‘‘के हुन्छ बाँची लाखन वर्ष

पारी अँध्यारो बाहिर भित्र ?

बरु बाँच युवक दुई घडी मात्र

चम्की उज्यालो पारी समस्त’’

—सिद्धिचरण श्रेष्ठ

‘‘हामी बाँच्नुभन्दा पनि जीवन चाहन्छौँ, हाम्रो आयु चारै दिनको होस् तर जीवनमय होस्’’—

हृदयचन्दसिंह प्रधान

‘‘हामी बाँच्ने प्रयास त गरिरहन्छौँ तर बाँच्न सकिरहेका हुँदैनौँ’’

—इमर्सन

‘‘यदि जीवनमा गन्न योग्य काम गरेका छैनौ भने आफ्नो उमेरलाई पनि नगन ’’

—..?

डा.कृष्णराज अधिकारी

१) यस पृथ्वीमा मानव आविर्भाव र विकासलाई अत्यन्त दुर्लभ मानिन्छ । त्यसो त यो सिङ्गो ब्रह्माण्ड, पृथ्वी र यसमा आश्रित जीवजन्तु र वनस्पतिको उत्पत्ति पनि आफैँमा यौटा महान् संयोग थियो । महाविष्फोट (बिगव्याङ) र विष्फोटहरु नभएका भए सायद यो पृथ्वी र ग्रहहरुसमेत हुँदैनथे । महाविष्फोट हुनु, पृथ्वी सेलाउँदै जानु, पृथ्वीमा पानीको ठूलो अंश (समुद्र) रहनु र हावामा अक्सिजनको मात्रा पर्याप्त रहनु जस्ता कारणहरुले पृथ्वीको वातावरण जीवनका लागि अनुकूल हुन पुग्यो । अन्तरिक्षका असङ्ख्य ग्रह–नक्षत्रहरुका माझमा पृथ्वीमा मात्र जीवन हुनुका पछाडि विशिष्ट कारणहरु रहेको पाइन्छ । रुसी नृजाति वैज्ञानिक वालेरी अलेक्सियेव (मानव जातिको उत्पत्ति, पृ.१९)का अनुसार पृथ्वीको विशाल उपग्रह चन्द्रमा रहनु र यसै ग्रहका कारण पृथ्वीको समुद्रमा ज्वारभाटा उत्पन्न हुनु, यिनै लहरहरुले जीवनलाई जलबाट स्थलमा र स्थलबाट जङ्गलमा पुर्याउन सक्नु, हाम्रो सौर्यमण्डलको मुख्य ग्रह सूर्य आकाशगङ्गाको विष्फोटको घेराभित्र नपर्नु र यसले गर्दा पृथ्वीमण्डलमा रेडियोधर्मी विकिरणद्वारा खगोलीय दुष्प्रभाव पर्न नसक्नु जस्ता मौलिक कारणले पृथ्वीमा जीवन सम्भव भएको हो ।

परमाणु तत्त्व र प्रोटिनतत्त्वहरुको अन्तरक्रिया वा रासायनिक प्रक्रियाबाट अति सूक्ष्म जीवको उत्पत्ति हुन पुग्यो । अति प्रारम्भिक जीव कुनै एक जीव विशेष नभएर विभिन्न जीवहरूको एकीकृत रूप थियो । प्रारम्भमा यसले कोषको रूपसमेत लिएको थिएन । वातावरण वा वायुमण्डलीय प्रकृतिमा परिवर्तन हुँदै जाँदा प्रारम्भिक जीव–तन्तुहरुको उत्परिवर्तन (म्युटेसन) र विकास हुँदै गयो र क्रमशः ठूला जीवहरु निस्कन पुगे । अहिलेको मानिसलाई पुच्छरहीन जनावर ओराङ्ओटन, चिम्पान्जी हुँदै यहाँसम्म आइपुग्न इभोलुसन प्रक्रियाद्वारा लाखौं वर्ष लाग्यो । अनेकौं जङ्गली जनावरसँगको आक्रमणबाट जोगिँदै, आफैँबाट छुट्टिएका मानव समूहहरुसँग लड्दै, बाढी, पहिरो, चट्याङ, डढेलो, अतिवृष्टिजस्ता प्रतिकूल अवस्थाबाट जोगिँदै, अनेकौँ रोगव्याधि र खाद्यसङ्कटको मुकाविला गर्दै, थुप्रै प्रतिकूलतासँग सङ्घर्ष गरेर आफ्नो अस्तित्व जोगाउँदै यहाँसम्म आइपुगेको हो मानिस ।

