अर्को शब्दमा भन्दा ‘सहन सक्नु’ सबैभन्दा असल चरित्र हो । यसले घरभित्र मात्रै नभएर जुनसुकै ठाउँमा पनि शान्ति स्थापन गर्न सक्छ ।

उखान टुक्काहरू स्वैरकल्पना उपज होइनन् । यिनीहरु त हजारौँ पटक किनारामा ठोक्किएर खिइँदै शालिग्राम बनेका कृष्णगण्डकीका ढुङ्गाजस्तै समाजका अनुभूतिका निष्कर्षहरु हुन् । जसलाई जीवनका हरेक कुइनेटाहरूमा अनुभूत गर्न सकिन्छ ।

सुन्दा सरल जस्तो तर व्याख्या गर्न निक्कै दिमाग खियाउनु पर्ने उखान हो ‘सही बुहारी रही व्यापार’ । बुद्धि, विवेक र व्यवहारको चुरो कुरो बोकेको छ यो उखानले । हाम्रो समाज, शिक्षा प्रणाली, सामाजिक सम्बन्धहरु, संस्कार संस्कृति, मूल्य मान्यता, ज्ञान र प्रज्ञाको विशिष्ट तहलाई पनि रहस्यपूर्ण ढङ्गबाट उचालेको छ यसले ।

सामान्य अर्थ लगाउँदा बुहारी सही भएमा व्यापारमा टिकिरहन सकिन्छ भन्ने बुझिएला । अथवा ‘असल बुहारी पाए व्यापारले निरन्तरता पाउँछ भन्ने पनि बुझिएला । तर यसको खास अर्थ चाहिँ ‘सहन सके बुहारी आफ्नी र रहन सके व्यापार आफ्नो’ भन्ने हो ।

जुन सासूससुराले आफ्नी बुहारीका कमीकमजोरी, बानी व्यवहार, तितापिरा बोलीवचन आनन्दले सहन सक्छन्, सुनिदिन सक्छन्, दुःख पीडा पीरमर्का बुझिदिन सक्छन् ती सासूससुराहरु बुहारीका आफ्ना हुन्छन् र सासूससुराका आनीबानी, चालचलन, बोलीवचन र इच्छा आकांक्षाहरु बुझेर कमीकमजोरीहरुलाई मनैमन माफी दिन सक्ने, सहिदिन सक्ने, सकारात्मक विश्लेषण गरी खुसी तुल्याइदिन सक्ने बुहारी पनि सासूससुराकी आफ्नी हुन्छिन् । आफ्नो हृदयको भावना बुझिदिने सासूससुरा वा बुहारी पाएर दुवैमा  खुसी पलाउँछ, ममता छाउँछ र माया जागृत हुन्छ । सासूससुराहरु तुरुन्तै मातापितामा परिणत हुन्छन् भने बुहारी पनि छोरीमा परिणत हुन्छिन् । सबै सधैँका आफ्ना विश्वासपात्र हुन्छन् । अविश्वास, आसङ्का कतै नजन्मेपछि माया ममता र खुसीले सबैलाई एकै ठाउँमा बाँधेर राख्छ ।

अर्को शब्दमा भन्दा ‘सहन सक्नु’ सबैभन्दा असल चरित्र हो । यसले घरभित्र मात्रै नभएर जुनसुकै ठाउँमा पनि शान्ति स्थापन गर्न सक्छ । वातावरणलाई सौहार्दपूर्ण बनाउन सक्छ र मस्तिष्कलाई नयाँ कामका लागि सोच्ने फुर्सद दिलाउन सक्छ । फेरि व्यापार भन्नु जीवन सञ्चालनको एउटा पद्धति हो । यो पद्धतिमा फेरबदल गरिरहँदा जीवनमा उतारचढावहरु आइरहन्छन् र जीवन सकसपूर्ण बन्न सक्छ । सकेसम्म एउटै कार्यविधिबाट, एउटै सरल र असल बाटोबाट जीवनलाई हिँडाउन सके मस्तिष्कलाई तनावमुक्त बनाउन सकिन्छ र संसारलाई नजिकबाट अध्ययन गर्न प्रशस्त समय उभार्न सकिन्छ ।

अर्थगत हिसाबले हेर्दा त माथिका कुराहरू सामान्य लाग्न सक्छन् । बुहारी पनि सहन सकिन्छ, व्यापारमा पनि रहन सकिन्छ भनिएला तर सबै मानिसले यी कुराहरू गर्न सक्तैनन् । सक्ने भए त दुःख नै पाउँदैन थिए । दशवटी बुहारी भित्र्याएर पनि आफू वृद्धाश्रममा पुगेर बस्नु परेका अनगिन्ती उदाहरणहरु हाम्रो समाजमा छ्याप्छ्याप्ती छन् । तीसौँ वर्ष व्यापार गरेर पनि अहिले मागी खाँदै हिँडेका, सडकपेटी, खोलाकिनार र पाटीमा बास बसिरहेका मानिसहरू देखिरहेका छौँ हामीले । राम्रै गर्छु भन्दाभन्दै पनि किन आइपर्छन् त यस्ता आपत्तिहरु ?

