साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

 प्रेमको उत्सर्ग

लक्ष्मी उप्रेती

 

अहा ! प्रेम यो संसारको शाश्वत र सुन्दर शब्द। जहाँ प्रेम छ त्यही जीवनको सारमा उज्वल प्रकाश देखिन्छ । उदासीन भएर हराएँको बेला अन्तर आत्मा देखि नै मुस्कुराएर बज्ने तरङ्गित संगीतको मीठो धुन प्रेम । प्रेम स्निग्ध हो, तर निर्बन्ध हुनै नसक्ने फराकिलो प्रकृति जस्तै । प्रेम प्रकृति जस्तै भयो भने त सर्वोच्च मानिन्छ।

यदि प्रेम नहुनु हो त संसार कस्तो हुन्थ्यो होला कल्पना गरौ त। प्रेमको न कुनै उमेर हुन्छ न कुनै सिमा। अन्तहिन अनन्तको नजानिने मीठो तृष्णा।  नाता बिना पनि गहिरो आभासमा छचल्किने नाताको प्रतिछाया प्रेम । मीठो अनुभूतिमा समर्पण त्यागको उत्सर्ग अनि अपुरो अधुरो जीवनमा खुसिले भरिने अलौकिक आनन्द। यही रहस्यबाट नै आउछ प्रेममा अनुकम्पा।

bahulako diary small and inside post

प्रेम योजनावद्व प्रस्तुत हुन कहिले सक्दैन। यदि भएको कसैले भन्छ भने त्यो त अभिनय मात्र हो।

प्रेम प्रेम नै हो। कुनै मानक बेगर कुनै  कामना बेगर मनको कोलाजमा प्रसारित हुने  प्रेम बिभिन्न रूपमा उद्घाटित हुन्छ। दृश्यमा बिभिन्न प्रेमका तारतम्य सम्बन्धमा अनेकन् नयाँ नयाँ प्रेमका आयम संवेदनामा छरिरहने प्रेमका अपार अनुभूति…….. आदि आदि।

तर आज म यहाँ प्रेमका यी सम्पूर्ण आयमहरूमा बहकिन्न। बहकिए भने यो लेखको अन्त नहुन सक्छ। अरू त के मातृत्वमा छलाङ नमारी कल्पनाको बैसाखी टेकेर बिना नामको प्रेमलाई लिएर पृथक रूपमा भरिदै पोखिन्छु। समयसँगै बग्ने र बगेर नरित्तिने मीठो अनुभूतिमा संसारको अनुपम उपहार प्रेमको तरङ्ग ।

कसैसँग नजिकिएर मुस्कानको लय मिसाउनु एकअर्कालाई बुझेर मौनताको भाषा  बोल्नु प्रेम हो सायद । यही आभासमा रमाएर जीवन उत्सर्ग गर्नेहरू कति छन् कति। जसले प्रेमलाई प्रेम नै मानेर चुपचाप जीवन बाँच्नुमा तरङ्गित र मर्नुमा निस्सार भए ।

जीवन अनेकन यात्राको अर्को नाम हो भने प्रेम जिन्दगीको प्रतिछाया। एउटा बाटो आउछ फेरि अर्को मोडिन्छ, तर जीवन रहुन्जेलका यायावर हामी हाम्रो यात्राको अन्त कहिले हुन्न। त्यस्तै प्रेम पनि एकपछि अर्को आउने जाने गर्छ समयको कठघरामा। तर यो पनि सत्य हो, जुन प्रेम आफूसँग नभए नि पुजा गर्न लायक हुन्छ, त्यो प्रेम त जहाँ रहे पनि मुस्कुराई रहेको हुन्छ। हजारौं चिन्तक, दार्शनिक, कलाकार, लेखकहरूको जीवन पढेर अनुभूत गर्न सकिन्छ प्रेमको सौन्दर्यलाई । त्यस्तै प्रेममा डुब्ने मानिसहरूका कथा व्यथा हजारौं आयममा उद्घाटित भइरहेछन्। त्यसमा केही कति बिचलन भए भने कोही कति संयम पनि भए। हजारौं कोसको दूरी तय गरेर प्रेमलाई प्रेमिल रंग दिने पनि मान्छे नै हुन भने आफ्नै समिपमा प्रेम हुँदाहुँदै उजाडिने मान्छे पनि कम छैनन्।

प्रेमको परख गर्न सक्नेले जीवनमा केही छुटे पनि  कहिले बिचलनको सामना गर्नु पर्दैन। प्रेम आफैँ भित्र उब्जने एउटा सुन्दर फूल जस्तै क्षितिजको अतृप्त दृश्य जस्तै उज्यालो घामको सुकिलो चेतना जस्तो भएर निर्माण भयो सायद।

