जमैकामा आजभन्दा साठी वर्षअघि जन्मिएका कवि मार्क म्याकमोरिस र उनको कविता ‘द थट अभ द वल्र्ड’ लाई सम्झिरहेको छु अहिले । किन उनैलाई सम्झिनुपर्यो यो बेला भनेर प्रश्न उठ्न सक्छ । यसबेला त देशलाई सम्झिनु पर्ने हो । समय र सभ्यताका उत्तरवर्ती प्रपञ्चहरुलाई सम्झिनु पर्ने हो । माटोलाई सम्झिनु पर्ने हो । समाजलाई सम्झिनु पर्ने हो । यहीँको संस्कार र धर्मलाई सम्झिनु पर्ने हो । यहीँका सुन्दर फाँटहरु सम्झिनु पर्ने हो । नदीहरु, तलाउहरु, हिमालहरु सम्झिनु पर्ने हो । जाबाे एउटा आमापट्टिको न बाबुपट्टिको देशको एउटा रुञ्चे कविलाई किन सम्झिनु परेको होला ? देशका लाखौं समस्याहरु तेर्सिएका बेला तिनको चिन्तन नगरी जाबाे अफ्रिकाको एउटा कवि किन सम्झिरहेको ?

आज म तिनै सात समुद्र पारिका कविलाई सम्झिएर मेरो आफ्नै देश खोज्दै छु, आफ्नै देश पढ्दै छु । उनको कविता ‘थट अभ द वल्र्ड’ (दुनियाँको विचार) यस्तो छः

यही हो
कसरी देश खराब बन्दै जान्छ भनेर
कारणको केही मतलव छैन कसैलाई
गणतन्त्रको सामाजिक अनुशासन
भङ्ग भएको छ ।

पुराना दार्शनिकहरुले सोचे,
मधुर वचनले निकालेको कारणले
दुनियाँको बेथिति सच्चिन सक्छ ।
अझ भरपर्दो विश्वास त
कसैले मनमा लिएको एउटा शब्दले
संसार निर्माण गर्न सक्छ,
जब त्यो स्वार्थी सोचाइभन्दा पर जान्छ ।

यो दुनियाँले वास्तवमा
चेतनाको छाप्रो माथि उठाउँदै छ,
र त्यो संसारिक चेतना हो ।
चेतना बाहेक अर्को कुनै कुरा अमर छैन ।
यति लामो समय गरिएको
बहसको के अर्थ
यदि छ भन्ने हो भने?
बोलीको लच्छिन के हो ? दुनियाँ उठाउने ।

सोच्ने चेतना नभएको भ
यो संस्कारको कुनै अर्थ रहन्थ्यो ?
बहिर गुञ्जिने राजनैतिक चेतना
निरर्थक कथाका भ्यागुत्ता हुन्
रातभर ट्वार्र ट्वार्र गर्ने ।

भ्यागुताका गीत नभइदिएको भए विचार स्वर्गझैँ हुन्थ्यो । बोलीले सधैँ धोका दिएको भए यो दुनियाँ लाटो हुन्थ्यो अनि अन्धो हुन्थ्यो । एक पुराना कविले भित्तामा सहर छोड्ने कुरा लेखिन्, त्यसका थुप्रै कथा बनाइए । कला बनाइए । उनको

बाँस्काेटा धनञ्जय

हस्तलेखन र स्वतन्त्रता अनुयायी बने । काला अक्षरका बहुरुपी अर्थ बने । अँध्यारो हटाएर उज्यालोको कल्पना गरे ।
यस कविताले राजनीति र कलाको ताँदो उठाएको छ । सपना पस्केको छ । र आस्था ढलेको समय देखाएको छ । एउटा कविले हातको कुरा गर्न सक्छ । हातले लेखेका काला अक्षरको कुरा गर्न सक्छ । अँध्यारोको विकल्प उज्यालो भन्न सक्छ । तर उसले उज्यालोको विकल्प अँध्यारो कहिल्यै पनि भन्दैन ।

तर हामीले उल्टो पढ्यौँ, अनि उल्टै पढायौँ । कविता भनेको कल्पना हो भन्यौँ । कविता भनेको आनन्दको अस्त्र हो भन्यौँ । सुन्दरताको अभिव्ञ्जना हो भन्यौँ । पागलपना हो भन्यौँ । त्यति मात्रै भन्यौँ र कवितालाई अपाङ्ग बनाएर छोड्यौँ । मरणासन्न बनाएर राख्यौँ । मलाई विज्ञानमा स्नातक पढ्ने विद्ययार्थीले कक्षामा सोधे, ‘सर, हामी विज्ञानका विद्यार्थीले किन कविता पढ्ने ? किन साहित्य पढ्ने, जबकि त्यसले हामीलाई कहीँ पनि करिअर बनाउन मद्दत गर्दैन ?’

