मान्छे पनि मूलाजस्तै हो । कहिले परिस्थितिको घैँटोमा खाँदिएर सिन्की बन्छ । कहिले काटेर टुक्राटुक्रा पारेर घाममा सुकेर चाना बन्छ ।  कहिले अचार बनेर महिनौँ डब्बामा खाँदिन्छ । कहिले काँचै नुनचुक लगाएर चपाइन्छ ।

प्रमुखलाई मूल पनि भनिन्छ । मूल मान्छे, मूल पण्डित, मूल पूजारी, मूल देवता, मूल नेता आदि । मूलबाट मूला बन्यो कि मूलाबाट मूल ! जताबाट जे बने पनि मूल भनेको मुख्य अथवा प्रधान हो ।  सबसे ठुलो अथवा महत्त्वपूर्ण ठानेरै माटोमा जन्मने हुर्कने लामोलामो सेतो मानिसले खाने चिजको नाम मूला राखिएको हुनुपर्छ । एक मूलाबाट अनेक परिकार बन्ने भएरै यस्तो विशेष नाम राखेको हो पो कि !

मूलाको यत्रो इज्जत र गरिमा छ । तैपनि कहिलेकाहीँ गाली गर्दा ‘तेरीमा मूला !’, ‘तँलाई मूलाका साग !’ भन्दै गाली गर्छन् । यो मूलाको इज्जत गरेको हो कि अपमान ! मान्छेले सारै रिस उठेको बेला ‘मु’मा आदरार्थी शब्द ‘जी’ लगाएर सम्मान गरेजस्तो गर्दै गाली गर्ने प्रयोजनका लागि मूला भनेका पनि हुन सक्छन् । यो भाषाशास्त्रीले अनुसन्धान गर्दै गर्लान् । मेरो यो अड्कलाईजेसन मात्र हो । केही मूला विरोधीहरुले यस्तो गहन शब्दलाई काम नलाग्ने अथवा निम्नस्तरको भन्ने अर्थमा प्रयोग गरे । यसमा मेरो घोर आपत्ति छ ।

अनि गाली गर्दा ‘मूलाको साग’ भन्नुको मतलब के ? मूलाको यत्रो महत्त्व र शान छ । मूलाको साग भिटामिनयुक्त तथा फाइबरयुक्त हुन्छ । आँखा बिग्रन, पेट बिग्रनबाट बचाउने चिज पो हो । मूलाको साग भन्दै गाली गर्नु  मान कि अपमान । मान हो भने रिसको झोँकमा किन भन्ने, अपमान हो भने हेर्नुस् त महत्त्व र उपयोगिता कति धेरै छ !

मधुसुधन पन्थी

मूला खानका अनेक फाइदा छन् । ग्यास्ट्रिक भएका रोगीहरूलाई यसले ओखतीको काम गर्छ । मुटु रोगी, प्रेसरका रोगी, किड्नीका रोगी पनि यसले लाभान्वित हुने कुरा गर्छन् डाक्टरवैद्यहरू । यसमा विभिन्न भिटामिनहरू पनि पाइन्छन् ।

हिमाल, पहाड, तराई जहाँसुकै यसको उत्पादन हुन्छ । गर्मीमा उम्रन्छु, जाडोमा उम्रन्न भन्दैन् । यो नरिवलझैँ हिमाल, पहाडतिर फल्न नमान्ने चिज पनि होइन । अमिरदेखि गरिब सबैका भान्छामा सहजरुपमा यसको पहुँच पुग्छ । तारे होटलदेखि छाप्रे होटलसम्म जहाँ गए पनि खान पाइन्छ । र्‍यारिसन भन्ने होटल विश्वका विभिन्न मुलुकमा छन् । मूलालाई अङ्ग्रेजीमा र्‍याडिस भन्छन् । र्‍याडिसन नाम पनि र्‍याडिसमा सन थपिएर बने होला । र्‍याडिसन भनेको मूलाको छोरा पो हुँदो रहेछ गाँठे !

