धेरै साथीहरुले भन्नुहुन्छ, ‘तपाईं त नवराज पराजुलीको खतरा फ्यान हो नि, होइन ?’ मलाई था छैन ‘फ्यान’ भनेको के हो र फ्यान भएपछि के के गर्नु पर्छ त्यो पनि था छैन । तर कवि पराजुलीबाट म एकदमै धेरै प्रभावित छु । उहाँका कविताहरुले मलाई एकदमै धेरै हल्लाएका छन् । तरङ्गित पारेका छन् । उहाँका कविता र वाचन शैली राम्रो छ, यसकारण मात्रै पनि म प्रभावित भएको हैन । कविता त अन्य कविहरुको पनि उत्तिकै राम्रो लाग्छ अपवाद बाहेक । तर कवि पराजुलीका कविता सुनेपछि ममा जुन तरङ्ग उत्पन्न भयो, त्यो तरङ्ग त्यसअघि कसैको कविताले पनि उत्पन्न गराउन सकेको थिएन र त्योभन्दा पहिले कहिल्यै त्यस्तो भएन पनि । पहिले पनि थुप्रै कविका थुप्रै कविताहरु सुनियो । ती कविताहरु सुनिरहँदा मलाई कहिल्यै पनि ‘म पनि कविता लेख्न सक्छु होला’जस्तो लागेन ।
उसो त पराजुलीका कविता सुन्नुभन्दा पहिले पनि मैले केही कविताहरु लेखेको छु । तर जब कविता लेखिसक्थेँ तब ‘म त कविता लेख्न नसक्ने रैछु’ भन्ने महसुस हुन्थ्यो । किन भने त्यो बेला म बहुत अप्ठेरो तरिकाले ‘कनेर’ कविता लेख्ने गर्थें । तर जब नेपाली कविताको क्षेत्रमा कवि पराजुलीको उदय भयो, तब ममा पनि कविता लेख्ने एउटा आँट पलाउन थाल्यो र कविता लेख्न सुरु गरेँ र अहिलेसम्म पनि उहाँलाई नै आइडल कवि मानेर कविताहरु लेखिरहेको छु । राम्रो नराम्रो भन्ने कुरा त लेख्दै गएपछि अक्षरहरु सुध्रिँदै जालान् त्यो आफ्नो ठाउँमा छ । अहिलेलाई खुसी यसैमा छु कि, ममा पनि कविता लेख्ने आँट पलाएको छ र त्यो कवि पराजुलीकै कारण भएको हो भन्न मलाई अप्ठेरो लाग्दैन । जसरी कुनै दिन कवि मनु मञ्जिलको कविता सुनेपछि कवि पराजुलीभित्रको कवित्व जागेको थियो र अहिले त्यसले विराट रुप लिँदै गएको छ । त्यसरी नै मभित्रको कविलाई जगाउने काम पनि कवि पराजुलीकै कविताहरुले गरेका हुन् । यसमा दुईमत छैन । कविता लेख्दै गएपछि अन्य कविहरुलाई सुन्ने र त्यसबाट प्रभावित हुने काम त अहिले पनि भइरहेकै छ । तर मभित्रको कविको बिउलाई कवि पराजुलीका कविताले पहिलो पटक अङ्कुर्याउने काम गरेकोले गर्दा उहाँ नै मेरो आइडल कवि हो भन्न म कन्जुस्याइँ गर्दिनँ । यदि कुनै दिन म साँच्चै कविको रुपमा चिनिएँ भने त्यो दिन कवि पराजुलीलाई धन्यवाद भन्नेछु । किन भने कवि पराजुली मेरो ऊर्जा हुन् ।
सन् २०१४ मा आयोजित ‘अल नेपाल स्ल्याम पोयट्री’ प्रतियोगितामा विजेता बनेपछि नेपाली कविताको क्षेत्रमा एउटा नामको उदय हुन पुग्छ, जुन नाम अहिले ‘पर्फमेन्स पोयट्री’ को क्षेत्रमा सर्वाधिक चर्चामा छ, नवराज पराजुली । म चाहिँ त्यस प्रतियोगिताको अर्को संस्करण कहिले होला भनेर सोचिरहेको छु । किन भने मलाई पनि नवराज पराजुली बन्न मन छ । नवराज पराजुली अर्थात सेलिब्रेटी कवि । पाठ्यक्रममा भएका बाहेक कहिल्यै कविता नसुन्ने नपढ्नेहरुले पनि कवि पराजुलीका कविता सुने/पढे । कवितै नबुझ्नेहरुले पनि उहाँका कविता बुझे । “मैले लेखेका कविता मेरी आमाले पनि बुझ्नु पर्छ” भन्ने कवि पराजुलीको भनाइबाट म सबैभन्दा धेरै प्रभावित भएको हुँ । सरलताको त्यो हदसम्म गएकै कारण कवि पराजुली आज सबैले सुन्ने, सबैले पढ्ने र सबैले बुझ्ने कविको रुपमा चर्चाको शिखरमा छन् । उहाँको चर्चाले मलाई बडो रोमान्चित बनाउने गर्छ र “म पनि कविता लेख्छु” भन्नलाई कत्ति पनि अप्ठेरो लाउँदैन । यसअघि गायक गायिकाहरुको कार्यक्रममा मात्रै “कन्सर्ट” भन्ने शब्द प्रयोग भएको पाइन्थ्यो । कवि पराजुलीको उदयपछि भने कविताहरुको पनि कन्सर्ट हुन थाल्यो । कविको पनि कन्सर्ट हुन थाल्यो । यसअघि गायक गायिकाहरुको मात्रै “साङ्गीतिक टुर” हुने गर्थ्यो । तर कवि पराजुलीले कविताहरुसँग टुर गरे देश विदेशमा । हुन त पराजुली भन्दा अघि पनि विभिन्न कविहरुले देश तथा विदेशमा एकल कविता वाचन गरेका घटनाहरु त थुप्रै भेटिन्छन् । तर शृङ्खलाबद्ध रुपमा कविता कन्सर्ट नै भन्ने कुरा चाहिँ भएको पाइँदैन । जुन कवि पराजुलीले गरे ।
सँगैका साथीहरु श्रीमतीको काखमा बसेर छोराछोरी खेलाइरहँदा म परदेशमा बसेर कविता लेखिरहेको छु । मतलब के त ? मतलब मलाई श्रीमान् बन्नुभन्दा पहिले कवि बन्नु छ । बाउ बन्नुभन्दा पहिले कवि बन्नु छ । कवि अर्थात नवराज पराजुली । नवराज पराजुली अर्थात चर्चित कवि अर्थात सेलेब्रेटी कवि ।
यसकारण कवि पराजुली सबैको प्रिय भएका छन् । सबैले बुझ्ने गरी लेख्छन्, सबैले बुझ्ने भाषामा लेख्छन् र सबैलाई आफ्नै कथा लेखिदिएजस्तो लाग्ने गरी लेख्छन् । उहाँको सरलता नै उहाँको मुख्य हतियार हो । कवितामा सरलता नहुँदो हो त उहाँ पनि सिमित बौद्धिक पाठकमा मात्रै सिमित हुन्थे होलान्। वाचन शैली र आवाजको त कुरै नगरौँ । कवितामा त्यो आवाज कति मिठो सुनिएको । उहाँका कविता हिट हुनुमा उहाँको आवाजको पनि उत्तिकै भूमिका देखिन्छ । फेरि कवि पराजुलीको यो आवाज त्यही आवाज हो जुन आवाज कुनै दिन झापाको एक रेडियोले “तिम्रो आवाज ठिक छैन” भनेर रेडियोमा बोल्नबाट वञ्चित गरेको थियो । रेडियोमा बोल्ने कत्रो ठुलो सपना बोकेर सोही रेडियोले आयोजना गरेको तालिममा भाग लिन गएका कवि पराजुलीले यही आवाजका कारण निराश हुनुपर्यो । तर आज उहाँका कविता हिट हुनुमा आवाजले पनि साथ दिइरहेको छ । रेडियोमा “फिट” नभएको आवाज कवितामा कसरी हिट भयो होला ? आश्चर्यको विषय छ । भाग्य भनेको सायद यही होला । धन्न उहाँ रेडियोको जागिरे हुनु भएन । नत्र आज यसरी सबैले सुन्नेगरी कहाँ बोल्न पाउनुहुन्थ्यो होला र ? रेडियोको प्रसङ्गमा कवि पराजुलीकैजस्तो मेरो पनि कहानी छ । तर मैले चाहिँ ४ वर्ष रेडियोमा काम गर्ने मौका पाएँ । “मौका पाएँ” भन्नुको अर्थ त्यतिबेला मलाई लाग्दैन थियो कि “म पनि रेडियोमा बोल्न सक्छु ।” त्यसकारण मेरो प्रतिभाभन्दा पनि मेरो भाग्यले मलाई रेडियोसम्म पुर्याएको हो जस्तो लाग्छ । यसकारण पनि हुन सक्छ रेडियोमा काम गरिरहँदा बेलाबेला मलाई भन्ने गरिन्थ्यो “तपाईं रेडियोको लागि जन्मिएको मान्छे होइन, तपाईंको बाटो अर्कै छ, पत्ता लगाउनुस् ।”
किन सर ?
“तपाईंको आवाज र जिब्रोले तपाईंलाई साथ दिएन, यस्तो आवाज रेडियोको लागि खासै काम दिँदैन ।” जवाफ यस्तो आउँथ्यो । तनमन दिएर रेडियोको लागि दिलो ज्यानले घोटिएर काम गर्ने मलाई यो कुराले च्वास्स बनाउँथ्यो । त्यसलाई स्वीकार गर्नै गाह्रो पर्थ्यो । २४ घण्टामा करिब २० घण्टा त म रेडियोमै हुन्थेँ । बिहान बेलुका खाना खान मात्रै घर पुग्थेँ । कहिलेकाहीँ घर जान नभ्याउँदा उतै खान्थेँ । खाना खुवाउने ती भाउजूलाई अहिले पनि म सम्झिन्छु । यसरी रेडियोको लागि मरिमेटिरहँदा मेरा अन्य कामले रेडियो व्यवस्थापन सन्तुष्ट र प्रभावित भए पनि मैले समाचार वाचन गरिरहँदा बारबार हुने शब्दको गलत उच्चारणका कारण रेडियो परिवार सायद आजित थियो । बारबार समाचार सच्याएर पढेका ती दिनहरु अहिले झलझली याद आउँछन् । त्यो बेला समाचार बिगारेकोमा सबैभन्दा धेरै गाली मैले खाएँ होला । यसकारण म स्टुडियोभित्र कहिल्यै पनि निर्धक्क भएर बोल्न सकिनँ र मैले आफूलाई विकास गर्नै सकिनँ । अहिले महसुस हुन्छ डर भन्दा ठुलो शत्रु अरु केही होइन रहेछ । प्रगतिको मुख्य बाधाक नै डर रहेछ । त्यही डरकै कारण रेडियोमा मैले मलाई खासै सन्तुष्ट बनाउन सकिन र व्यवस्थापनलाई पनि ।
एक पटक एउटा समाचारमा “छ बजेर छब्बिस मिनेट” भन्नु पर्नेमा “साढे छ बजेर छब्बिस मिनेट” भनेर समाचार वाचन गरियो । त्यतिबेला यो कुराले निक्कै हङ्गामा मच्चाएको थियो रेडियो भित्र पनि र बाहिर पनि । पछि यही गल्तीका कारण नैतिकताका आधारमा मैले समाचार शाखाबाट राजिनामा नै दिएँ । राजिनामा दिँदै गर्दा व्यवस्थापन टिमले मेरो नैतिकताको खुलेरै प्रशंसा पनि गर्यो । आफ्ना गल्तीहरुको नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने कुराको बोध मलाई त्यही बेलाबाट हुन थालेको हो । अहिले भने त्यो घटना सम्झिँदा बडो हाँस उठ्छ । नजिकका साथीहरुलाई त्यो घटना बेलाबेला सुनाउँछु र उनीहरु पनि हाँस्छन् । हुन त रेडियोसँग जोडिएका अन्य थुप्रै रमाइला प्रसङ्गहरु अरु पनि छन् । त्यसलाई अरु कुनै बसाइमा उल्लेख गरौँला । यहाँ मैले रेडियोको प्रसङ्ग उल्लेख गर्नुको एउटै कारण के हो भने कवि पराजुली र मेरो रेडियोसँग जोडिएको कहानी एकै हो भन्न खोजेको मात्र हो । त्यो कसरी भन्दा उहाँ पनि आवाजकै कारण रेडियोमा असफल ठहरिएको मान्छे अनि म पनि । हाम्रो कथा लगभग उस्तै छ । शब्द उच्चारणका क्रममा मेरो जिब्रोले धोका दिने क्रम त अहिले पनि रोकिएको छैन । फेसबुक मार्फत कार्यक्रम चलाइरहँदा बेलाबेला शब्दहरु चिप्लिरहन्छ । मात्रा थोरै होला तर अहिले पनि शब्द उच्चारणमा जिब्रोले धोका दिन्छ ।
तर कार्यक्रममा बिग्रिनु र समाचारमा बिग्रिनुमा धेरै फरक हुँदो रहेछ भन्ने पनि बुझ्ने मौका पाएको छु । समाचारमा जस्तो कार्यक्रममा त्यसले खास फरक नपार्दो रैछ ।
तर मेरो आवाजको सवालमा भने फरक हुन पुगेको छ । जब म युएई आएँ र यहाँका साहित्यिक कार्यक्रमहरुमा कविता वाचन गर्न थालेँ । कविताको त प्रशंसा गरे नै । त्यो त ठुलो कुरा भएन । राम्रो भए पनि नराम्रो भए पनि कसैको कविता सुनिसकेपछि नराम्रो भन्ने चलन खासै छैन । तर आवाज ? कवितासँगै धेरैले मेरो आवाजको पनि प्रशंसा गर्न थाल्नु भयो । सुरुसुरुमा त मैले यसलाई व्यङ्ग्यको रुपमै बुझेँ । किन भने हिजो रेडियोमा म असफल हुनुमा यही आवाजको मुख्य भूमिका जो थियो । आज त्यही आवाजको प्रशंसा अरुले गर्दा मैले पत्याउने कुरा पनि भएन । एक दुई जनाले मात्र प्रशंसा गरेको भए यो कुरा मेरो लागि खासै चासोको विषय बन्दैन थियो होला । तर कवितामा मेरो आवाज सुन्ने अधिकांशले “कस्तो राम्रो आवाज” भनेर प्रशंसा गरिदिँदा भने म चकित हुन्छु । अरे ! अचानक मेरो आवाजलाई के भयो ? भन्ने सोच्छु । जुन आवाज रेडियोमा फिट भएन त्यही आवाज कवितामा कसरी मीठो सुनियो ? भन्ने पनि लाग्छ । कतिपयले त “म तपाईंको आवाजको ठुलो फ्यान हो” नै पनि भन्न भ्याउनु भएको छ । अनि सोच्छु, फ्यान ? त्यो पनि मेरो आवाजको ? यो कसरी सम्भव होला र ? जस्तो पनि लाग्छ । फेसबुकमा कार्यक्रम चलाइरहँदा पनि धेरैले आवाजको तारिफ गर्नुहुन्छ । म झट्ट मख्ख परिहाल्दिन । रेडियो सम्झिहाल्छु अनि हाँस्छु र धन्यवाद मात्र भन्छु । अरु त अरु स्वयम् कवि पराजुलीलाई पनि मेरो आवाज खुब मन पर्छ । उहाँले पनि “म तपाईंको आवाजको फ्यान हो” सम्म भन्नुभएको छ । मेरो लागि यो भन्दा ठुलो कुरा अर्को के हुन सक्ला र ?
