
विश्वले सगरमाथालाई एभरेष्ट भनेर चिन्छन् । यहाँनेर तपाईंको मन चसक्क हुँदैन ? यिनको भाषाको उच्चारण गर्दा हामी मरिच चाम्रे झैँ चाम्रिनु पर्छ ।
अचेल सगरमाथामा हिउँ रित्तिन थालेको छ । तापक्रममा परिवर्तन हुनथाल्नु के थियो सगरमाथाले चोला फेर्न थालेको छ । परिणाम यसको काखमा जन्मेकाहरुमा बेचैनीको रोग देखिँदै छ । यस्तो बेचैनी जसले समाजमा एक अज्ञात भय ल्याएको छ । आत्मविश्वासमाथि धावा बोलेको छ । त्यसैले कोही यो धर्तीको सुदुर पूर्व त कोही पश्चिम, कोही उत्तर त कोही दक्षीण उडान भरेका भर्यै छन् । गाउँ रित्ताएका रित्तायै छन् ।

अनुराधा पौडेल
गोलार्दको दक्षिण पूर्वबाट सगरमाथाले संसारलाई नियाल्न थालेको ६० लाख बर्ष भयो । यसले संसारलाई लोभ्याउँछ र चुनौती दिन्छ । भुतलका असंख्य परिवर्तनको साक्षी छ यो ।
विसं. ७२ सालमा नेपालमा महाभूकम्प गयो । भूकम्पको केही साता पहिलादेखि हिन्द महासागर छेउमा अवस्थित ‘इल दला रेयुनियोँ’ भन्ने फ्रान्सेली टापुमा झन्डै एक शताब्दी सुतेको ज्वालामुखी बिस्फोट भैरहेको थियो । भारतीय उपमहाद्विप र अफ्रिकाबाट लगिएका दास र दासीहरुका सन्तानले ढाकिएको यो टापुका एक साथिले मलाइ भने,‘ए तिम्रो सगरमाथा र मेरो देशको टापुको जग एउटै हो कि के हो ? यता ज्वालामुखीले लाभा ओकल्दा उता भुइँचालो गयो त ?’
नेपालमा भुइँचालो जाँदा त्यहाँ ज्वालामुखी बिस्फोट हुनु सँग के सम्बन्ध हुन सक्छ मलाई थाह छैन । मैले ठट्टामै भनेँ, ‘तिमीलाई थाह छ र सगरमाथाको जरा कत्रो छ भनेर ?’
उल्टो उनले भने, ‘तिम्रो बिरासतबारे तिमिलाई थाहा हुनुपर्ने । तिमीले पढ्नुपर्ने तर मलाइ थाह छ तिम्रो सगरमाथा ब्रिटिसले पढे । ब्रिटिसले पहिचान लुटे ।‘ उनले थपे,’मेरा पुर्खालाई ब्रिटिसले तामिलनाडुबाट यो सुनसान टापुमा ल्याए र उखुका फाँटका लागि कजाए । कुन डुङ्गामा साँग्लाले बाँधेर ल्याए थाहा छैन तर उनको थैलोमा केही भाँडा कुँडा र एउटा लक्ष्मीको तस्विर थियो रे। बिरासतमा यिनै लक्ष्मी प्राप्त गरेको छु।‘
लक्ष्मीलाई म कुलदेवी मान्छु भलै मसँग पैसा छैन । जिजससँगै मेरो घरमा बस्छिन् यिनी ।
‘लक्ष्मीको पूजा गर्छौ र ?’ मैले सोधेँ ।
‘मेरा पुर्खा हिन्दु थिए भन्नेमा दुईमत भएन । तामिलनाडु वैदिक थलो हो । तर म अब इशाइ भैसकेँ ।‘
म बेस्सरी झस्केँ । यतिबेला नेपालको १५ प्रतिशत जनसंख्या विदेशमा छ ।
