साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मानिसको सबैभन्दा ठूलो शत्रु ‘रिस र ईर्ष्या’

 

समाजका हरेक व्यक्तिको सबैभन्दा ठूलो शत्रु, रिस र ईष्र्या हो । यसले समाजमा कसैको पनि हित गर्दैन । यी दुबै मानिसका लागि हानिकारक छन् । रिस र ईष्र्या दुबै सबैको हृदयमा रहेको हुन्छ । तर, रिसलाई घमण्ड र आक्रोसको प्रतीकका रूपमा मानिन्छ भने ईष्र्यालाई सजग र प्रेरणाको प्रतीकका रूपमा पनि लिन सकिन्छ । समाजमा जसले एक अर्काको रिस गर्दछ उसले कहिल्यै पनि प्रगति गर्न सक्दैन । तर ईष्र्या लिएर आफूभित्रको कमी कमजोरीलाई औंल्याउन सके हरेक व्यक्तिले आफूलाई अझ सजगता अपनाएर अग्रसर हुन सक्दछ । अनि, आफ्ना कमी–कमजोरीलाई सुधार गर्दै झन उन्नति र प्रगति गर्न सफल रहेको हुन्छ ।

नारायणप्रसाद न्यौपाने
bahulako diary small and inside post

रिस मानिसको डरलाग्दो शत्रु हो । यसको आवेगमा मानिसले के राम्रो र के नराम्रो केही पनि सोच्न सक्दैन । रिसले चुर भएको अवस्थामा कुनै पनि मानिस ठण्डा दिमागले सोच्न सक्दैन । आफ्ना अगाडि जताततै अन्धकार देखाइदिन्छ । को आफ्नो को पराई केही चिन्दैन । यसले हरेक मानिसको मस्तिष्कलाई नै खलल पु¥याएको हुन्छ । अनि व्यक्तिलाई अत्यन्तै बेचैन बनाएको हुन्छ । त्यसैले रिस उठ्यो भन्दैमा समाजको एक असल र सचेत व्यक्तिले आफ्नो रिसलाई देखाउनु हुँदैन । रिसलाई पैतालाले कुल्चिएर भित्रै दबाएर राख्न सक्नु पर्दछ । रिस देखाउनु भनेको अशान्त र आक्रोसमा आउनु हो । यसले कसैको पनि भलाई गर्न सक्दैन ।

हरेक कुनै पनि व्यक्तिभित्र रहेको रिस एक अर्कामाथि जाइलाग्ने खालको मानसिक प्रतिक्रिया हो । यसले समाजका कुनै पनि वर्गलाई फाइदा गर्दैन । जब मानिस आफूले भनेजस्तो नभएपछि रिसाउँछ, असन्तुष्ट रहन्छ । तब उसको मानसिक रुपमा मात्र नभई अनुहारमा समेत परिवर्तन हुन्छ । उसमा एक किसिमको डरलाग्दो स्वभाव देखिन्छ । यो अवस्थामा त्यस्तो व्यक्तिले पछिका लागि केही पनि सोच्नै सक्दैन र चाहदैन पनि । अनि के राम्रो के नराम्रो, के ठीक र के बेठीक, अनि को आफ्नो को पराई केही पनि छुट्याउन सक्दैन । अनि यस्तो अवस्थामा मानिसले जघन्य अपराधहरू पनि गर्न सक्दछ । सोच्दै नसोचेका र कल्पनै नगरेका घटनाहरू पनि घटाउन सक्दछ । त्यसैले रिस मानिसको ठूलो शत्रु हो, यसबाट बच्न र बचाउँन सक्नु पर्दछ ।

रिस उठ्नुको मूल कारण निराशा हो । हरेक व्यक्ति आ–आफ्नो कार्यमा लागेको हुन्छ । चिन्तनशील रहदै श्रम र पसिना पोखिरहेको हुन्छ । आफ्नो लक्ष्यमा पुग्नका लागि उसले अथक प्रयास गरेकै हुन्छ । अनि आफूले प्रयास गर्दागर्दै जुन खालको बाँधा अड्चन आउँछ र व्यक्ति असफल हुन पुग्दछ । अनि आफ्नो लक्ष्यमा पुग्न असफल भएको कुण्ठालाई उसले रिसद्वारा प्रकट गरेको हुन्छ । यस्तो रिस आफ्नो कमजोरीबाट भएमा आफैप्रति आक्रोसित भएको हुन्छ भने आफ्नो कार्यमा अरु कसैको बाधा अड्चनबाट भएको हो भने उक्त व्यक्तिप्रति नै रिस जगाएको हुन्छ ।