योभन्दा पनि रमाइलो कुरा के छ भने कवि पराजुलीका कविताबाट म जति प्रभावित छु त्यति नै उहाँको आवाजबाट पनि प्राभवित छु । मलाई पनि उहाँको आवाज खुब मन पर्छ । कहिलेकाहीँ कुराकानीका क्रममा म्यासेन्जरमा भ्वाइस पठाउनु हुन्छ । त्यसलाई दोहोर्याई तेहेर्याई सुन्छु । धित मरुन्जेल । त्यति सुन्दर लाग्छ । तर इमानदार पूर्वक भन्नुपर्दा मलाई अहिले पनि आफ्नो आवाज आफैँलाई खासै मन पर्दैन । यसकारण कसैले मेरो आवाजको तारिफ गरिरहँदा मख्ख परिहाल्दिन। कतै व्यङ्ग्य गरेको हो कि भनेर सोच्छु । दिमागमा त्यही रेडियो आइदिन्छ । मेरो आवाजको तारिफ गर्नेहरुले अच्युत घिमिरे, हेम सुवेदी, दिनेश डि सि लगायत आवाजका बादशाहरुको आवाजलाई के भन्दा हुन् ? भन्ने पनि लाग्छ । फेरि यो राम्रो-नराम्रो अथवा मीठो नमिठो भन्ने कुरा तुलनाले निर्माण गर्ने कुरा पनि हो ।
म झापामै छँदा साल त्यस्तै ०६७/०६८ हुनुपर्छ ठ्याक्कै बिर्सिएँ । झापाको गरामनी स्कुलमा एउटा साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो स्कुलको कक्षाकोठाभित्र । म पनि त्यहाँ पुगेको थिएँ, सर्जक भएर होइन, रेडियोकर्मी भएर । हल्काफुल्का साहित्य सिर्जना गर्ने गरेको भए पनि म सर्जकको रुपमा चिनिएको थिइन त्योबेला । रेडियो भित्रै पनि दुई तीन जना बाहेक अरुलाई थाहा थिएन म लेख्छु भन्ने कुरा । मेरो सिर्जना गतिलो नभएर पनि हुन सक्छ मलाई सर्जकको रुपमा नहेरिएको । फेरि मलाई “समाचार वाचक” हुनुमै गर्व थियो । त्यही नामले बोलाउँदा मेरो नाक पनि फुल्ने गर्थ्यो । त्यतिबेला त्यो कार्यक्रममा मैले पनि एउटा मुक्तक वाचन गरेको थिएँ । त्यो मलाई अहिले पनि कन्ठस्थ छ । त्यही कार्यक्रममा उद्घोषक भाइले एक जना पराजुली थरका कविलाई पनि कविता वाचनका लागि अगाडि बोलाएका थिए । नाम चाहिँ याद भएन पछिसम्म र अहिले पनि याद छैन । ती पराजुली थरका कवि अहिलेका नवराज नै हुन् भनेर यकिनका साथ भन्न सक्दिनँ । तर कवि नवराज पराजुलीसँग गरामनीमा भएको त्यो कार्यक्रमको बारेमा कुरा गर्दा त्यस कार्यक्रममा आफू पनि उपस्थित भएको कुरा गर्नुहुन्छ । यसरी हेर्दा चिनजान नभइकन पनि हाम्रो भेट भइसकेको रहेछ पहिले नै । कवि पराजुलीका अनुसार त्यतिबेला उहाँ त्यही गरामनी स्कुलमा “टिचिङ प्राक्टिस”को लागि त्यहाँ पढाइरहनु भएको थियो । त्यतिबेला भेटेको त्यो कवि अहिलेको यस्तो सेलिब्रेटी कवि बन्छ होला भनेर कसले सोचेको थियो होला र ? स्वयम् कविले पनि थिएन होला । त्यतिबेला थाहा भएको भए कस्तो हुन्थ्यो होला ? सायद त्यतिबेलै चिनजान गरिन्थ्यो होला । तर हामी आ-आफ्नो रचना वाचन गरेर आ-आफ्नो बाटो लागेका थियौँ । यसरी समयले पहिल्यै नै मलाई मेरो आइडल कविसँग भेट गराएको रहेछ । समयलाई मैले नचिनेको मात्र रहेछ ।
कवि पराजुलीको “मैझारो” कविता युटुबमा पहिलो पटक सुनेपछि म निक्कै प्रभावित भएको थिएँ । यस्तो लाग्यो वर्षौँदेखि मैले भन्न खोजिरहेको तर भन्न नसकेको कुरा उहाँले भनिदिनु भयो । वास्तवमा त्यस कवितामा भनिएका धेरै कुराहरु मैले जस्ताको त्यस्तै भोगेर पनि होला “सगरमाथाको गहिराइ” सङ्ग्रहभित्रका ३६ ओटा कवितामध्ये मेरो सबैभन्दा प्रिय कविता त्यही मैझारो नै हो । किन भने म त्यही मनस्थिति र परिस्थितिबाट गुज्रिसकेको छु । अरु कविता पनि उत्तिकै मन पर्छन् । तर अन्य कविताहरु मेरो भोगाइसँग थोर बहुत मेल खाए पनि “मैझारो” कवितामा जस्तो ठ्याक्कै चाहिँ भएन । खासमा त्यो मैझारो मैले लेख्नु पर्ने कविता हो । त्यसकारण त्यो कविता मेरो कविता हो भन्न मन लाग्छ । त्यो कविता सुनिसकेपछि मैले उहाँलाई एउटै प्रश्न गरेँ, ” तपाईंले प्रेमका कविता लेख्दा वा ! वा ! हुने, ताली पाउने, त्यही कविता मैले लेख्दा गाली खाने, किन होला ?”
