माया अनुभूति मात्र होइन, यो तिम्रो अस्तित्व पनि हो। व्यक्तिभन्दा धेरै माथि छ प्रेमको अनुधारणा । प्रेमको उचाइ त हिजो भागवत सत्तामा पुगेका श्रीकृष्णले मात्रै अनुभूत गर्न सकेका थिए । अहिलेका हामी डिजिटल मनुष्य त प्रेमलाई केवल बाहिरको आँखाले मात्रै हेर्छौं । प्रेम त नदेखिन्छ न छोइन्छ यो त केवल अनुभूति मात्रै गर्न सकिन्छ । प्रेमको त्यो दिव्यता र सघनता बुझ्न नसकेर नै हो हामीले प्रेमसँगै वियोगको डोरी पनि बाट्छौ र भौतिक रूपमा टाढिन्छौ ।

लक्ष्मण सिटौला

प्रेमलाई आनन्दको आरती पूजा सम्झिनेहरु पृथ्वी पारी नै भए पनि कहिले छुट्दैनन्, एक अर्काको सानिध्य संसारबाट । हिजोआजको प्रेम त भौतिक अर्थात शारीरिक प्रेम हो अभौतिक प्रेम गर्नबाट मनुष्य चुकिरहेको छ । यो भौतिक प्रेमसँगै बिछोड पनि पछि पछि हिँडिरहेको हुन्छ ।

मानिसको व्यक्तित्व परिवर्तन हुन्छ । शरीर, मन र व्यवहार सधैँ परिवर्तनशील छन् । हरेक व्यक्तित्वभन्दा पर अपरिवर्तनीय प्रेम छ; त्यो प्रेमको पहाड त तिमी स्वयं हौ । जब तिमीले आफूलाई गुमाउँछौँ, तब तिमीले आफैँलाई भेट्टाउनेछौ । प्रेममा मेटिनु भनेको प्रेममा भेटिनु पनि हो । प्रेमको घटनाको पछाडि ज्ञान हो । जसरी वस्तुको पछाडिको वस्तुको अस्तित्व सार्थक र शाश्वत छ।

वस्तुभन्दा पर पनि कुनै अर्को अनन्त संसार छ । त्यो अनन्तताभन्दा पर प्रेमको दिव्य स्वरुप छ । प्रेम व्यक्तिभन्दा बाहिर छ। घटना, व्यक्तित्व अस्तित्व र वस्तुमा अल्मलिनु नै माया छ कि छैन प्रतिको अल्मल हो । प्रेम त कुनै घटना, व्यक्तित्व र वस्तुभन्दा परको कुरा हो ।

आकर्षणबाट उत्पन्न हुने प्रेम अस्थायी हुन्छ किनभने यो अज्ञानता वा सम्मोहनको कारण हुन्छ । कालन्तरमा हाम्रो आकर्षणमा छिट्टै मोहभंग हुन्छ किनभने अनुहार छाला, बल, बुद्धि, एसऎश्वर्य भौतिकता नाशवान् छ त्यसैले यी कुराहरुबाट प्राप्त हुने माया क्षयकृत हुन्छ नै र यसैबाट हामीमा दिक्दारी पन आउन थाल्छ । प्रेम बिस्तारै कम हुन थाल्छ र डर, अनिश्चितता, असुरक्षा र उदासी ल्याउँछ।

आकर्षण भनेको एक प्रकारको आक्रमण पनि हो । तपाईंको आँखा र मनलाई आकर्षण भनेको तपाईं माथिको आक्रमण हो । कुनै दिन हामीलाई हाम्रो विपरित लिङ्गीले आहा ! तपाईं कस्तो राम्रो या राम्री भनिदियो भने हाम्रो मन र आँखा कति छिटो रमाउन थाल्छन् । तपाईं आफैँबाट एक्छिन टुट्नुहुन्छ। तनको रमाइलो एक क्षण हो । टुट्छ, किनकि यहाँ भौतिक कुराहरु नासवान छन् ।

