अधिकारको पूरै दुरुपयोग हो -अयोग्य व्यक्तिको हातमा अधिकार ! उनीहरूको प्रवृत्ति ह‍ो- नास्ने, मास्ने, बिगार्ने र आफ्नो स्वार्थ पूरा गर्ने ! काम बिगार्नु र भएका धर्म, संस्कृति, कला, भाषा र सम्पूर्ण सनातन परम्परा बाँदरले जस्तै समाप्त पार्दै जानु उनीहरूको स्वभाव हो। यसर्थ ‘बाँदरको हातमा नरिवल !’ यस्तै अयोग्यहरूलाई दिइने योग्यताको प्रमाणपत्र हुँदो हो। हामीकहाँ यस्ता योग्यताको प्रमाणपत्र पाउनेहरू धेरै छन् ।

जीवनपानी

यसरी हामीहरू वर्षौंदेखि बाँदरका नागरिकहरू हुन पाएकोमा गर्व गरिरहेछौँ। ‘ढेडु’लाई रोज्ने बानी परेका हामीले कहिल्यै बाँदरको बीचबाट हनुमान रोज्न सकेनौँ, किनकि हामी बाँदरका पनि बाँदर, ‘महाबाँदर ‘रहेछौँ ।

न आफूले राम्रो काम गर्ने ! न अरूलाई राम्रो काम गर्न दिने ! न आफूले प्रगति गर्ने ! न अरूलाई प्रगति गर्न दिने ! जता पनि तगारो बन्ने, असल व्यक्तिको खोइर‍ो खन्ने, काम बिगारिदिने, प्रगति गर्नेको रिस गर्ने, अनि घण्टौंघण्टा कुरौटेहरूसँग कुरा काटेर बस्ने जस्ता क्रियाकलाप उनीहरूका मौलिक स्वभाव हुन् । बुझ्दै नबुझी ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि राख्दैन !’ भनेर त्यसै किन भन्थे र, हाम्रा बाउबाजेहरूले ! कहाँ यस्ता ढेडुजस्ता थिए र हाम्रा पूर्खाहरू ?

कुरा स्पष्ट भइसक्यो, बाँदरजस्तै हुन्छन् मूर्खहरू भनेर । अर्थात् मूर्खको स्वभाव बाँदरको जस्तै हुन्छ भनेर । उनीहरू बाँदरजस्तै बदमास हुन्छन् । यी दुइटामा भिन्नता व्यवहारमा होइन, शारीरिक संरचनामा मात्रै हो । मूर्ख र बाँदरमा व्यवहार त दुवैको उस्तै दुरुस्तै हुन्छ। बाँदरहरूको सम्पूर्ण गुण ठ्याक्कै मूर्खहरूसँग मिल्छ।

‘डार्बिन’ले आफ्नो जीवविकासको सिद्धान्तमा मानिसहरू बाँदरका वंशजहरू हुन् भनेका थिए । अहिले आएर बुझ्दै छु, ‘डार्बिन’ले यसो किन भनेका रहेछन् भनेर । उः बेला उनी पक्कै मूर्खहरूको सङ्गतले निकै वाक्क र दिक्क भएको हुनुपर्छ । उनीहरूका कारण उनी निकै बेचैन भएको हुनुपर्छ । मूर्खको संरचना मानिससँग मिल्छ । त्यसो त मानिस नै हो मूर्ख। किन्तु स्वभाव बाँदरसँग अनुरूप छ। ‘सबै अल्काली क्षार हुन् तर सबै क्षार अल्काली होइनन् ‘भनेझैं उनले सज्जनबाहेक सबै मूर्खहरू बाँदरका विकसित रूप हुन् भनेका रहेछन् । बुझ्न ढिलो बुझे पनि सही बुझे पछि पछुतो आफैँ हराएर जाँदो रहेछ ! पछुतो हटेपछि आनन्द हुँदोरहेछ। मलाई त्यस्तै भएको छ ।

यो देशको, मेरो देशको , हाम्रो देशको यस्तो दुर्गति किन भइरहन्छ भनेको त कारण यो पो रहेछ ! ढिलो थाहा भयो ! तर, अब होसियारी सिक्नलाई ढिलो गर्नु हुँदैन ।

त्यसो त महाभारतमा ‘विदुर’ले मूर्खलाई ‘सुँगुर’ सँग दाँजेका छन् –

‘अरूको वाक्यमा मूर्ख नराम्रो मात्र टिप्दछ ।

जस्तो सुँगुरले विष्टा मात्र खोजेर हिँड्दछ ।’