मूला राता र गान्टे किन भए थाहा छ ? थाहा नभए थाहा पाउनुस् अब ।

मूला र पिँडालु प्रेमी प्रेमिका रहेछन् । काले झुसे पिँडालुलाई सर्लक्ककी हिउँजस्तै गोरी मूला भएपछि अरु किन चाहियो र ! मूलाले पिँडालुलाई बेलाबेलामा काले, झुसे भन्दै जिस्काउँदो रहेछ । सधैँ जिस्काउने र हेप्ने गर्न थालेपछि पिँडालुलाई एकदिन खुब रिस उठेछ । झोक्किँदै आफ्ना सब कपडा खोलेर नाङ्गै भएर देखाइदिएछ । कपडा खोल्दा त मूलाले आफूभन्दा पनि सेतो, बहुत राम्रो कामुक देखेछ । नाङ्गै भएको पिँडालु देखेर मूला लाजले भुतुक्क भएछ । अनुहार रातो पिरो भएछ । त्यो दिनदेखि त्यस मूलाका सन्तान दरसन्तान रातै भएछन् । यिनीहरूको अन्तरजातीय प्रेमले अमेरिकन प्रेमिका र अफ्रिकन प्रेमीको झल्को पनि दिन्छ । पिँडालु र मूला प्रेमीप्रेमिका भएकै कारण यिनीहरू बहुत मिल्छन् । नपत्याए हेर्नुस् त, मूलाको तरकारी पिँडालुसँग मिसाएर खाँदा झैँ अरु केसँग मिठो हुन्छ ?

आलु र पिँडालुचाहिं मित रहेछन् । गान्टे मुला लामो मूलाकी बहिनी । मूलाकी बहिनी डल्ली रहिछ । आलु र गान्टे मूला दुवै जोडी नपाएर तनावमा रहेछन् । पिँडालुले आलु र सलगमको जोडी मिलाइदियो ।  सालीलाई भिनाजुले मिल्ने जोडी जुराइदिएको अरे । मूलाभन्दा झन् स्वादिली गुणी प्रेमिका पाएर आलु अहिलेसम्म पनि मख्ख छ ।

आलु र मूला एकै ठाउँमा जन्मन्छन् । हुर्कन्छन् । तैपनि यिनीहरू आकाश पाताल फरक छन् । मूलाको मान, सम्मान, इज्जत र प्रतिष्ठा आलुको भन्दा उच्च छ । आलुको छुट्टै अस्तित्व छैन । हरेक दिन धनीगरिबका भान्छामा पाक्छ तर आलुको तरकारी खाइयो कसैले भन्दैन । चार माना आलुमा एक पाउको मूला मिसाएर तरकारी पकाए पनि मान्छेले ‘आलुको तरकारी खाएँ’ भन्दैन । मूलाको सागसमेत खाइन्छ । आलुको साग खाइन्छ त ! मान्छे बिग्रियो भने ‘आलु कुहिएझैँ कुहियो’ भन्छन् । असफल भयो भने ‘आलु खायो’ भन्छन् तर ‘मूला खायो’ भनेर कसैले भन्छ त !

मूलाको गुन्द्रुकको महत्त्व हेर्नुस् त ! पकाउन पनि नपर्ने । उखान नै छ त – सालीलाई फकाउन पर्दैन, सिन्कीलाई पकाउन पर्दैन । ढिंडोसँग पनि ठिक्क, तीनपानेसँग पनि ठिक्क ! मूलामा नुन छर्केपछि सलाद ! मूला र ब्ल्याक लेवलसमेत मिल्छन् । जर्किनको नमिल्ने कुरै भएन ।

