
सम्झना मात्र गर्न सकिन्छ तर ठीकसँग म भन्न सक्दिनँ , महिना साउन भदौ नै हुनुपर्छ , साल चाहिँ विक्रमीय संवत् २०३९ ।
रङ्गमञ्चमा मेरा केही प्रिय दिनहरु यसरी नै बितिरहेका थिए , नाटक हेर्ने , नाटक मञ्चमा आउनुभन्दा पहिला रिहर्सल हेर्ने ।
नाटकको कथावस्तु तारतम्य र त्यसको झङ्कारमा उन्मत्त भएर घरको बाटोदेखि कलेज । कलेजको प्राङ्गणदेखि घर ।
हिँड्दा नाटक । बोल्दा नाटक । देख्दा नाटक ।
यस्तै उन्मादमा एकदिन नीर शाहद्वारा स्थापित हरिप्रसाद रिमालको अध्यक्षतामा श्री समूह बन्यो । श्री समूहमा रिमालका साथै नीर शाह, मदन लामा, कृष्ण मल्ल, श्याम राई आदि थिए ।
हामी पनि नाटक गर्थ्यौं हाम्रो समूह युनाइटेड आर्टिस्ट नामक थियो । त्यसबाहेक रङ्गकर्मी जमात, रङ्गस्रष्टा , कला नेपाल विभिन्न थिए ।
श्री समूहले एउटा नाटक गर्ने कुरा भयो , नाटक सभा गृहमा मञ्चन भयो । नाटकमा मूलपात्र कृष्ण मल्ल र चन्द्रमाला शर्मा थिए । त्यतिबेला नाटकमा चन्द्रमालाकी दिदी सूर्यमाला वा निशा आइसकेका थिएनन् । चन्द्रमाला मात्र थिइन् , त्यो परिवारबाट ।
कृष्ण मल्ल लिखित त्यो नाटकको नाम अँध्यारो उज्यालो थियो । अँध्यारो उज्यालोमा धेरैपछि उदीतनारायण झाले गीत गाएका थिए बम्बईबाट काठमाडौं आएर । गीतको बोल नीर शाहकै थियो , संगीत चाहिँ पहिलो पटक शुभ शम्भुजितको …
कस्तो तिमी साथ हुँदा कस्तो तिमी नहुँदा ।
नाटकमा गीत मनबहादुर मुखियाले गज्जबले प्रयोग गरेका थिए , त्यसपछि सत्यमोहन जोशी , विजय मल्लले पनि नाटकमा गीत हाल्न थालेका हुन् । मुखियापछि नै हो ।
नाटक अँध्यारो उज्यालोको त्यो गीत गुञ्जिँदा दर्शक खुसीले गाउँथे , उचालिन्थे हलमा । दृश्यमा दर्शक पनि समाहित हुन्थे जोश र जाँगरका साथ । एकदिन नाटक हेर्न काठमाडौंमा भएका धेरै नाट्यकर्मी कलाकार सहभागी थिए । त्यो बेला यो एउटा राम्रो चलन वा परम्परा थियो , एक अर्काको नाटक खूब इन्ज्वय गरेर हेर्थे , जान्थे , सहभागी हुन्थे । आजकाल बोलाउँदा मात्र जान्छन् । कि त बोलाउँदैन बोलाउँदैनन् ।
यस्तो केही भएको छ आजकाल धेरै नजिक पनि धेरै टाढा पनि ।
नाटक हुँदाहुँदै नाटकको एउटा दृश्यमा रोम्यान्टिक प्रसङ्ग आयो , मल्लजी बडा रोम्यान्टिक भएर नायिकातिर अगि बढ्नु भयो , दर्शकले हुटिङ्ग गरे ।
होहल्ला भयो । चिच्याहट भयो ।
नाटकमा हुरीको दृश्य थिएन तर आँधीबेहरी नै आयो हलमा । दर्शककै बिचमा कस्साकस्सी भयो ।
मञ्चबाट नायक कृष्ण मल्ल कराए , को हो त्यो कराउने ? यहाँ आइजो ।
यसपछि तनाव नै बढ्लाजस्तो भयो ।
कसैले आयोजकका तर्फबाट पर्दा लगाऊ भाइ पर्दा लगाउ भनेर चिच्याए पनि नाटककै बिचमा पर्दा लाग्यो ।
