अमेरिकाको भर्जिनियामा धेरै वर्ष बसेको मान्छे कसरी जाडो मौसममा विस्कनसिन राज्यको म्याडिसन सहरमा जाने, त्यो पनि मध्य डिसेम्बरको महिनामा, धेरै पटक सोच्नु परेको थियो । म बसेको राज्यमा त्यति धेरै हिउँ पर्दैन । एक वा दुई इञ्च हिउँ परे पनि स्कुल, कलेज, अनि कार्यालय पनि बिदा हुने ठाउँ । तर म्याडिसन सहर जहाँ सात आठ इञ्च हिउँ परे पनि स्कुल कार्यालय बन्दै हुँदैन । सबै यथावत चलिरहेकै हुन्छ ।

BASANT SHRESTHA

वसन्त श्रेष्ठ

त्यसैले म्याडीसनका मित्रहरुले साहित्यिक कार्यक्रममा निम्ता गरे पनि दुई पटक सोचेर अनि घर सल्लाह गरेर मात्र निर्णय दिनु परेको थियो ।
म्याडिसन सहरमा एउटा नेपाली सामाजिक संस्था छ र त्यसले हरेक वर्ष वरिष्ठ साहित्यकार स्व. विजय मल्लको नाममा एउटा साहित्यिक पुरस्कार वितरण गरिन्छ भन्ने सुनेको । तर के कस्तो कार्यक्रम हुन्छ र के विधामा पुरस्कार वितरण गर्ने गरिन्छ विस्तृत रुपमा मलाई थाहा थिएन ।

“नाफा- साहित्यिक साँझ २०२२” को कार्यक्रम डिसेम्बर महिनाको दश तारेख भएको कारणले हामी आठ तारेखको दिन जाने निर्णय गर्यौं । आठ तारेखको दिनको एक बजे म्याडिसन सहर पुगिन्छ त्यसैले त्यस दिन घरमै बसिएला । नौ तारेखको दिन कार्यक्रम सम्बन्धि छलफल र आयोजकहरुसँग सामान्य भेटघाट गर्ने । दश तारेखको दिन कार्यक्रमकै चपेटा र व्यस्त भइ नै हालिन्छ । एघार तारेखको दिन भर्जिनिया फर्कने हो भन्ने मैले सामान्य आफ्नो भ्रमण तालिका बनाएको थिएँ । तर मेरो मनको तालिकाले पुरै उल्टा खायो । पुरै तीन दिन बिहानदेखि बेलुकासम्मको म्याडिसन शहरको घुमघामदेखि आयोजक मित्रहरुसँग भेटघाटमा पुरै व्यस्त भइयो ।

डिसेम्बर महिनाको आठ तारेख बिहीबारको दिन करिब तीन बजे म्याडिसन विमानस्थलमा उत्रेका थियौँ । शिकागोमा करिव दुई घण्टा विमान उड्न ढिला भएको कारणले तीन बजे मात्र पुग्न सकियो । बिमान दुई घण्टा ढिला उड्ने भएको कारणले हामीले त शिकागो ओ’हारे विमानस्थलमा नै दिवा भोजन लिएका थियौँ । तर विमानस्थलमा लिन आउनु हुने मित्रहरुको दिवा भोजन नै नगरी हामीलाई पर्खिरहनु भएको रहेछ ।

विमानस्थलमा साहित्यकार दम्पति मेरा पुरानो मित्र राजेन्द्र अर्याल र सिता अर्याल, कवि दिनार रनादी, कवि आविष्कार भारती र पुरानो मित्र एकबहादुर क्षेत्रीसँग हार्दिक भेटघाट भो । राजेन्द्र अर्याल साहित्यकारको नाममा चिर परिचित भए पनि मेरो ४५ वर्ष अघि अर्थात् वि.सं. २०३३ सालमा जन प्रशासन क्याम्पसको स्नातक तहको मेरो सहपाठी भएको कुरा एक दिनअघि मात्र टेलिफोन वार्ताबाट पत्ता लागेको थियो । त्यसैले भेट्न हामी दुवै आतुर नै थियौँ । एकबहादुर क्षेत्री, म एएनए संस्थासँग सम्बन्धित नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको अध्यक्ष हुँदा विभिन्न विषयमा सहकार्य गरेको सम्झना थियो । सशरीर भेटघाट नभए तापनि दिनार र आविष्कारसँग कार्यक्रमको बारेमा टेलिफोन वार्ताबाट बाक्लै सम्पर्क भएर आत्मीयता गाँसिसकेका थियौँ ।

दिनार रनादिले विमानस्थलबाट घरतर्फ लाग्ने बाटोमै पारेर म्याडिसन सहरको क्यापिटल भवन भ्रमणको लागि गाडी मोड्नु भो । क्यापिटल भवन म्याडिसन राज्यको सम्पूर्ण सरकारी कार्यालय रहेको गुम्बज आकारको सुन्दर र भव्य भवन क्रिसमसको रुख र सुन्दर सिंगार पटारले गर्दा पहिलो तल्ला भव्य देखिन्थ्यो । चार वटा विङ्ग भएको सो भवनको माथिल्लो तल्लामा अब्जरभेसन डेक जानको लागि एउटा मात्र एलिभेटर भएकोले त्यसको लागि पुरै एक फन्को लाएपछि मात्र एलिभेटर भेटियो । वाह ! राम्रो सुन्दर सहर । क्यापिटल भवनको अब्जरभेसन डेकबाट म्याडिसन सहरको सुन्दरता मज्जाले देखिने रहेछ । दुइटा तालले सहरको सुन्दरतामा निखार ल्याएको रहेछ । दिनार र नादी लगभग तिन दशकदेखि त्यस सहरमा बस्नु भएको कारणले त्यहाँको भौगोलिक सुन्दरता र म्याडिसन सहरको बिस्तृत अबस्थाको बारेमा बुझ्न हामीलाई धेरै सजिलो भयो । चिसो धेरै भएको कारणले मन हुँदाहुँदै पनि धेरैबेर माथि बस्न नसकी तल झरिहालियो ।

===

पुगेकै बेलुका “नाफा पुस्तकालय” र आविष्कार भारतीले चलाएको साहित्यिक वेब पेज ”नेपाली साहित्य भकारी” हेर्न र साहित्यिक वेब पेज बारेमा बुझ्नको लागि कवि आविष्कार भारतीको निवासमा पुग्यौँ ।

म्याडिसन सहरमा धेरै पुरानो र एक मात्र नेपाली सामाजिक संस्था “नेपाल अमेरिकी मैत्री संघ (नाफा)” रहेछ । कृष्ण सिजापति संस्थापक अध्यक्ष भएर सो संस्थाको करिब सत्र वर्ष अघि स्थापना भएको रहेछ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बर्धनको लागि गठन भएको सो संस्थाले नेपाली भाषा र संस्कृतिका विभिन्न कार्यक्रमहरु गरेर नेपाली एकताको प्रदर्शन विगत दुई दशकदेखि गर्दै आएको छ । नेपाली भाषा साहित्यको प्रवर्धन र नेपाली साहित्यको पठन संस्कृतिको विकासको लागि “नाफा- पुस्तकालय” स्थापना भएको रहेछ ।

सो पुस्तकालय कवि दिनार रनादी र कवि आविष्कार भारतीको आवासमा अवस्थित र सञ्चालनमा रहेको रहेछ । कसैले कुनै पुस्तक पढ्न चाहेमा एक फोन कल मात्र गरे पनि घरमै पुर्याइने गर्नु भएको रहेछ, यी जाँगरिला मित्रहरुले । यस संस्थाले नेपाली भाषा र साहित्यको विकासको लागि सन् २०१५ साल देखि “नाफा-विजय मल्ल कविता पुरस्कार” को स्थापना गरेको रहेछ । प्रत्येक तीनतीन महिनामा कोठे कविता गोष्ठी निरन्तर चलिरहेकै रहेछ । साना साना बाल बालिकाको लागि नेपाली भाषा कक्षा सञ्चालन भइरहेको रहेछ ।

