राष्ट्रिय गानको सन्दर्भमा हामी यस्तो पुस्ता हौँ जसले दुई थरी राष्ट्रिय गान देख्यो । राष्ट्रिय गान परिवर्तन भएपछि हामी अधिकांशले त्यसलाई सिक्नका लागि कागजमा लेख्यौँ ।

म अचेल आफूलाई फ्रान्सेली भएको महसुस गर्छु । महसुस गर्नु र हुनु चाहिँ फरक हो । मैले किन महसुस गर्छु भने म केही फ्रान्सेली खानाहरू रोटी, चिज र वाइनसँग अभ्यस्त हुँदैछु । मन नपरे पनि अरुका कुराहरु सुन्ने फ्रान्सेली स्वभावमा मैले पनि ग्रहण गरिरहेकी छु । आफ्ना कमजोरीहरुलाई सजिलै लिने र मानिस कहिल्यै पूर्ण हुँदैन भन्ने मूलमन्त्र पनि फ्रान्सेली मन्त्र हो । आफ्नो भाषालाई सामान्य ज्ञानको नम्बर एक प्राथमिकतामा राख्ने तरिकासँग पनि म परिचित हुँदैछु । कहिलेकाहीँ फ्रान्सेली भाषामा सपना देख्दा अचम्म महसुस हुन्छ । नेपाली साथीभाइ या परिवारका सदस्यसँग नेपाली बोल्न खोज्दा फ्रान्सेली शब्दहरु आफैँ घुस्रिन आइपुग्छन् ।

यसको मतलब यो होइन कि म फरर फ्रान्सेली बोल्छु । अरुले जे बोलेका छन् सबै बुझ्छु । यो कदापि होइन । सबै बुझ्नका लागि मैले निकै प्रयत्न गर्छु तर सक्दिनँ । मैले बोलेको फ्रान्सेली भाषामा एक खालको नेपाली ‘लबज’ भेटिन्छ । यो ‘लबज’ मिठो लाग्छ रे मानिसहरुलाई अनि यसकै आधारमा तिमी अब फ्रान्सेली बन्यौ भनेर सोध्ने गर्छन् ।

यो मेरो मात्र कथा होइन । बेलायत, अमेरिका या अष्ट्रेलिया जता हुनुहुन्छ तपाईँ त्यहाँ पनि तपाइलाई यस्तै महसुस भएको हुनुपर्छ । अझ खासगरी अङ्ग्रेजी नबोल्ने देशमा पुग्नुभएकाहरुको लागि अझ बढी नै यस्तो अनुभूति भएको हुनुपर्छ । तर जो जहाँ पुगे पनि त्यहाँको जस्तै बनेको लाग्दा लाग्दै पनि नबन्नु चाहिँ हाम्रो नियति रहेछ ।

फेब्रुअरीको १८ तारिख हामीले जुम लोजिसियको प्रयोग गरेर कविता वाचन गर्यौं । यो कविता वाचनमा दार्जिलिङ, कालिम्पोग, सिक्किम, फ्रान्स, क्यानडा, अमेरिका र बेलायतबाट सहभागी मित्रहरुका सिर्जनशिल कविता । यो क्रममा अमेरिका बस्ने नारायण श्रेष्ठले भनेका थिए, ‘आफ्नै तस्बिर हेरेर दङ्ग छु कि म उदाङ्ग छु म, पानी भरिएको फ्रेममा आफैँलाई हेर्न नसक्ने म अमूर्त छु ।’

हामीहरु विदेशी भूमिमा अभ्यस्त हुँदैछौँ र आफ्नोपन छाड्दैछौँ । म पनि यही क्रममा ग्रुजिरहेकी छु ।

फ्रान्सेली जस्तो बनेको मेरो खुसीजन्य अनुभूति त्यतिबेला चकनाचुर हुन्छ, जब मलाई कसैले तिमी त नेपालजस्तो उच्च हिमाली भेगबाट आएको मानिस तिम्रा लागि पेरिसको जाडो के जाडो भन्छ । पेरिसको जाडोसँग नेपालबाट आउनुको के सबन्ध हुन्छ म कुरा बुझ्दिनँ । मलाई थाहा छ मेरो जिउ यहाँकै हावापानीमा यसरी भिजेको छ कि काठमाडौँको किलागलमा ठोकेको किल्ला जस्तै जस्तै बनेको छ । छाला पो मेरो गोरो हुन नसकेको हो त ।

हो मेरो मातृभूमिमा लाखौं हेक्टर हिमशृङ्खला छ । यो श्रङ्खलाले करोडौँ करोड लिटर पानी बरफका रुपमा आफ्नो काखमा जमाएर राखेको छ । जब म मेरो मातृभूमिको सबै ठाउँमा हिँउ पर्दैन बरफ छैन र बर्फिलो जमिनबाट आएको होइन भन्छु अनि उनीहरु आफ्नो शिर अन्तै बटार्न थाल्छन् । यसरी बटार्छन् मानौँ उनीहरु आफ्नो अज्ञानता हासिमजाक नबनोस् भन्ने चाहन्छन् या उनीहरुले मसँग बोल्नका लागि यो विषय समातेका थिए । अनि मलाईँ पुन महसुस हुन्छ कि यिनीहरुका लागि आखिर म विदेशी नै हुँ । कागजमा म फ्रान्सेली बनेको हुन सक्छु तर यिनीहरुलाई यसको के परवाह छ र ?

