ठूला ठूला मुडाहरुले जलेर बलिरहेको आगो त केही समयपछि निभ्छ र खरानी बन्छ। मान्छेभित्रको आगो हो समयको अन्तरालमा निभ्छ नै निभाउनै पर्छ अन्यथा आफैँलाई खरानी बनाउनेछ। 
आत्मीयता भनेको दुई आत्माबिचको मिलन हो। अर्थात् एउटा आत्माले अर्को आत्मालाई स्वीकार्नु वा नजिक हुनु वा दुवै आत्माबिच भावनात्मक मिलन हुनु हो। हामी साथी सँगी भन्छौँ ति त सामान्य भेटघाटमा पनि हुने गर्दछन् तर ती सबै सँग आत्मीयता भने हुँदैन। माया, प्रेम र सम्बन्धभित्र पनि आत्मीयता लुकेको हुन्छ। जब यी कसिँदै जान्छन् बलियो हुँदै जान्छन् आत्मीयता नजिकिँदै जान्छ। सम्बध, माया, प्रेम सहजै सामान्य कारणमा टुट्न सक्छन् तर सामान्य अवस्था आउन गाह्रो हुँदैन।

बिनाेद पाेखरेल

आत्मीयता टुट्दा धेरै पिडा हुन्छ मनमा ईर्ष्या, जलन बढ्न थाल्छ किनकी दुइटा मुटु चुँडिएको जस्तो, च्यातिएको जस्तो अनुभूती आत्मीयता टुट्दा हुन्छ। कसरी बढ्छ त आत्मीयता यो ज्यादै महत्त्वपूर्ण छ । पैसाले किनेर यो किनिँदैन । चाहेर, सोचेर, खोजेर मात्रै पनि आत्मीयता सहजै बढ्दैन। आत्मीयताको महत्वपूर्ण तत्व सामीप्य हो। जहाँ सामीप्य बढी हुन्छ त्यहाँ आत्मीयता बढ्न थाल्छ । चाहे त्यो भौतिक होस् या भावनात्मक वा वैचारिक होस् सामीप्य महत्वपूर्ण हुन्छ। त्यसै गरी जहाँ माया, प्रेम र सद्भाव बढ्छ, गहिरो हुन्छ त्यहाँ आत्मीयता पलाउन थाल्छ र निरन्तर रूपले बढ्न थाल्छ चाहे त्यो आपसी सम्बधमा होस्  या प्रियजनमा ।

हामी सबै भन्दा बढी माया आफ्ना बाल बच्चाहरुलाई गर्छौं । त्यहाँ आत्मानै जोडिएको हुन्छ किनकी उनीहरूसँगको वात्सल्यको सामीप्य सबै भन्दा बढी हुन्छ। त्यसै गरी जब विवाह बन्धनमा बाँधिन्छाैँ हाम्रो सबै भन्दा बढी समीप्य श्रीमान र श्रीमतीबिच हुन्छ । आत्मीयता पनि त्यहाँ बलियो र कसिलो हुन्छ। यस अर्थमा घरमा आमा, बाबु, छोरा, छोरी, दाजु, भाइ,  दिदी, बहिनीबिच आत्मीयता हुँदैन भन्ने हाेइन । जहाँ सम्मान हुन्छ, माया हुन्छ, ममता हुन्छ तर तुलनात्मक रुपमा सामीप्य बढी हुन्छ त्यहाँ आत्मीयता बढी हुन्छ भन्ने मात्र हो। यदि हामी घरमा बुवाआमा, दाजुभाइ तथा पारिवारका साथमा हुन्छौँ त्यहाँ बढी आत्मीयता हुन्छ । बुवाआमा, दाजुभाइ हामी बाट टाढा छन् भने पनि माया, ममता, सम्मान तथा कर्तव्य कहीँ कतै कमी हुँदैन । रपनि सामीप्यकाे अभावमा आत्मीयतामा कमी देखिन्छ । पछि सामीप्य भए पुनः आत्मीयता बढ्दै जान्छ। यो हामीले नमाने पनि प्राकृतिक सत्य हो।

