इतिहासको महत्त्व कति हुन्छ भन्ने कुरा संसारमा सबभन्दा बढी कसैलाई थाहा छ भने चीनका राष्ट्रपति सि जिनपिङ्गलाई थाहा होला । भनिन्छ, उनलाई विश्वमा १० लाख भन्दा बढी जनसंख्या भएका सबै समुदायको वा जातिको इतिहास थाहा छ । मानव विकासको समय हेर्दा हामी बाँचेको समय मिनेट हो भन्दा तथ्यपरक नै हुन्छ । इतिहासकै विरासतमा समाज बनेको हुन्छ । अनि वैज्ञानिक रुपमा पनि हाम्रो जिनभित्र नै हाम्रो ऐतिहासिकता हुन्छ । कुनै पनि व्यक्ति समाज र देशको आजको आवश्यकताको पूर्ण विश्लेषण त्यसको ऐतिहासिकतामा भर पर्दछ । अझै त्यसको भविष्य कस्तो हुनेछ भन्ने कुराको तय समेत उसको इतिहासमा भर पर्दछ । त्यसैले हाम्रो समाज साँचो रुपमा बुझ्न विश्व इतिहासदेखि हाम्रो आफ्नै इतिहास बुझ्नु जरुरी हुन्छ । हाम्रो शरीर पनि मूलत मान्छेको इतिहास नै हो ।

टी.एन. आचार्य

जापानले दोस्रो विश्व युद्ध हारेपछि हार स्वीकार गर्यो । दुनियाँले देख्ने गरी, सुन्ने गरी हार मान्यो । अनि त्यही जगमा देशको पुननिर्माण गरेर पुन १० वर्षभित्रमा आफूलाई सबल र सक्षम राष्ट्र बनायो । यस्ता उदाहरणहरु विश्वमा बिरलै छन् । हार स्वीकार गर्नु, कमजोर छु भन्नु, म गलत रहेँछु भन्नु महानता मात्र होइन, अगाडि बढ्न चाहिने मुख्य सर्त पनि हो । इतिहासको अध्ययन गर्दा यस्ता कुराहरुको महत्त्व हुन्छ । अझै तथ्यपरक इतिहास लेख्नले त झन् दुरगामी असर पर्छ ।

म यसो इतिहास हेर्छु । मलाई पढाइएको इतिहास सम्झन्छु । हामीलाई घोकाइएको इतिहासका पाठ याद गर्छु र आफ्नो बच्चाकालका हाम्रो इतिहासप्रतिको भाव सम्झन्छु । हामी नेपालीहरु त विश्वमै उत्कृष्ट रहेछौँ भन्ने भाव बाल्यकालभरि मेरो मनमा थियो । पृथ्वीनारायणदेखि आजसम्म आइपुग्दा हामीले मुख्यतः २ प्रकारले इतिहास पढेछौँ । राणाकालको १०४ वर्ष खराबै खराब, पृथ्वीनारायण शाह अगाडि पनि लफडै लफडा, बाँकी सम्पूर्ण काल राम्रै राम्रो ।

वीर गोर्खाली, स्वाभिमानी गोर्खाली, कहिले परतन्त्र नभएको राष्ट्र भनेर पढ्दा पढ्दा अहिले सम्झन्छु मैले मेरो बच्चाकालमा हाम्रो देशको इतिहास राम्रै मात्र बुझेछु । इतिहासको समीक्षात्मक ढङ्गले व्याख्या गरिएनछ । नेपालको निर्माण होइन, एकीकरण भनिएछ । १८१८ मा नेपाल अङ्ग्रेज युद्धमा नेपाल नराम्ररी पराजित भएको कुरा स्पष्ट लेखिएनछ । बरु उल्टै “नालापानी किल्लामा नलिइ आराम छिनभर” भन्ने वीर गाथाको गीत गाउँदा यस्तो महसुस भएछ कि नेपाल अङ्ग्रेज युद्धमा नेपालले पो जितेको हो ।

हामीले हारेका छौँ भनेर प्रष्ट लेखेको भए के जान्थ्यो होला । मैले कयौँ मान्छेहरुलाई रोजगारीको सिलसिलामा अन्तर्वार्ता लिँदा सोध्ने गरेको छु कि नेपाल अङ्ग्रेज युद्धमा कसले जितेको थियो । मलाई आजसम्म धेरै व्यक्तिको उत्तर नेपालले जितेको थियो भन्ने आएको छ ।

