तोक्मे बजारदेखि एउटा ताँती निस्किएर आयो । सबैको हातमा कार्ड थियो । कार्डमा “मुक्कुमलुङ बचाउ” लेखेको छ । ताँतीको अगाडि छ आलोक । सँगै उफ्रँदै थियो राज । चिनेको हो राज । बोलचाल राम्रो भा छैन । मुन्धुम बचाऊ अभियानमा लागेका छन् रे । आलोक पत्रकार हुन् । दुबै जिल्लाका प्रखर युवा । ती दुईका पछि उफ्री उफ्री नारा लगाउने ताँतीमा भने कति चिनेका थिए ? कति नचिनेका ?

“मुक्कुमलुङ .., जिन्दावाद !
एकात्मकवादी शासक.., मुर्दावाद !
ऐतिहासिक नाम.., कायम गर !
भ्रमात्मक नाम..,  खारेज गर !”

मैले काठमाडौंमा सुनेको हो । प्राज्ञ अमर तुम्याहाङले एक बिहान लेक्चर दिनुभा थियो । “माननीयको संसद कोषबाट योजना त छुट्टियो । त्यसपछि त सबै ऐतिहासिक ठाउँहरुको नाम नै परिवर्तन भयो । तिम्बुङबाट विष्णु पोखरी भयो । सुकेटारबाट रवीन्द्र एयरपोट । बिचराले कुनियत गरेको त हो होइन तर फस्यो । अब हामीले त्यसै छाड्नुहुन्न । धेरै यस्ता ऐतिहासिक नामहरु बिग्रिसक्यो । मुक्कुमलुङ पाथिभरा भयो । सेसेलुङ कञ्चनजंघा भयो । अब त त्यतिकै छाड्नुहुन्न । आन्दोलन गर्नु पर्छ ।”

मलाई लाग्यो विद्वानको दिमागमा आन्दोलन ? विकासको विरोध ? यस्तै यस्तै कुराकानी भयो । उनलाई जवाफ भने दिइन । किनकि उनलाई म विश्वास गर्छु । मान्छु ।

पदमजी पनि त मुक्कुमलुङ बचाऊ अभियानमा नै छन् । उनले घोर विरोध गर्ने भनेको केवलकारको हो । पटक्क मान्दैनन् केवलकार बनाउने कुरामा । पर्यटक घट्छन् रे । आम्दानीको बाटो मासिन्छ रे ।

पदमजीलाई मैले भनेँ, “हन हौ पदमजी । तपाईंहरु पर्यटनको नि लोभ गर्ने तर पाथिभराभन्दा नि विरोध गर्ने । यसरी त भएन नि ?”

“त्यसो होइन नि चित्रजी । पहिचान स्थापित गराउँदा त त्यसको इतिहास पो स्थापित हुन्छ त । त्यसो भयो भने त झनै भक्तालुका भिड हुन्छ यार । अहिले हजारलाई लाख पुराउन सकिन्छ ।”

“हिन्दु धर्मालम्बीको लागि त यस्ता कुरा ठिक हुन्न नि पदमजी ।”

“के नहुनु । मान्नु पो पर्छ त । मान्दैनन् भने यत्राको कर । यथार्थ कुरो त सबैले मान्नुपर्छ । मुक्कुमलुङ भनेको सत्यको देवी हुन् । अनि त्यस्ता कुरामा झुट बोलेर चाहिँ देवी खुसी हुन्छिन् त ?”

“अब हेर्नु है चित्रजी । डाकाहरुले केवलकार लगाउने रे । त्यसले कसरी पर्यटन प्रवर्द्धन हुन्छ त ? यी सब डाकाहरुको खाने मेलो नि हौ चित्रजी ।”

“कुरो मिलेन है हाम्रो चाहिँ । मलाई हतार पनि छ लागेँ ।”

“तपाईंलाई काँ चित्त बुझ्छ त । तर भागमा लाग्दो हो आफूलाई पनि । सरकारको मान्छेन पर्नुभयो ।”

हाँसेर बिदा लिएँ मैले । मनमा कुरा खेल्यो । आहो ! जेमा नि शंका ? शंकै शंकाको यो संसारमा कसरी विकास होला सकरात्मक सोचहरुको ? कसरी बन्ला सकरात्मक समाज ? एकले अर्कालाई विश्वास गर्ने दिन कहिले आउला ? यस्तै कुराहरु खेले मनमा ।

अचानक तुम्याहाङ सरले फोन गर्नुभयो । यो पल्ट मसँग कुरो गर्नलाई होइन । बाबु सोध्नुभयो । मैले फोन दिएँ । कुरो उही त चल्यो ।

सोध्नुभयो, “मुन्धुममा मुक्कुमलुङ आउँछ कि आउँदैन फवा ?”

