
पोखरामा “दसाैँ साहित्य महोत्सव” चलिरहँदा यो देशले चिनेका धेरै विधाका साहित्यकारहरुको उपस्थिति देखिन्थ्यो।
अझ देशले नचिनेका र मैले चिनेका साहित्यकारहरुको पनि बाक्लै उपस्थिति थियो । चाइल्ड साइकोलोजी ( बालक) देखि वाइल्ड साइकोलोजी (पशुपंक्षी) गीत,गजल, आख्यान, नृत्य, आर्थिक, सामाजिक, पर्यावरणीय लगायतका विभिन्न आयाममा छलफल र ज्ञानवर्धक कुराकानी भएका थिए । प्रकृतिको सुन्दरतासँगै साङ्गीतिक साँझको रमणीयता त अवर्णनीय नै छ। शारीरिक रुपले आम व्यक्तिभन्दा फरक तर कलात्मक र सृजनात्मक रुपले अब्बल व्यक्तिहरुको विचार, संघर्षका अनुभवले सम्पूर्ण दर्शक श्रोताहरुलाई हौसला प्रदान भएको थियो ।
को हो साहित्यकार ?

शोभा लामिछाने
मञ्चासिन साहित्यकारका योगदानहरुको चर्चा सुनिरहँदा मैले मेरो स्कुले जीवनकी गुरुमालाई सम्झेँ। जसले “आजका हामी कोपिला…भोलि त फूल बन्नेछौँ” भन्दै करिब पाँच दर्जन भुराहरुलाई खुट्टाको ताल मिलाउँदै गाउन सिकाउँदै हुनुहुन्थ्यो। कवितालेखन, निबन्धलेखन र कथालेखनका लागि सामान्य विधि सिकाउँदै गृहकार्य दिनुहुन्थ्यो । विभिन्न प्रतियोगितामा सहभागी हुन हौसला दिनुहुन्थ्यो । तीज गीतदेखि भैली गीत लेख्न सिकाउनु हुन्थ्यो ।
कार्यक्रम चल्दै थियो, मैले मेरो क्याम्पसमा नेपाली पढाउने गुरुलाई सम्झेँ । विद्यार्थीमा पठनको चेत र सिर्जनाको चाह उमार्न हरदम कस्सिरहनु हुन्थ्यो । एक सांस्कृतिक संस्था स्थापना गरेर नियमित कविता वाचन श्रृङ्खला राख्ने, बालक, युवा र बृद्धसम्म सबैलाई सकेसम्म समेटेर साहित्यका गतिविधिमा संलग्न गराउने, लेख्न प्रेरित गर्ने, प्रतियोगिता आयोजना गर्ने, पुरस्कृत गर्ने। संस्थाको निरन्तरताको लागि आर्थिक स्रोत जुटाउन कुदिरहने ।
नेपाली गुरुहरु जस्तै अन्य धेरै मैले चिनेका साहित्यकारहरु हुनुहुन्छ । जो आजीवन साहित्य र संस्थाका लागि निस्वार्थ र निशुल्क खटिइरहनुभएको छ। आफ्नो दुखजिलो गरेर अलिकति बचेको रकमले पुस्तक प्रकाशन गरेर सबैलाई निशुल्क पुस्तक वितरण गरिरहनुहुन्छ । हो, उहाँहरु विश्वविख्यात नहुनुहोला । आजभोलिको सामाजिक सञ्जालमा “भाइरल” नहुनुहोला, कुनै मञ्चमा सम्मानित नहुनुहोला। तर मेरा नजरमा उहाँहरु मेहनती र सच्चा साहित्यकार हुनुहुन्छ ।
साहित्यमा व्यवसायिकता
