एउटा कवितामा देश पढ्नु, अनि एउटा कवितामा विश्व पढ्नु कति आश्चार्यजनक हुँदो हो ! तर यो यथार्थ हो ।

यसबेला म आयरिस कवि विलियम बट्लर यिट्स पढिरहेकाे छु । र उनको बहुचर्चित कविता ‘द सेकेण्ड कमिङ्ग’ (दोस्रो आगमन) मा यो देश र यो पृथ्वीतल पढिरहेको छु । एउटा कवितामा देश पढ्नु, अनि एउटा कवितामा विश्व पढ्नु कति आश्चार्यजनक हुँदो हो ! तर यो यथार्थ हो । साहित्य कलाको माध्यमबाट हिजो के थियो पनि पढ्न सकिन्छ, आज के छ पनि पढ्न सकन्छि, अनि भोलि के हुनेछ पनि पढ्न सकिन्छ ।

यस्तै सर्वकालिक एउटा अश्त्र हो काव्य । कविता ।

अर्थात साहित्य ।

अर्थात कला ।

कहिल्यै नबुढिने । कहिल्यै इतिहास नहुने । सधैँ वर्तमान र भविष्य भइरहने ।

यिट्सको कविता ‘द सेकेण्ड कमिङ्ग’ यस्तो छः

जट्टा फैलाउँदै र घुमाउँदै गिद्ध

कसैलाई नसुन्ने भएको छ;

सबै छुट्टिइसके, केन्द्रिविन्दु छुटिसक्यो

संसार अराजकताले छाएको छ,

जताततै खुनको ज्वारभाटा निस्किएको छ

अबाेधताको उत्सव डुबिसकेको छ;

महान आस्थाहरु धूमिल छन्,

सबैभन्दा खराबहरु गोहीका आँशु बगाइरहेछन्

निश्चय पनि अब केही प्रकट हुँदै छ

निश्चय पनि दोस्रोको आगमन हुँदै छ ।

दोस्रोको आगमन ! यी शब्द अब अस्ताउँदैनन्

जब सम्झनाका बिम्बहरु गहिरिरहेका छन्

आँखा धूमिल भएका छन्ः मरुभूमिको बालुवामा

सिंहको शरीर र मान्छेको टाउको भएको जन्तु (स्फिनिक्स)

घाम झैँ खाली र नीरस आँखाले तरिरहेछ

बिस्तारै बढ्दै छ

मरुभूमिका आक्रोशित चराहरुलाई

छाया पारेर घुमिरहेछ ।

अँध्यारो अझै छ, तर मलाई अहिले थाहा छ

दुई हजार बर्षको ढुङ्गो सुताई

बच्चाको (भगवानको) लागि एक रात हो

त्यो खराब जन्तु (स्फिनिक्स) आए नै पनि

बेथेलेममा भगवानको जन्म हुनेछ ।

यस कवितामा भगवान जिजस क्राइष्टको फेरि जन्म नभईकन यो पृथ्वीलोकका अधर्मीहरुको सर्वनाश हन नसक्ने जिकिर कविले गरिरहेका छन् । गिद्ध मान्छेको सिनो खोज्न आकासभरि फिँजिएका छन् । युद्ध र अपराधले मान्छेका लाम्टा तानिरहेका छन् । अनि टाउको मान्छेको शरीर चाहिं सिंहको भएका नरपिचासहरु यत्रतत्र छन् । शासन गरिरहेछन् । युद्ध छेडिरहेछन् । मान्छेको सिकार गरिहरेछन् । तिनका अनुहार मात्रै मान्छेका हुन् । शरीर त नरभक्षीका हुन् । तिनले निलिरहेका छन् यो सुन्दर समयलाई । आतङ्क मच्चाइरहेछन् । लुटिरहेछन् । शोषण गरिरहेछन् । समाजलाई विभाजन गरेर आफू राज गरिरहेछन् । जनता सडकमा रोइरहेका छन्, यी रक्सीको पार्टी दिइरहेका छन् । आफ्ना र अर्काको भनेर विभेद गरिरहेका छन् । काखी र पाखी गरिरहेछन् । अत्याचारका महाभारत रचिरहेका छन् । यस्तो विषम परिस्थितिमा अब भगवानको पुनः आगमन नभई हुँदैन । त्यो दोस्रो आगमनले मात्रै यो माटोका समग्र बेथितिहरुलाई सम्बोधन गर्नेछ । अधर्मीहरुलाई सजाय लिने छ र यो समाज अन्याय, अत्याचचार र हिंसाबाट मूक्त हुनेछ ।

