मुसाहरूको बिगबिगी मच्चियो । सिकुवामा सुरुङ् खनेर सिकुवा छ्यान्द्रो बनाए । जता टेक्यो उतै भ्वाङ्ग पर्ने । मुसाले गर्दा सर्पको पनि डर भयो । खाली खुट्टाले सिकुवाको भुइँ टेक्न पनि डरमर्नु भयो । गाउँले कृषक दाजुभाइहरू भन्थे,यो साल मुसा धेरै लागे । मुसा लागेको साल सहकाल हुँदैन । अनिकाल फैलन्छ ।

साँच्चै मुसा नपुगेको र बिगार नगरेको ठाउँ भएन । हिउँदमा छापेर राखेका नयाँ सिरक,डसना एक वर्ष पनि नभई बर्खामै काटेर ढुट्टो । ओड्न ओछ्याउनै नहुने पारेको छ । जहाँ राखे पनि पुगेकै छ । बिगार गरेकै छ । लाउने लुगा काटेर हेरिनसक्नु बनाएको छ । खेदो गरेको छ मुसाले । जुन नयाँ लुगा छ छानीछानी बिगार्छ ।

दिनभरिको कामको थकाइले लखतरान भएको बेला कहिले त रातभरि सुत्न पाइँदैन । रातभरि सिलिङमा ओल्लो छेउ र पल्लो छेउ कुद्छन् । के खोज्नु हो अँध्यारोमा । डाङडाङ र डुङडुङ । मान्छे नै दगुरेजस्तो । भन्नु मात्र मुसा । मुसाको पीर सानो होइन । विगार अलिकति हैन । कहिले त बसेर रुनु जस्तै पार्छन् भन्नुहुन्थ्यो आमा पनि । दिक्क पनि साह्रै दिक्क लाएको थियो । धानको भकारीमा गुण बनाएर ढुक्कै बस्छन् । सिलिङ फोहर पारेर उस्तै । भान्सामा खाना खाइसक्न पाउनु छैन । भाँडा चहार्न थाल्छन् ।

मुसा नियन्त्रण नगरी भएन । उपाय के छ त ? उपाय दुई–तीन ओटा थिए । कि त ओखती ल्याएर राखिदिने । कि त मुसा मार्ने साँचो ल्याएर थाप्ने । कि त बिरालो नै ल्याएर पाल्ने । अरू उपाय थिएन । मुसा फेरि यति चलाख थिए कि ओखती राखिदिएको खानेकुरा पटक्कै नखाने । ओखतीको गन्ध अगि थाहा पाउने । साँचो ल्याएर पासो थापे पनि साँचोको छेउ नै नपर्ने । खानेकुरा कहिलेकाहीँ चाहिँ सानातिना डुगुरे मुसाले खाइदिने । आज त पर्यो होला मुसा पासोमा भने बिहान उठ्नासाथ अरू काम छोडेर गएर हेर्यो । बेलुका जस्तो थापेको साँचो उस्तै हुने । कहिले साँचो लग भएको छ । मुसा छैन ।

लौ यसरी पनि मुसा नियन्त्रण हुने छाँटकाँट छैन । बिरालो नै नल्याई भएन भनेर एक दिन बुबाले कुन गाउँ पुगेर एउटा पाटे बिरालोको सानो लुरे बच्चो खोजेर ल्याउनु भएछ । बिरालो त ल्याउनु भयो । मुसा देख्दा बिरालै भाग्ला जस्तो छ भनेर बुबालाई सबैले गिज्यायौँ । मुसा बडाबडा थिए ।

बिरालो सानो लुते । मरेर सानो स्वरले मान्छेको अनुहारतिर हेरेर म्याउ गरेर कराउँथ्यो । सानो सारै सानो बलैले एक गाँस भात खाने । यद्यपि बिरालो बिरालै हो । जात भनेको जातै हो कनिकाको भए पनि भातै हो । कराएको सुन्दा पनि मुसा भाग्छन् । पाल्नुपर्छ भन्नुभयो बुबाले पालियो । पछि ठूलो भएपछि त मुसा समात्छ यसले भनेर दुधभात खुवाएर हुर्कायौँ ।