बुहारी वा सासूससुरा सहन सक्ने हुनु भनेको धेरै चौडा छाती बनाउनु हो । गलत रूढि मान्यताहरूबाट मुक्त भएर दया, माया र करुणाले भरिपूर्ण बन्नु हो । मानवीय स्वभावले भरिएको हुनु हो । संसार बुझ्न, जान्न, स्वीकार गर्न सक्ने हुनु हो । क्षमा गर्न, ग्रहण गर्न, प्रेम गर्न सक्ने हुनु हो । अडिन सक्ने हुनु भनेको दैनिक जीवनमा आइपर्ने अनगिन्ती समस्याहरू सुल्झाउन सक्ने, सहन गर्न सक्ने, पर्गेल्न सक्ने हुनु हो । सही समाधानका उपायहरू पत्ता लगाई कार्यान्वयन गर्न गराउन सक्ने बन्नु हो । धैर्यवान, ज्ञानवान, स्मृतिवान, सत्चरित्रवान हुनु हो । आफूभित्र फराकिलो मन, फरासिलो चित्त, अहङ्काररहित हृदयको निर्माण गर्नु हो । रिस, राग, ईर्ष्या, द्वेष, घमण्ड आदिबाट बुद्धिलाई भ्रष्ट नगराई असल सामाजिक व्यक्तित्व बनिरहनु हो । यसो गर्न कुनै उच्च शिक्षा हासिल गरेको हुनुपर्छ भन्ने हुँदैन । कुनै दर्शनशास्त्री, चिन्तक वा विषयविज्ञ हुनुपर्छ भन्ने पनि होइन । भए त अत्यन्तै राम्रो कुरा तर नभए पनि केही बिग्रन्न ।

अनपढ नागरिकभित्र पनि बुद्धि जन्मसिद्ध प्राप्त भएको हुन्छ । मन हुन्छ, चेतना हुन्छ, आत्मा हुन्छ र इन्द्रीयहरुको माध्यमबाट उसले आत्मज्ञान प्राप्त गर्न सक्छ । औपचारिक शिक्षा नलिए पनि प्रकृति, समाज, सामाजिक वातावरण र अनुभूतिहरूबाट विद्या, ज्ञान, शील्प हासिल गरी कार्यदक्षता प्राप्त गर्नसक्छ ।

आत्मज्ञानको अर्थ आफूले आफैँलाई चिन्नसक्ने ज्ञान हो । जसले आफूलाई चिन्न सक्छ, आफ्नो आत्मालाई चिन्नसक्छ उसले अरुलाई पनि चिन्नसक्छ । अरुको आत्मालाई पनि बुझ्नसक्छ । आफूभित्रको अहङ्कारलाई हटाएर मन, बुद्धि, चित्त, स्मृतिलाई फराकिलो बनाउनेहरूले यो क्षमता प्राप्त गर्न सक्छन् ।

पहिलेपहिले औपचारिक शिक्षा लिने दिने प्रचलन नै थिएन । तथापि मानिसहरू विवेकी थिए । ज्ञानवान, विद्यावान थिए ।
वास्तवमा शिक्षाभन्दा ज्ञान, ज्ञानभन्दा विद्या, विद्याभन्दा प्रज्ञालाई गहन र उच्च मानिन्छ । किनभने आजको शिक्षा प्रणालीले हाम्रो सम्झनाशक्तिको मात्रै परिक्षण गर्न सक्छ । ज्ञानलाई प्रयोजनसँग जोड्न सक्तैन । अहिलेको हाम्रो शिक्षा प्रणली अङ्कको होडमा दौडिएको छ । यसले समस्याको पहिचान र त्यसको समाधानमा जोड दिएको छैन । अङ्क, शब्द र वाक्यको घोकाइमा लागेको छ तर समाजको सारभूत तत्त्वको खोजीमा, ज्ञान, ध्यान, मनोरञ्जन, आनन्द र जीवनको वास्तविक सुख शान्तिका लागि लागेको छैन ।

