लगभग दुई वर्षअघि नेपाल विकास अनुसन्धान प्रतिष्ठानको धोवीघाटको कार्यालय परिसरमा फुलेका रङ्गिविरङ्गी गुलावका फूलहरुमध्येको गाढा रातो समूहमा देखाउँदै मैले मेरा एक मित्रलाई भने, “म यो गुलाफ कालो देख्छु ।”

“तपाईँले यस्तै प्रकारका अभिव्यक्ति अरुलाई पनि दिनुभयो भने उनीहरुले या त यसलाई मजाक ठान्छन् या तपाईँलाई पागल ।” उनले मन्तव्य राखे ।

मित्रको दोस्रो वाक्यांशले मेरो ध्यानाकर्षण गर्यो । मान्छेले या त सामान्यतया अनुभूति गर्न सकिने प्रसङ्गलाई आत्मसात् गर्न सकेन या दैनिक जीवनको रङ्गमञ्चका सहभागीहरु या दर्शकको दृष्टिकोणमा उल्टो व्यवहार गर्न थाल्यो भने उसलाई पागल भनिन्छ । रातो रङ्गको पत्र भएको सर्वव्यापी फूललाई कालो देख्नु भनेको असामान्य अवस्था नै हो यसकारण त्यस्तो पात्रलाई पागलको संज्ञा दिइनु कुनै अनौठो होइन । मित्रको भनाइ बेठिक थिएन ।

डा. नवराज खतिवडा

महाकवि देवकोटा या अन्य महानायक या युगपुरुषहरुले बेहोरेका विशिष्ट प्रकृतिका प्रसङ्ग या उनीहरुले प्रेषण गरेका अभिव्यक्तिका कारण अरुले पहिराइदिएका दिमाग सड्केको देखि पागलसम्मको पगरीलाई केन्द्र भागमा राखेका कृतिहरु धेरैले पढेका छन् । यथास्थिति कायम गर्ने वा इतिहास इतर नहुने कृयाकलाप गर्दा कसैको ध्यान जाँदैन तर दर्शकको नजरमा नौलो या अनौठो काम गर्नेलाई यो त पागल भएछ भन्नु स्वाभाविक हो । तर यहाँ प्रसङ्ग अरुले रातो देख्ने फूललाई कसैले किन कालो देख्छ भन्ने हो । फूललाई देख्ने आँखाले हो । मिर्मिरेमा बगैँचामा बसेर छिप्पिँदै गएको सूर्यको प्रकाशसँगै कालो गुलाफ बिस्तारै रातो भएको अनुभूति गर्नुको रमाइलो बेग्लै छ । सूर्यको प्रकाश या अन्य कुनै उज्यालोमा मात्र फूलको रङ्ग चिनिन्छ । अँध्यारोमा रातो फूल पनि कालो देखिन्छ । अन्धकार कालो हुन्छ तर भनिन्छ ।

“केही देखिँदैन, निष्पट अँध्यारो छ ।”

अध्यारो रातमा बिजुली चम्केको बेलामा पनि रङ्गको अनुभूति हुन सक्छ । तर समस्या यहाँ दिउसो नै रातोलाई कालो देख्नुको हो । आँखाले देखेको फूलको रङ्गको अनुभूति गर्ने मनले हो । मन सन्तुष्ट या सामान्य स्थितिमा भए उसले रातो, पहेँलो, सेतोको अनुभूति गर्छ । यसैमा अभिव्यक्ति पनि दिन सक्छ।

“कस्तो राम्रो रातो गुलाफको फूल, यो टिपेर कसैलाई शुभकामना दिन पाए कति रमाइलो हुने थियो ।”

तर रातो रोचकता मा नरमेको मनको सन्दर्भ हो यो । बिरामी भएर जिब्रोले स्वाद लिन नसकेको बेलामा अरुलाई मिठो भएको बिरामीलाई नमिठो भएजस्तो । बहिराले सङ्गीत, भजन या दोहोरीको आवाजलाई एउटै तराजुमा राखेजस्तो । बिरामी युवकलाई बत्तिस लक्षणले युक्त अप्सरारुपी युवतीको यौवनलाई हेर्नमा कुनै मन नभएजस्तो । यी सबै उदाहरणहरुमा हामीले तुलनात्मक रुपले केही मापन गरिरहेका हुन्छौँ । हाम्रो मापनको एउटा धरातल हुन्छ । अँध्यारो वा कालो एउटा धरातल हो । अर्थात् शून्यको स्थिति । आँखाले देखेपछि मनले रङ्गको चेतनालाई कालो धरातलभन्दा माथि उकासेपछि रातो वा पहेँलो देखिन्छ । मानसिक सन्तुलन गुमाएको मान्छे चेतना शून्यको स्थितिमा हुन्छ । उसको धरातल कालो हुन्छ । अरुको लागि रातो, पहेलो, निलो देखिएको सँसार उसको लागि कालो हुन्छ । चेतना शून्य हुनु भनेको यही हो । मैले मानसिक सन्तुलन गुमाएको थिइन । खाली रातो देख्ने चेतनामा कमी आएको थियो । रातोमा रम्ने जाँगर थिएन । रङ्गमा रम्ने मन कुँजिएको थियो ।

