‘नेपाली’ शब्दको मर्म भनौँ वा यसको व्याख्या गर्ने क्रममा मनमा उठेका नितान्त निजी (अन्यहरूको पनि निजी हुन सक्ने) विचारहरू साझा गर्ने मनसाय राखेर मात्रै कोरिएका केही हरफहरू छन् यहाँ।

‘नेपाली’ शब्दको अर्थ र परिभाषा जसलाई जसरी मन लाग्छ त्यसरी नै गर्ने चलन छ। त्यसैले प्रारम्भमा नै स्पष्ट गर्न म जरूरी ठान्दछु। ‘नेपाली’ भन्नाले सामान्यतः र प्रायः नेपाल देशको नागरिक भन्ने मान्छेहरूले बुझ्दछन्। तर ‘नेपाली’ शब्दको अर्थ नेपाल देशको नागरिक भन्दा धेरै व्यापक छ र यसले केवल भौगोलिक क्षेत्रलाई मात्रै इङ्गित नगरेर एक सिङ्गो जाति, संस्कृति र भाषिक समुदायलाई दर्शाउँछ जो नेपाल देश भन्दा बाहिर विभिन्न मुलुकहरूमा पनि बसोबास गर्दछन्।

सत्य त के हो भने ‘नेपाली’ शब्दको प्रयोग नेपाल देशमा भन्दा पहिले भारत वर्षमा हुन लागेको थियो, यस्तो मान्यता छ सुविख्यात भारतीय नेपाली लेखक, समालोचक एवं इतिहासकार डक्टर कुमार प्रधानको। साहित्य अकादमी, दिल्लीद्वारा प्रकाशित ‘A History of Nepali Literature’ मा उनी लेख्दछन्, ‘The birth and growth of Nepali (language) took place in Bharatbarsha or the Indian sub-continent long before the emergence of political India and Political Nepal of today.’[१] अर्थात् ‘नेपाली(भाषा)को जन्म र विकास भारतवर्ष वा भारतीय उपमहाद्वीपमा आजको राजनैतिक भारत र राजनैतिक नेपालको उद्भव भन्दा धेरै पहिले भएको थियो’।  भाषा, धर्म, संस्कृति र विचारधाराको कुनै भौगोलिक सीमा हुँदैन।

नेपालमा नै जन्मेका र दिवंगत भएका आदिकविको रूपमा प्रतिष्ठित भानुभक्त आचार्य स्वयंले लेखेका थिए, ‘बडो दुर्लभ जानोस् भारतभूमिको जन्म जनले’

नेपालका आधुनिक युगका सर्वाधिक चर्चित कवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ, ‘मीठो लाग्छ मलाई त प्रिय कथा संसारको, हाम्रा भारतवर्षको उदाएको हिमप्रभासारको’

आज यसै व्यापक अर्थमा ‘नेपाली’ शब्दलाई ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु किनभने जाति, संस्कृति र भाषालाई भू-राजनैतिक सीमाहरूले छेक्न सक्दैन अनि आज यसै सीमारहित, विश्वव्यापी ‘नेपाली’ समुदायद्वारा वा भनौँ समग्र नेपाली समुदाय भित्र पर्ने यसका घटक समुदायहरूद्वारा बोलिने भाषा बारेमा चर्चा गर्न चाहन्छु।

सृष्टिको प्रत्येक वस्तु परिवर्तनशील छ। नेपाली जाति वा समुदाय पनि प्रकृतिको वा विज्ञानको यो  चिरन्तन नियमबाट अलग छैन। उत्पत्ति, विकास र विनाशको नियम हामी नेपालीहरू माथि पनि लागू हुन्छ। कस्ता-कस्ता ठूला सभ्यताहरू समयका साथै धराशायी भए, इतिहास त्यसको साक्षी छ। तर, हामी नेपालीहरूको स्थिति त अहिले उत्पत्ति र विकासको क्रममा नै छ फेरि यति चाँडो किन विनाशको दिशामा हामी बढिरहेका छौँ ? प्रश्न साह्रै ठाडो र तीतो खालको छ। सत्य ठाडो नै हुन्छ, सत्य तीतो नै हुन्छ।

भानुभक्त आचार्यको योगदान हिन्दुहरूको पौराणिक गाथा रामकथालाई जन-जनसम्म पुऱ्याउनु थियो होला जसमा उनी पूर्णतः सफल भए तर यसको by-product अर्थात् सह-उत्पादन के भयो भने उनको रामायणको सरल-सहज नेपाली भाषा विविध भाषिका एवं बोलीहरू बोल्ने समुदायहरूको परस्परा सम्प्रेषणको भाषा बन्न पुग्यो। यसमा तत्कालीन राजनैतिक, आर्थिक एवं भौगोलिक कारणहरूले भूमिका खेले।

