सपना यस प्रकारकाे थियाे…

सन् २०२१ को डिसेम्बरको पहिलो साता थियो । म नेपालको काठमाडौं नजिकैको चिसो सहर धुलिखेलमा थिएँ । दिन सामान्य बित्यो र म सधैँ झैँ मेरी श्रीमतीसँग सुत्न गएँ । त्यसपछि बिहान चार बजेतिर मैले एउटा सपना देखेँ । सपनामा म पूर्णतया नयाँ शहरमा थिएँ । यो नयाँ थियो किनभने मैले कुनै साइनबोर्ड, होटलका मेनु, बाटाका सूचनाहरू पढ्न सकिनँ र मानव कुराकानी पनि बुझ्न सकिन । यसकारण मनभित्र कतै डर थियो मलाई । म सडक छेउको सिसाका फराकिला झ्यालहरू भएको रेस्टुरेन्टमा एउटा फरक स्वादको चीज खाइरहेको थिएँ । म एउटा कपबाट खान मन नलागी नलागी केही चुस्की पिउँदै थिएँ ।

भाषाको समस्याका कारण मैले मेरो खानाको अर्डर परिवर्तन गर्न सकिरहेको थिइनँ । एकजना बलियो जस्तो देखिने वेटरले मलाई उसको आँखामार्फत/ हेराइमार्फत धम्की दिँदै हेरिरहेको थियो । रेस्टुरेन्टबाहिर केही मानिसहरु उभिइरहेका थिए, कोही प्रहरीको वर्दीमा थिए । आपद परेका खण्डमा मैले ती सिसाका झ्याल खोल्ने र त्यहाँका प्रहरीलाई ठूलो स्वरले कराउने योजना बनाएँ ।

केही बेरपछि, दुई अपरिचित अनुहारहरू, मैले उनीहरूलाई पकेटमारहरू भएको अनुमान गरेँ, मेरो नजिक आए र मलाई वेटरको जस्तै तरिकाले हेर्न थाले । मलाई मेरो पर्स कहाँ र कुन पकेटमा छ भन्ने थाहा थियो तर तिनीहरू त्यहाँ भएसम्म खाएको बिलकोलागि पर्स र पैसा बाहिर ननिकाल्ने योजना बनाएको थिएँ । मलाई नमिठो लागे पनि आरामदायी तरिकाले मिठो माने जस्तै गरेर कपबाट मेरा चुस्कीहरू लिइरहे ।

ती अनुमानित पाकेटमारहरू मेरा शरीरका अंगहरू र मेरो पर्स टाँसिन आइपुगे । मलाई लाग्यो, म पक्का त्यहाँ लुटिन लागेँ अनि मैले बाहिर पुलिसलाई सहयोगको लागि आवाज दिएँ तर व्यर्थ भयो । कसैले पनि सुनेनन् । त्यसपछि मेरी श्रीमती रेस्टुरेन्टमा आइन् र मलाई डाक्टरलाई तुरुन्तै केही रुपैयाँ तिर्न आग्रह गरिन् । उनका अनुसार मेरी छोरीको केही मिनेट अघि टाउकोमा चोट लाग्यो रे । मैले अब मेरो पर्स झिक्नै पर्ने भयो ।

यो एक आपतकालीन समय थियो; म उनीसँगै जानुपर्थ्यो र मैले बिल पनि तिर्नुपर्ने थियो । मैले त्यही काम गर्नु पर्यो जुन मैले टार्न खोजिरहेको थिएँ । तीन जनाले मलाई हेरिरहेका थिए । मैले खल्तीमा हात हालेँ तर त्यहाँ पर्स थिएन । म धेरै दुखी भएँ; संसारमा एक सच्चा असहाय व्यक्ति जस्तो भएँ । त्यसपछि मैले दुःखी हुँदै श्रीमतीलाई “पैसा हरायो” भने, अर्थात् मेरो पर्स चोरी भइसकेको थियो ।

सपनामा होइन, यस्तो भयो कि मैले अलिक चर्को स्वरमा “पैसा हरायो” उच्चारण गर्दा मेरी श्रीमती एक सेकेन्डको लागि ब्यूँझिइन् र उनले के भयो भनेर सोधिन् । म, अब मेरो ओछ्यानमा पूर्ण रूपमा उठेको थिएँ, अलिकति कठिनाइ र टुक्रिएको वाक्यमा मैले उनलाई जवाफ दिएँ कि मैले सपनामा केही शब्दहरू मात्र उच्चारण गरेको हो । जब मैले भोलिपल्ट बिहान उनलाई हाम्रो रातको कुराकानीको बारेमा सोधेँ, उनी यसबारे अनजान भइन् ।