तर मेरा मित्रको विश्लेषणमा प्रतिवाद गर्ने साहस ममा थिएन । म त्यसबेला जीवनदेखि थाकेको स्थितिमा थिएँ । ममा कुनै उत्साह थिएन । जाँगर थिएन । म जेमा पनि अँध्यारो देख्थेँ । रातोलाई पनि कालो देख्थेँ । पहेलोलाई पनि कालो देख्थेँ । एउटा स्वास्थ्य तन्नेरीलाई विपरित लिङ्गीको सुन्दरता, यौवन र लावण्यले जुन आकर्षण गर्नु पर्ने हो त्यो थिएन् । “रातो राम्रो गुलियो मिठो”को मर्म विपरित भएझैँ । यौवनको आकर्षण भनेको चुम्बकजस्तो हो । चुम्बकले फलाम जातको वस्तु पाएमा आकर्षण गरिहाल्छ । छोयो भने त त्यो फलामको टुक्रा पनि चुम्बकमा परिणत हुन्छ र अर्को फलामको टुक्रालाई पनि चुम्बक बनाउने हैसियत राख्छ । मलाई पनि लावण्यको मादकताले तान्नु पर्ने हो तर म फलाम तत्त्वका गुणहरु लिएर पनि म काठमा परिणत भएको थिएँ जसलाई चुम्बकले तान्न सक्दैन । मभित्रको संयन्त्रमा रातोको उचाइलाई देख्ने क्षमता हराएको थियो । रातो पहाड पनि थिचिएर कालोको भुइँमा पुगेको आभास भएको थियो । मेरो लागि खाली समथर जमिन मात्र थियो कालो रङ्गको अर्थात् अँध्यारोको । त्यहाँ कुनै रातो पहाड ठडिएको थिएन, पहेँलो चुरे थिएन र सेतो सिवालिक पनि थिएन । यस अर्थमा म पागल थिइन । खाली रातोलाई पहिचान गर्ने मेरो चेतना शून्यमा परिणत भएको थियो । मेरो मन धमिलो भएको थियो । मेरो रङ्ग छुट्ट्याउने क्षमता गायब भएको थियो । मजस्तो गुलाफलाई पनि कालो देख्थेँ ।

मेरो समस्या कुनै समस्या थियो या थिएन त्यसमा पनि दोसाँधमा थिएँ । त्यस्तो बेलामा दोसाँधमा हुनुभनेको पीडादायी हुँदो रहेछ । शारीरिकभन्दा मनको पीडा बेजोडको हुँदो रहेछ । जब मान्छेमा निर्णय लिने क्षमता क्षीण भएर जान्छ र ऊ अनिर्णयको बन्दी हुन्छ । जीवनको गतिशिलतामा पूर्ण विराम लाग्छ । पानीका छालहरु सेलाउँदै जान्छन् । पोखरी शान्त हुँदै जान्छ । जडताको जगेर्ना हुन थाल्छ । दोबाटोमा उभिएर यो बाटो जाने कि त्यो भनेर सोच्नु अनि निर्णय गर्न समय लगाउनु अनि ति निर्णयका नतिजाहरुलाई शङ्का उपशङ्काको दृष्टिकोणले हेर्नु भनेको आफूलाई कमजोर बनाउँदै लानु हो । जडताको आयतन बढाउनु हो । मेरो लागि रातो गुलाफ कालो भएको समयको एउटा सन्दर्भ यसै प्रकृतिको छ ।