बाबुले फुर्किएर भन्नुभयो, “आउँछ नि हौ ।”

“त्यो मुक्कुमलुङ भनेको कता छ फवा ?”

“तेइनि हौ, पेनिवामा पाथिभरा भन्छन् नि । युमा थाङसिङमा गरेको ठाउँ । त्यसलाई नै हाम्रो मुन्धुममा मुक्कुमलुङ भन्छ ।”

आन्दोलन त चलिरहन्छ । के को आन्दोलन ? उही त हो । मुक्कुमलुङ आन्दोलन ।

पौड्याल कफी हौस ।

यहाँ सानो सानो चुम्लुङ भई नै रहन्छ । जिल्लाको नेता भेला हुने ठाउँ । नेताचोक भनेर भन्न थालेका छन् आजकाल ।आजको बहसको मुख्य विषय पनि त्यही नै थियो । उही त हो मुक्कुमलुङ । हामी बसेकोमा थपिनुभयो आलोक । उहाँले भन्नुभयो, “हौ साथीहरु त अघि नै पो ?”

“अरे हौ । मुक्कुमलुङको खाँटी मान्छे पो आउनु भएछ । के छ अनि मुक्कुमलुङ आन्दोलनको अवस्था ?” प्रजिनले भन्नु भयो ।

“के हुनु । सकिसके नि हामीलाई चेल्लेङहरुले ।”

“अनि नाम फेरियो त आलोकजी ?”

“कहाँ भन्ने बित्तिकै फेरिनु हौ । यो त प्रयास न हो । बिस्तारै हुन्छ नि चित्रजी । तातै खाउँ जिउँदै मरौ भन्ने हाम्रो अभियान होइन यार ।” हेहे गर्दै आलोकजी हाँस्नु भयो ।

“साथीहरुले यो चाहिँ नकाम गरे है । देश विदेशसम्म चिनिएको नाम पाथिभरा नै छ । यो विवादले त पर्यटन प्रर्वधनमा चाहिँ ठुलै असर पुग्नेभयो ।” मैले मलाई लागेको कुरो भनेँ ।

“होइन तपाईं पनि ब्राह्मणवादी चिन्तनको पो पर्नु भो कि क्या हो ? यसमा चाहिँ हाम्रो कुरो मिलेन है चित्रजी ।” आलोकजीले आरोप लगाउनु भयो ।

“किन र ? पाथिभराभन्दा चाहिँ ब्राह्मण भइन्छ र ?” मैले सोधेँ ।

“त्यो होइन नि । आफ्नो थाक्थलोको रक्षा त हामी युवाले नै गर्नु पर्छ होइन र ? कि कसो पो हौ ? मैले त अलि तपाईंको कुरो राम्ररी बुझ्न सकिनँ नि फेरि ? अब पढेलेखेकै युवा त्यता लागिसके पछि हामीले चाहेको मुक्ति कसरी सम्भव होला र ?” आलोकजीले सम्झाउने कोसिस गर्नुभयो ।

“व्यावसायिक हिसाबले कुरो गर्ने हो भने डाक्टर साबले भनेको पनि ठिकै हो । तर हामीले भनेको कुरो त्यतिले मात्र पुग्दैन । यहाँ पहिचानको सवाल छ । म पनि यस क्षेत्रमा धेरै लागेकोले बढी नै माया लाग्छ । हौ ख्याल ख्यालमा मैले पनि दु:ख त गरेकै पो छु त ।” प्रजिनजीले भन्नुभयो ।

आलोकजीले भन्नुभयो, “हाम्रो डाक्टर साब यस्तो कुरो बुझ्नु हुन्न हौ । पढ्दा पढ्दै व्यवहारिक कुरो बिर्सनु भयो हाम्रो डाक्टर सावले ।”

“खोइ मलाई त छुएन यस्तो कुराले । यो नामले विकास हुन्छ नै भन्ने त छैन नि ?”

