असार महिना आफैंमा विशेष महिना हो । आकाशका आँगनभरि छरिएका बादलका बिस्कुन, बिस्कुनका अनेक आकार र रूप, रूपमा आउने परिवर्तनसँगै बर्सिने पानीले जब मनसुनको नाम लिन्छ तब खनेर राखिएका खेतका डल्लाले भिज्ने अवसर पाउँछन् । पानीमा आफूलाई भिजाएर नौनीजस्तै बनेपछि डल्लाले आफ्नो छाती धान रोप्नको लागि योग्य बनाउँछ अनि देशभरि नै असारको रौनकता सुरु हुन्छ । नेपाल कृषिप्रधान देश भएकाले अझ विशेष महत्त्व त असार महिनाकै हुन्छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो र यसको खेती नेपालको मनाङ र मुस्ताङबाहेक सबै जसो क्षेत्रमा गरिन्छ । मानो रोपेर मुरी फलाउने रोपाइँ कार्यमा लागेका कृषकहरूको मुहारमा यतिबेला कर्मका मोतीदाना पसिनासँगै फक्रिएका खुसीका लालुपाते फूलहरूका छापहरू देख्न सकिन्छ । हाम्रो नेपाली समाजमा मानिसको जन्मदेखि मृत्युसम्म नै धान चामलको प्रयोग गरिन्छ । धान चामल हाम्रो संस्कार, संस्कृति र परम्परासँग मात्र जोडिएका छैनन् । चामल त हामी नेपालीहरूका लागि बिहान र बेलुका खाइने प्रमुख खाद्यन्न नै हो । यसैले पनि धानको महत्त्व धेरै छ । यही पेटभरि दुई छाक चामलको भात खानको लागि मानिस दिन रात खटेका हुन्छन् । असार महिनाको मध्य गर्मीसँगै दर्किएको पानीमा आफ्नो भविष्य देख्ने कृषकहरू वर्षदिनभरिका लागि छाक जुटाउन कम्मर कसेर खेतमा लागिपर्छन् र साथमा उत्साह बटुल्छन् अनि मङ्सिरमा भकारी भराउने सपना देख्छन् ।

राष्ट्रिय धान दिवसः

नेपालमा प्रत्येक वर्षको असार महिनाको मध्य दिन अर्थात् पन्ध्र गतेको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रीपरिषद्को बैठकले असार १५ गतेलाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यो दिन दही चिउरा खाने दिन, रोपाइँ जात्रा, हिलो खेल्ने दिनका रूपले पनि चिनिन्छ । कृर्षिमा परनिर्भता बढ्दै गएको कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा राष्ट्रिय धान दिवस मनाइँदै आइएको हो । प्रत्येक वर्ष प्रभावकारी अर्थपूर्ण नाराको साथ मनाइने धान दिवसले भने जस्तै सम्पूर्ण नेपालीले सहजै धान रोप्न पाएका छन् त ? उनीहरूको परिश्रमले सार्थकता पाएको छ त ? धानको बिउ, रासायनिक मल सजिलै पाउन सकेका छन् त ? सरकारले सिँचाइको उचित प्रबन्ध गर्न सकेको छ त ? भन्ने जस्ता प्रश्नहरूसँग बर्सेनी कृषकहरूले जुध्नु परेको छ । यो वर्ष छिट्टै मनसुन सुरु भएकोले धेरैजसो खेतका गराहरूमा धानका बिउले जीवन पाइसकेका छन् । तर रोपाइँ सुरु भइसक्दा पनि मलको हाहाकारले गर्दा किसानहरू यो वर्ष पनि मारमा परेका छन् ।