डिसेम्बर ९ तारेखको दिन बिहान पाँच बजेदेखि नै हिउँ पर्न सुरु भयो । हिउँ बाक्लै थियो । करिब छ इञ्च जति परेको हुनु पर्छ । तर स्कुल कलेज, कार्यालय सबै यथावत चलिरहेकै थियो । हिउँले बाटो पुरै ढाकेको थियो तर सबै बाहन चल्दै नै थियो । भर्जिनिया राज्य जहाँ म बस्छु, एक इञ्च हिउँ परे पनि सबै बन्द हुन्छन् । सोचेको थिएँ यत्रो हिउँ परेको कारण आज दिनभर घरमै बसिन्छ होला । तर कहाँ त्यस्तो हुनु कार्यक्रम बन्यो इपिक सिस्टम (Epic system) गाउँ घुम्न जाने । सन् १९७९ मा सानो घरको भुइँ तल्लामा सुरु गरेको यो सफ्टवयर कम्पनीले आज मेडिकल क्षेत्रमा विभिन्न सफ्टवयरको विकास गरेर संसारमा एक नामी अनि प्रख्यात सफ्टवयर कम्पनिमा आफूलाई दर्ता गरेको छ । विशाल क्षेत्र ओगटेर आफ्नै एउटा साम्राज्य खडा गरेको रहेछ यो कम्पनीले । दिनार रनादीले पुर्याइदिनुभो अनि आविष्कार भारती र भरत दवाका साथ बाहिर हिउँको चिसो भए पनि भित्रको न्यानो र मनग्गे रमाइलोका साथ इपिक सिस्टम घुम्न पाइयो ।

त्यही दिन साँझमा भेटघाट र स्वागतको कार्यक्रम कवि दिनारजीले आफ्नो निवासमा राख्नु भएको कार्यक्रममा “साहित्यिक साँझ” कार्यक्रमका उत्साही, जाँगरिला अनि जोसिला आयोजकहरुसँग भेटघाट र भलाकुसारी गरियो । धेरै नाम सुनेका तर नभेटेका साहित्यिक मित्रहरु । कति स्थानीय नेपाली संस्थामा दिलो ज्यान दिएर लागि पर्नु हुने मित्रहरु । “नाफा – विजयमल्ल पुरस्कार” का प्रायोजक बन्दना मल्ल, गीतकार तथा नेपाली पाठशालाका शिक्षक अञ्जु धाख्वा अनि त्यस्तै नाफा अध्यक्ष अबिमन पसक्षें, कार्यक्रम संयोजक पर्बत रेग्मी पनि यहीँ भेटघाट र स्वागत कार्यक्रममा भेटिए ।

डिसेम्बर दश तारेख दिनको दुई बजेदेखि स्थानीय सामुदायिक भवनमा एउटा भव्य र सभ्य अनि मनोरञ्जन पूर्ण विविध कार्यक्रम सम्पन्न भयो । करिब चार घण्टा अनवरत चलेको सो साहित्यिक कार्यक्रममा साना साना भाइ बहिनीका नेपाली कविता वाचन, बयस्क कविता प्रतियोगिता, नेपाली पाठशाला विद्यार्थीका सामूहिक नेपाली गीत आदि आकर्षणका कार्यक्रम थिए । करिब एक सय बीस जतिको सहभागितामा सम्पन्न सो कार्यक्रम अति नै रमाइलो र भव्य थियो भन्दा फरक पर्दैन ।

यस कार्यक्रमका आयोजक र यस क्षेत्रका एक मात्र नेपाली संस्था “नेपाली अमेरिकन मैत्री संघ (नाफा”) को सन् २००५ सालमा स्थापना भएको रहेछ । यस संस्थाले वार्षिक विभिन्न नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कार्यक्रम गर्ने गरेका छन् । तीमध्ये विशेष रुपमा नेपाली नयाँ बर्ष, देउसी भैली, नाफा साहित्य – साँझ, नाफा बाल दिवस आदि नै विशेष कार्यक्रम रहेछन् ।

