देखिन्छ सफा आकास केही नभएको बेला । देखिँदैन आकार बादलका केही पनि ।

देखिएको बेला आकास सफा । देखिन्छन् उडिरहेका बादल ।

श्रीओम श्रेष्ठ ‘रोदन’

देखिन्छन् त्यहीँ चित्रहरु अनेकअनेक । हेरिरहे ध्यानले एकछिन ।

देखिन्छ गरेजस्तै कल्पना । बन्नसकेजस्तै सबै नै सबैजना ।

नसकेजस्तै बन्न कोही र केहीजस्तै । अमूर्त भएजस्तै चित्र ।

नदेखिएरै भएजस्तै धेरै अर्थ । मूर्त भए पनि मान्छे ।

हुँदैनन् देखिएजस्तै कहिल्यै । हो अर्थ पनि मान्छे हुनुको ।

भए पनि सम्झिरहेको छु गोविन्द गिरी प्रेरणालाई ।

उपनाम राख्नुभए पनि गोविन्द गिरीले प्रेरणा । बाँच्ने सबै जना नै हुन् प्रेरणाले । प्रेरित हुनुभएको छ प्रेरित हुनसम्म । बन्नुभएको छ त्यसैले अनेक परिचयमा । भन्नासाथ साहित्यमा गोविन्द गिरी प्रेरणा । आउँछन् धेरै परिचय र विशेषताहरु । भने पनि जसले जेजे उहाँलाई । हुनुहुन्छ आँटिलो साहित्यमा । लागेपछि काममा, छोड्नुहुन्छ सकिएपछि मात्र । जिताएको पनि हो निरन्तरताले नै उहाँलाई । होइन साहित्य मात्र हुनुहुन्छ हरेकमा नै त्यस्तै । नथाक्ने कहिल्यै सिर्जनामा । लाग्दैन थाकेको जीवनमा पनि । भइरहन सक्ने सक्रिय सधैँभरि । जहिले पनि र जेमा पनि ।

नबस्ने चुप लागेर एकछिन पनि । हिँडिरहने निरन्तर बगिरहने नदीजस्तै । भन्छन् चिन्नेहरु उहाँलाई यसरी नै । हो पनि त्यस्तै । सधैँका लागि र सबैका लागि जस्तै । नभेटेकाजस्ता छैनन् कोही साहित्यकार । नभएजस्तै कोही पनि नचिनेका साहित्यकार । छन् सम्बन्धका पनि त्यस्तै त्यस्तै कुरा । छन् संस्मरण पनि रोचक रोचक ।

भइसकेको छ साढे चारदशक सिर्जनामा अविराम । छ गति लेखनमा अहिले पनि पहिलेजस्तै । भ्याउनुहुन्छ पुग्न जहाँ पनि भनेपछि साहित्य । हो यो उदाहरण एउटा समर्पणको । हो साधना पनि साहित्यको नै ।

सक्नुहुन्छ पढ्न पनि त्यत्तिकै । छोड्नुहुन्न देशी विदेशी पाएसम्म किनेरै । सक्नुहुन्छ जुनसुकै सन्दर्भमा बोल्न र लेख्न पनि । होइन यो कुरा अहिलेको मात्र । हो सिर्जनायात्राको तीसको दशकदेखि नै ।

गर्छन् तारिफ मनमनै समकालीनहरु । गर्छन् अगाडि पनि त्यस्तै । पाउनासाथ मौका छोड्दैनन् उडाउन पनि । स्वभावभन्दा पनि प्रवृत्तिजस्तै छ स्रष्टाको । नभने पनि कसैले कसैलाई । हो ईर्ष्या नै एकप्रकारले सिर्जनशीलताको । नभए पनि केही विशेष । हुनुपर्ने आफैँ न राम्रो । सक्दैनन् गर्न प्रशंसा कोही पनि सितिमिति । हो त्यस्तै गोविन्दको हकमा पनि ।

नहोस् पनि कसरी ? शक्तिशाली छन् सिर्जनामा । लेखे पनि जुनै विधामा । सक्रिय पनि युवा जत्तिकै । गरिरहनुहुन्छ काम केही न केही । थाकेकाजस्ता भइसकेका छन् समकालीनहरु । लेख्नेहरु पनि छन् फाट्टफुट्ट मात्र । हराइसकेका छन् कति त चर्चाबाट । दोष दिन्छन् नपढ्नेहरु आँखालाई । व्यस्तता देखाउँछन् नलेख्नेहरु । नथाकेर लेखिरहन्छन् कमेन्ट भने नछोडेर मोबाइल ।