सूचनाहरू बटुलेर किताबमा लेख्छ र तिनै सूचनाहरु घोकाएर परीक्षामा सामेल गराउँछ । सूचनाहरु सम्झेर लेख्न लगाउँछ । बढी सूचना सम्झेर लेख्नेलाई बढी अङ्क र कम सूचना सम्झेर कापीमा उतार्नेलाई कम अङ्क दिई तँ जान्ने र तँ बुद्दू भनी छुट्याइदिन्छ । जान्ने भनिएका र आफू नजिककालाई सके जागिर दिन्छ नसके विकसित मुलुकतिर जान चाहेमा प्रक्रिया मिलाउन पाउने अनुमति दिन्छ । लद्दू भनिएकालाई खाडी मुलुकमा कुल्ली बन्न जाने अनुमति दिन्छ । केही विकसित मुलुकलाई छोडेर बाँकी विश्वको शिक्षा प्रणालीले यो बाहेक केही गर्न सकेको देखिँदैन ।

विद्याले सत्यको खोजी गर्न सिकाउँछ । आफूलाई चिन्न सिकाउँछ । म को हुँ ? जीवन के हो ?, समाज के हो ? यो राष्ट्र, यो ब्रम्हाण्ड, ज्ञान, बुद्धि, विवेक के हुन् ? धन, ईश्वर, सृष्टि, सुख, खुसी, आनन्द आदि के के हुन् ? भन्ने कुराहरूको खोजी गर्न सिकाउँछ । हरेक वस्तुको वास्तविक यथार्थ पत्ता लगाई समाजको रुपान्तरणका लागि व्यक्तिलाई सक्षम बनाउँछ । अरु केही गर्न नसके पनि आफू बाँच्न अरु कसैको साहारा लिनु नपर्ने बनाउँछ । व्यक्तिलाई विनयशील बनाउँदै धन आर्जनका लागि सक्षम बनाउँछ । प्राप्त धनको सदुपयोगबाट पहिले धर्म प्राप्ति र धर्मबाट मात्रै सुख प्राप्ति गर्न सिकाउँछ ।

जीवन, जागृति, सुख, सन्तुष्टि र आनन्द प्राप्ति विद्याको लक्ष हो भने जागीर, जीविका, धन र सुख प्राप्ति शिक्षाको लक्ष हो ।
विद्याबाट प्राप्त हुने सुख भनेको अरुको आत्मा खुसी बनाएर आफूलाई हुने परमानन्दसँग सम्बिन्धित हुन्छ भने शिक्षाबाट प्राप्त सुख रुपियाँबाट सोझै खरिद गरिएको सुख मानिन्छ । शिक्षाबाट प्राप्त धनलाई धर्ममा लगाएर विद्याबाट प्राप्त धनबाट सुख प्राप्त गरेझैँ सुख प्राप्ति गर्न सकिँदैन किनकि व्यक्तिमा ज्ञानको तह, विद्याको तह, प्रज्ञाको तह नै फरक फरक हुन्छ । विद्या आर्जन गरिसकेको व्यक्तिले विवेकसहितको ज्ञान उपयोग गरिरहेको हुन्छ ।

विवेकसहितको ज्ञानको उपयोग गर्नु भनेको प्रज्ञा प्राप्त गर्नु हो । प्रज्ञा भनेको प्राप्त उच्चतम ज्ञानको प्रयोगलाई लोककल्याणकारी कार्यमार्फत उपयोगमा ल्याउने तत्त्व हो । जे जानिन्छ त्यो ज्ञान हो र जानेको ज्ञानलाई व्यक्तिगतभन्दा बढी लोककल्याणका लागि उपयोग गर्नु ज्ञानको उच्चतम प्रयोग हो । प्रत्येक भूत (जीवित तथा निर्जीव भौतिक तत्त्व) मा परस्पर हित हुने गरी प्रयोग भएको ज्ञानको उच्चतम तह नै प्रज्ञा हो ।

भनिन्छ, प्रज्ञाको उपस्थितिमा मात्रै ज्ञानको प्रयोग गरिनु उचित हुन्छ । विवेक तथा प्रज्ञाबिनाको ज्ञानको उपयोग ध्वम्सात्मक पनि हुनसक्छ । ज्ञान प्राप्त भयो भन्दैमा ऊर्जालाई बम बनाउन प्रयोग गरियो भने त्यसले कसैको कल्याण गर्दैन तर प्रज्ञाको प्रयोगबाट ऊर्जालाई विद्युतमा परिणत गरी लोकहितमा उपयोग गरिए वा जेट विमानको इन्धन बनाई अनुसन्धान कार्यमा खटाउन उपयोग गरिए त्यसले लोक कल्याण गर्छ ।