हो “साहित्य”लाई पेसा र व्यवसायको रुपमा राखेर आर्थिक रुपमा सफल हुन सजिलो छैन। साहित्यलाई जीवन अर्पण गर्ने कि जीवनलाई साहित्य अर्पण गर्ने भन्ने कुरा अझै अनुत्तरित विषय हो । एक अर्कै पेशामा आबद्ध भई, घरपरिवारका आकांक्षा परिपूर्ति गर्दै साहित्यलाई “पार्टटाइम” जीवन सुम्पनेदेखि, आजीवन एकल, अविवाहित रही, सम्पूर्ण जीवन साहित्यसृजनामै सुम्पिनेसम्मका तहतह योगदानका उदाहरण पाइन्छ । यसरी चौबीसै घन्टा साहित्य सृजनामा लाग्नेहरुले सृजनाको मूल्य पाउनुपर्छ र यही साहित्य क्षेत्रबाटै रोजिरोटीको सुनिश्चितता गर्नुपर्छ।
यही सहज नभएर हो कि ? मैले अधिकांश सफल साहित्यकारहरु अविवाहित वा एकल देख्छु । यो नितान्त मेरो दृष्टि हो कि, सफल साहित्यकारहरु कि एकल वा अविवाहित देख्छु । प्रेममा वा पारिवारिक जिम्मेवारीमा असफल । मलाई यो मेरो दृष्टि झुटो होस् भन्ने नै कामना छ। साहित्यकारहरु पारिवारिक जीवनमा पनि सफल रहून् भन्ने कामना छ ।
आजभोलि केही प्रकाशकहरुले राम्रो कृति लेखेका साहित्यकारको पुस्तक छपाएर साहित्यकारलाई राम्रो मूल्य तिरेर पनि बजारबाट प्रशस्त नाफा गरेका उदाहरण सुनिन्छन् । सायद अब साहित्यिक कृतिको बजार र व्यापार सहज भएको हो कि ? साहित्य क्षेत्रमा व्यवसायिकता प्रवर्द्धन भएको हो कि भन्ने झिनो आशा पलाएको छ। यसमा पनि कतै प्रचलित “माफिया गिरी” को विजरोपण हुने त हैन ? सन्त्रास भने कायमै छ।
समय व्यवस्थापन
साहित्य क्षेत्रमा रुचि भएर मात्रै हुँदैन । बेस्ट सेलर बुक लिस्ट हेरेर मात्रै पनि हुँदैन । पठनपाठन र सिर्जना अनि सिर्जनाको परिस्कृतताका लागि प्रशस्त समय दिनुपर्ने हुन्छ। पेशागत, पारिवारिक र सामाजिक अपेक्षा र दायित्व निभाउँदै साहित्य सिर्जनालाई पनि सँगसँगै लैजान समय व्यवस्थापन अति नै महत्त्वपूर्ण कुरा हो । जसले समय व्यवस्थापन गर्न सक्दैनन् उनीहरु या त परिवार या त सिर्जना दुई मध्य एकप्रति गैरजिम्मेवार हुन सक्छन् । त्यसैले साहित्यलाई सोख बनाउने कि व्यवसाय ? साहित्यलाई आफ्नो जीवन नै बनाउने भनी विश्लेषण र निर्क्यौल गर्नु पनि अति आवश्यक हुन आउँछ ।
अन्तमा
विश्वमा चिनिन सफल, देशमा चिनिन सफल, आफ्नो स्थानीय क्षेत्रमा चिनिन सफल, विद्यार्थीमा चिनिन सफल, मञ्चमा बस्न सफल, मनमा बस्न सफल, लुप्त, गुप्त सम्पूर्ण साहित्यकारहरुप्रति हार्दिक सम्मान छ । साहित्य र जीवन एकअर्काको परिपूरक हुन्। कुनमा कति के मिसाउने भन्ने निर्णय भने वैयक्तिक हुन् । पठन संस्कृतिको व्यापक विस्तार होस्। साहित्यका माध्यमबाट मानिस अनुशासित र गुणवान् हुन सकोस्, समाज चेतनशील र सभ्य बन्न सकोस् शुभकामना नै शुभकामना छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

