Chovar Blues Mobile Size

विगत केही समयमा केही लेखहरु पढेँ – मान्छेको – अझ विशेष गरी छोरी मान्छेको सुन्दरतालाई कसरी पुरुषहरुले, अनि पुरुष सत्तावादीहरुले नियोजित किसिमले महिलाको यौन तथा श्रम शोषणको माध्यम बनाउन खोजेका छन् र पुंजीवादले यो मानसिकतालाई कसरी व्यापारीकरण गर्दो छ । लेखकहरुको नाम उल्लेख गर्दिनँ – केवल विचारको अलिकति उल्लेख गर्छु।

धेरै जसो लेख वामपन्थी धाराका अनि केही फेमिनिष्ट लेखकहरुका यी लेखहरुमा यौटा ‘कमन थीम’ हुन्छ कि सुन्दरताको अनुभूति के हो । एउटा मान्छेले अर्को मान्छेमा केलाई सुन्दर मान्ने ? मैले पढेका ती लेखहरुमा एउटा असल मान्छेलाई के सुन्दर लाग्नु पर्छ भन्ने समेत निर्देशन गरिएको छ । कतिपय धारणा मलाई सही लागे – अनि कतिपय कुराहरु हास्यास्पद। यो लेखमा मैले आफ्नै केही धारणाहरु राखेको छु।

रबर्ट जोशी (रुबन)

आम मान्छेलाई के सुन्दर लाग्छ ? र किन ?

सौन्दर्यचेत वास्तवमा जीवको, हाम्रो केसमा मान्छेको – आफ्नो स्पेसिजको निरन्तरताको एकदमै मुख्य / आधारभूत गुण हो। यस अर्थम प्राकृतिक छनौट (natural selection)मा सौन्दर्य चेतको ठुलो असर हुन्छ । विपरित लिङ्गी बीचको आकर्षण यौनिक प्रजनन (sexual reproduction) को प्रथम शर्त हुँदै हो। यदि यो आकर्षण नै रहेन भने प्रजनन केवल जैविक कर्तव्यजस्तो हुन्छ जसको दुख कसैले किन उठाउँछ ? यो यौनिक आकर्षणले मस्तिष्कको लिम्बिक सिस्टममा ‘पुरस्कार (reward)’को अनुभूति दिलाउँछ ।

यो आकर्षणको गुप्त कोड हाम्रो जीनमै निहित छ – क्रोमोजोममा। कोही कसैलाई सुन्दर लाग्नुमा हाम्रो जीनको व्यक्तिगत स्वार्थ हुन्छ। सो जीनको – अनि अन्ततोगत्वा हाम्रो जाति (species) कै सफल निरन्तरता । ठिक छ – हामी सुन्दरतालाई शारीरिक सुन्दरता, मानसिक / बौद्धिक सुन्दरता वा अझ आध्यात्मिक सुन्दरता भनेर विभाजित गर्न त सक्छौँ तर अन्त्यमा सबै किसिमको सुन्दरताको अनुभूतिमा हाम्रो जीन – अनि स्पेसिजको निरन्तरतालाई मुख्य लक्ष्य बनाइएको हुन्छ । करोडौं वर्ष लगाएर प्रकृतिले न्याचुरल सेलेक्सनको आधार बनाएको गुण हो यो । यो आधारभूत सौन्दर्य चेत कुनै राजनैतिक समूहले वा धार्मिक सेक्टले बनाएको दस्ताबेज मान्दैन । अवश्य नै निहित स्वार्थ हुन्छ यो सौन्दर्य चेतमा – तर सत्य यही हो। यसलाई म अझ राम्रो, परिमार्जित, प्रगतिशील र लैङ्गिक समानता युक्त बनाउँछु भनेर मिल्दैन।

तपाईं महिला हुनुहुन्छ भने पुरुषको सुन्दरता भनेर केलाई खोज्नु हुन्छ त ? अवश्य नै बलिया मांसपेशी, उन्नत लिङ्ग, खरो पुरुष हर्मोनको चिन्हजस्तै दारी जुँगा, आफूमा लिप्त हुन सक्ने अनि दीर्घकालीन रुपले सन्तान हुर्काउन मद्दत गर्ने कमिटमेन्ट। अर्थात आफूलाई गर्भधारण गराउन सक्ने अनि सन्तान हुर्काउन उत्तिकै मद्दत गर्न सक्ने प्रतिबद्धता । यी चीज नै सेक्सी लाग्छन् – हजुरलाई। हजुरको जीनमा नै यी गुणहरु छापिएर बसेका छन् । हजुरको केही चल्दैन यसको विरुद्ध जाने।

