वरिपरि विभिन्न भाकाका तिज गीतहरु घन्किरहेछन्। अनि याद दिलाइरहेछन् बालापनको तिज । हुन त बालापनका धेरै यादहरु यतिबिध्न मिठा हुन्छन् जो बारम्बार स्मृतिमा ल्याइरहन मनपर्छ । हुन त कयौं तिता नमिठा अभाव र सङ्घर्षका यादहरु पनि हुनसक्छन् केटाकेटी हुँदा, तर पनि प्रायःजसो केटाकेटी अवस्थामा चाडबाडमा हुने उल्लास र खुसी असिमित हुन्थ्यो।

विशेषत: तिजलाई सम्झदा याद आउने भनेकै दर खाने भनेर मध्यरातमा जबरजस्ती उठाएर हजुरआमाले खुवाउने तातो खिर र घिरौँलाको तरकारी नै हो। हामीले सधैं शाकाहारी दर खान्थौँ, सायद व्रत बस्ने सबैले शाकाहारी नै खानुहुन्थो दरको रुपमा।

भोलिपल्ट तिजको दिनभरि पतिको माया नपाएको विरह, सासू नन्द अमाजुबाट पाएका अपमान, विभेदकारी संस्कार र दाइजो जस्ता कुप्रथाको बिद्रोह, अनि विभिन्न थिचोमिचो सहेर पनि अघि बड्ने साहस समेटिएका प्रत्यक्ष गाइएका गीतहरु।

साँझ मन्दिरमा शिवजीको पूजा आरती गरिसकेर टीका लगाएर पाइने दक्षिणा ।

शोभा लामिछाने

गणेश चौँथीको दिन बिहानै दतिवन सँगाल्ने हतार, ढिलो उठे त कहिलेकाहीँ जोगाएर राखेको कान्लाको दतिवनको पुरै झ्याङ नै गायब हुन्थ्यो, एकजनालाइ एक्काइस दतिवनका एक्काइसवटै मुठा । जम्माजम्मी चारसय एकचालिस टुक्रा दतिवन एकजनाको भागमा तयार जो पार्नुपर्थ्यो।

पञ्चमीको दिन बिहान झिसमिसे नहुँदै लाइट बालेर दतिवन खान खोलामा जाने लस्कर। मलाई भने छिमेकीको गोठमा गाईको गहुँत थाप्ने र चोखो, जल, दही तिल लिएर खोलाको छेउमा बस्ने जिम्मा हुन्थ्यो । म सधैं चोखो र गहुँत लिएर दतिवन खाइसकेर आएका दिदी आमाहरुलाई हातमा छर्किदिन्थेँ, उहाँहरूले मेरो तामाको कलसमा दक्षिणा ‘सुका, मोहोर, एक रुपैयाँ ‘ खसालिदिनुहुन्थ्यो । त्यसपछि रातो सारीमा सजिएर बुढी हजुरआमाहरु समेत उफ्री उफ्री नाच्ने गित घन्किन्थ्यो।

“सुन्तलाको हाँगा र बिँगा, टुप्पै बस्यो जुरेली नि बरिलै, टुप्पै बस्यो जुरेली। त्यहीमा जुरेलीमै मारी ल्याँउछु, ल्याउ ल्याउ भाउजू गुलेली नि बरिलै, ल्याउ ल्याउ भाउजू गुलेली”

मेरा लागि तिज एउटै कारणले विशेष हुन्थ्यो, तिजको दिन बिहान बेलुकी सबैजनाले कन्या भनेर दिने “दक्षिणा”। चर्को घाममा तिज गीतमा नाचेको हेर्दै हामी केटाकेटी त्यही दक्षिणा खर्च गरेर अघाइन्जेल बरफ खान्थ्यौँ।

वर्षको एकपटक आमाले पनि नमागिकनै एउटा फ्रुटी किनेर खुवाउनु हुन्थ्यो तिजमा मात्रै । मैले तिजमा फ्रुटी खाने, दशैँमा चाउचाउ खाने अनि तिहारको दक्षिणाले चिजबल खाने नियम बनाएकी थिएँ । त्यहीअनुसार पालना पनि गर्थें । खाजाको लागि पैसा दिने चलन थिएन, चिउरा मकै भटमास इत्यादि नै खाने चलन थियो । हामीलाई चाउचाउ, चिजबल्स, चिसो, खाने अवसर पाउन ठुलो चाड नै आउनुपर्थ्यो ।

तिजमा प्रायः वर्षभरि घटेका अपराधका कथाहरुका पनि गीत बनाएर गाइन्थ्यो, कसले दाइजोको लागि जल्नुपर्यो, कसले छोरा नपाएर सौता बेहोर्नुपर्यो इत्यादि । बाढी पहिरोले घरखेत लगेका, साहुको ऋणले घरबारबिहिन भएका, बेचिएका चेली एच आइभी एड्स रोग लागेर थलिएका जस्ता समाजका दुख पीडा, प्रकोपका गीतहरु पनि गाइन्थे । प्रतियोगिता पनि हुन्थे । हाम्री आमाले लेखेको गीत अक्सर पुरस्कृत हुन्थ्यो । आमा स्नातक उतीर्ण गरेर शिक्षण पेशामा हुनुहुन्थ्यो । प्रायः क्रान्तिकारी विद्रोही वा नारी शक्ति प्रोत्साहन गर्ने विषयमा लेख्नुहुन्थ्यो।

