‘पूर्णात् पूर्णमिदम्’ अनि सुखको अभिलाषा । जन्म, जीवन र देहत्यागसम्मको चक्रीय यथार्थभित्र खोज्नु छ । अन्तिम लक्ष्य खुसी अनि अन्तिम गन्तव्य सुखको रोजाइमा । ‘जीवन’ सुखसत्ताको रामराज्य खोज्दै छु म । पाण्डवको आदर्श राज्यशैलीको भावभित्र । रोज्दै छु जनकको ‘राजा’ र ‘ऋषि’ हुने सात्विक सत्यताको राजचित्र । मानव धर्म र सेवादायी भावभञ्जनमा । समताको हृदयरञ्जनमा । साम्यवादभन्दा महात्तम– रामराज्यको आदर्श किन राज्दैन शासकले ? कर्मवीर र स्वतन्त्रताको रहस्य किन चिन्दैन उसले ?
धनले पलङ किन्छ, महल किन्छ तर सुख किन्न सक्दैन । सायद कार्ल मार्क्सको चिन्तन र दार्शनिक फुकोको मनले उनको माटो बोले । संसारले केही सामान्यीकरण गर्यो । आखिर, कर्म र सिकाइको लयमा मान्छेले सुख चाहन्छ नै । सिद्धान्त र व्यवहारको द्वन्द्वमा मान्छे प्रतिफल चाहन्छ । नितान्त प्रकृति र मान्छे जोड्नु छ । मूलतः हाम्रो राम्रो झुपडीले हाँस्न पनि जान्दछ अनि नाच्न पनि । हृदयको भावमा । मानवताको गहिराइमा । मनोहर ग्रामीण आदर्शको प्राङ्गणमा । लोभानीपापानीभन्दा माथिको स्वच्छतामा ।
अन्तर्राष्ट्रिय शान्तिवक्ता प्रेम रावतका विचार अनि अनुभवको सागरभित्र पस्छु । कबीरका दोहा अनि मीराका भजनमा रल्लिन्छु । तुलसीदासका मर्म खोतल्छु । के ‘परमानन्द’ हाम्रो लक्ष्य होइन र ! मानव मात्रको चाहना ‘सत, चित् र आनन्द’ होइन र ! पश्चिमाले यन्त्र रोजे अनि हामीले मन्त्र भुल्यौँ । मन्त्रको तात्पर्य अन्धविश्वासमा जोड्यौँ तर विज्ञानको विद्वता भुल्यौँ । अन्तरिक्षसम्मको शान्तिघोष गर्ने हाम्रो दर्शनलाई आरोप लगायौँ । सायद धर्म र दर्शनको सात्विक आदर्शलाई कमाउने भाँडो पो बनायौँ कि !
म खुसीको परिभाषा रोज्ने कि व्यवहार खोज्ने भन्ने चिन्तामा छु । चिन्तनले ज्ञान बढाउने अनि चिन्ताले चितामा धकेल्ने रहस्यमा सुटुक्क पस्ने अभिलाषा छ । मान्छे आलोचनामा जत्तिकै समालोचनामा सक्रिय हुँदो हो त क्या मज्जा हुन्थ्यो ! गफ जत्तिकै कर्मप्रेमी भएको भए ? म पूर्णताभित्रको पूर्णत्व चाहन्छु । सायद हाम्रो अस्तित्वमा अर्जुनका सारथी कृष्णले भन्दा हुन्– ‘तिमी युद्ध पनि गर अनि मेरो सुमीरण पनि !’
