमार्फत संस्थागत रूपले विकसित गरे । गजल मूलतः फारसी- अरबी काव्यविद्या हुनाले मोतीरामका गजलमा केही फारसी शब्द पाइनु अस्वाभाविक होइन । उनले प्रयोग गरेका ‘केही फारसी शब्दहरूमा जहर, तफायत, शकल, जुलुम, मनसुव, रिस्त, रखवाला, गजब, कटारी, खाहिस, पास, दुस्मन, हुकुम, बेजान, सजाय, कसुर, बमर्जि, मर्जिइ, बेकसुर, ताजुब इत्यादि हुन् । प्रकाशित रूपमा उनका गजलको सङ्ख्या बत्तीसवटा देखिन्छन् । उनको मण्डलीका प्रायः सबै सदस्यले गजल लेखेका छन् ।

मोतीरामको अर्को उपलब्धि नेपाली भाषामा जीवनी लेखन हो । ‘भानुभक्तको जीवनचरित्र’ नामक पुस्तकमार्फत् स्रष्टाको परिचय पुस्तकाकार रूपमा लेख्ने परम्परा बस्यो । यसै जीवनी पुस्तक मार्फत नेपाली साहित्यमा प्रथमो-प्रथम समालोचना विधाको समेत जग बसेको हो । आज जीवनी र समालोचना विधाको क्षेत्र प्रशस्त फराकिलो भएता पनि यी विधाहरूको इतिहास खोज्दै जाँदा अन्तमा हामी मोतीराम भट्टसम्म पुग्नुपर्दछ । उनको आलोचकीय दृष्टिलाई हेर्नुपर्दा उनले कविहरूका जम्मा दुई किसिम बनाएका छन्- (१) सहज कवि अर्थात् स्वाभाविक कवि र (२) कृत्रिम कवि वा संसर्गी कवि ।

भानुभक्तलाई उनले सहज कविका रूपमा दऱ्याएका छन् । स्वतःस्फूर्त कविता लेख्ने कविलाई सहज कवि र कनीकुथी, अभ्यास गर्दै लेख्नेलाई कृत्रिम कवि ठानेका छन् । मोतीरामले भानुभक्तका कविताको समालोचना गर्ने आधार कविताका छन्द, रस, शब्द, अर्थ र अलङ्कारलाई लिएका छन् । भानुभक्तका कवितामा यी सबै गुणले पूर्णता भएको सिद्ध गरेका छन् । ‘भानुभक्तको जीवनचरित्र’ कृतिमा केही कमजोर पक्ष नपाइने होइनन् । उनले भानुभक्तलाई आदिकविको पगरी गुथाउन हतारो गर्दा भानुभक्तप्रति अन्धभक्त भई, कमजोर पक्ष लुकाइ बढी प्रशंसा गरेका छन् । भानुभक्तका गद्य साहित्य रचना नै पाइन्न तर उनले भानुभक्तको गद्यको प्रशंसा गरेका छन् । भानुभक्त कवि मात्र हुन् ।

उनका गद्यहरू केही चिट्ठीपत्र र अड्डा अदालतका कागजात मात्र हुन् । यसकारण कतिपय प्रसङ्गमा उक्त पुस्तकमा अतिव्याप्तिको दोष पनि पाइन्छ । तर यी कमजोर पक्षलाई हामीले आँखा चिम्लिदिनु पर्छ । जे होस्, नेपाली साहित्यमा शासकवर्गको जीवनी लेख्ने परम्परा हटेर स्रष्टाको चिनारीको परम्परा बस्यो ।

एउटा संयोगको कुरा, मोतीरामको जन्म भाद्र कुशे औँसीको दिन वि.सं. १९२३ मा भएको थियो भने मृत्यु पनि भाद्र कुशे औँसीको दिन वि.सं. १९५३ मा भयो । नेपाली साहित्य कै एउटा दुर्भाग्यको कुरा भनौं, मोतीराम खालि तीस वर्ष बाँचे । धेरै बाँचेमा भए अझ अरू उपलब्धि प्राप्त हुन्थ्यो होला ।

मोतीराम भट्टको व्यक्तित्वलाई समग्रगत रूपमा नियालेर हेर्नुपर्दा निम्नलिखित पक्षहरू हाम्रा अघि देखा पर्छन्- १. माध्यमिक कालका केन्द्रीय कवि, २. प्रथम नेपाली शृङ्गारिक कवि, ३. प्रथम जीवनीकार, ४. प्रथम नेपाली समालोचक, ५. प्रथम नेपाली गजलकार, ६. प्रथम नेपाली पत्रकार, ७. प्रथम नेपाली अनुसन्धाता, ८. प्रथम नेपाली सचेत नाटककार, ९. नेपाली साहित्यको माध्यमिक कालका प्रवर्तक । जम्मा तीसवर्ष मात्र बाँचेका मोतीरामबाट नेपाली साहित्यिक उपलब्धि हासिल गर्नु सानो सौभाग्यको कुरा होइन । अझै गम्भीर पक्षहरू केलाउनु बाँकी नै छ ।

आजको नेपाली समाजलाई मोतीले युवाशक्तिको उदाहरण पेस गरेका छन्, उनीबाट हामीले धेरै कुरा सिक्नुपर्दछ । जे होस्, उनी अजर र अमर छन् ।