पृथ्वीनारायण शाहदेखि त्रिभुवन हुँदै वीरेन्द्र शाहसम्मको इतिहास राम्रै मात्र पढियो, पढाइयो । तर रणबहादुर शाहको सनकपना, अरु राजाहरुको असक्षमता, त्रिभुवनको पलायनता पढिएन । राणाहरुको १०४ वर्ष नराम्रै मात्र पढियो, केही राम्रो लेखिएन, देखिएन । केही न केही त राम्रा पनि त थिए होला नि ? महेन्द्रीय शिक्षा प्रणालीमा जंगबहादुरलाई राक्षसीकरण र भिमसेन थापालाई देवत्वकरण गरेको प्रभाव हाम्रो मानसिकतामा आज पनि विद्यमान छ ।

हामी नेपाली नेपालको रक्षा गरुन्जेल्, वीर गोर्खाली त थियौँ तर भारतीय र ब्रिटिस सेनामा भर्ती हुनुलाई सही विश्लेषण गरेको कुरा पढ्न पाइएन । इतिहासलाई वास्तबमा तथ्यपरक र वस्तुनिष्ठ ढङ्गले हेरेमा र बुझेमा मात्र भविष्यको मार्गदर्शन हुन सक्छ । तर सही ढङ्गले नबुझेमा यो भविष्यको बाधक पनि हुनसक्छ । हामीलाई पढाएको अधिभूतवादी (कि राम्रो कि नराम्रो) इतिहास र शिक्षाले आज समग्र पुस्तालाई नै द्वन्द्ववादी, वैज्ञानिक र वस्तुनिष्ठ हुन रोकेको छ ।

विगतको बस्तुनिष्ठ विश्लेषणले आगतको दिशाबोध गर्ने भएकोले हामीले स्कुलदेखि सबै तहमा इतिहास अनिवार्य गर्नै पर्छ । तर यस्तो इतिहासमा हाम्रो सबल पक्ष र हामीले लिनुपर्ने शिक्षाका घटनाहरु, राम्रा नराम्रा पक्षहरु सँगसगैँ राखिदिनु पर्छ । ताकि विद्यार्थी वा पाठकले आफैँ विश्लेषण गरोस् कि जंगबहादुर नराम्रो मान्छे मात्र होइन केही राम्रा पनि रहेछन् । त्यसबेलाको परिस्थितिको द्वन्द्वात्मक विश्लेषण गरेर विचार संश्लेषण गरोस् कि नेतृत्वको जन्म हुनुमा आत्मगत परिस्थिति सहायक र वस्तुगत स्थिति प्रधान हुन्छ ।

भिमसेन थापा, बलभद्र कुँवर राम्रा नराम्रा दुबै रहेछन् । शाहवंश सक्षम असक्षम दुबै रहेछ अथवा हाम्रो पुर्खाहरु महान् मात्र होइनन् गल्ती पनि गर्दा रहेछन्, लड्ने मात्र होइन झुक्ने पनि रहेछन, हाम्रो इतिहास गौरवान्वित मात्र होइन हार जित दुवै रहेछ । हाम्रो पुर्खाहरु वीरमात्र रहेनछन् अन्याय अत्याचार पनि सहेका रहेछन् । इतिहास स्वर्णिम मात्र होइन, कठोर पनि रहेछ भन्ने बुझुन् । अनि बल्ल आफ्नो जीवनमा द्वन्द्वात्मक तरिकाले सोच्ने र सङ्घर्ष गर्ने प्रण गर्लान् । अनि बल्ल विद्धान् मात्र होइन वैज्ञानिक बन्लान् । किनकि वैज्ञानिक त्यो हो जो प्रयोगमा विश्वास गर्छ । नत्र वीर गोर्खाली भन्ने अनि घरबाट निस्केदेखि खाडी पुगेर फर्कुन्जेलसम्म ठगिइरहने नियति, वर्तमानमा मात्र समस्या देख्ने प्रवृत्ति, वीर गोर्खाली भनेर पाखुरा सुर्किरहने तर असमान सन्धि लगायत अनेकौ चंगुलमा परिरहने, अरु देशको वर्तमान र हाम्रो वर्तमान मात्र तुलना गरेर हिनताबोधको भारी बोकेर ओह्रालो गुड्ने उँधोगति कायम रहिरहनेछ । त्यसैले तथ्यपरक, विश्लेष्णात्मक र भौतिकवादी दृष्टिकोणबाट लेखिएका विश्व लगायत नेपालको इतिहास अध्ययन गर्नु गराउनु जरुरी छ । त्यसैले द्वन्द्वात्मक दृष्टिकोणले लेखिएका हाम्रो देश तथा विश्व इतिहासको अध्ययन अपरिहार्य छ जसले सही विश्व दृष्टिकोण निर्माण गर्न सहयोग गर्दछ ।