सबैले माया गरेर हुर्कायौँ । कहिले काहीँ भात नखाँदा पनि किन आज बिरालोले भात खाएन भनेर सबै चिन्तित हुन्थ्यौँ । ऊ पनि घरको एउटा सदस्य जस्तै भयो । उसका बारेका पनि सबै कुरा परिवारका सबैमा सेयर हुन्थे । जेसँग खान्छ । त्यसैसँग मुछेर भात दिन्थ्यौँ । घिउ,दही,मही,तरकारी,दाल,मासु आदिसँग भन्दा पनि दुधसँग बढी मन पराउँथ्यो । यसरी खुवाएर हुर्कायौँ ।

पछि त ठूलो ढाडे बिरालो भयो । दुधभात मात्र खाने मुसाको त खोजी खबर नै नगर्ने । मजाले दुधभात खाने अनि दिनभरि छानामा चढेर खुट्टा फालेर सुत्ने । तैपनि बिरालो भएको र नभएको मिल्दो रहेनछ । मुसाको चर्तिकाला केही कम भएजस्तो भयो । तर बिरालोले मुसा मारेको भने कहिल्यै देखिएन । धेरै बिराला भएभने मुसा मार्दैनन् भनेको त सुनेको हो । बिरालोले मुसै नमार्ने भन्ने त नहुनु पर्ने । सबै चकित भयौँ ।

पहिले पो मुसाले नै चिथोर्लान् कि जस्तो सानो,लुरे थियो । पछि त चिनिनसक्नुको पुच्छर ढल्काउँदै,आँखा तर्दै हिँड्ने ढाडे भयो । मुसा मारेर खान्छ भनेको बिरालो पछि त दही चोरेर पो खान थाल्यो । एक दिन दुधभात नदिएको त ठेकीबाट दही झिकेर खाएछ । दहीले अघाएर छानामाथि पल्टिएर अगाडिको खुट्टाले मुख पो पुछिरहेको रहेछ । भुइँको घँसेटो टिपेर दुई–चार स्वाँट लाउनु पर्यो भनेर विचार गरेको एक स्वाँठ लाउनासाथ उफ्रेर तल भुइँमा झरेको बिरालो कता गयो कता । तीन–चार दिन त घरै आएन । लौ अब बिरालो हरायो । केही हदसम्म भए पनि मुसाको अत्याचार कम जस्तो त भएको थियो । अब झन बढ्ने भयो । मुसा भन्नु मात्रै बिगार सानो छैन ।

एउटा नयाँ ब्रिफकेस थियो । विदेशबाट आउँदा ल्याएको । भित्र महङ्गामहङ्गा लाउने लुगाहरू थिए । ती पनि विदेशबाट आउँदा ल्याएका लुगा । ब्रिफकेस नयाँ र बलियो भएकोले मुसोभित्र छिर्न सक्ला भन्ने लागेकै थिएन । ल्याएर खाटमुनि राखेको थियो । राखेदेखि हेर्न भ्याइएकै थिएन । अब हेर्नुपर्ला भन्दाभन्दै त्यतिकै रहेकोरहेकै थियो ।

एक दिन खोलेर यसो हेरेको त गर्नुनगर्नु गरेको रहेछ मुसाले । नयाँ लुगा काटेर ढुट्टो । त्यहीँ गुण लाएर बच्चा पो बनाएछ । त्यहीँ बस्दो रहेछ माउ मुसो पनि ढुक्कै । साना आँखा नखुलेका भुत्ला बिनाका घिन लाग्दा बच्चा ब्रिफकेसको बिर्को खोलेर एक–दुई माथिपटिका लुगा झिक्नासाथ आतिएर चिँचिँ गर्दै यता र उता दगुर्न थाले । माउ मुसो ब्रिफकेसको बिर्को खोल्नासाथ एकापटिको चेपबाट फुत्त हाम फालेर भागिहाल्यो । एक ब्रिफकेस लुगा कुनै काम लाग्ने थिएनन् । यसो ब्रिफकेस अलिकति यता बाहिर तानेर हेरेको त मुनिपटि हात छिर्ने प्वाल ! ब्रिफकेस पनि काम नलाग्ने पारेछ । एकपटक पनि नलाएका लुगा सब खत्तम । लाउनै परेन । त्यतिकै लगेर फ्याँक्नु पर्ने भयो । मुसाको पनि कत्रो टेन्सन !