नाटक रोकियो । त्यसपछि म दौडेर ब्याक स्टेजमा गएँ , त्यहाँ झन् अशान्ति थियो । मल्लजी तनावमा । चन्द्रमाला झन् तनावमा ।
नाटक भएको हल सभागृह पुरै उत्तेजनामा देखियो ।
अँध्यारो उज्यालो नाटक मैले हेरेको चन्द्रमाला शर्माको अन्तिम नाटक भयो र त्यो पनि पर्दा लगाऊ भाइ पर्दा लगाऊमा गएर रोकियो ।
चन्द्रमाला शर्माले नाटकमा नायिका भएर खेल खेल्दा विराटनगरकी मीना श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानका शकुन्तला शर्मा र लक्ष्मी श्रेष्ठ चिनिन्थ्यो । सांस्कृतिक संस्थानकी सुषमा शाही र उहाँका अग्रज भुवन चन्द , सुभद्रा अधिकारी थाहा थियो ।
चन्द्रमालाको यो नाटकपछि प्रतिभा आकाश माग्छे पनि भयो क्यारे बद्रि अधिकारीको । त्यो नाटकमै चन्द्रमालाले नभ्याएपछि सूर्यमाला शर्माले प्रवेश गरिन् ।
चन्द्रमालाले अभिनय छोडेर पछि विवाह गरिन् । विवाहपछि व्यापारतिर लागिन् । अहिले उनी दरबार मार्गमा जुत्ताको व्यापार गर्छिन् ।
चन्द्रमाला नाटकमा आउन अगि होटल एमएम इन्टरनेसनलमा काम गर्थिन् ।
चन्द्रमाला र उनको परिवारलाई मैले प्रसिद्ध गायक प्रेमध्वज प्रधानका बुबा रत्नध्वज प्रधानको बाँगेमुढाको घरमै भेटेको थिएँ । भेटमा मैले चन्द्रमाला , सूर्यमाला , निशा , संगीता र सुनिल सबै देख्थेँ र उनकी आमा । माला परिवारबाट अभिनयमा आउने पहिलो पात्र चन्द्रमाला नभएर उनकी जेठी दिदी श्रीमाला हुन् ।
श्रीमालाले पहिलो पटक कथानक चलचित्र सिन्दूरमा शम्भुजित बाँसकोटाकी प्रेमिका भएर एक सिन दिएकी थिइन् , नाँग्लो रेस्त्राँमा ।
वन सीन आर्टिस्ट मानिन्थिन् तिनी ।
श्रीमालाको अभिनयमा पनि पर्दा लाग्यो त्यसपछि थाहा भएन किन ?
श्री पछि चन्द्रा आइन् , तिनको अभिनयमा पनि नाटक र केही चलचित्रपछि पर्दा लाग्यो । अनि सूर्या र निशा सँगै आए ।
पछि सूर्याको पनि कहिले पर्दा लाग्ने र खुल्ने समय बिस्तारै आउँदै जाँदै गर्यो । आज निशा मात्र त्यस परिवारबाट निरन्तर छिन् अभिनयमा ।
मलाई लाग्छ , त्यस समय मञ्चमा धेरै आएका थिए धेरैको जीवनमा पर्दा लाग्यो ।
आग्रह नाटकबाट चर्चामा आएकी शोभा सिंह छिट्टै हराइन् । मीना गुरुङ्ग, मीना बस्नेत, मीना श्रेष्ठ ती त को कतिबेला आए र गए रेकर्ड नै भएन ।
त्यतिबेलाको मञ्चमा गायकका रुपमा आएका युवा जसलाई मैले अस्कल क्याम्पसमा मेरो जुनियरका रुपमा भेटेको थिएँ , ताराभूषण दाहाल । उनले कलेजको स्वागत कार्यक्रममा प्रज्ञाको मञ्चमा तिमी त्यसै लजायौ गाएर ख्याति कमाए तर एउटै गीतमा हराए । पछि उनी टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा भूषण दाहाल भएर देखा परे तर उनको गायनको पर्दा लाग्यो । उनीसँगै आएका अर्का कलाकार किरणप्रताप केसी पछि चलचित्रका नायकसम्म भए , प्रेयसीमा । भूषण र किरण सँगै अभिनयमा आएकी थिइन् , कृताञ्जली भण्डारी । उनको पनि पुरानो घर नाटकको अभिनयपछि पर्दा लाग्यो ।
