भैँसी बसेको ठाउँबाट चटपटाउनै नसक्ने भएको थियो । दुईचार जनाको त केही सिप नलाग्ने । गाउँभरिका मानिस भेला भएर नल कसे ।
भड्खालो भन्नाले खास गरी कुनै अप्ठ्याराे, खाल्टो वा भ्वाङ परेको ठाउँ विषेशलाई जनाउँछ । यो धेरै गहिरो वा ठूलो हुन्छ । टेक्ने न समाउने, केही नभएको । साँच्चै भनौँ भने सास फेर्न पनि नपाइने वा मुस्किल पर्ने । जहाँ परिसकेपछि वा खसिसकेपछि सितिमिति ढङ्गले बाहिर निस्कन सकिन्न । मुस्किल पर्छ ।
यसो अनुमान लगाऔँ । कुनै एउटा गहिरो वा ठूलो खाल्टोमा हिँड्दाहिँड्दै उछिट्टिएर परियो । जति कोसिस गरेपनि अब कुनै हालतमा बाहिर निस्कन सकिन्न । यात्राको क्रममा बाटो हिँड्दाहिँड्दै अचानक यसरी खाल्टोमा खसियो । कसैले देखेन । हारगुहार गर्न पनि कसैले सुन्ने ठाउँ छैन । यस्तो अवस्थामा तपाईं के गर्नु हुन्छ ?
आफ्नो भन्नु सम्पूणर्ता नियतिलाई सुम्पनु सिवाय अरू के हुन सक्छ ? प्रश्न तपाईंको होइन । प्रश्न त सङ्कटको हो । समस्याको हो । अप्ठ्याराे स्थितिको चाहिँ हो । अप्ठ्याराे स्थिति भनेको कुनै व्यक्ति विशेष वा समाजलाई मात्र पर्दैन । यो त देश विशेषलाई पनि पर्ने कुरा रहेछ । यो आन्तरिक वा बाह्य दुवै कारणले हुनसक्छ ।
उहाँ आफैँ पनि एउटा साहित्यकार हुनुहुन्छ । उखान, टुक्का मिलाएर बोल्न सिपालु यहाँ एउटा देश भक्तका नामले कहलिएको राष्ट्रवादी नेता पनि हुनुहुन्छ । मैले भर्खरै मात्र उहाँको संस्मरण पढेँ । उहाँका जेल बस्दाका कविता कतै नबरालिएका भए सायद यतिबेला सार्वजनिक हुने थिए होला । म अत्यन्तै दुखित छु । एउटा लेखकका सिर्जना भनेका उसका सन्तान जस्तै प्यारा हुन्छन् । कसैका पनि नहराऊन् । तिनले मञ्च पाउनु पर्थ्याे । पञ्चायत पनि निरङ्कुश मात्र होइन । पापी नै रहेछ । कुहिएको लाशको के धेरै कुरा गर्नु ।
यतिबेला मलाई यहाँ एउटा पुरानो र सानो घटनाको याद आयो । हामी सानो छँदाको कुरा हो । बुवा विहानको काममा कहाँ जानु भएको थियो । अबेला असिन र पसिन भएर आउनुभयो । आउने बित्तिकै फेरि कतै हिँड्न ठिक पर्दै भन्नुभयो, “तल्ला घरको भैँसी भड्खालामा परेछ झिक्न जानु पर्ने भयो ।”
आमाले हैन अब फेरि भात खाने बेलामा कता हिँड्न आँटेका भात खाएर जानु नि भन्नुभयो । बुवाले हैन भात खान थाल्दा ढिलो हुन्छ । बोलाका मान्छे आइसके भन्दै एउटा बलियो बाँसको टुक्रो र घाँस बाँध्ने बाबियाको बलियो डोरी एउटा हातले काखीमा चेपेर अर्को हातले मकैको खोस्टामा बेरेको सुर्ती तान्दै हतारहतार बाटो लाग्नुभयो । लुसुक्क बुवाको पछिपछि म पनि लागेँ । टाढा थिएन । हाम्रो घरदेखि तल चोक्टी भन्ने बारी थियो । बारीको सानो टुक्रो भएकोले त्यसलाई चोक्टी भनिएको हो ।