समाजका हरेक व्यक्तिमा रिसको भाव हुन्छ । कतिपय व्यक्तिले आफूभित्र रहेको त्यो रिसको भावलाई तुरन्त बाहिर प्रकट गर्न चाहदैनन् र भित्रभित्रै दबाएर राखेका हुन्छन् । अनि एक्लै भएको अवस्थामा निरास र कुण्ठित हुन पुग्दछन् । अनि, आफ्नो जीवनलाई संयमित बनाउन नसक्नेहरू शारीरिक रूपमा पनि कमजोर बनेका हुन्छन् । समाजमा त्यस्ता व्यक्तिले कसैलाई पनि दोष नदिई आफ्नो कमजोरीबाट आफैलाई हिनताबोध गर्न पुग्दछन् । अनि आफ्नो जीवनलाई नै बोझका रूपमा लिन पुग्छन् । जसलेगर्दा कहिलेकाही सोच्दै–नसोचेका घटनाहरू समेत घटाउँन पुग्दछन् ।

त्यसैगरी कसैले आफूभित्रको त्यो भावलाई तुरुन्तै अभिव्यक्त गर्न चाहन्छन् । आफ्नो खुबी, क्षमता र स्वभावलाई तुरुन्त देखाउँछन् । अनि आफ्नो कमजारी नहेरी अरूलाई मात्र दोष दिन्छन् । समाजमा यस्तो स्वभाव भएका व्यक्तिका साथी भाइहरू पनि अलिकम नै हुन्छन् । जसलाई कसैले पनि विश्वास गर्न सक्दैन । समाजमा त्यस्ता व्यक्तिलाई मूर्ख पनि भनिन्छ ।

जब मानिस आफूले समाजमा विभिन्न कार्यहरू गर्दा पनि सफल हुन सक्दैन, अनि ऊ निरास हुन थाल्छ । मानिस आफूले गरेका कार्यहरूमा निरास भएपछि सबभन्दा पहिला उसले आफ्नो कार्यमा बाधा अड्चन ल्याउने व्यक्तिमाथि जाइलाग्न थाल्दछ । त्यसबाट पनि ती बाधा अड्चनहरू हराएनन् । मानिसले छुटकारा पाउन सकेन भने त्यसले उसलाई अझ थप निरास बनाएको हुन्छ । अनि व्यक्ति आफैले आफै प्रति पनि रिस गर्न पुग्दछ र आफूलाई नै धिक्कार्न थाल्दछ । यसबाट व्यक्ति आफूले आफैलाई संयमित राख्न सक्दैन । अनि त्यो रिसको आवेगमा उसले आत्महत्या जस्ता घटनाहरू पनि घटाउन पुग्दछ । त्यसैले रिस हरेक मानिसलाई कमजोर बनाउने तत्व हो । यसबाट सधँै सजग रहन सक्नु पर्दछ ।

त्यसैगरी मानिसलाई अहित गर्ने अर्को तत्व हो ईष्र्या । मानिसलाई ईष्र्या पनि दुई कारणले हुने गर्दछ । जब कुनै पनि समाज वा संघ सस्थाबाट व्यक्ति आफूले पाउँदै आएको सुविधाबाट बञ्चित हुन चाहदैन । जब आफूले प्राप्त गर्न सक्दैन भने त्यसलाई अरू कसैले पनि प्राप्त गर्न नसकोस् भन्ने चाहन्छ । जब आफूले प्राप्त गर्न नसकेर अरुले त्यसलाई प्राप्त गर्न थाल्दछ । अनि, आफू त्यसबाट बञ्चित हुनु पर्दछ भने त्यसबेला उक्त व्यक्तिमा ईष्र्या पैदा हुन्छ । जस्तो पढ्ने विद्यार्थीका लागि कुनै बखत आफ्नो कक्षाकोठामा लिडरसीप (मनिटर) आफूले चलाइरहेको अवस्थाबाट अरुले लिदाको अवस्थामा होस् अथवा आफूले प्राप्त गरेको नतिजा, सम्मान र प्रतिष्ठालाई अरू कसैले प्राप्त गर्न थाल्यो, आफूलाई उछिनेर अगाडि बढ्यो भन्ने बोध हुन्छ त्यो अवस्थामा नै व्यक्तिमा ईष्र्या पैदा भएको हुन्छ । अनि यस्तो ईष्र्याबाट व्यक्तिले प्रेरणा पनि लिएको हुन्छ । जसले उसलाई आफ्नो कार्यप्रति अझ उत्साहित र मिहिनेती बन्नका लागि प्रेरित गरेको हुन्छ ।