सुखले होस् या दुखले जब आफ्नो जमिन छाडेर मानिस बाहिर निस्कने आँट जब गर्छ तब उसले मौलिकतालाई कहिले एक्कासी त कहिले बिस्तारै छाड्दै जाने रहेछ । विदेशमा रहेको कति प्रतिशत जनसंख्या नेपाल फर्कन्छ मलाई थाहा छैन । तर जो स्थायी रुपले बस्दैछ उसले आफ्नोपन छाड्दैछ । यो उसको बाध्यता हो । अनि दोस्रो पुस्ता चाहिँ उतैको हो कि हो कि जस्तो देखिने र तेस्रो पुस्ता पुग्दा त मेरा हजुरबुबा र हजुरआमा नेपालबाट आएका रे भन्ने हुनेरहेछ । चौथो पुस्ता त विदेशी ठ्याक्कै विदेशी हुनेरहेछ ।
तपाईं भन्नुहोला यताबाट जानेहरुले उता गएर मिश्रित सभ्यताको विकास गर्नेछन् । नेपालमा पनि गोपाल वँसिय, लिक्ष्वीकालीन, मल्लकालीन सभ्यता मासियो । हो विश्वका साना ठूला धेरै सभ्यताहरु पृथ्वीको गर्तमा डुवे । नयाँ देशहरु उदाए र युगोश्लाभिया जस्ता देशको नक्सै नामेट पारियो ।
मानिसले बाँडेर खान जाने यसरी पतन हुनुपर्ने थिएन । विश्वको स्रोत र साधन बाँडफाँडमा एक रुपता हुन्थ्यो भने हामी सबैले आफ्नै माटोमा ढुक्कले जिउन सक्नेथियौँ । तर यो विश्वमा अन्याय छ । सर्वत्र छ ।
म विदेशिएको बीस बर्ष पुग्न आँट्यो । मेरो अनुभवले जमिन भनेको भूगोल मात्र नभै परिचय रहेछ भन्ने कुरा राम्रो सँग महसुस गरेको छ । तपाईंको पनि त जमिनसँग नाता गाँसिएको होला । तपाईं डाँडाघरे साइँलाको नाती या गैह्रिखोले बाको पनाती हुनसक्नुहुन्छ नि हगी । नभए खर्केली, धोद्रेली, टरेली, झापाली केही न केही न केही त अवस्य हो । म पनि गुम्वाली बुढाकी नातिनी हुँ । मेरो यो परिचय बिलाइसक्यो । म यता फ्रान्समा अँग्रेजी भाषाको ‘क्यापिटल’ अक्षरमा लेखिने मेरो वैवाहिक थरले चिनिन्छु ।
हामी जन्मेको माटोमा जे सिकियो त्यो हाम्रो चलन र संस्कार हो । दाल भात हातले मुछेर खाने चलन भएको मानिस विदेशिएपछि काँटा चम्चाले खाने हुनुपर्यो । काँटा फालेर हातैले स्वाँ स्वाँ गर्दै पिरो झोलले मुछेर भात गम्म खान पनि छोराछोरी नभएको मौका हेर्नुपर्ने हुन्छ । तपाईं जन्मेपछि तपाईं र तपाईंकी आमा बिच जोडिएको मातृभाषा थियो । तपाईंले आफ्नो माटोमा जानेको भाषा । भाषा भनेको माध्यम मात्र होइन । योसँग सभ्यता संस्कृति र चलनहरु मिसिएका हुन्छन् । नेपालमा सिकेको यो भाषाले परदेशमा केही प्रतिशत मात्र काम गर्दोरहेछ । जब आफ्नो भाषा सभ्यता र संस्कृतिको प्रयोग गर्न पाउँदैन नि मानिस तब उसले भयङ्कर विद्रोह गर्दोरहेछ ? जब हामीले सबै मानिस बरोबार हुन् भनेर मान्छौँ तब नबोलेरै हामीले विद्रोह गरिरहेका हुनेरहेछौँ ।
दिदीबहिनीलाई कहिलेकाँही कार्यालय जाँदा सारि लगाउन मन लाग्छ । दाजुभाइलाई बिर्खे टोपी शिउरिन अनि छातीमा स्वयभ्मू या नेपाल लेखेको टि सर्ट लगाउनु मन पर्छ । तर हे बरै कहाँ पाउनु यस्तो सविधा ?
