काव्यका सन्दर्भमा हामी ‘शुद्ध’ शब्दलाई कलाका स्वरूप र सिर्जना प्रक्रियाबाट बुझ्ने गरेका छौँ ।

मानव अन्तर्बोध (ह्युमन इन्ट्युसन), पशु अन्तर्बोध (एनिमल इन्ट्युसन) भन्दा भिन्न हुन्छ । मानिसले नै यसलाई अर्थ दिने गर्दछ । त्यो मानिसको एउटा विशिष्ट क्षमता पनि हो । मानिसका जीवन, जगत र विषय अन्तर्बोधबिना अधुरा हुन्छन् । अन्तर्बोध विशेष गरेर तीन प्रकारका हुन्छन्—अनुभवजन्य अन्तर्बोध (एम्पिरिकल इन्ट्युसन), शुद्ध अन्तर्बोध (प्युर इन्ट्युसन) र आध्यात्मिक अन्तर्बोध (स्पिरिच्युवल इन्ट्युसन) । अन्तर्बोधको कुरा गर्दा कहिलकाहीँ हाम्रो मनमा एउटा प्रश्न आउन सक्छ—“कसरी हामी काव्यमा अन्तर्बोध गर्दछौँ ?”

अन्तर्बोध हामीदेखि बाहिरका वस्तु र भावहरूमा नभएर हामीभित्रै हुन्छ । काव्य सिर्जनासितै अथवा काव्यभित्र गरिने अन्तर्बोध (इन्ट्युसन इन् पोइट्री) अन्य अन्तर्बोधहरूभन्दा भिन्न हुन्छ । हामी काव्यमा शुद्ध अन्तर्बोध पाउँछौँ । काव्यका सन्दर्भमा हामी ‘शुद्ध’ शब्दलाई कलाका स्वरूप र सिर्जना प्रक्रियाबाट बुझ्ने गरेका छौँ । काव्यात्मक अन्तर्बोध (साथै कलात्मक र रचनात्मक अन्तर्बोध) शुद्ध अवधारणा मात्र नभएर एउटा मानसिक अवस्था पनि हो, जसमा भावनाका गुण (कारेक्टर्स), छवि (इमेजेस) र समर्पित भावनाहरू (डेडिकेटिभ फिलिङ्स) हुन्छन् । कलात्मक अभिव्यक्ति प्राकृतिक अभिव्यक्ति र अवधारणाको सङ्केतहरूभन्दा भिन्न हुन्छ ।

कलात्मक अन्तर्बोधले अनुभूतिको (विशिष्ट प्रकारले) कार्य गर्दछ, जो निश्चित रूपमा विज्ञानबाट अलग छ । तर हामी यो भन्न सक्दैनौँ कि कलात्मक अनुभूति (आर्टिस्टिक अन्तर्बोध) नै गैरबौद्धिक र अतिरिक्त बौद्धिक अनुभूति हो भनेर । अवधारणा सार्वभौमिक (वा सर्वव्यापी) हुन्छ भने अन्तर्बोधचाहिँ एकप्रकारको मानसिक अवस्था हो । काव्यात्मक अन्तर्बोधका रूपमा काव्यात्मक अभिव्यक्तिको उत्पति (सुरु) बुद्धिबाट नभएर आत्माबाट भएको हुन्छ । त्यसैकारण त्यहाँ कल्पना, सम्झना, भावना, अचेतना, अवधारण, अनुभूति आदिको सम्मिश्रण पाइन्छ । आखिरमा गएर कुनैपनि प्रकारको अन्तर्बोध अनुभवजन्यता, बुझाइ र अनुभवबिना अधुरो हुन्छ ।

अन्तर्बोध र अन्तर्बोधको स्वरूप अविभाज्य छन् । अन्तर्बोधको स्वरूपले नै अन्तर्बोध सम्भव बनाउँछ । अन्तर्बोधबिना मानव ज्ञान (कुनैपनि प्रकारको ज्ञान) सम्भव छैन । हाम्रा भौतिक ज्ञान अनि शुद्ध अवधारणाहरूको प्रयोग अनुभवजन्य अन्तर्बोधबिना सम्भव हुँदैन । अनुभवजन्य अन्तर्बोधको कारणले गर्दा हामीभित्र बाहिरी वस्तुहरूको संवेदनशीलता उत्पन्न हुन्छ । त्यो संवेदनशीलता पनि हामीभित्रै हुन्छ । त्यसरी नै शुद्ध अन्तर्बोधले शुद्ध गणितलाई सम्भव बनाउँदछ ।

हामी शुद्ध अवधारणाहरूलाई कल्पना र शुद्ध अन्तर्बोधको सहायताले गणितीय आकारहरू (स्वरूपहरू) दिँदछौँ । जस्तै—रेखागणितमा त्रिकोणको परिभाषालाई मस्तिष्कभित्रै शुद्ध अन्तर्बोधद्वारा त्रिकोणीयतालाई कल्पनाको सहायताले कोर्न सकिन्छ (स्पेस र समय) । फेरि त्यही अमूर्त त्रिकोणीय स्वरूपलाई कागजमा पनि उतार्न सकिन्छ । त्यसपछि त्यो कागजमा उतारेको त्रिकोणीय रेखाचित्रलाई अनुभवका वस्तुहरूमा प्रयोग गर्न सकिन्छ ।