यस कवितामा कवि यिट्सले यही भन्न खोजेका थिए, र हुन् ।

जब बिसौं शताब्दी लाग्दै थियो, संसारका मानिसहरु हर्षित थिए — अब यो दुनियाँ विज्ञान र प्रविधिको कारणले चमत्कारपूर्ण हुनेछ । मान्छेका जीवनमा नयाँ आयामहरु थपिनेछन् । सभ्यताको चरम विकास हुनेछ । तर जब यो शताब्दीले पाइला टेक्यो, युरोपले आफ्नाे होस गुमायो र पहिलो विश्व युद्धको विभीषिका देख्नुपर्यो, भोग्नुपर्यो । पहिलो विश्वयुद्धसँगै युरोप मात्रै नभएर संसारभर आतङ्क छायो । सोही समयको रसियन क्रान्तिले अर्को पाटोमा व्यापक निरासा उत्पन्न गर्‍यो ।

मानिसहरुमा व्यापक निरासा र आतङ्कको बादल मडारिन थाल्यो । मान्छे असुरक्षित मात्रै रहेनन्, मान्छेले मान्छेप्रति गर्ने व्यवहार पाशवीक हुन पुग्यो । त्यही भएर कवि यिट्सले भगवानसँग गुहार मागे । भगवानको पुनः आगमनको कल्पना गरे । उनले भगवानलाई भरोसा गरे । विश्वास गरे । र प्रार्थना गरे ।

आज हामी देखिरहेका छौँ : पूर्वी युरोपमा आतङ्क छ । अफ्रिकामा आतङ्क छ । अमेरिकी मुलुकहरुमा आतङ्क, युद्ध र अपराध छ । मध्यपूर्वमा आतङ्क छ । मान्छेको मोल शून्य बन्दै गएको छ । मान्छे पदार्थमा रुपान्तरण मात्रै भएन, उसको हैसियत पनि पदार्थको भन्दा बढी रहेन । कसैको आदेशमा काम गर्ने । मर्न र मार्न गौरव सम्झिने । महान सम्झिने । अनि अर्को मानवलाई ‘दुश्मन’ भनेर ट्याग लगाउने । मान्छेको भाइचारा, प्रेम, सदभाव, सम्मान सबै पराया पदावली बन्न थालिसके ।

यी नकारात्मक परिदृष्यको पछाडि राजनैतिक र आर्थिक फाइदा र दाउपेचले काम गरिरहेको छ । मान्छे गाइबस्तु जस्तै मारिइरहँदा पनि युद्धहरु किन रोकिन्नन् ? मान्छेका आँसुको नदी पौडिँदै पौडिँदै तरेर स्वर्ग जाने विसङ्गत यात्रा किन तय भइरहन्छन् हरपल ?

तिनलाई लागिरहेको छ, मान्छेका आँसुको कथामा आनन्द छ । गौरव छ । जीत छ । हर्ष बढाईं छ । उत्तेजना छ । वीरता छ । तिनको अनुहारका चमकले यही भनिरहेका छन् ।

हामी पढिरहेका छौँ, देखिरहेका छौँ, लेखिरहेका छौँ आफ्नै माटोको आँसुको कथा । लुकामारी खेल्दै देशमा हतियार ल्याएर पड्कायौँ आफ्नै विरुद्धमा । आँसुको खोलो बगायौँ । मृगको सिकार खेले जस्तो मान्छेको सिकार खेल्यौँ । जिउँदै पुर्यौं । रुखमा झुण्ड्यायौँ र गोली हान्यौँ । टाउका गिड्यौँ । अनि रमायौँ । गौरव गर्यौं । अनि अझ गज्जबको कुरा त, आफैले आफैलाई ‘महान’ र ‘गौरवशाली’ भन्न पनि भ्यायौँ । गर्ने नगर्ने सबै उट्पट्यांग गर्यौं ।

तै पनि पुगेन । अनि तिनलाई थुक्यौँ । गालीको महाभारत युवा पिँढीलाई घोकायौँ । रट्न लगायौँ । त्यही बोल्न लगायौँ ।
अनि राज्यशक्ति लगाएर देशको इतिहास मेट्न मरिहत्ते गर्यौं । आफ्नै घरमा आगो लगाएर आगो ताप्नेहरुको इतिहासको निर्माण गर्यौं । अनि हिजो यो देश बनाउनेहरुको इतिहास न्वारनदेखिको बल लगाएर मेट्ने काम गर्यौं । तिनको कतै पनि नाम निशान हुनुहुँदैन भन्यौँ । तिनका शालीक फुटाउन लगायौँ । तिनलाई तथानाम गाली गरेर मात्रै पनि पुगेन, तिनको छाया र बिम्ब पनि दुश्मन बनायौँ । यति धेरै अपमान गरेर सायदै सभ्य समाजमा मान्छेले मान्छेलाई बोल्छ र व्यवहार गर्छ । यति असभ्य र निन्दनीय, निर्दयी व्यवहार गरेर हामी आफूलाई ‘अब्बल’ बनाउन सामाजिक सञ्जालको अधिक प्रयोग गरिहरेका छौँ । कतिपय मान्छेहरु बिहानदेखि बेलुकासम्म यो देश बनाउने ती महान अग्रजहरुलाई सरापेर सामाजिक सञ्जाल भर्छन् र रमाउँछन् । आफूलाई विज्ञ ठानिरहेका हुन्छन् । तिनले आफ्नै पितापुर्खा र अग्रजहरुलाई चाहिँ थुक्छन् कि थुक्दैनन्, थाहा छैन । सायद थुक्छन् ।