लक्ष्मी थापा

सरकारले सिजनमा मात्र मल आपूर्तिका लागि पहल गर्ने हुनाले हरेक वर्ष कृषकले मलकै लागि धेरै दुःख पाएका छन् । पहिलाका वर्षहरूलाई हेर्ने हो भने सिँचाइ नहुने र आकाशको भर पर्नु पर्ने अधिकांश स्थानमा खेतका गरा बाँझै रहेका थिए । जसको ठुलो असर कृषकलाई मात्र नभई देशकै अर्थतन्त्रमा पनि परेको थियो । आशा गरौँ अबका वर्षहरूमा राष्ट्रले लगाएको नारासँगै सबै कृषकहरूको जीवनमा खुसीहरूले उचाइ थपून् । हुन त नेपाल सरकारले राष्ट्रिय धान दिवस मनाउनुभन्दा अगाडिदेखि नै असार पन्ध्र गते नेपालीहरूका लागि पर्वकै रूपमा चिनिँदै आएको छ । परम्परादेखि नै असार पन्ध्र गतेका दिनलाई दही चिउरा खाने दिनका रूपमा लिइँदै आइएको छ । असार पन्ध्र गतेका दिनमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले चिउरा आलुको अचार, आँप, केरा आदि खाने प्रचलन रहेको छ । असारभरि हिलोमा नटेकेकाहरूले पनि यस दिन हिलोमा टेकेर असारे गीत गाउँदै धान रोप्ने चलन रहँदै आएको छ । गाउँघरतिर झन् लाठेहरूले सम्माएको अनि हलगोरुले हिल्याइएको खेतमा रोपारले असारे भाकामा धानका बिउ छुपुछुपु रोप्दाको रौनकताको बखान त शब्दमा गरेर साध्य नै लाग्दैन । तर हिजोआज असार पन्ध्रलाई संस्कृति, परम्पराको जगेर्ना, कृषि कार्यलाई उकास्नुभन्दा पनि विकृति र विसङ्गतिले जरो गाडेको यथार्थता हामीले विगतका वर्षहरूमा देख्दै आएका छौँ । अशोभनीय कार्यलाई रोक्दै, कृषिप्रधान देशमा राष्ट्रिय धान दिवसले कृषि क्षेत्रको लागि पृष्ठपोषणको काम गर्न सफल भएको खण्डमा मात्र यो दिवसले सार्थकता पाउँदछ । साथै सम्पूर्ण कृषकहरूको लागि तथा नेपालीहरूको हर्षोलासको दिन बन्न सफल रहेमा मात्र यो दिवस अर्थपूर्ण बन्न सक्दछ ।

वर्तमान समयमा नेपालमा धान उत्पादनः

सर्वप्रथम चीन राष्ट्रको याङ्जे नदीको उपत्यकामा आजभन्दा करिब बाह्र हजार वर्ष अगाडि धानखेती गरिएको उल्लेख पाइन्छ । चीनबाट सुरु भएको धान खेती हाम्रो देश नेपालको लागि भने प्रमुख अन्न बालीको रूपमा रहेको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको एक तथ्याङ्कअनुसार २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ मेट्रिक टन धान उत्पादन हुन्थ्यो भने ६० वर्षपछि अहिले प्रतिहेक्टर ३.८ मेट्रिक टन धान उत्पादन भएको पाइन्छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन बढे पनि यो अवधिमा खानेमुख तिन गुणा बढ्नाले आन्तरिक खपत नपुगेपछि परनिर्भरता बढेको छ । कुनै समय धान चामल निर्यात गरेको नेपाल अहिले आएर बर्सेनी अर्बौँ रकमको धान चामल आयत गर्दछ । कृषि विकास मन्त्रालयका अनुसार नेपालको २७ लाख हेक्टर जमिन खेतीयोग्य रहेकोमा १५ लाख ५२ हजार ४६४ हेक्टरमा धान खेती हुन्छ । अहिले घडेरीका कारण करिब ६० हजार जमिन क्षति भएको पाइएको छ । पछिल्लो समयमा शहरीकरणको नाममा उपत्यकालगायत अन्य शहर तथा गाउँघरतिरका जग्गा पनि प्लटिङ भएका कारण धान उत्पादनमा कमी आएको छ । खेती योग्य जमिन यसरी दिनप्रतिदिन मासिँदा एक त पर्यावरणीय दृष्टले कुरूप देखिएको छ भने अर्कातर्फ सुनौला अन्नका बाला लहलह झुल्ने ठाउँमा कङ्क्रिटका जङ्गल फस्टाएका छन् ।