प्रेमलाई अलिकति बुझेर नै होला यसबेला म प्रेमको उन्मुक्त आकाशमा निर्वाद हिँडिरहेछु । जहाँ कसैले मलाई रोक्न सकेनन्। मेरो प्रेमलाई खोस्न  सकेनन् र मेरो हृदयको गति छाम्न सकेनन्।

प्रेमको नाम अर्को भन्ने कुनै शब्द नै छैन। तथापि बिम्ब र प्रतिकसँगैसँगै उडान भरेर जून फूल र आकाश घर्तीका सारा सौन्दर्यमा अडिएर निर्विवाद प्रेमको क्षितिजमा पुग्न हो सायद। तर कसैले प्रेमलाई उपहास पनि गरिरहेको पाइन्छ ।  यसो हुनुमा जीवनबिहिन भएका अनेकन सन्दर्भ सोचे भने म दुखेर व्यर्थमा तनाव हुन्छ ।

जीवन प्रेम प्रेम जीवन। म प्रेमालाप गरिरहेछु कल्पनामा प्रेमको त्यहीँ आकार खोज्दै जुन आकारले जीवन बदलिदियो। समयसँग सम्झनाहरू सलल बग्छन् । यदि ती दिनहरूमा तिमी भेट नभएको भए अहिले म हुन्थेँ होला र ! मेरा अनिदा रातहरू अत्यासिला दिनहरू उफ ! तिमीलाई सापट दिएर म सन्च हुन सक्ने बरफ जमेको मेरो जीवनको  पिरामीड। मेरा संवेदनालाई जतनले  सुम्सुम्याएर अस्तित्वको गर्तमा हिडाउने तिमीलाई सम्बोधन गर्ने कुनै शव्द भेट्दिनं। अनि जीवनको अर्थ बुझाउँने तिम्रो महानतालाई प्रिय भन्न नसकेर अनर्थमा आफूलाई चिथोरिरहेछु। त्यही  प्रेमको छायाँमा शीतलता को अनुभूत गरिरहेछु।

यति भनेपछि यात्रामा भेतिएँर कही समय पछि छुट्नेहरूलाई जस्तै बिर्सिएर रमाउने सक्दिनँ म। तिमी के गर्छौ ? मलाई थाहा छैन | तर अब मलाई  अपुरो हुनुमा, अधुरो हुनुमा आफूसँग र तिमीसँग कुनै गुनासो छैन, कुनै …..।

मेरो प्रेम मेरो मष्तिष्कमा चेतना बनेर अनवरत बगिरहन्छ। यो भनेर प्रेमलाई विश्वास गराउने मेरो सामर्थ्य छैन र म दुस्साहस पनि गर्दिनँ। कहिलेकही एकाएक प्रेमको छायाँमा रूमलिदै फर्किन्छु । जीवन त हरेकले सोचे भन्दा फरक हुने रैछ। मेरो पनि हिजोभन्दा फरक छ तिम्रो पनि फरक फरक। तर यो मलाई थाहा छैन कि प्रेमको अनुबंदनमा को कति नजिक र को कति टाढा छ।

जबजब प्रेमको धुन गुन्जन्छ, तबतब मन नाच्दै अतितको पर्दामा स्वाट्ट हामफाल्छ। त्यसबेला शून्यता बिच पनि धेरै हाता लागेर प्रेमिल आवाजले उन्मुक्त आकाशमा बिचरण गराउछ ।

हरेक मान्छेहरू पनि प्रेम जस्तै सुन्दर र पवित्र हुन् सके त प्रेमीहरू साँच्चै सारगर्भित र शक्तिशाली हुन्थे ! यो संसार कति राम्रो हुन्थ्यो ! प्रेम विश्वासमा न अडेको छ । म प्रेमलाई विश्वास गर्छु भनेर प्रदर्शन गर्नु प्रेमको खिल्ली उडाउनु हो जस्तै लाग्छ कहिले त । वर्षौँ भेट नहुँदैमा प्रेम नटुङ्गने आनन्दको आस्था जस्तो हो कि कस्तो कस्तो ।

नजिकैको रेडियोबाट नारायण गोपालको मृदुल आवाजको गीत  गुञ्जिएर मेरो हृदयका तार झनझनाउछन्।

तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झे तिमी साथ आयौ।
…………………

सम्बन्धित पोस्टहरु

कन्चन पुडासैनीका शब्द। कति राम्रो प्रेमको गहिराइमा पुगेर नै लेखे हुन् सायद। स्वरले प्राण भरेर शाश्वत बनेको गीत आहा। ममा एकाएक तिम्रो समिप अनुभूत भइरहेछ। यो कस्तो तृष्णा हो कि भ्रम हो भनिदेउन।