मातृभूमि र मेरो उत्पत्तिको बारेमा सहि जानकारी बाँड्ने रहर अवश्य मसँग हुन्छ । अनि म मातृभूमिको व्याख्या गर्न म स्वतन्त्र पनि छु किनभने मैले सगर्व व्याख्या गर्न सक्ने चिज नै यही हो । तर पनि कहिलेकाहीँ यस्तो लाग्छ मैले अभिव्यक्ति बिनाको स्वतन्त्रता प्राप्त गरेकी छु ।

जो मानिस निस्फिक्री आफ्नो कुरा बोल्न पाउँदैन या सक्दैन के ऊ स्वतन्त्रै हुन्छ त ?

यस्तो बेला मलाई आफ्नो छायाले आफैँलाई गिजाएको अनुभूति हुन्छ ।

संसारको जुन सुकै कुनामा पुग्ने जो कोहीको आआफ्नो देशको भूगोल र इतिहास छ । सीमाना छ । माटो छ र माटोले दिएको पहिचान छ । राष्ट्रिय गान छ । अनि यो यस्तो गान हाम्रो मातृभूमिको पनि छ । अरुको जस्तै मातृभूमिको पनि निशाना छाप छ । मैले अरु देशको उदाहरण लिन सक्ने कुरा भएन तर म यति चाहिँ निष्फिक्री भन्न सक्छु फ्रान्सेलीहरुको राष्ट्रिय गान फ्रान्सेली क्रान्तिको प्रतीक हो । झन्डै दुई सय तीस वर्ष पहिला रचिएको । हाम्रो मातृभूमिको राष्ट्रियगान केही वर्ष पहिला रचिएको । फ्रान्सेली क्रान्तिले जन्माएको राष्ट्रिय गान र मातृभूमिको राष्ट्रिय गानमा के भिन्नता छ भने फ्रान्सेली राष्ट्रिय गानले अझै पनि नागरिकलाई हतियार बोक्न उक्साउने गर्छ । ले आर्म ओ सितोइँया भन्छ । मातृभूमिको राष्ट्रिय गानले आफ्नो देशको विविधता र सयौँ जात जातिको उपस्थितिको स्विकारोक्ति सयौँ थुँगा फूलका हामी गर्छ ।

फरक परिस्थितिमा सिर्जित यी दुवै राष्ट्रिय गानहरु मध्ये एउटालाई देशभक्तिपूर्ण र बहादुरीको प्रतीक र अर्कोलाई कमजोर भन्न कसरी सकिन्छ र ?

तर मैले के देखेँ भने राष्ट्रिय गानलाई जबरजस्त शक्तिशाली बनाउने पनि कला हुने रहेछ । जस्तो कि सन् २०२० मा फ्रान्समा यति धेरै पटक राष्ट्रिय गान गाइयो रे कि यस अघि इतिहासमा कहिल्यै यस्तो भएको थिएन रे । सन् २०१५ देखि लगातार भैरहेका आतङ्ककारी हमलाले अक्रान्त यो देशका शासक मात्र होइन नागरिकहरु स्वयंले कठिन क्षणमा राष्ट्रिय एकता चाहिने कुरा महसुस गरे । यो चरम निरासा र संकट झेल्न मानिसहरुले सडकमा राष्ट्रिय गान, रंगशाला नाट्याशाला राष्ट्रिय नाचघर राष्ट्रिय गान जताततै राष्ट्रिय गानै गान । बारबार एउटै कुरा दोहरिँदा एउटै वाक्य मन्त्रजस्तो बन्दोरहेछ र राष्ट्रिय गानले मानिसको मन जबरजस्त जोड्दोरहेछ ।

एकपटक पत्रकार शिव गाउँलेले हसाउँदै भन्नुभएको थियो । तपाईंले सीमलको भुवाको कविता बनाउनुहोस् र अन्तिममा भुवा भुवा भुवा भनिरहनुहोस् । कहिले भुवालाई उचाइमा त कहिले भूइँतलामा कहिले मोटाइमा त कहिले तिख्खर बनाएर सयौँ पटक वाचन गर्नुहोस्, मानिसले यही भुवा शब्दलाई उवा बुवा सुन्दा सुन्दै त्यसमै वाह यस्तो पो कविता भन्न थाल्छ र ताली लगाउँछ ।