मेरो जन्मस्थानको रोपाइँः

असारे मासमा हिलोमै धानै रोप्ने हेर कति हुन्छ रमाइलो
छिनमै पानी पर्छ छिनमै घाम लाग्छ हेर हो कति घमाइलो

माथिका यी मीठा असारे भाकाका शब्दहरू मेरी आमाले खेतका गराहरूमा रोपाइँ गर्दा धानका बीउजस्तै झरिला, सुनौला हरिया आवाजमा गाइएको हो । मानो छरेर मुरी फलाउने रोपाइँ कार्यमा लाग्दा गाइने यस्ता असारे भाकाको आफ्नै विशेष महत्त्व छ । कामसँगै परम्परा, संस्कृतिलाई एकातिर गीतले बचाइराखेको हुन्छ भने अर्कातर्फ असारे गीतका भाकाले मानिसलाई जीवन दिइरहेको हुन्छ । गीत गाउँदै काम गर्दा मनोरञ्जनका साथ काम गरेको पत्तो नपाई काम सिद्धिने र दुःखसुख, भोगाइलाई गीतमा प्रस्तुत गर्दा मनमा खुसी बढ्नुका साथै मनका पिर चिन्ता पनि पोखिने हुँदा मन हलुका पनि हुन्छ । अझ अर्कोतर्फ हेर्ने हो भने गीतका माध्यमबाट एकअर्कामा आत्मियताको भावना पनि बढ्दै जान्छ । त्यसैले त गीत जीवन हो । यसले जीवन दिन्छ । तर हिजोआज असारे गीतको महत्व र यसको रौनकता आधुनिकताको परिवेशसँगै हराउँदै गएको छ ।

असारे गीत मात्र कहाँ हो र हिजोआज धान खेती गर्ने परम्परागत तरिकामा पनि परिवर्तन आउन थालेको छ । बिस्तारै बिस्तारै लोप हुँदै गएका हाम्रा संस्कार, संस्कृति, विश्वास र मूल्य मान्यताहरूभित्र रोपाइँ पनि मुछिएकै छ । मैले बुझेदेखि अहिलेसम्म देखेका रोपाइँहरूमा धेरै अन्तर पाएकी छु । हुन त धान खेती गर्ने चलन या भनूँ रोपाइँ गर्ने तरिका सबै ठाउँमा एकैनासले त गरिन्न । रोपाइँ ठाउँअनुसार फरक हुन्छ । म यहाँ काठमाडौँ उपत्यकाको पनि भक्तपुर जहाँ आफू जन्मेको ठाउँमा गरिने रोपाइँको चर्चा गर्दै छु । भक्तपुरको धान रोपाइँले उपत्यकाको प्रतिनिधित्व त अवश्य गर्छ नै । भक्तपुरमा धान रोपाइँ कसरी गरिन्छ भनेर अहिले गरिने रोपाइँ हेर्ने हो भने यो अपुरो नै रहन्छ । हुन त मनसुन सुरु नभए पनि हाम्रो गाउँको नजिकैको वनबाट बग्ने घ्याम्पे खोलाको पानीको भरमा धान रोपिन्थ्यो । जेठको अन्तिम सातादेखि रोपाइँ सुरु भएर असारको पन्ध्रतिर लगभग सबैका खेतका ब्याडमा रहेका धानका बिउहरूले खेतका गराहरूमा बसाइँ सरिसकेका हुन्थे अर्थात् रोपाइँ सकिन्थ्यो । रोपाइँ सुरु भएसँगै गाउँमा छुट्टै रौनकता भित्रिन्थ्यो । घरमा रोपाइँ भएको दिनमा असारको चटारो हामीलाई हाम्रै उमेरअनुसारकै हुन्थ्यो । हजुरआमा, आमालाई काम सघाउनकै लागि भनेर म मिलेसम्म स्कुल नगईकन घरमै बस्थेँ । अझ भन्नुपर्दा उहाँहरू स्कुल नगए पनि हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो र नजानको लागि भन्नु पनि हुन्थ्यो । धान रोप्ने दिन घरको पिँढी, दैलो, मझेरी सबै पोतिन्थ्यो ।