उहाँ हाँस्नुभयो र भन्नुभयो ,”तपाईं लेखिराख्नुस् ।” यो “लेखिराख्नुस् ” भन्ने शब्दले धेरै कुरा बताएको मैले महसुस गरेँ त्यतिबेला पनि । आज पनि लेखनमा कहिलेकाहीँ दिगदारी आउँदा अथवा लामो समयसम्म दिमाग शून्यतामा रहँदा म उहाँको त्यही वाक्य सम्झिन्छु र फेरि ऊर्जा भरिएजस्तो हुन्छ मनमा । यसकारण अहिलेसम्म लेखिरहेको छु । तर एउटा यथार्थ के हो भने उहाँले जसरी सहज ढङ्गले म प्रेमका कविता लेख्न सक्दिन । लेखिहालेँ भने पनि त्यसलाई हत्तपत्त सामाजिक सञ्जालमा राखिहाल्न सक्दिनँ । कारण एउटै छ । मैले प्रेम वियोगका कविता लेखेर पोस्ट गरेँ भने ” तँ पागल भइस् ?” भनेर मलाई बसिखान दिँदैनन् ।तर आजभोलि त्यसले खास असर गर्न छोडेको छ मलाई । कसैले मलाई “तँ प्रेममा पागल” भइस् भन्दा पिर लाग्दैन । किन भने कवि पराजुलीका प्रेमिल कविताबाट म पागल भएको मान्छे हो । उहाँले प्रेम वियोगका कविता पनि लेखेर सेलिब्रेटी कवि बन्न मिल्छ भने मैले प्रेम लेख्न नहुने भन्ने के छ र ? भन्ने लाग्न थालेको छ अचेल चाहिँ ।
मलाई लेख्ने कुरामा सधैँ हौसला दिइरहनेहरु मध्ये एक कवि तथा गजलकार पुरुषोत्तम ढुङ्गेल पनि हुनुहुन्छ । प्रत्यक्ष भेटघाट अहिलेसम्म भएको छैन । तर लामो समयदेखि हामी सामाजिक सञ्जालमार्फत जोडिएका छौँ र फुर्सदमा राम्रै भलाकुसारी गर्छौँ । उहाँ बेलाबेला मलाई भन्ने गर्नुहुन्छ, ” तपाईं मूलधारको कविताले कम आँकलन गरेको कवि हो ।” उहाँले यसो किन भन्नुहुन्छ त्यो त थाहा हुन सकेन तर म हाँस्दैभन्छु, ” मेरो पनि दिन आउला नि ।” वास्तवमा म त्यही दिनको पर्खाइमा छु जुन दिन कवि ढुङ्गेलले भने जस्तै मूलधारको कविताले मलाई कविको रुपमा स्वीकार गर्नेछ । त्यो समय कहिले आउँछ त्यो त थाहा छैन । अथवा मैले भने जसरी नआउन पनि सक्छ । किन भने मैले खोजेको नवराज पराजुलीकै जस्तो हो । एउटै युगमा दुई दुई ओटा नवराज जन्मिने कुरा पनि नरहला कि ? देवकोटाको पालामा पनि त महाकवि उनी मात्रै भए ।
अहिले कसैले “कविता लेखेर के पाइन्छ ।” भनेर सोध्यो भने अब जवाफ दिन सजिलो भएको छ, “नवराज पराजुली ।” यो युगमा अर्को नवराज पराजुली जन्मिन्छ/जन्मिँदैन थाहा छैन । तर मलाई पनि नवराज पराजुली बन्न मन छ । खासमा तुलना गर्ने बानीले मान्छेलाई मानसिक रोगी बनाउँछ र सधैँ दुखी बनाइरहन्छ। त्यसकारण म तुलना त गर्दिनँ, तर कवि पराजुलीजस्तो बन्न पाए हुन्थ्यो भन्ने चाहिँ सधैँ लागिरहन्छ ।
केही समय पहिले कविता कन्सर्टका लागि भारतको सिक्किम पुगेर त्यहाँको न्यानो आतिथ्य ग्रहण गरेपछि कवि पराजुलीले एउटा कविता लेख्नुभयो ।
“सुख के हो ?
सखीको काँधमा रुन पाउनु
कि त
सिक्किमको पाहुना हुन पाउनु ।”
त्यसको जवाफमा मैले पनि उहाँकै कवितालाई साभार गरेर लेखेँ
“सुख के हो ?
