भूगोलमा खोला र कुला जहीँतहीँ छन् । तिनीहरूमा बग्ने भनेको पानी हो । अनि, खोलोबाट बगे पनि कुलोबाट बगे पनि , पानी पुग्ने भनेको समुद्रमै हो ।
पिण्डका हिसाबले कुलोमा बग्ने पानीको भन्दा खोलामा बग्ने पानीको पिण्ड धेरै हुन्छ । किनकि कुलाको पानीमा भन्दा खोलाको पानीमा, पानीका अणुहरू अत्याधिक हुन्छन् । अर्थात् अणुहरूको गुणनफल कुलाको पानीमा भन्दा खोलाको पानीमा बढी हुन्छ । ‘सर आइज्याक न्युटन’का अनुसार गुरुत्वबल वस्तुहरूको पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ। अत: खोलाको पानीमा, बढी गुरुत्वका कारण पानीको गति कुलोको पानीमा भन्दा बढी हुने हुनाले खोलाको पानी समुद्रमा छिटो पुग्छ ।
‘सर आइज्याक न्युटन’लाई गुरुत्वाकर्षणका पिता मान्ने गर्छन् । त्यसो त न्युटनका असङ्ख्य पूर्वजन्महरू अगावै वस्तु र गुरुत्वको यो सम्बन्ध विकसित भैसकेको थियो । पानी, न्युटनले गुरुत्व पत्ता लगाइसकेपछि मात्र बग्न सुरु गरेको होइन । ओरालोमा सृष्टिको आदिदेखि नै निरन्तर बगिरहेथ्यो । समुद्रमा पुगेर कैयौंपटक छाल र ज्वारभाटामा आफ्नो ताण्डव नृत्य अर्थात् तमासा देखाइसकेथ्यो यसले । न्युटनले मानव चोला बदलेर गइसके किन्तु पानीको आजसम्म उस्तै स्वभाव छ जुन पहिलेदेखि अहिलेसम्म उस्तै छ र सधैँ उस्तै रहिरहने छ । यो कहिल्यै बदलिने छैन ।
न्युटनको ‘गुरुत्वाकर्षणको सिद्धान्त’लाई भौतिक विज्ञानले ठूलो उपलब्धि मानेको छ । यसलाई ‘वैदिक विज्ञान’ले पनि नकार्दैन । अर्थात् होइन भन्दैन । विज्ञानका अनुसार आकाशमा स्थित सूर्यले सौर्यमण्डलका समस्त ग्रह, उपग्रह, शिशुग्रह, पुच्छ्रेतारा सबैलाई गतिशील र आफ्नो नियन्त्रणमा राख्दछ । सौर्यमण्डलको नियन्त्रक सूर्य हो र नियन्त्रण शक्ति भनेको गुरुत्वाकर्षण शक्ति हो ।
यसको विवेचना भने वेदले हजारौँ वर्ष पहिले यसरी गरिसकेको छ-
‘सविता यन्त्रै: पृथिवीमरम्णादस्कम्भने सविता द्यामदृंहत् ।’
(ऋग्वेद, १०-१४९-१)
अर्थात्, सृष्टिका उत्पादक सवितादेव अर्थात् सूर्य आफ्नो नियन्त्रण साधन (गुरुत्वाकर्षणका बल)ले पृथ्वीलाई सुस्थिर पार्दछन् ।
यस्तै ऋग्वेद १/१६४/९ मा भनिएको छ-
‘युक्ता मातासीद् धुरि दक्षिणाया: …।’
अर्थात्, समर्थ सूर्यदेवको धारण क्षमता (गुरुत्वबल ) मा पृथ्वीमाता अडिएकी छिन्।
यसैगरी ‘महर्षि कणाद ‘ले आफ्नो वैशेषिक दर्शनको ५/५/२ मा के उल्लेख गरेका छन् भने –
‘तद्विशेषेणादृष्टकारितम् ।’
अर्थात्, पृथ्वीको गतिशीलता खासगरी अदृश्य आकर्षण शक्तिका कारणले हो ।
‘तथा पृथिव्यामभिमानिनी या देवता प्रशिद्धा सैषा पुरुषस्य अपानमपानवृतिमवष्टभ्याकृष्य वशीकृत्याध एवापकर्षणेनानुग्रहं कुर्वती वर्तत इत्यर्थ: । अन्यथा हि शरीरगुरुत्वात् पतेत् सावकाशे वोद्गच्छेत् ।’
यो जगतगुरु शङ्कराचार्यकृत प्रश्नोपनिषद्को अध्याय -३ को आठौं मन्त्र हो । यस मन्त्रले भनेको छ-
पृथ्वीमा जो उसको प्रशिद्ध अभिमानी देवता छ ,जसले त्यो पुरुषको अपानवृत्तिको अवष्टम्भ गरेर आफ्नो अधीनमा राख्छ अर्थात् पृथ्वीले आफ्नो केन्द्रतिर आकर्षण गरेर वस्तुलाई स्थिर राख्दछ । हैन भने यो शरीर आफ्नो भारीपनाको कारणले ढल्थ्यो होला अथवा समयानुकूलका बेला अर्थात् अवकाश पाउँदा उड्थ्यो होला ।