हजुर पुरुष हुनुहुन्छ भने यौटा महिलामा हजुर उन्नत हिप, उन्नत स्तन, महिला-हर्मोनको स्पष्ट चिन्हहरु- अनुहारको अमुक सुन्दरता, सायद ओठको सुन्दरताको अनुभूति यही होला (मेरो अनुमान मात्रै) । यी प्रत्येक सौन्दर्यको चेत हाम्रो अवचेतन मनमै हुन्छ र एकमात्र ध्येय- सन्तान जन्माएर हुर्काउनु ।

पुरुष र महिलामा फरक अवश्य छ। धेरै फेमिनिष्टहरु यो कुरा नकार्न चाहन्छन् । वास्तवमै पनि यो फरकपनलाई पुरुष सत्तावादीहरुले शोषणको माध्यम बनाएका छन्। पुरुषसत्ता हाबी भएको कृषि क्रान्तिपछि मात्रै हो । अर्थात् १०-१५ हजार वर्षदेखि। तर पुरुष-महिला बीचको भिन्नताबाट उत्पन्न हुने सौन्दर्य चेतको विकास करोडौं वर्षको हो।

पुरुष र महिलाका जुन गुणहरु फरक छन्, त्यसले कुन लिङ्ग उपल्लो अनि कुन तल्लो किमार्थ भन्दैन । पुरुषमा कोरा मान्स्पेशीय बल धेरै हुन्छ । प्रायः सबै स्तनधारी जीवमा यस्तै हुन्छ । तर महिलामा सहनशीलता (यसलाई नकारात्मक नलिनु होला – सहनशीलता = प्रतिकूल अवस्थालाई पनि सहन सक्ने वा टोलेरेट गर्न सक्ने शक्ति ), मानसिक कोमलता (अरुको अपराधलाई क्षमा गर्न सक्ने गुण) , अनि अरु भित्री पोजिटिभ फोर्सहरु बढी हाबी हुन्छन् ।

मान्छेहरु समूहमा बस्न र कृषिको सुरुवातमा कोरा मांसपेशीय बलको बढी जरुरत भएकोले पुरुष सत्तावाद सुरु भएको हो । मानव सभ्यताको आधुनिक समयमा मांसपेशीको बलको जरुरी धेरै कम छ र सायद मानसिक / बौद्धिक बलले ओभरटेक बल्ल गर्न थालेको छ । तर यद्यपि यो बौद्धिक बल- प्रजननलाई सफल पार्ने शारीरिक गुणको बदलामा आएको हैन। त्यसैले हजुर पुरुष हो भने चाहे अल्बर्ट आइन्स्टाइन हुनुस् वा ऋषि विश्वामित्र- वा कार्लमार्क्स नै हुनुस्- तपाईंलाई यौटी युवतीसँग मिठो समय बिताउनु छ भने तपाईं उनको उन्नत स्तन र फराकिलो हिप नै चाहनु हुन्छ न कि उनको शोषण / दमनको विरुद्ध बिगुल फुक्ने जुझारु क्रान्तिकारी पृष्ठभूमि वा दार्शनिक उच्चता ।

हजुर महिला हुनुहुन्छ भने पनि त्यस्तै सुत्र लागु हुन्छ । म यहाँ नैतिकता, सामाजिक न्यायको कुरा गर्दै छैन- भित्रि कामनाको कुरा गर्दै छु। यो कामनालाई हजुरको बौद्धिक / नैतिक बलले दबाउन सक्नुहुन्छ अनि प्रजननीय गुणभन्दा अरु गुणलाई प्राथमिकता दिन सक्नुहुन्छ- बिहे गर्ने वा लामो पार्ट्नर्शिपको लागि। तर यो कामना- सौन्दर्य चेतको भित्री कामना कतै जाँदैन र मौका मिल्दा हजुर अलिकति चोरी अनैतिकता गर्न पछि हट्नुहुन्न ।