सपनापछि…

जब म सपनापछि तुरुन्तै ब्युँझिएँ, मैले मेरो शारीरिक अवस्था खराब भएको पाएँ । मलाई शरीरका अन्य भागमा खासै दुखाइ थिएन तर मेरो घाँटी र मुखको अवस्था खराब थियो । सुत्नुअघि म/हामीले झ्याल बन्द गर्न बिर्सिएका रहेछौँ र डिसेम्बर रातको चिसो हावा पर्दाबाट तल हुँदै आएछ । म पर्दाको छेउबाट एक फिट टाढा सुतिरहेको थिएँ । निद्रामा लगातार त्यो चिसो श्वास फेरेपछि मेरो मुख सुकेको थियो । म ब्युँझँदा नाकबाट होइन मुखबाट सास फेर्दै थिएँ । मेरो जिब्रो मुखको एक छेउमा अड्किएको थियो र मेरो घाँटी सुकेको थियो। मेरो मुखमा र्याल थिएन । मैले केही निल्न प्रयास गरेँ तर सकिन किनभने मेरो मुखमा तरल पदार्थ थिएन । मेरो घाँटीमा तरलता ल्याउन र सामान्य महसुस गराउने र्यालको सानो चुस्की पिउन मलाई केही सेकेन्ड लाग्यो ।

एउटा सुकेको मुखको/घाँटीको समस्याको लागि यदि मैले यस्तो कठिन सपना देख्नु पर्यो भने, म मृत्युनिकट अवधिमा कति डरलाग्दा सपनाहरू देख्छु होला । लाग्यो, गरुड पुराण सत्य हुनुपर्छ !

विषयको परिकल्पना :

१. सपनाहरू शरीर सुतिरहेको बेला शरीरका अंगहरूले राम्रोसँग काम गर्ने सामान्य दिमागी प्रक्रियाहरू हुन् ।

२. दबिएका इच्छाहरू सपनाहरूमा व्यक्त हुन्छन् तर तिनीहरूको मुख्य काम त्यो देखेर चित्त बुझाउनु होइन, इच्छा पूरा गर्नु हैन । अतृप्त इच्छाहरूको स्वप्निक दृश्यावलोकन ती इच्छाहरूको पूर्तिको लागि होइन तर शरीर निदाएको बेला पनि अप्ठ्यारामा परेका अन्य अंगहरूको उपचारको लागि हो ।

३. दिमाग भगवानबाट अलग छ ।

पहिलो परिकल्पनाको समर्थनका लागि : सामान्यतया म सपना देख्दिनँ । यसको मतलब म राम्रोसँग सुत्छु । यो सकियो । कहिलेकाहीँ म सपनाहरू बिर्सन्छु । शरीरका अङ्गहरूमा सानातिना समस्या हुनसक्ने र स-साना सपना देखेको हुनाले बिर्सिनु स्वाभाविकै हो । त्यो पनि सकियो । त्यो विशेष रातमा मैले किन सपना देखेँ ? किनभने मेरो शरीरका अंगहरू (मुख र घाँटी) मा समस्या थियो । मैले मेरो समस्या किन समाधान गरिनँ ? म सचेत नभएको कारणले गर्दा सकिनँ अर्थात् म निदाएको थिएँ ।

यदि म होशमा भएको भए, मैले एक गिलास पानी लिएको भए, मैले मेरो मुख बन्द गरेको भए, मैले झ्याल बन्द गरेको भए वा मैले अरू केही गरेको भए समस्या समाधान हुन्थ्यो । मैले केही गर्न नसकेपछि मेरो दिमागले आफ्नै तरिकाले समस्या समाधान गर्न थाल्यो । यसले समस्याको समाधान गर्ने उत्तम तरिका स्केच गर्यो । मेरो दिमागले किन यस्तो गर्यो ? किनकी आफूलाई बचाउन दिमाग जहिले पनि लागिपर्छ । यो जान्दछ कि यदि शरीर ठीक छ भने, यो आफू पनि (दिमाग) ठीक रहन्छ । दिमागलाई यो थाहा छ कि यदि मेरो मुख र घाँटीले लामो समयसम्म एउटै समस्याको सामना गर्यो भने, सम्पूर्ण शरीरले राम्रोसँग काम नगर्न सक्छ। मेरो मतलब, म मर्न सक्छु । र जब शरीर मर्छ, त्यो दिमाग आफू पनि बेकार बन्छ ।