यसै संस्थाअन्तर्गत नै सञ्चालनमा रहेको नाफा लाइब्रेरीमा हाल नेपाली पुस्तक ११३७ र अंग्रेजी पुस्तक १०९ रहेको थाहा भयो । सो पुस्तकालयले पुस्तक घरमै पुर्याइदिने र लिन पनि आउने व्यवस्था गरेका रहेछन् । पूर्ण स्वयंसेवाको रुपमा नेपाली भाषीहरुलाई नेपाली भाषाका पुस्तकको पठन संस्कृति विकास होस् भन्ने अभिप्रायले यस प्रकारको सेवा उपलब्ध गराएको कुरा कवि द्वय रनादी र भारतीले निसंकोच गर्वका साथ भन्ने गर्छन् ।

हरेक आइतबारका दिन सञ्चालन हुने नेपाली भाषाको स्कुल पाठशाला सन् २००९ सालमा अर्चना धाख्वाको सक्रियतामा सुरु भएको रहेछ । विभिन्न कारणबस केही वर्ष स्थगन भएको कक्षा सञ्चालन सन् २०१२ देखि पुनर्जागरण भएको रहेछ । हाल २८ विद्यार्थी संख्या रहेको सो पाठशाला पूर्णरुपले स्वयं सेवाको रुपमा सञ्चालन भइरहेको छ । यस पाठशालाले विद्यार्थीलाई सिर्फ नेपाली भाषा मात्र होइन नेपाली कविता लेख्न, नेपाली नृत्य -नाच र नेपाली र नेपाली गीत गाउने प्रशिक्षण दिइने पनि गरिँदो रहेछ ।

प्रत्येक तीनतीन महिनामा कोठे कविता गोष्ठी सञ्चालन गरी स्थानीय नेपाली कवि तथा साहित्यकारहरु नेपाली भाषा र साहित्यका विविध पक्षमा विचार विमर्श र कविता वाचन गर्नमा निरन्तरता दिइरहेका छन् । यस कोठे कविता गोष्ठीको सक्रियता र नाफा संस्थाको सहयोगमा “अपराध सुधार अन्तर्राष्ट्रिय कविता सङ्ग्रह” भर्खरै प्रकाशित गरेको छ । नाफाको १६ औं साहित्य साँझमा अन्य विशिष्ट व्यक्तिहरुका साथै मैले पनि सो पुस्तकको विमोचन गर्ने अवसर प्राप्त गरेँ । साथै सो पुस्तकमाथि संक्षिप्त रुपमा आफ्नो समालोचकीय धारणा पनि प्रस्तुत गर्ने मौका मिलेको थियो ।

नाफाले गरेका यी उदाहरणीय कार्यक्रममार्फत नेपाली भाषीलाई आफ्नो संस्कृति र पहिचानको लागि गरिएका यी कार्यक्रमको अभिलेख तयार गरी दस्ताबेजको रुपमा सुरक्षित गर्नु पर्ने आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ । त्यसको लागि नाफाले प्रत्येक वर्ष एउटा नाफा स्मारिका प्रकाशित गर्न सफल होस् भन्ने मेरो कामना र अनुरोध पनि छ ।