हाम्रो देशमा सवा अर्बभन्दा बढीको त चाइनाबाट सिन्की मात्र आयात हुँदो रहेछ । पहिला पहिला कुनै चिज सस्तोमा बेच्न पर्दा ‘सिन्कीका भाउमा फालियो’ भन्थे । अब यो उखानले पनि हावा खायो । अब त मूला उद्योग खोल्नु पर्लाजस्तो पो छ त । मूलाको अचार बनाउने, चाना बनाउने, गुन्द्रुक बनाउने जस्ता काम गर्न मूला उद्योग खोलियो भने मूला किसानले पनि दाम हात पार्थे ।  हाम्रा तारे होटलमा आउने खैरेलाई सिन्कीको झोल चखाएर जिब्रो पड्काउने बनाउनु पर्छ ।  घर फर्कदा एकमाना भए पनि घरका जहानलाई सिन्की लगिदिउँ भन्ने विचार आयो भने त मालामाल भैगो नि !

तरकारीजन्य खाद्य पदार्थमा मूला नै मूल हो । प्राणीहरुमा मान्छे मूल । मान्छेको जिन्दगी मूलाजस्तै रहेछ । मूला अनेक किसिमका हुन्छन् । रातो मूला, सेतो मूला, गान्टे मूला, साठी दिने मूला, असी दिने मूला आदिइत्यादि । मान्छे पनि गोरा, गहुँगोरा, काला, अग्ला, होचा, गान्टे आदिइत्यादि हुन्छन् । व्यक्ति एक – व्यक्तित्व अनेक हुन्छ । त्यस्तै मूला एक – परिकार अनेक  !

मूला छिप्पियो भने काठ पस्छ । काठ पसेपछि न काँचै खान लायक हुन्छ न पकाएर ।  उही मूलाका सिन्की पनि हुन्छ; तरकारी पकाएर खान मिल्छ । उही मूलाको चाना पनि बनाउन सकिन्छ; आचार बनाएर खान सकिन्छ । काँचै खाए पनि हुने । अचार सलाद बनाएर खाए पनि हुने । मुलाका पातको साग पकाएर खाए पनि हुने । मूलाको साग काँचै चपाएर खाए पनि हुने । पकाएर खाए पनि हुने । मूलाका मस्यौरा बनाएर खाए पनि राम्रै हुन्छ । केही तरकारी नहुँदा भुर्लुक्क उमाल्यो, खायो । मूलाको महत्त्व कम हुन्थ्यो भने गायिका ज्योति मगरले ‘उही मूलाको सिन्की, उही मूलाको चाना’ भन्दै गीत गाएर ब्रुकब्रुक उफ्रने र केटाहरूलाई उफ्राने किन गर्थिन् र !

मान्छे पनि मूलाजस्तै हो । कहिले परिस्थितिको घैँटोमा खाँदिएर सिन्की बन्छ । कहिले काटेर टुक्राटुक्रा पारेर घाममा सुकेर चाना बन्छ ।  कहिले अचार बनेर महिनौँ डब्बामा खाँदिन्छ । कहिले काँचै नुनचुक लगाएर चपाइन्छ ।

यसो निधार खुम्चाएर सोच्छु – कहिले पत्रकार बनी टोपलेर चाना बनियो । कहिले मास्टर बनेर सिन्की बनियो । कहिले नेताको झोले बनेर डब्बामा खाँदियो । कहिले कर्मचारी बनेर काँचै सलाद बनियो । अब त यस्तो लाग्छ – काठ पसेको फोक्से मूला जस्तो हुने बेला हुन थाल्यो।  मान्छेले अचार, चाना, सिन्की बनाउन पनि खोज्दैन । उखेल्छ, यसो भाच्छ अनि साला फोक्से लागेछ यार भन्दै बारीमै फालेर जान्छ ।

यसो विचार गर्दा त यस्तो लाग्छ कि – तपाईंहाम्रो जुनी  मूलाजस्तै हो ।  मूलाको डकारजस्तै नभैदिए त बहुत अच्छा जिन्दगी  ! हामी आफूलाई त झन् सानो ठान्दै ठान्दैनौं । हामी मूला सबै ठुलैठुला ! आखिर तपाईंहामी सबै एउटै ड्याङका मूला त हौँ नि !