पल्किएको काल घरिघरी आइरहन्थ्यो । मसानघाट रमाउँथ्यो । असन्तुलित समाज थियो । भागबण्डाको चाङहरु असीमित थिए । कोही चिथोर्थे । कोही बोकर्थे । कोही रप्याउँथे । कोही सेकाउँथे । कोही साँध्थे । कोही उसिन्थे । जोगिन गाह्राे थियो । अलिकति गल्ती भयो कि जिन्दगी परिकार बन्थ्यो । टेकेका पाइला उठाउन विचार गर्नुपर्थ्यो । बोल्दा जिब्रो काटिन्थ्यो । गाँस खोसिन्थ्यो । सम्पत्ति हरिन्थ्यो । परिश्रमीका हात काटिन्थे । बटुवाको खुट्टा भाचिन्थ्यो । दिन दिन भइरहन्थे । रात लम्बिन्थे ।समाज कोलाहलमय थियो । त्रासले त्राहित्राही थियो । काख रित्तियो । सिन्दुर पुछियो ।लालाबाला टुहुरा भए । तर आश्वासन सपनामै रहे । अर्धचेतमा मानिस बोलेझैँ ।

अबला बालकझैँ । श्वास फेर्दा उकुसमुकुस भएर आउने गर्थे । सुस्केराले शरीर गलाउँथे । चिटचिट पसिनाले फोहोरा फुटाउँथे । तर भिमकायी बनी डर आँखामा नाचिरहन्थे । उल्लास आएन । रहर लागेन । मीठो खोजेन । राम्रो पाएन । तर पनि निरन्तर लगनशील भइ एउटा आकार दिन लागि परिरहे । बिग्रिएका समाज बदल्नुथियो । भत्किएको बाटो बनाउनुथियो ।अनुत्तरित प्रश्नका उत्तरहरु दिनुथियो ।बोलीमा मिठास मिसाउनुथियो ।आवेगलाइ समाल्नुथियो । को हार्ने को जित्ने होइन सबैलाइ जिताउनु थियो । यही सङ्कल्प थियो मेरो । टुटेको सम्बन्ध जोड्नु थियो ।असमान ज्वारभाटा शान्त पार्नुथियो ।

मृत्यु शाश्वत सत्य हो, मृत्युभन्दा अगाडि कोही छैन । जात, पात, निच,उच,धनी,गरिब सबैलाई मृत्युले पिछा गरिरहेको छ ।मात्र समयले पर्खिरहेछ। समय घड्किरहँदा मृत्यु सबैको आँखामा नाचिरहन्छ तर अनेक रुपमा तर त्यही रुप कसैले चिन्न सकिँदैन मृत्युको अन्तिम पल कसैको मनमा डर, कसैको मनमा रोदन कसैको मनमा दुख कसैको मनमा हाँसो हो , म त्यही मन प्रफुल्ल भई ओठमा हाँसो लिई हासी हासी मृत्युवरण गर्न चाहन्थे ।

कडा जमिनलाई अङ्कुर बनी तोड्ने बिजजस्तै म अपहेलित समाजबाट अङ्कुर बनी बढ्ने कोसिस त गरेँ तर सतहमा चट्टानले मेरो दिशा ठोस आकार बदलिदियो । म सतहबाट उठ्न खोजेँ । बज्र मेरा शिरमा बजारिए । मेरा आशामा तुषारापात र जिन्दगीमा असिना पानीले ठटायो । सोझो काटिन्छ । मीठो रहन्न । बलिष्ठले हेप्छ । निर्धोले सहन्न । म त्यही निर्धो भई आज बलिष्ठको बाहुलीमा हेपिराखेको छु । त्यो बलिष्ठ समय हो । म उसैको नियन्त्रणमा कैदीझैँ समयको सान्दार कारागारमा नियन्त्रित छु ।