सखीको काँधमा रुन पाउनु
कि त
नवराज पराजुलीजस्तो
कवि हुन पाउनु ।”
जसरी उहाँलाई सिक्किमको पाहुना हुँदा ज्यादा खुसी अथवा स्वर्गीय आनन्द प्राप्त भएको थियो त्यसरी नै मलाई पनि उहाँजस्तै कवि बन्न पाए उहाँले प्राप्त गरेको त्यो आनन्द मलाई मिल्नेछ । उहाँको लागि सिक्किमको पाहुना हुनु जत्ति खुसीको कुरा हो त्यति नै मलाई नवराज पराजुली बन्नु हो ।
एक पटक एउटा फेसबुक अनलाइन कार्यक्रममा मलाई कविता वाचनका लागि अतिथि बनाइयो । त्यो खुसीको खबर मैल फेसबुकको भित्ता र आफ्ना नजिकका साथीभाइलाई इन्बक्समा पठाएँ । त्यही क्रममा एक जना महिला मित्रलाई पनि पठाएँ । उनी पनि कवि/लेखक हुन् । त्यो अनलाइन कार्यक्रममा मलाई अतिथि बनाएको देखेर उनले भनिहालिन्, “नेपालमा सबै कविहरु सकिएछन् र तपाईंलाई अतिथि बनाएको ?” उनको यो कुरा सुनेर त्यतिबेला त म हाँसे मात्र । मसँग जवाफ थिएन पनि । जब मसँग कुनै कुराको जवाफ हुन्न तब म हाँस्ने गर्छु र कुरोलाई सामान्य ठानेको महसुस दिलाउँछु । पछि भने अलिक गम्भीर बनायो उनको यो प्रश्नले । यसको मतलब उनको नजरमा म कवि बन्न बाँकी नै रहेछ । हुन त उनले मलाई लामो समयदेखि नजिकबाट चिन्दै आएका कारण पनि उनलाई मेरा कविताहरु कविता जस्तो नलागेको हुन सक्छ अथवा म कवि हो भन्ने कुरा उनलाई पत्यार नलागेको हुन सक्छ । उनीसँग गुनासो गर्ने पक्षमा म छैन । किन भने उनी मात्रै होइन, जस-जसले मलाई नजिकबाट चिनेका छन् उहाँहरुलाई मैले लेखेको कुरा कविता हो भन्ने लाग्दैन । मैले प्रेम लेख्नुलाई धेरैले मेरो कमजोरीको रुपमा लिनुहुन्छ । म भने यसैलाई आफ्नो पहिचान बनाउने सोचमा छु । कसैले प्रेम कविता भन्ने बित्तिकै मलाई सम्झियोस् अथवा कसैले मलाई सम्झिने बित्तिकै प्रेमिल कविता सम्झियोस्, यस्तै यस्तै । तर यसका लागि मैले अझै धेरै वर्ष सङ्घर्ष गर्नुपर्छ जस्तो लाग्छ । एउटा ठुलो जमातले मलाई कवि भनेर चिन्ने अवस्था नआएसम्म अर्थात कवि भनेर स्वीकार नगरेसम्म मेरा नजिकका भनिएकाहरुले मलाई कविको रुपमा हेर्ने छैनन् । मैले लेखेको कुरा पनि कविता हो है भनेर उहाँहरुलाई बुझाउन मलाई निक्कै समय लाग्नेछ । त्यति गराउन सके भने मात्रै पनि म आफूलाई सफल भएको ठान्नेछु । त्यतिन्जेल मसँग लेखिराख्नुको विकल्प छैन । कि त म लेखनबाट पलायन हुन पर्यो कि त मैले लेखनको विषय परिवर्तन गर्नुपर्यो ।
पहिले पहिले त एउटा प्रेमिल स्टाटस अथवा प्रेमिल कविता फेसबुकमा राख्दा त्यहाँ आउने लाइक कमेन्टभन्दा धेरै इन्बक्समा म्यासेज आउथेँ । “किन यस्तो लेखेको ? के भयो साथी किन निराश ? कति प्रेमका कुरा मात्र लेखेको ? भन्ने आशयका म्यासेज । म अनुत्तरित हुन्थेँ । अहिले कम्तिमा म्यासेज आउने क्रम लगभग पूर्ण रुपमा रोकिएको छ । यसमा दुईटा कारण हुन सक्छ, “यो यस्तै हो यसलाई जति भने पनि सुन्ने हैन” अथवा “यसले लेखेको पनि कविता हो है” भनेर बुझ्ने कोसिस गरेकम पनि हुन सक्छन् ।
मेरो एउटा साथी जो स्कुलदेखि ब्याच्लरसम्म हामी सँगै पढेको, उसलाई पनि मैले यसरी फेसबुकमा प्रेमका कुराहरु लेखेको मन पर्दैन थियो पहिलेदेखि नै । साथीले एक दिन “यसरी धेरै प्रेमका कुरा नलेख पागल होलास् ” भनेर भन्न भ्यायो । त्यतिबेला हामी एउटै अफिसमा काम गर्थौँ । उसले त्यसो भनिरहँदा मसँग हाँस्नु बाहेक अर्को जवाफ थिएन र उसले त्यसो भन्यो भनेर म रिसाइन पनि । किन भने काव्यिक चेत नभएको अथवा कम भएको साथीबाट त्यसकिसिमको प्रतिक्रिया पाउनु ठिकै हो भन्ने लाग्यो । खासमा उसले मप्रति देखाएको प्रेम पनि थियो त्यो । आफ्नो मिल्ने साथी एउटा प्रेमको कारण पागल भएको हेर्ने रहर त पक्कै उसलाई पनि छैन होला । त्यसकारण उसले त्यसो भन्नू ठिकै थियो । तर म त “कवि” बन्नलाई लेखिरहेको छु भन्ने कुरा मैले त्यतिबेला उसलाई भन्न र बुझाउन सकिनँ । “लेख्नु” पनि एक थेरापी हो भन्ने कुरा सायद उसले बुझेको थिएन । कवि बन्ने रहर त पछि मात्रै जाग्दै गएको हो ममा । सुरुवाती दिनमा त मैले यसलाई थेरापीको रुपमा नै प्रयोग गरिरहेको थिएँ । किन भने मलाई थाहा थियो राइटिङ थेरापीको बारेमा । कसैलाई भन्न नसकिएका कुराहरु शब्दमा उतार्नु पीडाबाट बाहिर आउने एउटा उपाय हो भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । यदि थाहा हुँदो हो त मान्छे डिप्रेसनको सिकार हुने थिएनन् । यदि थाहा हुँदो हो त मान्छे पीडा भुलाउन गलत सङ्गत र कुलतमा फस्ने थिएनन् । यही कुरालाई ध्यानमा राखेर मैले निरन्तर लेखिरहेँ र पोस्ट गरिरहेँ फेसबुकमा, कसले के भन्ना ? भन्ने कुराको हेक्का नराखी। पछि कवि पराजुलीलाई सुन्न थालेपछि भने मैले आफ्ना हरेक स्टाटसहरुमा कविता देख्न थालेँ । त्योभन्दा पहिले ती केवल स्टाटास मात्र थिए । यस्तो लाग्यो म त धेरै पहिलेदेखि पो कविता लेखिरहेको रहेछु । फरक यति हो त्यो कविता हो भन्ने कुरा बुझाइदिने कोही भएनन् । कवि पराजुलीको उदयपछि मात्र मभित्रको कविले त्यो स्टाटसमा पनि कविता देख्न थाल्यो र त्यही स्टाटस लेख्ने शैलीलाई थोरै परिवर्तन गरेर कविता लेख्न थालेँ । अहिले पनि त्यही शैली अपनाइरहेको छु ।
मैले फेसबुकमा लेख्ने प्रेमिल स्टाटस र प्रेमिल कविताका लाइनहरु मेरो ठूलो बहिनीलाई पनि खासै मन पर्दैन । तर उसलाई कवि पराजुलीका प्रेमिल कविताहरु भने मन पर्छ । साहित्यप्रति त्यतिबिघ्न रुचि नभए पनि उसले पराजुलीका कविताहरु सुनेकी छे र उसलाई मन पनि पर्छ। उसैले हो मलाई कवि पराजुलीको कवितासङ्ग्रह किनेर साथीको हातमा युएई पठाइदिएकी । एक दिन ग्रुप कलमा कुरा गरिरहेको बेला मेरो स्टाटसको कुरा निस्कियो । त्यही मौकामा मैले उसलाई सोधेँ, “तँलाई नवराज पराजुलीले लेखेको कविता मन पर्ने, अनि मैले त्यस्तै लेख्दा चाहिँ तँलाई किन आपत्ति भएको ?”