यो मैले देखेको कुरा हो । भोगेको अनुभव हो । मैले मातृभूमिको खोट निकाल्न यो कुरा लेखिरहेकी छैन तर यताको नागरिक सम्बन्धलाई सिक्रीले बाँधेजस्तो बाँध्ने तरिका देख्दा भने मलाई नागरिकलाई एक बनाउन पनि कला चाहिने रहेछ भन्ने लाग्यो ।

साँच्चै हाम्रो मातृभूमिमा राष्ट्रिय गान कुन बेला गाइन्छ ? विद्यालयहरुमा १० बज्न ठिक पहिला ? कि विश्वविद्यालयका प्राङ्गणमा ? या नेताहरुले लामो लामो भाषण गर्ने मञ्चहरुमा पनि ? भुइँचालोमा ? बाढी पहिरोमा ? या कुनै पनि विपत्तिमा ? राष्ट्रिय विपत्तिमा शोक धुन मात्र बजाउने हो र ?

राजा वीरेन्द्रको वंश विनास हुँदा काठमाडौँमा हुनुहुन्थ्यो तपाईं ? त्यो बेला हामीहरु सबै रोयौँ । दरबार अगाडि रोयौँ । छाउनीको सैनिक अस्पताल अगाडि रोयौँ । आर्यघाटमा रोयौँ तर त्यो बेला हाम्रो रेडियो नेपाल र नेपाल टेलिभिजनले त शोक धुन मात्र बजायो । प्रधानमन्त्रीले हामीहरु विपत्तीमा छौँ । हामीहरु सबै मिलेर राष्ट्रिय गान गाऔँ किन भनेनन् होला ? राष्ट्रिय गान त सबैको साझा सबैका लागि र देशप्रति अपनत्य कायम राखिराख्न बन्ने होइन र ?

यो राष्ट्रिय गान बढो भावनात्मक हुने रहेछ । श्रद्दाले शिर झुक्ने रहेछ । राष्ट्रिय गान शब्द लेख्दै गर्दा मलाई अहिलेको नयाँ गानको सन्दर्भ जोड्न मन लाग्यो । वास्तवमा भन्दा विदेशमा बसेका नेपालीलाई हरेक कार्यक्रममा राष्ट्रिय गान गाउन कुनै अनिवार्यता छैन र आवश्यक पनि छैन । तर अचेल हरेक नेपालीले आफ्नो मातृभूमिप्रति भक्तिभाव प्रदर्शन गर्ने एउटा माध्यम बनाएको छ ।

राष्ट्रिय गानको सन्दर्भमा हामी यस्तो पुस्ता हौँ जसले दुई थरी राष्ट्रिय गान देख्यो । राष्ट्रिय गान परिवर्तन भएपछि हामी अधिकांशले त्यसलाई सिक्नका लागि कागजमा लेख्यौँ । गाउने तरिका फरक । गीतको आशय फरक । कस्तो कस्तो र असुहाउँदो जस्तो अनुभव गर्दा गर्दै अहिले छातीमा हात राखेर यो गान गाउँदा विदेशमा बसेको नेपालीलाई एउटा शब्द छुटेको महसुस हुन्छ त्यो हो सार्वभौम भई फैलिएका मेची महाकालीको सट्टा सार्वभौम भई फैलिएका मीचिदेखि कालीपार हुनुपर्ने थियो । हामी नेपाली अहिले देशको सीमा काटेर मेची नदीपारि र काली नदीपारि हुँदै सातसमुन्द्र पारि भैसक्यौँ । देशको सीमा बाहिर बसेका नेपाली त हाम्रो राष्ट्रिय गानबाट सर्लक्कै छुट्यौँ नि हामी हगि । सात समुद्र पार पुगेका नेपाली बिर्सियो भन्दैमा यो राष्ट्रिय गान कहाँ कमजोर छ र ?

खासमा हाम्रो मातृभूमि साँचो अर्थमा निकै बलियो र स्वतन्त्र थियो र रहनेछ । सबै देशले देशका निम्ति जीवनको आहुति दिनेहरुलाई वीर मानेजस्तै मातृभूमिलाई आहुति दिनेलाई पनि वीर नै भनिन्छ । अझ त्योभन्दा अगाडि बढेर नेपाललाई वीर गोर्खालीको देश भनिन्छ । फरक के छ भने विदेशमा रहेको नेपाली पुस्ताले मिनेट मिनेटमा नेपाल गुमाइरहेको अनुभूति गर्छ । आफू मरेर गएपछि आफूसँगै नेपालको माटोको एक चिम्टी विदेशमै अस्त हुनेछ भनेर पिरोलिन्छ र आफ्ना शाखा सन्तानले आफ्नो पुर्खा र माटोको इतिहास भुल्छ कि भनेर चिन्ता गर्छ ।