आजको स्थितिमा भानुभक्तलाई हिन्दु पौराणिक कथा रामायणको सन्दर्भमा हेर्नुको स्थानमा नेपाली भाषाका प्रणेताको रूपमा नेपाल मुलुक भित्रका मात्रै होइन सम्पूर्ण विश्वभरी फिँजिएर बसेका नेपालीभाषीहरूको एक साझा धरोहर अथवा सम्पदा वा हाम्रो मूल स्तम्भको रूपमा हेरिनु जरूरी छ। भानुभक्तलाई कुनै जाति विशेष, धर्म विशेष, समुदाय विशेषका नभएर नेपाली भाषीहरूको साझा धरोहरको रूपमा प्रस्तुत गरिनु जरूरी छ।

भानुभक्तद्वारा लोकप्रिय बनाइएको नेपाली भाषाले कालान्तरमा हिन्दु धर्मावलम्बीहरूको धर्मग्रन्थलाई जन-जनसम्म पुऱ्याउने काम मात्रै गरेन, यो भाषाले त क्रिस्तानहरूलाई आफ्नो ईसाई धर्मको प्रचारको माध्यम पनि प्रदान गऱ्यो। ‘हिन्दु पौराणिक कथाहरू र संस्कृत साहित्यले नेपाली भाषामा लेखनलाई उत्प्रेरित गरे भने क्रिस्तान मिशनरीहरू क्रिस्तान धर्मग्रन्थहरूलाई नेपाली भाषीहरूसम्म पुऱ्याउने काममा पछि परेनन्’ [२]। 

दार्जीलिङमा पादरी गंगाप्रसाद प्रधानले क्रिस्तान धर्मका पुस्तकहरू नेपाली भाषामा उल्था गरे किनभने नेपाली भाषा त्यस भेकमा बस्ने विभिन्न भाषा-भाषिका बोल्ने जातिहरूको सम्पर्क भाषा बनिसकेको थियो। भारतीय नेपाली भाषा एवं साहित्यका स्तम्भ पारसमणि प्रधानले नेपाली हाम्रो मातृभाषा शीर्षक लेखमा यसरी लेख्नुभएको छ – “नेपाली भाषा खस-ब्राह्मणको मात्र भाषा होइन रहेछ, नेपाली भाषा मध्य-भारतबाट नेपाल पस्ने कन्नौजी ब्राह्मणहरूका सन्तानको मात्र पनि होइन रहेछ, नेपाली भाषा एकमुट्ठी रजपूत सन्तानको मात्र पनि होइन रहेछ। यो त Angles, Saxons र Jutes हरूका बोलीको सम्मिश्रणले ‘Old English’को उत्पत्ति भएझैँ समय-समयमा सैकडौँ वर्षमा धेरै बोलीहरूको सम्मिश्रणले बनेको एउटा नयाँ भाषा पो रहेछ। यो भाषा कुनै निश्चित जातको पेवा-भाषा होइन रहेछ तर यो समस्त नेपाली जातिको मातृभाषा रहेछ। साँचो हो –

लिम्बू जिम्दार तामङ् खस मगर गुरूङ् हायु चेपाङ् र कामी।

सुन्वार लाप्चे कुसुण्डा गिरिपुरि ठकुरी थारू नेवार थामी।।

नेपाली जाति हामी भनिकन सबले बोलि नेपाली भाषा।

हाम्रो भाषा यही हो भनि तनमनले मान्दछन् मातृभाषा।।“ [३]

पारसमणि प्रधानले दार्जीलिङको सन्दर्भमा भन्नुभएको उक्त कुरा सम्पूर्ण नेपाल मुलुकका लागि पनि त्यत्तिकै सत्य हो। तर अब त, सत्य थियो पो भन्नु पर्ने हो कि !

आज नेपालीहरू नेपालका मात्रै नागरिक छैनन्। भारत, अमेरिका, यु.के. आदि मुलुकहरूका नागरिक छन्। तर आज अत्यन्तै भयावह स्थिति के छ भने सिङ्गो नेपाली जातिको विघटन भइरहेकोछ। यसका संघटक जातिहरू अलग्गिँदै जान थालेका छन्। यो विघटनको प्रक्रिया दुई स्तरमा भइरहेको छ। एक मुलुक विशेष भित्र नै संघटक जाति एवं समुदायहरू एकार्काबाट टाढिँदै जानु र अर्कोतिर एक मुलुकको वा एक क्षेत्रको नेपालीले अर्को ठाउँको नेपालीलाई अलग्गिएर हेर्न थाल्नु। स्रीलङ्कामा स्रीलङ्काली तमिलहरूको पीडाले भारतको तमिलनाडु राज्य पीडित हुन्छ, भारतीय संसद हल्लिन्छ तर हामी नेपालीहरू नाम नै बदलिएर आफैलाई एकार्काबाट अलग देखाउने प्रयासमा लाग्छौँ। एक क्षेत्रको नेपालीको पीडाले अर्को क्षेत्रको नेपालीलाई पीडित गर्दैन।