सेपियन्स (क्बउष्भलक) नाम दिइएको आजको मानिसभन्दा पहिले विकास भएको र मस्तिष्कको आकार पनि अहिलेको मानिसको भन्दा ठूलो रहेको भनिने नियन्डरथल मानिस विभिन्न प्रतिकूलतासँग जुध्न नसकेर होला, करिब पैतीस–चालीस हजार वर्ष अघि पृथ्वीबाटै लोप भएको अनुमान गरिन्छ । नियन्डरथल मानिस लोप नभएको भए सायद आजको मानिसलेभन्दा बढी उन्नत र भिन्न प्रकारको विकास गरिसक्थ्यो । मानिसभन्दा पहिले पृथ्वीमा आएका डायनोसर लगायतका हजारौं जीव–जन्तुहरु पनि यस पृथ्वीमा धेरै लामो समय टिक्न सकेनन् । पृथ्वीबाट सदाका लागि बिदा भएर गए । तर, आजको मानिस सङ्घर्ष–सामर्थ्य र वातावरणीय अनुकूलताले होला हालसम्म आफ्नो अस्तित्व जोगाउँदै निरन्तर विकास गर्दै आएको छ । हालसम्मको खोज–अनुसन्धानबाट पृथ्वीबाहेक हाम्रो सौर्यमण्डलका अन्य ग्रहमा मानव अस्तित्व नभेटिएको र ब्रह्माण्डका अन्य ग्रहहरुमा पनि मानिस जस्तै कुनै विकसित प्राणी भएको पत्ता नलागेबाट पनि पृथ्वीमा मानिसको उत्पत्ति र विकासलाई अत्यन्त दुर्लभ संयोग र विशिष्ट घटनाका रूपमा लिन सकिन्छ ।

२) तर, मानिसको उत्पत्ति र विकासलाई जति नै दुर्लभ मानिए पनि मानिस भएर जन्मनु मात्रै ठूलो र महत्त्वको कुरा भने होइन । मानिस पृथ्वीका लाखौंथरि जीव–जन्तुहरुमध्येको एउटा जीव मात्र हो । यसैले पृथ्वी वा प्रकृतिका लागि एउटा मानिस र एउटा कुकुर, चरा वा सर्प समान महत्वका हुन्छन् । अझ अहिलेको मानिसको व्यवहार हेर्दा त पृथ्वीको लागि ठूलो दुस्मन–प्राणी नै मानिस हुन पुगेको छ । पृथ्वीको सौन्दर्य र प्राणीहरुको अस्तित्वका लागि मानिस वा अरु कुनै प्राणीभन्दा वनस्पतिहरु धेरै महत्त्वका ठहरिन सक्छन् । वनस्पतिबिना मानिस लगायत अधिकांश प्राणीको अस्तित्व रहँदैन तर मानिस नभएमा पनि पृथ्वी र यहाँका अन्य जीव–जन्तुको अस्तित्वमा कुनै फरक पर्दैन । यसैले मानिस प्रकृतिको एउटा सानो अंश मात्र हो ।

