जिन्दगी न मैले सोचेजस्तो भयो , जिन्दगी न उनीहरुले चाहेको जस्तो भयो । एउटा सपना थियो आँखाभरि, तर हररात तप्किने आँसुले पखाले सपनाका किनाराहरुलाई र रित्तिए सारा अठोट र अभ्यर्थनाहरु मेरा । जिन्दगी एउटा आशा रहेछ अल्झिरहने अनि आफ्नै आँखामा पीडाका गीत भएर तप्किरहने।
आशाका पत्रहरुमा टल्किनु अनि सूर्य उदयपूर्व हावाको झोक्काले छोइदिएपछि खस्नु यही हो नियति जिन्दगीको । मेरा हर प्रहर रुन्छन् यहाँ । धरतीको यो रुन्झनलाई शीत बोकेर उड्ने बिहानको बादललाई सोध्नुपर्छ म के हुँ ? म के थिएँ ? र अहिले कस्तो भएँ ?”
रोग अलिकति निको भएको रात उनी बोलिरहेका हुन्छन् । बोल्ने साथीसँगै भैदियो भने दाइले के के बोल्छन् सीमा हुन्न । तर जे बोल्छन् शाश्वत बोल्छन् । उनको बोलाइमा कहिले बुद्ध बोल्छन् त कहिले कार्लमाक्स । कहिले मोजार्ट त कहिले बिथोमिन । सबै सबै थाहा छ दाइलाई ।
हाम्रो हरेक भेटमा उनी प्रायः मलाई गुनासो सुनाउँथे। यस्तो लाग्छ कि मैले गुनासो मात्रै सुनिदिँदा पनि उनको आधा रोग,आधा समस्या,आधा अभाव, आधा पीडा, आधा दुःख कम हुन्छन् । म नै एकमात्र उनको घनिष्ट साथी त हुँ । मलाई नसुनाए कसलाई पो सुनाउनु बिचरा । उनका गन्थन मैले पनि नसुनिदिए उनी पागल हुन बेर लाउँदैनन् । उनको गन्थन जिन्दगीको । उनको गन्थन अभावको । उनको गन्थन, रोग र भोकको। उनको गन्थन कहिले निकै नहुने थरीथरीका राजनीतिक दुर्गन्ध र समस्याहरुको ।
उनी कलाकार हुन् तर गीतको माहोल उनले भनेजस्तो कहिले भएन । उनले सोचेजस्तो गीत लेखिएन । उनले चाहेको जस्तो धुन बनेन । उनले देखे भोगेजस्तो अभावहरुका कथाहरु गीतमा आएनन् रे ! जिन्दगीका सपनाहरू मात्रै अनमोल हुन्, बिपना र यथार्थ त समस्याग्रस्त र दुखै दुखले भरिएका छन् । निद्रा मात्रै सुख हो । ब्युँझिएपछिको पीडा त सहनै नसक्ने काँडा बनेर घोचिरहन्छ छातीमा । व्याथाका सुइराहरु यति तिखा हुन्छन् कि कतिबेला कहाँ प्वाल पर्ने हो निश्चित नै हुँदैन ।
कैदीलाई पुलिसले पिटेको समाचार आउँथ्याे अनलाइन खबरहरुमा । प्रहरीले जबर्जस्ती अपराध स्वीकार गर्न लगाउने हर्कत देख्दा उनी भित्रभित्रै दुखी हुन्थे, रुन्थे। सुशासनको सपनाहरू आँखाभरि पाल्ने एउटा राष्ट्रप्रेमी थिए उनी ।
हिरोनीहरुको पेटीकोट पखालेको न्युज बन्छ आजकल, हिरोनीहरुको सेता साप्रा छपाएर पत्रिकामार्फत सस्तो लोकप्रियता कमाउन खोज्ने आधुनिक पत्रकार अनि नारीको घिनलाग्दो शैली देखेर उनी दिक्क हुन्थे । थुक्छन् पित पत्रकारितालाई आजकल ।
न उनी पुरानो विचारका हुन् न पूर्ण नवीन विचारका । मान्छे प्रगतिशील थिए । उनले आफ्नो देशको अतीत देखेका थिए । उनले आफ्नो देशको त्यो बेलाको संस्कार देखेका थिए ।
त्यसलाई पुरानो भनेर कुल्चने अल्लारे केटाहरु देखेर उनी मुर्मिरिन्थे र भन्थे – “मनु भाइ, वेद वेदान्तलाई कहिले पुरानो भन्न मिल्छ ? गीता कहिले पुरानो हुन्छ ? पुराण जति सबै बेकार भए बुढा भैसकेका बाबुआमालाई पनि फ्याँके भैगो नि होइन त ? देश पनि त पुरानो हो नि किन माया लाग्छ त यति साह्रो ? लुगा पो नयाँ नयाँ होला, लुगाले छोपेको यो शरीर त पुरानै हो नि होइन र ? लुगा राम्रो, शरीर थोत्रो हो त ? खोइ किन पो हो मलाई पुरानै गीत मनपर्छ । पुरानै भाका मनपर्छ । पुरानै मान्छे मनपर्छ । ”
उनी ओछ्यान परेको पाँच वर्ष भयो । मैले सोधेँ एकदिन, ” दाइ रोग पनि पुरानै मन पर्छ हो ?”