उपर्युक्त कुराहरू उठान गर्नुको कारण के हो भने अहिलेको हाम्रो शिक्षा प्रणालीले समाजलाई अस्वस्थ प्रतिस्पर्धामा छिराएर विखण्डनकारी भूमिका निर्वाह गरिरहेको छ । भरखर शिशुकक्षामा भर्ना भएका बालमस्तिष्कहरूको सिकइलाई अङ्कमा विभाजन गरी बढी अङ्क प्राप्त बालमस्तिष्कलाई ठुलो, असल, ज्ञानी, र कम अङ्क प्राप्त बालमस्तिष्कलाई सानो, खराब, अज्ञानी, बुद्धू नामाकरण गरी रोल क्रम अर्थात तह क्रम अर्थात ठुलो-ज्ञानी-जान्नेबाट क्रमशः एकएक तह घटाउँदै कमजान्ने, बढीबुद्धू बनाउँदै सयौँ तहमा विभाजित गराउँदै लगेको छ ।

यसले हरेक क्षेत्रलाई असर गर्दै लगेको छ । जस्तैः अंग्रेजी जान्ने र नजान्ने, अंग्रेजी माध्यममा पढेको र नेपाली माध्यममा पढेको, पढालेखा र अनपढ, आधुनिक र रूढि, धेरै कमाउने र थोरै कमाउने, विकसित मुलुकमा गएको र खाडी मुलुकमा गएको, दाउरे र लाहुरे, डोरीलाहुरे र तोरीलाहुरे, कर्मचारी र शिक्षक, सरकारी जागिरे र निजी क्षेत्रको जागिरे आदिआदि ।

जब विद्या दिन छोडियो र शिक्षा दिन थालियो तब प्रतिस्पर्धा ज्यादै बढ्यो । प्रतिस्पर्धाले विभाजन बढायो । विभाजनले परिवारमा, सम्बन्धमा, नातामा आदर्श गुमाउँदै विखण्डन बढाउँदै गयो । ईर्ष्या, द्वेष, अहङ्कार, घमण्ड बढाउँदै र विद्या, ज्ञान, विवेक, प्रज्ञा क्रमशः घटाउँदै शून्यतातिर झार्यो । धैर्यता, समझदारी, इमान, कर्तव्यपरायण, आस्था, निष्ठा, आदर्श आदिजस्ता शब्दहरू अर्थहीन हुँदै गए ।

यसले बुहारी सहने, सासुससुरा सहने, श्रीमानसँग एउटै घर, भातभान्सा, पलङ वा अँगालोमा रहने, एकले अर्काको विश्वास र भरोसामा जिन्दगी बिताउने, एकअर्काबिच वास्ता गर्ने, शरीर र सम्पत्तिमा बराबरका हकदार ठान्ने जस्ता गहन सामाजिक सम्बन्धहरुमाथि सङ्का उत्पन्न गराउँदै लग्यो । सम्बन्धका सबैखाले गाँठाहरु खुकुलिँदै गए र आज प्रत्येकजसो घरले, परिवारले, व्यक्तिले सम्बन्ध विच्छेद (डिभोर्स) जस्ता गलत परम्पराहरुको सामना गरिरहनु परेको छ । घरेलु हिंसा, जातीय द्वन्द्व, अमानवीय कृयाकलाप आदि बढाउँदै लगेको छ । यो अत्यन्तै दुःखद पक्ष हो ।

अब हामीले शिक्षा आर्जनभन्दा बढी विद्या आर्जन कसरी गराउन सकिन्छ भन्नेबारे सोच्नु आवश्यक छ । प्रत्येक व्यक्ति, समाज, राष्ट्र तथा सिङ्गो विश्वलाई नै विवेकसहितको ज्ञान दिलाई प्रज्ञावान कसरी बनाउन सकिन्छ भन्ने कुरामा हाम्रा मस्तिष्कहरू खर्चनु आवस्यक देखिन्छ । किनकि प्रज्ञावान व्यक्तिहरु रहने समाजमा दोस्रो बुद्धि लगाईलगाई बुहारी सहनु पनि पर्दैन, सासूससुरा सहनु पनि पर्दैन । प्रत्येक व्यक्ति वा समाजको शीर्षस्थानमा विवेक बसेर समाज सञ्चालन गरिरहन, प्राज्ञिक विश्वमा व्यापारमा टिकिरहन कुनै अचुक औषधी पनि खाइरहनु पर्दैन ।