‘सन्तोषम् परमम् सुखम्’ को शब्द सौन्दर्यमा प्राणीमात्रको कल्याण हुँदो हो । उही– खाना, नाना र छानाको तानाबानामा स–सानाले पनि तड्पिनै पर्ने ! पुस्तकका ठेली, पुस्तिकाका चाङभित्र आतङ्कको सांगठनिक र व्यवस्थित पीडाले न माटो सिकाउँछ न देश । न भेष सिकाउँछ न परिवेश ! माटोमा फुल्ने जीवन मुर्झाउनुको रहस्य हाम्रो चिन्तन पनि त हो । अनुशासन घोक्ने शब्दका ठेली हुने भए सायद मस्तिष्कमा कुनै चिप्स हालेर मानिस रामको आदर्शतामा रम्थ्यो । श्रवणकुमारको चिन्तनमा डुब्थ्यो । बुद्धको भव्यतामा हराउँथ्यो ।
यन्त्रको स्वतन्त्र राज्यमा हामी छौँ । मलाई मन्त्रका सुगन्ध टिप्न नसक्दा दुःख लाग्छ । दिलमा छुरा बोकेर मान्छे आफैँ कुण्ठित छ आज । तरकारी काट्ने चक्कुको दुरुपयोग हुनुमा निर्माताको के दोष ? आफ्नै कर्मको पीडाबोधमा प्रताडित हुन्छ, मान्छे । तर, पैसा मान्छेले छाप्छ र गरिबी उसैले बढाउँछ ।
म सुन्छु– हिजो त मन्त्रले अग्नि प्रज्ज्वलित हुन्थ्यो रे ! षडानन्दले पद्मासन कसेरै सप्तकोशी तरे रे आदि आदि । प्रश्न– सिद्धताको र विद्वताको पनि रहेछ । कर्म र स्वच्छताको अझ गहन तात्पर्य । के जीवन उनान्सयरूपी मथिङ्गलभित्रै घुमिरहने चक्र मात्रै हो र ! जीवन समस्याको चाङ बोक्नका लागि होइन । समाधानका सहज उद्यानमा रम्न र मज्जाले जम्न पनि हो । पृथ्वीलाई स्वर्ग अनि पृथ्वीवासीलाई जनार्दन तुल्याउन हो । मानवताको वृक्षमा महामानव जन्माइरहन पनि हो ।
दृष्टिविहीनलाई दुर्बिन दिएर महान् बन्नेको जमात देख्छु । स्वतन्त्रताका दरबारहरू नियमका दायरामा बन्दी छन् । विश्वबजारलाई मायावी जालको मोहले सर्लक्कै ढाक्यो । ग्रन्थ बेचेर गुजारा गर्ने, शब्द बेचेर महलमा बस्ने अनि अर्थ बेचेर अर्थ भुल्नेको मोह देख्छु । ब्रह्मज्ञानको रम्य सौम्यतामा के जीवन परजीवी हुन्छ र ! ‘म’ …‘म’ भित्रै हराउँछ तर ‘म’ खोज्दिन । ‘म’ चिन्दिन तर संसार चिन्छु । मलाई ईर्ष्याको बजारका साना मथिङ्गलहरूले लालीपप खुवाउँछन् । गुलियो चखाउँछन् तर तीतो कोचाउँछन् । त्यसैले महोदय, यहाँ गाली र तालीको खाली दिमागले जाली बनाउने प्रपञ्च चर्को छ ।
मानौँ मान्छे अजम्बरी हो ! थाहा छ– एकदिन मर्नैपर्छ तर मान्छेले दम्भले भन्छ– ‘म त अजम्बरी हुँ ।’ जानेर पनि अनजान । बुझेर पनि अज्ञान । के मनुष्यलाई प्राणको रहस्यभित्र खेल्ने स्फटिक जस्तै श्वासचित्रको मूल्य थाहा छ ! ‘श्वास’ ! केवल ‘हावा’ । जसको अनुपस्थितिमा तपाईं रहनुहुन्न, तपाईंका लागि म र यो जगत् पनि छैन । सायद, तबमात्र मानिसमा शान्ति र अशान्तिको अर्थबोध हुन्छ ! गुरु शरणमा जानेले गुरुको पहिचान गर्छ ? ‘आत्मज्ञान’ को रहस्य भुल्दै दगुरेको मान्छे देख्छु । कन्थाले ढाक्ने पन्थको सम्बन्धभरि मान्छेले समस्या ओढ्छ, समस्यामाथि सुत्छ अनि समस्यामै बिदा हुन्छ ।
प्राण र अन्नपानी, प्राण र जीवन, प्राण र जमिन । सबैसँग प्राणत्वको तादात्म्यता । तर, मान्छेले सीमाको चौघेरा बाँधेर पाशुपत प्राणीमाथि हैकम छाँट्छ । शब्दका ठेलीभरि घोत्लिएका सिद्धान्तले थिचिएका मान्छेहरू मनमोहको निद्रामा मग्न छन् । जाँतो घुमिरहेकै छ । आँटा बनिरहेकै देखिन्छन् अनि खाने र शौचमा रमाउने चक्करको च्याम्बरभित्र देखिन्छ । केवल– बिहान, दिउँसो र रात्रिमा । सम्मान, सम्पत्ति र शक्तिमा । जन्म भइसकेपछि केवल ‘जीवन र मृत्यु’ बिचको दोसाँधमा । अमूल्य ‘श्वास’ को झोक्कामा । सायद ‘गुरु’ ज्ञानको रहस्य पाएपछि मात्रै रम्छ ऊ । त्यही एक ‘आत्मज्ञान’ को गूढ तत्त्वभित्र रमाएपछि । एउटा निर्विकल्प सत्यको संसारभित्र ‘जीवन’ मै ‘सत्य’ पाएपछि । ‘शान्ति सन्देश’ को मङ्गल द्वीपमा दीप सजाएपछि ।