उनले हो भने । फेरि मैले भनेँ किन दाइ ?
उनले चित्तबुझ्दो जवाफ दिए – “पुरानो रोगलाई ओखतीले चिनिसक्यो नि । फेरि योमाथि नयाँ रोग थपियो भने ओखतीले चिन्दैन । ओखतीले नचिनेका रोगहरु पालेर कति बाँच्ने, त्यो भन्दा बरु पुरानै रोग ठिक ।” ओखतीले नचिनेको रोग र भाग्यले नचिनेको मान्छे उस्तै अभागी हुन् ।
गीत गाउन नसक्ने भइसकेका थिए उनी । नेपाली लोक गीतमा उनको प्रखर योगदान थियो । हम्मेसी भुल्दैनन् जनताले उनको गीत । अहिलेसम्म उनले गाएका नेपाली माटोको गीत चलेको छ । बेला बेलामा उनकै स्वरहरु पैँचो लिएर गाउँछ यहाँका खोल्सा खहरेहरुले। हाम्रो देशमा लोक गायकको कहिले महत्त्व देखेन सरकारले । उनीहरू आफ्नै बलबुताले उभिएका छन् ।
उनले मानिसको हृदयले सुन्ने गीत गाए । नेपाली गीत गाए । नेपालको गीत गाए । नेपाली स्वरले गाए । नेपाली भाकाले गाए।
अहिलेका कलाकारहरुले सुन्ने होइन नितम्ब हल्लाउने र डिस्कोमा गएर हेर्ने गीत गाउँछन् । अहिलेका नयाँ मान्छेहरु पैसाको लागि गाउँछन् । अहिलेको गीतमा व्यापार छ। अहिलेका गायक, गायक होइनन्, स्वरका व्यापारी हुन् । उनले घाँस काट्नेहरुको गीत गाए । उनले दुखीहरुको गीत गाए । धेरै दुःखीहरुको सङ्गत गरी र दुःखै फुर्यो ती ओठहरुबाट पनि । मानिसहरू जस्तो भोग्छन् त्यस्तै त हुन्छन् नि । भोगाइ नै त रहेछ नि जीवनको सार र शिक्षा पनि । दुःखीहरुको आँसु भएर छल्किन्थे कहिले उनी । दुःखीहरुको घाउमा मह्लम भएर भरिन्थे कहिले उनी।
गाउनेलाई गाइने किरा सम्झिने हाम्रो देशमा हिमाल भएर टल्किन्थे कहिले उनी । बेलाबेलामा भन्थे ” मनु भाइ, मैले जुन बर्गको लागि गीत गाए उनीहरूकै गीत गाए । हामीले उनीहरूको आवाजलाई गाइदिने हो । उनीहरूकै स्वरलाई गाउनुपर्छ। असंख्य दबिएर रहेका जीवन्त पुकारहरु छन यहाँको माटोमा । हामी असल कलाकारले महलको होइन भाइ भुइँको पो गीत गाउनु पर्छ । महल र महफिल गाउनेहरुलाइ जनताको गीत के थाहा ।”
हरेक भेटमा दाइको आवाज बिस्तारै बिस्तारै मिहिन हुँदै गएको मलाई महसुस हुन्थ्यो। यतिबेला मैले दाइको बारेमा लेखिनँ भने मलाई पाप लाग्छ । अन्याय हुन्छ। आज लेखिएका कुराहरू भोलि इतिहास बन्छन् । इतिहास पनि एउटा जीवन्त दस्तावेज हो जसबाट एउटा युगको बिम्ब त्यसैमा आरोहित हुन्छ ।
जिन्दगीभर जनताको गीत गाउने दाइ ओछ्यान परेको पनि यतिका वर्ष भो । न त राज्यले सोधपुछ गर्यो । न ठाउँले नै सोध्यो । न गाउँलेले सोध्यो न नाउँले सोध्यो । दाइलाई केवल भोक रोग र शोकले सोधे । रोग दाइसँगसँगै बाँच्यो। केवल दुर भए दाइसँगका दाइका खुसीहरु। केवल नजिकै रहे दाइसँगका दाइका भोकहरु । दाइका ओठका उभारहरुबाट जिन्दगी सकिँदै छ भन्ने सोच्थे । एउटा हिम्मत पहाड भएर उभिएको थियो दाइको अगाडि । तर ! कति झेलुन् दुःखका बर्कानहरुलाई ।