हामीले मुलुकलाई धोका दिइरहेका छौँ या मुलकले हामीलाई ? दुवै कुरा अन्योन्यास्रित छन् । हामी मातृभूमीका लागि पसिना सिञ्चित गर्ने बेलामा जुरुक्क उठेर हिँडेका छौँ । देश बनाउने महान अभियानमा लागेका सन्दुक रुइत, भगवान कोइराला, महावीर पुन या अनुराधा कोइरालाहरु बन्न हामी चाहिरहेका छैनौँ । हामीलाई समय रोकिएको अनुभव भएको छ । समाजले, देशले, मातापिताले र आफन्तले देश बनाउन नसिकाइरहेको र बरु भाग्न सिकाइरहेका छन् । त्यसैले त हामी हरेक दिन आँखा चिम्लेर अरनीको भृकुटीहरु बन्न उद्दत छौँ । रेमिटेन्सको घनचक्करमा देशलाई धकेलेर भ्रष्टाचार र बेथितिलाई बढाउने देशको बेइमान नेतृत्वलाई मौलाउने मौका दिएका छौँ । यसको लागि दोषको भागीदार त हामी परदेशिएका पनि हौँ । जसको सजाय हामीले विदेशका गल्लीमा भोगिरहेका छौँ ।
यसै हप्ता फ्रान्समा सेवानिवृतिभरणको विषयमा अचम्मै ठूलो हडताल देखेँ । सरकार चाहन्छ दुईबर्ष सित्तैमा नागरिकलाई काममा लगाऊँ र निवृत्तिभरण कोषको घाटा पुर्ती गरौँ । नागरिक चाहन्छन् भ्रष्टाचार घटाऊ र सांसदका तलब भत्ता काट । नागरिकको मागमा छ्वास्स कुरा मिलेन भने नागरिकहरु ‘हतियार बोकेर सडक झर’ भन्ने राष्ट्रिय गाना गाउँदै हडतालमा झर्छन् । हाम्रो त देशको पनि नागरिक शक्ति यस्तै भए पो । हाम्रोमा त नेपाली होइन दलका कार्यकर्ता छन् र ती झुन्ड र गुन्डमा बिभक्त छन् ।
आक्कल झुक्कल मात्रै मिडियामा बोल्ने र खुसुखुसु आफ्नो गरिरहने हाम्रा महान डा सन्दुक रुइतले हालै भने, ‘जब छाला गोरो हुँदैन कम्तीमा तीन गुना बढी मेहनत गरेर विश्वसामु विश्वास जित्ने काम गर्नुपर्छ । देश बनाउने कुराको हकमा पनि यो कुरा लागु हुन्छ । नत्र त हाम्रो छवि सुध्रिँदैन।‘
तीन गुना काम त हामीले गरेकै छौँ । तर विदेशमा ! स्वदेशमा गर्नेले नेताको फरिया नसमातेकै कारण डुबेको छ । देशको नीति नियम बिग्रेकोले डुबेको छ । कि त महावीर पुन जस्तो विद्रोही र साहसी हुनुपर्यो । हुन पनि हाम्रो छवि अचेल कहिले कतारको स्टेडियममा आँसु बनेर बगेको छ । यति एयरलाइन्सको विमान दुर्घटनासँगै खसेको छ । अनि चार्ल्स सोभराज कान्डमा पुगेर रक्तपातपूर्ण भएको छ । कहिले बम्बैको कोठीमा गएर रोएको छ त कहिले सडक बालकका धुवाँमा उड्दो छ । अनि यस्तो देशबाट आएको हामीलाई विदेशमा कसले इज्जत दिन्छ ?