आत्मासँग आत्माले गरेको प्रेम, प्रेमको त्यो उच्चतम रुप हो तपाईंले चाहेर पनि बिछोड हुदैन यो सदाबहार हुन्छ र सधैँ नयाँ रहन्छ। तपाईं जति नजिक पुग्नुहुन्छ, त्यति नै आकर्षक र तीव्र हुँदै जान्छ। यो कहिल्यै पुरानो हुँदैन र यसले हामीलाई सधैँ उत्साहित बनाइराख्छ।

सांसारिक प्रेम सागर जस्तै हो। तर सागरको पनि सीमा हुन्छ। आत्मीय प्रेम आकाश जस्तै हो जसको कुनै सीमा छैन। समुन्द्रको सिमाबाट आकाश माथि उठेको क्षितिज जस्तै यो सर्वोच्च र सार्वजनिन हुन्छ। आत्मीय प्रेम सबै सम्बन्धहरू भन्दा माथि छ र सबै सम्बन्धहरू यसमै समाहित भैरहेका हुन्छन् ।

प्रायः मानिसहरूले पहिलो नजरमा प्रेम अनुभव गर्छन्। त्यसपछि समय बित्दै जाँदा, यो कम र धुमिल हुँदै जान्छ र कालान्तरमा घृणामा परिणत हुन सक्ने सम्भावना रहन्छ जस्ले स्वार्थसहितको प्रेम गरे। तपाईं कसैलाई कुनै सहयोग गरिरहनु भएको छ। कुनै दिन तपाईंबाट त्यो सहयोग निरन्तर नहुन पनि सक्छ किनभने सबै कुराहरू आखिर सक्किने नै हुन।जुन दिन तपाईंको मान्छेले सहयोग नपाएको महसुस गर्नुहुन्छ त्यसपछि त्यो स्वार्थको तलाउमाथि उम्रेको कमल ढल्छ ।

जब प्रेममा ज्ञानको मल हालिन्छ, तब त्यही प्रेम पछि रुख बन्छ, त्यही प्रेम हामीले आत्माबाट गरेका छौँ भने त्यो जन्मजन्मसम्म रहिरहन्छ। त्यो प्रेम हाम्रो आफ्नै चेतनाको सिर्जनात्मक उर्जा पनि हो। हामी यस वर्तमान शरीर, नाम, रूप र सम्बन्धमा मात्रै सीमित छैनौँ। हामीलाई आफ्नो विगत र पुरातात्विकता थाहा नहुन सक्छ तर हामी आफ्नो आत्मीय प्रेमबाट भने कहिले छुट्न सक्तैनौँ ।

कहिलेकाहीँ प्रेम जटिल देखिन्छ किनभने मानिसहरूलाई थाहा छैन कि कसरी प्रेम स्वीकार गर्ने । कोही आएर भन्छ, म तिमीलाई धेरै माया गर्छु। केही बेरमा कान बन्द गरेर भन्न मन लाग्छ, ‘रोक, यो मेरो लागि धेरै भइरहेको छ, म भाग्न चाहन्छु ।’ बिन्दु यो हो कि व्यक्ति प्रेममा पनि असहज महसुस गर्न थाल्छ। किनभने हामी आफैँमा कहिल्यै तल झरेका छैनौँ। हामी को हौँ भनेर कहिल्यै थाहै भएन। थाहा छैन हामी यस्तो चिजले बनेका हौँ, जसको नाम माया हो । जब हामी आफैँसँग जोडिँदैनौँ, तब अरूसँग जोडिनु सम्भावना पनि हुँदैन ।

माया दिन सक्ने क्षमता हुनुपर्छ। माया दिने कौशल भनेको प्रेममा पर्नु हो। प्रेम कुनै कर्म होइन, यो तपाईंको मनको अवस्था हो। तपाईं यसमा बिना सर्त रहनु पर्छ । प्रेम सबैभन्दा ठूलो शक्ति हो र यसले तपाईंलाई पूर्ण बनाउँछ । अत्याधिक प्रेम र वफादारीले, तपाईं प्रेमको अतल गहिराइमा पुग्नुहुन्छ र फेरि फेरि तपाईंलाई अर्को प्रेमको खोजीमा लागिरहनु जरुरी पनि हुँदैन ।