“विकास मात्र सब कुरो होइन नि डाक्टर साब । हामीले जानेको विकास सुविधा होइन ? त्यस्तै हो भने त पिँजडाको सुगालाई कति धेरै सुविधा छ त ? त्यसो हो भन्दैमा त्यो स्वतन्त्र भा छ र ? त्यहाँ प्रकृतिको नियम लागु भा छ त ?”

आलोकलाई चित्त बुझेन मेरो कुरा । त्यसैले खण्डन गर्नुभयो ।

“विकासको कुरो गर्ने हो भने डाक्टर साबको कुरो पनि ठिकै हो । चाहिएको त विकास पनि छ । तर पनि विकास नै सब कुरो होइन भन्ने त पछिल्लो आन्दोलनहरुले देखाउँदै छ त ।” प्रजिनले प्रष्ट बनाउन खोज्नुभयो ।

“आरेल्ल हुन्छ ।” मैले भने । मुसुमुसु हाँसे सबै ।

“के कुरा गर्दै छौ हौ साथी हो ?” मिराक आइपुग्नु भयो । उहाँ लिम्बूवान (प्रगतिशील) पार्टीको केन्द्रीय अध्यक्ष । त्यस्तै मान्छेसँग नबोलौझैँ गर्नुहुन्छ । पार्टीको सर्वेसर्वा उहाँ नै । नहोस् पनि कसरी ? केन्द्रीय कमिटी पनि उहाँ नै हुन् । त्यत्रो पार्टीको मतदाता नि आफैं । पार्टी ठुलो भएरै फुइ लगाएको भन्छन् सबै नै ।

“हौ नेताज्यू आइपुग्नु भयो । लौ बहस गरौँ है ।” भन्दै आलोकजी उठ्नुभयो ।

मिराकले पहिचानको कुरो पढाउन थाल्नुभयो । उहाँले अरुणदेखि जोडेर तिम्बुङ पुराउनु भयो । फेरि घुमाएर मुक्कुमलुङमा नै पुराउनु भयो । कुरो त ठिकै भनेका हुन् तर एउटै विषय धेरै पल्ट दोहोराउनु हुन्छ । प्रष्ट भएकै विषय आउँछ फेरि पनि । त्यसैले दिक्क लाग्छ कुरो गर्न पनि ।

म त्यहाँदेखि बिदा लिएँ । बहस भइरहेको थियो मुक्कुमलुङकै ।

***

किराँत याक्थुङ चुम्लुङ हाउस ललितपुर, सनिबार ।

लिम्बूवानका सबै जस्तो विद्वानहरुको चुम्लुङ थियो । चुम्लुङका प्रमुख अतिथि अमर तुम्याहाङ । छलफलको विषय मुक्कुमलुङ । धेरै कुराहरु चले । बहस लामो भयो । विवादको प्रमुख कारण थियो, “मुक्कुमलुङ हो या मुक्कुलुङमा कोक्मा ?”

त्यहाँ रहेका एक पक्षले पाथिभराको नाम मुक्कुलुङ हो भन्ने थिए । अर्का पक्ष मुक्तुलुङमा भन्ने पक्षमा थिए । सम्झदा विषय सामान्य तर विवाद भने चर्किँदो । अस्वाभाविक लाग्यो तर विवादकर्ताको निम्ति के नै हो जस्तो । अचम्म । अचम्म मान्नेमा म मात्र छु । साथीहरु सबै गम्भीर छन् । मलाई लाग्यो, “आखिर नाम मात्रले के गर्छ र ?”

चुम्लुङभरि बोल्ने विषय पाइनँ मैले । चुपचाप बिताएँ । चुम्लुङ सकिँदासम्म । बोल्ने विषय पनि मसँग थिएन । चिनजान पनि कम मात्र ।

सिमसिम पानी पर्यो । महालक्ष्मी थान पुगेपछि मात्र गाडी चढ्न पाइने । दश पन्ध्र मिनेट त त्यसै लाग्छ समय । बाटो लामो । भिजाउने भयो । हामी मन मिल्ने दुई चार भाइ चुम्लुङ हाउस छेउको चिया पसलमा बस्यौँ । ओत लाग्नलाई । तातो चिया खोज्यो ज्यानले । टंकजीले चिया मगाउनु भयो ।

