साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ढुङ्गा पाे भएछु अचेल

निबन्ध

ढुंगा पो भइएछ अचेल! ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि भइदिएँ ढुंगामा अनुवाद!
ढुंगाको मुड्को उभेर ढुंगाका हात खुट्टा टेकेर, ढुंगाकै मन र मुटु राखेर, ढुंगाकै निर्जीव मस्तिष्क बाँचेर, खै म कसरी बनुँला मानवजस्तो प्रेमिल?
यो कोलाज ढुंगाहरूको, चुपचाप-चुपचाप बहन्छ। ढुंगाहरूको स्पर्धा शान्त र स्वर्णिम छ।
म नितान्त अनास्थामा गरमगरम हिँड्ने बबुरो आज कसरी भएँ आस्थाको ढुंगो? आफ्नै छायाँहरू पनि विरानो लाग्न थाल्यो। मोहमा नबाँधिएको यो मेरो विश्व कसरी बाँधियो मोहको लठ्ठो–साङ्लोमा?
-म सपनामा छु या विपनामा?
म सोच्छु, सोच्दै जान्छु। मेरा चाउँरिदै गएका मगजका तन्तुहरू निष्कृय नहोऊन्। सोच्न छोड्ने हो भने यो दिमाग पनि बेकामी फलाममा खिया लागेझैँ फलाम भुक्तानी हुँदै जान्छ।
यो जीवनको पर्खाइको क्रम सासौँदो राख्नु छ। जीवित राख्नु छ। ज्वाज्वाल्यमान र तम्तयार राख्नु छ। यो पर्सिदै गएको जीवनको अंश रंगाउनु छ आफैँ।
यो लखेट्याइमा कति दिन भाग्नु पर्ने हो, भागिरहनु पर्ने हो? जीवनको धुन रहेसम्म बाँसुरीमा फुकिरहने हो एउटा नयाँ लय। मृत्युले नछक्याएसम्म यो एक त्यान्द्रो घामसँग खेलिरहने हो –कपर्दी र यो शान्त जूनसँग गाइरहने हो प्रेमको गीत।
म ढुंगो बाँचे भने पनि म ‘देशेमरुझ्याको प्वालबाट चिहाइरहने छु उत्सवहरूको महोत्सव।’
चिहाउनु र चिहाइरहनु पनि गतिशीलताको द्योतक नै त हो। ढुंगाहरू पनि स्थिर होइन, अस्थिर हुनु पर्दछ, चलमलाउनु, झलमलाउनु, सल्वलाउनु र खल्बलाउनु पर्दछ। ढुंगाले पनि देख्नु पर्दछ सपना नौरंगी।
समय धेरै भयो जब म ढुंगा भएर बाँचे, बाँच्नुको एउटा नवीन उपक्रम रहेछ त्यो।
आज म देख्दिनँ तिम्रा चिसा परेला। सुन्दिनँ तिम्रा मृत राग। हो, म छाम्न सक्दिनँ तिम्रो उमेरको उच्छवास। म ढुंगा भएछु- ढुंगा।
ढुंगा निर्जीव, निष्प्राण। म पनि भएँ निर्जीव र निष्प्राण, उत्प्रान्त म ढुंगा नै भएँ। संसारका सम्पूर्ण ढुंगाहरूमा मेरो आस्थार्पण।
निष्प्राण र निर्जीव ढुंगाहरूमा सम्मानार्पण। म आफ्नो अन्तिम अस्तित्व ढुंगाका गिर्खाहरूमा छामिरहेछु।
– आडम्बर, भ्रम, झूट र छद्म रूप बोकेर बाँच्नुभन्दा म रूपान्तरण भैदिएँ ढुंगामा।
म मानिस उदांगिएर ‘मान्छे’ बाँच्न सकिनँ। म बुख्याँचा अस्तित्वबाट उठेर ढुंगा जीवन बाँच्न विवश भएँ। बेकारको फुक्दै नफुक्ने निस्वासको गजुल्टो बाँच्नुभन्दा निर्जीव भैदिनु बेश।
म देवकोटाझैँ- ‘उडी छुनु चन्द्र एक’ लेख्न असमर्थ छु। भूपिझैँ ‘चोकमा सब थोक’ देख्न असमर्थ छु। मसँग बिपी कोइरालाझैँ कथामा सिपी खोज्ने तागत छैन। न कि लेखनाथमाझैँ ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’ भन्ने नैतिक बल नै छ।