यो स्थिति उत्पन्न हुनुपछि के-कस्ता कारणहरू छन् भन्ने कुरो समाज-वैज्ञानिकहरूद्वारा विस्तारपूर्वक विवेचन गरिनु पर्ने विषय हो। विद्वत वर्ग तथा नेपालीजाति र भाषी प्रेमीहरूले निश्चय पनि यो काम गर्नेछन् वा गर्नु नै पर्नेछ।

भौगोलिक विस्तार, ऐतिहासिक-सांस्कृतिक पृष्ठभूमि, सामाजिक विधि-व्यवहार, राजनीतिक सम्पर्क आदिका साथसाथै विकासशीलता र साझा अभिव्यक्तिको माध्यमले गर्दा नै नेपाली भाषाले नेपालको राष्ट्रभाषा, भारतीय संविधानको अष्टम सूचीमा अन्तर्भुक्त सम्पर्क भाषा तथा विश्वभरी छरिएर बसेका नेपालीहरूको साझा भाषा हुने अवसर पाएको छ।

तर, आजको स्थिति अलि बेग्लै छ र समयका साथै हाम्रो जाति र समाजमा आएको परिवर्तनलाई आत्मसात गर्दै यो सिङ्गो जातिलाई धराशायी हुनुबाट बचाउनु जरूरी देखिन्छ। आजको युग लोकतन्त्रको युग हो। राजनैतिक तदनुरूप आर्थिक रूपले बर्चस्वशालीद्वारा बाँकीलाई एकतर्फे रूपमा प्रभावित गर्नु अब आजको युगमा सम्भव छैन। शिक्षाको प्रचार-प्रसारका साथै विभिन्न जाति एवं भाषा-भाषिकहरूमा आफ्नो जाति र संस्कृति प्रति जागरूकता फिँजिएको छ। सिङ्गो नेपाली जातिका घटक जातिहरूका भाषा र संस्कृति प्रति असंवेदनशीलताले स्थितिलाई झनै बिगार्न सक्दछ। तर त्यहीँ, संघटक जाति एवं भाषा-भाषीहरूद्वारा सिङ्गो जातिको रूपमा पाइसकिएको पहिचानलाई टुक्र्याइनाले नेपाली जातिको शक्ति र मजबूती कमजोड हुने खतरा छ।

‘भाषा-विज्ञानका दृष्टिमा वा भाषाको अध्ययन क्रममा सानो-ठूलो जे-जस्तो भएपनि सबै भाषा उत्तिकै महत्वका ठानिन्छन्। चाहे त्यो ८४ करोडभन्दा बढीले बोल्ने चीनको मन्दारिन भाषा होस्, चाहे दस हजारजति मानिसले बोल्ने झाँगड भाषा होस्।… बहुभाषाभाषी मुलुकमा एउटा साझा भाषा हुनु र त्यसलाई विकसित गर्दै लैजानु निश्चित रूपमा सकारात्मक पक्ष हो। तर जनजातिले बोल्ने प्रत्येक भाषालाई आ-आफ्ना सम्भावना र शक्ति अनुसार उठ्ने मौका दिन भने बिर्सनु हुँदैन’[४]

यस पृष्ठभूमिमा सारा विश्वभरी छरिएर बसेका नेपालीहरू सामु एउटा अत्यन्तै महत्वपूर्ण चुनौति छ  र त्यो चुनौति हो — विखण्डनको मुखेञ्जी रहेको यो सिङ्गो नेपाली जातिलाई यो प्रक्रियाबाट विपरित दिशामा मोड्नु।

नेपाली भाषा र जातिको विकासको कुरा गर्दा यसका संघटक हरेक समुदायका आफ्ना पहिचान र अस्तित्वको विकास पनि त्यतिकै जरुरी छ, अनेक थरीका भाषा-भाषिक समुदायहरूका साझा फूलबारीको रूपमा नै यसको भविष्य सुरक्षित हुनेछ।

* * * * *

[१] Dr. Kumar Pradhan, A History of Nepali Literature, Sahitya Akademi, १९८४, Page २.

[२] Dr. Kumar Pradhan, A History of Nepali Literature, Sahitya Akademi, १९८४, Page २८.

[३] डा. पारसमणि प्रधान, टिपन-टापन, डा. पारसमणि प्रधान प्रकाशन, दार्जीलिङ, जून१९९३ (दोस्रो संस्करण), पृष्ठ २२३

[४] कृष्णप्रसाद पराजुली, भाषाको माया, रत्न पुस्तक भण्डार, काठमाडौँ, २०४४, पृष्ठ १८