अर्को कुरा, कसरी यो विशेष समस्या समाधान गर्न सबै भन्दा राम्रो तरिका स्केच भयो त ? त्यो बेला मेरो मुख र घाँटी जोगाउन ओठ बन्द गर्नुपर्थ्यो भन्ने मेरो दिमागलाई थाहा थियो । यस्तै प्रयास गरेको पनि हो दिमागले । म सपनामा केही पिइरहेको थिएँ । काम भएन । मैले रेस्टुरेन्टमा मेरो अर्डर परिवर्तन गरेर बोल्ने प्रयास गरेँ । काम भएन । मैले प्रहरीलाई चिच्याएँ । फेरि काम गरेन । र अन्तमा, जब मैले “पैसा हरायो” भनें, यसले काम गर्यो । मेरा ओठहरू बन्द भए र म केही अस्पष्ट उच्चारण गर्न सक्षम भएँ । समस्या हल भयो । यदि अवस्था सामान्य थियो भने, ओठ बन्द भएपछि म फेरि निदाउने थिएँ र सपना बिर्सने थिएँ ।

धेरैजसो सपनामा म चराजस्तै उड्छु । जब म ब्युँझन्छु तब मैले मेरो हातलाई मेरो शरीरले थिचेको र हातको नसाहरूमा रक्तसञ्चारमा बाधा पुगेको भेट्टाउँछु ।

यौन अङ्गमा पनि यस्तै हुन्छ । यदि कुनै तरल पदार्थ पाइपमा वा यसको मार्गमा अड्किएमा वा सुतिरहेको बेला थिचिएमा, दिमागले सबै भन्दा राम्रो विकल्प छान्छ र यौनसँग सम्बन्धित सपनाहरू स्केच गर्छ । यौनसम्बन्धी भागहरूमा गति हुन थाल्छ जसले गर्दा अड्किएको तरल पदार्थ बाहिर निस्कन्छ । अंगमा सहज महसुस हुन्छ ।

दोस्रो परिकल्पनाको समर्थनका लागि :

मलाई रेस्टुरेन्टमा जाने इच्छा छैन; COVID २०१९ पछि त झन् एक प्रतिशत पनि छैन । मेरो सपनाका अन्य कुराहरू जस्तै छोरीको टाउकोमा चोट लाग्नु, लुटिनु, म समस्यामा हुनु, पर्स हराउनुसँग मेरो विगतका वर्षहरूमा केही सम्बन्ध वा सोच छैन ।

यो सत्य हो कि मैले राम्रो रेस्टुरेन्ट देखेको हुन सक्छ, कसैको टाउकोमा चोट लागेको वा लुटेराहरू देखेको हुन सक्छ र ती चीजहरूको बारेमा होशियार वा अनजानमा सोचेको हुन सक्छ ।

सामान्यतया मेरा धेरैजसो सपनाहरू दुःखमा समाप्त हुन्छन् । हो, यौन सपनाहरू दुःखी हुँदैनन् किनभने हामी डरलाग्दो परिस्थितिमा राम्रो यौन सम्पर्क गर्न सक्दैनौँ । त्यहाँ सौन्दर्य, कामुक दृश्यहरू र कामुक क्षणहरू हुनुपर्छ, यौन अङ्गहरूको लागि काम गर्न तयार हुनुपर्छ । त्यसैले, दिमागले समान परिदृश्य सिर्जना गर्दछ । र यहाँ फेरि, दिमागको प्राथमिक उद्देश्य अङ्गको आन्तरिक कार्यलाई सहज बनाउनु हो । सपनामा यौन साथी छनोट गर्नु सधैं सेकेण्डरी कार्य हो, दोस्रो कार्य हो । सपनाको यस दोस्रो कार्यमा विश्वास गर्नेहरूले सपनामा अतृप्त इच्छाहरू पूरा हुन्छन् भन्ने विश्वास गर्छन् ।

तेस्रो परिकल्पनाको समर्थनका लागि : त्यो विशेष रातको त्यो विशेष सपनापछि, मैले यो लेख लेख्ने योजना बनाएको थिएँ तर यो सुरु गर्न मलाई लगभग दुई हप्ता लाग्यो । ती दुई हप्ताको लागि मलाई लेख्न कुन कुराले रोक्यो भने, मैले आफैँलाई सोधेको प्रश्न अनुत्तरित थियो । किन मेरो दिमागले “पैसा हरायो भन्यो ?” यो प्रश्नले मलाई निकै सतायो । सामान्यतया म कठिन परिस्थितिमा भगवानलाई सम्झन्छु, मन्त्र जप गर्छु । खुसीको अवस्थामा पनि म त्यही गर्छु । मेरो मतलब, मैले हरि ओम, ओम नम: शिवाय वा यस्तै केही किन उच्चारण गरिन ?