यसको दुई–चार दिन पछि त बिरालो झुल्क्यो । दैलाको सङ्घारमा आएर म्याउ गर्यो । घरका कसैको अनुहारतिर हेरेर करायो । खुट्टा लागे अब आउँदैन होला भन्ठानेको त दुधभात खाएको बिर्सेको रहेनछ । आएछ फर्केर । अरू त कसले दिन्थ्यो र दुधभात नआओस भन्यौँ । त्यसपछि त ठेकीको बिर्को राम्रोसँग लाएर दुधभात दिन बन्द गर्यौं । अनि त मुसा मारेर नखाए त सुख भोक लागेपछि ।

एक दिन त सानोसानो बिरालो जत्रै मुसो घिस्याएर हिँड्दै रहेछ । अँ अब चाहिँ बिरालोले मुसा मार्न थालेछ है भन्यौँ घरका सबैले । खुसी प्रकट गर्यौं । बल्ल अब चाहिँ घरमा मुसा कम हुने भए । यसै भन्यौँ सबैले एकै स्वरमा । बिरालोले पनि बुझेझैँ गरी हामीतिर हेरेर म्याउ गर्यो । नभन्दै त्यसपछि त घरमा मुसा कम भए ।

बिरालोको बानी फेरि कस्तो थियो भने घरका मान्छेले भात खाने बेला भएको कुरा कसरी थाहा पाउने कसरी ! भात खान बसेपछि जहाँबाट पनि आइपुग्ने । आएर मुखमा हेर्ने अनि नकराउने । भात खान बसेका हामी नजिक आएर ढेस्सिने । जिउले घचेट्ने । ठेल्ने माया लाग्दो गरी । हाम्रो वरिपरि घुम्ने गर्थ्यो । अनि भात दिएपछि खाएर हिँड्थ्यो । दुधसँग भात दिउन्जेल त मुसै मारेन । दुधभातले नै अघाइहाल्दो रहेछ । अनि के मुसा मारोस । दुधभात बन्द गरेपछि त मुसा मारेर खान थाल्यो, ढुक्कै । भात नदिए पनि हुने । भात खोज्नै छाड्यो ।

आदरणीय पाठक वृन्द तपाईं यहाँनेर पक्कै पनि अलिक गम्भीर हुनु नै भयो होला भन्ने मैले ठानेको छु । तर यो कुनै सिद्धान्त होइन । अर्थशास्त्रले भनेझैं माग र पुर्तिको नियम पनि यो होइन । व्यवहारतः यो अभावले निम्त्याउने बाध्यता हो । यो मानिसको जीवनमा पनि लागु हुन्छ । जसरी दुधभात खान पाउन्जेल माथिको बिरालोले मुसा मारेन । उसरी मानिसले पनि केही नगरिकनै बसिबसी खान पायो भने उसले उसको जीवनमा केही प्रगति गर्दैन । भोक,अभाव र महत्त्वकांक्षाले नै हो मानिसलाई प्रगतिपथको लगाम लाएर डोहोर्याउने । जीवनमा दुःखसुख र सङ्घर्षको अनुभूति गराउने पनि यिनै तीन कुरा हुन् ।

मानिस सर्वश्रेष्ठ चेतनशील प्राणी हो । त्यसैले हामी सदैव कर्मशील हुनुपर्छ । महत्त्वकांक्षा आफैँमा नराम्रो कुरा होइन । मानिसलाई सपना देखाउने पनि यिनै तीन कुरा हुन् । मानिसमा भोक र अभाव नभए पनि महत्त्वकांक्षा हुनुपर्छ । संसारमा कसैले ठूलाठूला प्रगति गरेका छन् आफ्नो जीवनमा भने तिनै व्यक्तिहरूले गरेका छन् जसले जीवनभरि जस्तो सुकै बाधा,व्यवधान र अड्चनमा पनि रतिभर विचलित नभई सङ्घर्ष गरिरहे । एउटा दृढ महत्त्कांक्षाकासाथ लक्ष्यमा पुग्नलाई लागिपरिरहे । तिनै सफल भए । समाजको जुनसुकै क्षेत्रमा तिनैले सफलता हासिल गरे । इच्छा शक्ति भएन भने मानिसले कुनै क्षेत्रमा पनि प्रगति गर्न सक्दैन । यो तपाईँ एकै ठाउँ बसिरहेर कहीँ कतै नपुगेजस्तै हो । कहीँ पुग्न त हिँड्नै पर्छ । नहिँडी त कहीँ पनि पुगिँदैन ।