“नवराज पराजुली भनेको कविता लेख्नकै लागि जन्मिएको मान्छे हो । तँ भनेको गल्फ्रेण्डले छोडेर गएपछि कवि भएको होस् । तुलना गर्नै मिल्दैन नि ।” यस्तो जवाफ दिई उसले । उसको जवाफमा म हाँसे मात्र । किन भने उसले दिएको जवाफ धेरै हदसम्म साँचो पनि थियो ।
ब्रेकअप हुनुभन्दा पहिले मुक्तक र गजल मात्र लेखिरहेको थिएँ सामान्य रुपमा । ब्रेकअपपछि लेख्नका लागि मसँग यतिधेरै कुराहरु आउन थाले कि त्यसलाई मैले गजल र मुक्तकमा मात्र अँटाउनै सकिनँ । आफ्ना कुराहरु पोख्नका लागि अलिक फराकिलो माध्यम खोजिरहेको थिएँ । त्यो बेला मैले उपन्यास लेखौँ कि भन्ने पनि सोचेको थिएँ । कविता लेख्न जानिरहेको थिइनँ । तर फेसबुकमा नियमित रुपमा प्रेमिल स्टाटस भने लेखिरहेको थिएँ । जुन धेरैलाई मन पर्दैन थियो । उपन्यास कसरी लेख्ने भन्ने विषयमा “मलाई पनि उपन्यास लेख्न सिकाइदिनु पर्यो” भनेर मैले उपन्यासकार कृष्ण अविरललाई म्यासेज गरेको थिएँ । व्यक्तिगत रुपमा राम्रो चिनजान नभए पनि हामी सामाजिक सञ्जालमा जोडिएका छौँ । उहाँले पनि “हुन्छ नि भेट गरौँ न म सिकाउँला नि ” भन्नुभएको थियो । तर म काठमाडौंमै भएर पनि उहाँसँग नभेटी युएई हानिएँ । त्यसपछि उपन्यास लेख्ने कुरा त्यतिकै सेलाएर गयो । उपन्यास लेख्न नसकेपछि म अर्को बाटो खोजिरहेको थिएँ आफ्ना कुराहरु राख्नको लागि । म नेपालमै छँदा कवि पराजुलीसँग जोडिएको हो अथवा दोस्रो पटक युएई आएपछि (२०७३ को फागुन) हो ठ्याक्कै यकिन भएन तर उहाँको एउटा कविता अहिलेका नेता तथा पूर्व लोकप्रिय पत्रकार रविन्द्र मिश्रले आफ्नो फेसबुकमा सेयर गरेपछि मैले पनि कवि पराजुलीलाई साथी बनाएको थिएँ फेसबुकमै । त्यहाँदेखि यता हामी निरन्तर फेसबुकमा छौँ र मैले उहाँलाई पढ्दै र सुन्दै आइरहेको छु । कवि पराजुली आजको सेलिब्रेटी कवि बन्नुका पछाडि धेरै कुरा र धेरै व्यक्तिको हात होला । त्यसमा एउटा मूख्य भूमिका रविन्द्र मिश्रको पनि छ । सम्झिन्छु “कास हाम्रो कविता पनि नाम चलेका त्यस्तै कोही कसैले सेयर गरिदिए हाम्रो पनि भाग्यको द्वार खुल्थ्यो कि ?” तर सबै कविको जीवनमा रविन्द्र मिश्रहरु नआउँदा रहेछन् ।
डा. योगी विकाशानन्द भन्नुहुन्छ, “जो मान्छेसँग प्रतिस्पर्धा गर्न सकिँदैन अथवा जो मान्छेसँग प्रतिस्पर्धा गर्न मिल्दैन, अथवा प्रतिस्पर्धा गर्न चाहनुहुन्न, उसलाई सधैँ खुसी पारिराख्नु पर्छ, त्यसैमा आफ्नो भलाइ हुन्छ ।” पक्कै पनि डा. योगीले भने जस्तै कवि पराजुलीसँग म प्रतिस्पर्धा गर्न सक्दिनँ, प्रतिस्पर्धा गर्न मिल्दैन र म चाहन्न पनि । मैले कैयौँ पटक फेसबुकमा कवि पराजुलीको प्रशंसा गरेर स्टाटस लेखिसकेको छु । कतिले त्यसलाई चाप्लुसी पनि भन्न बाँकी राखेनन् । कसैको प्रशंसा गर्दा चाप्लुसी हुन्छ भने त्यस्तो चाप्लुसी गरिरहन पाइयोस् जस्तो लाग्छ । अरुलाई गाली गरेर चिड्याउनु भन्दा त प्रशंसा गर्नु धेरै राम्रो काम हो नि, होइन र ? हामी कसैलाई गाली गर्न जति हतार गर्छौँ कसैको प्रशंसा गर्नु पर्यो भने दसचोटी सोच्छौँ र दाँतबाट पसिना निकाल्छौँ । कहिलेकाहीँ आफूभित्रको अहंकारले पनि अरुको प्रशंसा गर्न दिँदैन । गाली र प्रशंसाको मनोवैज्ञानिक असर बुझ्न नसकेर पनि हुन सक्छ हामी प्रशंसा कम, गाली ज्यादा गर्छौँ । कसैको प्रशंसा गर्न पनि ठुलो आँट र फराकिलो मन चाहिन्छ । गाली त जसले जसलाई पनि गर्नसक्छ । कोही मान्छे आफूभन्दा माथि पुगिहाल्छ कि भन्ने पिरले पनि हामी प्रशंसा गर्न डराउँछौँ । बरु उसलाई गिराएर आफू ऊभन्दा माथि भएको देखाउन भने कत्ति पनि पछि पर्दैनौँ । यसको ज्वलन्त उदाहरण सामाजिक सञ्जालमा देखिने भद्दा गालीहरुलाई नै लिन सकिन्छ ।
केही समय पहिले आफ्नो फेसबुकमा एक युवा कवि जो आफैँमा सम्भावना बोकेका कवि हुन, उनले कवि नवराज पराजुली र अर्का कवि अर्जुन पराजुलीलाई गाली गर्दै लेखे, “आजको नेपाली कविता क्षेत्रलाई सबैभन्दा कुरुप बनाउने, अन्तै मोडिदिने र कविता विधाकै बेइज्जत गर्ने कविहरुमा प्रमुखमा नवराज र अर्जुन पराजुली पर्छन् । र्याप, निबन्ध, शब्दहरुको थुप्रो र भिडियोमा मन जित्ने खालको संवेदना, रोनाधोना नि कहीँ कविता हुन्छ ?”