कृताञ्जली भण्डारी आएकै समय नेपाल ल क्याम्पसमा पढ्दै गरेकी सपना प्रधान जेमन्त नाटकमा आइन् , कुशल अभिनेत्रीको रुपमा । रवीन्द्र खड्काले निर्देशन गरेको मोहनराज शर्माको नाटक जेमन्तपछि सपना अशेष मल्लको नाटक मेरो घाउ तिमी नहाँसे पो दुख्छ मा देखा परिन् । धेरैपछि उनी जीएएको नाटक महोत्सवमा सरुभक्तको नाटक अग्नि पर्खालमा आइन् । त्यसपछि उनको कानूनी क्षेत्रमा सक्रियता बढ्दै गयो र अभिनयमा पर्दा लाग्यो ।
सपना प्रधानजस्तै विनीता भट्टराई , ममता रेग्मी , रेणु केसी , लक्ष्मी राणा पर्दाबाट हराएको इतिहास बाँकी छ ।
अभिनयमा गायनमा वा चलचित्रमा आएर आफ्नो प्रतिभा देखाउने र प्रतिभा देखाउनको लागि मरिमेट्ने सारा समय र जीवन नै यसैमा समर्पित गरुँ जस्तो गर्नेपछि बिस्तारै हराउने यो कारण के हुन सक्छ ? किन यस्तो हुन सक्छ , कसैले यसको भेद बुझेको होला त ?
देवकोटा वा शंकर लामिछानेले भए गज्जबै निबन्ध लेख्थे होला वा लेखिएको पनि होला , म ज्ञान बाहिर पो छु कि ? तर चर्चा गर्दा शंकरकै कुरो आयो उनले पनि ऊ मरेकी छैन नाटकमा अभिनय गरेका होइनन् र बालकृष्ण समको निर्देशनमा तर उनको अभिनयमा पनि छिट्टै पर्दा लाग्यो । किन हो कुन्नि ? उनले पछि अभिनयको चासो नै दिएनन् । बरु उनले डिमीत्रीको हलिउड फिल्म द माउन्टेन इज यङ्गमा लियाजो अफिसरसम्म भएर काम गरे । लेखक भइकन पनि उनी पछि जनसेवा हलका म्यानेजरसम्म भए । उनको परिवारबाट कोही पनि चलचित्रमा अभिनयमा आएनन् तर नाताले उनका भान्जा पर्ने भाष्कर ढुङ्गाना चलचित्र निर्देशक भएर देखा परे , सुन्तलीमा ।
त्यो पछिको कुरा भयो ।
शंकरका समकालीन सागरदत्त कोइराला भारतबाट बनको सत्य हरिश्च्चन्द्र मा अभिनय गर्न सम्म गए ।
शंकर लामिछानेको समयदेखि सपना प्रधानको समयसम्म कति कलाकारको जीवनमा पर्दा लाग्यो त्यसको हिसाब छैन तर अभिनयको सोख हुँदाहुँदै पनि शारदा शर्माले कान्छी फिल्ममा अभिनय गर्न पाइनन् , चेतन कार्कीको अस्वीकृतिले गर्दा । स्याङ्ग्जा निवासी शारदालाई चलचित्रमा ल्याउन स्याङ्ग्जा निवासी अर्का कलाकार हरिहर शर्माले कोसिस गरेका हुन् तर कान्छीका निर्माण नियन्त्रक कार्कीले त्यतिबेला नो भनिदिए । त्यसपछि शारदा साहित्यमा कविता , निबन्ध र पछिल्लो समय उपन्यास तापका कारण चर्चित भइन् ।
शारदा शर्माको त्यो समयमा चलचित्रमा अभिनय गरेर जीवन यापन गर्नु गाह्रो थियो र त्यही नै कार्कीको चेतन मनको अवरोध हो कि ?