संवेदनशीलताले (अनुभवजन्यता) अन्तर्बोध उत्पन्न गर्दछ र बुझाइले अवधारणा । संवेदनशीलता एउटा संवेदी अवस्था हो । अन्तर्बोध भन्दा हामीले कुनै पनि वस्तुको (वा घटनाको) संवेदी अवस्था वा संवेदीय चेतना बुझ्नुपर्ने हुन्छ । यसरी संवेदनशीलताबिना अन्तर्बोध सम्भव छैन र संवेदनशीलता र बुझाइबिना ज्ञान । बाहिरका वस्तु र घटनाबिना हाम्रो संवेदनशीलताको सक्रियता सम्भव हुँदैन । त्यसरी नै संवेदनशीलताबिना काव्यात्मक अन्तर्बोध सम्भव हुँदैन ।

काव्यात्मक अनुभव काव्यात्मक अन्तर्बोधसित जोडिएको हुन्छ जो अद्वितीय प्रकारले मानवीय संवेदनशीलता र बुझाइमा आधारित हुन्छ । यसमा कुनै वस्तु, घटना र अवधारणाको प्रकटीकरण नभएर अनुभवद्वारा उत्पादित भावहरूको प्रकटीकरण भएको हुन्छ । यस्तो प्रकटीकरण आत्माको सम्मुख हुन्छ । यसको मतलब यो होइन कि यसलाई पनि आध्यात्मिक अन्तर्बोध नै भन्न सकिन्छ ।

अनुभवजन्य अन्तर्बोध र शुद्ध अन्तर्बोध भए विज्ञान र ज्ञानमीमांसाले मानिलिएका अन्तर्बोधहरू, तर यी दुईबाट पनि अझै खोज्दै अघि बढ्यौँ भने आध्यात्मिक अन्तर्बोध पाउँछौँ । यही अर्थमा प्रकृतिलाई बोध गर्ने कार्य पनि आध्यात्मिक गतिविधि नै हो । किनकि अन्तर्बोध मूल रूपमा आफैँभित्र हुन्छ । ‘म’ खोज्नु नै आफ्नो स्रोतलाई खोज्नु हो । ‘म’ नखोजी ‘हामी’ खोज्दा स्रोतलाई खोजिँदैन । मभित्र अझै मभित्र हुँदै जानुपर्छ । पत्रपत्र गरेर चिर्दै जानुपर्छ । चिर्नु भनेको कोष्ठक लगाउँदै जानु हो । त्यसैले स्रोतबोधको यात्रा ‘म’देखि ‘हामी’को यात्रा हो ।

आध्यात्मिक गुरुहरूले आध्यात्मिक (साथै रहस्यमय) अन्तर्बोधका कुराहरू गरेका हामीले सुनेका र पढेका छौँ । काव्यात्मक अन्तर्बोध हाम्रा आन्तरिक भावना अनि अभिव्यतिहरूको कलात्मक अनुभूति हो यस्तो अनुभूति कुनै एउटा निर्दिष्ट नियम वस्तु र घटनाको सत्यता वा असत्यतासित अनिवार्य रूपमा बाँधिएको हुँदैन । तर यस्ता अनुभूतिहरू पनि अर्थपूर्ण हुन्छन् । यसर्थ अन्तर्बोधले मानव ज्ञानहरूलाई पूर्णतामा सम्भव बनाउँदछ । जसरी कलात्मक अन्तर्बोधले कलात्मक अनुभूतिलाई सम्भव बनाउँदछ त्यसरी नै शुद्ध र अनुभवजन्य अन्तर्बोधले वस्तुज्ञान र विज्ञान सम्भव बनाउँदछ ।

इम्मानुएल कान्टले झन् उनका दर्शनमा स्पेश र समयलाई अन्तर्बोधका दुई स्वरूपहरू मानेका छन् । त्यति मात्र नभए उनले तिनीहरूलाई संवेदनशीलताका स्वरूपहरू (फम्स अफ सेन्सिबिलिटिस्) पनि मानेका छन् । यी दुईबिना मानव ज्ञान सम्भव छैन । तिनीहरू मानव संसार हेर्ने र जान्ने दुई मौलिक (स्वभाविक) मानव चस्माहरू (अरिजिलन ह्युमन स्पेक्टेकल्स) हुन् । यही मानव मस्तिष्कको बनावट (मेन्टल मेक-अप अफ ह्युमन कन्डिसन) ले मानव संज्ञानात्मक शङ्काय र बाहिरका भौतिक (एम्पिरिकल वा वर्णात्मक (डेस्क्रिप्टिभ) स्पेस र समयलाई सम्भव बनाउँदछ । तिनीहरू क्वान्टम फिजिक्सको अनिश्चिततावाद (अन्डेटर्मिनिजम) जस्तै हुन्छन् । साथै कान्टले यी दुईलाई मानव ज्ञान सम्भावनाका नियमका रूपमा मानेका छन् ।

शुद्ध अन्तर्बोध र शुद्ध अवधारणाको अन्तर्बोधमाझमा भिन्नता हुन्छ । अन्तर्बोधजस्तो अवधारणाको अन्तर्बोध सहज हुँदैन कारण यसप्रकारको अन्तर्बोधमा हामीले हाम्रो बौद्धिक सहभागितालाई अलिकति भए तापनि क्रियाशील बनाउनुपर्ने हुन्छ । फेरि काव्यात्मक अन्तर्बोधलाई सही रूपमा व्याख्या गर्न सकिँदैन । काव्यका वस्तुहरू कवि बाहिरमात्र नभएर उनको मस्तिष्कभित्र पनि हुन्छन् ।

मौलिक अन्तर्बोधले सबै प्रकारका अन्तर्बोधहरूलाई मात्र नभएर हामीबाहिरका वस्तु र घटना साथै हामीभित्रका वस्तु, घटना, संवेदनशीलता, बुझाइ र चेतनालाई पूर्णतामा समावेश गर्दछ ।