प्राकृतिक नियम पहिल्याउनु भनेको संसारलाई चिन्ने सही दृष्टिकोण हो । यस्तै किसिमबाट सामाजिक र राजनैतिक घटनाहरूलाई पनि बुझ्न सकिन्छ ।

दर्शन भनेको ब्राह्मण, जमिनदा र पूँजीपतिको लागि मात्र होइन । यसको आवश्यकता सम्पूर्ण जनतालाई हुन्छ किनभने यसले मानव जीवनको स–सानो कुरालाई पनि समेट्दछ । यो सहज किसिमले बुझ्न सकिन्छ र आवश्यक पनि छ, दर्शन बिना कुनै पनि मानिसको काम चल्दैन । प्रत्येक मानिससँग बुद्धि हुन्छ र उसले कुनै न कुनै दर्शनलाई अवश्य स्वीकार गरेकै हुन्छ । जुनसुकै समाजमा पनि मानिसले दिनहुँ कुनै न कुनै घटनासँग सामना गर्नै पर्दछ । र नचाहँदा नचाहँदै पनि मानिसले आफ्नो देश र विदेशको बारेमा सोचेकै हुन्छ ।

साथै मानिसले यो पनि सोच्ने गर्दछ, प्रकृतिमा के भइरहेको छ ? मानिसले प्रकृतिबाट धेरैभन्दा धेरै लिन चाहन्छ । ब्रह्मण्ड कसरी बन्यो ? यो पनि मानव मनकै प्रश्न हो । तारा कहाँबाट आयो ? पृथ्वी कहाँबाट आयो ? पृथ्वी कसरी बन्यो ? मानिस कसरी जन्मन्छ ? मानिस मरिसकेपछि के बन्छ ? र सुख केलाई भनिन्छ ? जीवनको अर्थ के हो ? इत्यादि । यस्ता प्रश्नहरूद्वारा मानिसले दर्शनको बारेमा नै विचार गरिरहेको हुन्छ, चाहे यसबारेमा जिज्ञासा भएर होस् या क्षणिक लहड । माथिका यी प्रश्नहरूको उत्तर जो कसैले खोजोस्, त्यो कुनै न कुनै दर्शनमा आधारित रहन्छ ।

उदाहरणको रुपमा अल्पवृष्टि हुँदा किसानहरू वर्षाको लागि पुकार गर्दछन्, पूजा गर्छन् । यसको अर्थ पानी नपर्नुको कारण किसानले कुनै अदृश्य शक्तिलाई जिम्मेवार मान्दछन् र खुसी पार्नको लागि पूजा गर्दछन् ताकि पानी परोस् । यो विचार एकदम गलत हो । उनीहरूले प्रकृतिको नियमलाई बुझ्न नसक्नुको कारण हो । तर शोषक–शाषक वर्गले मानिसलाई यो सम्झाउन चाहँदैन कि वर्षा हुनु र नहुनु कुनै अदृश्य शक्तिसँग कुनै सम्बन्ध छैन । वर्षा हुनु र नहुनु मनसुनमा निर्भर रहन्छ ।

यसको कारण के हो ? तिनीहरू मानिसलाई बताउँदैन कि पूजा गरेर पानी पर्छ, भन्ने धारणा गलत हो । तर यथार्थ अनुभवद्वारा मानिसहरूले वास्तविकता बुझ्न थाल्दछ । बालीनालीलाई बचाउनको लागि बोरिङ गाड्दछ, कुलो खन्दछ र पानी उपलब्ध गराउने अरु माध्यम खोज्दछ । प्रष्ट छ, ग्रामीण किसानको यस्तो व्यवहार वर्षाको बारेमा आफ्नो सुझबुझको परिणाम हुने गर्दछ । प्राकृतिक क्रियाहरू आफ्नो नियमअनुसार प्राकृतिक तरिकाबाट हुने गर्दछ यो बुझ्न किसानहरू बाध्य हुन्छन् । प्राकृतिक क्रियाहरू कुनै अदृश्य शक्तिको सहायतामा निर्भर गर्दैन ।

प्राकृतिक नियम पहिल्याउनु भनेको संसारलाई चिन्ने सही दृष्टिकोण हो । यस्तै किसिमबाट सामाजिक र राजनैतिक घटनाहरूलाई पनि बुझ्न सकिन्छ । दर्शन एउटा विश्व दृष्टिकोण हो, जो प्रत्येक मानिससँग हुन्छ, चाहे उसले यस कुरोलाई बुझोस् अथवा नबुझोस् । कसैले सही दर्शन नबुझ्दा अवश्य कुनै गलत दर्शनलाई अपनाएको हुन्छ । आमरूपमा दर्शनको बारेमा भन्ने गरिएको छ, विचारको मद्दतबाट ‘अन्तिम सत्य’लाई खोज्नको नाम हो ।