“अब चाहिँ मुक्कुमलुङ आन्दोलन सफल होला कि चित्रजी ?” टंकजीले भन्नुभयो ।

“यो मुक्कुमलुङ सुक्कुमलुङ छाडिदिनुहोस् टंकजी । खाइन पाइ छालाको टोपी लाई । आखिर नामले के नै गर्छ र ?” मैले भने ।

“त्यसो भनेर काँ हुन्छ र  चित्रजी । यहाँ सवाल पहिचानको पो हो त । आफ्नो आइडेन्टीफिकेसन त जरुरत पर्छ क्या । जतिसुकै साइन्सको कुरो गरे पनि त्यो त बेस नै हो क्या ।”  टंकजीले भौतिक विज्ञान पढेका हुन् । उनले उदाहरण दिँदा पनि विज्ञानककै कुरो जोड्नुहुन्छ ।

अर्को अपरिचित साथीले भन्यो, “यो सबै लारुम्बेले बिगारेको हो क्या । थबक्कन चुम्लुङले निर्णय गर्नु र यो चाहिँ सहि हो भन्दा भइगयो नि । आखिर चुम्लुङभन्दा त ती लारुम्बे ठुलो त होइन नि ।”

अर्कोले भन्यो, “हे ! यो चुम्लुङ पनि कताको शुद्ध छ र ? यहाँ पनि त उही गन्ध छ नि ।”

“आ – आफैंमा बेमेल छ अनि कसरी हाम्रो आन्दोलन सफल हुन्छ र हौ साथी हो ?” मैले भनेँ ।

“हौ हाम्रो राजन मुकारुङ दाइले त खुवालुङको आन्दोलन त एक्लै दन्काउनु भाछ है हौ । त्यत्रो मदन पुरस्कार जितेको मान्छे, हाम्रो मुक्कुमलुङ र तिम्बुङको कुरा चाहिँ गर्न जान्नुभएन र मात्र ।” टंकजीले गुनासो पोख्नुभयाे ।

“हो नि हौ । बुढा त हाम्रो समुदायको साझा मान्छे पो हुन् त । उहाँले त सबैको कुरो पो गर्नु पर्छ त । किराँतको मात्र कुरो गरेर हुन्छ त ?” अर्को अपरिचितले भन्यो ।

मलाई भने धेरै साथीहरु अपरिचित लाग्दैछ । म खासै यस्ता कार्यक्रममा कमै मात्र हिँडेर होला । परिचय साथीहरुसँग मात्र छ ।

चिया सकियो । पानी पनि अथवा भएछ क्यारे । मुक्कुमलुङको बहस नसकिँदै हामी छुटियौँ ।

हाम्रो लिम्बुवान हरायो रे । किराँत हरायो रे । भाषणमा त्यहीँ आयो । हिमाल हरायो । पहाड हरायो । सबै सबै हरायो । भूमिको धनी हामी । वनजंगलको धनी । आदिम सभ्यताको धनी । आज सबै गुमाउँदै छौँ रे । कता गए ती लिम्बुवान ? कता गए किराँत ? अनि ती पहाड, हिमाल र वन जंगल कता हराए ? वास्तवमै अचम्म बनायो । आजको भाषणले । सायद चोमोलुङमाको स्थानमा सगरमाथा अर्कै आएर उभियो होला । सेसेलुङको ठाँउमा कञ्चनजंघा । किराँत लिम्बुवान कुनै ठाँउमा बसाइँ गयो होला । त्यहीँ भएर आज मेरो देशले नयाँ पहिचान खोजिरहेको छ ।

गाडीले कोटेश्वरमा गोलाइ घुमायो । “अहो ! घर पुग्न लागिएछ ।” तब थाहा भयो ।

घर पुगेर मोबाइल हेरेँ । आजको समचार सामाजिक सञ्जालमा मुख्य विषय बनेको रहेछ । आम्मा हौ पत्रकारले कति लेखेका हुन् कति ? पूर्व त पहिचानको आन्दोलनले भरिभराउ भएछ । टिप्पणी हेरेँ । गाली कति ? समर्थन कति ? छुट्याउनै सकिएन ।