मानिस र अरु जनावरहरु गाई–भैंसी, कुकुर–बिरालो, हात्ती–गैंडा, बाघ–भालुबीचको आधारभूत फरक भनेको उसको मस्तिष्कको विकास हो । मस्तिष्कको विकाससँगै मानिसमा चेतनाको पनि विकास भएको हो । मस्तिष्कको विकासले नै मानिसले अरु जनावरले गर्न नसकेका काम गर्न सकेको हो । चार हात–खुट्टाले टेक्दै आएको ऊ अस्तित्वको सङ्घर्षले दुई खुट्टाले टेकी दुईवटा हातलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न थाल्यो । सुरक्षाका लागि समूहमा बस्ने गरेको उसले विभिन्न उत्पादन र आविष्कार सामूहिक रुपमा गर्दै जाँदा समाजको आवश्यकता महसूस गर्यो र सामाजिक प्राणी बन्न पुग्यो । तर, अरु प्राणीहरुभन्दा विशिष्ट बन्ने क्रममा मानिसले पृथ्वीका अरु जनावरलाई मात्र आफ्नो नियन्त्रणमा राखेन, सिङ्गो प्रकृतिलाई नै नियन्त्रणमा लिई आफू अनुकूल प्रयोग गर्न थाल्यो । अहिले एकातिर प्रकृतिमाथिको अतिक्रमण र अतिदोहनकै कारण मानिसले आफ्नो र अन्य जीवजन्तुहरुको भविष्यलाई अनिश्चित तुल्याइरहेको छ भने अर्कातिर प्रकृतिको एउटा सामान्य जीव महामानव वा देवता हुन खोज्दा आफ्नो मात्र होइन सिङ्गो पृथ्वीकै अस्तित्वमाथि सङ्कट उत्पन्न गरेको छ ।

३) मानिसले एकातिर आफ्नो उन्नत मस्तिष्कको सदुपयोग गर्दै ठुलाठुला वैज्ञानिक खोज–अनुसन्धान गरी भौतिक उन्नति र समृद्धि हासिल गर्यो भने अर्कातिर त्यही मस्तिष्कको दुरुपयोग गर्दै मानिस–मानिसका बिच तीव्र विभेद सिर्जना गर्यो । मानव मस्तिष्कले खोज–आविष्कार गरेका र सामूहिक सङ्घर्षपछि प्राप्त भएका भौतिक सुख–समृद्धिलाई मानिसको सानो झुण्डले आफ्नो स्वामित्वमा लिँदै अरु सबैलाई त्यसबाट बञ्चित तुल्यायो । आफूलाई विशेष मानिस वा मालिक सम्झिँदै अरुलाई सामान्य मानिस वा दासका रुपमा स्थापित गर्न खोज्यो । त्यसका लागि उसले स्वर्ग–नरक, पूर्वजन्म–पुनर्जन्म, भाग्य, जात, धर्म र ईश्वरको काल्पनिक कथा बनाउँदै त्यसलाई संस्कार र धर्मका रुपमा स्थापित गर्न पुग्यो । वञ्चितिकृत वर्गको एउटा ठूलो हिस्सा तिनकै जालोमा लुट्पुटिँदै निरीह र किनारीकृत बन्न पुग्यो भने त्यसका विरुद्धमा आवाज उठाउने वर्ग सधैंभरि मालिक वा सत्ताको निशानामा परी पीडा–यन्त्रणा भोग्न विवश भइरह्यो ।