घरको पूजा गरेपछि हजुरबुबा, हजुरआमा या त आमाले ठिक पारिदिनुभएको पूजा सामग्री लिएर कुलोबाट खेतमा पानी खस्ने ठाउँमा पूजा गर्न जानुहुन्थ्यो । रोपाइँका दिन पूजा गर्ने चलन अहिले पनि यथावत् नै छ । पूजा गर्दा विशेषतः नागलाई सम्झेर पूजा गरिन्छ । नाग पूजाको लागि कपासको नाग बनाइन्छ । चामल पिसेर दूध मानी चढाइन्छ । धान रोप्नुभन्दा अगाडि पनि आलीमा हिलो माटोकै शिव र पार्वतीको मूर्ति बनाएर पूजा गरिन्छ । पूजा गर्दा जग्गाधनीको घरमा त्यस वर्षभरि नै त्यही रोपिएको धानबाट शुभमंगलका कार्य होओस् भन्ने कामना गरिन्छ अनि सबैले दही अक्षता मुछेको रातो टीका निधारमा लगाएर, जग्गाधनीले दिएको खाने मसलाको पोको हातमा समाएर केही खाँदै, बाँकी रहेको मसला पोल्टो, खल्तीमा राख्दै रोपारहरू धान रोप्न सुरु गर्छन् । धान रोप्दा खाएको मसलाको (ल्वाङ, सुकमेल) बास्नाले धानमा किरा लाग्दैन भन्ने जनविश्वास रहेको छ । रोपार र लाठेलाई मसला दिने काम अहिले पनि गरिन्छ । धान रोप्दा दिइने खाजामा पनि मैले बुझेँदेखि अहिलेसम्म आइपुग्दा निकै परिवर्तन भएको पाइन्छ । सानै छँदा हजुरआमा र आमाले आलुको अचारमा मुला कि त रायोको छोप अनि चुक अमिलो हालेर बनाउनुभएको अचार खेतमा खेतालासँगै टिमिलाको पातबाट गाँसेको दुनामा हालेर खाएको स्वाद अहिले पनि त्यतिकै स्वादिलो भएर बसेको छ यो मनमा । समय परिवर्तनशील छ । समयसँगै परिवर्तन हुने हाम्रा काम, रहनसहन, खानपान पनि यसरी एकादेशको कथाजस्तै भइदिँदा दुखेसो भने कताकता हुँदोरहेछ । पन्ध्र बिस वर्षको समय बिचमा यति धेरै परिवर्तन आएका छन् कि अब आउने समयमा हाम्रा भावी पुस्ताले कृषिप्रधान देश नेपालमा धानखेती कसरी गरिन्छ भन्ने कुरा बुझाउने काम पनि त्यत्तिकै कठिन हुनेछ ।

आजभन्दा आठ दश वर्ष अघिसम्म पनि भक्तपुरमा लोकल धानका बिउ रोपिन्थे । नरम भात खानको लागि भनेर, चाडपर्वमा मीठो मसिनो भात खान भनेर मन्सुली, पोर्खेली मसिनो, अझ बास्ना आउने मिठो भातको लागि बास्मती, चिउरा खानको लागि ताइचिन, खट्टे खानको लागि चिन्ने, धान पाक्ने बेलामा पानीले असर नगरोस् भनेर खेतका गराका भित्तामा खाद (पानी निकास हुने गरेर खनिएको कुलेसो) झिक्न मिल्ने ठाउँमा र सुर्कातिर छिट्टै पाक्ने धान जो दशैँमा नयाँ धानको चिउरा खानको लागि भनेर सठ्ठे धानका बिउहरू रोपिन्थे । तर अहिले यी सबै बिउहरू करिब लोप हुने अवस्थामा पुगिसकेका छन् । यी बिउका सट्टा हाइब्रिड बिउहरूले स्थान पाएका छन् । हाइब्रिड धान धेरै फल्ने हुनाले पनि कृषकहरू उत्पानका दृष्टिले यो धान लगाउँछन् । एउटा धानको बिरुवा गाँजिएर बढीमा पचास बालासम्म लाग्ने कुरा यहाँका किसानहरूको अनुभव छ । उत्पादकत्व बढे पनि स्वाद नहुने र डाइबिटिजका रोगीहरूका लागि उपयुक्त नहुने कुरा स्थानीय किसानहरू गर्छन् । त्यही धानको बिउको पनि अभाव हुनु र महङ्गो हुनुले किसानहरू मारमा परेका छन् ।