अन्जानमा यसो काँल्लाको डिलबाट टाँकीको घाँस लम्केर खान खोज्दा भैँसी भड्खालामा झरेछ । बसेको ठाउँबाट उठ्नै नसक्ने भएको रहेछ । मैले उसको नजिक गएर यसो हेरेको । त्यसले टाउको सुताइराखेको थियो । आँखाबाट आँसु खसिरहेका थिए । म निक्कै भावुक भएर हेरेछु । एई नानी त्यहाँ छेउमा नजा यता आइज भनेर कसैले मलाई हकार्यो । फर्केर यसो हेरेको एक जना हाम्रै आफन्त रहेछन् । म पछि सरेँ । थाहै नपाई मेरा पनि आँखाबाट आँसु खसिसकेछन् ।
कसैले भने खुट्टा भाँचिए होला । कसैले ढाडै भाँचिएको हुनुपर्छ । बूढो भैँसी अब उठ्न मुस्किल छ । कसैले अब यो काम लाग्दैन । टुइँकी फुस्के जस्तो छ । त्यस्तै त्यस्तै भने । बडीआमाले बोकेर भएपनि घर ल्याइदेओ । मरेपनि घरैमा मरोस् । बाँचुन्जेल खोलेपानी त खान पाउँछ । म बूढी मान्छे आफैँ गर्छु यसको सम्हार भन्नुभयो ।
भैँसी बसेको ठाउँबाट चटपटाउनै नसक्ने भएको थियो । दुईचार जनाको त केही सिप नलाग्ने । गाउँभरिका मानिस भेला भएर नल कसे । काँध हालेर होस्टेमा हैँसे गरे । केही सिप लागेन । त्यहीँ गर्नु पर्ने भयो । बडीआमाले त्यसलाई खोलेफाँडो खुवाएपछि तङ्ग्रिएछ भने विचार गरौँला । त्यै बेला ल्याउन पर्ला सबैले भने। सबै फर्किए आ-आफ्नो घर । म पनि बुवाको अगिपछि गर्दै घर आइपुगेँ ।
हामी केटाकेटी दिनमा दुई पल्टसम्म त्यहाँ पुगेर हेर्ने गर्थ्यौं । केको निको हुनु । अलिपछिदेखि त सिनो गनाउन थाल्यो । छेउछाउ जानै नसकिने पो भयो । भुइँपट्टि बसेको शरीरको भाग सबै कुहिएछ । स्याउँस्याउँ किरा पो परे । केही समयपछि भैँसी त मर्यो । बडीआमाले आँखाभरि आँसु पारेर गाउँले सबैलाई बोलाएर पुर्न लाउनु भयो । गाउँलेहरू भेला भएर त्यहीँ पुरिदिए । आफूले पालेको कुखुराको चल्लाको समेत सारै माया गर्ने,पछिसम्म पनि बडीआमा त्यो भैँसीको गुनगान गरेर आँखाभरि आँसु पार्नुहुन्थ्यो । सायद मैले यहीँबाट आफ्नो चिजलाई माया गर्न सिकेँ ।
फागुन-चैत लागेपछि बुवा बारीमा भल काट्न थाल्नु हुन्थ्यो । अब बर्खा लाग्यो । पानी ठूलो पर्यो भने जोतेको बारीमा भल पस्छ । सबै चिर्छ बारी । खाडल पार्छ । गरा खोलेर कामै नलाग्ने बनाउँछ । जोत्दा गोरू लाग्दैनन् । माटो सबै बगाएर लान्छ । बेलैमा भल काटेर पानी तर्काउनुपर्छ भन्नुहुन्थ्यो । कुनै वर्ष भल काटिएन भने चैत-वैशाखमा परेको पानीले बारीमा भल पसेर बारी चिराचिरा पार्थ्यो । उर्वर माटो जति सबै बगाएर ढुङ्गा मात्र देखिन्थे बारीमा । यस्तो भयो भने मकै मात्र होइन केही फल्दैन बारीमा भन्नुहुन्थ्यो बुवा । माटोलाई माया गर्न मैले यहीँँबाट सिकेँ ।