तर यो कुरा सही होइन किनभने पदार्थ बिना विचार सम्भव छैन । यदि सोच्नको लागि कुनै वस्तु नै नहोस्, घटनाहरू नहोस्, तब एक्लो विचारको आधारमा ‘अन्तिम सत्य’सम्म कसरी पुग्न सकिन्छ । वास्तवमा यस्ता विचारहरूका उद्देश्य मानिसलाई दर्शनबाट टाढा राख्न खोज्नु हो । हाम्रो समाज विभिन्न वर्गमा विभाजित छ । प्रत्येक वर्गको कुनै एउटै विश्व दृष्टिकोण हुन सक्दैन ।

एउटा वर्गको एउटा दर्शन हुन्छ, अर्कोको अरु नै । मजदूर वर्ग र अन्य श्रमजीविहरूको जीवन स्थिति पूँजीपतिहरू र सामन्तहरूको भन्दा बेग्लै किसिमको हुन्छ । देश र विदेशमा घटिरहेका घटनाहरूको बारेमा हेर्ने दृष्टिकोण पनि अलग अलग हुन्छ । संसारमा कुनै यस्तो दर्शन छैन जसलाई निष्पक्ष भन्न सकियोस्, जसले कुनै सामाजिक व्यवस्था, संस्थाहरू र रिवाजहरूद्वारा प्रहार या रक्षा गर्नमा नै प्रयोग गरिएको छ । दर्शनको प्रत्येक तर्कको पछाडि अलग अलग विचारधाराहरू हुन्छन्— रहनसहनका अलग अलग तरिका, अलग अलग रीतिरिवाज, सामाजिक व्यवहारको अलग अलग रुप, दिनहुँका समस्याहरूका अलग अलग समाधान इत्यादि ।

वर्गीय समाजमा दर्शन सधैँ विरोधी वर्गको हातमा बलियो हतियार बनेको छ । मार्क्सवादी दर्शनले, दर्शन भनेको वर्गस्वार्थ अनुकूल बनेको हुन्छ भन्ने कुरोलाई मान्ने मात्र होइन, यस कुरोको पुष्ट्याँइ पनि गर्ने गर्छ यो नै मार्क्सवादी दर्शनको विशेषता हो । यो स्वभाविकै हो कि संसारभरिका मजदूरहरू आफ्नो सीमित स्वार्थको लागि मात्र होइन— बरु शोषणविहीन वर्गमुक्त समाज निर्माण गर्नको लागि संघर्ष गर्ने गरेका छन् । संसारमा बास्तविक शान्ति ल्याउने महान उद्देश्यको लागि संघर्ष गर्ने मजदुरहरूको पवित्र भावना बुझेका शोषित पीडित जनसमुदायले नैतिक तथा भौतिक रूपबाट सहयोग गर्छन् ।

मजदुर र शोषित पीडित जनताले के चाहन्छन् ? यो कसैबाट पनि लुकेको हुँदैन । शोषक वर्गको सत्ता र स्वार्थ विपरित भएको हुँदा तिनीहरूले आफ्नो शोषक–समाज मार्क्सवाद विरोधी हुन्छ, मार्क्सवादी दर्शनले शोषक वर्गलाई समाप्त पारेर मानव कल्याण कसरी गर्न सकिन्छ त्यो बाटो देखाउने गरेको छ । मजदुर वर्गले आफ्नो ऐतिहासिक कर्तव्य तब मात्र पुरा गर्न सक्ने छ जब उसले दर्शनको ज्ञान प्राप्त गर्न सक्छ । तर यो ज्ञान मात्र आर्थिक लडाइबाट प्राप्त गर्न सकिँदैन, न त यसलाई पाउनको लागि राजनैतिक प्रचारमात्र प्रयाप्त हुनेछ । यस उद्देश्यलाई प्राप्त गर्नको लागि यो आवश्यक छ मजदुर वर्ग सिद्धान्तबाट लेस हुनु पर्दछ र सही दर्शनको बारेमा समझदारी हुनु जरुरी छ ।

लेनिनले भन्नुभएको छ— ‘‘मानिसहरू सधैँ थाहा भएको या नभएको व्यवस्थाद्वारा नराम्रो किसिमको शिकार बनिरहन्छ र तबसम्म यस्तो भइरहने छ जबसम्म उसले यो थाहा पाउने छैन, सबै आचार, धर्म, राजनीति र सामाजिक मान्यताहरू, विश्वास र घोषणामा कुनै न कुनै वर्गको स्वार्थ लुकेकै हुन्छ । मार्क्सवादी दर्शन मजदुरवर्गलाई त्यो दासताबाट मुक्तिको बाटो देखाउँछ जसको साङ्गलामा तिनीहरू कैद छन् ।’’