पक्कै पनि सुँगुरका अगाडि खिर र आचीसँगै राखिदियौँ भने त्यसले खिर छाडेर आचीलाई नै रोज्छ । मूर्खहरू यस्तै हुन् किनकि मूर्खहरूले पनि राम्रा र नराम्रा कुरामध्ये राम्रालाई छाडेर नराम्रालाई मात्रै रोज्छन्।

महाभारतका पात्रहरू किन मिथ्या बोल्थे र ? महाभारत ‘वेदव्यास’को उत्कृष्ट र असामान्य कृति हो, किन निकृष्ट र सामान्य हुन्थ्यो र ? ‘डार्बिन’ले त्यतिबेला महाभारत पढ्न पाएका भए उनले बाँदरजस्तै मूर्खहरूको पर्यायवाची सुँगुर पनि हो भन्ने थिए, किन्तु उनलाई त्यतिबेला महाभारत पढ्ने अवसर मिलेन । यदि उनले यो कुरा भनेका भए उनको लोकप्रियता लोकमा अझ झाङ्गिन्थ्यो, अझ मौलाउँथ्यो अर्थात् लोकका कुनाकाप्चासम्म व्यापक हुन्थ्यो । जे भयो, जति भयो सबै राम्रो भयो र ठीकै भयो।

हाम्रा वेदज्ञहरू जस्तै : ‘भर्तृहरि, चाणक्य , ऋषि वसिष्ठ, विदुर ‘ र उनीहरूजस्तै अनेकौं अरूहरूका मूर्खहरूसँगको उनीहरूका भोगाइ वा अनुभवलाई ‘भर्तृहरि’का ‘भर्तृहरि नीतिशतक, मङ्गलाचरण’मा , ‘चाणक्य’का ‘चाणक्य नीतिशास्त्र’मा सङ्कलन गरिएजस्तै विभिन्न शास्त्रहरूमा सङ्कलन गरिएका छन् । आउनुस् , अब उनीहरूको मूर्खहरूसँगको भोगाइको अनुभव सुनौँ :-

१. भर्तृहरि उवाच:

‘प्रसह्य मणिमुद्धरेन्मकरबक्त्रदंष्ट्रान्तरात्,

समुद्रमपि सन्तरेत् प्रचलदूर्मिमालाssकुलम्।

भुजङ्गमपि कोपितं शिरसि पुष्पवद् धारयेन्-

न तु प्रतिनिविष्टमूर्खजन चित्तमाराधयेत्।।४।।’

अर्थात् मानिसले ग्राहाको मुखभित्र दाह्राको बीचमा रहेको मणिलाई जबर्जस्तीसाथ निकालेर ल्याउन सक्ला । ठूलाठूला छालद्वारा ढाकिएको समुद्रलाई पनि सजिलैसँग तर्न सक्ला अर्थात् महासागर पारि जान सक्ला । फूलमालालाई आफ्नो शिरमा झुण्डाएर राखेजस्तै गरी रिसाएको सर्पलाई पनि मस्तकमाथि झुण्डाई राख्न सक्ला । तर, मनभित्र दुराग्रह लिइरहने मूर्ख मानिसको मनलाई जित्न भने सक्दैन ।अर्थात् मूर्ख एवम् बदमासलाई जस्तोसुकै पराक्रमी तथा बलवान् व्यक्तिले पनि आफ्नो वशमा लिन वा नियन्त्रणमा राख्न सक्दैन ।

‘लभते सिकतासु त‌लमपि यत्नतः पीडयन्,

पिवेच्य मृगतृष्णकासु सलिलं पिपासार्दित:।

कदाचिदपि पर्यटञ्छशविषाणमासादयेत्,

न तु प्रतिनिविष्टमूर्खजन चित्तमाराधयेत्।।५।।’

अर्थात् मिहेनत साथ पेल्यो भने बरु बालुवाबाट तेल निस्किएला, प्यास लाग्यो भने मृगतृष्णाबाट समेत पानी निकालेर पिउन सकिएला, धेरै ठाउँ घुमेर खोज्दै गयो भने कतै कहीं खरायोको सिङ भेटिन सक्ला अर्थात् प्रयत्न गरिरह्यो भने असम्भव वस्तु पनि सम्भव हुन सक्ला परन्तु मनभित्र दुराग्रह लिइरहने मूर्ख मानिसको मनलाई जित्न भने कहिल्यै पनि सम्भव नहोला।

‘व्यालं बालमृणालतन्तुभिरसौ रोद्धुं समुज्जृम्भते

छेत्तुं वज्रमणिं शिरीषकुसुमप्रान्तेन सन्नह्यते।

मायुर्य मधुविन्दुना रचयितुं क्षाराम्बुधेरिहते

नेतुं वाञ्छति य: खलान्पथि सतां सूक्तै: सुधास्यन्दिभि:।।७।।’