मैले एक्काइसौँ सदीको निर्बलियो लुते मानव भएर ‘बर्थ डे केक’ काट्नु छैन। स्वार्थको अनन्त गुजुल्टाहरूमा च्याँखे थापेर मानवताको हुर्मत काढ्नु छैन। मैले आफूभित्रको मानवता जिउँदै जलाउनु छैन। ढाँट्ढुँट गरेर कसैको आस्था भत्काउनु छैन। सग्ला मनहरू भाँच्नु छैन।
बरु, मानवतामा हिलो छ्यापेर बाँच्नुभन्दा ढुंगा हुनु वेश– ढुंगा!
– म भीरको एउटा ढुंगा हुन चाहन्छु।
– म तीरको एउटा ढुंगा हुन चाहन्छु।
भीरको हुँ या तीरको ढुंगा नै बाँच्न चाहन्छु। म मन्दिरको हुँ या मस्जिद या हुँ चैत्य वा चर्चको, केवल ढुंगा नै बन्न चाहन्छु।
– मेरो मस्तिष्क ढुंगाकै होस्।
– मेरो मन/मुटु ढुंगाकै होस्।
– मेरो हाडाछाला/मासु ढुंगाकै होस्।
– मेरो इन्द्रीय/अनेन्द्रीय ढुंगाकै होस्।
अर्थात्, हुँ म सम्पूर्णस्वरूप ढुंगाको। हावाले फूलको सुवास टिपेरे वेग मारोस्, सूर्यले पुलुक्क पृथ्वी चिहाओस्, फूलले प्रेमको सपना देखोस् या जूनले रातको सन्नाटामा प्रेमको महफिल जमाओस्। उफ! म जीवनका सम्पूर्ण अन्तराहरूबाट सुदूर हुनेछु र बन्नेछु– ढुंगो।
– जीवन त ढुंगाको पो सही। ढुंगाको कुनै सपना हुँदैन। ढुंगाको कुनै ईर्ष्या, लोभ र मोह हुँदैन।
– ढुंगा–ढुंगाबीच चल्दैन आपसी द्वन्द्व। ढुंगा ढुंगीबीच चल्दैन साम्प्रदायिक लफडाबाजी।
ढुंगा नै हो ईश्वर! ईश्वर पनि त सदियौंदेखि ढुंगा नै भएको छ, मौन-मौन र चुपचाप-चुपचाप हेरिरहेकै छ ढुंगाकै आँखाहरूबाट यी सबथोक।
– ईश्वरको अनुहार र ढुंगाको अनुहारमा छैन तात्विक अन्तर! ढुंगा हामीले मानेको ईश्वर पनि हो।
दार्शनिक नित्सेले उहिल्यै घोषणा गरेको ‘ईश्वरको मृत्युको घोषणा’ यतिबेला अर्थपूर्ण लागेको छ। यहाँनेर आइपुग्दा एउटा गजब संयोग जुरेको छ। मानिसबाट निरन्तर संवेदना झरेर/चोइटिएर/उछिट्टिएर/फूक्लिएर/ खिइएर/जलेर ढुंगामा परिणत हुँदैछ। ढुंगा भएपछि मानव, म कहाँ सग्लो मानव बाँच्न सक्छु र?
– मानव ढुंगा हुनुमा पनि त अथक् प्रयास छ। वर्षौँदेखि मानव हुनुबाट भागेर, लुकेर, काँपेर भएको हो – मानवढुंगा।
जब मानिस जड बन्छ, ऊ ढुंगो सिवाय केही हुन्न। जहाँ वय/विचार/चिन्तन मनन र समन्वय मृतप्राय: हुन्छ। सरल र सहजपन नै मानिसको उत्कृष्ट उपहार हो। मानिस–मानिसबीच अन्तरंग संवाद हुन सक्नु पर्दछ। विचार/सिद्धान्त/वाद/दृष्टिकोण केवल मानव मात्रले विनिमय गर्न सक्दछ। मानिस नै त हुन्, मानिसका मनमस्तिष्कमा अन्तहीन रंग उत्पन्न गर्न सक्ने। आखिर हार्दिक प्राणी त मानिस नै हुन्।
मानिसले, मानिस मात्रको प्लेकार्ड झुण्ड्याएर हिँड्नु हुन्न भन्ने लाग्छ। किमार्थ बन्नु हुन्न मान्छे रोबर्ट, यद्यपि म बनेँ ढुंगा! कस्तो अनर्थ हो यो– जो गतिशील मानवताको कुरा गर्छ, उही ढुंगाको कल्पना गर्दछ, अचम्म मान्दो हो लोक।
यतिबेला लाग्छ मेरा आँखाहरूमा कुनै आलोक छैन। मात्र चिसा जड खोपिल्टा भएका छन्। मन छैन–ढुंगा भएको छ। यी आँखा, मुख, नाक, कान वा मुस्कान केवल कसैका सुन्दर कला मात्र हुन्, कलाका लागि मात्र बनाइएका हामी केवल फाइन आर्ट हौँ या हौँ स्मृतिमा उभ्याइएका शालिकहरू!