“नेपालमा कवि कलाकार भएर बाँच्नु सारै गाह्रो छ मनु भाइ, खै तिमी पनि कति लेख्छौ । ” भन्थे मलाई ।
मैले भन्थेँ, “अनि मैले लेखिनँ भने तपाईंभित्रको यो ऊर्जाको बोट झनै ओइलाएर मर्छ ।” म भन्ने गर्थेँ । दाइका दुवै मिर्गौला बेकाम थिए । प्रेसरले एउटा आँखा नराम्रोसँग हानेको थियो । बाँकी रहेको अर्को आँखा पनि रोगी भइसकेको थियो ।
मृगौला प्रत्यारोपण गरेर केही समय लम्ब्याउने सल्लाह दिन्थे आफन्त । उनको आफ्नै आमा छोरालाई मृगौला दिएर लामो आयु बाँचेको देख्न चाहन्थिन् । तर दाइ भन्ने गर्थे, आमालाई जिन्दगीभर रोगी बनाएर म सद्दे हुनुको के औचित्य छ र मनु भाइ ।” असल मान्छेहरुमा म प्रायः जीवन लिप्तता भेट्दिनँ खै किन हो।
ती दाइ भन्ने गर्थे, “जति जीवन लम्ब्याउने काम गरे पनि फगत बाँच्नकै लागि मात्र किन बाँच्ने मनु भाइ ।”
हरेक हप्ता डाएलेसिसको उपचार खर्च गर्दा गर्दा भएका जमिन बेचिए । अब बाँकी रहेका दुईचार पाटा खेतबारी छन् । श्रीमती आमा भाउजु बुहारीका गरगहना पनि सक्किए । ऋणदाताहरुले बिमारी हेरेर फर्किनुको विकल्प थिएन । छिमेकी सबैसँग सापटी लिइएको छ ।
बिमारी हेर्न आउने मान्छे देखे भने पनि उनी निरास भएर कम्मलले मुख छोपेर धेरै रुन्थे । अब म कहिले निको हुँला र तपाईंहरुको ऋण तिरुँला है भन्थे । उनको सामुन्ने बस्दै गर्दा मेरा परेलीहरु पनि रुझेका हुन्थे । ऋण दिनेहरू बिमारीको अवस्था बुझ्न भन्दा पनि पैसा उठ्ला कि भन्ने आशाले आउथे ।
दाइ आसमीको अनुहार हेरेर भन्थे, “चिन्ता नलिनुस् सावाँ ब्याज चुक्ता हुन्छ एकदिन ।” ऋण दिनेहरू बिमारी हेरेर भन्दा पनि पैसा डुब्न लागेकोमा निराश भएर फर्किन्थे । मनुष्य स्वभाव कहिले घाटामा रमाउन जान्दैन । सदैव नाफामा रमाइलो मान्छ मनुष्य ।
जिन्दगीको यो नाफा र घाटाको मैदानमा कहिले को नोक्सानमा हुन्छ त कहिले को नाफामा । सबै नाफा र नोक्सानको बहिखाता मसान घाटमा पुगेपछि मात्रै बन्द हुन्छ ।
हिजो ती गरिब थिए । दाइले तिनकै गीत गाए । आज ती धनी छन् आज तिनै धनीले दाइको मजाक उडाइरहेका छन् । यहाँ मजाक उडाउनेहरुको कुनै कमी छैन, कमी यदि छ भने माया गर्ने मानिसहरूको । जिन्दगीको यो पुलिन्दा कहिले कसको पोल्टामा कहिले कसको पोल्टामा पर्छ । जिन्दगीको यो उडानमा मौसम बिग्रेपछि कहिले कोही तल कहिले कोहीमाथि । समय त हो कहिले को बलियो कहिले को निर्धो । एउटा कलाकार उपचार नपाई थलिएर, कुहिएर ,झिगा भन्किएर ,किरा परेर मर्छ यो देशमा ।
कोही भने राज्यको धनमा मग्न मोज गरेर बाचेका छन् । साम्सद मन्त्रीहरुका दुई चार घर हुनु सामान्य हुन्छ । फेरि राज्यको ढुकुटीबाट घरभाडा तिनै असुल्छन् । अलिकति पातलो दिसा लाग्दा चाइना र सिङ्गापुर हुइकन्छन् । गरीबहरु दुई छाक खान नपाएर मरेका छन् । धनीहरू धेरै खाएर रोगाएका छन् । भ्रष्टहरुलाइ सधैं रत्यौली छ यो देशमा । तर गरिबहरुलाई सधैं शोक छ ।