डर मृत्यु मात्र होइन, जीवनको ठुलो सत्रु पनि हो । मृत्यु मेरो डर होइन तर डर अपुरो जिम्मेवारी को हो जुन यत्रतत्र मेरा सामु असरल्ल पोखिएका छन्, तिनै असीमित जिम्मेबारी पूरा गर्दै आज म जिन्दगीको कठिन यात्रा सकिनसकी यात्रा गरिरहेको छु ।

परिस्थिति गर्माइ नै रहन्छ । रछ्यानमा लडिबुडी खेल्दै ओछ्यानसम्मको यात्रा गर्ने महामहिमसँग पौठाजोरी खेल्न त सकिएन । ओडारदेखि महल । गाउँ बस्तीदेखि सहरिया मस्तिसम्मका यात्रा गर्नेहरुले आफ्नो माटो र पसिनाको गन्ध त बिर्सिए नै साथमा आफ्नो नैतिकता पनि । गाउँमा रौनक रहेन । इमान्दारीता हरायो । मौलिकता बेचियो । मानवता मरेर गयो । टोल बस्ती टाढा भयो ।आफन्तमा बिरानो भयो । धर्म रहेन । मानिस क्रुर भयो पापको श्रृङ्खला बढ्यो ।

कराउँछु, चिच्याउँछु, मनको तितो त ओकलिन्छ । ममा रहेको आक्रोश पोखिन्छ, त्यही तितो शब्दबाण र आक्रोश पहाडमा ठोकिएर मैतिर आक्रमण गर्छन् । म घाइते बाघझैँ चटपटाउँछु, भोकमा आफ्नो शिकार खोज्दछु । तर पेशेवर शिकारीहरु बिषबाण बोकी मतिर ताकिरहन्छन् । म बाँच्न आहारा खोज्दछु, परिस्थिति सलह बनी प्रकृति मासिदिन्छ । म उदार बनी तृष्णा मेटाइदिन खोज्छु । सुनामी बनी सागर मैतर्फ बढिदिन्छ ।

म रुपान्तरित समाजको खारिएको बिलौनी हुँ । पाइन कडा भएको औजार हुँ । भयंकर चट्टान हुँ । हुरिको तेज भुमरी हुँ । सामुनद्रिक आँधीको सुनामी हुँ । ममा बज्रजस्तै तेज छ । बिजुलीजस्तै रोसनी छ, किनकि मैले सबै दुखको मार खेपिसकेँ, चोटिला प्रहार सहिसकेँ, कयौँ बेग धानेँ ।दुखका चोटमा उब्जिएका चीत्कारहरु दबाएँ । अहिले ममा मौनता छाएको छ, किनकि आवाज दिने र चोट दिने खुकुरी नै हो । अचानो मौनतामा सहिदिन्छ ।

म नैतिक सङ्कटसँगै धर्म सङ्कटको सामना गरिरहेको छु । दुसित हावाको श्वास लिएको छु, महामारीले भयावह अवस्था सिर्जना गरेको छ । आफू महामारीको पहिलो घेरामा रहेर पीडितको सेवामा समर्पित छु । आफ्नो परिवारमा खबर सुन्दा ज्यान सिरिङ्ग हुन्छ तर पनि हार मानेको छैन । सैनिकको धर्म युद्ध उपासना हो । डक्टर नर्सको धर्म प्रशस्त बिरामी उपचार गर्नु हो । राज्यका सुरक्षा निकायहरुको महामारीमा सेवा गर्न पाउनु पनि अवसर हो । लाशका चाङ माथिबाट आफूलाई नियाल्दा मात्र खाली देख्छु न रिस राग न सम्पति न सानो न ठुलो सबैभन्दा ठुलो प्रकृति रहेछ । म मौन छु । मसँग शून्यता छ, मात्र शून्यता । त्यो मेरो अतीत थियो, भुल्नै नसकिने अतीत । मभित्रको अनुत्तरित प्रश्न ।