४) पृथ्वीका लाखौं–लाख जीव–जन्तुहरुमध्ये मानिस नै यस्तो विरोधाभासी प्राणी हो जो एकातिर मानिसको मात्र नभएर सम्पूर्ण प्राणी र वनस्पति समेतको हित र संरक्षणमा काम गर्छ भने अर्कातिर मानिसमाथि नै शोषण, दमन र विभेद सिर्जना गरेर नपुगी अन्य जीवजन्तुको समेत अस्तित्व समाप्त पार्न उद्दत रहन्छ । एकातिर सिङ्गो बह्माण्डको उत्पत्ति बारे खोज–अनुसन्धानका साथै जीवको उत्पत्ति र विकासको कारण पहिल्याउन पुग्छ भने अर्कातिर कहीँ–कतैबाट पुष्टि नभएको र अस्तित्व नै नभएको पूर्वजन्म, पुनर्जन्म तथा ईश्वरको परिकल्पना गर्दै मानिसलाई नै उल्लू र अन्धविश्वासी बनाइदिन्छ । एकातिर ऊ पृथ्वीमा मानिसको मात्र नभएर हरेक जीवजन्तुको अधिकार भएको मान्यता राख्दै त्यसका लागि सङ्घर्ष गर्छ भने अर्कातिर आफ्नो (प्रभुत्वशाली) वर्ग बाहेक अरु सबै मानिस र जीवजन्तुको अधिकारको हनन गर्दै तिनीहरुको अस्तित्व नै समाप्त पार्न लागिपर्दछ । यसैले मानिस बुद्धिमान् र विवेकशील प्राणी मात्र होइन विरोधाभासी, आडम्बरी, ढोंगी, पाखण्डी र अहङ्कारी प्राणी पनि हो । अल्पसङ्ख्यक मानिसमा उन्नत मस्तिष्कजन्य चेतना र मानवीय गुण भेटिए पनि बहुसङ्ख्यक मानिसमा भने पशुता, जडता, अन्धता र स्वार्थन्धता भेटिनुले मानिस अंशतः महान् प्राणी भए पनि मूलतः नीच वा छुद्र जीव भएको पुष्टि हुन्छ ।

५) अब प्रश्न उठ्छ, मानिस भएर जन्मनुमा गर्व गर्ने कि नगर्ने ? मानिस भएर गर्व गर्नुको कारण उसको उन्नत मस्तिष्कको प्रयोग मार्फत् मानवजाति (अझ प्राणी जगत्समेत)को उन्नयन र कल्याण गर्नु हो भने के हरेक मानिस त्यस कार्यमा प्रयत्नशील देखिन्छन् त ? व्यवहारतः ज्यादै कम मानिसले मात्र आफ्नो मस्तिष्कको सदुपयोग गरेको वा मानवोचित कर्म गरेको पाइन्छ । अर्थात् थोरै मानिसले मात्र मानव समाज, मानव जाति र सिङ्गो प्राणीको हितमा आफूलाई उभ्याउने गरेका हुन्छन् । आफ्ना ज्ञान र कर्मलाई अरुको उन्नयन र हितमा लगाउन सक्नु नै वास्तवमा मानवता हो, मानव हुनुको सार्थकता हो । यस्ता मानिसहरुको जन्म र कर्म निश्चय पनि गर्व गर्न लायक हुन्छ ।

यसैले यस्ताको जन्मदिन मनाउनु वा तिनलाई सम्झनु मात्रले पनि एउटा सकारात्मक सन्देश प्रवाह गरेको हुन्छ । त्यस्ता मानिस जति बढी बाँच्न सके त्यति नै मानव जगत् लाभान्वित हुन पाउँछ । तर, मानव मस्तिष्कको दुरुपयोग गर्ने वा त्यसलाई निष्क्रिय राख्ने हो भने मानिसको स्वरुपमा जन्मदैमा वा लामो अवधि बाँच्दैमा गर्व गर्नुको औचित्य रहँदैन । मानिस भएर मानिसलाई नै दुःख दिन उद्दत रहने, मानव चेतना र उन्नयनमा अवरोध पुर्याउने, आफ्नो स्वार्थका लागि अरुको अस्तित्व सङ्कटमा पार्ने मानिस बाँच्दा अरुले किन गर्व गर्ने ? त्यस्तो मानिस जति धेरै बाँच्यो उति नै मानव र अरु जीवजन्तुको उन्नयनका लागि बाधक हुन्छ भने त्यस्ताको जन्मदिनमा शुभकामना दिनु मानवताकै उपहास हो ।