बरु तिनै चेतन कार्कीले पछि आफ्नो निर्देशनमा बनेको फिल्म पहिलो प्रेममा संगीतकार गोपाल योञ्जनकी छोरी सृजना योञ्जनलाई नायिकाको रुपमा अनुबन्ध गरिन् र केही दिनको सुटिङ्ग पनि सम्पन्न भयो ।
पछि छोरी योञ्जनले मोटर साइकल दुर्घटनामा परेर हात भाँचेको कारणले नायिकाको भूमिका गुमाइन् , सुटिङ्ग स्पटबाट चेतनले करिश्मालाई नायिकामा निम्त्याए ।
पहिलो प्रेम बन्यो तर सिर्जनाको अभिनयमा पर्दा लाग्यो ।
पहिले पहिले अभिनय छोडेर कोही बिहे गर्थे , कोही घरव्यवहारमा फँस्थे । अहिले फरक छ , अहिले अभिनय छोडेर अमेरिका जान्छन् । वा म के बुझ्छु भने अमेरिका जानलाई पो अभिनय गर्ने हुन् कि ?
म यस कुरामा अलि अनभिज्ञ छु , अझ भनूँ अनभिज्ञ नै रहन चाहन्छु ।
अमेरिका र अभिनयको बारेको पर्दा मलाई त्यति थाहा हुन नसकेको पनि हुन सक्छ ।
चलचित्रमा अभिनय गर्दा गर्दै कैय्यन कलाकारको अभिनयमा पर्दा लाग्यो , कोही अमेरिका छन् कोही क्यानडा छन् । कोही जापान , कोही अष्ट्रेलिया । कोही कतै पछि छैनन् ।
अभिनयमा अलि फरक नाम भएकी शोभा सिंह , शोभा सुब्बा, शोभा चन्द, सिनौरा मिस्त्री , शारदा बस्नेत , शारदा राई , शिवानी राईको अभिनयमा विना कारण नै अभिनयमा पर्दा लाग्यो ।
शोभा राईकी समकालीन शशि थापा सुब्बाको अभिनयमा विराम लागे पनि उनकी छोरी मिरुना मगरले अभिनयमा झन्डा खडा गरेकी छिन् ।
आज मिरुनालाई देख्दा शशिका अभिनयका ती शक्तिशाली दिन याद आउँछन् ।
पूर्वाञ्चलको अपेक्षाकृत सानो सहर धरानबाट आएका शोभा , शशि , शिवानी , शारदा शाक्य अनि पछिल्लो लहरमा गायिका पवित्रा सुब्बाले पनि अभिनयमा बेन्चमार्क खडा गरिन् , मितेरी गाउँकी नायिका भएर । पवित्रलाई अभिनयमा पर्दा लगाए पनि गायनमा सक्रिय छिन् । पवित्रजस्तै शिरीषको फूलकी नायिका शर्मीला गुरुङ्ग पनि वन टाइम हिरोइन भएर हराइन् । अहिले उनी प्रहरी सेवामा सक्रिय छिन् ।
पर्दामा आउने र पर्दामा आएर आफ्नो विशाल क्षमतालाई असमयमै नाश गर्नु पर्ने श्रद्धेय कलाकारद्वयमा म नवीना श्रेष्ठ र गीताञ्जली सुनारलाई सम्झिन्छु ।
गीताञ्जलीको अन्याय फिल्म र नवीनाको पिरती फिल्म भुल्न चाहेर पनि भुल्न नसकिने फिल्म मध्ये हुन् ।
चलचित्रको पर्दामा एकपटक देखा परेर हराएकी रमा सिंह र आउनै नचाहेकी रीताराज गुरुङ्गको तुलना हुन सक्दैन तर योगदानको मूल्याङ्कन हुन सक्छ , रमा सञ्चारकर्ममा अझै सक्रिय छिन् रीताराजले समाचार छोडे पनि आफू समाचार बन्न छोडेकी छैन , भारतको पूना इन्स्टिच्युट गएर पढ्ने पहिलो अभिनेत्रीको पगरी त उनको शिरमा सधैं रहन्छ ।
चलचित्र क्षेत्रको विकराल बाटोमा आफ्नो यात्रा टुँगिए पनि एकपटक फेरि रीताराज आरोहणको नाटक असारको एकदिनमा आउन खोजेकी हुन् तर निरन्तरता त्यहीँ टुँगियो ।
महिलाको जस्तै पुरुष कलाकारको जीवनमा पनि धेरैको पर्दा लाग्यो , मशालका नायक तेज रसाइली, कहीँ अँध्यारो कहीँ उज्यालोका नायक चेतन खड्गा , बाँच्न चाहनेहरु का नायक किरण ठकुरी , सीलुका नायक जय श्रेष्ठ, राजमतिका नायक मणीराज लवट ती सबैको अभिनयको जीवनमा पर्दा लागेकै हो त ?