संस्कृतभाषा अलङ्कारै अलङ्कारले श्रृङ्गारित हुन्छन् । यसभाषामा बिम्ब, प्रतीक र उपमाको प्रयोग अनुपम ढङ्गले गरिएको हुन्छ ।
उक्त मन्त्रमा पनि थुप्रै बिम्बात्मक अलङ्कारहरू छन् । जस्तै : प्रशिद्ध ‘अभिमानी देवता’ , ‘पुरुष’ , ‘अवष्टम्भ’ आदि । यहाँ ‘पुरुष’ ले वस्तुलाई , ‘अवष्टम्भ’ ले आकर्षण र ‘अभिमानी देवता’ले आकर्षण शक्तिलाई प्रतिबिम्बित गरेका छन् ।
वैशेषिक दर्शनमा महर्षि कणादले पृथ्वीको गुरुत्वबलका विषयमा यसरी प्रष्ट्याएका छन् –
‘संयोगाभावे गुरुत्वात्पतनम् । ५।१।७’
अर्थात् , संयोग नहुने हुँदा द्रव्य (वस्तु ) गुरुत्वको कारणले पतन हुन जान्छ ( तलतिर खस्न जान्छ) ।
यस्तै वैशेषिक दर्शनको ५।१।१८मा भनिएको छ-
‘संस्काराभावे गुरुत्वात् पतनम् ।’
अर्थात् , संस्कार (गति वा शक्ति ) को अभावमा गुरुत्वका कारणले पतन हुन्छ । सरल अर्थमा यसको तात्पर्य हुन्छ – गुरुत्वबलको विपरीत शक्ति बढी हुँदासम्म वस्तु फालिएको दिशातिर गैरहन्छ तर जब संस्कार शक्ति गुरुत्वबलभन्दा कम हुन जान्छ, वस्तु तल्तिर खस्न थाल्छ।
यसैगरी ५।२।३ मा भनिएको छ –
‘अपां संयोगाभावे गुरुत्वात् पतनम् ।’
अर्थात्, जलमा संयोगको वा शिवको वा शक्तिको अभाव हुँदा गुरुत्वको कारणले जल तल्तिर झर्छ।
विश्वमा जर्मनीहरू संस्कृत भाषा र साहित्यलाई खुब प्रशंसा गर्छन् । जर्मनीहरूले मात्रै होइन, रुसी, अस्ट्रेलियन, बेलायती लगायत अन्य पश्चिमी मुलुकहरूमा पनि भुसको आगोसरी फैलिरहेछ यो भाषा । यसरी संस्कृतशास्त्रले विश्वको नम्बर- १ ‘ब्रान्ड’ का रूपमा आफूलाई सावित गराइसकेको छ ।
नगराओस् पनि किन ? -संस्कृतशास्त्र अर्थात् वैदान्तशास्त्रसँग सामाजिक,आर्थिक, दार्शनिक, राजनीतिक, आध्यात्मिक, आयुर्वेदिक, साहित्यिक, भौतिक, वैज्ञानिक आदि अनेकन क्षेत्रमा सर्वोच्च सामर्थ्य छ । उदाहरणका रूपमा गीतालाई नै हेरौँ, यो अहिले विश्वका सबै धर्मीहरूको सिरानीमा शिरको वैज्ञानिक, आध्यात्मिक र दार्शनिक अडेस बनिरहेको छ ।
परन्तु हाम्रा संस्कृतका खोरमा बसेका राज्यका पाठापाठीहरूले भने यसलाई जलाउनुपर्छ भन्छन् । यस्ता शठहरूलाई के थाहा कि वेदान्तशास्त्र ईश्वरका वाणीहरूको सङ्कलन हो । यसैले यो शास्त्र कुनै कल्पमा पनि मूर्खहरूका कारणले लोप हुनेवाला छैन। लालबुझक्कडहरूलाई यो सत्य चाँडै थाहा होस् ।
जर्मन दार्शनिक ‘म्याक्स्मुलर’ले वेदान्तशास्त्रलाई धर्म र दर्शनको महाकाव्यका रूपमा लिएका छन् भने ‘अल्फ्रेड नर्थ ह्वाइटेड’ले यसलाई विज्ञानको अन्तिम सीमा हो भनेर भनेका छन् । यस्तै जर्मनका दार्शनिक ‘आर्थर शोपेन्हावर’ले उपनिषद्लाई ‘मानवचेतनाको उत्तमोत्तम कृति र अतिमानवीय चिन्तन’का रूपमा व्याख्या गरेका छन् । उनका शिष्य ‘पौल डुसन’ले त- वैज्ञानिकहरूका मस्तिष्कद्वारा विज्ञानले जेजस्तो आविष्कार गरोस् परन्तु उपनिषद्ले प्रतिपादन गरेको सत्यका विषयमा कसैले विवाद गर्न सक्दैन । ज्ञान र विज्ञानरूपी पुष्पवृक्षमा उपनिषद् जस्तो सुन्दर पुष्प आजसम्म कहीँ फुलेका छैनन् र वेदान्तशास्त्रभन्दा पोषिलो फल कहीँ फलेका छैनन् भनेर भनेका छन् । यसप्रकार वैदिक सनातनीले जस्तै जर्मनीहरूले पनि वेदान्तशास्त्र – वेद, उपनिषद् आदिलाई महाविज्ञान नै मानेका छन् ।