हतारमा देखिनुहुन्छ सधैँ । हुन्न बस्न एकै ठाउँमा धेरैबेर । बोक्नुहुन्थ्यो ब्रिफकेस एकताका । हल्लाएर ब्रिफकेस देखिन्थ्यो हिँडिरहेको जहिले । देखेपछि सधैँ यस्तै । गर्थे ठट्टा समकालीनहरु । राखे मिटर गोडामा ट्याक्सीको जस्तै । चढ्थ्यो होला कति रुपियाँ दिनमा ।

भएको थियो हतार त टेक्करको सिस्नेरीमा आउँदा पनि । होइन फुर्सदले पक्कै पनि । परेको थियो साइत पन्ध्र सालको । महिना पहिलै वर्षको । हप्ता पनि पहिलो नै । होला जन्मिएको नै हतारले । गरिरहनु हुन्छ हतार सधैँ । गर्नुभएको छ लेखन र प्रकाशनमा पनि । लेख्नुभएको छ धेरै विधामा । भए पनि जति नै लेखिएको । छैन फितलो कुनै पनि । हो यही नै गोविन्दपन साहित्यमा ।

लेख्यो धेरै विधामा भनेर । छन् भन्नेहरु त्यत्तिकै । भन्छन् भएन परिचायक विधा पनि । गरेपछि प्रगति हुन्छन् टिप्पणी पनि धेरै । नगरे पनि प्रगति हुन्छन् भन्ने त्यति नै । लाग्नुहुन्न पछि यस्ता कुरामा । लागियो भने पछि अलमलिन्छ जालोमा । बाँधिन्छ जञ्जिर आफ्नै कलममा । भन्छन् भन्नेहरु अरुलाई । हेर्दैनन् फर्केर कहिले आफूलाई । भएको थियो प्रकाशन पहिलो कथा नै । सङ्ग्रह पनि पहिलो कथाकै । ४ वटा त साझा प्रकाशनबाटै । प्रज्ञाप्रतिष्ठान र रत्न पुस्तकबाट समेत । भएको छ ६ वटा अहिलेसम्म । प्रारम्भको प्रकाशन पनि कथा नै । आधा दर्जन नै प्रतिष्ठित प्रकाशनबाट । नभने पनि हो कथा नै विशेष र विशेष उहाँको ।

प्रकाशन सङ्ख्याले पुगिसकेका छन् कृति २ दर्जन । छन् १० वटा त  अनुवाद र सम्पादनका मात्रै । बनिसकेको छ उस्तै उस्तै । प्रकाशित सङ्ख्या र सिर्जनाका वर्ष । कथाकृतिका ६ वटा बाहेक । ६ वटा नै छन् उपन्यासका सङ्ख्या पनि । ‘बिसर्ग’ उपन्यास हो सहलेखनको परशु प्रधानसँग । छन् कविता कृति ५ वटा । छन् ४ नियात्राका र २ निबन्धका १-१ वटा छन् हास्यव्यङ्ग्य, अन्तर्वार्ता र समालोचनाका । मुखैमा छ प्रकाशनको लघुकथासङ्ग्रह । चर्चामा छ पारिजातको विशेष ग्रन्थ पनि । हो यो ग्रन्थ गर्नुसम्म परिश्रम गरेको ।

छ त्यत्तिकै अनुभव कला क्षेत्रमा पनि । छ लेख्नुभएको नाटक । छ गर्नुभएको अभिनय र निर्देशन पनि । हो कलाकार सर्वनाम नाट्य संस्थाको पनि । चाहिएपछि आवाज नाटकलाई । जानुहुन्थ्यो नदीमा रेकर्ड गर्न बसेर रातभरि त्यतिबेला । लेखिरहनुभएको छ अहिले संस्मरण नियमित । चिनाउनुभएको छ विगतसँगै धेरैलाई । ‘दौँतरी दृष्टि’ बाट समकालीनहरु साहित्य पोस्टमा ।