अर्को थरिका मानिस आफ्नो स्वार्थमा मात्रै लिप्त रहन्छन् । समाज, देश, मानव जाति र सिङ्गो प्राणीको हितमा उसको कुनै चासो र चिन्ता रहँदैन । त्यसका निम्ति उसको मस्तिष्क निष्क्रिय रहन्छ । आफू र आफ्नो परिवारको हित वा स्वार्थ बाहेक अरु सोच्नै नसक्ने वा ध्यानै नदिने प्रकृतिका मानिस पनि वास्तविक मानिस नभएर पृथ्वीका उपभोक्ता–जीव मात्र हुन् । यस्ता मानिस र अरु जीवजन्तुका बीच शारीरिक आकृतिबाहेक अरु तात्विक भिन्नता रहँदैन । पृथ्वीका थुप्रै पशुपंक्षीहरु पनि आफ्नो जीवन र आफ्ना बच्चाहरुको संरक्षणमा क्रियाशील रहेका हुन्छन् । शारीरिक संरचना बाहेक मानिस र अरु पशुपंक्षीबीच फरक देखिँदैन भने यस्ता मानिसहरुले आफूलाई मानिस भनेर गर्व गर्नुको कुनै अर्थ रहँदैन । बरु अन्य पशुपंक्षीहरुले अर्काको उपकार गर्न नसके पनि अपकार वा ठूलो हानि पुर्याइरहेका हुँदैनन् (बाँच्नको लागि अरुको शिकार गर्नु बाहेक) । तर मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो जाति (मानिस)लाई मात्र दुःख नदिई अन्य जीवजन्तुहरुलाई पनि हानि वा क्षति पुर्याइरहेको हुन्छ । अझ कतिपय त अर्कालाई दुःख–पीडा दिनुमै आफ्नो आनन्द देखिरहेका हुन्छन् । यस्ता मानिसहरु बाँच्न सफल भएकोमा उत्सव मनाउनु वा शुभकामना दिनुको पनि कुनै अर्थ र औचित्य रहँदैन ।

६) कुनै पनि जीवित प्राणी वा वनस्पतिले सन्तान जन्माउने गर्छ । जीवनको निरन्तरताका लागि होला, प्रकृतिले नै हरेक जीवनभित्र वंशाणु (जिन-डिएनए) उत्पन्न गरिदिएको हुन्छ । प्राणी होस् वा वनस्पति, सूक्ष्म जीव हुन् वा विशाल जनावर, सचेत वा असचेत रुपमा होस् सबैले सन्तान उत्पादन गरिरहेकै हुन्छन् । हरेक प्राणी र वनस्पतिमा सन्तानोत्पादन गुण अन्तर्निहित हुन्छ, मात्र उत्पादन–प्रक्रिया र क्षमता फरक हो । यसैले सन्तान उत्पादन गर्नु कुनै महान् वा दुर्लभ कर्म होइन, एउटा प्राकृतिक गुण वा स्वाभाविक प्रक्रिया मात्र हो । वनस्पतिदेखि किरा–फट्याङ्ग्रा, चराहरुदेखि हात्ती–गैंडा सबै–सबैले जन्माउँदै आएको सन्तान मानिसले पनि जन्माउनु कुनै नयाँ वा विशेष कर्म हुँदै होइन ।

जन्मिएका सन्तान उपयुक्त वातावरण र संरक्षण पाएमा हुर्कँदै जान्छन् र अन्ततः एउटा कालखण्डमा गएर समाप्त हुन्छन् (मर्छन्) । हरेक प्राणी र वनस्पतिमा घटित हुने यस्तो प्रक्रियालाई पनि मानिसले आफ्नै विशेष सामर्थ्यका रुपमा हेर्नु र बाँच्नुलाई नै महान् उपलब्धि सम्झनु आत्मरतिमा रमाउनु मात्र हो, त्यसको कुनै अर्थ र औचित्य रहँदैन । कुनै मानिस बाँच्नु र मर्नुमा बाँकी मानव समाज वा जगत्लाई कुनै फरक पर्दैन भने त्यस्तो बँचाइको कुनै मूल्य रहँदैन । अझ, परपीडक र मानव चेतनाका अवरोधकहरुलाई त शुभकामनाभन्दा मृत्युकामना गर्नु श्रेयष्कर हुन्छ ।

