ऋतुअनुसार धर्तीले रङ फेरिरहन्छ । यो सुन्दर धर्तीमा जति पनि रङ भेटिन्छन् अर्थात् पाइन्छन्, ती सबैको आआफ्नै भूमिका, विशेषता एवम् महत्त्व रहन्छ । जीवनको रङ मानिने हरियो रङले धर्तीमा गाढा रङ छाएसँगै आजबाट साउन महिना सुरु भएको छ । यो महिना प्राकृतिक, सामाजिक, सांस्कृतिक धार्मिक, आध्यात्मिक, वैज्ञानिक तथा मानसिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । असार महिनाभरि रोपिएका धानका बिउले यतिबेला जरा फिँजाउँदै गाँज हाल्न थालेका छन् । धर्तीका सबै जसो भूभागमा गाढा हरियो रङ पोतिएको छ । साउन महिनासँगै जीवन हरियो रङले छाएको मनोहर प्रकृति देखेर हाम्रो मन तथा आँखाले शीतलता पाउँछन् । त्यसैले त हरेक दृष्टिकोणबाट साउन महिनाको विशेष महत्त्व रहेको छ ।

लक्ष्मी थापा

साउनको पहिलो दिनलाई साउने सङ्क्रान्ति, कर्कट सङ्क्रान्ति, दक्षिणायन आरम्भ हुने दिन, लुतो फाल्ने दिन तथा थारु गुरिया पर्वका रूपमा मनाइन्छ । साथै समुदायअनुसार साउने सङ्क्रान्तिलाई फरक फरक नाममा र फरक तरिकाले मनाउँदै आएको पाइन्छ । साउने सङक्रान्तिदेखि पुस मसान्तसम्म सूर्य दक्षिणायन हुने हुनाले दिन छोटा र रात लामा हुन थाल्छन् । साउने सङ्क्रान्तिका दिनदेखि सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दछन् । त्यसैले यस दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ । साउन लागेसँगै अब धमाधम चाडपर्व पनि भित्रिन्छन् भन्ने भनाइ पनि छ । नेपालको मुख्य आम्दानीको स्रोत कृषि हो । त्यसमा पनि धान खेतीले महत्त्वपूर्ण स्थान ओगटेको छ । असार महिनाभरि रोपाइँमा व्यस्त भएका किसानहरू साउन लागेपछि अलि फुर्सद पाउँछन् । साउने सङ्क्रान्तिमा आफन्तहरू जम्मा भई मिठो मसिनो खाएर रमाइलो गरेर मनाउँछन् । किसानहरू असारभरि खेतको हिलोमाटोमा काम गर्ने तथा अधिक गर्मीका कारणका साथै निरन्तर झरी पर्ने हुनाले आवतजावत गर्दा हिलोको कारणले मानिसलाई छालासम्बन्धी रोग नलागोस् भनेर यसै दिनको बेलुका विशेष गरी हिन्दू सम्प्रदायमा लुतो फाल्ने गरिन्छ ।