हिजोआज भक्तपुरका खेतीयोग्य जमिन भूमाफियाको बन्धकमा परेका छन् । खेतीयोग्य जमिनलाई जथाभावी खण्डीकरण गर्दा, खेतका गराहरूलाई कित्ताकित्तामा छुट्याउँदा यसको सौन्दर्य एकातिर गुमेको छ भने अर्कोतिर यसले पर्यावरणीय क्षेत्रमा पनि ठुलो असर पारेको छ । धानखेती हुने जग्गामा नगदेबाली तरकारी लगाउनाले पनि धान उत्पादनमा कमी आएको छ । यतिबेला रोपेका धान सरेर भक्तपुरका फाँट हरिया हुन्थे । हिजोआज टनेलका सेता नीला पलास्टिकका छतले खेत ढाकेका छन् । तरकारी खेती त धान खेती हुने जग्गामा भन्दा पनि अन्य खाली जग्गामा लगाउनु पर्ने हो । तर जग्गाधनीहरू क्षणिक आम्दानीको लोभ या त काम गर्न गाह्रो मानेकाले जग्गा भाँडामा तरकारी लगाउन दिएर आफू धेरै कुराले घाटामा रहेको कुरा बुझ्दैनन् । बहुउपयोगी धान खाद्यान्नको लागि मात्र नभएर यसको बोट पनि त्यत्तिकै मात्रामा उपयोगमा आउने हुनाले धानखेतीको उत्पादन वृद्धितर्फ कृषकलगायत यससँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न रहेका सरोकार पक्ष तथा सरकारले विशेष ध्यान दिनु अति आवश्यक छ ।

माटोले पनि मान्छेले जस्तै
लिएर आएको हुन्छ भाग्य
उसले लहलह अन्न झुलाउन पाउँछ कि पाउँदैन
सिस्नु पो उमार्न विवश हुन्छ कि या बाँझै पो रहन्छ कि !
माटोको भाग्य निर्माता ऊ आफैं नभएर
मान्छे र राज्य भइदिँदा
कतै माटोको अस्तित्व पो मर्छ कि ?

मानो छरेर मुरी उमार्न सफल गराउने असार महिना प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिकका साथै साहित्यिक पाटोले पनि उत्तिकै विशेष रहेको छ । उत्कृष्ट साहित्यिक रचनाहरू यही असारका झरीजस्तै सर्जकका मनबाट बर्सिरहेका हुन्छन् र साहित्यिक फाँटलाई सिँञ्चित गर्छन् । असारमा बर्सिएको वर्षाको झङ्कारसँगै गीत संगीतले नयाँ शब्द र संगीत भर्छन् । पानीका मोतीदाना बुँदसँगै प्रकृतिले नयाँ जीवन पाउँछ । कृषिप्रधान देश असार महिना विशेष गरेर धान रोपाइँका कारणले महत्त्वपूर्ण मानिन्छ भने कृषकहरूको कामको चटारोले अझ यो महिनाको महत्त्व झल्किन्छ । सिर्जनशील असार महिनाले जसरी धर्तीलाई सिँगार्छ, त्यसरी नै हामी पनि सिर्जनात्मक, रचनात्मक र कर्मयोगी बनेर आफ्नो जीवन र यो जीवनलाई बचाउने माटोलाई मन, वचन र कर्मले सिँगार्नु पर्छ ।