“नानी, तिम्रो बा के काम गर्छ ?”

“देउताको काम गर्छ ।”

पाँच वर्षकी मेरी छोरीसँग उसकी मास्टरनीले गरेको प्रश्नको सहज उत्तर ऊ दिन्छे । जसलाई मेरा व्यक्तिगत जीवनको अलिकति पनि ज्ञान छैन र जो मेरो साहित्यद्वारा मात्र मलाई चिन्दछन्, उनको मनमा झ्वाट्ट एउटा पुजारी अथवा एउटा पुरेतको रूप उम्रिन आउँछ होला । छोरीले असलमा, मेरो पसलमा अनेक भगवानका अनेक मूर्ति देखेकी छ । उसलाई के थाहा, भगवान्को काम गर्नु र भगवान्को मूर्ति बेच्नुमा कति फरक छ ।

शङ्कर लामिछाने

बालककाल पनि अनौठो हुन्छ । त्यस बेलाको भावना बगिरहने पानीजत्तिकै निर्मल हुन्छ । उमेर तथा अनुभवहरूले यो हाम्रो बहाउलाई छेकिदिन्छन् । मलाई सम्झना आइरहेछ, मेरी छोरीकै उमेरमा मैले आमाको पैसा कन्तुरबाट झिकेर कीर्तनको आरतीको थालीमा ओइरिदिएको थिएँ । यो पनि कुरा हो (!), सबै जना सधैँ थालीमा पैसा राख्छन्, आरतीउपर हत्केला सेकाउँछन् तथा प्यारसाथ आँखाउपर दल्छन् । मलाई भने कहिल्यै पैसा राख्ने अनुमति वा आदेश दिइएन, न मौका नै पर्न सक्यो । म मात्रै मान्छे होइन ? आमाको बाकसबाट भएभरको पैसा झिकेर म ओइरिदिन्छु थालमा ।

त्यस बेला जो कीर्तनमध्ये एक्कासि निस्तब्धताको एक विस्फोट भयो, त्यो त्यत्तिकै चर्को थियो, जत्तिको मैले घरमा चुटाइ खाँदा निकालेको स्वर थियो ।

र सायद अझ चर्को आर्तनाद मेरी आमाको मनमा गुन्जिरहेको थियो होला कैयन् समयसम्म, कम से कम मैले ओइरेको नोट र पैसाको क्षतिपूर्ति नभएसम्म । आज ईश्वरप्रति झल्काएको मेरो त्यो एक युग पुरानो श्रद्धाले के मलाई उनको मूर्ति बेचेर पाएको दुई पैसाको नाफाबाट जीवनयापन गर्ने व्यवसायप्रति क्षतिपूर्ति गर्दैन होला ?

त्यस बेलाको गहनता अथवा विषमता म आज आमाको उमेर नाघिसकेपछि आँक्न सक्छु । क्षयरोगबाट पीडित पतिपरित्यक्ता एक मास्टरनी थिइन्, एक मिडिल स्कुलमा । पढाएर आउने पैसाबाट आफू र छोराको खाना, कपडा, पथ्य, उपचार र भवितव्यबाट जोगाइराखेको त्यो चल सम्पत्तिजति एकैपटक स्वाहा हुँदा…! के समस्या पर्न गयो होला उनको सामु ! आफ्नो मृत्युको निमन्त्रणा प्रत्येक खकारमा आइरहेको बेला, पाँच वर्षको छोरो यो यत्रो भवसागर कसरी पार गर्ला भन्ने विचारबाट उनको मुटु चिमोटी खाइरहेको हुँदो हो । (जस्तो अहिले म कहिलकाहीँ चिमोटाइ पाउँछु !)

ईश्वर कतै छन् भने उनलाई मेरो उपहारभन्दा मेरी आमाको वेदनाबाट व्यथा भयो होला, यदि ईश्वलाई वेदना र व्यथा भन्ने वस्तुले छुन्छ भने ।

म जान्दछु, मेरी छोरीले भनेको कुरामा उसले जानेसम्मको सत्य छ । र सत्य भनेको के भने तिमीले जानेसम्मको ज्ञान हो, छोरी ।
पहिलोपटक आमाले आफ्नो जुठो खान नदिंदा मेरो चित्त कस्तो दुखेको थियो । पहिलोपटक आमाले मेरो ओछ्यान फरक पारिदिंदा म कति रोएको थिएँ । (आज म जान्दछु, ती काममा मप्रति कत्रो ठूलो शुभेच्छा र ममता रहेछ उनको-अहिलेसम्म नत्र म बाँचिरहेको हुने थिएँ र ?)

र अर्को कुरा, मेरी छोरी ! सत्य भनेको विकसित हुँदै जाने, बदलिरहने कुरा हो । (कतै पढेको छु, प्रत्येकपटक पर्ने हिउँमा ६ कुने डिजाइन भए पनि, आजसम्मन् डिजाइन दोहोरिएको छैन ।) प्रत्येकपटक सत्य उही भए पनि अलग हो । मैले पैसाको उपहार चढाउँदा ईश्वर मेरा निमित्त अरूप थिए । आज मैले प्रत्येकपटक मूर्ति बेच्ता ईश्वर रूपवान् छन् । बेच्नुअगि म उनलाई किन्छु । कुन पिरियडको शैली हो, त्यो बुझ्ने प्रयास गर्छु । सौन्दर्यको नापखोज गर्छु । र गर्छु वर्णन । र तौलिन्छु उनलाई, भएको मुनाफामा । मेरा निमित्त बुद्ध सिर्फ बुद्ध रहेनन्, त्यो बुद्ध जसले ईश्वर छैन भन्ने धर्म निकाले र जो स्वयम् ईश्वरमा परिणत भए, जसले पञ्चशील बनाए र जो शिलामा बदलिए । बुद्धलाई अढाई इन्ची बुद्ध र नौ इन्ची बुद्ध र सोह्र इन्ची बुद्ध र भूमिस्पर्शमुद्रा बुद्ध र ब्रोन्ज बुद्ध र मुकुटधारी बुद्धको रूपमा मात्र चिन्छु । म बुद्धलाई किनेको मोल चौध र बेच्ने मोल बीसमा मात्र चिन्छु । र, मैले भनेका यी कुरामा असत्यता पटक्क छैन ।