प्रेमका बारेमा अनेकन जिज्ञासाहरू छन् तर रहस्यमय पारेर समयकै गर्तमा छाडेर अघि बढ्नुको विकल्प के नै हुन्छ र ? प्रेमको मौन भाषा भित्र हरेक प्रश्नको उत्तर नभेटिदो रहेछ। समयले नै दिएको प्रेमको चोटका उत्तर पनि समयले नै दिनेरहेछ ।

जीवनका उकाली ओराली हिडेका ती हाम्रा पाइतालाका डोबहरू मेटिएपनि बाटो अझ फराकिलो भएका छन्। एकअर्कालाई छाम्दै दुख सुख बाडेर मुस्कुराएका हाम्रा ती सम्झना हरे ताजै छन्। हामी बिच आकर्षकको जलप भित्र पनि प्रेम नै भएर होला कुनै पर्खाल भएन। लामो समयसंम हामीले पर्खाल बिहिन जीवन रमाइलो मानेर बितायौं । हाम्रा परिस्थिति फरक थिए तर एउटै बनेर दुवैको परिस्थितिमा भरिने र रित्तिने सिलसिला चलिइ रयौं । के यो नै हैन र प्रेमको सौन्दर्य।

सम्झनाको आखिझ्यालबाट हामीले गाएका गीत हामीले लेखेका कविताका सर्ग हामीले अनुभव गरेका दुखसुख हामीले हिडेका बाटो प्रेमको सुन्दर पिरामिड जस्तै थियो सायद। फरक जीवनको याचना हामीमा कहिल्यै गर्ने कामना भएन। र त जस्तै अभावमा पनि  तिमीलाई बिरानो बनाउन सकिन। जुन समयको गर्तमा भरिएर हृदयमा छचल्किदा परेली भिझेर बग्छ । तर त्यो पानीमा पनि तिम्रो प्रेम नै मग्मगाउँछ।

प्रेमको अनुभूति नहुनु हो भने त मान्छेहरू भिडमा एकलिए झैँ म पनि हरक्षण उदासीन एक्लो एक्लो हुन्थेँ होला। आड र भरोसाको उचाइमा निश्छल भावले पुर्‍याउन  कसले सक्छ र ? अह कथा नाटकमा जस्तो आवेगमा जीवन बगाउन सजिलो छैन्। विश्वासको यान्त्रिक पुल बनेर जीवनपथमा साथ दिने सर्वोच्च आस्था हुन्छ प्रेमको शाश्वतता। त्यही शाश्वतता भित्र आफूलाई भेटने खोजको सिलसिला प्रेम भयो सायद। मैले म भित्रको मलाई आविष्कार तिम्रो रहर र वलले गरे । मेरो जीवनको लयमा अर्थ भेटे  र आफूमा उज्यालो खोज्ने  ध्याउन्नमा लागे तिम्रै लागि ठानेर तर मेरा लागि तिमी हार्दै गएको पत्तै पाइन । अन्ततः तिमीले हारेउ की मैले जिते थाहा छैन तर तिम्रो प्रेरणा म कसरी भुल्न सक्छु र ? । फरक अस्तित्वको आकाश बनाएर प्रेमको अनुभूत गर्नु भनेको दर्शन हो या तपस्या ? थाहा नपाएर प्रेम पढिरहे। तर जति पढे पनि सार बिनाको प्रेमको के अस्तित्व र ?
अनाम सौन्दर्यको झन्कार प्रेम बिनासर्त म बनाउन अनेक यत्न गरेर उत्साहको पखेटा टासिदियो। मेरो प्रेरणा पूञ्ज सिङ्गो आकाश बनेर हरपल साथ दिदै मुस्कुराई रहयौ र मलाई पनि मुस्कुराउँने बनायौ । लाग्दछ  तिमी नहुनु हो त म म हुन्नथे तिमी भएरनै ममा म भएको आभासमा अलौकिक सुखभोग गरिरहेछु।

प्रेमको भाषा प्रेमको भाका प्रेमको अर्थ तिम्रा आँखाबाट नै कण्ठ पारे । तिम्रो साथमा शक्ति संचय गरेर जीवन उर्जाशील बनाए सायद। यदि तिमी नहुनु हो त यो सम्भव हुन्थ्यो होला भन त।

यो जीबन जीउनुको सारतामा पनि यसबेला तिमीलाई भित्र कतै लुकाएर संवेदनामा बगिरहेछु। कति ठाउँमा क्रम भङ्ग भए पनि मलाई ब्यूझाउने धङधङिले उचालिरहेको पाउछु।

