
“तिमी नेपाली हौ ?” सोधी हेर एक बिना बाबुको छोरालाई ।
“तिमी नेपाली हौ ?” सोधी हेर नोट कमाउन भोट जाने मदनलाई ।
“तिमी नेपाली हौ ?” सोधी हेर गुलियोको ऋण नुनिलो आँसुले चुक्ता गर्ने श्यामकुमारलाई ।
“तिमी नेपाली हौ ?” सोधी हेर कतारबाट बाकसमा फर्किनुपर्नेको सकसलाई ।
नेपालका डाँडाकाँडामा, तराईका फाँटमा, कुना कन्दरामा गुफा र छहरामा प्रकृतिको बास छ भन्दै युरोप घुम्ने सपना देख्छौ भने नेपाली हौ तिमी । नेताले देश बिगारे भन्दै सत्तोसराप गर्छौं भने नेपाली हौ तिमी । नेपाल कृषिप्रधान देश हो भन्दै खडेरीले चर्केका खेतमा पसिना चुहाउँदै गर्दा डढेका किसानलाई “ए धोती” भन्छौ भने नेपाली हौ तिमी । नारायण गोपालका गीत कालजयी छन् भन्दै टेयलर स्वीफ्टका गीत घन्काउँछौ भने नेपाली हौ तिमी । सहरहरुमा शुद्ध नेपाली बोल्दा हीनताबोध गर्न थालेका छौ भने नेपाली हौ तिमी ।
बुद्धका सन्देशले होइन युट्युबका बाबाले भनेकाले ध्यान गर्न थालेका छौ भने नेपाली हौ तिमी । निर्मला र नवराजका नृशंस हत्या तथा अपराधीप्रति बढ्दो दण्डहीनताले तिम्रो मन त्रासले काँप्छ भने नेपाली हौ तिमी । पिज्जा र बरगरमा रमाउने तर ढिँडोको डल्लो निल्न जान्दैनौ भने नेपाली नै हौ तिमी ! जन्मदिनमा अष्टचिरञ्जीवीको आशीर्वाद लिनुको साटो केक अर्डर गर्ने अघोषित नियम तिम्रो घरपरिवारमा बनेको वर्षौं भइसक्यो भने नेपाली हौ तिमी । गर्मीयाममा रापिएर घर आउँदा तिम्रा हात सातुको सर्वत या चिसो मोहीको गिलास होइन फ्रिजमा राखेको कोक्को बोतलतर्फ लम्केको पत्तो पाउदैँनौ भने नेपाली हौ तिमी ।
तर अझै पनि दशैँमा चङ्गासँगै मन उडाउँछौ र तिहारमा बातीसँगै दुःख सल्काउँछौ भने नेपाली हौ तिमी । मादल, सारङ्गी बिनायोको साटो गीतार र युकलेलीको लोकप्रियताले तिम्रो मन छिनाउँछ भने नेपाली हौ तिमी । कानमा हेडफोन होइन; बाबरी सिउरिने धित मरेको छैन भने नेपाली हौ तिमी । युरोप घुम्ने रहरअघि रारा र तिलिचो पुग्ने र आकाङ्क्षा राख्छौ भने नेपाली हौ तिमी ।
भत्किन लागेका पुरातात्विक भवन, मक्किएका संस्कृतिका धरोहरहरू चहार्न र स्याहार्न चाहन्छौ भने नेपाली हौ तिमी । मध्यरातमा निमेशभरकै लागि भए पनि देश बदल्ने, विकृति हटाई दिगो विकास गर्ने जोश चट्याङ परे सरी आउँछ भने नेपाली हौ तिमी । कोरियन र जापानिज होइन संस्कृत र नेवारी भाषाप्रति आकृष्ट हुन्छौ भने नेपाली हौ तिमी । सहरको उदेकलाग्दो मृगमरीचिका र कोलाहल त्यागेर गाउँ गई हलो जोत्ने विचारले आज पनि तिम्रो मथिङ्गललाई उथलपुथल पारेर गयो भने नेपाली नै हौ तिमी !
लामिछानेको क्लिष्ट ‘एब्सट्र्याक्ट चिन्तन प्याज’ पढी टोपलेर फुच्चे दार्शनिक बनेको महसुस गर्छौ भने नेपाली हौ तिमी । ‘द कपिल शर्मा सो’ हेरेर होइन अर्यालको ‘जय भुँडी’ पढेर अझै पनि हाँस्छौ भने नेपाली हौ तिमी । बधुशिक्षा पढेर पुरुषभित्रको नारीले पनि महाकालीको रुप धारण गर्छिन् भने नेपाली हौ तिमी । श्रेष्ठको ओखलढुङ्गालाई तिमी पनि प्यार गर्छौ भने नेपाली हौ तिमी ।
नेपाल आजसम्म कसैको उपनिवेश नबनेकामा बलभद्ररुपी रूद्रलाई आक्कल झुक्कल सम्झिन्छौं भने नेपाली हौ तिमी । तर म बाघको डमरु हुँ… भन्दै आफ्नै आमाको छाला काढ्न पछि पर्दैनौ भने नेपाली हौ तिमी । सबै त्यागेर जङ्गल पस्छु ; सन्यासी बन्छु भन्ने भावना कयौँपटक आएपनि आशक्ति तोड्न सकेका छैनौ भने नेपाली हौ तिमी । बुढेसकालमा मकै भटमास चपाउने दाँत उखेलेर फ्याँक्नु नपरोस् भन्ने आशामा जिउँछौ भने नेपाली नै हौ तिमी !
कोराना महामारीपश्चात् पनि युवापुस्ता माझ “नमस्ते”लाई स्थापित गराउन सकेका छैनौ भने नेपाली हौ तिमी । आई टी पढेर विदेश गई उतै जीवन बिताउने सोच राख्ने विद्यार्थीलाई आफ्नो देश र आफू नेपाली हुनुको अनुभव समेटी आत्मपरक निबन्ध लेख्न लगाउँछौ भने नेपाली हौ तिमी । अझै पनि “देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ” भन्ने धृष्टता गर्छौ भने नेपाली हौ तिमी !
जीवनमा यी र यस्ता थुप्रै कुराहरू एकै मानिसका विभिन्न या एकै कालखण्डमा आउने सोच, घट्दाे घटना अथवा स्थिति हुन सक्छन् । विभिन्न मानिसमा भिन्न कालखण्डमा आउने केही कुनै सबै विचारहरू हुन सक्छन् । हाम्रो मौलिक संस्कृतिलाई विकृतिका रुपमा भित्रिएको विदेशी चलनले विस्थापित गर्दै गए पनि आफू नेपाली हुनुको आभाष हामी सबैलाई कुनै न कुनै रुपमा भइरहेकै छ ।
जहाँसम्म मेरो कुरा छ, माथिका विरोधाभाषपूर्ण लाग्ने केही कुराहरुले मलाई पनि सताएकै हुन् र म बिना बाबुको छोरो पनि होइन ! त्यसैले, नेपाली हुँ म !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