अनौठो छ संयोग कथा प्रकाशनको पहिलो । हुनुहुन्थ्यो विद्यार्थी त्यतिबेला मीनभवन क्याम्पसमा । बाँकी भएको रहेछ काम धेरै नै क्याम्पसको । सकाउनका लागि लगाएको थियो काम विद्यार्थीहरुलाई । छानिएका थिए १० जना । पर्नुभएको थियो गोविन्द पनि त्यसैमा । दिएर ज्याला १६ रुपियाँ दैनिक । मिलाइदिएको थियो पढ्नलाई बिहान । लगाइएको थियो काम १२देखि ७ बजेसम्म । भयो जागिर स्थायी विश्वविद्यालयकै । हुनेगरी पेन्सन साढे २२ वर्षसम्म ।

सुशील ढुङ्गेल पनि थिए १० मध्येकै एक । थाहा पाएपछि कथा लेख्ने कुरा गोविन्दले । लगेका थिए छपाउन उनैले । बन्यो कथा पहिलो ‘किनारा’ । छापिएको पत्रिका थियो ‘आस्था’  । थियो मुखपत्र फ्रेण्डस क्लब, कुपण्डोलको । चलिरहेको थियो साल विक्रमको ३४ ।

गर्नुभएको छ दुःख बाल्यकालमा हुनसम्मको । गर्नुभएको छ मेहनत युवा हुँदा पनि । पास भएपछि मात्र पाउनुभएको थियो लगाउनलाई जुत्ता । होला नभएर नै व्यवस्था सजिलै । मापन गर्छ यसले पनि आर्थिक अवस्थाको । भए पनि बन्यो बानी मेहनत गर्ने सानैदेखिको । हुनुभएको त्यसैले नहार्ने पनि र नथाक्ने पनि ।

हुनसकेन सजिलो पढ्न आएपछि पनि काठमाडौँमा । थिएन कमाइ केहीबाट पनि । चिनिन थालिएको थियो साहित्यमा नै बरु । कुरा हो यो ३२ सालतिरको । भएपछि कविता क्रान्ति ३६ सालमा । चिनिनुभएको थियो बनेर कवि गोविन्द गिरी ।

लागिरहनुभएको थियो साहित्यमा जोडले । थियो समय सङ्घर्ष परिचयको । थाल्नुभएको थियो चिन्नलाई केही साहित्यकार । बनेका थिए नजिकबाट मित्रता कोहीसँग । गाह्रै थियो  छपाउन सिर्जना निकै नै । जितेजस्तै हुन्थ्यो सानोसानो युद्ध नै । छापिन लागेको थियो त्यही बेला ‘अभिव्यक्ति’ पत्रिकामा । थाहा पाएपछि निकट मित्रले । लगेछन् लेखेर लेखको विरोधमा । लगाएर आरोप चोरीको समेत । ल्याउन भनेपछि प्रमाण सम्पादक नगेन्द्रराज शर्माले । सकेनन् टेक्न पाइला फेरि पत्रिकामा । गर्नुपरेको किन होला यति सारो ? हो कि गर्न नसकेर प्रतिस्पर्धा ? जम्ने भो भनेर साहित्यमा हो कि ? कमाउने भो काठमाडौँमा नाम हेटौँडाको केटोले भनेर पो हो कि ? सीमा त हुँदो हो नि सङ्कीणर्ताको पनि । इमान्दार नभएपछि मित्रतामा । घात भएपछि विश्वासमा । सक्छन् गर्न जसले जे पनि । हुँदैन हिसाब बेइमानीको ।

सक्नुभएको थिएन बस्नलाई एकै ठाउँमा । सरिरहनुपरेको थियो झोछेँबाट कालीमाटी । कालीमाटीबाट त्रिपुरेश्वर । राख्नुभाथ्यो तरकारी पसलसमेत कुलेश्वरमा । सरिरहनुपर्ने डेरावाल गोविन्दको घर छ अहिले अग्लै काठमाडौँमा । छ घर अमेरिकामा पनि भव्य । होइन भएको प्राप्ति सजिलैले । गर्नुभा छ काम केही नभनी गर्नुसम्मको । गएर लण्डन गर्नुभो काम । गएर जर्मनमा पनि गर्नुभो काम नै । जम्नु भो मज्जाले भने अमेरिकामा । गुन लाउनुभाथ्यो तारानाथ शर्माले साहित्यिक कार्यक्रममा जान अमेरिका ।

बनेको छ जवाफ नभनिकन केही पनि गोविन्दले । देखिने गरी नै व्यवहारले सबैलाई । तरल छ पानीजस्तै भन्नेहरुलाई । स्थिर हुन सक्दैन भन्नेहरुलाई । थाम्न सकेन उचाइ भन्नेहरुलाई ।