शालिक पनि निक्कै गरुंगो जीवन बाँच्छ बरु, चोक–चोकमा उभिएका यी शालिकहरू पनि जीवन बोकेर उभिएझैँ लाग्छन्। यिनीहरूमा छ बरु एउटा विशिष्ट आत्मा।
म उडेका चराहरू हेर्छु, कति स्वन्त्र र सजीव छन्। आफ्नै घरको खैरे कुकुरको जवानी हेर्छु कति मस्तिको छ। मध्यरातमा जूनको उज्यालो आकाशबाट मेरो ओछ्यानसम्म आइपुग्छ। मसँगै रहन्छ धेरै समय। आहा! कति जीवन्त छ जून। यो शाश्वत सत्यलाई स्वीकार्छु– धत् म किन र के कारण बने ढुंगा? प्रश्न गर्छु निरन्तर आफैँलाई। घुम्छ टाउको ब्रह्माण्ड घुमेझैँ फनफन।
म धेरैपटक वा कैयौँ घण्टा वा कैयौँ वर्षदेखि टोलाइरहेको छु। यो प्रश्न भित्रको विशाल सुरुङमा। मैले यो ब्रह्माण्ड धेरै बुझेको छैन। सायद मेरो यो (थोरै जिबीको मेमोरी पावर) मस्तिष्कमा निरन्तर खाइरहेको हुनुपर्छ भाइरसले। बडो विस्मय छ यो ढुंगो मनसँग। म मात्र कसरी भएँ ढुंगो या यो सम्पूर्ण ब्रह्माण्डका कोटी–कोटी मानिस नै बने ढुंगो? सबैमा देख्छु, मेरै नियति। उस्तै छ चालढाल, उस्तै छ आनीबानी, उस्तै छ रंगरूप। त्यसैले म सगर्व घोषणा गर्छु- हामी ढुंगो हौँ। हामी थोरै मानव र धेरै ढुंगो अर्थात् जड भएका छौँ।
– हामी एक पेट अर्नी र थोरै धन दौलतभन्दा कत्तिमाथि छौँ, कत्तिमाथि तथापि स्वयं किन लालायित छौं निष्प्राण ढुंगो बन्न?
– ढुंगो मानिसको लय हुँदै होइन।
– ढुंगो मानिसको व्याकरण हुँदै होइन।
– ढुंगो मानिसको मेरुदण्ड हुँदै होइन।
चोरेर यी अनुहारहरू ढुंगो मुस्कुराइरहेछ। हामी लज्जावती झारझैँ लुकाइरहेछौँ ढुंगाको अनुहार। समयको वैशाखी टेकेर चिप्लिरहेछ मानवता। यी मानिसका उदास दिन, महिनामा बगिरहेछ नदीको संगीत। यति बेला हरेक मानिस भएको छ ढुंगामा रूपान्तरण।
असमय किन बनिरहेछ मानिस ढुंगा? ओ! प्रियतमा अब कसरी गरुँ तिमीलाई प्रेम? ढुंगाकै मनले, ढुंगाकै आँखाले वा ढुंगाको स्पर्शले … । बोल किन चुपचाप बन्छौं तिमी ढुंगा।
ढुंगाको पनि बेग्लै छ, अस्तित्व। संसारमा मानिस ढुंगामा रूपान्तरण हुनु र ढुंगा–क्रमश: मानवतामा प्रवेश गर्नु कस्तो संयोग हो यो?
विपना पनि सपनाझैँ लाग्छ आज। आफैँलाई चिटिक्क चिमोट्छु, म सपनामा त छैन। सपनामा बाँच्न कति दिन सकिएला! भो म विपना नै चाहन्छु। म मानिस नै हुन्छु। ढुंगा निर्जीव र निष्प्राण हुन्छ। अहँ, म पटक्कै भोग्ने छैन ढुंगाजीवन।
यो अन्यमनष्क जीवन कतिञ्जेल बाँच्नु, मानवबिना मेरो विकल्प म कदापि सोच्नै सक्दिनँ।
म मानव हुँ, म मानव संस्करण नै बाँच्न चाहन्छु।
ए, ढुंगाको संवेदना शून्य ईश्वर! मलाई मानिस बनाऊ, मानिस। म तिमीझैँ निरीह बाँच्न चाहन्न।

 

सम्बन्धित पोस्टहरु

झुले-२ दोलखा

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...