एकजना कविलाई ई. ई. जी. (Electroencephalography/MRA/MRI) मसिनमा लगाएर उनलाई कविता रच्न लगाएमा उनको मस्तिष्कभित्र चलिरहेका सक्रिय गतिविधिहरूलाई स्क्यान (scan) गर्न सकिन्छ । ती स्क्यान्ड (scanned) गतिविधिहरूलाई म्यापिङ (mapping) गरेर उनका भावना र विचारहरूका परिमाण (magnitude) समय र स्पेसभित्र पत्तो लगाउन सकिन्छ । ती परिमाण र सम्बन्धहरूलाई भिन्नभिन्न ध्वनि अनि रङ्गहरू दिएर वर्णन (describe) र व्याख्या (explain) गर्न सकिन्छ । त्यसरी गणितका समय र स्पेसद्वारा ती स्क्यान्ड ध्वनि र चित्रहरूद्वारा एउटा सजीवता (animation) तयार पार्न सकिन्छ ।
कविले रचेका कविताका भावना र अर्थहरू, उनले प्रयोग गरेका विभिन्न सन्दर्भ, अलङ्कार र छन्दहरू साथै कविताका विभिन्न बनावट, परिदृश्य, रङ्ग, स्वाद, प्रभाव अनि बलहरूलाई ती स्क्यान्ड अनि एनिमेटेड छायाहरूसित दाज्यौँ भने धेरै समानता पाउँछौँ ।
कविताका विभिन्न भाव, अनुभूति, अभिव्यक्ति र कविका मानसिक गतिविधिलाई गणितको सहायताले देखाउन सकिन्छ । कविले रचना (सिर्जना) गर्दा उनको मस्तिष्कमा हुने सक्रिय गतिविधिद्वारा स्पष्टिकरण (explanation) दिन सकिन्छ । यसरी मानिसबाहिरका वस्तुहरूका गतिविधि मात्र नभएर मानिसभित्रका शारीरिक र मानसिक गतिविधिहरूलाई गणितको प्रयोगद्वारा धेरै संक्षिप्त (concise) तरिकाले देखाउन सकिन्छ । यसरी गणितले जहिले पनि सङ्कुचन (precision) लाई जोड दिँदछ । यसलाई कविता बुझ्ने र कवितालाई मानव स्नायविक वा न्युरोलजिकल स्तरमा (neurological level) विज्ञानका प्रविधि र गणितको प्रयोगद्वारा बुझ्ने एउटा तरिका अथवा विधि मात्र हो ।
एउटा कुरा के बुझ्नुपर्छ भने मानिसबाहिरका प्रकृतिका वस्तु र घटनाहरूलगायत मानिसभित्रका शारीरिक गतिविधिहरू समयभित्रै हुन्छन् । समय र स्पेस गणितीय वास्तिविकता प्रतिनिधित भए तापनि बाहिरी जगतका प्रतिनिधिहरूसित मेल खाँदैनन् । शुद्ध अवधारणा र वस्तुहरू अमूर्त (abstract and pure) हुन्छन् र तिनीहरूलाई भौतिक वस्तु अथवा अनुभवबाट लिइँदैन बरु तिनीहरूलाई व्यावहारिक व्यवहारमा लिइन्छ । त्यसरी नै कविताको गणितीय विश्लेषण मस्तिष्कभित्रको अवस्थाबाट लिइन्छ (व्युत्पन्न हुन्छ) कारण कवि (मानिस) आफैँ समय र स्पेसभित्र भएको कारणले गर्दा उनको चेतना पनि समय र स्पेसभित्रै हुन्छ । कविका शरीर र चेतना छन् तर तिनीहरू समय र स्पेसमा छैनन् भन्न सकिँदैन । अनन्त समय र स्पेस मात्र नभएर उनीसित भौतिक र मानसिक स्वरूपहरू पनि समय र स्पेसमा अवस्थित हुन्छन् । समय र स्पेश मानव अन्तर्बोधका स्वरूपहरू हुन् । यिनीहरूलाई प्रत्यक्ष अनुभव होइन औपचारिक (स्वरूपीय) आभास मात्र गरिन्छ । जीवन, जगत, प्रकास, गति, ऊर्जा र अस्तित्वले ती समय र स्पेसलाई पूर्वानुमान (presuppose) गरिरहेका हुन्छन् ।
यसकारण मस्तिष्कभित्र नै गणित गर्न सक्छौँ । हामीबाहिरका सारा वस्तुहरू पहिले हाम्रा सहजबोध (अन्तर्बोध) र संवेदनशीलतालाई दिइन्छ, त्यसपछि सहजबोधका स्वरूपहरूबाट बुझाइलाई (चेतनालाई) । समय र स्पेस (सहजबोधका स्वरूपहरू) ले हाम्रा अनुभवजन्य र शुद्ध सहजबोधहरूलाई सम्भव बनाउँछन् । त्यसैले हुनसक्छ इम्यानुएल कान्टले आफ्नो क्रिटिक अफ प्योर रिजन नामक पुस्तकमा समय र स्पेस हाम्रो मस्तिष्कभित्र हुन्छ र ज्ञानका कुरा गर्दा ती दुईलाई कल्पनामा पनि भुल्न सकिँदैन भनेका छन् । समय र स्पेस गणितका सम्भवना हुन् । त्यसरी नै भारतीय दर्शनले स्पेस र समयलाई अनन्त चेतनासित दाँजेका छन् ।
कविभित्रको एउटा कविताका सामग्रीहरूको सृष्टि श्रृङ्खला समयको सक्सेसन (succession) मा हुन्छ । एकको पछि दुई र दुईको पछि तीन (अथवा एउटा स्पेसदेखि अर्को स्पेस) हुँदै कविता पूर्ण भएको हुन्छ । यही समय-उत्तराधिकारीको शुद्ध सिद्धान्तबाट गणितका एकाइको सुरुवात हुन्छ । यस्ता सिद्धान्तहरू बाहिरी वस्तु, घटना र वास्तविकतामा प्रयोग गर्न सकिन्छ । हाम्रा मुटुको ढुकढुकीको सक्सेसन अनि हामीभित्रको जैविक घडी समयका प्रकारहरू नै हुन् । यस प्रकारका समयहरू वस्तुको अस्तित्वसित जोडिएका हुन्छन् ।
कविता पढ्दा कुन प्रकारका अनुभूति र भावनाहरू उत्पन्न हुन्छन् मात्र नभएर कविता आउँदा कविका मस्तिष्कमा चलेका न्युरोलजिकल गतिविधिहरूको गणितले कविताको प्रभाव पाठकमा मात्र नभएर कवि आफैँमा पनि के कस्तो रहेको हुन्छ भन्ने कुरालाई व्यवस्थित रूपमा बुझ्न मद्दत गर्दछ । त्यसैकारण कविताको पाठकको न्युरोलजिकल अध्ययनले कविताको गणितलाई एउटा नयाँ आयाम मात्र नदिएर कविभित्रका कविता सिर्जना प्रक्रिया र महत्त्वलाई बुझ्न पनि मद्दत गर्दछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।