मलाई एक टुक्का याद छ –

“सगरमाथा चढेनन् कि जहाजमा गुडेनन्,
मौका पाउँदा नारीले के के गरेनन् ।”

हाम्री ठुलीआमा प्रायः बिरहका गीत गाउनुहुन्थ्यो –

“कुन जुनीका पापले छोरा हुन पाइएन,
यति कुरा भन्देउ शिव अरु चाहिएन ।”

आमाका र ठुलीआमाका गीतहरुमा ठुलो बिरोधाभाष पाउँथेँ म ।

ठुलीआमाको गीतले आफू छोरी भएकोमा, कताकता अदृश्य त्रास पैदा हुन्थ्यो, कतै मेरो पनि हारेको जुनी त होइन ? फेरि आमाको गीतले तत्काल चित्त बुझाउँथेँ, मौका पाए नारीले सबै काम गर्न सक्छन् । नारी पनि कमजोर हैनन्।

अहिले प्रौढ अवस्थामा आइपुग्दा नारी जीवन आफैंमा शक्ति र सामर्थ्यले सम्पन्न जीवन रहेछ जस्तो लाग्छ । गर्भावस्थापछिको भारी जिउ र अनिँदा रातहरुले कहिलेकाहीँ नारी भएकोमा तिक्तता महसुस गराउँथ्यो । पुरुष हुन पाए “आनन्द”को जीवन हुन्थ्यो झैं लाग्थ्यो । तर पनि विभिन्न जिम्मेवारी र पारिवारिक बाध्यतामा फसेका पुरुषहरुको जीवन पनि “चरि जेलैमा” भनेझैं निरश र विवश देखेर आफैंमा नारी हुनुको गौरव जाग्थ्यो।

समयक्रमसँगै बालापनको त्यो तिजको उद्देश्य परिवर्तन हुँदै जाँदोरहेछ। म हुर्केपछि, दक्षिणा पाउने र बरफ अनि फ्रुटी खानेबाट, दतिवन खाने, भुड्की पुजा गर्ने, ऋषिपूजा गर्ने, राम्रो सारी लगाउने, मीठो मीठो दर खाने र मज्जाले गीत बजाएर नाच्ने । बिस्तारै मगजमा वैज्ञानिक र आधुनिक बन्ने लहड पैदा भयो, दैनिक दाँत ब्रस गर्ने भएपछि किन खाने दतिवन ? दतिवन छोडियो। रजस्वला नियमित प्राकृतिक प्रकृया हो, यसलाई पाप हो भनेर यसबाट मुक्ति पाउन गरिने ऋषिपूजा बहिष्कृत हुन थाल्यो। अन्तत: अब तिजको उद्देश्य मिठो खाने, राम्रो सारी लगाउने, र नाच्ने मात्रै हुन थाल्यो। चौरमा बसेर आफैंले गीत गाउन छाडियो, घरमै साउन्ड सिस्टम बजाउने चलन आयो । खुब नाचियो अनि रमाइयो, खाइयो अनि खुवाइयो ।

जीवनको चौँथो दशकमा यात्रा गरिरहँदा, शारीरिक कमजोरी र दीर्घरोगहरुले जकडिएको बेला फेरि तिजको उत्साह पहिलेझैं नहुने रहेछ । न त उफ्रेर नाच्न सकिन्छ, न त अत्याधिक मिठो खाएर पच्न नै । तर पनि तिनै यादहरुलाई ताजा बनाउँदै, बहिनी छोरीहरु रमाइ रमाइ नाचेको हेर्दा मन आनन्दित हुन्छ । टि भि र मोबाइलमा निरन्तर बजिरहेका कर्णप्रिय गितहरु, ताल मिलाइ मिलाइ नाचेका भिडियोहरु हेर्दा मन तरङ्गीत हुने गर्छ । अनि सकि-नसकी नाच्न थालिन्छ, भलै बेलुका खुट्टा दुखेर तेलमालिस गर्न किन नपरोस् ।

चाडपर्व मनाउने तरिका परिवर्तन भएका छन्, तर पनि यिनै चाडपर्व छन् र जीवनमा उल्लास छ । खुसी हुने, भेटघाट हुने बहाना छ । धेरै खर्चिलो र भड्किलो शैली हटाउँदै स्वच्छतापूर्वक मनाउन सके यिनै चाडपर्व हाम्रा खुसीका अमूल्य स्रोत र जीवन जिउने ऊर्जा बन्नेछन् । हरितालिका तिजको दिन, श्री महादेवलाई नै पतिको रुपमा पाउन व्रत बसेर, “आफ्ना चाहनालाई साकार पार्न मेहनत र लगन सहितको तपस्या आवश्यक हुन्छ” भन्ने पाठ सिकाउने देवी “पार्वती” मातालाई हार्दिक आभार व्यक्त गर्दै; समस्त नेपाली दाजुभाइ दिदिबहिनी एवं विश्वभरिका हिन्दुधर्मावलम्बीहरुमा हरितालिका तिजको हार्दिक शुभकामना टक्र्याउँदछु।