७) शुभकामना दिनु आफैँमा नराम्रो होइन । यसलाई एउटा सद्भावका रुपमा पनि लिन सकिन्छ । विश्वमा सबैभन्दा धेरै चाडपर्व र उत्सवहरु हाम्रै समाज–संस्कृतिमा पाइने हुँदा सबैभन्दा धेरै शुभकामना र आशीर्वाद दिने-लिनेमा पनि संभवतः नेपालीहरु नै पर्दछन् । यदि शुभकामनाको सानो अंशले मात्रै काम गर्ने हो भने पनि विश्वमा सबैभन्दा सुखी–खुसी, उन्नत र समृद्ध नेपाली नै हुन्थे होलान् र सबैभन्दा उन्नत र सार्थक कर्म पनि नेपालीले नै गर्थे होलान् ! फेरि, अधिकांशले दिने शुभकामना अन्तरमनबाट निःसृत वा भावोद्वेलित नभई औपचारिकता वा स्वार्थका लागि हुन्छन् जसमा कुनै हार्दिकता रहँदैन । यसप्रकारका शुभकामनाको पनि कुनै औचित्य रहँदैन ।

८) अहिले सामाजिक सञ्जाल फेसबुकले त्यसका प्रयोगकर्ताको जन्मदिन सार्वजनिक रुपमै औल्याइदिने हुनाले आफन्त वा परिचित (अपरिचित पनि) व्यक्तिको जन्मदिनमा बधाई दिने प्रचलन बढ्दै गई त्यसले संस्कृतिकै रुप लिन थालेको छ । आफ्नो जन्मदिनसम्म थाहा नभएका र कहिल्यै जन्मदिन नमनाएकाहरु पनि जन्मदिनको शुभकामना दिन–लिन र फेसबुकमा तस्वीरहरु टाँग्नमा रमाइरहेका देखिन्छन् । कुनै आफन्त वा शुभेच्छुकले जन्मदिनमा शुभकामना दिनुलाई एउटा सद्भावका रुपमा लिन सकिएला । जन्मदिनको सम्झनाले उसको छोट्टिँदै गएको आयुप्रति सचेत गराउँदै जीवनमा सार्थक कर्म गर्न उत्प्रेरित गर्नसक्यो भने त्यसको सान्दर्भिकता र औचित्य रहन्छ पनि । जन्मदिनमा आफ्ना विगत कर्मप्रति निर्मम समीक्षा गर्दै आगामी जीवनलाई सार्थक र जीवनमय बनाउन प्रतिबद्धता जनाउने सन्दर्भलाई स्वाभाविक मान्न सकिएला ।

तर, आफ्ना परपीडक कर्म र निरर्थक जीवन–बँचाइलाई पनि महान् उपलब्धि सम्झँदै जन्मदिनलाई उत्सवका रुपमा मनाउनुचाहिँ निरर्थक, आडम्बरी र अमानवीय कार्य हो भने कसैको त्यस्तो निरर्थक जीवन–बँचाइलाई शुभकामना दिनु अपसंस्कृतिको अभ्यास मात्र हो । अझ हाम्रो सामाजिक सन्दर्भमा आफ्ना निहित स्वार्थका लागि उच्च पदस्थ व्यक्ति, हाकिम, व्यावसायिक–व्यापारिक स्वार्थ–समूह, पार्टी–नेता हरुलाई शुभकामना दिँदै तिनका तस्बिर टाँस्नमा रमाउनु भनेको तिनका भ्रष्टता, अकर्मण्यता, दुष्ट्याइँ, परपीडक र अमानवीय प्रवृत्तिलाई उत्प्रेरित गर्दै चाकडी–प्रथालाई नयाँ सांस्कृतिक रूप दिनु हो । यसले सांस्कृतिक विद्रुपता मात्रै बढाएको छ ।