हामी हिउँदभरि बारीका ढुङ्गा टिपेर छेउमा थुपार्थ्यौं । काँल्ला फुटाएर पर्खाल लाउँथ्यौँ । बैशाख-जेठमा मकै छर्न माघैका दिनमा बारी बाँझाे जोतेर राख्थ्यौँ । एकदम कर्मशील बुवाआमा हामी माटोमा प्राण देख्थ्यौँ । यो धरती नहुनु हो भने के गरेर खानु मान्छेले भन्नुहुन्थ्यो बुवाआमा । त्यहीँ फल्थ्यो धान । त्यहीँ फल्थ्यो मकै । त्यहीँ फल्थ्यो गहुँ । त्यहीँ फल्थ्यो जुनेलो । त्यहीँ फल्थ्यो कोदो । त्यहीँ फल्थे मास, भट्मास, मस्याम, गहत र बदामहरू आदि ।
माटो भनेको माटो मात्र पनि होइन रहेछ । माटो भनेको कर्म फुल्ने ठाउँ पनि रहेछ । माटो भनेको माटो मात्र होइन रहेछ । माटो भनेको देश पनि रहेछ । माटोको माया हुनेलाई नै देशको माया हुँदो रहेछ । देशको माया हुनेलाई नै माटोको माया हुँदो रहेछ । भनिन्छ देशको माया नहुनेलाई कसैको माया हुँदैन ।
२०४६ सालपछि देशमा विकृति फैलियो । यहाँलाई पनि थाहै छ । प्रजातन्त्र भनेको घर मात्र नभई सबै खाले मान्छे हिँड्ने बाटो पनि रहेछ । मान्छे सभ्य नभई खनेको बाटो जस्तो । बाटो जतिसुकै सहज, फराकिलो, सजिलो, सफा र छोटो, छरितो भएपनि हिँड्ने मानिस असभ्य र फोहोरी भएपछि बाटो के सफा हुन्थ्यो । बाटो,बाटो जस्तो के हुन्थ्यो । देश सिस्टममा चलेन भने जनताले कुकुरले नपाएको दुःख पाउँदा रहेछन् । त्यो दशा आज नेपाली जनताले भोगिरहेका छन् । एउटा राजा त फाले नेपाली जनताले तर अरू थुप्रै त्यस्ता अर्ध सामन्तवादी छोटे राजाहरू च्याउ उम्रे झैँ उम्रिए ।
भ्रष्टाचार, लुटपाट, हिंसाहत्या, बलत्कार जस्ता जघन्य अपराधहरू मौलाए । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा वा ७ देखि ८० को दशकसम्म आइपुग्दा नेपाली जनताले के पाए ? भनेर कसैले प्रश्न सोध्यो भने राजनीतिमा ठूलो परिवर्तन भएको छ ।
२००७ सालमा १०४ वर्षे लामो राणा शासन फालियो । २०४६ सालमा ३० वर्षे पञ्चायत फालियो । २०६२/२०६३ मा त्यति लामो इतिहास भएको राजतन्त्र फालियो । अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो कुनै मनगढन्ते कुरा होइन । लोकतन्त्र भनेको त्यस्तो व्यवस्था हो । लोकतन्त्र भन्दा राम्रो व्यवस्था संसारमा कुनै पनि हुँदैन । छैन पनि । लोकतन्त्र भनेको त प्रजातन्त्रपछि आउने जनताद्वारा जनतामाथि गरिने शुसासन हो । त्यो अहिले नेपालमा छैन । केही बुझेन भने बरू मानिस त्यसै बस्न सक्दो रहेछ । केही बुझ्यो भने मानिस त्यसै बस्न सक्दो रहेनछ ।