राज्यको तवरमा निरुपण गरिनुपर्ने यस्ता कुरामा हामी नागरिकको दोष हुँदैन । तर देश गरिब भएपछि हामी माथि गिल्ला गर्ने विषय अनेक हुँदा रहेछन् । अनि पो हामीमा विद्रोहको चेत आउने रहेछ र राष्ट्रप्रेमले सताउने रहेछ । कति पटक विद्रोह गर्नुभयो रे तपाईंले ? मलाई पक्का विश्वास छ नगनेरै तपाईंले अनगिन्ती विद्रोह गरिरहनुभएको छ । परदेशको भाषा बोल्न नजानेकोमा विदेशका सीडियो कार्यालयहरुमा पक्का अपमान सहनुभयो । हुलाकीले गल्तीवस छिमेकीको पत्र तपाईंको पत्र मन्जुषामा खसालेपछि त्यही पत्र पुराइदिन जाँदा छिमेकीले माथि देखि तल सम्म हेर्यो । तपाईंले धन्यवादको अपेक्षा गर्नुभयो ऊसँग तर सट्टामा उसले पत्र चोर्न खोजेको आरोप लगायो होला । बेहिसाब यस्ता ठेस लाग्ने क्षण कति आए आए तपाईंका जीवनमा । तपाईंका कति माना आँसु बगे र कति माना बगाउन बाँकी नै छ ।
तपाईंले बोल्दा उच्चारण त मिल्दैन नि हगि । यो हामी सबैले भोग्ने कुरा हो । जस्तो कि भर्खर पेरिस आइपुग्दा तपाईंले ‘शात्ले ‘ भनेर उच्चारण गर्नुपर्ने ठाउँमा ‘च्याट्लेट’ भन्नुयो । मानिसहरु गलल हाँसे । तपाईंलाई सही बोल्नुपर्छ र यसका लागि प्रयत्न गर्नुपर्छ भन्ने लाग्यो । कोशिष गर्नुभयो तर पनि सही उच्चारण सहि त आउँदैन नि । किनभने कतिपय अक्षरका उच्चारण गर्न हामीले जानेनौँ । जस्तो कि ह्रि ह्रु । तैपनि प्रयत्न गर्नुहुन्छ तपाईं । यति गर्दा गर्दै पनि जब तपाईंको भाषा सुन्नेले मुख बिगार्छ तपाईंमा मैले गल्ती बोल्छु कि भन्ने भय हुन्छ । अनि यो भय यसरी बस्छ कि मनमा तपाईंलाई खुलेरै बोल्न मन लाग्दैन । तपाईं अज्ञानी भएर होइन तपाईंको अभिव्यक्तिको माध्यम फरक परेर ।
तपाईंले कति सजिलो सँग नेपालीमा मैले भात खाएँ भने पुग्छ । फ्रान्समा पुग्छ ? पुग्दैन । मैले एक कचौरा बासमति चामलको स्वादिलो भात खाएँ भन्नुपर्छ । कति खाएँ खुलाउनै पर्छ । परिणाम र विशेषणको अति प्रयोग हुन्छ यो भाषामा । यसका साथ साथ हरेक चिज या वस्तु कि त स्त्री लिङ्ग हुन्छ कि त पुलिङ्ग हुन्छ । जस्तो नेपालीमा कसैसँग कुर्ची लेऊ त भने हुन्छ । तर फ्रान्समा एउटी कुर्ची लेऊ त भन्नुपर्यो । पुलिङ्ग प्रयोग गर्नुपर्ने ठाउँमा स्त्रीलिङ्ग ‘आर्टिकल’ प्रयोग गरिदिनुभयो भने बेस्सरी हाँस्छन् मान्छे ।
मलाई पहिलाे पटक सम्झना छ म राेटी किन्न पसलमा गएँ । मैले भनेँ, “कृपया ‘एउटा’ व्यागेट (फ्रान्सकाे लामाे राेटी) दिनुहाेस् ।”
पसलेले मलाई माथिदेखि तलसम्म हेर्दै भन्याे, “लिनुस् ‘एउटी’ व्यागेट । ”