म जान्दिनँ, आजभन्दा बीच-पच्चीस वर्षपछि जब म समाप्त भइसकेको हुनेछु र जब आजको मेरो उमेरमा तिमी पुग्नेछौ, तिमीले पहिल्याएको सत्य कुन किसिमको हुनेछ ! तिम्रो बच्चाले कुनै एउटा कुरा गरिदिँदा, मैले मेरो जीवनका घटना झल्याँस्स सम्झेजस्तै तिमीले आफ्ना जीवनका घटना सम्झिनेछ्यौ, छैनौ । मलाई मेरी आमाको सम्झना आएजस्तै तिमीलाई यदाकदा तिम्रा पिताको सम्झना आउनेछ, छैन । तर यति कुरा चाहिँ पक्का हो- तिमीमा मेरो एक अंश मेरो अन्त्यपछि पनि बाँचिरहनेछ, त्यसरी नै जसरी ममा मेरा पूर्वजहरू निदाइरहेका छन् र कहिलेकाहीँ म उनलाई झकझकाई ब्युँझाइदिन्छु र कहिलेकाहीँ उनीहरू झकझकाई मलाई ब्युँझाइदिन्छन् ।

…मलाई सम्झना आइरहेछ, आमाको डायरी मेरो हातमा परेको घटना- उनको मृत्युको दश-बाह्र वर्षपछि । त्यसको प्रत्येक पानामा समाधिस्थ प्रत्येक वाक्य र प्रत्येक शब्द जुरमुराएर ब्युँझे र वर्षौंअगाडिका आमाका व्यथा र वेदनाको कोसेली बोकी मभित्र वास लिन आइपुगे । र सायद उमारिदिए उत्तिकै तीव्रता, जत्ति उनले भोगेकी थिइन् । उनको लेखाइमा नौलो शैली वा टेक्निक वा अभिव्यञ्जना थियो-थिएन, आज म सम्झन सक्तिनँ तर आजसम्म सम्झिरहने एउटै गुण थियो त्यसमा-अनुभूतिको तीव्रता । उनले त्यो अरूका निमित्त लेखेकी होइनन्, त्यसकारण त्यसमा अनावश्यक व्याख्या थिएन । उनले त्यो मेरे निमित्त पनि लेखेकी होइनन्, कारण त्यसमा उपदेश पटक्कै थिएन । (उनले त्यो किन लेखिन्, म बुझ्न सक्तिनँ । हुन सक्छ, त्यो आफूउपर परेको अन्याय विरुद्ध अरूप एवम् निराकार भविष्यप्रति गरेको एक उजुर थियो । त्यसो हो भने त्यो एक महान् र सफल साहित्य-रचना थियो । साहित्यको नत्र अर्थ के ?)

मैले त्यो डायरी जलाइदिएँ । कारण मभन्दा राम्रो पाठक त्यसको अरू थिएन र अरूको हातमा परेर त्यसको मर्यादा अपहेलित हुने मलाई डर भयो ।

कहिलेकाहीँ सोच्छु, डायरी नजलाएको भए पनि हुने थियो । यो कुरा त्यस्तै हो… मानौँ कहिलेकाहीँ मनमा झ्वाट्ट आउँछ, म काशीबाट काठमाडौँ नआएको भए ? “…भएको भए” भन्ने कुरामा धेरै सम्भावना छन् । मैले लेख्ने नगरेको भए ? अनुभूति निश्चय पनि मर्ने थिएन- अभिव्यक्ति तिखारिने थिएन । र आफूले गरेको र अरूले आफूप्रति गरेको कैयन् कार्यको म नापजोख गर्ने थिइनँ होला ।

जीवन एउटा थोक-व्यापार हुने थियो । र जीवनमा ससाना र मसिना घटनाहरू अनायास मूल्यवान् बनी आँखाको सामु देखापर्ने थिएनन् । म सफलता तथा असफलताको च्वाट्ट बैलेन्स-सिट निकाल्थेँ र प्रत्येक आर्थिक वर्षमा जीवन अर्कै हुने थियो ।

यो सब भएन र पो !

यो सब गरिनँ (वा गर्न सकिनँ !) र पो !

आज, वाहियात कुराले पनि छुन्छ । अरूलाई गरिएको, अरूले जबाफ दिएको प्रश्नोत्तरले पनि छुन्छ ।

र…!

यसरी छोइने भएर नै आस लाग्छ, स्पन्दन छ कताकता ! कताकता केही धुकधुकी बाँकी छ सायद, यही छ ‘देउताको काम’ हो कि मभित्र शेष रहन गएको ? जीवनप्रतिको सच्चा चाहनाको यो ढुकढुकी…!

यसको जबाफ भविष्यले सायद भन्ला…!

(शङ्कर लामिछानेकाे “एब्स्ट्र्याक्ट चिन्तन :प्याज”बाट)