उहाँले यो स्टाटस कुन तालमा राख्नुभएको थियो कुन्नि थाहा भएन । अहिले उहाँको फेसबुकमा यो देखिँदैन । यसरी बेहोसमा अरुलाई सकेजति गाली गरेर स्टाटस लेख्ने अनि होस खुलेपछि डिलिट गर्ने कवि/लेखकहरु थुप्रै हुनुहुन्छ नेपाली साहित्यमा । अहिले यहाँ नाम उल्लेख नगरौँ होला । नत्र फेरि मेरो होस उडाइदिन्छन् । एउटा कविले अर्को कविलाई यसरी भनेको अलिक नसुहाउँदो रहेछ । त्यो पनि कविता लेखेरै स्थापित भइसकेका कविहरुलाई । यतिबेला फेरि डा. योगी विकाशानन्दलाई सम्झिन मन लाग्यो । उहाँ भन्नुहुन्छ, “यदि कसैले आफूलाई गाली गर्छ भने ऊमाथि दया देखाउनु ।” उहाँका अनुसार आफूभन्दा कम चेतना स्तर भएको मान्छेले मात्रै अरुलाई गाली गर्छ । जसरी जिससले आफूलाई सुलीमा चढाउनेहरुलाई माफ गरिदिनका लागि ईश्वरसँग प्रार्थना गरेका थिए । यसकारण कसैले गाली गर्छ भने ऊसँग रिसाउनु पर्ने कारणै छैन । वबिचरा मभन्दा पनि कम चेतना बोकेर बाँचिरहेको रहेछ भनेर चित्त बुझाइयो भने सहज हुन्छ भनेर डा.योगी भन्नुहुन्छ ।
कवि पराजुलीलाई माया गर्ने, मन पराउने र उहाँलाई आइडल मानेर कविता लेख्नेहरु थुप्रै छन् नयाँ पुस्तामा । किन भने कविहरु पनि सेलेब्रेटी हुन् अथवा हुन सक्छन् भन्ने एउटा गतिलो प्रमाण उहाँ बन्नु भएको छ सबैका लागि । यसमा अरु कविहरुले गर्व गर्नु पर्ने हो । तर बिडम्बना हामी आरिस गरेर बसेका छौँ । डाहा छ मनमा । जलनको आगोले छाती पोलाएर बसेका छौँ । आफूभित्र राख्न गाह्रो भएपछि त्यही जलन बेलाबेला सामाजिक सञ्जालमा पोख्छौँ र कवि पराजुलीलाई तथानाम गाली गर्छौँ । यो उहाँको प्रगतिप्रतिको जलन बाहेक अरु केही होइन । त्यतिमात्रै होइन आफू उहाँ जस्तै माथि जान नकसक्नुको बिषबमन पनि हो । मैले यसरी बुझ्दै आएको छु । नत्र भने कसैले कसैलाई गिराएर सामाजिक सञ्जालमा लेख्नु पर्ने जरुरी के छ ? समालोचना नै गर्ने हो भने पनि त्यसका पनि तौर तरिका होलान् । पराजुलीका कविताहरुलाई कविता नै होइन भनेर ठोकुवा गर्ने कविहरु पनि छन् । उहाँलाई कवि नै नमान्ने कविहरुको जमात पनि सानो छैन । उहाँका कविता कविता होइनन् भने आखिर कविता के हो त ? यसको जवाफ स्वयम् उसलाई पनि थाहा छैन जसले पराजुलीका कवितालाई कविता होइन भन्छ । आखिर पराजुलीका कवितामा पनि केही त दम छ र त यति चर्चामा छन् । कविता लेखेकै भरमा चर्चाको शिखरमा पुगिने हो भने कविता लेख्ने सबै आज कविता कन्सर्ट गर्दै हिँडिरहेका हुन्थे होलान् । अलिकति त भाग्यमा पनि लिएर आउनु पर्ला । जुन भाग्य पराजुलीले पाएका रहेछन् ।
आफूले देख्दै नदेखेको, आफू जन्मिनुभन्दा पहिल्यै बितिसकेका अथवा भनौँ उमेरका हिसाबले पाका कविहरुलाई बडो सम्मानका साथ पढ्ने हामी कविहरु आफ्नो समयका, आफूले देखिरहेको, आफूले चिनिरहेको, आफ्नै समकालीन कविहरुलाई भने जारको जस्तो व्यवहार गरेर बसेका छौँ । सायद यो प्रवृत्ति महाकवि देवकोटाको पालामा पनि थियो होला । भूपी शेरचन र हरिभक्त कटुवालहरुले पनि यो नियती भोगे होलान् । किन भने समय पो परिवर्तन भयो त तर हामी र हाम्रो बानी त फेरिएको छैन नि त । उनीहरुलाई गाली गर्नेहरुको आज नामोनिसान छैन । गाली खानेहरु भने बाँचिरहेका छन् । यसकारण कवि पराजुलीलाई उहाँप्रति गरिने अनावश्यक टीका टिप्पणी र आलोचनाहरुले खासै फरक पार्छ होलाजस्तो लाग्दैन र पार्नु हुँदैन पनि । किन भने कवि पराजुली नेपाली साहित्यको इतिहासमा अमर रहन सक्ने सम्भावना बोकेका एक प्रतिभावान् कवि हुन् ।
मूलधारका भनिएका मिडियाले सर्जकहरुलाई कत्तिको स्थान दिन्छन् अथवा दिइरहेका छन्, नयाँ सर्जकको हकमा अवस्था के छ ? भन्ने आशयको कवि राजु झल्लु प्रसादले केही समयअघि तयार पारेको एउटा लेखमा कवि पराजुली आफ्नो कुरा यसरी राख्नुहुन्छ, ” मेरो किताबको पाण्डुलिपि पढ्ने पहिलो व्यक्ति नवीन प्राचीन हो । भनेको किताब आउनुपूर्व मेरा पाठक नै थिएनन् । म फेरि पत्रपत्रिकामा कविता छपाएर आइन । मैले युटुब, सामाजिक सञ्जालको बाटो समातेँ । म अरु हिँड्नेभन्दा फरक बाटो हिँडे कि भन्ने लाग्छ । मैले मेरा दर्शक छन् है भन्ने भएपछि किताब निकालेको हुँ । मैले प्रचलित साहित्यिक प्राक्टिसहरुसँग सङ्गत नै गर्न पाइनँ ।” यसबाट एउटा कुरा के स्पष्ट हुन्छ भने यदि कवि पराजुलीले अरुले जस्तै मूलधारका मिडियामा भर परेर बसिरहेको भए यो नाम अहिले यति चाँडै नेपाली साहित्यमा चम्किनेवाला पक्कै थिएन । अहिले पनि उहाँ एउटा दुईटा कविता छपाउनमै दौडधुप गरिहेको हुनुहुन्थ्यो होला र छापिएर आउँदा मख्ख पर्दै सामाजिक सञ्जालमा सेयर गरेर आफू कवि भएको कुरा आफ्नाहरुलाई भनिरहेको हुनुहुन्थ्यो होला । धन्न उहाँ फरक बाटो हिँड्नुभयो र हामीले चाँडै चिन्ने मौका पायौँ । जसले कविताको चलन चल्तीको ट्रेण्डलाई धेरै हदसम्म परिवर्तन गरिदिनु भयो । फरक धारमा हिँड्नेहरुले नै रहेछ इतिहासमा नाम लेखाउने भनेको । जसरी हिजो “नारा कवि” भनेर समकालीनहरुले गिज्याउने भूपिलाई आजको पुस्ताले बडो सम्मान र गर्वका साथ पढिरहेको छ । त्यसैगरी कविताको फर्म्याटलाई बिगार्यो भनेर बेलाबेला गाली खाइरहने यी कवि पराजुली पनि भोलिका पुस्ताका लागि यस्तै उदाहरणीय कवि नबन्लान् भनेर अहिले कसरी भन्न सकिएला र ? हुन त अहिले पनि नयाँ पुस्ताका थुप्रै कविहरुका लागि कवि पराजुली आइडल कवि हुन् मेरोजस्तै ।