अब हेरौँ मित्रता, माया, प्रेम, सबन्ध र आत्मीयता टुट्दा कस्तो फरक पर्दछ। सामान्य भेटघाटका, स्कूल-कलेजका साथीहरु, छर-छिमेकबिच केही असमझदारी भए वा भेटघाट टुट्दै गए केही समयको अन्तरालमा माया, सम्बध र मित्रता स्वाभाविक रुपमा हराउँदै जान्छ । र पुनः भेटघाट भए स्थापित भएर पनि जान्छ । किनकी त्यहाँ सबैसँग आत्मीयता हुँदैन सहजै जुट्छ सहजै टुट्न सक्छ। यदि आफ्नै  घर परिवार, नजिकको नाता सम्बन्धबिच जुन माया, प्रेम मात्र होइन आत्मीयता थियो, अन्तर सम्बन्ध राम्रो थियो र कुनै कारण बस टुट्छ या असमझदारी बढ्छ भने त्यो रिस, राग, द्वेश र कलहमा परिणत हुन्छ। पुनः जोडिन धेरै गाह्रो हुन्छ, धेरै समय लाग्छ र स्वाभाविक हुन अझै धेरै समय लाग्छ । किनकी आत्मीयता टुट्नु एउटा घाउ बन्नु हो। त्यहाँ आलो घाउमा मलम पट्टी लगाउने भन्दा नुन चुक दल्ने धेरै हुन्छन्। एक आपसमा समझदारी बनाउने हाेइन बढाउने धेरै हुन्छुन्।

त्यसमाथि हाम्रो समाजमा एक आपसमा लडाएर बझाएर आफ्नो स्वार्थ सिद्धि गर्ने धेरै हुन्छन्। यसरी आफन्तहरुबिच आपसी अहंकार झनै बढ्न थाल्छ र त्यसले अन्ततः आफूलाई नै कमजोर बनाउँछ ।  समयको अन्तरालमा आफ्ना कमी कमजोरीहरु महसुस गर्दै, आत्मसात हुँदै दुई आत्माको पुनर्मिलन हुन्छ, जोडिन्छ। तर लामो समयको धैर्यता भने गर्ने पर्दछ। यी भावना होइनन् समाजमा देखिएका भोगिएका सत्य र तत्थ्य हुन्।

हाम्रो घर परिवार तथा समाजमा सम्बन्ध बिगार्न केही तत्त्वहरुको महत्वपूर्ण भूमिका रहन्छ। स्वार्थ, बेइमानी तथा चाकडी चुक्लि अर्थात् बोल्ने तरिका वा व्यवहार नै एउटा परिवार तथा समाज बिगार्ने महत्वपूर्ण तत्व हुन्। स्वार्थ बिनाको त मानिस हुँदैन । यहाँ श्रीमान् श्रीमतीबिच स्वार्थ हुन सक्छ भने छोराछोरी आमाबुवाबिच पनि स्वार्थ हुन्छ। स्वार्थरहित मान्छे हुनै सक्दैन । यो पनि प्राकृतिक गुण हो । यस्ता स्वार्थभित्र कर्तव्यबाेध हुन्छ र प्रेमको भाव हुन्छ। श्रीमान-श्रीमतीबिच स्वार्थ दोहोरो माया प्रेमको हुन्छ। मैले माया प्रेम गरे भने उनले पनि माया प्रेम गर्छिन भन्ने स्वार्थ लुकेको हुन्छ।

त्यसै गरी छोरा छोरी हुर्काउने पढाउने लेखाउने ठूलो मान्छे बनाउने भित्र पनि स्वार्थ लुकेको हुन्छ कि उनीहरूले प्रगति गरे इज्जत, प्रतिष्ठा कमाए भने आफ्नो पनि ईज्जत प्रतिष्ठा बढ्ने, उनीहरुको सुख-सुविधा खुसीमा रमाउन पाउने, एउटा माया तथा कर्तव्यबोध रुपि स्वार्थ लुकेको हुन्छ। यस्ता सकारात्मक ऊर्जा दिने कर्तव्य मित्रका स्वार्थ आफ्नो घर परिवार आफन्तजन सबैतिर हुन्छ नै यसलाई अन्यथा ठान्नु हुँदैन।