हो यो परिणाम गर्नेहरुको । हुन्छ सधैँ मिठो फल परिश्रमको । बन्नुभा छ अहिले उदाहरण देशमा पनि र विदेशमा पनि ।

परेपछि आफ्नो काम तयार हुन्छ जे गर्न पनि । गर्दैनन् विश्वास साथीहरुले गोविन्दलाई । भ्रममा गोविन्द ठान्छन् सबैलाई आफू निकट । ठान्दैनन् रे निकट कसैले गोविन्दलाई । हुन् यी पनि काटिरहने कुराहरु । भेटिएपछि फुर्सदमा स्रष्टाहरु । उडाउनैपर्ने जस्तो सँगै नभएकाको बारेमा । रोग नै हो यो गुटगुटको । ठान्छन् विपक्षीजस्तै एकले अर्को गुटलाई ।

कम छैन गोविन्दलाई स्वार्थी भन्नेहरु पनि । हुँदैनन् कोही पनि स्वार्थ नभएका संसारमा । नियमजस्तै छ प्राकृतिक । हुन्छ मात्र फरक स्वहित कि परहितको ? हुन्छ फरक मात्र दृष्टिकोणमा । नभने पनि हुन्छ नै पहिले आफू त्यसपछि अरु । प्रमाणित हुन्छ यस्तो प्राकृतिक प्रकोपमा ।

लागेन पटक्कै मलाई भने गोविन्द भनेजस्तो अरुले । हुँदा नेपालमा र अमेरिकामा पनि । गरेका छौँ केही काम र कार्यक्रमहरु सँगसँगै । गएका छौँ भेट्न दिवङ्गत धेरै स्रष्टाका घरमा  । गर्नुभएको छ अभिलेख कतिपयको । नभने पनि हुन्छन् नै व्यस्त अमेरिकामा । काम नै हुन्छ पहिलो जसका लागि पनि । बनेको हुन्छ जीवनशैली नै । भए पनि जतिसुकै व्यस्तता सक्छन् गर्न व्यवस्थापन भने चाहेपछि । आउँदै छन् साथीभाइ अमेरिका कोही भने । खोज्छन् पन्छिन नै सकेसम्म । जान खोज्दैनन् लिन एयरपोर्टमा । हुँदैन यस्तो नजिकैको हुँदा साथीभाइ ।

भनेकै छन् कतिले मुखै फोडेर । हुँदैन लिन गएर मात्र एयरपोर्ट । पाल्नु पर्छ लगेर घरमा । लैजानुपर्छ घुमाउन पनि ठाउँठाउँमा । जानुपर्छ पुर्‍याउन ल्याइदिएका सामान । गइदिनुपर्छ गर्नलाई किनमेल । गरेर पनि सेवा सबै । बुझाउन सकिएन भने चित्त अलिकति । गर्छन् गाली फर्किएपछि नेपाल । लेख्छन् गाली गरेर सामाजिक सञ्जालमा नै । छैन फुर्सद भनेर टारिदिए । गर्छन् गाली बरु एकपटक । भन्छन् भएछ ठूलो अमेरिका आएर । गरेपछि सेवा एयरपोर्टदेखि एयरपोर्टसम्म । खानुपर्छ गाली वषौँवर्षसम्म ।

गर्छन् कुरा ठूला तिनीहरु नै आउँदा काठमाडौँमा । देखाउँछन् मिठो आश्वासन । गरिछाड्छन् चाहिने सहयोग जति । गरे पनि कार्यक्रम । चाहिए पनि प्रचारप्रसार । खोजे पनि सम्मान र पुरस्कार ।