लेनिनको यस कथनको वास्तविकता हामीलाई तब मात्र हुनेछ जब हामीले थाहा पाउने छौँ, भौतिकवादले नै मजदुरवर्गलाई, वर्तमान समाजलाई बुझ्ने ज्ञान दिन सक्छ, तिनीहरूलाई संगठित हुने बाटो देखाउन सक्छ, उनीहरूलाई बताउन सक्छ कि कुन किसिमबाट वर्तमान समाजलाई परिवर्तन गर्न सकिन्छ साथै कसरी नयाँ समाजको स्थापना गर्न सकिन्छ । यसकारण यस्तो दर्शनको ज्ञान बिना मजदुरवर्ग अगाडि बढ्न सक्दैन । श्रमजीवी मजदुरवर्गको इतिहासले यस कुरोलाई प्रष्टाउँछ कि मजदुरवर्गको शत्रुले मजदुरवर्गको दर्शन— मार्क्सवादी समाप्त पार्नको लागि लगातार कोसिस गरिरहेका छन् ।

मजदुरवर्गका महान संस्थापकहरू र कम्युनिष्ट आन्दोलनले मार्क्सवादी दर्शनलाई भ्रष्ट पार्न खोज्ने षड्यन्त्रको विरुद्ध लगातार संघर्ष गरेका थिए । वर्तमान अवस्थामा पनि यो लडाइ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संशोधनवाद र वामपन्थी भड्कावजस्तो विकृतिको विरुद्ध जारी नै छ । मार्क्सवादी दर्शन कति महान् छ ? यसको प्रमाण श्रमजीवी जनताले आफ्नो अनुभवबाट पाएका छन् । बहुसंख्यक मानिस— आर्थिक संघर्षमा मार्क्सवादी नेतृत्व स्वीकार्दछन् तर मार्क्सवादी दर्शनको ज्ञानको अभावमा ती मानिसहरू प्रतिगामी शक्तिको आकर्षक नारामा भुल्ने पनि गर्दछन् । चाहे जतिसुकै ठूलो सङ्घर्ष गरिएको होस् जबसम्म जनताहरू मार्क्सवादी दर्शनबारे दीक्षित हुँदैनन्, तबसम्म शोषक वर्गको विचारधाराबाट नै प्रभावित रहने छन् र संघर्षको उपलब्धि लुटेरा शोषक वर्गले नै हात पार्नेछन् । यिनै कुराहरूले दर्शनको महत्त्वलाई प्रष्ट पार्दछ ।

हाम्रो देशमा जहाँ मानिसहरू अहिलेसम्म पूरानै विचारहरूको प्रभावमा छन्, जहाँ सभ्यता र सीप एकदम पछाडि परेको छ, मानिसहरू सामन्ती र पूँजीवादी दर्शनको एकदम छिटो सिकार बन्दछन्, यिनै कुराहरूले मानिसहरूको प्रगतिको बाटोलाई छेकिराखेको छ ।

आफ्नो वरिपरिको वस्तु अथवा संसारमा भइरहेको घटनाहरूलाई हेर्ने हो भने तिनीहरूमध्ये थुप्रै— जस्तो ढुङ्गा, रुख, चेतन पदार्थ, पानी इत्यादिलाई हामी आफ्नो हातबाट छुन सक्दछौँ, आँखाले हेर्न सक्दछौँ साथै तिनीहरूको वजन जोख्न सक्दछौँ । तिनीहरूको अस्तित्व मानिसको चेतनाभन्दा बाहिर स्वतन्त्र रुपमा छन् । हामी तिनीहरूलाई हेरेर, सुनेर, छोएर, सुँघेर तथा चाखेर ज्ञानेन्द्रियहरूद्वारा अनुभव गर्न सक्दछौँ । तर केही अलग किसिमका क्रियाहरू पनि छन् जस्तो कि विचार र इच्छाहरू— जसलाई हामी जोख्न सक्दैनौँ, हेर्न सक्दैनौँ र सुँघ्न सक्दैनौँ । ती मानिसको चेतनामा नै हुन्छ ।

भौतिक वस्तु तथा घटनाहरू ती हुन् जुन हाम्रो चेतनामा होइन, बरु त्योभन्दा बाहिर अवस्थित छ । तिनीहरू मानिसमाथि निर्भर रहँदैन । तिनीहरू आफ्नो स्वतन्त्र वस्तुगत अस्तित्व राख्दछन् । यदि मानिस रहेन भने पनि ती वस्तुहरू अवश्य रहन्छन् । घटनाहरूको अर्को रुप चेतनासँग सम्बन्धित छ, जसलाई मानसिक क्रिया भनिन्छ । त्यसमा विचार, अनुभव, भावनाहरू, इच्छाहरू सबै समावेश छन् ।