अर्को कुरा यही  स्वार्थभित्र नै घरपरिवार, समाज बिगार्ने तत्त्व लुकेर बसेको हुन्छ । जसलाई बेइमानी भनिन्छ। आफ्नो व्यक्तिगत फाइदाको लागि अरुको हानी नोम्सानी गर्नु पनि स्वार्थ हो । यो अपराध पनि हो । कानुनी रुपमा दण्डनीय पनि हुन्छ । घरपरिवार, समाजमा यस्ता सोच र प्रवृत्ति भएका मान्छेहरु पनि धेरै हुन्छन् यिनीहरुले समाजमा आफ्नो इज्जत-प्रतिष्ठा गुमाएका हुन्छन् नै । समाजलाई भाँड्ने, सम्बन्ध बिगार्ने काम गर्दछन्। त्यस्तै घरपरिवार समाज बिगार्ने खतरनाक तत्त्व भनेको एक आपसमा चुक्ली अर्थात नभएको कुरा लगाउने र आफू सबैको नजिक बन्न खोज्ने पनि हो।

आफूले नै अरु अरुका कुरा काट्ने,  गलत विश्लेषण गरिदिने,  आफ्ना दुख पिडा भोगाइहरु एक आपसमा सेयर गर्दा अर्कोलाई गएर सुनाइदिने, त्यस्तै नजिकका नाता सम्बन्धबिच एक आपसमा भएका सामान्य मनका भावना, पिडाहरु लुकेर सुनेर, रेकर्ड गरेर सार्वजनिक गराउने(जुन सिनेमाहरुमा वढी देखिन्छन् ) यी त बेइमानी मात्र होइन झन खतरनाक पनि हुन्। त्यस्तै  अर्काे आपसमा गरिने आचरण तथा व्यवहार पनि हो । घर परिवार समाजमा सुद्ध आचरण नहुनु , व्यावहारिक नहुनु, घमन्ड-अहंकारी हुनु, बढी आशंका गर्नु, नम्र तथा सहनशील नहुनु पनि हो ।  त्यस्तै शंका-अनुमानकै भरमा अरु कसैको मूल्याङ्कन गर्नु पनि समाज भित्रको नकारात्मक पक्ष हो।

एउटा सभ्य तथा आदर्श घर परिवार तथा समाजमाको सम्बन्ध सुधार गर्न सबै भन्दा महत्वपूर्ण पक्ष भनेको एकले अर्काको भावना बुझ्न सक्नु पर्दछ । नम्र, सहनशील बन्नै पर्छ । मनमा लागेका कुरा खुलस्त सबैका सामु राख्न सक्नु पर्दछ । आफ्नो गल्ती, कमी कमजोरी सहजै स्वीकार्न सक्ने हुनु पर्दछ।  समाजमा भद्र भलादमी अगुवाहरुले घरपरिवार, समाजभित्रको द्वन्दलाई आपसी स्वार्थमा बल्झाउन भन्दा सुल्झाउनतिर लाग्नु पर्दछ। यो एउटा घाउ हो चाँडाे मलम पट्टी गरे चाँडाे ठिक हुन्छ अन्यथा लामो समय बल्झिन सक्छ। आफ्नै घरपरिवारभित्रको द्वन्दभित्र रिस, राग, द्वेशले भरिएको हुन्छ जुन चाँडै पोखिन्छ समाजलाई विभाजन गर्न सक्छ । यसलाई आफन्तजनबाटै चर्काउन पनि सकिन्छ र मलम पट्टी गरेर उपचार गर्न पनि सकिन्छ। पिडाको घाउको खाटा त बस्न सक्ला तर समयको अन्तरालमा मेटिन सक्छ मेटिन्छ नै। ठूला ठूला मुडाहरुले जलेर बलिरहेको आगो त केही समयपछि निभ्छ र खरानी बन्छ। मान्छेभित्रको आगो हो समयको अन्तरालमा निभ्छ नै निभाउनै पर्छ अन्यथा आफैँलाई खरानी बनाउनेछ।