तिमी आफ्ना अभिमानका अंकुसहरू भत्काएर निश्छल भावमा रमाउँथ्यौ। समयकै कुरा हो तर मेरो लागी तिमी बारम्बार बदल्नु परेका तितो यथार्थमा अहिले चुलिएकी छु तिम्रै यादमा। हामी साँच्चिकै प्रेमको सौन्दर्य वोध गरेर रमाएका रहेछौं ती दिनहरूमा चाहे प्रिष्ठभूमी जुनसुकै रंगको किन नहोस।

प्रेमको रंग मिसिएको गीत बजिरहेको छ। सुनेर मुटु कम्पित भइरहेछ।

म दूर भएर के भो
म अभिशाप छाएर के भो
यति रोए जिन्दगीमा
कि फेरि रोएर के भो।
………………………….
तिम्रो हात छुटेर के भो
नयाँ हात पाएर के भो
यति खोज्छु सम्झनालाई
कि बिर्सि सकेर के भो
………………………..
म दूर भएर के भो

अम्बर गुरुङका प्रेमिल आवाज र सङ्गीतको तरङ्गमा आफूलाई बिर्सिदै हराएँछु । हो, साँच्चै हराएँ अनि बिस्तारै भेतिएँ झन प्रेममा दबदबाउदै । हो, आज पनि म रोइरहेछु, तर यो रूवाई मौन छ र भित्रभित्रै प्रेममा मीठो राग भरेर उमङ्ग फुलाइरहेछु।

किन आज प्रेमका यति मीठा-मीठा गीतहरू बजिरहेछन् ? कतै आज प्रेमदिवस त होइन ? प्रेममा अधुरो-अपुरो हुनेका लागि होला प्रेमदिवस त ! मलाई त सधैं प्रेमदिवसको आभास दिने तिम्रो सम्झना नै काफी छ।

जब प्रेम नबुझेर म बरफ जम्दै प्रेमको पिरामिड हुन्थेँ तब जीवनमा अनेकन तगारो पार गराउन उद्देलित तिम्रो प्रेमिल अनुनयविनयका  पदचापहरू। जब प्रेम केही बुझ्दै गएँ, तब तिम्रो सम्झनामा पग्लदै पानी पानी भइरहेकी छु। जसले मलाई रोमाञ्चित गराइरहेछ।

अँध्यारो पन्छाएर पुरै  उज्यालो रोसनी छर्ने प्रकाशनको अन्देखी यन्त्र तिमी नै हौ जस्तो लाग्छ, किन मलाई ?  मौन प्रेमालाप गर्ने स्निग्धताका प्रतिक चेतनाको सारत्व । मेरा यात्राका अभिछिन्न यात्री। तिम्रो प्रेमलाई बिर्सिएर म आफूलाई सम्झनु व्यर्थ हुँदैछु, यो समयको तारतम्यसँगै । हो, अहिले लाग्छ तिमीलाई अलिकति भए पनि खुशी दिन सकूँ, जुन यसबेला मसँग छ ।

तिमीलाई उचाइको शिखरमा आरोहण गराउने मेरो अभिष्ट जाग्दो छ। तर शब्दमा मात्र सीमित अर्थमा सम्भव  पाइरहेकी छैन् । तिम्रो याद मैले आफूभित्र भित्रै सिन्चेर राखेको सदियौं पछि तिमीलाई सुनाउन यसबेला अधिर छु। मलाई किन यो सदिच्छा जाग्यो अचानक, तिम्रो समिपमा बसेर अलिकति प्रेमका र धेरै जीवनका कुरा गर्ने ।

हुन त  तिमीसँगको प्रेमलापको संवाद नभेटे पनि चुपचाप गरेर नै पूर्ण भएको आयमले भरिएकी हुन्छु । तर पनि अनाम सौन्दर्यको स्पर्शको लालित्यमा तिमीसँग रमाउने चाहना एकतमासले भइरहेछ। हामी भेट्न अवरोधका तगाराहरू छैनन् । भेटने सम्भावनाका थुप्रै मार्गहरू त हामीले बनाएकै छौं। अहं, असम्भव छँदैछैन । तर भेट्नुको चैचै पनि सम्झनाको तृप्तिले पूरा भएर रहेन जस्तो लाग्छ।

तिमीलाई सम्बोधन गर्न नपाएर प्रेमिल धुनहरू छरपस्ट भए झैँ लाग्दै छ । कतिकति शब्दका असरल्ल श्रोतहरू छन् । तर प्रेमको अर्को कुन नाम सुन्दर हुन्छ होला र ? त्यसैले म यसबेला प्रेमको नाममा प्रेमभन्दा पृथक शब्द खोजिरहेछु। थाहा छैन, मैले खोजेको पृथक शब्द कुन रूपमा कसरी अवतरण हुने हो वा होइन ? हेरौं।

प्रतिक्रिया
Loading...