यो लेख त्यसैको एउटा उपज पनि हो । नेपालमा जनताले चाहेको राजनीतिक परिवर्तन मात्र थिएन । नेपाली जनताले चाहेको त राजनीतिक परिवर्तनसँगसँगै आर्थिक परवर्तन पनि थियो । नेपाल आर्थिक रूपले पनि समृद्ध होस् । सम्पूर्ण नेपाली जनता समृद्ध हुन् । देशसँगसँगै सम्पूर्ण नेपाली जनताको आर्थिक स्तर माथि उठोस् भन्ने थियो । आज त्यो अवस्था रहेन । नेता तथा कर्मचारीहरूलाई भ्रष्टाचार गर्न पुग्यो पैसा तर देशको विकास गर्न पुगेन । सबै आफ्नो गुण बनाउनेतिर लागे । देश बनाउनेतिर कोही लागेनन् ।
साँच्चै भनौँ भने अहिले नेपाली जनतालाई यो हाम्रो देश हो । हामी आफ्नो देश भित्र छौँ भन्ने अनुभूतिसम्म हुन छाडेको छ । देशभित्र देश खोज्ने अवस्था कसरी सिर्जना भयो ? देश कता हिँडिरहेको छ ? भन्ने कुराको ख्याल शासकलाई भन्दा पनि शाेषितलाई बढी थाहा हुनुपर्ने रहेछ ।
नेपालमा अझै पनि त्यस्ता समुदाय पनि छन् जसलाई हाम्रो देश छ । हामी देशभित्र छौँ । यो हाम्रो देश हो । हामी नेपाली हौँ भन्ने समेत राम्रोसँग ख्याल छैन । हामीले ठूला नेता पायौँ । असल नेता पाएनौँ । पाए पनि छिट्टै गुमायौँ । शासक बन्ने नेता भए देश बनाउने नेता भएनन् । दिनानुदिन राष्ट्र र राष्ट्रियता कुनै न कुनै रूपमा कमजोर हुँदै गइरहेको छ । देशको मतलब कसैलाई छैन । जताततै स्वार्थका डर लाग्दा भड्खाला मात्र छन् ।
हामीले देश भनेको के हो ? त्यो बुझेनौँ । हामी त देश भनेको म हो भन्नेतिर लाग्यौँ । जन्मदै देश पाउने भाग्यमानी हामीहरूलाई देशको मतलब के होस । सायद आफैँले देश निर्माण गर्नु परेको भए थाहा हुने थियो होला । अर्काको छाती माथि खेल्न सजिलो छ । आफ्नो छातीमाथि अरूले खेलेको बेला थाहा हुन्छ । थाहा नहुन्जेल त सह्य नै होला थाहा भएपछि त त्यही असह्यीय पीडा बन्ला ।
सबै भन्दा ठूलो चिन्ता यो देशमा विधिको शासन कहिले चल्ला ? सिस्टममा देश कहिले चल्ला ? राजनीतिमा सेवाको भावनाको विकास कहिले होला ? राजनीतिलाई मागी खाने र ठगी खाने थलोको रूपमा हेर्नेहरू कहिले बढारिएलान् । यहाँलाई पनि थाहै छ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश विदेशीहरूले परेड खेल्ने थलो बन्दै गएको छ । आफ्ना समस्याहरूको आफैँले छिनोफानो गर्न नसक्नु । सधैँ विदेशीका सामु लम्पसार पर्नु । यहाँ भन्दा लज्जास्पद र विडम्बना नेपालीहरूका लागि अरू के हुन सक्छ ? त्यही काम आफूले गर्दा सही हुने । त्यही काम आफू जस्तै अर्कोले गर्यो भने त्यो गलत हुने प्रवृत्ति डर लाग्दो रूपमा विकसित हुँदै गइरहेको छ ।
आफ्नो सम्मान चाहनेले अर्काको सम्मान पनि गर्न जान्नु पर्छ । आफ्नो कुरा राख्न चाहनेले अर्काको कुरा पनि सुन्न सक्नु पर्छ । यो प्रवृत्ति नेपालको राजनीतिमा शून्य प्रायः हुँदै गइरहेको छ । देश भित्रभित्रै धमिराले खाएको काठको निदाल जस्तै भएको छ । डुब्नै लागेको डाँडाको घाम जस्तै भएको छ । साउनको झरीले भिजेर गलेको पहाड जस्तै भएको छ । देशमा डर लाग्दो स्थितिको सिर्जना हुँदैछ । एक खाले मात्र होइन । धरै खाले विद्रोह अब एकै चोटी सिर्जना गरेर देशलाई गृहयुद्धतिर धकेल्न खोजिँदैछ ।