अर्थात् जसले दुष्ट मानिसलाई शास्त्रोक्त ज्ञानगुनका कुरा गरेर कुमार्गबाट सुमार्गमा ल्याउन खोज्दछ , यस्तो गर्न खोज्नु कमलको रेसा /तन्तुले मात्तिएको वन हात्तीलाई बाँध्न खोज्नु समान हो । अथवा शिरीष फूलको टुप्पोले हीरालाई छेड्न वा काट्न खोज्नुजस्त‌ै पनि हो। साथै महको कण /कनिका हालेर समुद्रको नुनिलो पानीलाई गुलियो पार्न खोज्नु बराबर मानिएको छ ।

‘शक्यो वारयितुं जलेन हुतभुक् छत्त्रेण सूर्यातपो

नागेन्द्रो निशिताङ्कुशेन समदो दण्डेन गोगर्दभौ।

व्याधिर्भेषजसंग्रहैश्च विविधैर्मन्त्रप्रय‍गैर्विषं

सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम्।।११।।’

अर्थात् आग‍ोलाई पानी खन्याएर निभाउन सकिन्छ , छाताले घाम रोकिन्छ, मत्ताहात्तीलाई धारिलो अङ्कुशले नियन्त्रणमा लिइन्छ । गोरु र गधालाई लट्ठीले तह लगाइन्छ । ओखती सेवनद्वारा रोगीलाई निको पार्ने र विष लागेको बेला विभिन्न मन्त्रद्वारा विष झार्न सकिन्छ । यसरी सबैथोकको ओखती शास्त्रोक्त विधिबमोजिम हुन सक्तछ, तर मूर्ख व्यक्तिलाई तह लगाउन भने शास्त्रमा पनि कुनै व्यवस्था गरिएको छैन अर्थात् मूर्खका लागि कुनै ओखती नै हुँदैन ।

मूर्खलाई जति सजाय दिए पनि कुरा बुझाएर काममा लगाउन सकिँदैन तर बुद्धिमानलाई एउटै कुराबाट भन्न खोजेको कुरा सबै बुझाइ काम राम्रोसँग गराउन सकिन्छ । एउटा नेपाली उखान छ, यस तथ्यलाई सुनमा सुगन्धको भूमिका खेल्ने- ‘मूर्खलाई सय कोर्रा, बुद्धिमानलाई एक कुरा!’

‘वर पर्वतदुर्गेषु: भ्रान्तं वनचरै: सह।

न मूर्खजनसम्पर्क: सुरेन्द्रभवनेष्यपि।।१४।।’

अर्थात् वनमा रहने (वनचर) पशुपंछीका साथ पहाड- पहरा, कुनाकाप्चामा घुमफिर (बसोबास) गर्नु वेश हो। इन्द्रकै दरबार भए पनि त्यहाँ मूर्ख मानिससँगको सङ्गत , सम्पर्क ( उठ-बस) हुनु असल होइन ।

२. चाणक्य उवाच:

‘दुर्जनेषु वरं सर्पो न दुर्जनः ।।

सर्पो दशति कालेन दुर्जनस्तु पदे पदे।।’

(चाडक्य नीतिशास्त्र , अध्याय-३, श्लोक-४)

अर्थात् मूर्ख अर्थात् दुर्जन र सर्पमध्ये सर्पलाई नै धेरै ठीक ठान्नुपर्दछ किनकि सर्पले धेरै समयमा एकपटक डस्दछ। दुर्जनले भने पाइला पाइलामा डसिरहन्छ।
सर्पलाई जब हामीले कुल्चिन्छौँ, कारणवश सर्प हामीसँग डराउँछ तबमात्र सर्पले हामीलाई डस्दछ। हामीले सर्पलाई चलाएनौँ भने सर्पले हामीलाई केही गर्दैन तर दुर्जनलाई केही नगरे पनि डस्ने गर्दछ। त्यो पनि एकपटक होइन, बारम्बार।

‘मूर्खस्तु परिहर्तव्य: प्रत्यक्षे द्विपद: पशु: ।।

भिनत्ति वाक्यसूलेयेन अदृश्यं कण्टकं यथा।।’

(चाडक्य नीतिशास्त्र , अध्याय-३, श्लोक-७)