लुतो फाल्ने कार्य अहिले सम्झँदा, आजभन्दा पन्ध्र बिस वर्षअगाडि हामीले लुतो फाल्नका लागि सामान जुटाउन आफ्नो घरवरिपरि रहेका आफ्नै उमेर समूहका साथीले देखाएका उत्साह, जाँगर, आत्मीयता, हार्दिकता मनभरि पोखिएका छन् । साउने आकाशमा दौडिरहेका, रमाइरहेका बादलका बिस्कुनजस्तै हामी, घर नजिकैको वनमा लुतो फाल्नका लागि सामान खोज्न जान पाउँदाको खुसीको कुनै सीमा नै हुने थिएन । वनमा जुकाको प्रवाह नगरी पानीसरो, देवीसरो, कुकुरडाइनो, पानीअमला, धसिङ्गरे, उन्यु, कुरिलो, सिस्नो आदि औषधिका रूपमा प्रयोग हुने बिरुवाहरू बटुल्नुको आनन्द विशेष हुन्थ्यो । पूजा गर्नका लागि राम्रा ढुङ्गाका साथै दर्शन ढुङ्गाको खाजी गरिन्थ्यो । बोटमा भर्खरै दानाका रूप लिएका, नपाकेका नासपाती, आरु, सुन्तला, कागती, अनार, अम्बा आदि फलफूल चढाउनका लागि रहरले टिपिन्थे आफ्नै बारीका । ससाना दाउरा ठिक पारिन्थ्यो । साँझ परेपछि आँगनको एउटा कुनामा परिवारका सबै सदस्य मिलेर, मुख्यतः घरमा हजुरबुबा, बुबाको सक्रियतामा टपरीमा दियो, कलश र गणेशको स्थापना गरी काण्डरक राक्षसको पूजा गरिन्थ्यो, फलफूल, नैवेद चढाइन्थ्यो र औषधिका रूपमा प्रयोग गरिने वनस्पती बाल्दा पिट पिट गरेको आवाजसँगै हामी केटाकेटी रमाउँदै र त्यसबाट निस्कने धुँवाका कारण आँखा पिरो हुँदा आँखा मिच्दै, एकअर्काका अनुहार हेर्दै खुसीका छापहरू अनुहारभरि फिँजाउँथ्यौँ ।

पूजा सकिएपछि वनस्पतीसँगै बालिएका अगुल्टो लिएर, पर्खालमा उक्लिएर पारि गाउँका कुनै कुनै व्यक्तिको नाम लिएर अझ मन नपरेको व्यक्तिको नाम घाटी बस्ने गरेर ठुलो स्वरमा ‘ए…. लुतो लैजा’ भनेर चिच्याउँदै जति सक्दो टाढा पुग्ने गरेर अगुल्टो फ्याकिन्थ्यो । जसको नाम लिइएको हो उसको नाम लिँदा त्यतिबेला न मनमा डर हुन्थ्यो न त लाज नै लाग्थ्यो । तर भोलि पल्टदेखि भने मनमा केही दिनसम्मका लागि कतै डर, कतै तनाव वल्लो र पल्लो गाउँबिच चल्थ्यो । अगुल्टो फ्याल्दै गर्दा कसैले घण्ट बजाएर, कसैले शङ्ख फुकेर, कसैले नाङ्लो ठटाएर लुतो फाल्ने काम सम्पन्न गरिन्थ्यो । लुतो फाल्ने कार्य गर्दा हामीले अभिभावकसँग मिलेर लुतो फाल्ने काम मात्र गरेका हुने थिएनौँ । यो परम्परा निभाउँदै गर्दा मनमा उत्साह, हर्ष, खुसी बाँड्दै प्रकृतिसँग रमाउँदै, वनस्पतीका बारेमा थाहा पाउँदै, महत्त्व बुझ्दै र चिन्दै, परिवारसँग, साथीभाइसँग, छरछिमेकसँग हातेमालो गर्दै, आत्मीयता बाँड्दै आफ्नो संस्कृति र परम्परालाई बचाएका हुन्थ्यौँ । जुन चलन अहिले हाम्रो गाउँघरतिर हराइसकेको छ ।

साउने सङ्क्रान्तिमा विशेषतः लुतो फाल्ने चलन कतिपय ठाउँमा बिस्तारै बिस्तारै हराउँदै गएको पाइन्छ । हुन त समय परिवर्तनशील छ । समयसँगै हाम्रा कति परम्परा, चाडपर्व मनाउने तरिकाहरू पनि परिवर्तित भएका छन् भने पश्चिमी चाडपर्व संस्कारलाई स्वीकार्दै, मनाउँदै र त्यसमै रमाउँदै आएका छौँ । कुनै कुनै परम्परा अहिलेका बालबालिकालाई सुनाउँदा उनीहरू एकादेशको कथाजस्तै मान्छन् । पारिवारिक, सामाजिक एकता, सद्भाव, महत्त्व बोकेका कति पर्व, उत्सवहरू मनाउन छोडिसकेकाले यसको महत्त्व पनि हराउँदै गएको छ । एकाइसौँ शताब्दीमा टेकेर विकासका सिँढी उक्लदै गर्दा लुतो फालेर पनि कतै लुतो या त चर्म रोगबाट बचिन्छ र भन्ने कुरा उठ्नु पनि स्वाभाविकै हो । तर यसरी हामीले भनिराख्दा या त सोचिराख्दा यो परम्परासँग सम्बद्ध सकारात्मक पक्ष तथा वैज्ञानिक पक्षको महत्त्व भने बिर्सनु हुँदैन । पश्चिमी संस्कृतिलाई आत्मसात् गर्दै आएको भावी पुस्ताका लागि भए पनि हामीले मान्दै आएका परम्परा, संस्कृति, चालचलन, रीतिरिवाजका नकारात्मक पक्षलाई त्याग्दै, सकारात्मक पक्षलाई अँगाल्दै मनाउनु अति आवश्यक छ ।