ती विद्यार्थीको कुनै गल्ती थिएन । गल्ती त ती शिक्षकहरुको थियो जसले कला र जीवनलाई कहीँ पनि जोड्न सकेनन् । र त्यहाँ सिकाउन पनि सकेनन् । मैले हाँसेर जवाफ दिएँ, ‘तिमी गाना किन सुन्छौ ? कविता र गाना एउटै हुन् । गाना अर्थात् गीतको सङ्गीत सुनिने गरिएको हुन्छ । तर कविताको सङ्गीत हृदयले मात्रै सुन्ने गरिएको हुन्छ ।’ त्यसपछि त्यो विषय सिद्धियो ।

हामीले कविता समयको रंग पढ्ने चक्षु हो भनेनौँ । सभ्यताका अवयवहरु देख्ने क्यामेरा हो भनेनौँ । चेतनाका आयामहरु पस्किने काला अक्षरहरु पनि भनेनौँ । यी सब काम कविताले गरिराखेको हुन्छ । तर भनेनौँ । हाम्रो स्पन्दन बोलिरहेको हुन्छ पनि भनेनौँ । हाम्रो कथा भनिरहेको हुन्छ पनि भनेनौँ । गायक बब डाइलनले नोबल साहित्य पुरस्कार कसरी पाए भन्ने हेक्का पनि राखेनौँ । कविता पढ्नु जीवन पढ्नु हो पनि भनेनौँ । समाज र सभ्यता पढ्नु हो पनि भनेनौँ ।

अहिले हामी अकल्पनीय पीडामा गुज्रिरहेका छौँ । यो समय अनुशासन भंगमा रमाएको छ । बेथिति बढ्नुलाई महान् भन्न थालेको छ । अनि हाम्रा सबैखाले विरासतहरु ढालेर रमाएको छ । हामीले न त हाम्रा अग्रजहरुको उपदेश मान्यौँ, न त तिनका शब्दको अर्थ बुझेर यो समयलाई रंगीन बनायौँ । न त यो स्वार्थी समयलाई पाता कसेर कोर्रा लगाउन सक्यौँ । अनि चेतनाशून्य भएर बहसमा उत्रियौँ ।

हामी आजका सबै खाले मिडियाका बहस कार्यक्रमलाई नियाल्ने हो भने ती अराजक छन्, भावशून्यता र विवेकशून्यताको उत्कर्षमा छन् । तिनका शब्दमा कुनै गहिराइ छैन । कुनै सत्यता छैन । ती बोल्छन्, सिर्फ बोल्नका लागि बोल्छन् । ती लेख्छन्, सिर्फ लेख्नका लागि लेख्छन् । यस्तै एक दिन मलाई मेरा एक जना मित्रले सोधे, ‘धनञ्जय, तँ लेखिरहन्छस् । कति यस्ता लेखहरु लेखिसकिस् । कति पटक रेडियो र टिभिमा बोलिसकिस् । केही भएको छ ? तैले लेखेर आजसम्म केही परिणाम आएको छ ? तेरो लेख कसले पढ्छ ? काम नपाएकाले पढ्छन् । लेख्दा र नलेख्दामा के फरक भयो ?’

ती मित्रले मेरो दुःख देखेर मप्रति सहानुभूति देखाएकोमा म हर्षित भएँ । आजसम्म पूर्णरुपमा हर्षित छु । आफैलाई फर्किएर हेरेँ । र प्रश्न गरेँ, ‘साँच्चै पो हो कि क्या हो ?’ तर फेरि सोचेँ, मानिसहरूको भावना घटेको हो त ? बरु मानिसका जीवनका आयामहरु पो परिवर्तन भए त ! किन आफैँलाई दोष थोपर्ने ? अनि यही बेला मैले बेलायती कवि डब्लु.एच. अडेनको अर्को कविता ‘अन द मेमोरि अफ डब्लु.बि.एच’ सम्झिन पुगेँ ।