युएईमा लामो समयदेखि रहँदै आउनु भएका र यहाँको साहित्य गतिविधिमा निक्कै सक्रियताका साथ लागिरहनु भएका गजलकार जे. सागरले मलाई युएईको नवराज पराजुली भनेर सम्बोधन गर्नुहुन्छ । यसबाट मेरो कविता लेखन र वाचन शैली कवि पराजुलीको शैलीबाट गहिरो ढङ्गले प्राभावित छ भन्ने कुरा सजिलै अनुमान लाउन सकिन्छ । कवि पराजुलीको यो प्रभावबाट म टाढा हुनुपर्छ अथवा प्रभावबाट मुक्त हुनुपर्छ पर्दैन त्यो पनि थाहा छैन । तर मलाई उहाँ जस्तै सेलिब्रेटी कवि बन्ने रहर चाहिँ पक्कै छ । मलाई यो पनि थाहा छ कि कविता लेखेर मात्रै पनि कवि पराजुलीजस्तो बन्न सकिँदैन । भाग्य पनि चाहिन्छ । जुन ममा नहुन पनि सक्छ । अथवा समय लाग्न सक्छ त्यो चमत्कार हुनलाई । यसैमा कवि मनु मञ्जिलले भन्दै आउनु भएको कुरा जोड्न मन लाग्यो ।
“आफ्नो लेखनबाट चमत्कार होस् भन्ने चाहना हरेक लेखकमा हुन्छ । तर चमत्कार भन्ने कुरा लेखकले चाहेर हुने चिज होइन । यो चमत्कार कतिखेर हुन्छ भन्ने कुरा स्वयम् लेखकलाई पनि पत्तो हुन्न । यसकारण निरन्तर साधनाको जरुरी पर्छ ” भनेर कवि मञ्जिल सुझाब दिनुहुन्छ । त्यसैले कवि पराजुलीकै जस्तो कविता लेखनबाट चमत्कार गर्ने भाग्य मेरो छ कि छैन त्यो अहिले भन्न सकिन्न । तर कवि मञ्जिलको भनाइमा भने म विश्वास राख्छु ।
एक दिन ठट्टाठट्टामै साथीले भन्यो, “तपाईं पनि नवराज पराजुलीजस्तै सेलेब्रेटी कवि बन्नु भयो भने त हामीलाई मान्छे नै गन्नुहुन्न होला है ? हाम्रो म्यासेज सिन नै गर्नुहुन्न होला, सिन गरे पनि रिप्लाई गर्नुहुन्न होला है “? म मुसुक्क हाँसेँ र मैले पनि मजाक गर्दै भने, “नवराज पराजुलीजस्तो कवि भइसकेपछि पनि तिमीहरुलाई गन्नु पर्छ भने म सेलीब्रेटी कवि भएको के अर्थ भयो र ?”
” ए अँ ! त्यस्तो” भन्दै साथी मज्जाले हाँस्यो । यो त मजाक थियो । तर त्यो मजाकभित्र पनि ठूलो समस्या लुकेको छ । जब एउटा मान्छे सफल हुन्छ अथवा अरुभन्दा अलिक माथि पुगेको महसुस गर्न थाल्छ तब उसमा अहंकार भन्ने चिजको उदय हुन थाल्छ । अहंकार सफलता विज्ञानको सबैभन्दा ठूलो कमजोरी पनि हो । जसले मान्छेलाई पतन गराउन बेर लाउँदैन । हुन त अहंकार भन्ने चिज आफैँमा नराम्रो कुरा त पक्कै होइन । तर प्रयोग कसरी हुन्छ भन्ने कुराले निर्धारण गर्ने कुरा हो । जस्तो अहंकार मान्छेको गोप्य अङ्गजस्तै हो । जुन मानवीय जीवनका लागि आवश्यक कुरा हो । तर आवश्यक चिज हो भन्दैमा बाहिर देखाउँदै हिँड्ने कुरा हुँदैन । यो अहंकार पनि लगभग त्यस्तै त्यस्तै हो । अहंकारले मान्छेलाई प्रगति गर्नमा मद्दत त पक्कै गर्छ नै । तर आफूभित्रको अहंकार अरुले महसुस गर्नुभएन । त्यति हो ।
अन्त्यमा, यो विषयमा लेख्नु पर्ने र भन्न मन लागेका अरु पनि थुप्रै कुराहरु छन् । ज्यादा लामो होला भन्ने पिरले अहिलेलाई यत्ति मात्र लेखेँ । आवश्यक परेको खण्डमा कुनै दिन फेरि लेखौँला । खासमा यी तमाम कुराहरु म कवि पराजुलीलाई प्रत्यक्ष भेटेरै भन्न चाहन्थेँ तर भेट कहिले हुन्छ भन्ने कुराको कुनै टुङ्गो छैन । त्यसकारण यस लेख मार्फत भन्न उपयुक्त लाग्यो । यतिबेला कवि पराजुली चार महिने अमेरिका यात्रामा हुनुहुन्छ । कविता कन्सर्टको टुरमा हुनुहुन्छ । एउटा कवि कविता सुनाउनकै लागि यति लामो यात्रामा निस्किनु पक्कै पनि सामान्य कुरा नहोला । यस्तो भाग्य सबै कविको नहुन पनि सक्छ । उहाँको यो यात्रा सफल रहोस् । उहाँ सफल हुनु भनेको हामी सफल हुनु हो त म भन्दिन । किन भने सबै कविहरुले उहाँलाई मन पराउँदैनन् । तर मजस्ता कवि पराजुलीलाई मन पराउनेहरुका लागि भने उहाँको यो सफलता प्रेरणाको स्रोत बन्छ । एउटा कुरा के हो भने उहाँलाई कसैले मन पराए पनि मन नपराए पनि कविता लेख्ने अबका नयाँ पुस्ताका हरेक कविमा एउटा सपना जरुर हुनेछ, कवि पराजुलीजस्तै सेलिब्रेटी कवि बन्ने । सपना पूरा हुने नहुने आफ्नो ठाउँमा छ । तर सपना जरुर देख्नेछन् अबका कविहरुले । यो मेरो विश्वास पनि हो । मेरो रहर पनि त्यस्तै केही छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।