राज्यसत्ता हातमा नआउन्जेल हो राजनैतिक आदर्शका, विकासका , उन्नतिका , लोकतान्त्रका , प्रजातन्त्रका , स्वतन्त्रताका, गणतन्त्रका कुरा गर्ने। जब सत्ता हातमा पर्छ हिजोका ती सबै आदर्श र लोककल्याणकारी कुराहरू रद्दीको टोकरीमा फ्याँकिन्छन् अनि सत्ताको सिनो वरिपरि घोप्टो पर्छन् सबै नेताका चरित्र देखिसकियो । राजनीतिमा आदर्शले जितेको कहिले पो छ र खै ?
कुरा गर्दै जाँदा यस्तो लाग्छ दाइको छातीभित्र एउटा गम्भीर ज्वालामुखी बिस्फोट हुन लागिरहेको छ
संविधान र कानुन मान्नुपर्ने केवल कमजोर मान्छेले मात्रै हो । बलियाहरु त कानुन च्यातेर वा कानुन हातमा लिएर वा कानुन नै निलम्बन गरेर आफ्नो पक्षमा फैसला गर्छन् । तर ! गरिबका जिन्दगीका मुद्दाहरुको भने कहिले तारिख छिनिँदैन । यस्तै छ यहाँको न्याय यहाँको व्यवस्थापन । देख्ने त माथि छन् नि मनु भाइ ! म जाबो गाइने किरा किन यति धेरै बोलेको हुँला भन्लाउ है । मुटुमा घाउनै परे पनि परोस् बोल्नुपर्छ। बोलिरहनुपर्छ । नत्र नबोल्ने र बोल्न नसक्नेहरुप्रति अन्याय हुन्छ । जतिन्जेलसम्म बाँचुला बोलेरै बाँचुला । मरेपछि को बोल्न सक्छ र नि मनु भाइ ! बोल्न सक्नेहरुको आवाज त यहाँ निभाउन खोजिन्छ भने झन् बोल्नै नसक्ने निरिहहरुको आवाज त निभेको दियोजस्तै त हो नि !
मलाई थाहा छ बाँच्नु के हो ? मलाई थाहा छ मृत्यु के हो ? मलाई थाहा छ बाचेर पनि मरिरहेका निर्जीव पत्थरहरुको दुर्दान्त कथा ।
हाम्रा स्वरहरु सुसेली बनेर गाउँ घरमा गुन्जिन्छन् भने हामी त कहिले मर्दैनौ मनु भाइ । हाम्रा भाका र स्वरसँगै नेपाली संस्कृति युग युगसम्म बाचिरहनेछ । भगवानसँग अब मेरो कुनै दुखेसो पनि छैन । जतिन्जेल बाँचे पनि जिन्दगी भनेको रहर र खुसीले पो बाच्ने हो । बाँच्ने लिप्सा त उनीहरूसग हुन्छ जो अरुको जीवन पनि लुटेर बाँचिरहेका छन् । अरुको खुसी पनि लुटेर बाँचिरहेका छन् ।”
केही दिन भो दाइको वाक्य रह्यो । उनी बोल्न छोडे । म एक्लो थिएँ दाइलाई सुनिदिने । मानौँ रुखमा बसेको एक्लो मैनाचरीले आफैँ उभिएको एक्लो रुखको हाँगालाई उसका जीवनका गीतहरु गाएर सुनाइरहे जस्तो । बनको सुनसानमा उसको गीत सुनिदिने केवल त्यही उभिएको लाटो पहाड त हुन्छ । उसको सुसेली सुनिदिने उही जङ्गलका रुखहरु त हुन्छन् नि ।
दाइका स्वतन्त्र स्वरहरुमा मुर्छित ती गीतहरु म गाउन सक्तिनँ अब । मलाई शून्य लाग्छ । दाइ चुप लाग्नु भो । दाइको बोली सुन्न म दाइको छेउमा नै बस्थेँ । दाइ भन्थे, “मनु तिमी मेरो साख्यै भाइ त होइनौ तर पनि तिम्रो र मेरो यो सानिध्यता कति नजिकको छ । रगतको नाताले होइन रहेछ मान्छे आफ्नो हुने ,मनको नाताले पो रे छ है ।”