अर्थात् मूर्ख मानिसलाई दुईखुट्टे पशुझैं सम्झेर त्यागिदिनुपर्दछ किनकि गोडामा बिझेको काँढाले नदखिने गरी भित्र मासुमा घुसेपछि जसरी पीडा दिन्छ त्यसैगरी मूर्खले पनि वचनरूपी वाणले शूलीझैं गरी दुःखदर्दद्वारा पीडा दिइरहन्छ।

‘मुर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसज्जितम् ।।’

(अध्याय- ३, श्लोक-२१)

अर्थात् जहाँ मूर्खलाई बेवास्ता गरिन्छ वा ऊ सम्मानित हुँदैन , त्यहाँ धेरै अन्न सञ्चय हुन्छ, लक्ष्मी आफैँ आएर निवास गर्छन्।

३.विदुर उवाच:

‘अरूलाई गरि गाली जति आत्तिन्छ सज्जन।
त्यति अरू रुवाउँदा सन्तोष मान्छ दुर्जन।।

हेर्दैन आफू कस्तो छ भन्छ मूर्ख अरू कन ।
दोष दिन्छ सबैलाई लिन्न ज्ञान स्वयं कन ।।

विद्वान्सँग अविद्वान् र अफौजी फौजियासँग।
राजासँग अराजाको एकता छैन संभव ।।’

ऋषि ‘वसिष्ठ’ले त मूर्खलाई यसरी बुझेका छन्- जसरी सर्पका मुखमा परिराखेको भ्यागुतो माखालाई खान ताकिरहन्छ यसैगरी मूर्ख मानिस कालरूपी सर्पको मुखमा परेर विषय भोगको इच्छा गरिरहन्छ ।

‘गीता’को अध्याय-२ श्लोक -४१ मा ‘श्रीकृष्ण ‘ले ‘अर्जुन’लाई ‘गीताज्ञान’का क्रममा मूर्ख अर्थात् अस्थिर बुद्धि भएकाहरूलाई यसरी बुझाएका छन्:-

‘व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ! ।

बहुशाखा ह्यनन्ताश्च, बुद्धयोsव्यवसायिजाम्।।’

अर्थात्, हे कुरुनन्दन वा अर्जुन ! यस कर्मयोगमा व्यवसायात्मिका बुद्धि वा स्थिर बुद्धि वा सज्जनको बुद्धि

एउटै हुन्छ परन्तु अस्थिर बुद्धि भएका विवेकहीन सकाम मनुष्य वा दुर्जनका बुद्धिहरू भने निश्चय नै बहुभेदवाला र अनन्त हुन्छन् ।

जो मानिसले कार्य र अकार्यलाई निश्चित गर्न सक्दैन त्यो वासनारूपी भुमरीमा फँसिरहेको हुन्छ। ती जो यसरी अनेकौं वासनाहरूमा फँसेका हुन्छन् तिनीहरू नै हुन् मूर्ख र दुर्जन भनेका किनकि तिनीहरूमा सही र असही छुट्टयाउने विवेकै हुँदैन। विषयवासनाका कारण तिनीहरूले सहीलाई असही र असहीलाई सही भन्ने गर्छन्। तिनीहरूले कर्म र अकर्म भनेको के हो ? त्यो नै जान्दैनन् । र जान्नै चाहन्नन्। स्थिर बुद्धि हुनेवालाहरू धीर, संस्कारी अर्थात् कुलीन हुन्छन् ।

पछि कृष्णको यही उद्गारलाई ‘अल्बर्ट आइन्स्टाइन’ले आफ्नो भनाइमा यसप्रकार प्रष्ट पारेका थिए :-

“जगत्मा मात्रै दुइटा कुरा अनन्त छन्- ब्रह्माण्ड र मानिसको दुर्जनता वा मूर्खता ! यी दुई मध्ये मलाई पहिलोमा शङ्का छ।”

अर्थात् बरु अनन्त जगतको अन्त होला परन्तु मानिसको मूर्खताको वा शठताको वा बेवकुफीको अन्त कहीँ कहिल्यै कतै हुँदैन । अल्बर्ट आइन्स्टाइनको यो भनाइबाट उनी पनि मूर्खहरूको व्यवहारले निकै आजित भएका रहेछन् भन्ने बुझिन्छ।

यसरी कुनै पनि युगका कुनै पनि सज्जनहरू मूर्खहरूबाट प्रताडित नभएका कोही पनि थिएनन् भन्ने कुरा सिद्ध हुन्छ । जुन कुरा आज हामी सम्पूर्ण नेपालीले निहत्था भोग्नु परिरहेछ ।