हरेक चिजमा कि त पुरुष कि त महिला देख्नु फ्रान्सकाे विशेषता हाे । कुर्ची कसरी एउटी हुन्छे र काठकाे टुक्रा कसरी एउटा हुन्छ मलाई थाहा हुने कुरै छैन ।
यस्तो त हरेक दिन आउँछ । अनि एउटा यस्तो समय आउँछ । बोल्नै मन लाग्दैन । बोल्न मन नलाग्दा नलाग्दै नलागेपछि विस्तारै अन्तरमुखी बनिँदै गइँदो रहेछ बिदेशी समाजमा । आफ्नो स्थान बढी सुन्ने र बोल्नै परे मात्र जवाफ दिने भइँदो रहेछ ।
यो त मेरो पिडा हो । मलाई पक्का विश्वास छ विदेशी भू भागमा हामी नेपाली जाति जहाँ छरिएका छौँ हामी सबैले यस्तो भोगेकै छौँ । हाम्रो छाला फरक छ । आवाजको उच्चारण फरक छ । भाषाको बनौट फरक छ । हाम्रो सोचाइ र संस्कार अरुको भन्दा फरक छ । किनभने हाम्रो माटोले हामीलाई हाम्रै भाषा संस्कार र सभ्यता दिएको छ । हाम्रो देशमा कुनै पनि वर्ग या जात बहुमतमा छैन । हामी सबै अल्पमतमा छौँ । हामीले मिलेर बस्न जानेका छौँ । हामी नेपाली जाति हाम्रै देशका लागि निर्मित थियौँ तर हौँ तर हामी भागिरहेछौँ । अनि सामाजिक सन्जालमा फ्रस्टेशन पोखिरहेछौँ । यसमा म पनि पर्छु । हामीहरुसँग छलफल गर्ने विषय नै हुँदैन जस्तो देखिन्छ जबकि हामीसँग छलफल गर्ने अनेक विषय छन् ।
देशलाई चिनाउने अनेक अलङ्कार र बिशेष चिजहरु हुन्छन् । हामीलाई चिनाउने सगरमाथा हो । अरु पनि छन् तर यहाँ अटाउँदैन । विश्वले सगरमाथालाई एभरेष्ट भनेर चिन्छन् । यहाँनेर तपाईंको मन चसक्क हुँदैन ? यिनको भाषाको उच्चारण गर्दा हामी मरिच चाम्रे झैँ चाम्रिनु पर्छ । तर हाम्रो चोमोलुङ्गमो अर्थात् सगरमाथाको नामै परिवर्तन भएर एभरेष्ट भनिदिँदा पनि हामी यो हाम्रो पहिचानमाथिको धावा हो भन्दैनौँ । बेलायति जर्ज एभरेष्टले केही गरेका थिए भने बस सगरमाथाको उचाइ पत्तो लगाएका थिए । पछि एउटा बँगालीले उनले पत्तो लगाएको पर्वत भनेर माउन्ट एभरेष्ट भनिदिए अनि के चाहियो ब्रिटिस साम्राज्यले हाम्रो हिमालको नाम नै उनका नागरिकका नाममा राखे । यो बेइमानी हो कि होइन ?
त्यसैले त मलाई मेरा साथीले व्यङ्ग्य कसे हुन त तिम्रो देशको सगरमाथाको पहिचान बेलायतीले लुटे भनेर ।
हाम्रो देशमा कति छन् यस्ता कुरा जुन कुरा हामीले सुधार्नु छ । हामीले गर्नुछ । चाहे भाषा, चाहे संस्कृति, चाहे समाज, चाहे सोचाइ, चाहे गराइ । हाम्रो युवा पुस्ता अब रोकिनु पर्छ । देश भित्रै ।
हामी भौतारियौँ । हामी अलमलियौँ । हामीमा बेचैनी आयो तर अब हामी रोकिनुपर्छ । आफ्नो देशको पसिनाको सुगन्धले आफ्नै माटो सिञ्चित गर्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