भोलि पल्टदेखि बखान सुरु भयो । चिया गफमा त्यहीँ पहिचान । त्यहीँ मुक्कुमलुङ । खुवालुङ । कुरो कसको सहि हो ? बुझ्नै सकिएन । त्यसपछि सुरु भयो विवादभित्र विवाद । तर्क आ-आफ्नो । बिच किराँत समुदायको गुनासो लिम्बुवानको जस्तो आन्दोलन हाम्रो हुन सकेन भन्ने थियो । लिम्बुवानी (पल्लो किराँत) समुदायमा भने लारुम्बा र प्रकृति पुजक बिच घोचाघोच थियो । आन्दोलनभित्रको आन्दोलन गज्जब थियो ।

फेसबुक रंगियो । सामुदायिक दोहोरी निकै नै चर्किंदो छ । दुवै पक्षको हानाहान । सवाल सत्यहाङ र हत्यहाङको थियो । एकजना मित्रले लेखेको रहेछ, “खराने पाटीले हाम्रो मौलिक संस्कृति हिन्दुकृत गराएर बेइज्जत गराएका छन् । चारु पोल्नु, त्रिशुल बोक्नु , महायज्ञ तिनका कतै नभएको संस्कार रे । कुन हाम्रा पुर्खाले गरेका थिए ती कुकामहरु ? साथी हो सबै मिलेर हिन्दुकरणबाट बच्न लारुम्बेहरुलाई सामूहिक बहिष्कार गरौँ ।अहिले आएर मुक्कुलुङमाथि पनि प्रहार हुन थाल्यो । बेलैमा सचेत हौँ ।”

अर्कोले लेखेको रहेछ, “यिनीहरु राक्षस हुन् । कथित संस्कारको नाममा चेलिबेटी बेचुवा । न धर्म छ न मर्म छ । जाँड रक्सीले बहुलाएका हुन् यिनीहरु । हत्याले मुक्ति दिन्छ भनेर कुन शास्त्रमा लेखेको छ ? त्यसैले यी हत्यहाङहरु एकदिन सकिनेछन् ।”

अहो ! हाम्रा दाजुभाइहरु कुन बाटोमा हिँडिरहेका छन् ? किन यति धेरै विवाद ? आ-आफैँमा ? किन बने यति धेरै मूर्ख ? आफू आफैँमा यति धेरै फाटो भएपछि कसरी हुन्छ मुक्ति ?

***

अनामनगर यति क्याफे ।

अनामनगर आसपास प्रायः भिड नै हुने गर्दछ । विशेष गरेर नेता र कलाकारहरुको । दिनभरि गफ हुन्छ । देश बनाउने । समाज बदल्ने । बरालिने ठाउँ नै अनामनगर हो युवाहरुको । चियाको चाहिँ असाध्यै व्यापार हुन्छ । दुध चियाभन्दा ग्रीन टी बढ्ता ।

रमेसजीले कुरो खोतल्नु भयो । उही त हो कुरो । पहिचान र मुक्कुमलुङ । भन्नुभयो, “हौ यो बेला पनि पहिचानको मुद्दा स्थापित गर्न सकिएन भने त हामीलाई धेरै पो घाटा हुन्छ है हौ ।”

“खु …ज्या ! नेताहरुले तिम्बुङलाई विष्णु पोखरी बनाइसके । मुक्कुमलुङलाई पाथिभरा रे । हाम्रो पहिचान त्यही हो र ? त्यत्रो पहिचान सकिसक्दा पनि कोही बोल्दैनन् । अनि यत्राको पहिचान ? पर्थुम्म हामी नाक थेप्चेहरु कुरा बुझ्दैनौँ हौ ।”
गोपालजीले भन्नुभयो, “मुक्कुमलुङ नै पाथिभरा भएको हो र पाथिभरा मुक्कुमलुङ नै थियो । साथी तिमी मुक्कुमलुङ भन म पाथिभरा भन्छु । तिमी युमाको उत्पत्ति मान म बुढीबजु भन्छु । तिमी तिम्रो पहिचान खोज म मेरो खोज्छु । आखिर ती सब स्वतन्त्र छन् । अनि तिमी किन र केको निम्ति आन्दोलन गर्छौ ? आखिर हामी सब एउटै न हौ र एउटै हुनु पर्छ । उच्चारण फरक होला तर तात्पर्य एउटै हो । अनि किन रिसाउँछौ ?”