वैज्ञानिकहरूले ब्रह्माण्डमा सबैभन्दा बढी पाइने ‘हाइड्रोजन’ तत्त्वलाई नै ब्रह्माण्डको आधारभूत निर्माण तत्त्वको रूपमा स्वीकार्छन् । ‘फ्र्याङ्क जप्पा’ ले यसै प्रसङ्गबाट मूर्खका लागि राम्रो बिम्ब बनाएका रहेछन् । उनी भन्छन्- मलाई वैज्ञानिकहरूको हाइड्रोजन ब्रह्माण्डको मुख्य निर्माणतत्त्व हो भन्ने कुरामा शङ्का छ किनकि ब्रह्माण्डमा हाइड्रोजनभन्दा धेरैगुनाले मूर्खता बढी छ, यसर्थ ब्रह्माण्डको मुख्य निर्माणतत्त्व हाइड्रोजन नभएर मानिसको मूर्खता हुनुपर्छ। यसैलाई ‘हार्लन एलिसन’ले अलि खुकुलो बनेर भनेका छन्- ब्रह्माण्डमा दुइटाकुरा निकै प्रशस्त छन् । ती हुन्- ‘हाइड्रोजन र मानिसको मूर्खता !’

के गर्नुहुन्छ र के गर्नुहुन्न भन्ने बुझ्नका लागि त विवेक चाहिन्छ । विवेक नै नभएपछि के गर्नुहुन्छ ? के गर्नुहुँदैन ? कसरी थाहा होस् ? विवेकहीनहरूले जे मन लाग्यो त्यही गर्छन् । उनीहरूलाई केही सोच्न , गर्न, भन्न कसैको आदेश चाहिन्न । उनीहरू कानुनको निर्देशनमा चले पो ! उल्टै कानुनलाई आफ्नो निर्देशनमा चलाउन खोज्छन् उनीहरू। उनीहरूका लागि कानुन केही होइन । अर्थात् कानुनको अर्थ उनीहरूका लागि अर्थै होइन । कानुनको भयले उनीहरू भयभीत हुने भए पो ! किनकि उनीहरूमा बुद्धि र विवेकको सट्टामा जहिले पनि घमण्ड र बलको मात्रै महत्त्वपूर्ण भूमिका हुन्छ । र त हाम्रो ‘लोकोक्ति’ ले प्रमाणित गरेको छ – ‘मूर्खको सभामा लात्तीको बढाबढ !’ जुनकुराको प्रमाण हामीले हाम्रो सांसदसभामा कुर्ची हानाहानबाट पाउन सकिन्छ ।

‘अन्ना लेमाइण्ड’ मानवीय मनोव्यवहारकी अध्येता हुन्। यस विषयको अध्ययनमा उनले निकै लामो समय बिताएकी छन्। अध्ययनको निष्कर्षमा उनले पनि मूर्खका प्रकृतिमा उस्तै कुरा बताएकी छन् :-

वर्तमान प्रविधिले मानिसका लागि नयाँ-नयाँ सुन्दर सुविधाहरू जस्तै- स्मार्टफोन, स्मार्टघडी, स्मार्टघर आदिको आविष्कार गरेतापनि मानिसहरूको मूर्खता भने ज्युँका त्युँ रहँदोरहेछ।

आफ्ना जनतालाई सम्बोधनका क्रममा ‘मार्क ट्वेन’ ले त्यसै किन फलाक्थे र – मूर्खहरूसँग वादविवाद कहिल्यै नगर्नु । यदि गर्यौ भने तिनीहरूले तिमीलाई पनि उनीहरूको आफ्नै अनुभवले टेकेको भुइँमा झार्छन् र उनीहरूका आफ्नै अनुभवका कोर्राले तिमीलाई चुट्नु चुट्छन् । यसैले दुर्जनलाई जानिसकेपछि तिनीहरूसँग दोहोरो कुरा बिर्सेर पनि नगर्नु।

के गर्नु ? हामीलाई त चौबीसै प्रहर यस्तैहरूसँग कुरा नगरी हुँदैन , उनीहरूलाई नसुनी हुँदैन । उनीहरूको यो वृत्तिको कतै सीमा भए पो ? यसैले उनीहरूले जे बोल्छन्, त्यसलाई हो हजुर भन्नैपर्छ। उनीहरू केही भन्नका लागि बोले पो ! उनीहरू त केही बोल्नका लागि भन्छन् !

परन्तु, हे दैव! नेपाल त ‘हिमवतखण्ड ‘मा अवस्थित देवभूमि हैन र ? यो भूमिमा त देवताहरू , ऋषिमुनिहरू र सज्जनहरूले शासन गर्नुपर्ने हैन र ? खोइ कता गए आज तिनीहरू ? किन लापत्ता भए ?