साउन महिनालाई महिनाभरिकै श्रेष्ठ, पवित्र महिनाको रूपमा लिइन्छ । साउन महिना भगवान् शिवको प्रिय महिना भएकोले यस महिनाको सोमबारको दिनलाई हिन्दूधर्मावलम्बीहरू विशेष दिनको रूपमा मनाउँछन् । विशेष गरी विवाहित नारीहरू आफ्नो श्रीमान् तथा सन्तानको स्वस्थ, सुखद, दीर्घायु जीवनको कामना गर्दै, परिवारको सुख शान्तिको कामना गर्दै तथा अविवाहित महिलाहरू योग्य वरको कामना गर्दै सोमवारको वर्त बसी पायक पर्ने शिवालयमा गई पूजा अर्चना गर्छन् । शिव भगवान्लाई खुसी पार्न यो महिनामा बोलबम जाने परम्परा पनि छ । गेरु वस्त्र लगाएर, खाली खुट्टा हिँडेर नजिकैको पोखरी, ताल, कुण्ड, नदीबाट जल ल्याई ‘बोल बम बोल बम’ भन्दै शिव लिङ्गमा जल चढाउने चलन पनि छ । सोमबारका दिन विशेष गरी काठमाडौँको पशुपतिनाथको मन्दिर, भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिर, भक्तपुरकै दतात्रेय मन्दिरलगायत देशका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्दछ । वर्तमान समयको अस्तव्यस्त जीवनमा महिना दिनभरि सात्विक भोजन गरेर, आध्यात्मिक चिन्तनतर्फ उन्मुख भएर, धार्मिक कार्यतर्फ सहभागी भएर आफूलाई सकारात्मक सोचतर्फ बढाउनु पनि मानव मन शान्ति बनाउनु हो । तर शारीरिक तथा मानसिक रूपले आफू सबल नभएमा व्रत लिनु भने अवश्य हुँदैन ।

प्रकृति नै हरियो रङमा सजिएको बेलामा महिलाहरूले पनि हरियो पहिरनमा आफूलाई सजाएर, गाढा मेहेन्दी लगाइएका हातभरि हरिया चुरा, गलामा पोते लगाएर, मनमा प्रेम, प्रशन्नता बढाएर, एकअर्कामा खुसी बाँडेर, सद्भाव राखेर साउन महिनालाई उत्सवको रूपमा मनाइएको पाइन्छ । हुन त कतिले यसलाई फेसनका रूपमा, देखासिकीका रूपमा या त अनावश्यक रूपमा महिला आफै पछि पर्ने कुरामा अग्रसर भएको आधारका रूपमा विश्लेषण गर्ने गरेको पनि पाइन्छ । जे होस् जीवनको प्रतीकमा रूपमा रहेको हरियो रङ अनि साउनको प्राकृतिक हरियो रङको आफ्नै विशेष महत्त्व छ । साउन महिनालाई धार्मिक, सांस्कृतिक, आध्यात्मिक, वैज्ञानिक आदि महत्त्वका रूपले मात्र नचिनिएर यो महिनालाई सद्भाव, स्वच्छता, उत्पादकता, उर्वरता, हार्दिकता, जीवन्तताका रूपमा लिइन्छ ।