भनिन्छ “ईख नभएको मानिस र विष नभएको सर्प” उस्तै हुन्छन् । जसरी मानव समाजमा सर्पको महत्व रहन गएको छ, त्यसैगरी एक सचेत व्यक्तिमा अरुले गरेका कार्यहरू प्रति ईख हुनु आवश्यक छ । यसले हरेक व्यक्तिलाई आफ्नो लक्ष्यमा पु¥याउँन ठूलो मद्यत गर्दछ । ईष्र्या कुनै पनि व्यक्ति विशेषले गरेको कार्यप्रति रहन्छ । अनि त्यसको भलो भन्दा पनि कुभलोको चाहना गरिन्छ । आफ्नो भन्दा कम उन्नति र प्रगति हुन सकोस् आफ्नो मात्र हित होस् अनि अरुको हानी नोक्सानी बढोस् भन्ने चाहना राखेको हुन्छ । त्यसैले हरेक समाजमा ईष्र्याले व्यक्तिलाई स्वार्थी बनाएको हुन्छ ।

समाजका हरेक व्यक्तिमा अरुलेभन्दा आफूले मात्र बढी गर्न सकूँ र राम्रो गर्न सकूँ भन्ने चाहना राख्नु राम्रो हो । यो भावना र चाहनाले व्यक्तिको साथसाथै समाजको पनि उन्नति र प्रगति भएको हुन्छ । जस्तो उदाहरणका लागि पढ्ने विद्यार्थीले आफ्नो कक्षा कोठामा प्रथम भएको विद्यार्थीलाई देखेर ईष्र्या गर्नेले स्वयं आफूलाई पनि प्रथम हुनका लागि प्रेरित गरेको हुन्छ । अनि, आफ्नो पढाइलाई पनि निरन्तर रुपमा अगाडि बढाएको हुन्छ । अनि, यस्तै विभिन्न किसिमका प्रतियोगितामा भाग लिने क्रममा पनि एकले अर्कोलाई उछिन्ने उत्प्रेरणा बढी जागृत गराएको हुँन्छ । यसले व्यक्तिको मात्र नभई विभिन्न संघ संस्था र समाजको पनि हित गरेको हुन्छ । यस्तो खालको ईष्र्यालाई रचनात्मक ईष्र्या भनिन्छ । त्यसैले समाजका हरेक व्यक्तिमा ईष्र्या होस् त रचनात्मक खालको हुन आवश्यक छ । न कि व्यक्तिवादी चिन्तनले समाजको हित हुन सक्दैन ।

समग्रमा समाजका हरेक व्यक्तिभित्र रिस र ईष्र्याको भावना रहेको हुन्छ । यो स्वभावले कसैको पनि हित र उन्नति गर्दैन । मानिस भित्रको रिस साह्रै खतरनाक हुन्छ । यसको प्रतिक्रिया बिनासकारी हुन्छ भने ईष्र्या त्यस्तो बिनासकारी हुँदैन । रिसलाई रचनात्मक रूपले उपयोगमा ल्याउन सकिदैन भने ईष्र्याको भावलाई रचनात्मक रूपमा उपयोग गर्न सकिन्छ । जसलेगर्दा समाजको एक सचेत नागरिकका लागि अरूले गरेको उन्नति र प्रगतिमा ईष्र्या गर्नु भनेको आफूले पनि त्यो भन्दा अझ बढी राम्रो गर्नुपर्छ भन्ने भावको बोध हुनु हो । यस्तो ईष्र्या सकारात्मक हो । यसले मानिसलाई प्रगति तर्फ उन्मुख हुन प्रेरित गर्दछ । त्यसैले रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो भने ईष्र्या मानिसको हरेक कार्यमा प्रेरित गर्ने प्रमुख तत्व हो । समाजका हरेक व्यक्ति यी दुवैबाट सधैँ सजग रहनु आवश्यक छ ।

प्रतिक्रिया
Loading...