जर्मन पण्डितले त वेदान्तशास्त्रलाई राम्ररी बुझेका छन् । यस कुरालाई उनीहरूको वेदान्तशास्त्र अध्ययनका लागि जर्मनमा खोलिएका विश्वविद्यालयहरूले स्पष्टसँग सिद्ध गर्दछ ।
यस्तै अमेरिकी निबन्धकार ‘इमर्सन ‘ले पूर्वीय वेदान्तशास्त्र पढिसकेपछि के भनेका छन् भने यदि अङ्ग्रेजहरूले वेदान्तशास्त्र पढेभने उनीहरूले यता कहिल्यै नदेखेको र नकल्पेको भव्य दिपावली त्यता देख्नेछन् । वेदले मलाई पछ्याइरहनेछन् र तिनमा मैले अनन्त अनुकम्पा, अगम्य शक्ति र अविच्छन्न शान्ति प्राप्त गरेको छु । साथै मेरा विशिष्ट दिनहरूका लागि म भगवतगीताप्रति ऋणी छु।
यस्ता धेरै पश्चिमाहरू छन् जो वेदान्तशास्त्रहरूको जतिसुकै वर्णन गरेपनि सन्तुष्ट हुँदैनन् ।
यसर्थ गुरुत्वाकर्षणको सिद्धान्त न्युटनका कैयौं पूर्वजन्महरूभन्दा पूर्व हाम्रा महान् मुनिवरहरूले आविष्कार गरिसकेका थिए । हाम्रा ती महान् मुनिहरू ईश्वरका शिष्य थिए । वेद उनीहरूको पाठशालामा पढाइ हुने पुस्तकहरू थिए । यो कुरा हामी वैदिक सनातनीका सन्तानले बुझ्नुपर्छ । र, भौतिक -विज्ञानका विद्यार्थीहरूलाई तत्कालै हाम्रा विश्वविद्यालयमहरूमा पढाउनुपर्छ । वेद समुद्रको पिँध हो । मोती पिँधमा नपुगी भेटिँदैन भन्ने कुराको तत्त्वबोध बेलैमा गराउनुपर्छ ।
‘वशुधैव कुटुम्कम्’यो हाम्रो वेदान्तशास्त्रको प्रमाण हो । तसर्थ पूर्वीय दर्शन महादर्शन हो । विश्वका बाँकी दर्शन यसबाट उछिट्टिएका मसिना झिल्काहरूजस्तै हुन् । जसले यो दर्शनको अध्ययन गरेको छ वा गर्दैछ भने त्यसले यसलाई हो नै भन्दछ । वेदान्त भनेको ज्ञानको अन्त हो , जहाँ पुगेर ज्ञान टुङ्गिन्छ । अर्थात् वेदान्तको अर्थ हो वेद , उपनिषद् जानिसकेपछि अब जान्नलाई केही बाँकी छैन । यसप्रकार वेदान्तशास्त्र अनन्त ब्रह्माण्डहरूका तस्बिरहरू हुन् । ब्रह्माण्डका जग हुन् , इन्धन, इन्जिन र इन्जिनियरहरू हुन् ।
अत: वैदिक सनातन सानो कुलो होइन । यो खोलो हो, त्यो पनि धेरै खोलाहरू मिसिएर बनेको विशाल खोलो अर्थात् महाखोलो वा महागङ्गा हो । यो खोलामा ज्ञानरूपी जलका अणुहरू अशङ्ख्य छन् । यसैले ती अणुहरूबाट निर्मित ज्ञानपिण्डको परिमाण अपरिमेय छ । फलतः गुरुत्वज्ञानको आकर्षण यसमा अति प्रबल हुनाले यसको गति अति गतिशील छ । मलाई वेदान्तमा वा ज्ञान-सागरमा पुग्न यस वैदिक सनातनजस्तो साधन अन्य कुनै तुलनीय छैनन्।
अनि म किन बग्दाबग्दै सुक्नसक्ने कुलामा बगूँ ? मेरो वैदिक महानदीमा किन नबगूँ ? यस्तो महागतिलाई छाडेर गतिहीनका पछि म किन लागूँ ? किन ज्ञान महासागरमा ढिलो पुगूँ ?
न्युटनजी तपाईंलाई म साधुवाद दिन्छु । किनकि , तपाईंले वेदको गोप्य भेद बताइदिनुभो ताकि विश्वले वेद कति वैज्ञानिक वा ज्ञान र विज्ञानले सम्पन्न रहेछ भन्ने रहस्य बुझ्नसक्ने भए । अस्तु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।