सौन्दर्य चेतको दुरुपयोग र बजारीकरण

सामन्तवादले सौन्दर्य चेतलाई पुरुषको महिलालाई कज्याउने हतियार बनाइदियो । महिलावादी र प्रगतिशील लेखहरुमा यो सत्यता मैले भेटेँ कि महिलाले आफू सुन्दर मानिने गुणको व्याख्या गर्ने जिम्मा पुरुषलाई दिएका छन् । यो सौन्दर्यचेतलाई पुरुषहरुले प्रकृतिले दिएको उद्देश्यभन्दा अलग बनाएर आफ्नो स्वार्थको लागि पक्कै प्रयोग गरेका छन् ।

उदाहरणको लागि एउटा यो भनेर आइएको छको ‘लाज नारीहरुको सब से सुन्दर गहना हो’ । यथार्थमा लाज एउटा सुरक्षित हुन खोज्ने जैविक गुण हो- पुरुष वा नारी दुवैमा हुने । पुरुषले लाजलाई नारीको सुन्दरता बनाएर उनलाई अन्तर्घुलमिल हुनुबाट रोक्ने प्रयास गर्छ। कतिपय संस्कारमा महिलाहरुको यौन आनन्दलाई समेत असुन्दर भनिन्छ । उनको आनन्द कम गर्न उनको यौनाङ्गलाई नै विक्षत बनाउने प्राक्टिस समेत छ कति ठाउँमा। पितृसत्ता टिकाउन महिलाको सौन्दर्य चेतलाई पक्कै प्रयोग गरिएको छ।

पुँजिवादमा जे बिक्छ त्यो बजारमा आइहाल्छ । पैसाको नाफा नै पुँजिवादको मूल धर्म हो । अब सुन्दरताको अनुभूतिजस्तो अति गहिरो भावलाई यसले बेच्न खोज्ने नै भयो । पुरुषले नारीमा जेमा सुन्दरता खोज्छन् त्यो अङ्गलाई अझ बढी ‘प्रोजेक्ट’ गर्ने अप्राकृतिक साधनहरु बजारमा फोर्स गर्छन् । ओठलाई बढी मोटो, बढी रातो वा अरु रंगको, हिप र बटकलाई अरु उन्नत देखाउने साधन । कतिपय यस्तो देखाउन सर्जिकल अपरेसन समेत गर्नु पर्छ । ओठ वा स्तन / बटकमा सिलिकोनको नक्कली प्रोस्थेसिस हालेर ‘भरिलो’ वा ठुलो देखाउन खोज्नु ।

यी सबै अनावश्यक र सायद हानिकारक अप्राकृतिक वस्तुहरुको बजार खरबौँ डलरको छ। जनमानसमा नारी सौन्दर्यको प्राकृतिक प्रजननीय गुणलाई फरक किसिमको अनुभूति लाद्न खोजेको छन् । केवल पैसाको लागि अनि सायद मनोवैज्ञानिक रुपले आफ्नो सौन्दर्यको ‘मेन्टेन’ गर्ने अधिकार पुरुषले नियन्त्रण गर्ने कम्पनीमा निर्भर गराउने । यस्तो सूक्ष्म षड्यन्त्रलाई प्रगतिशील र फ़ेमिनिस्ट लेखकहरुले पहिल्याएका त छन् । यद्यपि नारी वा पुरुष दुवैको जुन यौनसँग सम्बन्धित प्रजनीय गुण हो – त्यसलाई भने नकार्न मिल्दैन। उनीहरु नारी पुरुष बीचको भिन्नता सुन्नै चाहँदैनन् जब कि यही भिन्नता नै प्राकृतिक छनौटको आधार हो । वास्तवमा लैङ्गिक भिन्नता आफ्नो आफ्नो बल हो, विशेषता हो ।