मेरो भानिज दाइ र म पसलमा सामान किन्दै थियौँ । मैले पैसा दिनलाई पर्स निकालेँ । तीन सय चानचुनको खरिद थियो । मसँग दुई विकल्प थिए । पाँच सयको नोट दिने कि खुद्रा दिने । खुद्रा दिएमा के हुन्छ भन्नेतिर मेरो दिमाग गयो । लाग्यो, “त्यो खरिदपछि पनि सामानहरु किन्नु पर्ने हुन सक्छ र घर जाँदा सवारीसाधनलाई भाडा दिनु पर्ने हुन सक्छ र मलाई खुद्रा आवश्यक पर्न सक्छ ।” यसकारण पहिलो विकल्पलाई तिलाञ्जलि दिनुपर्छ भन्ने भावना सिर्जना भयो । तर फेरि दोस्रो निर्णय लिँदा आइपर्ने जोखिमतिर मेरो ध्यान गयो । साहुजीसँग खुद्रा नहुन पनि सक्छ । उसले मसँग खुद्रा भएको देखिसकेको छ । यसकारण खुद्रा दिनोस् भनेर माग राख्न सक्छ । त्यो मागलाई प्रतिवाद गर्ने झमेला सिर्जना हुन्छ । के गर्ने म दोधारमा हुन्छु । म यसरी म घरी खुद्रा निकाल्छु घरी एउटा नोट । अनिर्णयको भासमा बग्दै जाँदा परिस्थिति असामान्य हुन पुग्छ ।

“ तिमीले खुद्रा दिए हुन्छ, पछि चाहिएमा मसँग छ ।” भानिज दाइको प्रतिकृयाले मौनता चिर्छ ।

मेरो अनिर्णयको काँडो उहाँले निकालिदिनु हुन्छ । म अस्वाभाविक सोचमा डुबेको उहाँलाई थाहा हुन्छ ।

तर समस्याको जड के हो भने प्रत्येक निर्णय लिँदा यसरी सारथीको साथ पाउन असम्भव छ । कतिपय समयमा परिवारका सदस्यहरुको कटु आलोचनाको शिकार भएको छु म यही कारणले । उनीहरु कुनै कुनै विषयमा बोली भुइँमा खस्नसाथ मेरो निर्णय चाहन्थे । ममा त्यो बिजुलीको चमकमा अर्थात् शून्य समय अन्तरालमा निर्णय लिने क्षमता थिएन । मैले केही साथीहरु पनि यो समस्याबाट पीडित पाएँ । एक जनाको हकमा त कर्मचारीहरुले हाकिमको गिर्दो निर्णय गर्ने क्षमता र बढ्दो जडताका कारण राजिनामा दिएर अन्यत्र गएको पनि पाएँ । समस्या के हो भने यो व्यथाबाट पीडित व्यक्तिले आफ्नो कथाव्यथा हत्तपत्त व्यक्त गर्न चाहदैँन । अरुको त परै जावोस् आफ्नो सबैभन्दा नजिकको जीवनसाथीलाई समेत भन्न सक्दैन।

मेरो कालो गुलाफको संसारमा त्यसबेला साहस थपियो जब मैले कवि शिरोमणी लेखनाथ पौड्यालका तलका हरफहरु पढेँ ।

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,
कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो ।
कैलास-श्रेणि कालो, झलमल गरने सूर्यको विम्ब कालो,
यो सारा सृष्टि कालो, मन बिच छ भने दम्भ दुर्भाव कालो ।

स्वर्गकी गङ्गा पनि काली हुन सक्छिन् । समुद्रको मोति पनि कालो हुन सक्छ । बिजुली चम्कदाको चहक र शरद् ऋतुको चन्द्रमा पनि काला देखिन सक्छन् । चाँदीजस्तो टल्किने हिमालय पर्वत पनि कालो देखिन सक्छ । सूर्यको पिण्ड पनि कालो देखिन सक्छ । अर्थात् मनमा घमण्ड छ भने या मनको भाव कलुषित छ भने यो सारा सिर्जना नै कालो देखिन्छ ।

धन्य कवि ! मैले त केवल गुलाफ मात्र कालो देखेँ । परिस्थितिअनुसार फूलको तुलनामा कैयौँ गुणा आयतन भएका वस्तुहरू पनि काला देखिन सक्ने रहेछन् । मैले बिस्तारै बुझेँ, मनको कालोको महिमा । मेरो दृष्टिकोण अब मनको कालोमा गएर अडियो । त्यो कालोलाई विस्थापित गर्ने सेतोको खोजीमा म लागेँ । त्यो तुषलाई हटाउन मन अडेको प्राणलाई स्वास्थ्य र अनुशासित गर्नु पर्ने यथार्थता फेला पारेँ । यस्तै अन्त्यमा मेरो खोज प्राण भरिएको शरीरमा गयो । आज भोलि म शरीर, प्राण र मनको त्रिशंकु संरचनामा कालो गुलाफको परिभाषा खोजिरहेको छु ।

अस्तु ।