===

म्याडिसन सहरको यस एतिहासिक “नाफा – साहित्यिक साँझ” कार्यक्रमले मलाई बाइस वर्षअघिको “ छिमेकी गाउँ” को सम्झना दिलायो । सन् २००० सालमा म बोस्टन राज्यबाट भर्जिनिया राज्यमा सरेको थिएँ । बासस्थानको खोजीको सिलसिलामा भर्जिनिया राज्यको आर्लिंगटन सहरको ड्यानियल स्ट्रिट स्थित भवनमा अपार्टमेन्ट लिएर बसेको थिएँ । त्यहाँ करिब बीस वटा जति अपार्टमेन्ट भवनहरु थिए । सो कम्प्लेक्सका करिब दशवटा भवनमा सोह्रवटा अपार्टमेन्टमा नेपालीहरुको बसोबास रहेको थियो । एउटा कम्प्लेक्समा करिब करिब सय जना जति नेपालीहरु बसोबास गरेको त्यस कम्प्लेक्समा सबैजना सबैसँग भेटघाट र चिनापर्ची पनि भएको रहेनछ । एक पुरानो मित्र मार्फत त्यस कम्प्लेक्समा बस्न गएको थिएँ । तर धेरै दिनसम्म पनि एक दुई बाहेक अधिकांश अरु नेपालीहरुसँग भेटघाट र चिनापर्ची हुने सकेन । कारण थियो सबैको व्यस्तता । कथंकदाचित बाटोमा भेटियो भने पनि नेपाली हो कि होइन भनेर अन्यौलमै कुरा गर्ने अवसर मिल्दैन थियो ।

धेरै दिन त्यस्तो भएपछि हामी दुई-चार जनाले एउटा भेटघाट र चिनापर्चीको लागि पटलक कार्यकम गर्ने निर्णय गर्यौं । त्यसपछि सबैको भावना र विचारअनुसार हाम्रो आफ्नै गाउँ आफ्नै ठाउँ नेपालकै झझल्को लाग्ने “छिमेकी गाउँ” नामबाट एउटा विशुद्ध सामाजिक संस्था स्थापना गर्ने निर्णय गर्यौं । त्यसपछि अनवरत करिब आठ वर्षसम्म “छिमेकी गाउँ” ले नेपाली भाषा साहित्य, कला र संस्कृतिको संरक्षण सम्बर्धन र विकासको लागि नेपाली सांस्कृतिक परम्परा नेपाली नयाँवर्ष, दशैं, तिहार साँस्कृतिक मनोरञ्जन कार्यक्रम गर्दै आफ्नो पहिचानको लागि विभिन्न कार्यक्रम गर्यो । सन् २००८ पछि एपार्टमेन्टमा बस्ने नेपाली मित्रहरु आफ्नो घर खरिद गर्दै अन्य सहरमा बस्दै जान थालेपछि यो “छिमेकी गाउँ” भन्ने संस्थाले पनि भारी बिसायो ।

कार्यक्रमपश्चात् सबैसँग बिदावारी भई बासस्थान फर्कियौँ । भोलि पल्ट सबेरै बिहानको पाँच बजे विमानस्थल पुग्नु थियो । घर पुगेर जाने तयारी गर्नु थियो । तर हामी घर पुग्नु एकछिन पछि नै कार्यक्रमका अधिकांश आयोजक मित्रहरु आइपुग्नु भो । सोचे थेँ धेरै दिनदेखि कार्यक्रमको दौरान व्यस्त भएपछि सबै ढुक्कका साथ आफ्नै घरमा आराम गर्न गए होलान् । तर मित्रहरु त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको खुसीमा मनोरञ्जन गर्न र बिदावारी पनि गर्ने हिसाबमा आएका रहेछन् । तसर्थ सबै जना मनोरञ्जन पूर्ण खेल “झ्याप” खेल्दै रमाइलो गर्नतिर लागियो ।

डिसेम्बर एघार तारेखका दिन विगतका आफ्ना छिमेकी गाउँको स्मरणको ताजा गर्दै मित्रहरुलाई मनमा राखेर फेरि भेट्ने आशा गर्दै विमानस्थलतिर लाग्यौँ । आफ्नो तीन दिनको व्यस्त अति रमाइलो र थुप्रै जानकारी प्राप्त गर्दै धेरै सहृदय व्यक्तिहरुसँगको आत्मियता साट्दै आफ्नै सहर भर्जिनिया फर्किएर आयौँ !

अस्तु ।