तपाईं जब एउटासँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने ऊ प्रतिको समर्पणशीलताले तपाईंमा उर्जाका असिम लहराहरु फैलिन्छन यसले तपाईंको आत्मिक शक्तिलाई अझै शक्तिशाली बनाउँछ। तर जब तपाईं आफ्नो प्रेमलाई धोकामा राख्नुहुन्छ यसले जिन्दगीभर तपाईंले प्रेमको लागि भड्किरहनु पर्छ । तपाईंको जीवनमा अन्तिम प्रेम भन्ने नै हुँदैन । तपाईंको लागि न हिजो प्रेम थियो न आज प्रेम छ न भोलि नै प्रेम पाउनु हुन्छ । प्रेममा जब तपाईं धोकाको ढोका खुला राख्नुहुन्छ त्यहाँबाट जो पनि आउने जाने गर्न थाल्छन् ।

तपाईंलाई यो पनि थाहा हुन्न कि को गयो को आयो ? कोही तपाईंलाई दिन आउने हुन्छन् भने कोही तपाईंसँग भएको पनि तपाईंलाई रित्याएर लैजान्छन् । दिएर जानेलाई तपाईं सम्झिरहनुहुन्छ अनि तपाईंसँग भएको खोसेर लानेलाई पनि तपाईं सम्झिरहनुहुन्छ। आखिर प्रेम भनेको दिनु हो लिनु होइन ।तपाईंसँग थियो त लानेले लिएर गयो। अनि ऊसँग थियो त तपाईंलाई दिएर गयो। लिएर जाने पनि गलत होइन लिएर जाने पनि गलत होइन । यो भावनाअनुरूप तपाईं आफैँजस्तो बोट हो त्यही किसिमको फल फलाइरहनुभएको छ । अब तपाईंले यसरी आफ्नो मनलाई चित्त बुझाउनु पर्छ ।

प्रेमले त तपाईंलाई सधैं भरिरहनु पर्ने हो नि तर स्वार्थ मिसिएको प्रेमले तपाईंको भएको पनि खोस्छ । तपाईंलाई भौतिक रूपमा मात्रै होइन शारीरिक र मानसिक रूपमा पनि खोक्रो बनाइदिन्छ ।

मायालाई माया मात्र होस् । उसलाई कुनै नाम नदिनुहोस् । मायालाई नाम दिएपछि सम्बन्ध बन्छ र सम्बन्धले मायालाई सीमित गर्छ।

तिमी र म मायामा छौ भने बस उसलाई हुन दिनुहोस् । माया माया होस् ।  मायाको नाउँमा जब तपाईं एक भन्दा बढीसँग सम्बन्ध स्थापित गर्न खोज्नुहुन्छ भने तपाईंले आफूले आफैँलाइ जिन्दगीभर धोका दिँदै हुनुहुन्छ । प्रेम फेरिने चिज र छानिने छाडिने भौतिक बस्तु पनि होइन । प्रेम फेर्नेहरुको जीवनको लय कहिले पनि सुखद रहने छैन । यौनको पारखीहरु मात्रै प्रेम फेर्नका लागि प्रेमी प्रेमिका फेर्छन् ।

रूपले प्रेम भनेको तिमीभन्दा अरू कोही महत्त्वपूर्ण भएको हो। यो पीडादायी पनि हुन सक्छ, किनकि यसले तपाईंको अस्तित्वलाई धम्की दिन्छ। तपाईंले कसैलाई ‘म तिमीलाई माया गर्छु’ भन्नुहुन्छ, तपाईंले आफ्नो सम्पूर्ण स्वतन्त्रता गुमाउनुहुन्छ। तपाईंसँग जे छ, तपाईंले यसलाई गुमाउनुहुन्छ। जिन्दगीमा जे गर्न मन लाग्यो त्यो गर्न सकिँदैन । त्यहाँ धेरै बाधाहरू छन्, तर एकै समयमा यसले तपाईंलाई भित्र तान्दै जान्छ। यो मीठो विष हो, धेरै मीठो विष हो। यो एक अहंकार-विनाशकारी अवस्था पनि हो प्रेमको अवस्था ।