यिनीहरू मानिसभन्दा बाहिर कुनै अस्तित्व छैन । यसकारण स्पष्ट छ, पहिलो किसिमको घटनाहरू प्रकृति र पदार्थ अथवा विचार र चेतनामा पहिलो कुन ? अथवा के मन र चेतनाले प्रकृति र पदार्थलाई जन्म लिएको हो ? अथवा प्रकृति र पदार्थले मानव चेतनालाई ? यो दर्शनको प्रमुख प्रश्न हो जसलाई अलग अलग दार्शनिकले फरक फरक उत्तर दिन्छन् । कोही भन्दछन्, पदार्थ पहिलो हो र यसैबाट मन र चेतना जन्मिएको हो । उनीहरूको लागि प्रत्येक वस्तु पदार्थबाट सुरु हुन्छ, यसकारण उनीहरूलाई भौतिकवादी भन्ने गरिन्छ । जसले मन र चेतनालाई प्रमुख मान्दछन्, अनि पदार्थ र प्रकृतिलाई मन र चेतनाको रचना मान्दछन् । उनीहरू अनुसार प्रकृति कुनै अदृश्य शक्तिको रचना हो— उनीहरूलाई अध्यात्मवादी भनिन्छ ।

संसारका दार्शनिकहरू यिनै दुई भागमा बाँडिएको छ । दर्शनशास्त्रको क्षेत्रमा यिनीहरूले सधैँ एकले अर्काको विरोध गरेका छन् ।

प्रत्येक विचार–पद्धति आफूमा आफ्नो समयको प्रवृत्तिहरू धारण गर्छ र त्यसलाई प्रकट गर्दछ तसर्थ यसलाई सही रूपमा तब बुझ्न सकिन्छ जब हामी त्यस दृष्टिकोणलाई पहिले ग्रहण गरौँ जसबाट संसारको व्याख्या गर्न, साथै त्यो स्वाभाविक प्रेरणा पनि बुझ्ने प्रयत्न गरौं जसको कारण उक्त विचारपद्धति सम्भव हुन पनि सक्यो । बुद्धको जन्मभएको समयमा आर्यभूमिमा कसैको पनि एकछत्र साम्राज्य थिएन तर खास–खास गणजातिहरू र गोत्रहरूको शासक राजाहरू भने थिए । जो आफ्ना छुट्टै स–साना राज्य निर्माण गर्न प्रयत्नतरत रहन्थे । विभिन्न स्थानीय भाषाहरूको प्रयोग हुन्थ्यो र संस्कृतले सामान्यतः पवित्र भाषाको मान्यता पाएको थियो साथै वेदले रहस्यमय पवित्र ग्रन्थको रूपमा मान्यता पाइसकेको थियो ।

त्यस समयमा पौरस्त्यका प्रसिद्ध ६ दार्शनिक सम्प्रदायहरूको पूर्णविकास भइसकेको थिएन । यद्यपि त्यस किसिमको कल्पनाको भाव जसको कारण उक्त दर्शनपद्धतिहरूको रचनापछि गएर सम्भव हुन सक्यो । त्यस समयमा आफ्नो कार्य भने गरिरहेको थियो । त्यस समय सम्पूर्ण वातावरण परस्पर–विरोधी मन्तव्यहरू र कल्पनाहरूको एउटा शशीभूत पुञ्जले परिपूर्ण थियो । जसलाई एउटाले अंगीकार गर्थ्यो त अर्कोले मान्न निषेध । जो व्यक्तिको साथमा बदलिन्थ्यो एवं वैयक्तिक आचरण, भावनाहरू एवं तिनको निर्माताहरूको आन्तरिक इच्छाहरूलाई प्रतिविम्बित गर्दथ्यो ।

त्यस समयमा जगत र आत्माको नित्यता, अनित्यता, अथवा दुई मध्ये एउटा वास्तविकता, मृत्युपछि पनि आत्माको अस्तित्व एवं इच्छाको स्वतन्त्र आदिको विषयमा संवाद आफ्नो पूर्ण विकसित अवस्थामा आइसकेको थियो ।

केहीले परमेश्वरलाई सर्वोपरि स्वीकार गर्दथे । केही परिष्कृत अध्यात्म–विद्यासम्बन्धी कल्पनाहरूको निर्माणमा व्यस्त थिए । यसको विपरीत, अर्कोतिर त्यस्ता पनि थिए जो ती कल्पनाहरूको खण्डन गर्नमा नै परिश्रम गरिरहेका थिए । त्यस समयमा हामी निग्गण्ठ भेट्दछौँ जसले आफूलाई सबै बन्धनहरूबाट मुक्त भएको भन्दथे । श्रमण भेटिन्थे अर्थात् यस्ता तपस्वी जो ब्राह्मणहरूभन्दा पृथक, र जसले संसार त्यागेमा मात्र आत्माले शान्तिलाभ पाउँछ भन्दथे ।