आयरलैण्डलाई आफ्ना कविताहरुले जीवन्त बनाएका थिए यिट्सले आफ्ना कविताहरुको माध्यबाट । उनका कविताहरुले ब्यूँझाएको देश हो आयरल्याण्ड । उनका कविताहरुले पानी छर्केर अचाएको देश हो आयरल्याण्ड । उनका कविताहरुले सिँगारेको, र बेहुली बनाएको देश हो आयरल्याण्ड । त्यही भएर जीवित छँदै सबैभन्दा ठूलो सम्मान पाएका थिए उनले आफ्नो राष्ट्रबाट । उनलाई जनताले यति धेरै श्रद्धा गर्थे कि यो प्रकारको श्रद्धा कुनै पनि देशका कविले पाएका छैनन् ।

यति धेरै आफ्नो देशको धरोहर बनेर उभिएका उनका कविताहरुको त्यो रंगमञ्च पनि कम भयो भनेर यसरी देशको गरिमा र शिर उठाउने कविताहरुको इज्जत नभएको गुनासो पोखेर अडेनले उक्त कविताको रचना गरेका थिए ।

यो हेर्दा त माथि मार्क म्याकमोरिसको कविता कति सत्य रहेछ भन्ने उजागर हुन्छ । किनभने यो समयको श्रीपेच ‘थट अफ द वल्र्ड’ भनेको अनुशासनहीनता, स्वार्थ, पद, बेथिति, चेतनाविहीनता नै हो । यी सब कुरा शीरमा बोकेर हिँडेका मानिसहरुकै समय छ । यही हो यो समयको रङ्ग । र यसैको जीत छ । यसैको फलिफाप छ । यिनका ट्वार्रट्वार्रले कान थोत्रिएका छन् । आँखा टर्याइसकेका छन् । जिब्रो लटपटिएको छ । चेतना मरणासन्न भएर ढलेको छ । अर्थात् सबै इन्द्रियहरु निर्जीव छन् । अचल छन् । प्राणविहीन छन् ।

अनि त्यही भएर बेथितिको यो समय श्रीपेच बनेको छ । शक्ति बनेको छ ।

अनि त आज म भन्न मन गरिरहेको छु — आज यो दुनियाँमा अमर कोही छन् भने तिनै रङ्गकर्मीहरू छन्, कवि र लेखकहरू छन् । सिर्जनशीलता र कल्पना गर्ने, भाषासँग खेल्ने अकल्पनीय शक्ति छ भने तिनै रुञ्चेहरुसँगै छ । ती रुञ्चे भनेका कविहरु हुन् । अनि तिनै कालजयी छन् । अमर छन् । नत्र वेद, महाभारत, रामायण, कुरान, बाइवलका रचानाकार कसरी अमर हुन्थे ? अनि होमर, सोफोक्लीज, चौसर, सेक्सपियर, देवकोटा, पौड्याल, सम आदिलाई किन सम्झिनुपथ्र्यो ? अनि किन तिनीहरुका कविता यो पृथ्वी ग्रहका हरेक शिक्षालयमा पढाइहुन्थ्यो ? र ती किन अमर हुन्थे ? अनि सेक्सपियरले आफ्नी प्रेमिकालाई ‘मेरा यी कविताका हरफहरू यो धर्तीमा जीवित रहेसम्म तिमी जीवित रहनेछौ ।’ अर्थात् आज कयौं शताब्दीपछि पनि उनकी प्रेमिकालाई पढिरहेका छौँ । सम्झिरहकेका छौँ । चिरञ्जीवी बनाइरहेका छौँ ।

ट्वार्रट्वार्र सुनेर, सुनाएर अमर हुने कल्पना हामी गरिरहेका छौँ । भ्यागुताका ट्वार्रट्वार्रले हामी समाज बदल्न खोजिरहेछौँ । देश बनाउन खोजिरहेछौँ । सभ्यता जोगाउन खोजिरहेछौँ । त्यो सिर्फ आवाजबिनाको आवाज घोकेर घोकाएर समय गुजारिरहेका छौँ । आवाजबिनाको आवाजको चाह गरिरहेका छौँ । र राजनीतिका ट्वार्रट्वार्र कान फुटुञ्जेल सुनिरहेछौँ । यो समयको यही श्रीपेच बोकेर हामी हरपल बाँचिरहेछौँ । टाँसिरहेछाैँ । भाग्ने ठाउँ कतै छैन ।