यदि हामीले आफैँलाई मेटाउन सकेनौँ भने, हामीले मायालाई कहिल्यै थाहा पाउने छैनौँ । हाम्रो केही भाग मर्नुपर्छ। हाम्रो त्यो अंश जो हामी अहिलेसम्म थियौँ, त्यो हराउनुपर्छ, जसको ठाउँ अरु कसैले लिन सक्छ । यदि हामीले यो हुन दिएनौँ भने, यो माया होइन, यो केवल एक गणना हो, एक लेनदेन हो । यो स्वार्थको एउटा कुवा मात्रै हो ।

जीवनमा हामीले पारिवारिक सम्बन्ध, वैवाहिक सम्बन्ध, व्यावसायिक सम्बन्ध, सामाजिक सम्बन्धआदि जस्ता धेरै प्रकारका सम्बन्धहरू कायम राखिरहेका हुन्छौँ । यी सम्बन्धहरूले हाम्रो जीवनमा धेरै आवश्यकताहरू पूरा गर्दछ । यी सम्बन्धहरूमा प्रेम व्यक्त हुँदैन वा हुन्न भन्ने होइन । अवश्य पनि हुन्छ । हामीले गर्ने हरेक कुरामा प्रेम प्रतिबिम्बित हुनुपर्छ । मायाले सबै कुरा गर्न सकिन्छ । तर जब हामी प्रेमलाई आत्मिक प्रक्रियाको रूपमा बोल्छौँ, हामी यसलाई आत्म-विकाशको प्रक्रियाको रूपमा हेर्छौं। जब हामी ‘मेटाउने’ को बारेमा कुरा गर्छौं यो सकारात्मक लाग्न सक्छ।

जब तपाईं कसैलाई साँच्चै माया गर्नुहुन्छ, तपाईं तपाईंको व्यक्तित्व, तपाईंको मनपर्ने र मन नपर्ने, तपाईंको सबै कुरा समर्पण गर्न तयार हुनुपर्छ। जब माया हुँदैन तब मान्छे कठोर बन्छ । कसैलाई माया गर्न थालेपछि हरेक आवश्यकताअनुसार आफूलाई ढाल्न तयार हुनु यो प्रेमप्रतिको आत्मविश्वास हो । यो आफैँमा एक अद्भुत आध्यात्मिक प्रक्रिया पनि हो, किनकि यसरी तपाईं लचिलो बन्नुहुन्छ । प्रेमले निसन्देह आफैँलाई सिर्जनात्मक बनाउन गैरहेको हुन्छ र यो पनि यसको सबैभन्दा सुन्दर पक्ष हो ।

प्रेम निर्वाण हो । प्रेम सिर्जना हो । तिमी जसलाई ‘म’ भन्छौ, त्यो तिम्रो कठोर व्यक्तित्व प्रेमको प्रक्रियामा नाश हुन्छ, र त्यहाँ द्वैध आत्मा एकाकार हुन्छन् । प्रेममा दुइटा अस्तित्व दुवै बिलुप भएर एकमा सिर्जित हुन्छ।

जब तपाईं प्रेममा पर्नु हुन्छ, तपाईंको सोच्ने तरिका, तपाईंको भावना, तपाईंको मनपर्ने र मन नपर्ने, तपाईंको दर्शन, तपाईंको विचारधारा, सबै कुरा पग्लिन्छ । तपाईं कसैलाई आत्मीय प्रेम गर्नुहुन्छ भने तपाईंको ‘म’ स्वतः नष्ट हुनुपर्छ अनिमात्र तपाईंको प्रेम एक अजर अमर प्रेममा बदलिन्छ र तपाईं ईश्वरको नजिक र निर्वाणको नजिकै पुग्नुहुन्छ ।