यस्ता पनि थिए जसले आत्मनियन्त्रणको लागि दीर्घकालसम्म अन्नग्रहण गर्न त्यागिदिन्थे । यस्ता पनि थिए जसले आफ्नो आत्माभिमानको कारण आफूभन्दा ठूलो ज्ञानी अरुलाई ठान्दैनथे । जस्तो सच्चक, जसले घृष्टताको साथ यहाँसम्म भन्यो, ‘‘यस्ता कोही पनि श्रमण, ब्राह्मण, शिक्षक, आचार्य अथवा कुनै सम्प्रदाय–विशेषको प्रधान–भलै उसले आफूलाई पवित्रात्मा, सर्वोपरि बुद्ध नै किन नभनोस्— छैन जो यदि शास्त्रार्थ गर्न मेरो सम्मुख पर्ने साहस गरेमा नलर्बरियोस्, काम्न नथालोस् र डरले गर्दा पसिनै पसिनाले निथ्रुक्कै नभिजोस् । र यदि म एउटा जड खम्बामा पनि आफ्नो वाणीले प्रहार गरे भने त त्यो पनि लरबराउँछ र काम्न थाल्छ, अनि त मनुष्यको बारेमा के भन्ने ।’’

अध्यात्मविधातर्फ प्रवृत्त रहने ती मानिस हुन् जो कल्पनापरक साहित्यको मार्गबाट स्फूरित हुँदा हुँदै पनि सत्य ग्रहण गर्न सक्तैनन् । पारलौकिक कल्पनाहरूको सूक्ष्मविभेदले अथवा अविराम प्रश्नात्मक प्रवृत्तिले, अथवा दार्शनिक सम्प्रदायहरूको जटिल वाद–विवादद्वारा तर्कलाई सूक्ष्म र परिमार्जित गर्नाले आत्माको मोक्ष प्राप्ती गर्न सक्दैन । विचारको क्षेत्रको अव्यवस्थाले नैतिक क्षेत्रमा पनि अव्यवस्था ल्याउँदछ । बौद्धधर्ममा अध्यात्मविद्या या परलौकिकशास्त्रको जे जति विषय हामी पाउँदछौँ त्यो मौलिक ‘धम्म’ होइन, अपितु त्यसमा पछिबाट थपिएको हो, अर्थात् अभिधम्म हो ।

बौद्धधर्म अनिवार्यरूपले मनोविज्ञान, तर्कशास्त्र र नीतिशास्त्रको समुच्चय हो । त्यसमा अध्यात्मशास्त्र सन्निविष्ट छैन । त्यस समय देवी–देवताहरू र प्रेतात्माहरूको नै शासन जनसाधारणहरूको मनमा थियो, जसमा खती पुगाउने र दुःख दिने शक्ति थियो । साथै खुसी भएर वरदान दिने र गौरवान्वित गरिदिने पनि शक्ति थियो । धेरैजसो मानिस वैदिकधर्मलाई बडो श्रद्धासाथ मान्दथे, जसरी यूरोपका ती मूर्तिपूजा गर्नेहरूले जसरी धनी–सम्पन्नशाली बन्ने अभिलाषा लिएर अग्निदेवता सम्मुख शिर झुकाउँदथे र आफ्नो गृहसामग्रीको दशौं भाग अर्पण गर्दथे, बिमारीबाट छुटकारा पाउनको लागि एस्कूलापिअस नामक देवतालाई भाले चढाउँदथे ।

ती मानिस देवताहरूलाई प्रसन्न पार्न लागिरहन्थे । यहाँसम्म कि एकेश्वरवादीहरूको परमेश्वरलाई यदि कसैले अपहेलना गरेमा क्रुद्ध बन्दथे र क्रोध शान्त भएपछि क्षमाशील पनि थिए । परमेश्वर प्रतिशोधको स्वभाव भएको युद्धदेवता, हामीसँग जस्तो चाहन्थ्यो व्यवहार गर्दथ्यो र युद्धमा हामीलाई शत्रुहरूसँग सामना गर्ने आदेश दिन्थे । धू्रमकेतु उसको कोपको प्रतीक थियो, जसलाई पापपूर्ण संसारमा चेतावनी गराउन निमित्त प्रेषित गरिएको थियो । चमत्कार त्यस समयमा साधारण घटना मानिन्थ्यो । यदि हामी खराब छौँ त उत्तरदायी त्यही परमेश्वरको हो, यदि राम्रा छौं भने तब पनि उत्तरदायी त्यसैको हो ।

प्रत्येक पापकर्म परमेश्वरको नियमको उल्लङ्घन हो र उसलाई खुसी पार्ने एउटामात्र उपाय पश्चाताप गर्नु एवं धूलोमा लडीबुडी गर्नु हो । मानिस पापको स्वाभाविक परिणामहरूप्रति उदासीन रहन्थे, यद्यपि मौलिक रूपले कर्मप्रति निष्ठा देखाउने गर्थे । परिणाम त धर्मलाई जीवनभन्दा अलग ठान्दथे र परमेश्वर एवं संसार एक अर्काका विपरीत थिए । परमात्माको विषयमा मिथ्या विश्वासको कारण मानिसको नैतिक जीवनमा ठूलो क्षति पुग्यो । यस संसारमा आधार शास्त्र र धर्मलाई एक अर्कामा मिश्रित गरिदिएको हुँदा कतिपय खराबी भयो— यसको अनुमान लगाउन गाह्रो छैन ।