यदि देश त्यतातिर गयो भने नेपाल र नेपालीको हबिगत के होला ? यहाँ आफूले पालेको एउटा कुखुराको चल्लाको पनि कति धेरै माया हुन्छ हामीलाई । एक टुक्रा आफ्नो जग्गाको माया कति हुन्छ हामीलाई ? तर देशको माया खोई ? हरेक नेपालीले मुटुको ढुकढुकीमा देश राख्न सक्नुपर्छ । देश रहेसम्म मात्र रहन्छौँ हामी । देश भन्दा माथि कुनै नेपाली छैन ।
शब्दमा देशको वणर्न गरेर साध्य छैन । जति गरे पनि कमै हुन्छ । भनिन्छ राजनीतिमा कत्ति कुराहरू यस्ता हुन्छन् जुन देखेर पनि समाउन मिल्दैन । सुनेर पनि भन्न मिल्दैन । बुझेर पनि नबुझे जस्तो गर्नुपर्छ । निदाएको मानिसलाई उठाउन सजिलो छ तर निदाए जस्तो गर्ने मानिसलाई उठाउन गाह्रो छ । यहाँ तातो पानीले घर जलाउन खोजिएको छैन । उहाँले पनि ख्याल गर्नु भएकै होला । फेरि पेट्रोल छर्केर सलाई कोर्न खोजिँदै छ ।
नेपालीमा एउटा भनाइ छ । चोर्यो भनेर होइन पल्क्यो भनेर डराउनु पर्छ । नेपाललाई सधैँ द्वन्द्वमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठूला,साना शक्तिहरू जोडदारसँग पहिलेदेखि अहिलेसम्म लागि परिरहेका छन् । यो कुरा अब राजनीतिक दलका नेताहरूले मात्र बुझेर हुने वाला छैन । सम्पूर्ण नेपाली जनताले बुझ्नै पर्ने बेला आएको छ । अब पनि नेपाली जनताले बुझेनन् भने देश मात्र होइन । सम्पूर्ण नेपाली जनता नै ठूलो भड्खालोमा पर्नेछन् । त्यतिबेला नेपालको मात्र होइन । सम्पूर्ण नेपालीको अस्तित्वनै नरहन पनि सक्छ । नेपालै नरहेपछि नेपालीको अस्तित्व कसरी रहोस् ।
अब फेरि एक पटक नेता, कलाकार, साहित्यकार, गीत-सङ्गीतकार, लेखक, कवि, बुद्धिजीवी, विद्वान, सर्व-साधरण आदि सबैले राष्ट्र र राष्ट्रियताका खातिर स-शक्त रूपमा खबरदारी गर्ने बेला आएको छ । अझ भनौँ हरेक नेपाली जनताले होसियार हुने बेला आएको छ । अब पनि नेपालका ठूला, साना सबै राजनीतिक दलका नेताहरूले एक ठाउँमा बसेर राष्ट्र र राष्ट्रियताका बारेमा गम्भिर भएर सोच्न ढिला गरे वा सोचेनन् भने पछि पुर्पुरोमा हात राखेर रुनु, कराउनु र पछुताउनु सिवाय केही हुनेछैन । त्यो दिन अब टाढा छैन ।
राष्ट्र र राष्ट्रियताको खातिर दह्राे खुट्टा टेक्नुहोस् । तपाईंलाई नेपाली जनताको साथ रहनेछ । आजलाई यति बाँकी कुरा अर्को पत्रमा लेखौँला । होसियार नेपाली जनता जय देश । जय नेपाली जनता । मैले उहाँलाई यो चिठ्ठी अलि अगि नै लेखेको थिएँ । पठाउन नपाएर आज पठाउँदैछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।