अब साहित्य, कला, आदिको एक्सप्रेसनमा यो शारीरिक वा अन्य सौन्दर्यलाई व्यक्त गर्ने कि नगर्ने ? वहाँहरुको भनाइमा नारीहरुको सौन्दर्यको व्याख्या गर्दा उनको क्रान्तिकारी बौद्धिक चेतलाई मात्रै सम्झिनु पर्छ। यो धारणा पक्कै पनि विज्ञान सम्मत छैन । मोटर गाडीमा पानी हालेर कुदाउन खोजे जस्तै हो यस्तो धारणा। निश्चय नै बौद्धिक/राजनैतिक चेत सामाजिक रुपले महत्त्वपूर्ण छ । तर सुन्दरता – यौन अनि प्रजननसँग जोडिएको एकदमै फरक जैविक गुण हो । पुँजिवादी / पितृसत्तात्मक अपभ्रंश भएको धारणा बाहेक यो प्राकृतिक गुणलाई बुझ्नु र व्यक्त गर्नु लेखकको स्वतन्त्रता हो। यसले गर्दा पितृसत्ता वा अरु किसिमको शोषण र विकृतिलाई मदत पुग्ने हुँदैन । कसैको संकुचित राजनैतिक धारालाई समर्थन गर्ने चेत मात्रै सौन्दर्य चेत भन्नु हास्यास्पद छ। त्यसो त हिटलरले भन्ने गरेको सौन्दर्य चेत – यहुदी र कम्युनिष्टलाई कत्लेआम गर्ने मानसिक अवस्था हुन्थ्यो होला। यसैले सौन्दर्य चेतलाई राजनीति विशेषको परिभाषा मिल्दैन।

सौन्दर्य चेतको विविधता

मानव जाति बिस्तारै बढीभन्दा बढी बौद्धिक हुँदै गएको तथ्य पक्कै सत्य हो । यस अर्थमा मान्छेको प्रजननमा शारीरिक गुणले फरक नपर्ने अवस्था आउला कि हजारौँ वर्षमा ? अहिले पनि आफूलाई ‘सेपियो-सेक्सुअल (sapiosexual) भन्ने हरु आउँदैछन्। कतिपय मान्छेहरु यो शब्दलाई ‘बौद्धिकतालाई सेक्सी ठान्ने’ मात्रै सोच्छन् । तर सेपियो-सेक्सुअल भनेको विपरित वा समान लिङ्गीको बौद्धिकताले आफूमा यौन उत्तेजना आउने हो । अर्थात बलियो मांसपेशी, भरिएको ‘क्राउच’, रसिलो ओठ, उन्नत स्तनको तुलनामा इण्टेलिजेण्ट माइण्ड, कलात्मक गुण आदिले बढी उत्तेजना दिन्छ ।

खैर, सौन्दर्यचेत नितान्त व्यक्तिगत पनि हुन्छ । हुन सक्छ कसैलाई शोषण गर्ने साहुको गला छप्काउने साहसले पो यौन उत्तेजना दिन्छ कि। यही हुनेछ त्यो अमुक व्यक्तिको सौन्दर्य चेत।

एउटा समानान्तर उदाहरण छ – जीव विकाशको क्रममा न्याचुरल सेलेक्सनको मान्छेमाथिको असर। याद गर्नु भएको होला ज्यादातर मानिसलाई गुलियो र चिल्लो एकदम मन पर्छ । हाम्रा मीठा भनिएका खानाहरु त्यस्तै हुन्छन् । अब यो आधुनिक समयमा हामीलाई डाक्टरले समेत सल्लाह दिन्छन् । गुलियो चिल्लो नखाऊ । मधुमेह / कोलेस्टेरोल हुन्छ । मुटुको रोग आदि लाग्छ । तै पनि लुकी लुकी खान मन लाग्छ मिठाई र मासु।

हाम्रो जीनमै छापिएको छ – हामीलाई गुलियो र चिल्लो मिठो लाग्नु पर्ने। संसारमा खानेकुरा धेरै हुन थालेको केवल केही सय वर्ष भयो नत्र मान्छे वा अरु कुनै जीवको लागि खाना भनेको एकदमै चुनौतीपूर्ण खोजाइ हो। यदि गुलियो र चिल्लो खानेकुरा भेटियो भने त वाह चिठ्ठै परे बराबर। बाँच्नको लागि हामीलाई उतिबेला त्यस्तो खानेकुरा मन पर्नु पर्थ्यो र अहिले पनि उही जीन हाबी छ। सायद यस्तै भइरह्यो भने हजारौं पुस्तापछि गुलियो चिल्लो मन नपर्ने भएर विकाश हुन सक्छ।

बस ! सौन्दर्य चेत पनि त्यस्तै हो । तपाईं जो सुकै हुनुस् – तपाईंको सौन्दर्य चेतमा मसलदार भरिलो ‘क्रोच’वाला पुरुष अनि पुष्ट स्तनवाली, छिनेको कम्मर फुकेको हीपवालीकै आशा हुन्छ। कसैले पनि झुटो नबोले हुन्छ ।