यस कल्पनाको आधारमा संशयवादीहरूको लागि सदाचारी हुनु आवश्यक छैन । कमजोर विश्वास भएको व्यक्तिले सदाचारनीतिको आज्ञा अवहेलना गर्यो भने कुनै आश्चर्य हुँदैन । एउटा यस्तो धर्मको प्रचारद्वारा जसले यस्तो घोषणा गर्न सकोस्, जस्तो— प्रत्येक मनुष्य पुरोहितहरूको मध्यस्थता नलिएर अथवा देवी–देवताहरूमा विश्वास नगरेर पनि आफ्नो लागि मोक्ष प्राप्त गर्न सक्दछ, जसले मानवीय स्वभावप्रति प्रतिष्ठालाई बढाएर नैतिकताको भावनालाई पनि उन्नत पार्नेछ । बुद्धको प्रचारको उपरान्त प्राकृतिक नियमहरूको स्थिरता एवं व्यापकतामा विश्वासले एक किसिमले मानवीय आत्मामा स्वाभाविक अन्तः प्रेरणाको रूप लियो ।

कर्मको सिद्धान्त यसको व्याख्या गर्नको लागि पर्याप्त छ । बुद्ध उपनिषद्को कल्पनाको समर्थन गर्दै सेंट पालका निर्णयको पूर्वकल्पना गर्दछन्, जब उनी भन्दछन्, ‘‘आश्चर्य छ ईश्वरको विवेक, एवं ज्ञानको विपुल राशि यति अगाध छ, एवं उसको निर्णयहरूको पनि खोजी गर्न सकिन्न, उसको कार्य गर्ने पद्धति पनि थाहा पाउन सकिन्न ।’’

यसकारण उनका शिक्षाहरू तुच्छ मिथ्या विश्वासको अस्त–व्यस्त अवस्थामा मिसिएर हरायो । शाक्य बुद्धको मनमा विचार आयो, म यहाँ यस जम्बू द्वीपमा जन्मिएको छुः यस्ता मानिसहरूको बिचमा जसको अगाडि तिर्थिकाहरू अथवा सत्यको प्रकाशकहरूले घेरिरहनाले बौद्धिक मुक्तिको कुनै आशा बचेको थिएन । र यो यस्तो समय थियो जबकि उनको अन्तर्निहित शक्तिहरू विषयाशक्ति रूपी गोहीको पकडमा पर्नाले वक्र गतिमा आएको थियो ।

मूर्ख व्यक्तिहरू मध्ये कतिपय त यस्ता थिए । जसले आफ्नो मन्त्रहरूको अर्थ पनि बुझ्न सक्दैन थिए । केही त आफ्नो हात चाट्दथे । केही भने एकदम मलिन थिए । केहीलाई त मन्त्रको पनि ज्ञान थिएन । केही अरू धर्मशास्त्रको खोजीमा यताउती डुल्दथे । केही यस्ता पनि थिए गाई, हरिण, घोडा, सुंगुर, बाँदर अथवा हात्तीजस्ता पशुको पूजा गर्दथे । कोही आफ्नो तपश्चर्या साधनाको लागि धुवाँ र आगोलाई पनि निल्ने प्रयत्न गर्दथे साथै सूर्यतर्फ एकहोरो हेरिरहन्थे, पंचाग्निपूजा गर्दथे, एउटा खुट्टाको भरमा उभिन्थे भने कोही चाँहि एउटा हातमाथि उठाइरहन्थे, यानी विविध कष्टहरू सही रहन्थे ।

यस्ता पनि मानिस थिए जसको भनाइ थियो, तपस्याद्वारा देवताहरूलाई आफ्नो अनुकूल बनाउन सकिन्छ । मिथ्या विश्वासको बर्बरताले त्यागको सौन्दर्यलाई मलिन पारिदियो, अथवा यसो भनौं कपलक्क निल्यो । साधारण मानिसहरू मित्थ्या विश्वासको विविध क्रियाकलापहरूमा एवं अनुष्ठानहरूमा फसेका थिए जसको विधान यस्ता मानिसहरूले बनाएका थिए जो आफ्ना अन्धभक्तहरूद्वारा दिइने भोजनमा पालिएका थिए र जसलाई बुद्धले ‘‘प्रवचक एवं नाम मात्रको पवित्र शब्द उच्चारण गरेर पेट पाल्ने निकम्मा, अल्छी, शुभ–अशुभ बताउने, भूत–प्रेत भगाउन जान्ने, सधैं ठगिगरिरहने आदि नामले सम्बोधन गर्दथे ।’’