एक जुगमा एक दिन एकचोटि आउँछ भने जस्तै यी सबै त्यो एकदिन पर्खेरै हो त बसेको ?
अभिनयमा पर्दा लागे पनि अन्य काम धन्दा गरेर बसेका हाम्रा आदरणीय स्रष्टा साधकलाई सम्मान कार्यक्रममा र सामाजिक सञ्जालमा मात्र पनि देख्न पाउनु पनि ठूलो सौभाग्य भइसक्यो आजकाल ।
त्यसैले पर्दा हटाऊ । पर्दामा आऊ ।
अभिनय जीवनको एउटा पर्दा के हो भनें अल्वेय क्यामुले भनेजस्तै व्यक्तिले आफूलाई चरित्रमा खोज्ने ।
होला तपाईं र चरित्र बिचको पर्दा अभिनय नै होला तर अभिनय गर्नका निम्ति कुनै पर्दा त्याग्नु पर्ने बाध्यता छैन होला । भारतमै पनि हामी कैयन् कलाकारलाई चालीस वा पचासवर्षपछि अभिनयमा सक्रिय भएर जम्जमाएर आएका देख्छौँ , ती चाहे अमरीश पुरी होउन् वा बोमन इरानी । उमेरको वार कहाँ हुन्छ र ?
सत्तरी वर्ष कटेपछि यश चोपडा महोदयले जब तक है जानजस्तो रोम्यान्टिक फिल्म बनाएर आफूलाई मोस्ट रोम्यान्टिक डाइरेक्टर भनेर प्रमाणित गरेर गए ।
यो पृथिवीमा सबै आफ्नो गीत गाउन आएका हुन् , गाउनै पर्छ । त्यो नै जीवन हो ।
रक्सी , स्वास्थ्य , उमेर वा परिवारलाई बाहना बनाएर आफ्नो गीतको गतिलाई नरोकौँ । भर्खरै नीर शाहका अग्रज किशोरराज पाण्डेले सत्तरीको हाराहारिमा गीत गाएर नयाँ स्वाद लिएका छन् , यूट्युब र सामाजिक सञ्जालमा उनको वाहवाही बढ्दो छ ।
नेपाली जनसमाजका खाँटी जेन्टलम्यान् लामो समय होटल व्यवसायीका रुपमा चिनिए अहिले उनी आफ्नो सोखलाई जीवन जिउने कलाका रुपमा विकास गर्दैछन् । कुनै समय महानको सुटिङ्गमा अमिताभ बच्चन नेपाल आउँदा एउटै टेबुल सेयर गर्ने ती भलाद्मी उहिले पनि कलाकार थिए अहिले पनि उनी भित्र कला बाँचेकै छ ।
नेपालको हक्की टीमका कुनै समयका क्याप्टेन पाण्डे नीर शाहका प्रिय दाइ हुन् तर त्यतिकै प्रिय खेलाडी पनि ।
स्वागत छ किशोर पाण्डे भित्रको किशोरपनलाई ..
पानी परेको बेला मात्र आकाशको महत्त्व हुने होइन पानी नपर्दा पनि आकाशले हामीलाई धेरथोक दिइरहेकै हुन्छ , एउटा सन्डे पेन्टरको यो भनाइसँग हामी आफूभित्रको पर्दा हटाऊँ , मैदानमा आऊँ ।
पर्दा लाजको हुन्छ , पर्दा प्रतिभाको हुँदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