गर्नु परेन अनुभव कहिल्यै पटकपटक जाँदा पनि । गर्नसम्म गर्नुभएको थियो सहयोग अमेरिकामा । दिनुभएको थियो बास खुसीले । खुसीले नै घुमाउनुभएको थियो ठाउँठाउँमा । मिलाइदिनुभएको थियो काम पनि सजिलै । थियो घर भर्जिनियाको फेयरफ्याक्समा । जानलाई काममा हिँड्नुपर्थ्यो केहीबेर घरबाट । थियो बाटो एकान्तको । चढ्नुपर्थ्यो रेल त्यहीँबाट पहिला । फेरि चढ्नुपर्थ्यो बस त्यसपछि । गर्थेँ म सधैँ त्यस्तै । फर्किँदा राती १० बजेपछि । लाग्थ्यो डर धेरै नै । हुन्थ्यो बाटो सुनसान । चाहिनँ त्यही पनि दिनलाई दुःख । थियो एकजना सधैँ ल्याइपुर्याई गरिदिनुपर्ने । भन्थ्यो सक्दिनँ म त बदलीबदली चढ्नलाई सवारी । नमानेर अप्ठ्यारो गर्नुहुन्थ्यो सहयोग । भन्नुहुन्थेन भ्याइनँ भनेर । भन्नुहुन्थेन थाकेँ भनेर । हुन्न बिर्सन सहयोग एकैपटक गर्नेलाई पनि । महत्त्व झन् हुन्छ अर्काको देशमा हुँदा ।

निकाल्नुहुन्थ्यो पत्रिका पनि । नेपाली भाषामा अमेरिकाबाट । सन्को सातबाट ‘विश्व परिक्रमा’ पाक्षिक । गर्नुहुन्थ्यो प्रकाशन र सम्पादन पनि आफै । निस्कियो १सय ३३ अङ्क । जोडिएको थिएँ सुरुबाटै म पनि । राख्नुभाथ्यो नाम प्रिन्ट लाइनमा । भनेर नेपाल प्रतिनिधि । स्तम्भ नै थियो नियमित लेख्ने । गर्थेँ संयोजन दजर्नौं लेखकहरुको । पठाइरहनु हुन्थ्यो पारिश्रमिक र पत्रिका पनि । भएको बेला म पनि अमेरिकामा नै । छोडिनँ लेख्न जुन राज्यमा हुँदा पनि । विश्व परिक्रमाले नै भेटाएको थियो नभेटिने साथीहरुलाई । पाएको थिएँ अवसर पनि माध्यम पत्रिकाकै ।

भए पनि जेसुकै । लागेपछि यात्रामा साहित्यको । गरिरहनुपर्छ साधना नथाकेर गोविन्दजस्तै । नभागेर गोविन्दजस्तै । क्रियाशील भएर गोविन्दजस्तै । नलागेर पछि टिप्पणी गर्नेहरुको । लागिरहन सकेकैले गोविन्द । बनाउन सक्नुभएको छ उचाइ सिर्जना शिखरकै । नआत्तिएर कहिल्यै दुःखमा, अभावमा । नमात्तिएर कहिल्यै अमेरिकी सुखमा पनि । मार्नुभएको छैन थकाइ कहिल्यै । बनेर अविराम यात्री सिर्जना संसारको ।

जुनै क्षेत्रको भए पनि मान्छे । बसेपछि समाजमा । हुन्छन् स्वभाव आआफ्नै । हुन्छन् मित्र पनि त्यत्तिकै । हुन्छन् शत्रु पनि । मात्र देखिने र नदेखिने हो । फरक हो भोगिने र नभोगिने मात्र । कमाउनुभएको छ गोविन्दले भने शुभचिन्तक पहलेदेखि ।

भएको थियो विवाह ४० सालमा । थिए  फैलाउने सहयोगी हातहरु । भएपछि विवाह पोखराको अञ्जु केसीसँग । भएको थियो स्वयम्भर गुहेश्वरी मन्दिरमा । व्यवस्था गरिदिनुभएको थियो पण्डितजीको नगेन्द्रराज शर्माले । हुनुहुन्थ्यो किशोर पहाडी माला ल्याइदिने । गर्नुभाथ्यो व्यवस्था निम्तालुहरुको राजेन्द्र शलभले ।

भएको थियो उन्नति गोविन्दको भित्र्याएपछि नै भाउजू अञ्जु । साथ छ उहाँकै साहित्यिक उचाइ बनाउनमा पनि । हुनसक्नुमा घरधनी अमेरिकाको र नेपालको पनि ।

भन्छु, फेरि भन्छु गोविन्दलाई । साहित्य नै हो परिचय तपाईंको । प्रतिष्ठा पनि हो साहित्य नै । कमाइ पनि हो साहित्य नै । भइरहेको प्रतिफल पनि हो सक्रियताको नै । लागिरहनुस्, सकुञ्जेल लागिरहनुस् ।

बनाएको साहित्यले नै हो गोविन्द गिरी प्रेरणा । कि होइन गोविन्दजी ?