दाइ आफैँ प्रश्न बन्थे । कहिले आफैँ उत्तर बन्थे । दाइको गला र कला अब म कहिले सुन्न पाँउछु र । दाइका ओठ तिनै हुन कुनै बेला आँसु बहाउने गीतका झन्कारहरु इन्द्रेणी भई सुसेलिएका थिए। दाइका तिनै आँखा हुन् गरिबी र भोक विरुद्ध बोल्ने । दाइका हात तिनै हुन् जो अन्यायको विरुद्धमा उठ्ने । दाइका आवाज तिनै हुन् जो आवाजहीनहरुका लागि आवाज भई घन्किने ।
एउटा शिथिलता देखे दाइभित्र आज । परमात्मामा लिन हुन लागेको एउटा अजर आत्मा देखेँ । घरमा कोही थिएनन् । म थिएँ । दाइको पुरानो र थोत्रो ओछ्यान थियो। एउटा थोत्रो दराज थियो जहाँ कम्न्युनिस्ट विचारका पुराना किताबहरु थिए । पानी पिउने एउटा सिलाबरको अम्खोरा थियो । त्यही अम्खोरामा दाइको पवित्र ओठका निशानी निसास्सिरहे जस्तो प्रतीत हुन्थ्यो ।
ध्वाँसोले भरिएको पर कुनाको एउटा खोपामा थोत्रो डायरी थियो । कुनै बेला त्यही डायरीका पानाहरुबाट गीतको इन्द्रधनु गुन्जिन्थे। सिरानमा धुलो टासिएको हारमोनियम थियो। केही समयदेखि त्यो हारमोनियम बज्न छोडेको थियो । त्यही कतै छेउमा चकमन्नता र क्रूर काल पनि निर्लज्ज भएर घुमिरहेको आभास हुन्थ्यो । शून्यता थियो । जुनेली निभ्न लागेको एउटा खुला आकाश जस्तै देखिन्थे दाइ । एउटा कलाकार । एउटा सिङ्गो सङ्लो चोखो मनुष्य । एउटा जाती पहाड जसले चिसा हिउँदहरुलाई गीत गाएर बिदाइ गरेको थियो ।
सपनाका छातीहरुमा बुटले कुल्चिएर असत्य इतिहास लेखाइनुभन्दा चोखै बाचेर मर्नु कति आनन्द छ है ! दाइले यस्तै भनिरहे जस्तो लाग्यो मलाई । मैले पनि सोचेँ दाइको निर्मलता गीतसँगै गुन्जिरहने छन् यो नेपाली माटोमा। अस्त हुन लागेको शरीर देखेर म विचलित हुन थाले । केही बेरपछि दाइका आँखाका दुवै रुमानी पल्लामा समयले सदाका लागि ढकनी लागायो, मानौँ दैवको यो नियमित रुटिङ थियो । म हठात् हडबडाएँ । म त ज्युँदो छु । आखिर ज्युँदो छँदा मात्रै त रहेछ नि दुख्ने घोच्ने पोल्ने, पीर लाग्ने पनि । दाइ अब त्यो अवस्थाबाट तनाव मुक्त हुनु भो ।
म मात्रै थिए मलामी । एउटा गायकको मलामी । जिन्दगीको एउटा नायकको मलामी । एम्बुलेन्समा हालेर लिई गए पशुपति । पछि आफन्त आए। हामी सबै मिलेर चन्दा उठायौँ । दाउराको व्यवस्था गर्यौं । असल मान्छेहरुलाई खरानी हुन दाउराको पनि अभाव हुँदोरहेछ यहाँ । चितामा सुताउनु पहिले दाइको खल्तीमा एउटा पुरानो कागज देखेँ लेखिएको थियो –
…… मनु ! म फेरि पनि यो देशमा जन्मिन पाऊँ एउटा कलाकार भएर, किनकि मलाई अझै सुन्दर पहाडहरुमा बाँचिरहेका सोझा नेपालीहरुको गीत गाउनै रहर छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।