दुई हप्ता पछि, मलाई लाग्छ, मैले यसको सम्भावित जवाफ पाएँ र मैले यो लेख लेखेँ । जवाफ हो: मेरो दिमागको प्राथमिक उद्देश्य मेरो ओठ बन्द गर्नु थियो; त्यसैले यसले “पैसा हरायो” मा पहिलो ओष्ठ्यवर्ण /प/ ध्वनि चयन गर्यो । मेरा ओठहरू नजोडीकन मैले /प/ ध्वनि उच्चारण गर्न सक्दिनँ । र यो मेरो वर्णमालाको पहिलो ओष्ठ्य ध्वनि पनि हो । कस्तो चलाख दिमाग ! मेरो दिमागले त्यसबेला हरि, राम वा कृष्णलाई चिनेको थिएन। /प/ त्यसको लागि सबै कुरा थियो । वास्तवमा दिमागलाई कुनै देवताको आवश्यकता छैन । यो शरीरसँग जोडिएको छ र शरीरका सबै अंगहरूलाई सधैँ राम्रोसँग काम गराउन चाहन्छ । यसले एक सेकेन्डमा कुनै पनि देवताहरू सिर्जना गर्न र नष्ट गर्न सक्छ र तिनीहरूसँग अलग रहन्छ ।

दोहोरिने सपनाहरू : मेरा दुई जना आफन्तले मलाई वर्षौंअघि भन्नुभएको थियो कि उहाँहरूले दोहोरिएर आएका सपनाहरू देख्नुभएको थियो । मतलब, उहाँहरूले केही सपना देख्नुभयो, त्यसपछि ब्युँझनुभयो, फेरि सुत्नुभयो र अघिकै सपनाको दोस्रो भाग देख्नुभयो ।

यो पनि सम्भव छ । सपनाको पहिलो भागको अन्त्यमा जब उहाँहरू ब्यूँझिनुभयो, दिमागले विश्वास गर्यो कि समस्याको समाधान भयो तर उहाँ उस्तै स्थितिमा सुत्नुभयो र निदाएपछि निद्रामा उस्तै समस्या भयो शरीरमा । त्यही समस्याको समाधानका निम्ति दिमागले पहिले नै आवश्यक दृश्यहरू स्केच गरिसकेको थियो र यसले बाँकी सपनालाई निरन्तरता दियो ।

मानौँ मेरो डिसेम्बरको सपनामा (म नउठे पनि) म केही पिएर उठेँ तर ओठ बन्द गरिनँ वा प्रहरीलाई सहयोग गर भन्दै चिच्याएर उठेँ तर ओठ बन्द गरिनँ । त्यो अवस्थामा म एकै रातमा बारम्बार सपनाहरू देख्न सक्छु किनकि मेरो ओठ बन्द गराउनु त त्यसबेलाको दिमागको प्राथमिक कर्तव्य हो, त्यो गराएरै छाड्छ चाहे सपना तीनओटा हुन् वा चारओटा ।

र यदि मेरो शरीरमा केही साना समस्याहरू छन् जुन दिनको समयमा एकदम सामान्य छन् तर सर्जन/डाक्टरबाट स्थायी रूपमा उपचार गर्न आवश्यक छ भने, मलाई दैनिक वा साप्ताहिक पुनरावर्ती सपनाहरू आउन सक्छन् किनकि समस्या उही अङ्गमा र उस्तै प्रकारको छ । र यो समस्या समाधान गर्न दिमागले जानेको उपाय पनि यही हो ।

जनावर र बोटबिरुवासँग सम्बन्धित सपनाहरू : यदि म कठिन निद्रामा सपना देख्छु भने जनावरहरूले पनि सपना देख्छन् र आफ्नो कठिन अवस्थाको निद्रालाई सहज बनाउँछन् । बिरुवाहरू पनि जीवित हुन् । तिनीहरू दिनको समयमा खाना बनाउँछन् । रातको समयमा वृद्धि विकास हुन्छ र त्यसबेलाको अप्ठ्यारो अवस्थामा उपचारात्मक सपना देख्न सक्छन् ।

पृथ्वीसँग सम्बन्धित सपनाहरू :

गीया परिकल्पना (Gaia Hypothesis) ले मान्दछ कि पृथ्वी जीवित प्राणी हो । यसले सास फेर्छ र कठिन परिस्थितिमा आफैँलाई सजिलो बनाउँछ । यसले वायुमण्डलीय क्षेत्रमा ग्यासहरू व्यवस्थापन गर्दछ । र यदि यो जीवित वस्तु हो भने, के यो सुत्छ ? के यो अप्ठ्यारो निद्रामा सपना देख्छ ? पृथ्वीको आन्तरिक अंगहरूको कठिन परिस्थितिमा, उदाहरणका लागि, जब भूगर्भका प्लेटहरूले पृथ्वीलाई दबाब दिन्छन्, अनि यो झसँग भएर ब्युझन्छ ? बुढापाकाहरूले भनेजस्तै, के यही भूकम्प हो ? के भूकम्पपछि पृथ्वीले आराम महसुस गर्छ ? मलाई यी प्रश्नहरूको उत्तर सकारात्मक हुन्छ जस्तो लाग्छ ।