आज, ‘सङ्ग्रहवादी’ र ‘ज्ञानवादी’ को द्वन्द्वमा छ मान्छे । मलाई दुवै वादको तात्विकका सारमा मानवताको अभिलाषा छ । जङ्गलराजको तमासामा ठूलाले सानालाई हेप्छ, शक्तिले दुर्बललाई चेप्छ । मानिस त्रिकालमा लौकिक सत्यभित्रै धरालो बस्न जान्दछ । आत्मिक सभ्यता भुल्छ । दैहिक आकर्षणको पिपासु बबुरो । आँखा भएर दृष्टि गुम्ने द्रष्टा । शिल्पज्ञान भएर सृष्टि भुल्ने सर्जक । मान्छे ‘मनुष्यत्व’ को खडेरीमा अर्धचेत छ । आजको यथार्थमा म मानिसको दिलमा अस्तित्वको खडेरीको प्रतिशताङ्क अग्लो देख्छु ।
विसङ्गत विभेदको प्रतिस्पर्धा छ आज । म मानिसै मानिसको भिडमा मानिस भेट्दिनँ । अनि, म मानिस बन्न नसकेकोमा खेद प्रकट गर्छु ।
ठूलो घर, सानो मन । ठूलो ठाउँ, सानो सोचको पेचामा कोचिएको जीवन । उखुको खोइलोजस्तो । निरस एकोन्मुख । मलाई यान्त्रिक युद्ध मैदानसँग प्रेम छ तर सामाजिक आदर्शताको ह्रास हुनुमा नै उग्र आवेग छ । के मान्छेले सुखसत्ताको झिल्कोलाई यही सोचको पोखरीभित्र भेट्छ र ! उमेरको शतवार्षिकी मनाउने सौभाग्य दुर्लभ हुँदा पनि मान्छेले आफूभित्रको ब्रह्माण्डमा सदैव पिठ्युँ फर्कायो । शक्तिको परिभाषामा अड्कियो ऊ ।
पानी धमिल्याउने मान्छेले हो । प्रकृति हो– बग्दै जाँदा सङ्ग्लिँदै जान्छ । सभ्यतामा खोट मान्छेले बनाउँछ । ‘कालही, कर्मही, ईश्वरा– मिथ्या दोष लगाए ।’ दुर्घटना निम्त्याउनेलाई उसैका रचनाकारले भन्छन्– ‘स्टेरिङ तिम्रो हातमा छ । गन्तव्य तिमीभित्रै छ । गन्तव्य छोड्ने कि रोज्ने त्यो तिम्रै निर्णयमा छ ।’ सायद मानिस प्रकृतिको साङ्ग्ली सम्बन्धगत सिद्धान्तमा अनजान छ । सर्प, बिच्छी अनि माकुराले त प्रकृतिको विष सोस्छन् । पिपलले सबैभन्दा बढी अक्सिजन दिन्छ । तुलसीले सबैभन्दा बढी अक्सिजन दिन्छ । हामी खोटको बिटो बोकेर आफ्नो दुर्गन्धित पोखरीमा स्वच्छता खोजिरहेछौँ । मानिस चाहिँ मुहानमा फोहोर गर्छ अनि प्रकृतिलाई फोहोरी मान्छ । त्यही शक्ति, सम्मान र सम्पत्तिको त्रि–आशक्तिमा ।
राष्ट्रकविले भनेझैँ पहरो फोरेर उम्रने वृक्षले सङ्घर्ष गर्छ । समुद्रजस्तै शालीन जीवनको कार्य पद्धतिमा मान्छेले सम्पन्न र विपन्नको दायरा बाँध्छ । कर्महीन र कर्मवादी, सत्यताहीन र सत्यवादी अनि ज्ञानहीन र ज्ञानवादीको द्वन्द्वले समाज र संसार विछिप्त छ । प्रकृति जमिन दिन्छ, श्रमको कला दिन्छ । क्षमता र शिल्प दिन्छ । रोपेपछि उसको कर्म र धर्म पूरा गर्न कञ्जुस्याइँ गर्दैन तर मान्छे– कोही घाँटीसम्म खान्छ त कोही भोकै तड्पिन्छ । भएर भोकै र नभएर भोकैको असमानतामा । हुँदा खाने र हुने खानेको दायरामा । अनि, विज्ञानको सभ्यतामा कसरी मानवताको लालीत्य खोज्ने ?
घुमिरहने जाँतोले मानीको फेदमा बस्नेलाई पिस्दैन । सायद सुख र दुःखको जाँतोमा मानीको खोजी गर्नु छ । सुख रोजेर खुसी पाउनु छ । सन्त कबीरदासले भनेजस्तै जीवनको रहस्यमा । बुद्धले सिकाएजस्तै जीवनको सत्यतामा । कतै विचार, सभ्यता र व्यवहारको विज्ञता खोज्न एक पुस्ता पछितिर धकेलिनुपर्ने त होइन ! हो, अब– हिजोको विज्ञता अनि विज्ञान र आजको प्रविधि जोड्नुपर्छ । केवल सुखको अभिलाषामा अब !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।