“तिमीहरु नाक चुच्चेहरु यस्तै झेली छौ र त विश्वास हुन्न । देश बिगारा तिमीहरु । याँ मुक्कुमलुङको मात्र कुरो होइन । हाम्रो संस्कृतिमाथि अतिक्रमण हुँदै छ । त्यो पो भनेको त ।”

“तँ नाक थेप्चे मुला ठुलो कुरा नगर । कसले रोकेको छ याँ ? तैले ग्रीन टी खाएर गरेको गफले देश बन्दैन । त्यसरी बन्ने भए किन यस्तो दु:ख हुन्थ्यो ?”

“खेल्ने आइज ज्या … गोपाले ।” पाखुरा सुर्कंदै राज जुरुक्क उठ्नुभयो ।

अलमल्ल भएँ । कुन सत्य ? कुन अपराध ? मैले भनेँ, “अब यो कुरोलाई छाडौँ हौ साथी हो । आखिर हामीभन्दा माथि राज्य छ । केही त गर्ला नि राज्यले ।”

“एत्राको गर्छ । एकात्मक चिन्तन बोकेका शासकहरु हाम्रो पक्षमा छैनन् । हामीलाई दास बनाका छन् दास । गद्दार छन् यिनीहरु ।” रमेसले झोक्किँदै भन्नुभयो ।

कता गइरहेको छ मेरो देश ? के भइरहेको छ समाजमा ? कस्तो अवस्थामा जाकिरहेको छ मेरो पुर्खा ? इतिहास अनि थाक्थलो ? आज भाइ भाइबिच सिमाना कोरिरहेको छ । साथी साथीबिच बाराबार । हाम्रो चिन्तन खुम्चिएको हो या चित्त ?
ब्यानरमा लेखिएको थियो ।

मुक्कुमलुङमाथि हिन्दुवादी अतिक्रमण लज्जास्पद छ ।

मुक्कुमलुङ बचाउन कथित पाथिभरा महोत्सव बहिष्कार गरौँ ।

ब्यानरको पुछारमा लेखिएको थियो ।

आयोजक : कियाचु ताप्लेजुङ

यो बेला झनै मच्चियो मुक्कुमलुङ आन्दोलन । चलिरहेकोछ सवाल जवाफ । आगोमा घिउ बन्यो पाथिभरा महोत्सव । दोहोरो विज्ञप्तिमा घोचाघोच उस्तै । आयोजनाको अध्यक्ष तारा र विकास क्षेत्रको अध्यक्ष रक्किजीको संयुक्त हस्ताक्षरमा विज्ञप्ति निस्कियो । उता जातीय संघ संस्थाले नि कहाँ छाड्ने । दोहोरी नै मचियो ।

***

आनामनगर हिलिहाङ ग्रीन टी ।

“आहो डाक्टर साब । तपाईं त उताको त्यत्रो ठुलो कार्यक्रम छाडेर किन यता हौ ?”

“खोइ जानु त पर्ने हो । भ्याइएन ।”

“तपाईं त स्थानीय सरकारको प्रतिनिधि पनि अनि निम्तो थिएन ?”

“किन निम्तो चाहियो र ? फुर्सद भए त आफ्नै गाउँ ठाउँ हो । जानै पर्छ नि ।”

“यी सालाहरुले जेमा नि राजनीति गरेर सके । चुनावको मुख छ । उनीहरुको प्रचार गर्ने प्लेट फम बनाए महोत्सवलाई । हैसियत केही छैन । उनीहरुको पार्टीको नेता हुँदैमा फेसबुकभरि आउनुहोस् भन्दै बोलेको छ । सामाजिक अभियान्ता रे । कोही यत्रा यत्रा संस्थाका मान्छे रे । सरकारी पोष्टको मान्छे भए पो सुहाउँछ । हग्नेलाई भन्दा देख्नेलाई लाज ।”

किन यति धेरै झगडा ? पवित्र स्थललाई किन अपवित्र बनाएका ? के मान्छेमा मानवता सकिएकै हो ? या त उच्चाकाङ्क्षाले नै गराएको हो त्यो ? अचम्म छ मेरो समाज । किन हाम्रो समाजलाई हामी त्यतातिर धकेलिरहेका छौँ ? जेमा नि राजनीति । जेमा पनि सामुदायकीकरण । यसरी नै चलिरहन्छ त हाम्रो समाज ? कहाँ कम्जोरी भइरहेको छ हाम्रो ? कसले गरिरहेको छ ? कसरी गर्ने हो सुधार ?

जय मुक्कुमलुङ ! जय पाथिभरा !