एउटाले अर्कोलाई निषेध गर्ने संयन्त्र बनायौँ । ‘जसरी पनि’ चुनाव जित्ने र राज्यको साधनश्रोतमा मोज गर्ने प्रणालीको बिकास गर्यौं । आफू राज्य शक्तिमा भएका बेलामा आफूलाई कानून र संविधानले ‘नछुने’ बनायौँ । सबै राज्य संयन्त्र आफैले ‘कब्जा’ गर्ने बिधि बनायौँ । र युवाहरुलाई निरास बनायौँ । पलायन हुने बाटो खनिदियौँ ।

यी अपराधका फेहरिस्तले यो पृथ्वीतलमा एउटा प्रश्न उब्जाएको छः

अब दोस्रोको आगमन आवश्यक हो ?

एक्काइसौं शताब्दीको रट दिन्छौँ हामी आजकल । ‘यो एक्काइसौं शताब्दी हो’ । यही गीत गुञ्जिन्छ यत्रतत्र । तर यो शताब्दी मान्छेका आँखाबाट आँसुका नदी बगेर गुज्रिरहेको छ । युद्ध जस्ता भयानक हिंसाहरु भइरहेका छन् । मानव अत्याचार बढिरहेको छ । शोषण र अन्याय चुलिरहेको छ । उत्पीडनको लामो फेहरिस्त छ । समाजका रंगहरु विकृत देखिन थालेका छन् । कुरुप बन्न थालेका छन् । मान्छेको अस्तित्व सङ्कटमा छ । समाजलाई विखण्डन र विभेदकारी बनाएर एउटा समूह मुस्कुराइरहेको छ ।

यसबेला आँखाका डिलमा टल्पलिएका मान्छेका आँखाका परेलीहरुले भागवत गीताको यो यो श्लोक पनि मनमा लिइरहेका छन्ः

यदा यदा ही धर्मस्य ग्लानर्भिवती भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् 
परत्रिाणाय साधूनां वनिाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामी युगे युगे ।

(जब जब धर्मको नाश र अधर्मको उत्थान हुन थाल्छ, तब म यस पापलाई भगाउन, धर्मात्माहरुको उद्धार गर्न, सद्धर्मको स्थापना गर्न म युग युगमा जन्म लिनेछु ।)

मलाई अचम्म के लागेको भने, गीतामा भगवान श्रीकृष्णले यो कुरुप र पापी समयलाई नाश गर्न म यस धर्तीमा जन्म लिन्छु भनेको कुरासँग यी आयरल्याण्डका कवि यिट्सले ‘द सेकण्ड कमिङ्ग’ भनेर कवितामा भगवान क्राइष्टको फेरि जन्म हुने छ भन्ने कुरा कसरी मिल्न गयो ?

यिट्सले गीता पढेका थिए ।

उनका धेरै कविताहरुमा गीताको प्रत्यक्ष प्रभाव देखिन्छ । जस्तै उनको अर्को कविता ‘क्र्वाट्रेन्स एण्ड एफोरिजम्स’ मा यस्तो पनि छः

चाहना केहीको छैन, न त दुख न त दृष्टिगोचर,
चाहना केहीको छैन, न त रात न त दिन ।

सत्य जहाँ लगे पनि, जसले भने पनि सत्य नै हुन्छ । सारमा एउटै हुन्छ रुप फरक परे पनि ।

यहाँ पनि रुप फरक हो, एउटा बाइबलको भगवानको दोश्रो आगमन खोज्नेहरु उता छन् । अनि भगवान श्रकृष्णको दोस्रो आगमन खोज्ने हामीहरु यता छौं । तर अचेल उता र यताको सिमाना पनि मेटिएको छ । समाजहरु बहुधार्मिक र बहुसांस्कृतिक बनिरहेका छन् । र सबैलाई चाहिएको छ भगवानको पुनर्आगमन । किनकि सबैतिर पापको हद नाघिसकेको छ ।

आज यिट्सको कवितामा मैले यो समयलाई यसरी पढें ।