बुद्धको मनमा यस्ता वास्तविक ब्राह्मणहरूको लागि जसले ब्रह्मको सन्देश भन्न सक्दथे, ‘‘मलाई सुन अथवा चाँदी केही पनि चाहिँदैन, न म सुन, चाँदीको मोहमा नै पर्दछु’’, हार्दिक प्रशंसाको भाव थियो । धन–सम्पत्तिद्वारा मोक्ष प्राप्त गर्ने पद्धतिले मानवीय हृदयको अन्तस्तलका आवश्यकताहरू समाधान गर्न सक्तैन । बुद्धले सम्पूर्ण मिथ्या विश्वासीहरू जसलाई साधारण मानिस धार्मिक नियमहरूको अभिन्न अङ्ग मान्ने गर्दथे, पूर्णत खोक्रो पाए । बुद्धले देवताहरूको दिव्यताको खण्डन गरे । मानिसहरू आत्मा परिवर्तन चाहिरहेकोथ्यो तिनीहरू मिथ्यावादीहरूको विश्वास टुटनाले कुनै राम्रो सिद्धान्तको खोजीमा लागेका थिए । बुद्धले सत्यप्रति हृदयमा उब्जने स्वाभाविक अभिलाषातर्फ संकेत गरे र भने कि त्यही शिव र सुन्दर हो ।

जस्तो युनान देशमा प्लेटो र अरस्तूको महत्वपूर्ण अध्यात्मविद्यासम्बन्धी दर्शन पद्वतिहरू पश्चात स्टोइक र एपिक्यूरियनको नैतिक कल्पनाहरू आयो, ठीक त्यसैगरी प्राचीन आर्यावर्तमा पनि भयो । यदि नीतिशास्त्रको निर्माण अध्यात्मशास्त्र अथवा परमार्थविद्या जस्तो बालुवाको घर बनाउने हो भने त त्यो निश्चय नै भत्किन्छ । प्राचीन बौद्धधर्मले परमेश्वरको पूजाबाट मानिसको ध्यान हटाएर, मनुष्य समाजको सेवा गर्नेतर्फ आफ्नो प्रत्यक्षवादसँग सादृश्य राख्दछ ।

एउटा यस्तो धर्म प्रवर्तन श्रेय सिद्धार्थ गौतमलाई छ जसले रुढी–वादी, पुरोहितवर्गको आधिपत्य, एवं यज्ञ–याग–सम्बन्धी निरर्थक क्रिया–कलापबाट सर्वथा मुक्त दिए र जो हृदयको आन्तरिक परिवर्तन र आत्मसंस्कृतिमा धेरै जोड दिन्थे । उनले स्पष्ट घोषणा गरे— चरित्रलाई निर्दोष बनाएर पुण्यकर्ममा प्रवृत्त हुँदामात्र मोक्षलाभ प्राप्त गर्न सकिन्छ । बुद्धकाअनुसार, सत्य अज्ञानको कारण नै संसारमा सबै किसिमको दुःखहरूको सृष्टि भएको हो । प्राचीन बौद्धमतको शिक्षाहरूमा हामी तीनवटा सुस्पष्ट विशेषताहरू पाउछौं, अर्थात्— एक किसिमको नैतिक तत्परता, परमार्थ विद्यासम्बन्धी प्रवृत्तिको अभाव एवं अध्यात्मशास्त्रसम्बन्धी कल्पनाप्रति अरुचि अथवा त्यसबाट विमुखता ।

बुद्धको समयमा जबकि आत्मजिज्ञासा एवं आत्मपरीक्षाको साथ साथै मानिसहरूले धेरै तीक्ष्ण दृष्टिको साथ ती सबैलाई जो त्यतिबेलासम्म कुनै विचार बिना नै स्वीकार गरिएको थियो— हेर्न थाले, जुन असम्भव थियो । विश्वास गरेर आलोचना बिना नै छाडिन्थ्यो । बुद्धले समीक्षक भावनालाई ग्रहण त गरे तर त्यसको मर्यादा पनि तोक्न उचित ठाने । उनका विचारपद्धतिहरू र क्रियात्मक प्रयोग एक किसिमको व्यावहारिक कल्पनाहरू नै त हो, जसद्वारा परवर्ती समयको मनुष्य आफ्ना महत्त्वाकांक्षाहरूलाई पूर्ण बनाउने प्रयत्न गर्दछन् र बढ्दै गएको ज्ञान एवं उन्नतिशील आन्तरिक प्रेरणामा सामन्जस्य स्थापित गर्दछन् । संशयवादको भावनाले आफ्नो कार्य आरम्भ गर्यो ।

विवेकी विद्वान धेरै विस्तृत कल्पनाहरूको निर्माणमा निमग्न थिए । जसको आधारमा जीवनयापन सफल हुन सकोस् एवं जसद्वारा मनुष्यको स्वाभाविक महत्त्वाकांक्षाहरूको, जसलाई उच्छेद गर्न सकिन्न, अनुभवहरूबाट प्राप्त सामग्रीसँग सामञ्जस्यता ल्याउन सकिन्छ । प्रचलित मिथ्या विश्वासहरूको विरुद्ध जुन प्रतिक्रिया आफ्नो स्थान जनतामा बनाइरहेको थियो त्यसले बुद्धको मनलाई प्रभावित गर्यो । उनले आफ्नो युगको भावनालाई लक्ष्य गरे र विवेकी पुरुषहरूको सन्दिग्ध र क्रमविहीन भावनाहरूलाई वाणी प्रदान गरे, जसले गर्दा उनी प्रकटरूपमा जनताको अगाडि आउन सके ।

हेगेल कुनै प्रतिभाशाली व्यक्तिको उसको युगसँग कस्तो सम्बन्ध हुन्छ यसको तुलना यस्तो व्यक्तिसँग गर्दछ जो कुनै बुट्टा कुँदिएको आकर्षक छतमा अन्तिम ढुङ्गा त्यसलाई बलियो पार्नको लागि लगाउँछ । बुद्धको हात यस्तै किसिमको एक महान कलाकारको हात थियो जो आफ्नो समयको संसारकै महानतम विचारक थिए । जहाँ एकातिर बुद्धका विचारपद्धति प्रचलित समीक्षाको लहरको अभिव्यक्तिमात्र थियो, त्यही अर्कोतिर आफ्नो उद्देश्यद्वारा प्रचलित समीक्षाको लहरलाई प्रतिकूल दिशामा घुमाएर यथार्थसत्ताको आध्यात्मिक अर्थहरूमा (धार्मिक अर्थमा होइन) सत्य विचारलाई सृदृढ पार्नु पनि थियो ।

हामी बुद्धलाई हेतुवादी भन्न सक्दैनौँ किनभने हेतुवाद या मुक्तिवादको परिभाषामा ‘धार्मिक विश्वासहरूलाई नष्ट गर्नको लागि तर्क प्रयोगको जुन मानसिक प्रवृत्ति छ त्यही आउँदछ ।’ एउटा निरपेक्ष सत्य जिज्ञासु भएको हुँदा उनले आफ्नो मनमा कुनै किसिमको पक्षपातलाई अघिबाटै ठाउँ दिनुभएन । अलौकिक ईश्वरको विषयमा बुद्ध आधुनिक वैज्ञानिकहरूसँग एकमत हुनुहुन्छ, जसको सम्मतिमा प्राकृतिक घटनाहरूको व्याख्यामा कुनै अलौकिक सत्ताको हस्तक्षेपको प्रवेश हुन हुँदैन । यस कुरोलाई राम्ररी अनुभव गर्नको लागि यस्तो समय जब सबै किसिमको विश्वास उपर श्रद्धा घटिसकेको थियो ।

श्रद्धामा जोड दिनाले कुनै लाभ हुँदैनथ्यो, उनले तर्क र प्रत्यक्ष अनुभवमा धेरै भर पर्नुभयो र आफ्नो मततर्फ जनसाधारणलाई आकर्षित गर्नको लागि तर्कबल मात्र प्रयोग गरेका छन् । उनले कहिले पनि आफूलाई अवतार हुँ भनी प्रचार गर्न उचित ठानेनन् । उनी आफ्ना अनुयायीहरूका अगाडि ती अनुभव मात्र प्रस्तुत गरे जसबाट उनी स्वयमले पालनगरी बुझेका थिए र उनले अनुयायीहरूलाई प्रेरणा दिने गर्दथे, ‘तिमीहरू आफ्नोतर्फबाट पनि मेरो विचारहरूलाई व्यवहाररूपी कसीमा जाँचेर यथार्थ बुझ अनिमात्र पालन गर ।’

बुद्धले मानिसहरूलाई मोक्ष दिलाउने कार्य गरेनन् , बरू त्यस पद्धतिको उपदेश दिने गर्थे जसलाई पालन गर्नाले तिनीहरू आपसेआप मोक्षप्राप्त गर्न सक्दछ, जसरी उनले सत्य प्रचारबाट आकृष्ट हुन्थे, यसकारण होइन कि बुद्धले यस्तो भनेका थिए, तर उनको वाणीबाट जागृति प्राप्त गरेर उनको मतहरूको प्रकाशमा, जे जति उनले उपदेश दिए, सुन्नेको वैयक्तिक ज्ञान उदय हुने गर्थ्याे । यसैगरी दुःखले व्याकुल मनुष्य–मनमा आफ्ना विचारहरूको यथार्थ एवं पक्षपातरहित निष्कर्षहरूलाई अभिव्यक्तिद्वारा आध्यात्मिक उन्नतिको मन्त्र फूके । यस किसिमबाट अध्यात्मशास्त्रसम्बन्धी कल्पनाहरूलाई एकातिर राखेर उनले अनुभवमा पाइएको यस जगतमा कानून र व्यवस्थाको शासनको खोजी गरे ।